सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ज्योतिमा हिंड्‌नेहरूको निम्ति आनन्द

ज्योतिमा हिंड्‌नेहरूको निम्ति आनन्द

ज्योतिमा हिंड्‌नेहरूको निम्ति आनन्द

“आऊ, हामी परमप्रभुको ज्योतिमा हिंड़ौं।”–यशैया २:५.

१, २. (क) ज्योति कत्तिको महत्त्वपूर्ण छ? (ख) पृथ्वीलाई अँध्यारोले ढाक्नेछ भन्‍ने चेताउनी किन गम्भीर छ?

 यहोवा ज्योतिको स्रोत हुनुहुन्छ। उहाँले “उज्यालो पार्नलाई सूर्य, र राती प्रकाश दिनलाई चन्द्रमा र ताराहरू स्थिर गर्नुभएको छ” भनी बाइबलमा बताइएको छ। (यर्मिया ३१:३५; भजन ८:३) उहाँले नै सूर्य सृजनुभयो र यो अत्यन्तै ठूलो आणविक भट्टी हो। यसले धेरै उर्जा पैदा गर्छ अनि यसको केही भाग प्रकाश र तापमा परिणत हुन्छ। त्यस उर्जाको एकदमै सानो अंश घामको रूपमा पृथ्वीमा आइपुग्छ र यो जीवन बचाउने ज्योति हो। सूर्यको किरण नहुँदो हो त हामी जीवित हुने थिएनौं। पृथ्वी एउटा निर्जीव ग्रह हुने थियो।

त्यस कुरालाई मनमा राख्दा हामीले अगमवक्‍ता यशैयाले वर्णन गरेको अवस्थाको गम्भीरतालाई बुझ्नसक्छौं। तिनले यसो भने: “हेर्‌, अँध्यारोले पृथ्वीलाई, र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्नेछ।” (यशैया ६०:२) निस्सन्देह, यहाँ भनिएको अन्धकार भौतिक अर्थमा भनिएको होइन। यशैयाले कुनै दिन सूर्य, चन्द्र र तारा चम्किने छैन भनिरहेका थिएनन्‌। (भजन ८९:३६, ३७; १३६:७-९) बरु, तिनले आध्यात्मिक अन्धकारबारे बताइरहेका थिए। तर आध्यात्मिक अन्धकार घातक हुन्छ। जसरी हामी लामो समयसम्म भौतिक ज्योतिविना बाँच्न सक्दैनौं त्यसरी नै आध्यात्मिक ज्योतिविना पनि बाँच्न सक्दैनौं।—लूका १:७९.

३. यशैयाका शब्दहरू विचार गर्दा मसीहीहरूले के गर्नुपर्छ?

यस कुरालाई विचार गर्दा यशैयाका शब्दहरू पुरातन यहूदामा पूरा भए तापनि हाम्रो समयमा अझ महान्‌ पूर्ति हुनु गम्भीर चासोको विषय हो। हो, अहिले हाम्रो समयमा संसारलाई आध्यात्मिक अन्धकारले ढाकेको छ। यस्तो गम्भीर अवस्थामा आध्यात्मिक ज्योति सर्वमहत्त्वपूर्ण छ। त्यसकारण, मसीहीहरूले येशूको सल्लाह पालन गर्नुपर्छ: “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्‌।” (मत्ती ५:१६) विश्‍वासी मसीहीहरूले नम्रहरूको लागि उज्यालो बनाइदिन्छन्‌ र तिनीहरूले जीवन प्राप्त गर्ने सुअवसर पाउँछन्‌।—यूहन्‍ना ८:१२.

इस्राएलमा अन्धकारमय समय

४. यशैयाका भविष्यसूचक शब्दहरू पहिला कहिले पूरा भए तर तिनको समयमा पनि कस्तो अवस्था व्याप्त भइसकेको थियो?

पृथ्वीलाई अँध्यारोले ढाक्नेछ भन्‍ने यशैयाको शब्द पहिलो चोटि यहूदा उजाड हुँदा र त्यहाँका मानिसहरू बेबिलोनमा निर्वासित हुँदा पूरा भएको थियो। तथापि, त्योभन्दा धेरै पहिला यशैयाको समयमा नै इस्राएललाई आध्यात्मिक अन्धकारले ढाकिसकेको थियो। त्यसैले, तिनी आफ्ना देशवासीहरूलाई यसो भन्‍न उत्प्रेरित भए: “हे याकूबका घराना, आऊ, हामी परमप्रभुको ज्योतिमा हिंड़ौं”!—यशैया २:५; ५:२०.

५, ६. यशैयाको दिनमा अँध्यारोले ढाक्नुको कारण के के हुन्‌?

यशैयाले यहूदाका “राजाहरू, उज्जियाह, योताम, आहाज र हिजकियाहका पालामा” भविष्यवाणी गरे। (यशैया १:१) त्यो, राजनैतिक अस्थिरता, धार्मिक कपट, न्यायिक भ्रष्टाचार र गरिबहरूको दमनको समय थियो। योतामजस्ता विश्‍वासी राजाहरूका समयमा समेत डाँडाहरूमा झूटा देवहरूको वेदी देखिन्थे। अवफादार राजाहरूको समयमा त अवस्था झनै खराब थियो। उदाहरणका लागि, दुष्ट राजा आहाजले मोलेक देवलाई आफ्नो छोरासमेत बलि चढाए। त्यो निश्‍चय पनि अन्धकारको प्रमाण थियो!—२ राजा १५:३२-३४; १६:२-४.

त्यतिबेला, अन्तरराष्ट्रिय परिस्थिति पनि अन्धकारमय थियो। यहूदाको निम्ति मोआब, एदोम र पलिश्‍ती खतरापूर्ण थिए। इस्राएलको उत्तरी राज्य आफ्नै रगतको नातेदार भए तापनि भयंकर ठूलो शत्रु थियो। अझ उता उत्तरतिर हेर्ने हो भने, यहूदाको शान्तिको निम्ति सिरिया खतरनाक थियो। अनि त्योभन्दा पनि ठूलो खतरा दिनप्रतिदिन विस्तार भइरहेको अश्‍शूरी शक्‍ति थियो। यशैयाले भविष्यवाणी गरिरहेको बेला अश्‍शूरले इस्राएलमाथि विजय हासिल गऱ्‍यो र यहूदालाई झन्डै तहसनहस पारेको थियो। एक समय अश्‍शूरले यरूशलेमबाहेक यहूदाका सबै शहरमाथि विजय हासिल गरेको थियो।—यशैया १:७, ८; ३६:१.

७. इस्राएल र यहूदाले कुन मार्ग रोजे र यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो?

इस्राएल र यहूदा उहाँप्रति अवफादार भएकाले परमेश्‍वरका जनहरूले त्यस्तो विपत्ति भोग्नु परेको थियो। हितोपदेशको पुस्तकमा उल्लेख गरेझैं तिनीहरू ‘इमानदारीको चाललाई त्यागेर अन्धकारको बाटोमा हिंडे।’ (हितोपदेश २:१३) यद्यपि, यहोवा आफ्ना जनहरूसित क्रोधित हुनुभए तापनि तिनीहरूलाई पूर्णतया त्याग्नु भएन। बरु, त्यस राष्ट्रमा अझै यहोवालाई विश्‍वासीपूर्वक सेवा गर्न खोज्ने व्यक्‍तिहरूको निम्ति उहाँले यशैया र अन्य अगमवक्‍ताहरू खडा गर्नुभयो। ती अगमवक्‍ताहरूले देखाएको ज्योति निस्सन्देह अनमोल थियो। यो जीवनदायी थियो।

आजको अन्धकारमय समय

८, ९. कस्ता कारणहरूले गर्दा आज संसारलाई अँध्यारोले ढाकेको छ?

यशैयाको र आज हाम्रो दिनको अवस्था मिल्दोजुल्दो छ। हाम्रो समयमा मानव शासकहरूले यहोवा र उहाँको शासनारूढ राजा येशू ख्रीष्टतर्फ आफ्नो पिठिउँ फर्काएका छन्‌। (भजन २:२, ३) मसीहीजगत्‌का धार्मिक नेताहरूले आफ्नो बगाललाई ठगेका छन्‌। त्यस्ता नेताहरू परमेश्‍वरको सेवा गरेको दाबी त गर्छन्‌ तर यथार्थमा तिनीहरूमध्ये अधिकांशले यस संसारका देवहरू जस्तै, राष्ट्रियवाद, सैनिकवाद, धन र प्रतिष्ठित व्यक्‍तिहरूको प्रवर्धन गर्छन्‌ र यसमा अझ गैरमसीही शिक्षाहरू त छँदैछन्‌।

एकपछि अर्को ठाउँमा मसीहीजगत्‌का धर्महरू जातीय संहार र अन्य भयानक घटनाहरूले भरिएका युद्ध तथा गृह कलहहरूमा संलग्न भएका छन्‌। यसबाहेक, बाइबल आधारित नैतिकताको निम्ति अडान लिनुको साटो थुप्रै चर्चले व्यभिचार र समलैंगिकता जस्ता कुरालाई या त बेवास्ता गरिरहेका छन्‌ या सक्रियतासाथ समर्थन गरिरहेका छन्‌। बाइबल स्तरहरूलाई त्यसरी बेवास्ता गरेको कारण मसीहीजगत्‌को बगाल पुरातन भजनरचयिताले भनेका मानिसहरूजस्तै भएका छन्‌: “तिनीहरूले जान्दैनन्‌। तिनीहरूले बुझ्नसक्‍तैनन्‌। तिनीहरू अँध्यारोमा यता उता डुल्छन्‌।” (भजन ८२:५) साँच्चै, पुरातन यहूदाजस्तै मसीहीजगत्‌ पनि निस्पट्ट अँध्यारोमा छ।—प्रकाश ८:१२.

१०. आज अँध्यारोमा ज्योति कसरी चम्किन्छ र नम्रहरूले यसबाट कसरी फाइदा उठाउँछन्‌?

१० यस्तो अन्धकारमाझ यहोवाले नम्र जनहरूको निम्ति ज्योति चम्किन दिइरहनुभएको छ। यसको लागि उहाँले यस पृथ्वीमा भएका उहाँका अभिषिक्‍त जनहरू अर्थात्‌ “विश्‍वासी र बुद्धिमान दास[लाई]” चलाइरहनुभएको छ र तिनीहरू ‘संसारमा ज्योतिहरूझैं चम्किरहेका’ छन्‌। (मत्ती २४:४५; फिलिप्पी २:१५) लाखौं “अरू भेड़ा[को]” समर्थन पाएको दास वर्गले परमेश्‍वरको वचन बाइबलमा आधारित आध्यात्मिक ज्योति चम्काउँछ। (यूहन्‍ना १०:१६) यस अन्धकारमय संसारमा त्यस्तो ज्योतिले नम्रहरूलाई आशा दिन्छ अनि परमेश्‍वरसित सम्बन्ध कायम राख्न मदत गर्छ र आध्यात्मिकतालाई खतरामा पार्ने पासोदेखि जोगाउँछ। यो साह्रै मूल्यवान्‌ र जीवनदायी छ।

“म तपाईंको नाउँको स्तुति गर्छु”

११. यशैयाको दिनमा यहोवाले कस्तो जानकारी उपलब्ध गर्नुभयो?

११ यशैयाको पालाको अन्धकारमय दिन र त्यसपछि बेबिलोनीहरूले यहोवाको राष्ट्रलाई कैदी बनाएर लग्दाका झन्‌ अन्धकारमय दिनहरूमा यहोवाले कस्तो प्रकारको निर्देशन प्रबन्ध गर्नुभयो? नैतिक निर्देशन दिनुको अलावा उहाँले आफ्ना जनहरूको सन्दर्भमा कसरी आफ्नो उद्देश्‍य पूरा गर्नुहुनेछ भनी पहिल्यै स्पष्टसित बताउनुभयो। उदाहरणस्वरूप हामी यशैया अध्याय २५ देखि २७ मा लिपिबद्ध अद्‌भुत भविष्यवाणीलाई विचार गर्नसक्छौं। यहोवाले यशैयाको दिनमा कसरी कामकुराहरू गर्नुभयो र आज कसरी गरिरहनुभएको छ भनेर यी भविष्यवाणीहरूले देखाउँछन्‌।

१२. यशैया कस्तो हृदयस्पर्शी उद्‌गार व्यक्‍त गर्छन्‌?

१२ सुरुमा यशैया यस्तो घोषणा गर्छन्‌: “हे परमप्रभु, तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, म तपाईंको प्रशंसा गर्छु। म तपाईंको नाउँको स्तुति गर्छु।” कस्तो हृदयस्पर्शी अभिव्यक्‍ति! तर यशैया अगमवक्‍ता त्यस्तो प्रार्थना गर्न प्रेरित हुनुको कारण के थियो? प्रमुख कारण यसै पदको बाँकी भागमा प्रकाश पारिएको छ। त्यहाँ यस्तो लेखिएको छ: “तपाईं [यहोवाले] आश्‍चर्यका कामहरू गर्नुभयो। तादिका तपाईंका योजना पूर्ण रूपले पूरा भएको छ।”—यशैया २५:१.

१३. (क) यहोवाप्रति यशैयाको मूल्यांकन कस्तो ज्ञानले गर्दा झन्‌ बलियो भयो? (ख) हामी यशैयाको उदाहरणबाट कसरी सिक्नसक्छौं?

१३ यशैयाको दिनसम्ममा यहोवाले इस्राएलको निम्ति थुप्रै अचम्मका काम गरिसक्नुभएको थियो र ती लिखित रूपमा लिपिबद्ध गरिएका थिए। यशैया स्पष्टतः ती लेखोटहरूसित परिचित थिए। उदाहरणका लागि, यहोवाले आफ्ना जनहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुभएको र लाल समुद्रमा फिरऊनको सेनाको क्रोधबाट बचाउनुभएको कुरा तिनलाई राम्ररी थाह थियो। यहोवाले आफ्ना जनहरूलाई उजाडस्थानबाट डोऱ्‍याएर प्रतिज्ञा गरिएको देशमा लग्नुभएको कुरा पनि तिनलाई थाह थियो। (भजन १३६:१, १०-२६) त्यस्ता ऐतिहासिक विवरणहरूले यहोवा परमेश्‍वर विश्‍वासी र भरोसायोग्य हुनुहुन्छ भनेर देखायो। उहाँको “योजना” अर्थात्‌ उहाँको सबै उद्देश्‍य साँचो साबित भए। ईश्‍वरीय प्रेरणाद्वारा प्राप्त सही ज्ञानले यशैयालाई परमेश्‍वरको ज्योतिमा हिंडिरहन बल प्रदान गऱ्‍यो। अतः तिनी हाम्रोनिम्ति असल उदाहरण भए। हामीले परमेश्‍वरको लिखित वचनलाई ध्यान दिएर अध्ययन गरेर जीवनमा लागू गऱ्‍यौं भने हामी पनि ज्योतिमा हिंडिरहन सक्नेछौं।—भजन ११९:१०५; २ कोरिन्थी ४:६.

शहरको सर्वनाश

१४. शहरबारे कस्तो भविष्यवाणी गरियो र सम्भवतः त्यो कुन शहर थियो?

१४ परमेश्‍वरको सल्लाहको उदाहरण यशैया २५:२ मा पाइन्छ। त्यहाँ यसो भनिएको छ: “तपाईंले शहरलाई ढुंगाको थुप्रो बनाइदिनुभएको छ। सुरक्षित ध्वंस गर्नुभयो। विदेशीहरूको महलहरूले भरिएको शहर अब शहर रहेन। त्यो फेरि कहिल्यै बनाइनेछैन।” यो कुन शहर हो? यशैयाले भविष्यसूचक ढंगमा बेबिलोनबारे बताइरहेका हुनसक्छन्‌। अनि नभन्दै बेबिलोन साँच्चै ढुंगाको थुप्रोमा परिणत भयो।

१५. आजको “महान्‌ शहर” कुन हो र यसको कस्तो हालत हुनेछ?

१५ के यशैयाले उल्लेख गरेको जस्तो शहर आज हाम्रो समयमा पनि छ? छ। प्रकाशको पुस्तकले यसलाई ‘पृथ्वीका राजाहरूमाथि राज्य गर्ने महान्‌ शहर’ भन्छ। (प्रकाश १७:१८) यो महान्‌ शहर “महान्‌ बेबिलोन” अर्थात्‌ झूटो धर्मको विश्‍व साम्राज्य हो। (प्रकाश १७:५) आज, महान्‌ बेबिलोनको मुख्य भाग मसीहीजगत्‌ हो र यसका पादरीवर्ग यहोवाका जनहरूको राज्य प्रचारकार्यमा विरोध खडा गर्न तम्सन्छन्‌। (मत्ती २४:१४) तथापि, पुरातन बेबिलोनजस्तै महान्‌ बेबिलोनको पनि चाँडै सर्वनाश हुनेछ र त्यो फेरि कहिल्यै खडा हुन सक्नेछैन।

१६, १७. पुरातन र आधुनिक समयमा यहोवाका शत्रुहरूले उहाँको कसरी महिमा गरेका छन्‌?

१६ त्यस “सुरक्षित” शहरबारे यशैया अरू के भविष्यवाणी गर्छन्‌? यहोवालाई सम्बोधन गर्दै यशैया यसो भन्छन्‌: “बलियो जातिले तपाईंलाई आदर दिनेछ, र भयानक राष्ट्रले तपाईंको डर मान्‍नेछन्‌।” (यशैया २५:३) यस भावशून्य “भयानक राष्ट्रले” कसरी यहोवाको महिमा गर्नेछ? बेबिलोनको शक्‍तिशाली राजा नबूकदनेसरलाई के भयो याद गर्नुहोस्‌। आफ्ना कमजोरीहरू पर्दाफास गर्ने विचारणीय अनुभवहरूपछि तिनी यहोवाको महानता र उहाँको सर्वोच्च शक्‍ति मानि लिन बाध्य भएका थिए। (दानियल ४:३४, ३५) यहोवाले आफ्नो शक्‍ति प्रयोग गर्नुहुँदा उहाँका शत्रुहरू जबरजस्ती भए पनि उहाँका शक्‍तिशाली कार्यहरू मानि लिन बाध्य हुन्छन्‌।

१७ के महान्‌ बेबिलोन यहोवाका शक्‍तिशाली कामहरू मानि लिन कहिल्यै बाध्य भएको थियो? थियो। प्रथम विश्‍वयुद्धको दौडान यहोवाका अभिषिक्‍त सेवकहरूले संकष्टको बावजूद प्रचार गरे। सन्‌ १९१८ मा वाच टावर सोसाइटीका प्रमुख अधिकारीहरूलाई झ्यालखानामा राख्दा तिनीहरू आध्यात्मिक दासत्वमा परेका थिए। संगठित प्रचारकार्य ठप्पै बन्द भएको थियो। त्यसपछि, सन्‌ १९१९ मा यहोवाले तिनीहरूलाई पुनर्स्थापित गर्नुभयो र उहाँको आत्माद्वारा स्फूर्ति दिनुभयो जसको फलस्वरूप सबै जातिलाई सुसमाचार प्रचार गर्ने आज्ञा पूरा गर्न तिनीहरू अघि बढे। (मर्कूस १३:१०) यी सबैले शत्रुहरूलाई पार्ने असरबारे प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएको थियो। तिनीहरू “डराए, र स्वर्गका परमेश्‍वरलाई महिमा दिए।” (प्रकाश ११:३, ७, ११-१३) तिनीहरू सबैले धर्म परिवर्तन त गरेनन्‌ तर यशैयाले भविष्यवाणी गरेझैं यस अवसरमा यहोवाका शक्‍तिशाली कामहरू मानिलिन बाध्य भए।

“दरिद्रहरूका दुःखमा आड़”

१८, १९. (क) विरोधीहरू किन यहोवाका उपासकहरूको निष्ठा भंग गर्न सफल भएका छैनन्‌? (ख) कसरी ‘निष्ठुरहरूको गीत बन्द’ हुनेछ?

१८ ज्योतिमा हिंड्‌नेहरूसँग यहोवाले गर्नुभएको मायालु व्यवहारतर्फ ध्यानाकर्षण गर्दै यशैया यहोवालाई यसो भन्छन्‌: “तपाईं गरीबहरू र दरिद्रहरूका दुःखमा आड़ हुनुभएको छ, आँधी–बेह्रीमा शरण र घाममा छाया हुनुभएको छ, किनकि निष्ठूरहरूको झोंक पर्खालमा ठोकिएको आँधीझैं हो। सुखा ठाउँमा ताप परेझैं तपाईंले विदेशीहरूको हल्लालाई साम्य पार्नहुन्छ। बादलले घामलाई छाया पारेझैं निष्ठूरहरूको गीत तपाईंले बन्द गरिदिनहुन्छ।”—यशैया २५:४, ५.

१९ सन्‌ १९१९ देखि निष्ठुरहरूले साँचो उपासकहरूको निष्ठा भंग गर्न थुप्रै तरिका अपनाएका छन्‌ तर तिनीहरू सफल भएका छैनन्‌। किन? किनभने यहोवा आफ्ना जनहरूको निम्ति बलियो शरणस्थान हुनुहुन्छ। उहाँले अचाक्ली सतावटको बेला उद्धार गर्नुहुन्छ र विरोधीहरूको आँधीबेहरीरूपी सतावट आइपर्दा बलियो पर्खालले जस्तो थाम्नुहुन्छ। परमेश्‍वरको ज्योतिमा हिंड्‌ने हामी सबै ‘निष्ठुरहरूको गीत बन्द गरिदिनुहुने’ समयको उत्कट प्रतीक्षामा छौं। हो, हामी यहोवाका शत्रुहरू नाश हुने दिनको उत्कट प्रतीक्षामा छौं।

२०, २१. यहोवाले कस्तो भोजको प्रबन्ध गर्नुहुन्छ र नयाँ संसारमा त्यस भोजमा के पनि समावेश हुनेछ?

२० यहोवाले आफ्ना सेवकहरूलाई सुरक्षा मात्र दिनु हुन्‍न। तर मायालु पिताको हैसियतमा तिनीहरूको निम्ति प्रबन्ध पनि गर्नुहुन्छ। आफ्ना जनहरूलाई सन्‌ १९१९ मा महान्‌ बेबिलोनबाट मुक्‍त गर्नुभएपछि तिनीहरूको निम्ति उहाँले विजय भोजको आयोजना गर्नुभयो र त्यहाँ प्रशस्त आध्यात्मिक भोजन थियो। यसबारे यशैया २५:६ मा भविष्यवाणी गरिएको थियो। त्यहाँ यसो भनिएको छ: “सेनाहरूका परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा मीठा थोकहरू—छिप्पिएको मद्य, असल असल स्वादिष्ट थोकहरू, एकदमै छिप्पिएको छानेको मद्यको भोज लाउनुहुनेछ।” त्यस भोजमा सरिक हुन पाउनु हाम्रोलागि कस्तो आशिष्‌को कुरा हो! (मत्ती ४:४) “प्रभुको टेबल[मा]” साँच्चै असल खानेकुराहरू छन्‌। (१ कोरिन्थी १०:२१) “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” हामीलाई आध्यात्मिक अर्थमा चाहिने सब कुरा दिइएको छ।

२१ अनि परमेश्‍वरले प्रबन्ध गर्नुभएको भोजमा अझ धेरै कुरा समावेश छ। अहिले हामीले आनन्द उठाइरहेको आध्यात्मिक भोजले हामीलाई परमेश्‍वरको नयाँ संसारमा पाइने प्रशस्त भौतिक खानाको सम्झना दिलाउँछ। अनि “मीठा मीठा थोकहरू” भएको भोजमा प्रशस्त भौतिक खाना पनि हुनेछ। कोही पनि शारीरिक वा आध्यात्मिक तवरमा भोको हुनेछैन। अनिकालको सिकार भइरहेका हाम्रा प्रिय सँगी विश्‍वासीहरूको निम्ति यो कस्तो राम्रो सन्देश हो किनभने येशूको आगमनको “चिह्न[को]” एउटा भाग “अनिकाल” हो! (मत्ती २४:३, ७) तिनीहरूको निम्ति भजनरचयिताका शब्दहरू साँच्चै सान्त्वनादायी छन्‌। तिनले यसो भने: “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ। त्यसको फल लबानोनको देवदारूझैं हल्लिनेछन्‌।”—भजन ७२:१६.

२२, २३. (क) कुन “पर्दा” वा “घुम्टो” हटाइनेछ र कसरी? (ख) ‘यहोवाको जनको निन्दा’ कसरी हटाइनेछ?

२२ अब अझ अद्‌भुत प्रतिज्ञामा ध्यान दिनुहोस्‌। पाप र मृत्युलाई “पर्दा” वा “घुम्टो[सित]” तुलना गर्दै यशैया यसो भन्छन्‌: “[यहोवाले] यही पर्वतमा सारा मानिसहरूमाथि परेको पर्दा र सारा जातिमाथि परेको घुम्टो हटाइदिनुहुनेछ।” (यशैया २५:७) सोच्नुहोस्‌ त! मानिसजातिमाथि लादिएको पाप र मृत्युको बोझिलो घुम्टो हुनेछैन। येशूको छुडौतीको बलिदानका लाभहरू आज्ञाकारी तथा विश्‍वासी मानिसजातिमा लागू हुने दिनको हामी एकदमै उत्सुकतासाथ प्रतीक्षा गर्छौं!—प्रकाश २१:३, ४.

२३ त्यस अद्‌भुत समयलाई औंल्याउँदै अगमवक्‍ता यस्तो आश्‍वासन दिन्छन्‌: “[परमेश्‍वरले] मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा दूर गर्नुहुनेछ, किनकि परमप्रभुले यसै भन्‍नुभएको छ।” (यशैया २५:८) कसैको पनि रोग बिमारले गर्दा मृत्यु हुनेछैन वा प्रिय जन गुमाउनुपरेकोमा आँसु बगाउनुपर्ने छैन। कस्तो आनन्दमय परिवर्तन! यसबाहेक, पृथ्वीमा परमेश्‍वर अनि उहाँका सेवकहरूले धेरै अघिदेखि सहँदै आएको निन्दा र अफवाह पनि हुनेछैन। किन? किनभने यहोवाले यसको स्रोत, झूटका पिता शैतान अर्थात्‌ दियाबललगायत त्यसको सन्तानलाई समेत हटाइदिनुहुनेछ।—यूहन्‍ना ८:४४.

२४. ज्योतिमा हिंड्‌नेहरूले तिनीहरूको खातिर यहोवाले गर्नुभएका शक्‍तिशाली कार्यहरूप्रति कस्तो प्रतिक्रिया देखाउँछन्‌?

२४ यहोवाको शक्‍तिका यस्ता प्रमाणहरूलाई विचार गर्दा ज्योतिमा हिंड्‌नेहरू यस्तो उद्‌गार गर्न उत्प्रेरित हुनेछन्‌: “हेर, हाम्रा परमेश्‍वर, हामीले उहाँको बाटो हेऱ्‍यौं, र उहाँलेनै हामीलाई बचाउनुहुनेछ। परमप्रभुलाई हेर, हामीले उहाँको बाटो हेऱ्‍यौं, औ उहाँले दिनुभएको मुक्‍तिमा हामी खुशी हुनेछौं र रमाउनेछौं।” (यशैया २५:९) चाँडै धर्मी मानिसहरूले हर्षित हुने प्रशस्त कारण पाउनेछन्‌। अँध्यारो पूर्णतया हटाइनेछ र विश्‍वासी जनहरूका वरिपरि सदाको लागि यहोवाको ज्योति हुनेछ। के अन्य कुनै प्रत्याशा योभन्दा महिमित हुनसक्छ र? अवश्‍य हुनसक्दैन!

के तपाईं बुझाउन सक्नुहुन्छ?

• आज ज्योतिमा हिंड्‌नु किन अत्यावश्‍यक छ?

• यशैयाले किन यहोवाको नाउँको स्तुति गाए?

• शत्रुहरूले किन कहिल्यै परमेश्‍वरका जनहरूको निष्ठा भंग गर्नेछैनन्‌?

• ज्योतिमा हिंड्‌नेहरूले प्रचुर मात्रामा कस्ता आशिष्‌हरू पाउनेछन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १२, १३-मा भएको चित्र]

यहूदाका बासिन्दाहरूले आफ्ना छोराछोरी मोलेकलाई बलि चढाए

[पृष्ठ १५-मा भएका चित्रहरू]

यहोवाका शक्‍तिशाली कार्यको ज्ञानले यशैयालाई यहोवाको नाउँको स्तुति गाउन उत्प्रेरित गऱ्‍यो

[पृष्ठ १६-मा भएको चित्र]

धर्मीहरूका वरिपरि सदाको लागि यहोवाको ज्योति हुनेछ