सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ज्योति रोज्नेहरूको निम्ति मुक्‍ति

ज्योति रोज्नेहरूको निम्ति मुक्‍ति

ज्योति रोज्नेहरूको निम्ति मुक्‍ति

“परमप्रभु मेरो ज्योति र मलाई मुक्‍ति दिने हुनुहुन्छ, मैले कसको डर मान्‍नु?”—भजन २७:१.

१. यहोवाले जीवन दिने कस्तो प्रबन्ध मिलाउनुभएको छ?

 यहोवा सूर्यको किरणको स्रोत हुनुहुन्छ। त्यसैले पृथ्वीमा जीवन सम्भव भएको छ। (उत्पत्ति १:२, १४) उहाँ, शैतानको संसारको घातक अन्धकारलाई हटाउने आध्यात्मिक ज्योतिको पनि स्रोत हुनुहुन्छ। (यशैया ६०:२; २ कोरिन्थी ४:६; एफिसी ५:८-११; ६:१२) ज्योति छनौट गर्नेहरूले भजनरचयितासँगसँगै यसो भन्‍नसक्छन्‌: “परमप्रभु मेरो ज्योति र मलाई मुक्‍ति दिने हुनुहुन्छ, मैले कसको डर मान्‍नु?” (भजन २७:१क) तथापि, येशूको समयमा जस्तै अन्धकार रोज्ने मानिसहरूले प्रतिकूल न्याय पाउने आशा मात्र गर्नसक्छन्‌।—यूहन्‍ना १:९-११; ३:१९-२१, ३६.

२. पुरातन समयमा यहोवाको ज्योति इन्कार गर्नेहरू र उहाँको वचन सुन्‍नेहरूलाई के भयो?

यशैयाको दिनमा परमेश्‍वरका अधिकांश जनहरूले ज्योतिलाई इन्कार गरे। फलस्वरूप, यशैयाले इस्राएलको उत्तरी राज्यको सर्वनाश देखे। अनि सा.यु.पू. ६०७ मा यरूशलेम अनि यसको मन्दिर नाश गरियो र यहूदाका बासिन्दाहरूलाई कैदी बनाएर लगियो। तथापि, यहोवाका वचन सुन्‍ने मानिसहरूले त्यतिबेलाका धर्मत्यागीहरूको प्रतिरोध गर्ने बल पाए। सा.यु.पू. ६०७ को सन्दर्भमा चाहिं यहोवाले उहाँको कुरा सुन्‍नेहरू बच्नेछन्‌ भनी प्रतिज्ञा गर्नुभएको थियो। (यर्मिया २१:८, ९) आज, हामी ज्योति मन पराउनेहरूले त्यतिबेला घटेका घटनाहरूबाट धेरै कुरा सिक्नसक्छौं।—एफिसी ५:५.

ज्योतिमा हुनेहरूको आनन्द

३. आज, हामी कस्तो भरोसा राख्नसक्छौं, हामी कुन “धार्मिक जाति[लाई]” प्रेम गर्छौं र त्यो “जाति[सित]” कुन “बलियो शहर” छ?

“हाम्रो एउटा बलियो शहर छ। पर्खाल र आड़को निम्ति [परमेश्‍वरले] उद्धारक नियुक्‍त गर्नुहुनेछ। सत्य पालन गर्ने धार्मिक जाति पस्न मूल-ढोकाहरू खोल।” (यशैया २६:१, २) यी शब्दहरू, यहोवामा भरोसा गर्ने व्यक्‍तिहरूले प्रसन्‍न भई व्यक्‍त गरेका हुन्‌। यशैयाका दिनका विश्‍वासी यहूदीहरूले साँचो सुरक्षाको स्रोतको रूपमा आफ्ना देशबासीहरूले जस्तै झूटा देवहरूको मुख ताकेनन्‌ तर यहोवामा भरोसा गरे। आज, हाम्रो पनि त्यस्तै भरोसा छ। यसबाहेक, हामी यहोवाको “धार्मिक जाति” अर्थात्‌ “परमेश्‍वरका इस्राएल[लाई]” प्रेम गर्छौं। (गलाती ६:१६; मत्ती २१:४३) यहोवाले पनि त्यस राष्ट्रको विश्‍वासी आचरणले गर्दा तिनीहरूलाई प्रेम गर्नुहुन्छ। उहाँको आशिष्‌ले परमेश्‍वरका इस्राएलको “बलियो शहर” छ अनि यो राष्ट्रसँग एउटा संगठनको जस्तो सहयोग र सुरक्षा छ।

४. हामीले कस्तो मनस्थिति विकास गर्नु बेस हुनेछ?

यस “शहर[मा]” भएकाहरूको ‘मन यहोवामा अड़िएको छ, यहोवाले तिनीहरूलाई . . . पूरा शान्तिमा राख्नुहुन्छ, किनभने तिनीहरूले यहोवामाथि भरोसा राख्छ।’ यहोवाले उहाँमाथि भरोसा र उहाँका धार्मिक स्तरहरू पालन गर्ने मानिसहरूलाई थाम्नुहुन्छ। अतः यहूदाका विश्‍वासी जनहरूले यशैयाको सल्लाह पालन गरे: “सधैं परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु परमेश्‍वर सनातनको चटान हुनुहुन्छ।” (यशैया २६:३, ४; भजन ९:१०; ३७:३; हितोपदेश ३:५) त्यस्तो मनस्थिति भएका व्यक्‍तिहरूले “परमप्रभु परमेश्‍वर” मात्रै सुरक्षित चटान हुनुहुन्छ भनी मानि लिन्छन्‌। तिनीहरू उहाँसँग “पूरा शान्तिमा” रहनेछन्‌।—फिलिप्पी १:२; ४:६, ७.

परमेश्‍वरका शत्रुहरूको निम्ति अपमान

५, ६. (क) पुरातन बेबिलोनको कसरी अपमान गरियो? (ख) “महान्‌ बेबिलोन[को]” कुन तरिकामा अपमान गरियो?

यहोवामाथि भरोसा गर्नेहरूले दुःखकष्ट भोग्नुपऱ्‍यो भने नि? तिनीहरू डराउनुपर्दैन। यहोवाले केही समयको निम्ति ती कुराहरू हुन दिनुहुन्छ तर अन्तमा उहाँले उद्धार गर्नुहुनेछ र दुःखकष्ट दिनेहरूले उहाँको न्याय भोग्नुपर्नेछ। (२ थिस्सलोनिकी १:४-७; २ तिमोथी १:८-१०) एउटा “उच्च शहर[को]” उदाहरण विचार गर्नुहोस्‌। यशैया भन्छन्‌: “अल्गो स्थान, उच्च शहरमा बस्नेहरूलाई [यहोवाले] होच्याउनुभएको छ। उहाँले त्यस शहरलाई तल झारिदिनुहुनेछ। उहाँले त्यसलाई जमीन अर्थात्‌ माटोमा मिलाइदिनुहुनेछ। खुट्टाले त्यसलाई कुल्चनेछ, गरीबका खुट्टा र दरिद्रका पाइलाले पनि कुल्चनेछ।” (यशैया २६:५, ६) यहाँ उल्लेख गरिएको उच्च शहर बेबिलोन हुनसक्छ। त्यस शहरले निश्‍चय पनि परमेश्‍वरका जनहरूलाई दुःख दिएको थियो। तर बेबिलोनलाई के भयो? सा.यु.पू. ५३९ मा यो मादी र फारसीहरूको कब्जामा पऱ्‍यो। कस्तो बेइज्जती!

यशैयाको भविष्यसूचक शब्दहरू सन्‌ १९१९ देखि “महान्‌ बेबिलोन[मा]” भएका घटनाहरूसित मिल्दाजुल्दा छन्‌। यहोवाका जनहरूलाई आध्यात्मिक बन्धनबाट मुक्‍त गर्न बाध्य हुँदा त्यस उच्च शहरले अपमानजनक हार खप्नुपऱ्‍यो। (प्रकाश १४:८) त्यसपछि भएको घटना झनै अपमानजनक थियो। मसीहीहरूको त्यस सानो समूहले आफूलाई बन्धनमा पार्नेहरूलाई ‘कुल्चीमिल्ची’ गर्न थाले। सन्‌ १९२२ मा तिनीहरूले सार्वजनिक रूपमा मसीहीजगत्‌माथि यहोवाको न्याय घोषणा गर्न थाले। अनि तिनीहरूले प्रकाश ८:७-१२ मा उल्लिखित चार स्वर्गदूतको तुरही फुकाइ र प्रकाश ९:१–११:१५ मा अगमवाणी गरिएका तीनवटा विपत्तिहरूको घोषणा गर्न थाले।

“धर्मीको बाटो सोझो हुन्छ”

७. यहोवाको ज्योति प्राप्त गर्नेहरूले कस्तो डोऱ्‍याइ पाउँछन्‌, तिनीहरू कसमाथि आशा राख्छन्‌ र कुन कुराको कदर गर्छन्‌?

यहोवा आफ्नो ज्योतितिर फर्कनेहरूको उद्धार गर्नुहुन्छ र उहाँको मार्गमा डोऱ्‍याउनुहुन्छ। यसबारे यशैया यसो भन्छन्‌: “धर्मीको बाटो सोझो हुन्छ। तपाईंलेनै धर्मीको बाटो सोझ्याउनुहुन्छ। हे परमप्रभु, तपाईंको इन्साफका मार्गमा, तपाईंका बाटो हामीले हेरेका छौं। हाम्रा मनको इच्छा तपाईंकै नाउँ र तपाईंकै सम्झनामा छ।” (यशैया २६:७, ८) यहोवा धर्मी परमेश्‍वर हुनुहुन्छ र उहाँको उपासना गर्नेहरूले उहाँका धार्मिक स्तरहरू पालन गर्नैपर्छ। त्यसो गर्दा यहोवाले तिनीहरूलाई डोऱ्‍याउनुहुन्छ र तिनीहरूको बाटो सुगम तुल्याइदिनुहुन्छ। उहाँको डोऱ्‍याइअनुसार हिंड्‌दा यी नम्र व्यक्‍तिहरूले यहोवामाथि आशा राखेको प्रमाण दिन्छन्‌ र तनमनले उहाँको नाउँको कदर र “सम्झना” गर्छन्‌।—प्रस्थान ३:१५.

८. यशैयाले कस्तो उदाहरणीय मनोभाव प्रदर्शित गरे?

यशैयाले यहोवाको नाउँको कदर गर्थे। यसको स्पष्ट प्रमाण तिनले भनेका पछिल्ला शब्दहरूमा पाउँछौं: “राती मैले हृदयले तपाईंको लालसा गरें। मेरो अन्तस्करणले तपाईंको खोजी तन-मनले गरेको छ, किनकि जब तपाईंको इन्साफ पृथ्वीमा प्रकट हुन्छ; तब संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्‌।” (यशैया २६:९) यशैयाले आफ्नो सारा “हृदय” र तनमनले यहोवाको खोजी गरे। अगमवक्‍ताले सुनसान भएको समयमा यहोवालाई प्रार्थना गरेर आफ्ना भित्री भावनाहरू पोख्दै अनि तीव्रतासाथ उहाँको डोऱ्‍याइ खोजेको दृश्‍य कल्पना गर्नुहोस्‌। कस्तो असल उदाहरण! यसबाहेक, यशैयाले यहोवाका न्यायिक कार्यहरूबाट धार्मिकताका पाठहरू सिके। यहाँ, तिनी यहोवाको इच्छा बुझेर सधैं सचेत रहन हामीलाई सम्झना दिलाउँछन्‌।

कसै कसैले अन्धकार रोज्छन्‌

९, १०. आफ्नो अवफादार राष्ट्रमाथि यहोवाले कस्तो दया देखाउनुभयो तर तिनीहरूको प्रतिक्रिया कस्तो थियो?

यहोवाले यहूदामाथि ठूलो दया देखाउनुभयो तर दुःखको कुरा, सबैले सकारात्मक प्रतिक्रिया देखाएनन्‌। परमेश्‍वरको सत्यको ज्योति रोज्नुको सट्टा तिनीहरूमध्ये धेरैजसोले बारम्बार विद्रोह गरे र धर्मत्याग रोजे। यशैयाले यसो भने: “दुष्टमाथि निगाह रहे तापनि तिनीहरूले धार्मिकता सिक्नेछैन। धार्मिकताको राज्यमा त्यसले खराबीसित व्यवहार गर्नेछ, र परमप्रभुको वैभवलाई देख्नेछैन।”—यशैया २६:१०.

१० यशैयाको दिनमा यहोवाले यहूदालाई शत्रुहरूबाट बचाउनुहुँदा अधिकांशले त्यसलाई स्वीकार्न इन्कार गरे। तिनीहरूलाई शान्तिमा रहने आशिष्‌ दिनुहुँदा त्यस राष्ट्रले कृतज्ञता जाहेर गरेनन्‌। तसर्थ, यहोवाले तिनीहरूलाई “अरू मालिकहरू[को]” सेवा गर्न छोडिदिनुभयो र अन्ततः सा.यु.पू. ६०७ मा यहूदीहरूलाई कैदी बनाएर बेबिलोन लग्न दिनुभयो। (यशैया २६:११-१३) यद्यपि, त्यस राष्ट्रका बाँकी जनहरू सुध्रिए र आफ्नो जन्मभूमि फर्के।

११, १२. (क) यहूदालाई बन्दी बनाउनेहरूको भविष्य कस्तो थियो? (ख) सन्‌ १९१९ मा यहोवाका अभिषिक्‍त सेवकहरूलाई पहिला बन्दी बनाउनेहरूको भविष्य कस्तो थियो?

११ यहूदालाई बन्दी बनाउनेहरूबारे के भन्‍न सकिन्छ? यशैया भविष्यसूचक ढंगमा यस्तो जवाफ दिन्छन्‌: “तिनीहरू मरिहाले, फेरि तिनीहरू जिउनेछैनन्‌। तिनीहरूको मृत्यु भयो, तिनीहरू बिउँतनेछैनन्‌। यसैको निम्ति तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो, र तिनीहरूको सबै सम्झना मेटिदिनुभयो।” (यशैया २६:१४) हो, सा.यु.पू. ५३९ मा बेबिलोन विनाश भएपछि त्यसको कुनै भविष्य रहेन। समयमा, त्यस शहरको नामोनिसान मेटिनेथियो। त्यो “फेरि . . . जिउने” थिएन र त्यसको विशाल साम्राज्यको अस्तित्व इतिहासका किताबहरूमा मात्रै सीमित रहने थियो। संसारका शक्‍तिशाली मानिसहरूमाथि आफ्नो भरोसा राख्नेहरूको निम्ति कस्तो शक्‍तिशाली चेताउनी!

१२ यस भविष्यवाणीको केही भाग परमेश्‍वरले सन्‌ १९१८ मा आफ्ना अभिषिक्‍त सेवकहरूलाई आध्यात्मिक बन्धनमा पर्न दिनुहुँदा र सन्‌ १९१९ मा मुक्‍त गर्नुहुँदा पूरा भएको थियो। त्यसबेलादेखि, तिनीहरूलाई बन्दी बनाउनेहरू, मुख्यतया मसीहीजगत्‌को भविष्य अन्धकारमय भयो। तर यहोवाका जनहरूले साँच्चै प्रचुर मात्रामा आशिष्‌ पाउने आशा गर्नसक्थे।

“तपाईंले जाति जातिहरूको वृद्धि गर्नुभएको छ”

१३, १४. सन्‌ १९१९ देखि यहोवाका अभिषिक्‍त जनहरूले प्रचुर मात्रामा कस्तो आशिष्‌ पाइरहेका छन्‌?

१३ सन्‌ १९१९ मा यहोवाले आफ्ना अभिषिक्‍त सेवकहरूको पश्‍चात्तापी मनोभाव र कार्यको निम्ति आशिष्‌ दिनुभयो र तिनीहरूको संख्या वृद्धि हुन थाल्यो। सुरुमा, परमेश्‍वरको इस्राएलको बाँकी रहेका जनहरूलाई जम्मा गर्न प्राथमिकता दिइयो अनि “ठूलो भीड़[को]” “अरू भेड़ा[लाई]” जम्मा गर्न थालियो। (प्रकाश ७:९; यूहन्‍ना १०:१६) यी आशिष्‌हरू यशैयाको भविष्यवाणीमा अगमवाणी गरिएका थिए: “तपाईंले जाति जातिहरूको वृद्धि गर्नुभएको छ। हे परमप्रभु, तपाईंले जाति जातिहरूको वृद्धि गर्नुभएको छ। तपाईं महिमित हुनुभएको छ। तपाईंले देशका सारा सीमाना बढ़ाउनुभएको छ। हे परमप्रभु, दुःखमा तिनीहरूले तपाईंलाई खोजे। तपाईंको शिक्षा-दण्ड तिनीहरूमाथि पर्दा तिनीहरूले साउती गरेर आफ्नो मनको कुरा तपाईंलाई पोखाए।”—यशैया २६:१५, १६.

१४ आज, परमेश्‍वरको इस्राएलको सिमाना पृथ्वीको चारैतिर फैलिएको छ र ठूलो भीडको संख्या लगभग ६० लाख पुगेको छ र तिनीहरू जोसका साथ सुसमाचार प्रचार गर्ने कार्यमा भाग लिइरहेका छन्‌। (मत्ती २४:१४) यहोवाबाट कत्ति धेरै आशिष्‌! अनि यसले उहाँको नाउँमा ठूलो महिमा ल्याउनेछ! आज त्यो नाउँ २३५ वटा राष्ट्रमा घोषणा भइरहेको छ। उहाँको प्रतिज्ञाको कस्तो महान्‌ पूर्ति।

१५. सन्‌ १९१९ मा कस्तो प्रतीकात्मक पुनरुत्थान भयो?

१५ बेबिलोनको कैदबाट मुक्‍त हुन यहूदालाई यहोवाको मदत चाहिएको थियो। तिनीहरूले आफ्नै बल-बर्कतमा त्यसो गर्न सक्दैनथे। (यशैया २६:१७, १८) त्यस्तै गरी, सन्‌ १९१९ मा परमेश्‍वरको इस्राएलले पाएको मुक्‍ति यहोवाको समर्थनको प्रमाण थियो। उहाँविना यो हुन सक्दैन थियो। तिनीहरूको अवस्थामा यस्ता आमूल परिवर्तनहरू भए कि यशैया यसलाई पुनर्स्थापनासित तुलना गर्छन्‌: “मरिगएका तपाईंका जनहरू जिउनेछन्‌। तिनीहरूको शरीरको पुनरूत्थान हुनेछ। हे माटोमा बस्ने हो, उठेर आऊ। तपाईंको शीत ज्योतिको शीतझैं झर्छ, अधलोकमा तपाईंले त्यो झार्नुहुनेछ।” (यशैया २६:१९; प्रकाश ११:७-११) हो, मृत्युमा निष्क्रिय भएकाहरू प्रतीकात्मक अर्थमा भन्‍ने हो भने, नयाँ गतिविधिको निम्ति पुनर्जीवित हुनेछन्‌!

डरलाग्दो समयमा सुरक्षा

१६, १७. (क) सा.यु.पू. ५३९ मा बेबिलोनको पतनबाट बच्न यहूदीहरूले के गर्नुपर्थ्यो? (ख) आज सम्भवतः “भित्री कोठा[हरू]” के हुन्‌ र त्यसले हामीलाई कसरी फाइदा पुऱ्‍याउँछ?

१६ यहोवाका सेवकहरूलाई सधैं उहाँको सुरक्षा चाहिन्छ। तर चाँडै उहाँले अन्तिम पटक शैतानको संसारमाथि प्रहार गर्नुहुनेछ र त्यतिबेला उहाँका उपासकहरूलाई पहिलाभन्दा झन्‌ धेरै उहाँको मदतको खाँचो पर्नेछ। (१ यूहन्‍ना ५:१९) त्यो डरलाग्दो समयबारे यहोवा यस्तो चेताउनी दिनुहुन्छ: “हे मेरा मानिस हो, आऊ, तिमीहरू आफ्ना भित्री कोठाहरूमा पसेर ढोकाहरू थुन। परमप्रभुको क्रोध शान्त नहोउञ्जेल केही क्षणको निम्ति लुकिबस किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अधर्मका निम्ति सजाय दिन परमप्रभु आफ्नो ठाउँबाट निस्की आउनुहुन्छ। पृथ्वीले आफूमाथि पोखाइएको रगत प्रकट गर्नेछ, र मारिएकाहरूलाई अब उप्रान्त पृथ्वीले छिपाउनेछैन।” (यशैया २६:२०, २१; सपन्याह १:१४) यो चेताउनीले यहूदीहरूलाई सा.यु.पू. ५३९ मा बेबिलोनको पतनबाट कसरी बच्ने भनी बाटो देखायो। कुरा मान्‍ने मानिसहरू घरभित्र बसेर बाहिर सडकमा युद्ध गर्न आएका सेनाहरूबाट सुरक्षित रहने थिए।

१७ भविष्यवाणीका “भित्री कोठाहरू[ले]” आज सम्भवतः यहोवाका जनहरूको संसारभरि छरिएका हजारौं मण्डलीहरूलाई संकेत गर्छ। त्यस्ता मण्डलीहरू आज पनि सुरक्षा पाउने स्थल हुन्‌। त्यहाँ मसीहीहरूले आफ्ना भाइहरूमाझ मायालु प्राचीनहरूको सुपरिवेक्षणमा सुरक्षित महसुस गर्छन्‌। (यशैया ३२:१, २; हिब्रू १०:२४, २५) यस दुष्ट रीतिरिवाजको अन्त नजिक हुँदै गइरहेको कुरालाई विचार गर्ने हो भने, यो कुरा झनै साँचो देखिन्छ। किनकि त्यतिबेला हाम्रो बचाउ आज्ञाकारितामा निर्भर हुनेछ।—सपन्याह २:३.

१८. यहोवाले कसरी चाँडै “समुद्रमा हुने अजिंगरलाई मार्नुहुनेछ?”

१८ त्यस समयको सन्दर्भमा यशैया यस्तो भविष्यवाणी गर्छन्‌: “त्यस दिन परमप्रभुले आफ्नो लाग्ने, र ठूलो बलियो तरवारले भाग्ने र गुडुल्ने सर्प, लिब्यातानलाई दण्ड दिनुहुनेछ, र समुद्रमा हुने अजिंगरलाई मार्नुहुनेछ।” (यशैया २७:१) आधुनिक समयको “लिब्यातान” को हो? सम्भवतः “त्यो वृद्ध साँप” शैतान स्वयम्‌ र त्यसले परमेश्‍वरको इस्राएल विरुद्ध युद्ध गर्न प्रयोग गर्ने यस दुष्ट रीतिरिवाज हो। (प्रकाश १२:९, १०, १७; १३:१४, १६, १७) सन्‌ १९१९ मा लिब्यातानले परमेश्‍वरका जनहरूमाथिको आफ्नो पकड गुमायो। अब केही समयमा त्यसको नामोनिसान हुनेछैन। (प्रकाश १९:१९-२१; २०:१-३, १०) यसप्रकार, यहोवाले “समुद्रमा हुने अजिंगरलाई मार्नुहुनेछ।” त्यतिञ्जेल, यहोवाका जनहरू विरुद्ध लिब्यातानले जस्तोसुकै प्रयास गरे तापनि बेकाम हुनेछ। (यशैया ५४:१७) त्यस्तो आश्‍वासन पाउनु कत्ति सान्त्वनादायी छ!

“एउटा सुन्दर दाखबारी”

१९. आज शेष अभिषिक्‍त जनहरूको अवस्था कस्तो छ?

१९ यहोवाबाट प्राप्त यी सबै ज्योतिलाई विचार गर्दा के हामीसित हर्षित हुने हर कारण छैन र? अवश्‍य छ! यशैया अति सुन्दर ढंगमा यहोवाका जनहरूको हर्ष यसरी वर्णन गर्छन्‌: “त्यस दिन, एउटा सुन्दर दाखबारी हुनेछ। त्यसको गीत गाऊ। म, परमप्रभु, त्यसको हेरचाहा गर्छु। म त्यसमा क्षणक्षणमा पानी हाल्छु। म रातदिन त्यसको देखरेख गर्छु, नत्रता कसैले त्यसलाई नोक्सानी गर्ला।” (यशैया २७:२, ३) यहोवाले आफ्नो “दाखबारी” अर्थात्‌ परमेश्‍वरको इस्राएलका शेष जनहरू र तिनीहरूका परिश्रमी सँगीहरूको हेरचाह गर्नुभएको छ। (यूहन्‍ना १५:१-८) फलस्वरूप उहाँको नाउँको महिमा हुनुका साथै यस पृथ्वीमा भएका उहाँका सेवकहरू औधी हर्षित भएका छन्‌।

२०. यहोवाले मसीही मण्डलीलाई कसरी बचाउनुहुन्छ?

२० आफ्ना अभिषिक्‍त सेवकहरूसँगको यहोवाको रिस अब मरिसक्यो भनी थाह पाउँदा हामी रोमाञ्चित हुनसक्छौं। यही रिसको कारण उहाँले सन्‌ १९१८ मा आफ्ना सेवकहरूलाई आध्यात्मिक बन्धनमा पर्न दिनुभएको थियो। यहोवा स्वयम्‌ले भन्‍नुभएको छ: “ममा रीस छैंन। लड़ाइँ गर्न मेरो विरुद्धमा काँढ़ाहरू खड़ा भएता हुनेथियो म तिनीहरूमाथि जाइलाग्ने थिएँ! म तिनीहरूलाई एकसाथ जलाउने थिएँ! होइन भनेता त्यो मानिस मिलाप गर्न मेरो शरणमा परोस्‌। त्यसले मसित मिलाप गरोस्‌।” (यशैया २७:४, ५) उहाँको “सुन्दर दाखबारी[ले]” प्रशस्त फल उत्पादन गरिरहोस्‌ भन्‍नुको निम्ति यहोवाले कुनै पनि जंगली झारपात जस्तो भ्रष्ट प्रभाव पार्ने तत्त्वहरूलाई नाश गर्नुहुनेछ। तसर्थ, मसीही मण्डलीको हितलाई कसैले पनि खतरामा नपारोस्‌! उहाँको अनुमोदन र सुरक्षा खोजी गर्नेहरू सबै ‘यहोवाको शरणमा परून्‌।’ यसो गर्दा हामी परमेश्‍वरसँग मिलापमा हुनेछौं, त्यो अत्यन्तै महत्त्वपूर्ण भएको कारण यशैया यसबारे दुई चोटि उल्लेख गर्छन्‌।—भजन ८५:१, २, ८; रोमी ५:१.

२१. कुन तरिकामा फलदायी भूमि “फल[ले]” भरिएको छ?

२१ अझै थप आशिष्‌बारे यसप्रकार बताइएको छ: “समयमा याकूबले जरा गाड़नेछ, इस्राएल फूल्ने-फल्नेछ, र तिनीहरूले समस्त पृथ्वीलाई फलले भर्नेछ।” (यशैया २७:६) यो पद सन्‌ १९१९ देखि पूरा भइरहको छ र यसले यहोवाको शक्‍तिको सुस्पष्ट प्रमाण दिन्छ। अभिषिक्‍त मसीहीहरूले “फल” अर्थात्‌ पोषिलो आध्यात्मिक भोजनले पृथ्वी भरिदिएका छन्‌। भ्रष्ट संसारमाझ तिनीहरू परमेश्‍वरको उच्च स्तरहरूको जगेर्ना गरिरहन्छन्‌। अनि यहोवाले तिनीहरूको संख्यामा वृद्धि गर्नुभएर आशिष्‌ दिइरहनुभएको छ। फलस्वरूप, तिनीहरूका लाखौं सँगीहरू अर्थात्‌ अरू भेडाले “दिन-रात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्‌।” (प्रकाश ७:१५) “फल[मा]” सहभागी भएर त्यो फल अरूसित बाँड्‌दा प्राप्त हुने महान्‌ सुअवसरहरूलाई हामी कहिल्यै नभुलौं!

२२. ज्योति स्वीकार्नेहरूले कस्तो आशिष्‌ पाउनेछन्‌?

२२ पृथ्वीलाई अन्धकार र मानिसहरूलाई निस्पट्ट अँध्यारोले छोपेको यस डरलाग्दो समयमा यहोवाबाट आध्यात्मिक ज्योति पाएकोमा के हामी कृतज्ञ छैनौं र? (यशैया ६०:२; रोमी २:१९; १३:१२) पूरा तनमनले ज्योति स्वीकार्नेहरूको निम्ति यसको अर्थ अहिले मनोशान्ति र भविष्यमा अनन्त जीवन हो। यस्तो असल कारणले गर्दा हामी ज्योति मन पराउनेहरूले हृदयदेखि नै यहोवाको प्रशंसा गर्छौं र भजनरचयिताले जस्तै यसो भन्‍नेछौं: “परमप्रभुनै मेरो जीवनको किल्ला हुनुहुन्छ, मैले कसको भय मान्‍नु? परमप्रभुको बाटो हेर्‌, दह्रो हो, र तेरो हृदयले साहस गरोस्‌, तैंले परमप्रभुकै बाटो हेर्‌।”—भजन २७:१ख, १४.

के तपाईंलाई सम्झना छ?

• यहोवाका जनहरूलाई दमन गर्नेहरूको भविष्य कस्तो छ?

• यशैयाको पुस्तकमा कस्तो वृद्धिको भविष्यवाणी गरिएको छ?

• हामी कुन “भित्री कोठाहरू[मा]” बस्नुपर्छ र किन?

• यहोवाका जनहरूको अवस्थाले किन उहाँको प्रशंसा गर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २२-मा भएको पेटी]

नयाँ प्रकाशन

यस दुई अध्ययन लेखमा छलफल गरिएका प्रायजसो जानकारी २०००/२००१ जिल्ला अधिवेशन कार्यक्रमको दौडान भाषणको रूपमा प्रस्तुत गरिएको थियो। भाषणको अन्तमा आइजायाज प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड (खण्ड १) शीर्षक भएको नयाँ पुस्तकको विमोचन गरिएको थियो। यस ४१६ पृष्ठे पुस्तकमा यशैया पुस्तकको पहिलो ४० अध्यायको पद पद गरी छलफल गरिएको छ।

[पृष्ठ १८-मा भएको चित्र]

यहोवाको “बलियो शहर” अर्थात्‌ उहाँको संगठनमा धर्मीहरूले मात्र स्थान पाउनेछन्‌

[पृष्ठ १९-मा भएको चित्र]

यशैयाले “राती” यहोवाको खोजी गरे

[पृष्ठ २१-मा भएको चित्र]

यहोवाले आफ्नो “दाखबारी[को]” सुरक्षा गर्नुका साथै त्यसलाई फलदायी बनाउनुहुन्छ