सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो आनन्द कसरी पाउने

साँचो आनन्द कसरी पाउने

साँचो आनन्द कसरी पाउने

बौद्ध धार्मिक नेता दलाइ लामाले यसो भने: “मेरो विचारमा हाम्रो जीवनको मूल उद्देश्‍य नै आनन्द खोज्नु हो।” तिनले मन र हृदयको प्रशिक्षण वा अनुशासनद्वारा आनन्द प्राप्त गर्न सकिन्छ भनी बताए। तिनले यसो पनि भने: “पूर्ण आनन्द प्राप्त गर्न चाहिने खास कुरा मन नै हो।” तिनको विचारमा परमेश्‍वरमा विश्‍वास गर्नु आवश्‍यक छैन। a

यसको ठीक विपरीत, येशूलाई विचार गर्नुहोस्‌। उहाँ परमेश्‍वरमा बलियो विश्‍वास राख्नुहुन्थ्यो र उहाँको शिक्षाले शताब्दीऔंको दौडान लाखौं मानिसलाई प्रभावित गरेको छ। येशू मानिसहरूको आनन्दमा चासो राख्नुहुन्थ्यो। उहाँले आफ्नो प्रख्यात डाँडाको उपदेश नौ चरम सुख अर्थात्‌ सुखका अभिव्यक्‍तिहरू “धन्य . . . ” शब्दबाट सुरु गर्नुभयो। (मत्ती ५:१-१२) उहाँले सोही उपदेशमा श्रोताहरूलाई आफ्ना मन अनि हृदय जाँच्न र स्वच्छ अनि अनुशासनमा राख्न पनि सिकाउनुभयो। उहाँले हिंस्रक, अनैतिक र स्वार्थी विचारको ठाउँमा शान्तिमय, स्वच्छ र मायालु विचारहरू राख्न सिकाउनुभयो। (मत्ती ५:२१, २२, २७, २८; ६:१९-२१) पछि उहाँका एक जना चेलाले आग्रह गरेझैं हामीले ‘सच्चा, आदरणीय, चोखा, असल, मनपर्दा, सद्‌गुणी र प्रशंसनीय जे छ,’ “तिनै कुराको विचार गर्नुपर्छ।”—फिलिप्पी ४:८.

साँचो आनन्दमा अरूसितको सम्बन्ध पनि समावेश छ भनी येशूलाई थाह थियो। हामी मानिसहरू सामाजिक प्राणी हौं त्यसैले हामीले आफूलाई अरूबाट अलग्यायौं वा वरपरका मानिसहरूसँग सधैं झगडा गऱ्‍यौं भने साँच्चै आनन्दित हुन सक्दैनौं। अरूले हामीलाई र हामीले अरूलाई माया गऱ्‍यौं भने मात्र आनन्दित हुन सकिन्छ। त्यस्तो प्रेमको निम्ति महत्त्वपूर्ण कुरा परमेश्‍वरसितको सम्बन्ध हो भनी येशूले सिकाउनुभयो। यहाँ विशेष गरी येशूको शिक्षा दलाइ लामाको शिक्षाभन्दा फरक छ किनभने येशूले मानिसहरू परमेश्‍वरबाट स्वतन्त्र भएर साँच्चै आनन्दित हुन सक्दैनन्‌ भनी सिकाउनुभयो। किन?—मत्ती ४:४; २२:३७-३९.

आफ्नो आध्यात्मिक आवश्‍यकताहरूबारे विचार गर्नुहोस्‌

एउटा चरम सुख यस्तो थियो: “धन्य आत्मामा दरिद्र हुनेहरू।” (मत्ती ५:३) येशूले किन यसो भन्‍नुभयो? किनभने हामी पशुहरूजस्तो नभई हाम्रा आध्यात्मिक आवश्‍यकताहरू हुन्छन्‌। परमेश्‍वरको स्वरूपमा सृजिएका हुनाले हामीले केही हदसम्म प्रेम, न्याय, कृपा र बुद्धिजस्ता ईश्‍वरीय गुणहरू खेती गर्नसक्छन्‌। (उत्पत्ति १:२७; मीका ६:८; १ यूहन्‍ना ४:८) हाम्रो आध्यात्मिक आवश्‍यकतामा जीवनको उद्देश्‍य हुनु पनि समावेश छ।

हामी त्यस्तो आध्यात्मिक आवश्‍यकता कसरी पूरा गर्नसक्छौं? ध्यान वा आत्मविश्‍लेषन गरेर त पक्कै सक्दैनौं। बरु, येशूले यसो भन्‍नुभयो: “मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।” (मत्ती ४:४) याद गर्नुहोस्‌, येशूले हाम्रो जीवनको निम्ति अत्यावश्‍यक “हरेक वचन[को]” स्रोत परमेश्‍वर हुनुहुन्छ भनी बताउनुभयो। कुनै कुनै प्रश्‍नको जवाफ परमेश्‍वरले बाहेक अरू कसैले दिन सक्दैन। त्यो अन्तरदृष्टि विशेष गरी आज समसामयिक छ किनभने अहिले जीवनको उद्देश्‍य र आनन्दका मार्गहरूबारे विभिन्‍न सिद्धान्तहरू व्याप्त छन्‌। किताब पसलहरूमा पाठकहरूको सुस्वास्थ्य, समृद्धि र आनन्दका लागि भनेर लेखिएका किताबहरूको एउटा सिंगै खण्ड हुन्छन्‌। विशेष गरी, आनन्दलाई ध्यानमा राख्दै इन्टरनेट साइटहरू पनि खोलिएका छन्‌।

तापनि, यस्ता क्षेत्रमा अक्सर मानव सोचाइ गलत हुन्छ। किनकि, मानव सोचाइमा स्वार्थी चाहना वा अहम्‌ भावलाई बढी जोड दिने झुकाउ हुन्छ। यो सीमित ज्ञान, अनुभव र अक्सर झूटा कथनमा आधारित हुन्छ। उदाहरणका लागि, आत्मविकाससम्बन्धी पुस्तकका लेखकहरूमाझ “विकासवादको मनोविज्ञान”-को सिद्धान्तमा आफ्ना विचारहरू आधारित गर्ने लहर बढेको छ। यस लहरले मानव भावनाहरू हाम्रो तथाकथित पशु पुर्ख्यौलीमा आधारित छ भन्‍ने अनुमान लगाउँछ। तथ्य कुरा के हो भने, सृष्टिकर्ताको भूमिकालाई बेवास्ता गर्ने कुनै पनि सिद्धान्तको आधारमा साँचो आनन्द पाउने प्रयास मनासिब हुँदैन र उल्टो त्यसले निराशातर्फ मात्र डोऱ्‍याउँछ। यस सम्बन्धमा पुरातन अगमवक्‍ताले यसो भने: “ज्ञानी मानिसहरू लाजमा पारिनेछन्‌, . . . हेर, तिनीहरूले परमप्रभुको वचनलाई इन्कार गरे, तिनीहरूमा कस्तो बुद्धि छ?”—यर्मिया ८:९.

यहोवा परमेश्‍वरलाई हाम्रो संरचना र हामीलाई कुन कुराले साँच्चै आनन्दित बनाउँछ भनी थाह छ। मानिसलाई पृथ्वीमा राख्नुको उद्देश्‍य र तिनीहरूको भविष्य पनि उहाँलाई थाह छ र यी सबै जानकारी उहाँले हामीलाई बाइबलमार्फत बताउनुभएको छ। त्यस प्रेरित पुस्तकमा प्रकाश पार्नुभएको कुरा सुन्‍न पाउँदा इमानदार हृदय भएका मानिसहरूले राम्रो प्रतिक्रिया देखाउँछन्‌। फलस्वरूप त्यसले तिनीहरूलाई आनन्दित हुन प्रेरित गर्छ। (लूका १०:२१; यूहन्‍ना ८:३२) येशूका दुई चेलाहरूको सन्दर्भमा पनि यस्तै भएको थियो। उहाँको मृत्युपछि तिनीहरू अत्यन्तै निराश भएका थिए। तर पुनरुत्थान हुनुभएको येशू स्वयम्‌कै मुखबाट मानिसजातिको उद्धारको निम्ति परमेश्‍वरले रच्नुभएको उद्देश्‍यमा उहाँले खेल्नुहुने भूमिकाबारे थाह पाएपछि तिनीहरूले यसो भने: “उहाँले हामीसित बाटोमा कुरा गर्नुहुँदा, र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय हामीमा बलेको थिएन र?”—लूका २४:३२.

हामीले आफ्नो जीवनको मार्गदर्शक बाइबलमा भएको सत्यलाई आफ्नो बनायौं भने त्यस्तो आनन्द झनै बढ्‌छ। यस सन्दर्भमा आनन्दलाई इन्द्रेनीसित तुलना गर्न सकिन्छ। मौसम अनुकूल हुँदा यो देखापर्छ तर भनेजस्तो मौसम भयो भने यो एकदमै उज्यालो हुनुका साथै दुइटासम्म पनि देख्न सकिन्छ। बाइबलको शिक्षालाई जीवनमा लागू गर्दा कसरी धेरै आनन्दित हुनसक्छौं त्यसबारे आउनुहोस्‌, हामी केही उदाहरणहरू हेरौं।

जीवन सरल बनाउनुहोस्‌

पहिला, धनको सन्दर्भमा येशूको सल्लाहलाई विचार गरौं। धनसम्पत्ति आर्जन गर्नुलाई नै जीवनको प्रमुख कुरा नबनाउन सल्लाह दिइसक्नुभएपछि उहाँले एउटा उल्लेखनीय कुरा व्यक्‍त गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “यदि तिम्रो आँखा निर्मल छन्‌ भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ।” (मत्ती ६:१९-२२) उहाँले धन, शक्‍ति वा मानिसहरूले आफ्नोनिम्ति निर्धारण गर्ने अन्य उद्देश्‍यहरूका पछि लाग्यौं भने हामीले जीवनका त्योभन्दा अझ महत्त्वपूर्ण कुराहरू गुमाउनेछौं भन्‍नुभयो। अर्को एक अवसरमा येशूले भन्‍नुभएझैं आखिरमा, “मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” (लूका १२:१५) परमेश्‍वरसँगको सम्बन्ध, पारिवारिक मामिला वा त्यस्तै अन्य साँच्चै महत्त्वपूर्ण कुराहरूलाई प्राथमिकता दियौं भने हाम्रो “आँखा निर्मल” हुनेछ।

स्मरण रहोस्‌, येशूले सन्यासी जीवनको प्रवर्धन गरिरहनुभएको थिएन। किनभने उहाँ आफै पनि सन्यासी हुनुहुन्‍नथ्यो। (मत्ती ११:१९; यूहन्‍ना २:१-११) बरु, उहाँले जीवनको उद्देश्‍य खालि धनसम्पत्ति कमाउनु मात्र हो भन्‍ने धारणा राख्ने मानिसहरूले जीवनका महत्त्वपूर्ण कुराहरूलाई अवहेलना गरिरहेका हुनेछन्‌ भनी सिकाउनुभयो।

युवावस्थामै अत्यन्तै धनी हुने मानिसहरूबारे टिप्पणी गर्दै सं.रा.अ.-स्थित सान फ्रान्सिसकोका मनोचिकित्सकले यसो भने, तिनीहरूको निम्ति पैसा “तनाउ र गोलमालको जड हो।” तिनीहरू “दुई/तीनवटा घर, गाडी किन्छन्‌ र पैसा विभिन्‍न कुरामा खर्च गर्छन्‌। अनि ती कुराहरूबाट पनि आनन्द प्राप्त नहुँदा तिनीहरू निराश, खोक्रो र आफ्नो जीवनबारे अनिश्‍चित हुन्छन्‌।” यसको ठीक विपरीत भौतिक तवरमा सरल जीवन बिताएर आध्यात्मिक कुराहरूलाई बढी महत्त्व दिनू भनी येशूले दिनुभएको सल्लाह पालन गर्नेहरूले साँचो आनन्द पाउने सम्भावना धेरै हुन्छ।

हवाईमा ठकेदारको काम गर्ने टम प्रशान्त महासागरका टापुहरूमा उपासनाको केन्द्र बनाउन स्वेच्छाले मदत गर्न गए। त्यहाँका मानिसहरू भौतिक तवरमा बिल्कुलै दरिद्र अवस्थामा छन्‌। तर यी नम्र मानिसहरूबारे टमले एउटा कुरा याद गरे। तिनले यसो भने: “यस टापुका मेरा मसीही भाइबहिनीहरू साँच्चै आनन्दित छन्‌। धनसम्पत्ति आनन्दको रहस्य होइन भनी अझ स्पष्टसँग बुझ्न तिनीहरूले मलाई मदत गरे।” आफूसँग काम गर्ने त्यस टापुका स्वयम्‌सेवकहरू सन्तुष्ट भएको पनि तिनले याद गरे। टमले भने, “तिनीहरूले चाहेको भए धेरै पैसा कमाउनसक्थे। तर तिनीहरूले आध्यात्मिक कुरालाई प्राथमिकता दिएर सरल जीवन बिताउने छनौट गरे।” टमले त्यस उदाहरणबाट प्रेरणा पाएर आफ्नो परिवार र आध्यात्मिक कामकुरामा अझ बढी समय दिन आफ्नो जीवन सरल बनाए। आफूले गरेको यस छनौटदेखि तिनलाई कहिल्यै पछुतो भएन।

आनन्द र आत्मसम्मान

आनन्दित हुन नभई नहुने अर्को कुरा आत्मसम्मान हो। मानव असिद्धता र त्यसले गर्दा हुने कमीकमजोरीहरूको कारण कसै कसैमा आफूबारे नकारात्मक सोचाइ हुन्छ र कतिको त बाल्यकालदेखि नै नकारात्मक धारणा हुन्छ। आफूभित्र गडिएका त्यस्ता भावनाहरू हटाउन गाह्रो होला तर हटाउन भने सकिन्छ। यसको समाधान परमेश्‍वरको वचन आफ्नो जीवनमा लागू गर्नुमा निर्भर छ।

सृष्टिकर्ता हाम्रो विषयमा कस्तो महसुस गर्नुहुन्छ, त्यसबारे बाइबलले बताएको छ। कुनै मानवको वा हाम्रो आफ्नैभन्दा पनि उहाँकै दृष्टिकोण सबैभन्दा महत्त्वपूर्ण हुन्छ, होइन र? प्रेमको अमूर्त रूप परमेश्‍वरले हामीलाई कुनै पूर्वाग्रह वा द्वेषको भावनाले हेर्नुहुन्‍न। उहाँले हामी कस्तो हुनसक्छौं र हामी कस्तो छौं, त्यो हेर्नुहुन्छ। (१ शमूएल १६:७; १ यूहन्‍ना ४:८) वास्तवमा, उहाँलाई प्रसन्‍न तुल्याउन चाहनेहरू जति नै असिद्ध भए तापनि उहाँ तिनीहरूलाई अनमोल, हो प्रिय ठान्‍नुहुन्छ।—दानियल ९:२३; हाग्गै २:७.

निस्सन्देह, परमेश्‍वरले हाम्रो कमीकमजोरी र हामीले गरेको पापको बेवास्ता गर्नुहुन्‍न। उहाँ, हामीले सही कुराको निम्ति प्रयत्न गरेको चाहनुहुन्छ र हामीलाई त्यसो गर्न सहयोग पनि गर्नुहुन्छ। (लूका १३:२४) तैपनि, बाइबल यसो भन्छ: “जसरी बाबुले आफ्ना छोरा-छोरीहरूलाई टिठाउँछन्‌, त्यसरीनै उहाँसँग डराउनेहरूलाई परमप्रभुले टिठाउनुहुन्छ।” बाइबल अझ यसो पनि भन्छ: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खड़ा हुनुसक्छ र? तर तपाईंको डर मान्‍न तपाईंसित क्षमा पनि छ।”—भजन १०३:१३; १३०:३, ४.

त्यसैले, आफूलाई परमेश्‍वरको नजरले हेर्न सिक्नुहोस्‌। उहाँलाई प्रेम गर्नेहरूलाई उहाँ प्रिय ठान्‍नुहुन्छ र तिनीहरूमाथि भरोसा गर्नुहुन्छ भनी थाह पाउँदा तिनीहरूलाई आफू अयोग्य महसुस भए तापनि व्यक्‍तिविशेषलाई यसले आनन्दित महसुस गर्न धेरै योगदान पुऱ्‍याउनसक्छ।—१ यूहन्‍ना ३:१९, २०.

आनन्दित हुन अत्यावश्‍यक तत्त्व—आशा

सकारात्मक मनोविज्ञानको नामले चिनिने वर्तमान लोकप्रिय धारणाअनुसार सकारात्मक सोचाइ अनि आफ्ना असल गुणहरूमाथि बढी ध्यान दिएको खण्डमा त्यसले उत्पन्‍न गर्ने आशावादी भावनाले आनन्दतर्फ डोऱ्‍याउनसक्छ। जीवन र भविष्यप्रति आशावादी विचारधारा राख्दा त्यसले हाम्रो आनन्द बढाउनसक्छ भन्‍ने कुरामा कमै असहमत होलान्‌। तथापि, त्यस्तो आशावादी इच्छा तथ्यमा आधारित हुनुपर्छ केवल इच्छा गर्दैमा त्यो स्वत: प्राप्त हुँदैन। यसबाहेक, जति नै आशावादी वा सकारात्मक सोचाइ राखे तापनि हामीलाई आनन्दबाट बञ्चित गराउने तत्त्वहरू जस्तै, युद्ध, अनिकाल, रोग, प्रदूषण, बुढ्यौली, बिरामी वा मृत्युबाट हामी पूर्णतया मुक्‍त हुनसक्दैनौं। यद्यपि, आशावादीताको पनि आफ्नै स्थान छ।

चाखलाग्दो कुरा के छ भने, बाइबलले आशावादी भन्‍ने शब्द प्रयोग गरेको छैन। यसले त्योभन्दा अझ प्रभावशाली शब्द, आशा चलाएको छ। भाइन्स कमप्लिट एक्सपोजिटेरी डिक्सनरी-को परिभाषाअनुसार बाइबलमा प्रयोग गरिएको आशाको अर्थ हो, “सकारात्मक र विश्‍वस्त प्रत्याशा . . . असल कुराको आनन्दित प्रत्याशा।” बाइबलमा चलाइएको आशा शब्दको अर्थ आशावादी विचारधारामा मात्रै सीमित छैन। यसले जुन कुराहरूका लागि आशा गरिएका हुन्‌ त्यसलाई पनि संकेत गर्छ। (एफिसी ४:४; १ पत्रुस १:३) उदाहरणका लागि, अघिल्लो अनुच्छेदमा उल्लेख गरिएका सबै अप्रिय कुराहरू हट्‌नेछन्‌ भनी आशा गर्नु, मसीही आशा हो। (भजन ३७:९-११, २९) तर यसमा योभन्दा पनि धेरै कुरा समावेश छ।

पार्थिव प्रमोदवनमा विश्‍वासी मानवहरूले सिद्ध जीवन प्राप्त गर्ने समयको मसीहीहरू उत्सुकतासाथ प्रतीक्षा गर्छन्‌। (लूका २३:४२, ४३) त्यस आशालाई अझ विस्तार गर्दै प्रकाश २१:३, ४ यसो भन्छ: “हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। . . . उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”

वर्तमान अवस्था भनेजस्तो राम्रो नभए तापनि त्यस्तो भविष्यको आशा गर्ने सबैले आनन्दित हुने यथेष्ट कारण पाउँछन्‌। (याकूब १:१२) त्यसोभए, यो आशा के हो र यसमा तपाईंले विश्‍वास गर्न सक्नुहुने कारणहरूबारे बाइबलमा अनुसन्धान गर्नुभए कसो होला? दिनहुँ बाइबल पढेर त्यस आशालाई अझ बलियो बनाउनुहोस्‌। त्यसो गर्दा तपाईं आध्यात्मिक तवरमा बलियो हुनुहुनेछ र त्यसले तपाईंलाई आनन्द गुमाउने कुराहरूबाट टाढै रहन र सन्तोषको सास फेर्न मदत गर्नेछ। हो, परमेश्‍वरको इच्छाअनुसार चल्नु नै साँचो आनन्दको एक मात्र कुञ्जी हो। (उपदेशक १२:१३) बाइबलका नियमहरू पालन गरेर बिताएको जीवन नै आनन्दित जीवन हो। किनभने येशूले यसो भन्‍नुभयो: “तिनीहरू पो धन्य हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”—लूका ११:२८.

[फुटनोट]

a बौद्ध धर्मावलम्बीहरूको निम्ति परमेश्‍वरमा विश्‍वास गर्नु आवश्‍यक छैन।

[पृष्ठ ५-मा भएका चित्रहरू]

धनसम्पत्ति आर्जन गरेर, आफूलाई अलग्याएर वा मानिसको सीमित ज्ञानमा भर गरेर आनन्द पाउन सकिंन्दैन

[पृष्ठ ६-मा भएका चित्र]

परमेश्‍वरको वचन पालन गर्नेहरूको जीवन आनन्ददायी हुन्छ

[पृष्ठ ७-मा भएको चित्र]

मसीही आशाले मानिसलाई आनन्दित बनाउनसक्छ