सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सिरिल र मेथोडियस वर्णमाला आविष्कार गर्ने बाइबल अनुवादकहरू

सिरिल र मेथोडियस वर्णमाला आविष्कार गर्ने बाइबल अनुवादकहरू

सिरिल र मेथोडियस वर्णमाला आविष्कार गर्ने बाइबल अनुवादकहरू

“हाम्रो राष्ट्रले बप्तिस्मा लिएको छ तर हामीसँग कोही शिक्षक छैन। हामी न ग्रीक न त ल्याटिन बुझ्छौं। . . . हाम्रोलागि कालो अक्षर भैंसी बराबर छ। त्यसैले, हामीकहाँ धर्मशास्त्रको अक्षर र त्यसको अर्थ बुझाउन शिक्षकहरू पठाइदिनुहोस्‌।”—रोस्टिस्लाभ, मोरोभियाका राजकुमार, सा.यु. ८६२.

आज, स्लाभिक परिवारका भाषा बोल्ने झन्डै ४३ करोड ५० लाख मानिसहरूले आ-आफ्नै भाषामा अनुवादित बाइबल पढ्‌नसक्छन्‌। a तिनीहरूमध्ये, ३६ करोडले सिरिलिक वर्णमाला चलाउँछन्‌। यद्यपि, १२ औं शताब्दीअघि तिनीहरूका पुर्खाहरूको भाषाको न लिपि थियो न त वर्णमाला नै थियो। त्यो अवस्था सुधार्न दुई साक्खै दाजुभाइ सिरिल र मेथोडियसले मदत गरे। बाइबलको संरक्षण र प्रवर्धनको इतिहासमा यी दुई दाजुभाइले गरेको साहसिक प्रयास परमेश्‍वरको वचनलाई प्रेम गर्ने मानिसहरूका लागि चाखलाग्दो लाग्नेछ। यी मानिसहरू को थिए र तिनीहरूले के-कस्ता अवरोधहरूको सामना गर्नुपऱ्‍यो?

“दार्शनिक” र राज्यपाल

सिरिल (सा.यु. ८२७-८६९, सुरुको नाउँ कन्स्टेन्टाइन) र मेथोडियस (सा.यु. ८२५-८८५) ग्रीसको थिस्सलोनिकीमा एउटा कुलीन परिवारमा जन्मेका थिए। त्यतिबेला थिस्सलोनिकीमा दुईवटा भाषा बोलिन्थ्यो। तिनीहरू ग्रीक र एक प्रकारको स्लाभिक भाषा बोल्थे। त्यहाँ थुप्रै स्लाभ हुनुका साथै तिनीहरूसँग नजिकको सम्बन्ध भएको कारण सिरिल र मेथोडियसले दक्षिणी स्लाभबासीहरूले बोल्ने भाषाको राम्रो ज्ञान हासिल गरेको हुनुपर्छ। अनि मेथोडियसको एक जीवनी लेखकले तिनीहरूको आमा स्लोभेनियाली मूलका थिइन्‌ भनेर पनि उल्लेख गरेका छन्‌।

पिताको मृत्युपछि सिरिल बाइजान्टिन साम्राज्यको राजधानी कन्स्टान्टिनोपोलतिर लागे। त्यहाँ तिनले शाही विश्‍वविद्यालयमा पढे र विशिष्ट शिक्षकहरूसित संगत गरे। तिनी पूर्वको सबैभन्दा प्रतिष्ठित चर्च हागिया सोफियामा पुस्तकालयका अध्यक्ष र पछि दर्शनशास्त्रीको प्राध्यापक भए। वास्तवमा, तिनको शैक्षिक उपलब्धिहरूको कारण सिरिललाई दार्शनिक भन्‍ने उपनाउँ दिइयो।

त्यति नै बेला मेथोडियसचाहिं आफ्नो पिताकै काम अर्थात्‌ राजनैतिक प्रशासकका काम गरिरहेका थिए। तिनी थुप्रै स्लाभ बस्ने बाइजान्टिन जिल्लाको सीमामा राज्यपालसम्म भए। यद्यपि, तिनी एसिया माइनरको बिथिनियाको गुम्बामा गए। पछि सा.यु.पू. ८५५ मा सिरिल पनि त्यहीं आए।

सा.यु. ८६० मा कन्स्टान्टिनोपोलका कुलपतिले ती दुई दाजुभाइलाई विशेष कार्यको निम्ति विदेश पठाए। तिनीहरूलाई खजार जातिका मानिसहरूबीच पठाइयो। ब्ल्याक सिको उत्तरपूर्वमा बसोबास गर्ने यी मानिसहरू इस्लाम, यहूदी र मसीहीधर्म कुनचाहिं अपनाउने भन्‍ने विषयमा अनिर्णीत थिए। त्यहाँ पुग्नुअघि सिरिल केही समयको निम्ति क्रिमियाको चेर्सोनेसमै बसे। केही शास्त्रविद्‌हरूका अनुसार तिनले त्यहीं हिब्रू तथा सामरी भाषा सिके र हिब्रू व्याकरण खजारहरूको भाषामा अनुवाद गरे।

मोरोभियाबाट बोलावट

सा.यु. ८६२ मा मोरोभियाका राजकुमार, (हाल पूर्वी चेक, पश्‍चिमी स्लोभाकिया र पश्‍चिमी हंगेरी) रोस्टिस्लाभले बाइजान्टिनको सम्राट माइकल तृतीयलाई धर्मशास्त्रका शिक्षकहरू पठाइदिन आग्रह गरे। तिनको आग्रह सुरुको अनुच्छेदमा उल्लेख गरिएको छ। मोरोभियाका स्लाभिक नागरिकहरू पूर्वी फ्रान्किस राज्यका (अहिले जर्मनी र अष्ट्रिया) मिसनरीहरूको चर्च शिक्षासँग परिचित भइसकेका थिए। तथापि, रोस्टिस्लाभ जर्मन जातका राजनैतिक र चर्च प्रमुखहरूको प्रभावबारे चिन्तित थिए। कन्स्टान्टिनोपोलसँग धार्मिक सम्बन्ध गाँस्दा तिनको राष्ट्र राजनैतिक र धार्मिक तवरमा स्वाधीन रहन पाउने तिनले आशा गरेका थिए।

सम्राटले मेथोडियस र सिरिललाई मोरोभिया पठाउने निर्णय गरे। शैक्षिक र भाषिक क्षेत्रबाट हेर्दा यी दुई दाजुभाइ त्यस्तो कामको निम्ति निपुण थिए। नवौं शताब्दीका जीवनी लेखकका अनुसार तिनीहरूलाई मोरोभिया जान आग्रह गर्दा सम्राटले यस्तो तर्क गरे: “तिमीहरू दुवै थिस्सलोनिकीका बासिन्दाहरू हौ र सबै थिस्सलोनिकी शुद्ध स्लाभ भाषा बोल्छन्‌।”

वर्णमाला र बाइबल अनुवादको जन्म

आफूहरू जानुभन्दा केही महिनाअघिदेखि सिरिलले स्लाभहरूको लिपि तयार गर्न थाले। भनिन्छ, ध्वन्यात्मक शब्दहरूमा तिनी असाध्यै राम्रो थिए। अतः युनानी र हिब्रू अक्षरहरू चलाएर तिनले स्लोभेनी स्वरलाई अक्षर दिने प्रयास गरे। b केही अनुसन्धानकर्ताहरूका अनुसार तिनले यसरी वर्णमाला तयार पार्न धेरै पहिल्यै काम थालिसकेका थिए। अनि सिरिलले बनाएका अक्षरहरूको खास रूप अझै यकिन गर्न सकिएको छैन।—“सिरेलिक वा ग्लागोलिटिक?” पेटी हेर्नुहोस्‌।

त्यति नै बेला सिरिलले चाहिं चाँडचाँडो बाइबल अनुवाद गर्ने तालिका बनाएर सुरु गरे। भर्खरै बनाएको अक्षर प्रयोग गरेर तिनले सबैभन्दा पहिले यूहन्‍नाको सुसमाचार पुस्तकको पहिलो वाक्यांश युनानीबाट स्लोभेनीमा अनुवाद गर्न थाले: “आदिमा वचन थियो . . . ।” सिरिलले पछि सुसमाचारको चारवटा पुस्तक, पावलका पत्रहरू र भजनको पुस्तक अनुवाद गरे।

के यी सबै तिनी एक्लैले गरे? सायद, मेथोडियसले तिनलाई सघाए होलान्‌। यसबाहेक, द क्याम्ब्रिज मेडिभियल हिस्ट्री नामक पुस्तक यस्तो उल्लेख गर्छ: “सम्भवतः [सिरिललाई] मदत गर्ने अरू पनि थिए र तिनीहरू स्लाभ मुलकै युनानी शिक्षा पाउने मानिसहरू हुनसक्छन्‌। हामीले सबैभन्दा पुराना अनुवादहरू हेऱ्‍यौं भने . . . स्लोभेनी भाषिक ज्ञानमा असाध्यै विकास भएको प्रमाण पाउँछौं र यसको श्रेय तिनलाई साथ दिने स्लाभहरूलाई पनि जान्छ।” बाइबलको अन्य भाग अनुवाद गर्ने काम पछि मेथोडियसले पूरा गरे र यो हामीपछि हेर्नेछौं।

“बाजमाथि कागहरूजस्तो”

सा.यु. ८६३ मा सिरिल र मेथोडियसले मोरोभियामा आफ्नो काम थाले र त्यहाँ तिनीहरूलाई न्यानो स्वागत गरियो। स्थानीय मानिसहरूलाई भर्खरै आविष्कार गरिएको स्लोभेनी लिपि सिकाउनुको अलावा तिनीहरूले बाइबल तथा अन्य साहित्यिक पुस्तकहरू अनुवाद गर्ने थिए।

तथापि, यो सबै गर्न सजिलो थिएन। मोरोभियाका फ्रान्किस पादरीले स्लोभेनी भाषाको प्रयोगको कडा विरोध गरे। तिनीहरू त्रीभाषीय सिद्धान्तमै अटल थिए। उपासनाको निम्ति ल्याटिन, युनानी र हिब्रू भाषा मात्र स्वीकार्य छ भन्‍ने तिनीहरू दाबी गर्थे। तथापि, आफूले भर्खरै विकास गरेको लिपिको निम्ति समर्थन जुटाउन दुई दाजुभाइ सा.यु. ८६७ मा रोम गए।

बाटो पर्ने भेनिसमा सिरिल र मेथोडियसको त्रीभाषी ल्याटिन पादरीहरूको समूहसँग अर्को मुठभेड भयो। मध्ययुगका सिरिलका जीवनी लेखकका अनुसार स्थानीय बिसप, पादरी र भिक्षुहरू तिनीमाथि “बाजमाथि कागहरूजस्तै” जाइलागे। विवरणअनुसार सिरिलले १ कोरिन्थी १४:८, ९ उद्धरण गर्दै विरोध गरे: “यदि तुरहीले नबुझ्ने सोर दियो भनेता लड़ाइँको निम्ति को तयार होला र? त्यसैगरी तिमीहरूले पनि सजिलैसँग बुझ्नसकिने विभिन्‍न भाषामा बोलेनौ भनेता, के बोलेको हो, कसरी बुझ्ने? किनकि तिमीहरू ता हावामा बोलिरहेका हुनेछौ।”

दाजुभाइ बल्लतल्ल रोम पुग्दा पोप एड्रियन द्वितीयले तिनीहरूलाई स्लोभेनी भाषा प्रयोग गर्ने पूर्ण अनुमति दिए। केही महिनापछि रोममै छँदा सिरिल सिकिस्त बिरामी परे। त्यसको दुई महिना पनि नबित्दै ४२ वर्षको उमेरमा तिनको मृत्यु भयो।

पोप एड्रियन द्वितीयले मेथोडियसलाई मोरोभिया र नित्रा शहर वरपर, अहिले स्लोभाकियामा फर्कन प्रोत्साहन दिए। त्यस क्षेत्रमा आफ्नो प्रभुत्व बलियो बनाउने चाहना भएकोले पोपले मेथोडियसलाई स्लोभेनी भाषा प्रयोग गर्ने अनुमति पत्र दिए र तिनलाई आर्कबिसप नियुक्‍त गरे। तथापि, सा.यु. ८७० मा फ्रान्किस पादरी हर्मानरिकले नित्राको राजकुमार स्भाटोप्लुकको मदत लिएर मेथोडियसलाई पक्रे। तिनलाई दक्षिणपश्‍चिमी जर्मनीको गुम्बामा साढे दुई वर्ष कैदमा राखियो। पछि एड्रियन द्वितीयका उत्तराधिकारी पोप जोन आठौंले मेथोडियसलाई छोड्‌ने आदेश दिए र तिनलाई पहिलेको ओहदामा पुनः बहाली गरियो र उपासनामा स्लोभेनी भाषाको प्रयोगमा पोपको समर्थनमा पुनः जोड दिइयो।

तर फ्रान्किस पादरीहरूको विरोध बन्द भएन। मेथोडियसले सफलतासाथ आफूमाथि लगाइएको धर्मविरोध अभियोगको प्रतिवाद गरे र अन्ततः पोप जोन आठौंबाट चर्चमा स्लोभेनी भाषाको प्रयोग गर्न अनुमति दिइएको इस्तिहार पाए। वर्तमान पोप जोन पल द्वितीयले स्वीकारेझैं मेथोडियसले आफ्नो जीवन “यात्रा, अभाव, दुःखकष्ट, वैरभाव, सतावटमा बिताए . . . र तिनले केही समयसम्म क्रूर जेल सजायसमेत भोग्नुपऱ्‍यो।” तर हाँसउठ्‌दो कुरा के छ भने, तिनले रोमप्रति राम्रो झुकाउ भएका बिसप र राजकुमारहरूको हातबाट सतावट भोग्नुपऱ्‍यो।

पूरै बाइबल अनुवाद गरियो

बारम्बार सतावटको बावजूद मेथोडियसले केही सहायकहरूको मदतद्वारा बाइबलका बाँकी पुस्तक स्लोभेनीमा अनुवाद गरी सिध्याए। भनिन्छ, तिनले यस्तो ठूलो काम आठ महिनामा पूरा गरे। तथापि, तिनले मक्काबीहरूका अप्रमाणित पुस्तकहरूको अनुवादचाहिं गरेनन्‌।

आज, सिरिल र मेथोडियसले गरेको अनुवाद कत्तिको सही छ भनी सजिलै जाँच्न सकिंदैन। अनुवाद गरिएको पहिलो हस्तलिखित प्रतिको हाराहारीमा पर्ने अन्य प्रतिहरू कमै पाइन्छन्‌। तैपनि, ती थोरै प्रतिहरू जाँच्दा भाषाविद्‌हरूले अनुवाद यथार्थ र स्वाभाविक भएको पाए। आवर स्लाभिक बाइबल-अनुसार दुई दाजुभाइले “थुप्रै नयाँ शब्द तथा अभिव्यक्‍तिहरू सृजना गर्नु परेको थियो। . . . अनि यसमा तिनीहरू अत्यन्तै सही थिए साथै तिनीहरूले स्लाभेनी भाषालाई शब्दहरूमा अत्यन्तै धनी बनाइदिए।”

चिरस्थायी नासो

सा.यु. ८८५ मा मेथोडियसको मृत्युपछि तिनका चेलाहरूलाई फ्रान्किस विरोधीहरूले मोरोभियाबाट निकालिदिए। तिनीहरूले बोहिमिया, दक्षिणी पोल्याण्ड र बुल्गेरियामा शरण लिए। यसप्रकार, सिरिल र मेथोडियसको काम बन्द भएन बरु झनै फैलियो। दुई दाजुभाइले लिपि विकास गरेर स्थायी रूप दिएको स्लोभेनी भाषाको विस्तार र विकास भयो अनि पछि उपभाषाहरूको समेत उत्पत्ति भयो। आज स्लाभिक परिवारमा १३ विभिन्‍न भाषा र उपभाषाहरू छन्‌।

यसबाहेक, सिरिल र मेथोडियसको बाइबल अनुवाद गर्ने साहसिक प्रयासको कारण आज विभिन्‍न स्लाभिक भाषामा धर्मशास्त्र उपलब्ध छ। यी भाषा बोल्ने लाखौंले परमेश्‍वरको वचन आफ्नै भाषामा पढ्‌न पाएका छन्‌। कडा विरोधको बावजूद यी शब्दहरू कत्ति सत्य छन्‌: “परमप्रभुको वचन सधैंभरि अटल रहनेछ”!—यशैया ४०:८.

[फुटनोटहरू]

a स्लाभिक भाषाहरू पूर्वी र मध्य युरोपमा बोलिन्छन्‌ र यसअन्तर्गत रूसी, युक्रेनी, सर्बियाली, पोलिस, चेक, बुल्गेरियाली र त्यस्तै अन्य भाषाहरू पर्छन्‌।

b यस लेखमा प्रयोग गरिएको “स्लोभेनी” शब्दले सिरिल र मेथोडियसले आफ्नो विशेष र साहित्यिक काममा चलाएको स्लाभिक बोलीलाई बुझाउँछ। आजभोलि कोही कोहीले “पुरानो स्लोभेनी” वा “पुरानो चर्च स्लोभेनी” भन्‍ने पदावली चलाउँछन्‌। सा.यु. नवौं शताब्दीमा स्लाभहरूले बोल्ने सामान्य भाषा थिएन भनी भाषाविद्‌हरू सहमत छन्‌।

[पृष्ठ २९-मा भएको पेटी]

सिरिलिक वा ग्लागोलिटिक?

सिरिलले रचना गरेका वर्णमालाले निकै विवाद उत्पन्‍न गरेको छ किनभने भाषाविद्‌हरूलाई त्यो कुन अक्षर हो भनी पक्का छैनन्‌। सिरिलिक भनिने अक्षरहरू युनानी अक्षरहरूसित धेरै मिल्छन्‌ र स्लोभेनी आवाजसँग मिलाउन युनानीमा नभएका थप अक्षरहरू बनाइएको थियो। तथापि, सुरु सुरुका स्लोभेनी हस्तलिखित लिपिहरू हेर्दा तिनीहरूले एकदमै भिन्‍न ग्लागोलिटिक भनिने लिपि प्रयोग गरेका छन्‌ र थुप्रै शास्त्रविद्‌ सिरिलले रचना गरेको लिपि यही हो भन्छन्‌। केही ग्लागोलिटिक अक्षरहरू घुमौरो युनानी वा हिब्रू अक्षरहरूबाट आएको जस्तो देखिन्छन्‌। कोहीचाहिं मध्ययुगको स्वराघात चिह्नबाट लिइएका छन्‌। तर धेरै सिरिल आफैले रचना गरेका जटिल अक्षरहरू छन्‌। ग्लागोलिटिक अत्यन्तै भिन्‍न र मौलिक सृजना हो जस्तो देखिन्छ। तथापि, अहिलेको रूसी, युक्रेनी, सर्बियाली, बुल्गेरियाली र मेसोडियालीलगायत अन्य २२ भाषा सिरिलिकमा आधारित छन्‌ भने तीमध्ये केही स्लोभेनी होइनन्‌।

[सिरिलिक वा ग्लागोलिटिक अक्षरको चित्र]

[पृष्ठ ३१-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

बाल्टिक समुद्र

(पोल्याण्ड)

बोहिमिया (चेक)

मोराभिया (पूर्वी चेक, पश्‍चिमी स्लोभाकिया, पश्‍चिमी हंगेरी)

नित्रा

पूर्वी फ्रान्किस राज्य (जर्मनी र अस्ट्रिया)

इटाली

भेनिस

रोम

भूमध्य सागर

बुल्गेरिया

ग्रीस

थिस्सलोनिका

(क्रिमिया)

ब्ल्याक सि

बिथिनिया

कन्स्टेन्टिनोपोल (इस्तानबुल)

[पृष्ठ ३१-मा भएको चित्र]

सन्‌ १५८१ को सिरिलिक लिपिमा सर्बियाली बाइबल

[स्रोत]

Bible: Narodna in univerzitetna knjiz̆nica-Slovenija-Ljubljana