सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आत्मामा मन लगाउनुहोस्‌ र जीवित रहनुहोस्‌!

आत्मामा मन लगाउनुहोस्‌ र जीवित रहनुहोस्‌!

आत्मामा मन लगाउनुहोस्‌ र जीवित रहनुहोस्‌!

“आत्मामा मन लगाउनु जीवन र शान्ति हो।”–रोमी ८:६.

१, २. बाइबलले “शरीर” र ‘आत्माबीच’ कस्तो भिन्‍नता देखाएको छ?

 शारीरिक लालसाहरू पूरा गर्नुलाई सान ठान्‍ने भ्रष्ट समाजमा परमेश्‍वरसामु नैतिक शुद्धता कायम राख्नु सजिलो छैन। तथापि, आफूलाई पापी शरीरको वशमा पर्न दिंदा भोग्नु पर्ने भयानक परिणाम अनि परमेश्‍वरको पवित्र आत्माको प्रभावमा पर्दा प्राप्त हुने आशिष्‌बीच तुलना गरेर धर्मशास्त्रले “शरीर” र “आत्मा[बीचको]” भिन्‍नता प्रस्ट पारेको छ।

उदाहरणका लागि, येशूले यसो भन्‍नुभयो: “जीवन दिनुहुने आत्मा हुनुहुन्छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्मा र जीवन हुन्‌।” (यूहन्‍ना ६:६३, नयाँ संशोधित संस्करण) गलातियाका मसीहीहरूलाई प्रेरित पावलले यसरी लेखे: “पाप-स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्‌, अनि आत्माको इच्छा पाप-स्वभावको विरुद्ध।” (गलाती ५:१७, नयाँ संशोधित संस्करण) पावलले यसो पनि भने: “जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ। तर जसले आत्माको लागि रोप्तछ, आत्मैबाट अनन्त जीवनको कटनी गर्नेछ।”—गलाती ६:८.

३. गलत लालसाहरू र झुकाउहरूको बन्धनबाट स्वतन्त्र हुन के आवश्‍यक छ?

परमेश्‍वरको पवित्र आत्मा अर्थात्‌ उहाँको सक्रिय शक्‍तिले अशुद्ध “शारीरिक अभिलाषाहरू” र हाम्रो पापी शरीरको विनाशकारी प्रभुत्वलाई जरैदेखि उखेल्नसक्छ। (१ पत्रुस २:११) गलत झुकाउको बन्धनबाट स्वतन्त्र हुन हामीसित परमेश्‍वरको आत्मा हुनु आवश्‍यक छ किनकि पावलले यस्तो लेखे: “शरीरमा मन लगाउनुचाहिं मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो।” (रोमी ८:६) आत्मामा मन लगाउनुको अर्थ के हो?

“आत्मामा मन लगाउनु”

४. ‘आत्मामा मन लगाउनुको’ अर्थ के हो?

पावलले “आत्मामा मन लगाउनु” भनेर लेख्दा तिनले “सोच्ने ढंग, मनस्थिति, . . . लक्ष्य, आकांक्षा, प्रयास” आदि अर्थ दिने युनानी शब्द प्रयोग गरेका थिए। यससित सम्बन्धित अर्को क्रियाले “कुनै खास तरिकामा सोच्नु, मनस्थिति राख्नु” भन्‍ने अर्थ पनि दिन्छ। यसकारण, आत्मामा मन लगाउनुको अर्थ यहोवाको सक्रिय शक्‍तिद्वारा नियन्त्रित हुनु, प्रभुत्वमा रहनु र उत्प्रेरित हुनु हो। हामी आफ्नो सोचाइ, झुकाउ र आकांक्षालाई राजीखुसीसाथ पूर्णतया परमेश्‍वरको पवित्र आत्माको प्रभावमा पर्न दिन्छौं भन्‍ने अर्थ पनि यसले दिन्छ।

५. हामीले आफैलाई कुन हदसम्म पवित्र आत्माको अधीनमा पर्न दिनुपर्छ?

हामीले आफूलाई कुन हदसम्म पवित्र आत्माको वशमा पर्न दिनुपर्ने हो, त्यसबारे जोड दिंदै पावलले यसो भने, हामी ‘आत्मामा सेवा गर्छौं।’ (रोमी ७:६) येशूको छुटकाराको बलिदानमाथिको विश्‍वासको आधारमा मसीहीहरू पापको प्रभुत्वबाट स्वतन्त्र भइसकेका छन्‌ र यसरी पहिलेको पापको दासत्वबाट “मरेका” छन्‌। (रोमी ६:२, ११) यसप्रकार लाक्षणिक तवरमा मरेकाहरू शारीरिक तवरमा अझैं जीवितै छन्‌ र अहिले “धार्मिकताका दास[को]” रूपमा ख्रीष्टको पाइलामा हिंड्‌न स्वतन्त्र छन्‌।—रोमी ६:१८-२०.

नाटकीय परिवर्तन

६. “धार्मिकताका दास” हुनेहरूले कस्तो परिवर्तन अनुभव गर्छन्‌?

“पापका दास[बाट]” परिवर्तन भएर “धार्मिकताका दास[को]” रूपमा परमेश्‍वरको सेवा गर्नु वास्तवमा नाटकीय परिवर्तन हो। यस्तो परिवर्तन अनुभव गर्नेहरूबारे पावलले यसप्रकार लेखे: “प्रभु येशू ख्रीष्टको नाउँमा, र हाम्रा परमेश्‍वरका आत्माले तिमीहरू पखालिएका, पवित्र भएका र धर्मी ठहरिएका छौ।”—रोमी ६:१७, १८; १ कोरिन्थी ६:११.

७. यहोवाको दृष्टिकोण राख्नु किन महत्त्वपूर्ण छ?

यस्तो उल्लेखनीय परिवर्तन अनुभव गर्न हामीले पहिले यहोवाको दृष्टिकोण बुझ्नु आवश्‍यक छ। शताब्दीयौंअघि भजनरचयिता दाऊदले परमेश्‍वरमा यस्तो खुरन्धार बिन्ती चढाए: “तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, हे परमप्रभु। . . . तपाईंको सत्यतामा मेरो अगुवा हुनुहोस्‌।” (भजन २५:४, ५) यहोवाले दाऊदको बिन्ती सुन्‍नुभयो र उहाँले अहिले आधुनिक समयमा पनि आफ्ना दासहरूको प्रार्थनाको जवाफ दिन सक्नुहुन्छ। परमेश्‍वरका तौर-तरिका र उहाँको सच्चाइ सफा र शुद्ध भएकोले शरीरका अशुद्ध इच्छाहरू तृप्त पार्ने लालसा जाग्दा उहाँका तौर-तरिका र सच्चाइ मनन गर्नु मदतकारी हुनेछन्‌।

परमेश्‍वरको वचनको महत्त्वपूर्ण भूमिका

८. बाइबल अध्ययन गर्नु किन आवश्‍यक छ?

परमेश्‍वरको वचन बाइबल, उहाँको आत्माको फल हो। तसर्थ, त्यस आत्मालाई हामीमा काम गर्न दिने एउटा महत्त्वपूर्ण तरिका बाइबल पढ्‌नु, अझ सम्भव भए दिनहुँ पढ्‌नु र अध्ययन गर्नु हो। (१ कोरिन्थी २:१०, ११; एफिसी ५:१८) बाइबल सच्चाइ तथा सिद्धान्तहरूले आफ्नो मन र हृदय भर्नाले हामीलाई हाम्रो आध्यात्मिकतामाथि जस्तोसुकै आक्रमण आइलागे पनि सामना गर्न मदत मिल्नेछ। हो, अनैतिक प्रलोभनहरू आइपर्दा परमेश्‍वरको आत्माले धर्मशास्त्रीय सम्झौटा र निर्देशनयुक्‍त सिद्धान्तहरू स्मरण गराउनसक्छ अनि यसले हामीलाई परमेश्‍वरको इच्छामुताबिक गर्ने हाम्रो अठोटलाई सबल पार्नसक्छ। (भजन ११९:१, २, ९९; यूहन्‍ना १४:२६) फलतः हामी गलत मार्गतर्फ बहकिने छैनौं।—२ कोरिन्थी ११:३.

९. यहोवासित हाम्रो सम्बन्ध कायमै राख्ने हाम्रो अठोटलाई बाइबल अध्ययनले कसरी टेवा पुऱ्‍याउँछ?

बाइबल आधारित प्रकाशनहरूको मदतद्वारा मनतनले लगनशील भई निरन्तर धर्मशास्त्रको अध्ययन गर्नाले परमेश्‍वरको आत्माले हाम्रो मन अनि हृदयलाई प्रभाव पार्नेछ र यहोवाका स्तरहरूप्रति अगाध श्रद्धा जगाउँछ। त्यसरी, परमेश्‍वरसितको सम्बन्ध हाम्रो जीवनकै सबैभन्दा महत्त्वपूर्ण कुरा हुनेछ। प्रलोभन आइपर्दा, गलत काम गर्नु पाए कति रमाइलो हुने थियो होला भन्‍ने सोचाइ हामीभित्र पलाउने छैन। बरु, परमेश्‍वरप्रति निष्ठा कायम राख्नेतर्फ तुरुन्त चासो जाग्नेछ। उहाँसितको सम्बन्धको गहिरो मूल्यांकनले हामीलाई उक्‍त सम्बन्धलाई खतरामा पार्ने वा खत्तम गर्ने कुनै पनि झुकाउसित लड्‌न उत्प्रेरित गर्छ।

“आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु!”

१०. आत्मामा मन लगाउन यहोवाको व्यवस्था पालन गर्नु किन आवश्‍यक छ?

१० आत्मामा मन लगाउने हो भने परमेश्‍वरको वचनको ज्ञान भएर मात्र पुग्दैन। राजा सुलेमानलाई यहोवाको स्तर राम्ररी थाह थियो तर आफ्नो जीवनको अन्ततिर तिनी त्यसअनुरूप जीवन बिताउन असफल भए। (१ राजा ४:२९, ३०; ११:१-६) हामीसित आध्यात्मिक झुकाउ छ भने, बाइबलले भन्‍ने कुराको ज्ञान हासिल गर्नु मात्र होइन परमेश्‍वरको व्यवस्था पूर्ण हृदयले पालन गर्नु पनि आवश्‍यक छ भनेर बुझ्नेछौं। यसको अर्थ, यहोवाका स्तरहरू होसियासीसाथ जाँच्नु र लगनशील भई पालन गर्ने प्रयास गर्नु हो। भजनरचयिताको यस्तै मनोवृत्ति थियो। तिनले यसरी गाए: “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।” (भजन ११९:९७) परमेश्‍वरको व्यवस्था पालन गर्ने हाम्रो साँच्चै चासो छ भने ईश्‍वरीय गुणहरू प्रकट गर्न प्रेरित हुनेछौं। (एफिसी ५:१, २) असहाय हुँदै गलत काम गर्न आकर्षित हुनुको साटो हामी आत्माका फलहरू प्रकट गर्छौं र यहोवालाई प्रसन्‍न पार्ने इच्छाले हामीलाई काम नलाग्ने “शरीरका कामहरू[बाट]” पर बस्न लगाउँछ।—गलाती ५:१६, १९-२३; भजन १५:१, २.

११. यहोवाले व्यभिचार गर्न मनाही गर्नुभएर हाम्रै भलाइ गर्नुभएको छ भन्‍ने कुरालाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?

११ यहोवाको व्यवस्थाका लागि हामी कसरी गहिरो आदर र प्रेम खेती गर्नसक्छौं? एउटा तरिका, त्यसको मोल राम्ररी केलाएर हेर्नु हो। यौन सम्बन्धलाई विवाहित दम्पतीबीच मात्र सीमित राख्ने अनि व्यभिचार र जारी निषेध गर्ने परमेश्‍वरको व्यवस्थाबारे विचार गर्नुहोस्‌। (हिब्रू १३:४) हामीले यो व्यवस्था पालन गर्दा के कुनै असल कुरा गुमाइरहेका हुन्छौं? के एक जना मायालु पिताले हामीलाई फाइदा पुऱ्‍याउने कुनै कुराबाट बञ्चित गर्ने व्यवस्था बनाउनुहुन्छ होला र? पक्कै बनाउनु हुन्‍न! यहोवाको नैतिक स्तरअनुरूप जीवन नबिताउने थुप्रै मानिसलाई के भइरहेको छ, हेर्नुस्‌ त। नचाहँदा नचाहँदै गर्भ रहँदा गर्भपात गर्नुपरेको छ वा हतारमा नमीठो वैवाहिक जीवनमा जाकिनु परेको छ। थुप्रैले पति वा पत्नीबिना नै छोराछोरी हुर्काउनु परेको छ। यसबाहेक, व्यभिचार गर्नेहरूले आफैलाई यौनजन्य रोगहरूको सिकार बनाइ रहेका हुन्छन्‌। (१ कोरिन्थी ६:१८) अनि यहोवाको सेवकले व्यभिचार गरेको छ भने त त्यसले पार्ने भावनात्मक असर झनै भयंकर हुन्छ। दोषी अन्तस्करणलाई शान्त पार्न नसक्दा थुप्रै रात छर्लंगै बित्नसक्छ र मानसिक पीडाले सताउनसक्छ। (भजन ३२:३, ४; ५१:३) त्यसकारण, यहोवाले व्यभिचार गर्न मनाही गर्नुभएर हाम्रै भलाइ सोच्नुभएको रहेछ भन्‍ने कुरा यसबाट स्पष्ट हुँदैन र? हो, नैतिक शुद्धता कायम राख्दा वास्तवमा थुप्रै फाइदा हुन्छ!

यहोवाको मदतका लागि प्रार्थना गर्नुहोस्‌

१२, १३. पापी लालसाहरूले घेर्दा प्रार्थना गर्नु किन उपयुक्‍त छ?

१२ आत्मामा मन लगाउनुमा हार्दिक प्रार्थना गर्नु पनि समावेश छ। प्रार्थना गरेर परमेश्‍वरको पवित्र आत्माको मदत माग्नु उचित छ किनकि येशूले यसो भन्‍नुभयो: “तिमीहरू . . . आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ता गरेर पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:१३) प्रार्थना गर्दा हामीले आफ्ना कमजोरीहरूसित लड्‌न पवित्र आत्मामा भर परेका छौं भनेर व्यक्‍त गर्नसक्छौं। (रोमी ८:२६, २७) पापी लालसा वा मनोवृत्तिले हामीलाई असर गरिरहेको छ अथवा मायालु सँगी विश्‍वासीले त्यसप्रति हाम्रो ध्यान खिचेको छ भने प्रार्थनामा उक्‍त समस्यालाई तोकेरै उल्लेख गर्नु र त्यस्ता झुकाउहरूलाई जित्न परमेश्‍वरसित मदत माग्नु बुद्धिमानी हुनेछ।

१३ यहोवाले हामीलाई धार्मिक, पवित्र, सद्‌गुणी अनि प्रशंसनीय कुराहरूमा ध्यानकेन्द्रित गर्न मदत गर्न सक्नुहुन्छ। अनि “परमेश्‍वरको शान्तिले” हाम्रो हृदय र मानसिक शक्‍तिलाई रक्षा गरून्‌ भनेर परमेश्‍वरमा बिन्ती चढाउनु साह्रै उपयुक्‍त छ! (फिलिप्पी ४:६-८) त्यसकारण, “धार्मिकता, भक्‍ति, विश्‍वास, प्रेम, धीरज, नम्रताको पछि ला[गिरहन]” यहोवालाई मदतको लागि प्रार्थना गरौं। (१ तिमोथी ६:११-१४) स्वर्गमा हुनुहुने हाम्रो पिताको मदत पाएमा फिक्री र प्रलोभनहरू हामीले नियन्त्रणमा राख्नै नसक्ने गरी बढ्‌ने छैनन्‌। बरु, हाम्रो जीवनमा परमेश्‍वरले दिनुहुने शान्ति छाउनेछ।

आत्मालाई सन्ताप नदिनुहोस्‌

१४. कसरी परमेश्‍वरको आत्मा स्वच्छ रहन बल दिने आत्मा साबित हुनसक्छ?

१४ यहोवाका परिपक्व सेवकहरूले व्यक्‍तिगत तवरमा पावलको यो सल्लाह पालन गर्छन्‌: “आत्मालाई ननिभाओ।” (१ थिस्सलोनिकी ५:१९) परमेश्‍वरको आत्मा “पवित्रताको आत्मा” भएकोले यो शुद्ध, चोखो र पवित्र छ। (रोमी १:४) तसर्थ, आत्माले हामीमाथि काम गर्दा पवित्र वा स्वच्छ रहने बलको रूपमा त्यसले काम गरिरहेको हुन्छ। यसले हामीलाई स्वच्छ अनि परमेश्‍वरप्रति आज्ञाकारी जीवन बिताउन मदत गर्छ। (१ पत्रुस १:२) कुनै पनि अशुद्ध काममा लाग्नुको अर्थ पवित्र आत्मालाई बेवास्ता गर्नु हो र यसको परिणाम भयावह हुनसक्छ। कसरी?

१५, १६. (क) हामीले परमेश्‍वरको आत्मालाई कसरी सन्ताप दिनसक्ने रहेछौं? (ख) यहोवाको आत्मालाई सन्ताप दिनदेखि हामी कसरी जोगिनसक्छौं?

१५ अझ पावलले यस्तो लेखे: “परमेश्‍वरका पवित्र आत्मालाई सन्ताप नदेऊ, जसमा उद्धारको दिनको निम्ति तिमीहरू छाप लगाएका छौ।” (एफिसी ४:३०) धर्मशास्त्रले यहोवाको आत्मालाई विश्‍वासी अभिषिक्‍त मसीहीहरूका लागि छाप वा “बैनाको” रूपमा परिचित गराउँछ। अनि त्यो बैना स्वर्गमा पाइने अमर जीवन हो। (२ कोरिन्थी १:२२; १ कोरिन्थी १५:५०-५७; प्रकाश २:१०) परमेश्‍वरको आत्माले अभिषिक्‍त जन र पार्थिव आशा हुने तिनीहरूका सहयोगीहरूलाई विश्‍वासी भएर जीवन बिताउन मदत गर्नुका साथै पापकर्मदेखि जोगाउँछ।

१६ प्रेरित पावलले झूट, चोरी, लज्जास्पद आचरण आदि झुकाउहरू विरुद्ध चेताउनी दिए। यदि हामी यस्ता कामहरूतर्फ आकर्षित हुन थाल्यौं भने, परमेश्‍वरको वचनका प्रेरित सल्लाहहरू विरुद्ध लागिरहेका हुनेछौं। (एफिसी ४:१७-२९; ५:१-५) केही हदसम्म हामीले परमेश्‍वरको आत्मालाई सन्ताप दिइरहेका हुनेछौं र पक्कै पनि हामी यसो गर्नदेखि परै बस्न चाहन्छौं। त्यसकारण, यहोवाको वचनको चेताउनीलाई हामीले बेवास्ता गर्न थाल्यौं भने जानाजानी पाप गर्ने र पूर्णतया ईश्‍वरीय अनुमोदन गुमाउने मनोवृत्ति वा स्वभाव विकास गर्न लागिरहेका हुनसक्छौं। (हिब्रू ६:४-६) हामीले अहिल्यै पाप गरी नहालौंला, तर त्यसतर्फ भने बढिरहेका हुनसक्छौं। आत्माको डोऱ्‍याइ विपरीत हिंड्‌न छाडेनौं भने आत्मालाई सन्ताप दिइरहेका हुनेछौं। त्यति मात्र होइन, पवित्र आत्माको स्रोत, यहोवाको प्रतिरोध गर्नुका साथै उहाँलाई दुःखी पनि बनाइरहेका हुनेछौं। अनि परमेश्‍वरलाई माया गर्नेहरूले कहिल्यै पनि त्यसो गर्न चाहने छैनन्‌। बरु, हामी यहोवालाई प्रार्थना गरेर मदत मागौं ताकि उहाँको आत्मालाई सन्ताप दिनदेखि बच्न सकौं साथै निरन्तर आत्मामा मन लगाएर उहाँको पवित्र नाउँको आदर गर्न सकौं।

आत्मामा मन लगाइरहनुहोस्‌

१७. हामीले राख्नसक्ने केही आध्यात्मिक लक्ष्यहरू के हुन्‌ र ती प्राप्त गर्नु किन बुद्धिमानी हो?

१७ आत्मामा मन लगाइरहने उल्लेखनीय तरिका आध्यात्मिक लक्ष्यहरू राख्नु र ती प्राप्त गर्नु हो। हाम्रा आवश्‍यकता अनि परिस्थितिअनुसार हामी आफ्नो लक्ष्यमा अध्ययन गर्ने बानी सुधार्ने, प्रचार कार्यमा अझ धेरै भाग लिने, पूर्ण-समय अग्रगामी गर्ने, बेथेल सेवा गर्ने वा मिसनरी सेवामा जाने जस्ता विशेष सुअवसरहरूका लागि अघि बढ्‌ने आदि कुराहरू समावेश गर्नसक्छौं। यसो गर्दा हाम्रो ध्यान आध्यात्मिक कामकुरामा केन्द्रित हुनेछ र हामीलाई मानव कमीकमजोरीअघि हार मान्‍ने वा यस रीतिरिवाजमा साधारण ठानिने भौतिक धनसम्पत्ति र गैरशास्त्रीय लालसाहरूको पछि लाग्ने जस्ता कुराहरूबाट बच्न मदत गर्नेछ। यो पक्कै पनि बुद्धिमानी कदम हो किनकि येशूले यस्तो आग्रह गर्नुभयो: “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्छ, र जहाँ चोरहरूले फोरेर चोर्छन्‌। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, औ चोरले पनि चोर्दैन। कारण जहाँ तिम्रो सम्पत्ति हुन्छ, त्यहीं तिम्रो मन पनि हुनेछ।”—मत्ती ६:१९-२१.

१८. यस आखिरी दिनमा आत्मामा मन लगाइरहनु किन एकदमै महत्त्वपूर्ण छ?

१८ आत्मामा मन लगाउनु र सांसारिक लालसाहरूलाई दबाउनु पक्कै पनि यस “आखिरी दिन[मा]” बुद्धिमानी कदम हो। (२ तिमोथी ३:१-५) आखिर, “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१५-१७) उदाहरणका लागि, जवान मसीहीले पूर्ण-समय सेवकाईमा लाग्ने लक्ष्य प्राप्त गर्न चाहन्छन्‌ भने, यसले तिनलाई किशोरावस्था वा युवावस्थाका चुनौतीपूर्ण वर्षहरूमा मार्गनिर्देशकको काम गर्नसक्छ। सम्झौता गर्न दबाउ आइपरेमा तिनले यहोवाको सेवामा कस्तो उपलब्धि हासिल गर्ने हो, त्यसबारे स्पष्ट धारणा राख्न सक्नेछन्‌। भौतिक सरसम्पत्ति वा पापी कार्यले दिने आनन्द प्राप्त गर्ने धुनमा आफ्ना आध्यात्मिक लक्ष्यहरू नै गुमाउनुलाई यस्तो आध्यात्मिक व्यक्‍तिले महामूर्खता ठान्‍नेछ। नबिर्सनुहोस्‌, आध्यात्मिक झुकाउ राख्ने मोशाले ‘केही समयसम्म पापको सुख भोग्नभन्दा बरु परमेश्‍वरका मानिसहरूका साथमा थिचोमिचोमा पर्न रोजेका थिए।’ (हिब्रू ११:२४, २५) जवान हौं वा वृद्ध, पापी शरीरमा मन लगाउनुको साटो आत्मामा मन लगाइरहँदा हामीले पनि त्यस्तै छनौट गर्न सक्नेछौं।

१९. आत्मामा मन लगाइरह्‍यौं भने हामीले कस्ता फाइदाहरू पाउनेछौं?

१९ “शरीरमा मन लगाउनुचाहिं मृत्यु हो,” तर “आत्मामा मन लगाउनु जीवन र शान्ति हो।” (रोमी ८:६, ७) आत्मामा मन लगाइरह्‍यौं भने हामीले अनमोल शान्ति अनुभव गर्नेछौं। हाम्रो हृदय र मानसिक शक्‍तिले हाम्रो पापी अवस्थाको प्रभावबाट अझै बचाउनेछ। हामी गलत काम गर्ने प्रलोभनको प्रतिरोध गर्न झनै सक्षम हुनेछौं। अनि हामीले शरीर र आत्माबीचको निरन्तर द्वन्द्व सामना गर्न ईश्‍वरीय मदत पाउनेछौं।

२०. शरीर र आत्माबीचको युद्धमा विजयी हुनु सम्भव छ भनेर हामी किन पक्का हुनसक्छौं?

२० आत्मामा मन लगाइरह्‍यौं भने हामीले जीवन र पवित्र आत्माको स्रोत यहोवासित अत्यावश्‍यक बन्धन कायम राखिराख्न सक्नेछौं। (भजन ३६:९; ५१:११) शैतान तथा दियाबल र त्यसका प्रतिनिधिहरू यहोवासितको हाम्रो सम्बन्धलाई बिगार्न सकेजति सबथोक गर्न लागिपरेका छन्‌। हामीले हार खायौं भने हामी परमेश्‍वरको शत्रु हुनेछौं र मर्नेछौं भन्‍ने थाह भएकोले तिनीहरू हाम्रो मनलाई आफ्नो नियन्त्रणमा लिन चाहन्छन्‌। तर हामी शरीर र आत्माबीचको यस युद्धमा विजयी हुनसक्छौं। पावलको यस्तै अनुभव थियो। किनकि तिनले आफ्नो युद्धबारे लेख्दा सुरुमा यस्तो प्रश्‍न गरेका थिए: “यस मृत्युको शरीरबाट मलाई कसले बचाउला?” त्यसपछि बचाउ सम्भव छ भन्‍ने देखाउँदै तिनले यस्तो उद्‌गार गरे: “येशू ख्रीष्ट, हाम्रा प्रभुद्वारा परमेश्‍वरमा धन्यवाद होस्‌”! (रोमी ७:२१-२५) मानव कमजोरीहरूको सामना गर्न यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टले गर्नुभएका प्रबन्धका लागि हामी उहाँहरूलाई धन्यवाद दिनुका साथै अनन्त जीवनको अद्‌भुत आशा मनमा राख्दै आत्मामा मन लगाइरहनसक्छौं।—रोमी ६:२३.

के तपाईंलाई सम्झना छ?

• आत्मामा मन लगाउनुको अर्थ के हो?

• हामी कसरी आफूमा यहोवाको आत्मालाई काम गर्न दिनसक्छौं?

• पापविरुद्धको हाम्रो युद्ध जित्न बाइबल अध्ययन गर्नु, यहोवाको व्यवस्था पालन गर्नु र उहाँलाई प्रार्थना गर्नु किन अत्यावश्‍यक छ वर्णन गर्नुहोस्‌।

• आध्यात्मिक लक्ष्यहरू राख्नाले हामी कसरी जीवनको मार्गमा लागिरहनसक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

बाइबल अध्ययनले हामीलाई हाम्रो आध्यात्मिकतामा हुने हमलाको सामना गर्न मदत गर्छ

[पृष्ठ १७-मा भएको चित्र]

पापी इच्छाहरूलाई जित्न यहोवासित मदतका लागि प्रार्थना गर्नु उचित छ

[पृष्ठ १८-मा भएका चित्रहरू]

आध्यात्मिक लक्ष्यहरूले हामीलाई आत्मामा मन लगाइरहन मदत गर्नसक्छ