सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के यो तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा हुनसक्छ?

के यो तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा हुनसक्छ?

के यो तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा हुनसक्छ?

तपाईं बप्तिस्माप्राप्त मसीही हुनुहुन्छ भने परमेश्‍वरप्रतिको प्रेमले तपाईंलाई पक्कै पनि उहाँको इच्छा गर्न उत्प्रेरित गर्छ। यसको अतिरिक्‍त, सेवकाई नै तपाईंको मुख्य लक्ष्य पनि अवश्‍य हुनेछ। हुन पनि, येशूले आफ्ना सबै अनुयायीहरूलाई चेला बनाउने आज्ञा दिनुभएको थियो। (मत्ती २८:१९, २०) हो, अहिले तपाईं जीवन धान्‍न जागिर खाइरहनुभएको होला। तर येशूको अनुयायी र यहोवाको साक्षी हुनुभएकोले सबैभन्दा पहिलो र प्रमुख त तपाईं राज्य प्रचार कार्यलाई नै प्राथमिकता दिने मसीही सेवक हुनुहुन्छ।—मत्ती २४:१४.

सायद तपाईं १९/२० वर्षको हुनुभयो होला। तपाईंले जीवनमा के गर्ने भनेर धेरै सोचविचार गर्नुभएको हुनसक्छ। आफ्नाअगाडि भएका विकल्पहरूलाई विचार गर्दा तपाईंले व्यक्‍तिगत सन्तुष्टिलाई महत्त्वपूर्ण स्थान दिनुभएको हुनसक्छ।

त्यसोभए, डेनमार्कका योर्न आफ्नो छनौटबारे के भन्छन्‌, विचार गर्नुहोस्‌। योर्न, आफूले छानेको पेसालाई “सर्वमहत्त्वपूर्ण कार्यमा सम्पूर्ण ध्यानकेन्द्रित गर्न मिल्ने जीवन बिताउने आदर्श तरिका” भन्छन्‌। ग्रीसकी ३१ वर्षिया इभा भन्छिन्‌: “साथीहरूको जीवनसित मेरो जीवन तुलना गरेर हेर्दा म मेरो जीवन अर्थपूर्ण, पूर्ण अनि एकदमै रोमाञ्चकारी पाउँछु।” कुन जीवनशैलीले यस्तो सन्तुष्टि दिन्छ? तपाईं यस्तो जीवनशैली कसरी प्राप्त गर्न सक्नुहुन्छ?

के परमेश्‍वरले तपाईंलाई डोऱ्‍याउनुहुन्छ?

पेसा छान्‍नु निकै गाह्रो हुनसक्छ। वास्तवमा, कोही कोही त परमेश्‍वरले नै तिनीहरूलाई यसो गर त्यसो गर भनिदिए हुन्थ्यो भन्‍ने इच्छा गर्छन्‌।

मिद्यानमा छँदा मोशालाई यहोवाले मिश्रमा फर्केर इस्राएलीहरूलाई दासत्वबाट छुटकारा दिन डोऱ्‍याउने निर्देशन दिनुभयो। (प्रस्थान ३:१-१०) इस्राएललाई थिचोमिचोबाट छुटाउन नियुक्‍त भएका गिदोनकहाँ पनि परमेश्‍वरका स्वर्गदूत देखा परेका थिए। (न्यायकर्त्ता ६:११-१४) परमेश्‍वरले शमूएललाई इस्राएलको अर्को राजा दाऊदलाई नियुक्‍त गर्ने आदेश दिनुहुँदा दाऊद भेडा चह्राइरहेका थिए। (१ शमूएल १६:१-१३) आज हामी यस्तो निर्देशन पाउँदैनौं। बरु, हामीले परिस्थितिलाई राम्ररी विचार गरेर परमेश्‍वरले दिनुभएका क्षमतालाई कसरी प्रयोग गर्ने निर्णय गर्नुपर्छ।

यहोवाले आज जवान मसीहीहरूका लागि “प्रभावशाली कामको एउटा ठूलो ढोका खोलि[दिनुभ]एको” छ। (१ कोरिन्थी १६:९, नयाँ संशोधित संस्करण) कसरी? गत दशकको राज्य प्रचारकहरूको संख्या २१,२५,००० बाट बढेर हाल पृथ्वीभरि गरेर ६०,००,००० भन्दा बढी भएको छ। आध्यात्मिक सुस्वास्थ्य प्राप्त गर्न र सुसमाचारको विश्‍वव्यापी प्रचार कार्यका लागि चाहिने लाखौं बाइबल, पुस्तक, पुस्तिका, पत्रिका र पर्चाहरू उत्पादन गर्न कसले मदत गरिरहेको छ? यो आशिषित सुअवसरको आनन्द विश्‍वभरिका बेथेल परिवारका सदस्यहरूले उठाइरहेका छन्‌।

इनामदायी जीवन

बेथेलको अर्थ “परमेश्‍वरको घर” हो। (उत्पत्ति २८:१९, पादटिप्पणी) यी बेथेल गृहहरूमा वाच टावर सोसाइटीका मुख्य कार्यालय र शाखा कार्यालयहरूमा सेवा गरिरहेका मसीही स्वयम्‌सेवकहरू बस्छन्‌। वर्तमान बेथेल परिवारलाई ‘बुद्धिले बनाएको’ र यहोवाको प्रेममा जग बसालिएको सुसंगठित ‘घरसित’ तुलना गर्न सकिन्छ।—हितोपदेश २४:३.

बेथेलको पारिवारिक वातावरण कस्तो हुन्छ? इस्टोनियाकी २५ वर्षीया बेथेल परिवारकी सदस्य यसो भन्छिन्‌: “सधैंभरि यहोवाका मित्रहरूबीच रहन पाएकोमा म रमाउँछु। मेरोनिम्ति बेथेल सेवाको सबैभन्दा अनमोल पक्ष यही नै हो।”—भजन १५:१, २.

विश्‍वभरि अहिले १९,५०० जतिले बेथेल सेवाको आनन्द उठाइरहेका छन्‌। (भजन ११०:३) संयुक्‍त राज्यस्थित बेथेलमा भएका ४६ प्रतिशत जति त १९ देखि २९ वर्षबीचका छन्‌। यशैयाले जस्तै तिनीहरूले पनि “म हाजिर छु। मलाई पठाउनुहोस्‌” भनेका छन्‌। (यशैया ६:८) यहोवामा समर्पित भइसकेका यशैयाले सेवा गर्ने थप सुअवसरको निम्ति स्वयम्‌सेवा गर्न इच्छुकता देखाएका थिए। स्पष्टतया, यस्तो स्वयम्‌सेवा गर्न व्यक्‍तिगत तवरमा हुने केही फाइदाहरू त्याग्नुपर्छ। बेथेल सेवामा हुनेहरूले आफ्नो गाउँघरको अलावा आमा, बुबा, दाजुभाइ, दिदीबहिनी र साथीहरू छोड्‌छन्‌। यी त्यागहरू “सुसमाचारको खातिर” राजीखुसीसाथ गरिएका हुन्‌।—मर्कूस १०:२९, ३०.

यसको साटो, बेथेलमा थुप्रै आध्यात्मिक आशिष्‌हरू पाइन्छन्‌! रूसको बेथेल परिवारकी किशोरी यसो भन्छिन्‌: “आत्मत्यागी हुँदा हामी धेरै कुरा सिक्न सक्छौं र यसले हामीलाई नयाँ संसारमा जीवन बिताउन मदत गर्नेछ। मेरो विषयमा कुरा गर्ने हो भने, यहोवाले दिनुभएको आशिष्‌ मैले गरेका त्यागहरूभन्दा कता हो कता धेरै छन्‌।”—मलाकी ३:१०.

बेथेल जीवन

बेथेल जीवन कस्तो हुन्छ? बेथेल जीवन स्वास्थ्यकर, सन्तोषजनक अनि रोमाञ्चकारी पनि हुन्छ भनेर बेथेल परिवारका सदस्यहरू स्वीकार्छन्‌। त्रिचालीस वर्षका येन्सलाई बेथेल सेवा रमाइलो लाग्छ। किन? तिनी भन्छन्‌: “महत्त्वपूर्ण काम पूरा गर्न प्रयास गरिरहेका ठूलो जमातमा म पनि छु भन्‍ने भावनाले गर्दा। यहोवाको काम विस्तार गर्नुपर्ने क्षेत्र अनि महत्त्व मैले बुझ्न सकेको छु।”

सोमबारदेखि शनिबारसम्म हरेक बेथेलमा दिनको सुरुआत बिहानको उपासनाबाट हुन्छ। बिहानको उपासना अनुभवी प्राचीनले सञ्चालन गर्ने बाइबलको छलफल हो। सोमबार साँझ एक घण्टा जति प्रहरीधरहरा-को मदतबाट बाइबलको पारिवारिक अध्ययन हुन्छ र कहिलेकाहीं त्यसपछि विशेष गरी बेथेल परिवारलाई सुहाउँदो धर्मशास्त्रीय विषयमा आधारित भाषण हुन्छ।

कुनै पनि व्यक्‍ति पहिलो पटक बेथेलमा आउँदा के हुन्छ? बेथेल जीवनसित नयाँ सदस्यहरूलाई परिचित गराउन परिवारका परिपक्व भाइहरूले बेथेल सेवाको विभिन्‍न पक्ष समेट्‌ने भाषणहरू दिन्छन्‌। पहिलो वर्षको निकै हप्तादिनसम्म बेथेल परिवारको नयाँ सदस्य, धर्मशास्त्रको ज्ञान विस्तृत पार्न तयार गरिएको अत्युत्तम साप्ताहिक स्कूलमा भर्ना हुन्छन्‌। भर्खरै आएका नयाँ सदस्यहरूले बाइबल पढाइको विशेष कार्यक्रमको आनन्द पनि उठाउँछन्‌। बेथेल सेवाको यो पहिलो वर्षमा परिवारका नयाँ सदस्यहरूले सम्पूर्ण बाइबल पढी सिध्याउँछन्‌।

यी सबै तालिमले कस्तो प्रभाव पार्छ? हङकङ बेथेल परिवारका ३३ वर्षीय सदस्य जशूआ यसरी जवाफ दिन्छन्‌: “बेथेलले यहोवाप्रतिको मेरो मूल्यांकनलाई साँच्चै गहिरो बनाएको छ। आफ्नो जीवनको अधिकांश समय यहोवाको सेवामा बिताउने थुप्रै अनुभवी भाइहरूसित संगत गर्न पाएको छु। मलाई बिहानको उपासना र पारिवारिक प्रहरीधरहरा अध्ययन जस्ता आध्यात्मिक कार्यक्रम रमाइलो लाग्छ। यसबाहेक, मलाई यहाँको व्यवस्थित अनि सरल जीवनशैली मनपर्छ। म अनावश्‍यक फिक्रीबाट मुक्‍त छु। मैले जुनसुकै काम भए पनि त्यसलाई मसीही तौरतरिकाअनुरूप कसरी सम्हाल्ने भनेर पनि सिकें र यो सधैं लाभप्रद साबित भएको छ।”

बेथेल परिवारका सदस्यहरू आफ्नो अधिकांश समय र प्रयास आफूले इच्छा गरेको स्वयम्‌सेवाको काममा खर्च गर्छन्‌। यसको अर्थ, मुख्यतया बेथेलमा आफूलाई दिइएको काम पूरा गर्न आफ्नो शारीरिक र मानसिक स्रोतसाधनहरूको सदुपयोग गर्नु हो। यहाँ गर्नुपर्ने विभिन्‍न कामहरू छन्‌। कोही छापाखानामा काम गर्छन्‌ त कोही किताब सिलाउँछन्‌ र थुप्रै मण्डलीमा पठाइने किताबहरू बनाउँछन्‌। अरूचाहिं भान्छामा, भोजन कोठामा वा लुगा धुने ठाउँमा सेवा गर्छन्‌। गर्नुपर्ने कामहरूमा सरसफाइ, खेतीपाती, निर्माण आदि पर्छन्‌। कतिपयले यी विभागहरूमा प्रयोग हुने यन्त्रहरूको हेरविचार गर्ने जिम्मेवारी पाएका हुन्छन्‌। अरू कतिपय भने स्वास्थ्यकर्मीको रूपमा सेवा गर्छन्‌ त कतिपय अफिसमा काम गर्छन्‌। बेथेलका सबै काम रमाइलो र चुनौतीपूर्ण हुनुका साथै एकदमै इनामदायी पनि छन्‌। बेथेलमा गरिने काम विशेष गरी सन्तोषप्रद हुन्छ किनकि यसले राज्यसम्बन्धी कामकुरामा टेवा दिइरहेको हुन्छ र यी काम परमेश्‍वरप्रतिको प्रेमले उत्पेरित भएर गरिएका हुन्छन्‌।

बेथेल परिवारका सदस्यहरूलाई विभिन्‍न मण्डलीहरूमा खटाइएको हुन्छ र त्यहाँ तिनीहरू आफ्नो कामले पुऱ्‍याइरहेको फाइदाको अनुभव गर्छन्‌। तिनीहरू सभामा उपस्थित हुन पाउँदा र प्रचार कार्यमा भाग लिन पाउँदा रमाउँछन्‌। फलस्वरूप बेथेल परिवारका सदस्यहरूले स्थानीय मण्डलीका भाइबहिनीहरूसित बलियो सम्बन्ध विकास गरेका छन्‌।—मर्कूस १०:२९, ३०.

बेलाइत बेथेल परिवारकी कान्बी भन्छिन्‌: “म मण्डलीप्रति कृतज्ञ छु! सभा र सेवकाईमा जाँदा भाइबहिनी, केटाकेटी र वृद्ध जनहरूलाई देख्दा मेरो विश्‍वास बलियो हुन्छ! जस्तोसुकै अवस्था आइपरे तापनि उहाँहरू सभा र सेवकाईमा हाजिर हुन्छन्‌! यसले मलाई आफ्नो बेथेल सेवामा अझ जोसिलो हुन मदत गर्छ।”

बेथेल जीवन भनेको काम, सभा, क्षेत्र सेवकाई र अध्ययन मात्र होइन। बेथेल परिवारले रमाइलो पनि गर्छ। समय समयमा रमाइलो र आध्यात्मिक तवरमा स्फूर्ति दिने “पारिवारिक साँझ” भनिने कार्यक्रमहरू पनि हुन्छन्‌ र यस्ता कार्यक्रमहरूमा थुप्रैको प्रतिभा हेरेर आनन्द उठाउने र बेथेलमा सेवा गर्ने अरू भाइबहिनीहरूको जीवनबारे प्रोत्साहनदायी कुरा सुन्‍ने मौका पाइन्छ। अरूसित गरिने स्वास्थ्यकर र प्रोत्साहनदायी भेटघाट पनि रमाइला हुन्छन्‌। मनोरञ्जन गर्ने प्रबन्धलगायत व्यक्‍तिगत अध्ययन र अनुसन्धानका लागि पुस्तकालयहरू पनि हुन्छन्‌। अनि खाना खानेबेला भोजन कोठामा गरिने रमाइलो वार्तालाप त छँदैछ।

इस्टोनियास्थित बेथेल परिवारका सदस्य टम भन्छन्‌: “बेथेल नजिकै समुद्र छ र त्यहाँ नजिकै रमाइलो वन पनि छ। मेरी श्रीमती र म त्यहाँ घुम्न जान मन पराउँछौं। म मण्डली र बेथेलका साथीहरूसित कहिलेकाहीं गल्फ, हक्की र टेनिस पनि खेल्ने गर्छु। अनि मौसम सफा भएको बेला हामी साइकल चढेर घुम्न जान्छौं।”

योग्य हुन तपाईं के गर्न सक्नुहुन्छ?

हो, बेथेल मुख्यतया परिपक्व मसीहीहरूले यहोवालाई पवित्र सेवा चढाउने र विश्‍वभरिका सँगी भाइबहिनीहरूको निम्ति काम गरिने ठाउँ हो। बेथेल परिवारका सदस्य हुनेहरूसित केही खास योग्यताहरू हुनैपर्छ। बेथेल सेवाको निम्ति योग्य हुन तपाईं के गर्न सक्नुहुन्छ?

पावलसित सेवा गर्ने तिमोथीले जस्तै बेथेल सेवा गर्न छानिने भाइबहिनीहरूले मण्डलीमा राम्रो नाउँ कमाएको हुनैपर्छ। (१ तिमोथी १:१) “लिस्त्रा र आइकोनियमका भाइहरूमा” तिमोथीबारे “असल नाउँ चलेको थियो।” (प्रेरित १६:२) जवानै भए तापनि तिमोथीलाई धर्मशास्त्रबारे राम्ररी थाह थियो र तिनी सच्चाइमा पक्का थिए। (२ तिमोथी ३:१४, १५) त्यसै गरी, बेथेल सेवा गर्न छानिनेहरूसित बाइबलको ज्ञान भएको आशा पनि गरिन्छ।

बेथेल परिवारका सदस्यहरूसित आत्मत्यागी भावना पनि हुनु आवश्‍यक छ। तिमोथीले राज्यसम्बन्धी कामकुराको निम्ति देखाएको आत्मत्यागी भावना र इच्छुकता यति प्रस्ट थियो कि पावलले तिनीबारे यसो भन्‍न सके: “साँचो मनले तिमीहरूका कल्याण सोच्ने मजस्तै मन भएको मानिस अरू कोही छैन, किनभने सबै जना येशू ख्रीष्टको ता होइन, तर आफ्नै स्वार्थ खोज्दछन्‌। तर यो प्रमाणित भएको तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरीनै तिनले मसित सुसमाचार फैलाउने काममा सेवा गरे।”—फिलिप्पी २:२०-२२.

बेथेल सेवा गर्न चाहने पुरुष वा स्त्रीसित आध्यात्मिकता हुनु आवश्‍यक छ। बेथेल परिवारको निम्ति गरिएका प्रबन्धहरूले बाइबल अध्ययन, मसीही सभाहरूमा नियमित उपस्थिति र क्षेत्र सेवकाईका साथै परिपक्व मसीहीहरूसितको संगतिमार्फत तिनीहरूलाई आध्यात्मिक तवरमा हुर्कन मदत गर्छ। यसरी बेथेलमा सेवा गर्नेहरूले पावलको यो सल्लाह पालन गर्ने मदत पाउँछन्‌: “त्यसैगरी [येशू ख्रीष्टमा] जरा हालेका र बनिएका भएर, औ तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूको विश्‍वासमा दृढ़ भएर, धन्यवादसाथ यसमा प्रशस्त हुँदै उहाँकै चालमा चल।”—कलस्सी २:७.

बेथेलमा गरिने कामको प्रकृतिका कारण, यस विशेष सुअवसरका लागि छानिने भाइबहिनीहरू शारीरिक तवरमा बलियो र स्वस्थ हुनैपर्छ। हामीले उल्लेख गरेको योग्यता तपाईंसित छ, तपाईं १९ वर्ष पुगिसक्नुभएको छ र बप्तिस्मा लिनुभएको कम्तीमा पनि एक वर्ष भइसकेको छ भने हामी तपाईंलाई बेथेल सेवाबारे विचार गर्ने प्रोत्साहन दिन्छौं।

हामी सबैले केही न केही गर्नसक्छौं

मसीही भएको नाताले हामी सबै नै राज्यसम्बन्धी कामकुरालाई प्रथम स्थान दिन र आफ्नो सारा प्राणले यहोवाको सेवा गर्न चाहन्छौं। (मत्ती ६:३३; कलस्सी ३:२३) हामी बेथेल सेवा गरिरहेका भाइबहिनीहरूलाई बेथेलमै पवित्र सेवा गरिरहने प्रोत्साहन पनि दिनसक्छौं। अनि विशेष गरी बेथेल सेवाका लागि योग्य जवान भाइहरूलाई यो आशिषित सुअवसर प्राप्त गर्न अघि बढ्‌न आग्रह गर्नसक्छौं।

बेथेल सेवा आध्यात्मिक तवरमा सन्तुष्टि दिने जीवनशैली हो र यो तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा हुनसक्छ। बीस वर्षको उमेरमा बेथेल सेवा थाल्ने निकलाई त्यस्तै लाग्यो। बेथेल सेवा गरेको दस वर्षपछि तिनले यसो भने: “यहोवालाई उहाँको करुणाको निम्ति म अक्सर धन्यवाद चढाउँछु। यहोवाको सेवा गर्न यथासक्दो प्रयास गर्ने विश्‍वासी मसीहीहरूमाझ रहेर बेथेलमा सेवा गर्न पाएको छु। त्योभन्दा ठूलो कुरा अरू के खोज्नु?”

[पृष्ठ २२-मा भएको पेटी/चित्र]

प्राचीन र आमाबाबुले के गर्नसक्छन्‌?

प्राचीन र परिभ्रमण निरीक्षकहरूले विशेष गरी जवान पुरुषहरूलाई बेथेल सेवाका लागि निवेदन दिने प्रोत्साहन दिनुपर्छ। हालै, बेथेल परिवारका सदस्यहरूबीच अनौपचारिक सर्वेक्षण लिइँदा ३४ प्रतिशतले बेथेल सेवालाई आफ्नो लक्ष्य बनाउन मुख्यतया मसीही निरीक्षकहरूले नै आग्रह गरेको पाइयो। हो, स्थानीय मण्डलीमा तिनीहरूको सेवाको अभाव पक्कै खट्‌किनसक्छ। लिस्त्रा र आइकोनियमका जवानहरूमाझ तिमोथीले स्वास्थ्यकर प्रभाव पारे तापनि त्यहाँका प्राचीनहरूले तिनलाई पावलसित सेवा गर्नदेखि नरोकेको कुरालाई सम्झनु राम्रो हुन्छ। तिमोथीलाई प्रेरित पावलसँगसँगै पठाएमा मण्डलीमा ठूलो क्षति हुन्छ भन्‍ने निष्कर्षमा तिनीहरू पुगेनन्‌।—१ तिमोथी ४:१४.

यस सम्बन्धमा विशेष गरी मसीही आमाबाबुले आफ्ना छोराछोरीमा सकारात्मक प्रभाव पार्ने प्रयास गर्नुपर्छ। माथि उल्लिखित सर्वेक्षणमा ४० प्रतिशतले बेथेल सेवामा लाग्न प्रोत्साहन दिने मुख्य व्यक्‍ति आफ्नै आमाबाबु भएको बताए। बेथेल सेवा गर्न थालेको केही वर्ष भएकी एउटी बहिनीले भनिन्‌: “बेथेल सेवामा लाग्न प्रेरित गर्ने शक्‍तिशाली प्रेरणाको स्रोत नै यहोवाको सेवामा मेरा आमाबुबाले बिताउनुभएको जीवन हो। पूर्ण-समय सेवकाईमा उहाँहरूले बसाल्नुभएको उदाहरण हेरेर नै मैले जीवनमा गर्नुपर्ने सर्वोत्तम र सबैभन्दा सन्तोषप्रद जीवनशैली यही नै हुनेछ भनेर बुझेकी थिएँ।”

[पृष्ठ २४-मा भएको पेटी]

बेथेल सेवाको मूल्यांकन गर्नेहरू

“म आफ्नो बेथेल सेवाको कदर गर्छु। दिनभरि यहोवाको सेवा गरें र भोलि, पर्सी, निकोर्सि र त्यसै गरी फेरि फेरि सेवा गरिरहनेछु भनेर थाह पाउनु सन्तोषप्रद छ। यसले गर्दा मैले राम्रो अन्तस्करण पाएकी छु र मेरो मन सकारात्मक विचारहरूले भरेकी छु।”

“आफ्नो सम्पूर्ण समय र शक्‍ति कुनै अवरोधबिना यहोवाको सेवामा लगाउनसक्ने ठाउँ बेथेल हो। यसले आन्तरिक आनन्द दिन्छ। यसबाहेक, यहोवाको संगठनलाई अर्को दृष्टिकोणबाट हेर्ने मौका पनि पाइन्छ। यस संगठनको केन्द्रसित नजिक भएर काम गर्न पाएको महसुस हुन्छ र यो निकै रोमाञ्चकारी छ।”

“बेथेल सेवा गर्न पाउनु मैले पाएको सबैभन्दा ठूलो उपलब्धि हो। यहाँ सिक्न सकिने कुराको अन्तै छैन। अनि यहाँ म जे सिक्छु म आफ्नो फाइदाको निम्ति होइन तर यहोवाको निम्ति सिक्छु। यहाँ मैले गरेको काम व्यर्थमा जानेछैन।”

“बेथेलमा मेरो प्रतिभाको प्रयोग गर्न पाएकोमा म सन्तुष्टि महसुस गर्छु किनकि म आफ्नो सीप यहोवा र भाइहरूका लागि प्रयोग गरिरहेकी छु।”

“मैले पहिले गरेको कामबाट साँचो सन्तुष्टि र आनन्द पाएको थिइनँ। आफ्ना भाइबहिनीहरूसित र भाइबहिनीहरूका लागि काम गर्नेबारे कल्पना गर्न थालेको निकै वर्ष भइसकेको थियो। त्यसैकारण म बेथेल आएँ। मेरो सम्पूर्ण प्रयासले अरूलाई आध्यात्मिक तवरमा फाइदा पुऱ्‍याउँछ र यहोवाको प्रशंसा गर्छ भनेर थाह पाउनु साँच्चै सन्तोषप्रद छ।”