सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ”

“धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ”

“धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ”

तिनी कवि, वास्तुकार तथा राजा थिए। तिनको वार्षिक आय २० करोड अमेरिकी डलरभन्दा धेरै भएकोले तिनी पृथ्वीभरिमा सबैभन्दा धनाढ्य राजा थिए। तिनी बुद्धिमान्‌ भएकोले पनि प्रख्यात थिए। तिनलाई भेट्‌न आउने रानी अति प्रभावित भएर यस्तो उद्‌गार गरिन्‌: “साँच्चै, त्यो ता मलाई आधा पनि सुनाएको रहेनछ। तपाईंको बुद्धि र तपाईंको ऐश्‍वर्य मैले सुनेको भन्दा ता धेरै ज्यादा रहेछन्‌।” (१ राजा १०:४-९) पुरातन इस्राएलका राजा सुलेमानको यस्तो प्रतिष्ठा थियो।

सुलेमानसित धनसम्पत्ति र बुद्धि दुवै थिए। त्यसैकारण, यी दुईमध्ये कुन अत्यन्त आवश्‍यक छ, त्यो निर्णय गर्न तिनी धेरै राम्रो स्थानमा थिए। तिनले यस्तो लेखे: “धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ, र समझशक्‍ति हासिल गर्छ, किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ र त्यसले सुनले भन्दा बढ़ी फाइदा दिन्छ। त्यो मानिकभन्दा पनि बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिंदैन।”—हितोपदेश ३:१३-१५, नयाँ संशोधित संस्करण।

त्यसोभए, बुद्धि कहाँ पाउन सकिन्छ? यो किन धनसम्पत्तिभन्दा पनि बहुमूल्य छ? यसका आकर्षक पक्षहरू के हुन्‌? सुलेमानले लेखेका हितोपदेशको ८ औं अध्यायले यी प्रश्‍नहरूको आकर्षक उत्तर दिन्छ। उक्‍त अध्यायमा बुद्धिलाई मानौं बोल्न र काम गर्न सक्ने गरी मूर्त रूप दिइएको छ। अनि बुद्धि आफैले व्यक्‍तिगत तवरमा आफ्नो आकर्षण र मूल्य प्रकट गरेको छ।

“बुद्धि चर्को सोरले कराउँछ”

हितोपदेश अध्याय ८ यस्तो अलंकारयुक्‍त प्रश्‍नसहित सुरु हुन्छ: “के बुद्धिले चर्को स्वरमा आह्वान गर्दैन र? के समझ शक्‍तिले आफ्नो आवाज उच्च पार्दैन र?” a हो, बुद्धि र समझशक्‍ति चर्को सोरले कराउँछन्‌ तर रातको अँध्यारोमा ढुकेर बस्ने र एक्लो अनि अपरिपक्व केटाको कानमा खासखुस कामुक कुरा गर्ने वेश्‍याले जस्तो होइन। (हितोपदेश ७:१२) “बाटोका उच्च ठाउँहरूमा, दोबाटोमा त्यो खड़ा हुन्छ, शहरतिर जाने मूल ढोकाको छेउमा, प्रवेश-द्वारमा, यो चर्को स्वरले यसरी कराउँछ।” (हितोपदेश ८:१-३, नयाँ संशोधित संस्करण) बुद्धिको चर्को अनि निडर सोर सार्वजनिक स्थलहरूमा अर्थात्‌ मूल ढोकामा, दोबाटोमा, शहरको प्रवेश-द्वारमा स्पष्ट सुनिन्छ। मानिसहरूले सजिलै यो सोर सुन्‍न अनि त्यसको जवाफ दिनसक्छन्‌।

परमेश्‍वरको प्रेरित वचन बाइबलमा लिपिबद्ध ईश्‍वरीय बुद्धि प्राप्त गर्न चाहने पृथ्वीका सबै मानिसहरूका लागि यो उपलब्ध छ भन्‍ने कुरा कसले पो इन्कार गर्न सक्ला र? द वर्ल्ड बूक इनसाइक्लोपीडिया यसो भन्छ, “इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै पढिएको किताब बाइबल हो। . . . बाइबल जति वितरण भएको किताब अरू कुनै छैन। यसबाहेक, सबैभन्दा धेरै पटक अनि धेरै भाषामा अनुवाद भएको किताब पनि बाइबल नै हो।” बाइबल पूर्ण वा आंशिक रूपमा २,१०० भन्दा धेरै भाषाहरूमा अनुवादित भइसकेकोले लगभग ९० प्रतिशतभन्दा बढी मानिसहरूले बाइबलको एउटा भाग मात्र भए पनि आफ्नै भाषामा पढ्‌ने सुविधा पाएका छन्‌।

यहोवाका साक्षीहरूले जनसमक्ष जताततै बाइबलको सन्देश घोषणा गरिरहेका छन्‌। तिनीहरूले २३५ मुलुकहरूमा सक्रियतासाथ परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नुका साथै परमेश्‍वरको वचनमा पाइने सच्चाइ मानिसहरूलाई सिकाइरहेका छन्‌। तिनीहरूका बाइबल आधारित पत्रिकाहरू, प्रहरीधरहरा १४० भाषाहरूमा प्रकाशित हुन्छन्‌ भने ब्यूँझनुहोस्‌! ८३ भाषाहरूमा छापिन्छन्‌ र यी दुवै पत्रिकाका प्रत्येक अंक दुई करोडभन्दा बढी प्रति वितरण हुन्छन्‌। बुद्धि साँच्चै सार्वजनिक स्थलहरूमा चर्को सोरले कराइरहेको छ!

“म सारा मानव-जातिलाई मेरो आवाज सुनाउँछु”

बुद्धिको मूर्त रूप बोल्न थाल्छ: “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सारा मानव-जातिलाई मेरो आवाज सुनाउँछु। हे निर्बुद्धि हो, बुद्धि प्राप्त गर। हे मूर्ख हो, समझशक्‍ति प्राप्त गर।”हितोपदेश ८:४, ५, नयाँ संशोधित संस्करण।

बुद्धिको आह्वान सर्वव्यापी छ। यसले मानिसजातिलाई आफ्नो निमन्त्रणा दिएको छ। अनुभवविहीनहरूलाई समेत बुद्धि वा चातुर्य र निर्बुद्धिलाई समझशक्‍ति प्राप्त गर्न निम्त्याइएको छ। साँच्चै, बाइबल सबैका लागि उपयोगी किताब हो भनी यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌ र तिनीहरू सबैलाई निष्पक्ष रूपले यसमा भएका बुद्धिका कुराहरू नियाँल्न आग्रह गर्छन्‌।

“मेरो मुखले साँचो कुरा बोल्दछ”

आफ्नो आकर्षणबारे बुद्धि अझै यसो भन्छ: “सुन, तिमीहरूलाई बताउनुपर्ने आदरणीय कुराहरू मसँग छन्‌, ठीक कुरा बोल्न म मेरो मुख खोल्छु। मेरो मुखले साँचो कुरा बोल्दछ, किनभने मेरो ओठले दुष्टता घृणा गर्छन्‌। मेरो मुखका सबै वचनहरू न्यायपूर्ण छन्‌, तिनीहरूमध्ये कुनै पनि बांगोटिंगो छैन।” हो, बुद्धिले दिने शिक्षा सर्वोत्कृष्ट अनि ठीक, साँचो अनि न्यायी छन्‌। यिनमा कुटिल वा टेढा केही कुरा छैनन्‌। “विवेकशील व्यक्‍तिको लागि ती खोटरहित छन्‌।”—हितोपदेश ८:६-९, नयाँ संशोधित संस्करण।

अतः बुद्धिले यस्तो आग्रह गर्नु सुहाउँछ: “चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्दा त बरु ज्ञान नै खोज।” यो आग्रह व्यावहारिक पनि छ “किनभने बुद्धि मानिकभन्दा बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिंदैन।” (हितोपदेश ८:१०, ११, नयाँ संशोधित संस्करण) तर किन? केले बुद्धिलाई धनसम्पत्तिभन्दा अझ बहुमूल्य बनाउँछ?

“मेरो फल निखुर सुनभन्दा उच्च छ”

बुद्धिले आफ्नो श्रोतालाई प्रदान गर्ने उपहारहरू सुन, चाँदी वा मानिकभन्दा पनि धेरै बहुमूल्य छन्‌। यी उपहारहरू के हुन्‌, त्यसबारे उल्लेख गर्दै बुद्धि यसो भन्छ: “म बुद्धि हुँ, सावधानीसित बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्‌। परमेश्‍वरको भय मान्‍नु दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहंकार, खराब चालचलन र भड्‌काउने कुराहरू म घृणा गर्छु।”—हितोपदेश ८:१२, १३, नयाँ संशोधित संस्करण।

बुद्धिले यो प्राप्त गर्नेलाई चातुर्य र सोच्ने क्षमता दिन्छ। ईश्‍वरीय बुद्धि हुने मानिससित परमेश्‍वरको श्रद्धा र भय पनि हुन्छ किनकि “परमप्रभुको भय मान्‍नु नै बुद्धिको शुरूआत हो।” (हितोपदेश ९:१०, नयाँ संशोधित संस्करण) यसकारण, तिनी परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्छन्‌। तुजुक, घमण्ड, अनैतिक व्यवहार र फोहर बोली तिनमा पाइँदैन। खराब कुरालाई घृणा गर्ने भएकोले तिनी शक्‍तिको दुरुपयोग गर्नदेखि जोगिन्छन्‌। मसीही मण्डलीमा जिम्मेवारी लिनेहरूका साथै परिवारका शिरहरूले बुद्धि खोज्नु कत्ति महत्त्वपूर्ण रहेछ!

बुद्धि अझै यसो भन्छ: “सरसल्लाह र उचित फैसला मबाटै हुन्छन्‌, मसँग समझशक्‍ति र सामर्थ्य छन्‌। मद्वारा नै राजाहरू राज्य गर्छन्‌ र शासकहरू उचित कानून बनाउँछन्‌, मद्वारा नै राजकुमारहरू राज्यव्यवस्था चलाउँछन्‌ र सबै उच्च अख्तियारवालहरू पृथ्वीभरि शासन गर्दछन्‌।” (हितोपदेश ८:१४-१६, नयाँ संशोधित संस्करण) बुद्धिको फल, शासक, उच्च अख्तियारवाला र कुलीन वर्गकाहरूलाई चाहिने अन्तर्दृष्टि, समझ र पराक्रम हुन्‌। बुद्धि, शक्‍तिमा हुनेहरू र अरूलाई सरसल्लाह दिनेहरूका लागि अपरिहार्य छ।

साँचो बुद्धि सबैका लागि सर्वत्र उपलब्ध छ, तर सबैले त्यो भेट्टाउँदैनन्‌। बुद्धि ढोकाको संघारमै आउँदासमेत कसैले त्यसलाई तिरस्कार गर्छ त कसैले बेवास्ता गर्छ। बुद्धि यसो भन्छ, “मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्नेहरूले मलाई भेट्टाउँछन्‌।” (हितोपदेश ८:१७) दृढतासाथ बुद्धि खोज्नेहरूले मात्र बुद्धि भेट्टाउँछन्‌।

बुद्धिका मार्गहरू न्यायसंगत र धार्मिक छन्‌। यसलाई खोज्नेहरूलाई यसले इनाम दिन्छ। बुद्धि भन्छ: “मसँग वैभव र आदर, टिक्ने धन-दौलत र समृद्धि छन्‌। मेरो फल निखुर सुनभन्दा उच्च छ। जे म उत्पादन गर्छु, त्यसले असल चाँदीलाई उछिनिदिन्छ। म धार्मिकताको बाटो र न्यायको मार्गमा हिंड्‌छु। मलाई प्रेम गर्नेहरूलाई म धन-दौलतले भरिपूर्ण पार्छु, र म तिनीहरूका भण्डार भरिदिनेछु।”—हितोपदेश ८:१८-२१, नयाँ संशोधित संस्करण।

चतुराइ, सोच्ने क्षमता, नम्रता, अन्तर्दृष्टि, व्यावहारिक बुद्धि र समझजस्ता उत्कृष्ट गुण र स्वभावहरूका साथै बुद्धिले दिने उपहारमा धनसम्पत्ति र आदर पनि समावेश छन्‌। बुद्धिमान्‌ व्यक्‍तिले कुकर्मद्वारा धन कमाउँदैनन्‌ र तिनी आध्यात्मिक तवरमा समृद्धशाली हुनेछन्‌। (३ यूहन्‍ना २) बुद्धि हुनेले आदर पनि पाउँछ। यसको अतिरिक्‍त आफूले पाएका कुराहरूबाट तिनले सन्तुष्टि पाउँछन्‌ र तिनको मन शान्त हुन्छ अनि परमेश्‍वरसामु तिनको अन्तस्करण सफा हुन्छ। हो, बुद्धि पाउने मानिस धन्यको हो। बुद्धिको फल निखुर सुन र असल चाँदीभन्दा साँच्चै असल हुन्छ।

जुनसुकै माध्यमबाट र जस्तोसुकै मोल तिर्नुपरे तापनि धनसम्पत्ति कमाउन जोड दिने यो भौतिकवादी संसारमा बाँचिरहेका हामीहरूको निम्ति यो सल्लाह अति समसामयिक छ! बुद्धि अत्यन्तै बहुमूल्य छ भन्‍ने कुरालाई हामीले कहिल्यै बिर्सन नपरोस्‌ वा धनसम्पत्ति कमाउन गलत तरिकाहरू हामीले अपनाउन नपरोस्‌। बुद्धि प्रदान गर्ने प्रबन्धहरू अर्थात्‌ मसीही सभाहरू र बाइबल अनि “विश्‍वासी र बुद्धिमान दास[ले]” प्रबन्ध गरिदिएका प्रकाशनहरूमा आधारित हाम्रो व्यक्‍तिगत अध्ययनलाई धनसम्पत्ति कमाउने होडमा कहिल्यै बेवास्ता नगरौं।—मत्ती २४:४५-४७.

“अनन्तदेखि नै मेरो सृष्टि भएको थियो”

हितोपदेश अध्याय ८ मा पाइने बुद्धिको मूर्त रूप, सैद्धान्तिक गुण वर्णन गर्ने माध्यम मात्र होइन। यसले यहोवाको सबैभन्दा महत्त्वपूर्ण सृष्टिलाई लाक्षणिक तवरमा संकेत पनि गर्छ। बुद्धि अझै यसो भन्छ: “परमप्रभुको सृष्टिको प्रारम्भमा नै मलाई सृजनुभयो, उहाँका आदिका सबै कामहरूभन्दा पहिले नै। अनन्तदेखि नै मेरो नियुक्‍ति भएको थियो, सबैभन्दा पहिले, संसार शुरू हुनुभन्दा पनि पहिले नै। महासागर नहुँदै मेरो जन्म भएको थियो, पानीले भरिएका खोलानालाहरू हुनुभन्दा अघि नै। पर्वतहरू आ-आफ्नो स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाड़हरूभन्दा अघिनै मेरो जन्म भएको थियो। उहाँले पृथ्वी वा यसका जमीन वा संसारमा धूलोको कण बनाउनुभन्दा अघि नै म सृजिएको थिएँ।”—हितोपदेश ८:२२-२६, नयाँ संशोधित संस्करण।

भर्खरै वर्णन गरिएको बुद्धिको मूर्त रूपलाई धर्मशास्त्रमा “वचन” भनेर उल्लेख गरिएका अभिव्यक्‍तिहरूसित ठ्याक्क मेल खान्छ! प्रेरित यूहन्‍ना यस्तो लेख्छन्‌, “आदिमा वचन थियो, औ वचन परमेश्‍वरसँग थियो, औ वचन परमेश्‍वरनै थियो।” (यूहन्‍ना १:१) बुद्धिको मूर्त रूपले परमेश्‍वरको पुत्र येशू ख्रीष्टको मानवपूर्ण अस्तित्वलाई लाक्षणिक तवरमा चित्रण गर्छ। b

येशू ख्रीष्ट “सारा सृष्टिको जेठो हुनुहुन्छ, किनभने उहाँमानै सबै थोक सृष्टि भएका थिए स्वर्गमा र पृथ्वीमाथि भएका दृष्ट र अदृष्ट थोकहरू।” (कलस्सी १:१५, १६) “[ यहोवाले] आकाशलाई त्यसको ठाउँमा बसाल्नुहुँदा र महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ। उहाँले बादललाई आकाशमा स्थापित गर्नुहुँदा, र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा दृढ़सँग बसाल्नुहुँदा, उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा—उहाँको आज्ञाभन्दा बाहिर नाघी पानी नजानलाई—र उहाँले पृथ्वीका जगहरू बसाल्नुहुँदा, म कारीगरझैं उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थें, उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थें। उहाँले बनाउनुभएको सिंगो संसारमा आनन्दित हुँदै म मानव-जातिमा प्रसन्‍न रहन्थें।” (हितोपदेश ८:२७-३१, नयाँ संशोधित संस्करण) स्वर्ग र पृथ्वीको अतुलनीय सृष्टिकर्ता यहोवासित उहाँको पहिलो पुत्र उहाँको नजिकै सक्रियतासाथ काम गर्दै हुनुहुन्थ्यो। यहोवा परमेश्‍वरले पहिलो मानव सृष्टि गर्नुहुँदा उहाँको पुत्रले उहाँलाई यस कार्यमा कारिगरको रूपमा सघाउनुभएको थियो। (उत्पत्ति १:२६) अतः परमेश्‍वरको पुत्रले मानिसजातिमा यति धेरै चासो लिनु र मानिसजातिलाई माया गर्नु कुनै अनौठो कुरा होइन!

“त्यही मानिस सुखी हो, जसले मेरो वचन सुन्छ”

बुद्धिको मूर्त रूप परमेश्‍वरको पुत्र यसो भन्‍नुहुन्छ: “अब हे मेरा छोरा हो, मेरो कुरा सुन, तिनीहरू धन्य हुन्‌, जसले मेरा मार्गहरू अपनाउँछन्‌। मेरो अर्ती सुन र बुद्धिमान्‌ होओ, त्यसको बेवास्ता नगर। त्यही मानिस सुखी हो, जसले मेरा वचन सुन्छ, जो दिनहुँ मेरो ढोकामा नियालेर हेर्दै, मेरो ढोकानेर पर्खिरहन्छ। किनभने जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र परमप्रभुको निगाह प्राप्त गर्छ। तर जसले मलाई भेट्टाउन चुक्छ, त्यसले आफैलाई नोक्सानी गर्छ। मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्छ।”—हितोपदेश ८:३२-३६, नयाँ संशोधित संस्करण।

येशू ख्रीष्ट परमेश्‍वरको बुद्धिको मूर्त रूप हुनुहुन्छ। उहाँमा “ज्ञान र बुद्धिका सारा रत्नहरू छिपेका छन्‌।” (कलस्सी २:३) अतः उहाँले भन्‍नुहुने कुरा होसियारीसाथ सुनौं र उहाँको पाइला पछ्याऔं। (१ पत्रुस २:२१) उहाँलाई इन्कार गर्नु भनेको आफ्नै प्राणलाई इन्कार गर्नु र मृत्युलाई अँगाल्नु हो किनकि, “अरू कसैमा मुक्‍ति छैन।” (प्रेरित ४:१२, नयाँ संशोधित संस्करण) येशूलाई हाम्रो छुटकाराको निम्ति परमेश्‍वरले गर्नुभएको प्रबन्धको रूपमा हृदयदेखि नै स्वीकारौं। (मत्ती २०:२८; यूहन्‍ना ३:१६) यसो गऱ्‍यौं भने हामीले ‘जीवन र यहोवाको निगाह प्राप्त गर्नेछौं।’

[फुटनोटहरू]

a “बुद्धि[का]” लागि प्रयोग गरिएको हिब्रू शब्द स्त्रीलिंगी शब्द हो। त्यसकारण, केही अनुवादहरूमा बुद्धिलाई संकेत गर्दा स्त्रीवाचक सर्वनाम प्रयोग गरिएको छ।

b “बुद्धि[को]” निम्ति प्रयोग गरिने हिब्रू शब्द स्त्रीलिंगी शब्द हुनु र परमेश्‍वरको पुत्रको प्रतिनिधित्व गर्न बुद्धिको नै प्रयोग हुनु विरोधाभाष कुरा होइन। “परमेश्‍वर प्रेम हुनुहुन्छ” भन्‍ने अभिव्यक्‍तिमा प्रयोग गरिएको युनानी शब्द “प्रेम” पनि स्त्रीलिंगी शब्द हो। (१ यूहन्‍ना ४:८) तैपनि, यो शब्द परमेश्‍वरलाई संकेत गर्न प्रयोग गरिएको छ।

[पृष्ठ २६-मा भएका चित्रहरू]

मसीही मण्डलीमा जिम्मेवारी लिनेहरूका लागि बुद्धि अपरिहार्य छ

[पृष्ठ २७-मा भएका चित्रहरू]

बुद्धि प्रदान गर्ने प्रबन्धहरूलाई बेवास्ता नगर्नुहोस्‌