पावल पवित्र जनहरूका लागि उद्धार कार्यको प्रबन्ध गर्छन्
पावल पवित्र जनहरूका लागि उद्धार कार्यको प्रबन्ध गर्छन्
साँचो मसीहीहरूको प्रमुख चासो आध्यात्मिक आवश्यकता हो। तथापि, अरूको भौतिक आवश्यकताहरूको ख्याल गर्नुलाई पनि तिनीहरू महत्त्वपूर्ण ठान्छन्। तिनीहरूले अक्सर कठिनाइमा परेका मानिसहरूलाई सहयोग गर्ने प्रबन्ध मिलाएका छन्। खाँचोमा परेका सँगी विश्वासीहरूलाई मदत गर्न मसीहीहरूलाई भ्रातृत्व प्रेमले उत्प्रेरित गर्छ।—यूहन्ना १३:३४, ३५.
आफ्ना आध्यात्मिक भाइबहिनीहरूप्रतिको प्रेमले गर्दा प्रेरित पावल अखैया, गलातिया, म्यासिडोनिया र एसिया प्रान्तका मण्डलीहरूबाट चन्दा संकलन गर्ने प्रबन्ध मिलाउन उत्प्रेरित भएका थिए। तर किन? अनि यो उद्धार कार्यको व्यवस्था कसरी मिलाइयो? भाइबहिनीहरूले कस्तो प्रतिक्रिया देखाए? अनि त्यतिखेर भएको कुरामा हामीले किन चासो राख्नुपर्ने हो?
यरूशलेम मण्डलीको अवस्था
सा.यु. ३३ को पेन्तिकोसपछि अन्य ठाउँबाट आएर पेन्तिकोसमा चेला बनेका यहूदी र यहूदी मत मान्नेहरू साँचो विश्वासबारे अझ धेरै कुराहरू थाह पाउन केही समय यरूशलेममा बसेका थिए। यस्तो थप बसाइँको खर्चभार उठाउन आवश्यक परेको बेलामा सँगी मसीहीहरूले सहर्ष मदत गरे। (प्रेरित २:७-११; ४१-४४; ४:३२-३७) यहूदी राष्ट्रवादीहरूको विद्रोह र सतावटले गर्दा भइरहेको गृहयुद्धका कारण थप कठिनाइ उत्पन्न भएको हुनसक्छन्। अतः ख्रीष्टका अनुयायीहरू भोका नहोऊन् भनेर खाँचोमा परेका विधवाहरूको निम्ति प्रबन्ध मिलाइयो। (प्रेरित ६:१-६) हेरोद आफैले मण्डलीलाई साह्रै सताउन थालेका थिए र सा.यु. ४० दशकको मध्यतिर यहूदियामा ठूलो अनिकाल परेको थियो। यिनै कारणहरूले गर्दा होला येशूका अनुयायीहरू पावलले भनेझैं “कष्टहरू” अनि “कठोर संघर्षमा” परे, तिनीहरूले ‘आफ्नो सम्पत्ति लुटिंदा पनि हर्षसाथ सहे।’—हिब्रू १०:३२-३४, नयाँ संशोधित संस्करण; प्रेरित ११:२७–१२:१.
सा.यु. ४९ तिर पनि परिस्थिति अझै कठिनै थियो। पावलले आफ्नो प्रचारकार्यमा अन्यजातिकाहरूलाई ध्यान दिने सहमति भइसकेपछि पत्रुस, याकूब र यूहन्नाले तिनलाई “गरीबमाथि सम्झना रहोस्” भनेर आग्रह गरे। पावल त्यसै गर्न प्रयत्नशील थिए।—गलाती २:७-१०.
संकलन गर्ने प्रबन्ध मिलाइयो
पावलले यहूदियाका गरीब मसीहीहरूका लागि संकलन गरेको कोषको रेखदेख गरे। सा.यु. ५५ तिर तिनले कोरिन्थीहरूलाई यसो भने: “पवित्र जनहरूका निम्ति चन्दाको विषयमा, मैले गलातियाका मण्डलीहरूलाई आज्ञा दिए जस्तै तिमीहरूले पनि गर। प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आफ्नो आफ्नो उन्नतिअनुसार जोगाएर साँचिराखोस्, . . . [त्यसपछि] जब म आइपुग्नेछु, तब चन्दा यरूशलेममा लानलाई जस जसलाई तिमीहरू चाहन्छौ, तिनीहरूलाई म चिट्ठीहरू दिएर पठाउनेछु।” (१ कोरिन्थी १६:१-३) यसो भनेको वर्षदिनपछि म्यासिडोनिया र अखैयाका भाइबहिनीहरूले पनि यस उद्धार कार्यमा भाग लिइरहेका छन् भनेर पावलले बताए। अनि संकलन गरिएको रकम यरूशलेममा पठाइँदा एसिया प्रान्तको प्रतिनिधिहरू पनि उपस्थिति हुनुले त्यस प्रान्तका मण्डलीहरूले पनि चन्दा दिएका रहेछन् भन्ने देखिन्छ।—प्रेरित २०:४; २ कोरिन्थी ८:१-४; ९:१, २.
आफ्नो औकातभन्दा बढी दिने आग्रह कसैलाई गरिएको थिएन। बरु, यरूशलेम र यहूदियामा भएका पवित्र जनहरूमा भएको अभाव अरू भाइबहिनीहरूको प्रशस्तताबाट पूरा होस् भन्ने हेतुले यो त समानताको निम्ति गरिएको थियो। (२ कोरिन्थी ८:१३-१५) पावलले भने: “हरेक मानिसले आफ्नो मनमा अड़कले बमोजिम गरोस्, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ९:७.
प्रेरित पावलले कोरिन्थीहरूलाई उदारचित्तको हुन असल कारण दिए। आध्यात्मिक तवरमा ‘तिनीहरू धनी होऊन् भनेर येशू तिनीहरूका खातिर दरिद्र हुनुभएको थियो।’ (२ कोरिन्थी ८:९) तिनीहरू पक्कै पनि उहाँको यस्तो उदार मनोवृत्ति खेती गर्न चाहन्थे। यसबाहेक, परमेश्वरले “हरेक कुरामा सारा उदारताले . . . धनी” पारिदिनुभएकोले पनि तिनीहरूले पवित्र जनहरूको आवश्यकता पूरा गर्ने प्रबन्धलाई सघाउनु उचित थियो।—२ कोरिन्थी ९:१०-१२.
सहभागीहरूको मनोवृत्ति
प्रथम शताब्दीमा पवित्र जनहरूको लागि गरिएको उद्धार कार्यमा भाग लिनेहरूको मनोवृत्ति विचार गर्दा राजीखुसीसाथ दिने सम्बन्धमा हामी थुप्रै कुरा सिक्नसक्छौं। यस किसिमको संकलनले यहोवाका गरिब उपासकहरूप्रतिको चासो मात्र प्रकट गरेन। यसले यहूदी र अन्यजातिका मसीहीहरूबीच भ्रातृत्वको बन्धन थियो भनेर पनि देखायो। चन्दा दिनु र लिनुले अन्यजाति र यहूदीहरूबीच एकता र मित्रता थियो भनेर संकेत गऱ्यो। तिनीहरूले एक आपसमा भौतिक तथा आध्यात्मिक कुराहरू बाँडे।—रोमी १५:२६, २७.
पावलले सुरुमा म्यासिडोनियाका मसीहीहरूलाई भाग लिन निम्त्याएका थिएनन् होला। किनकि तिनीहरू पनि असाध्यै गरिब थिए। तथापि, तिनीहरूले ‘सेवाको अनुग्रहमा भाग लिन पाऊन् भनी बिन्ती गरे।’ “कष्टको ठूलो परीक्षा” सहनु परिरहेको भए तापनि तिनीहरूले राजीखुसीसाथ आफ्नो “औकातभन्दा बढ़ता” दिए! (२ कोरिन्थी ८:१-४) तिनीहरूले सामना गरिरहेको परीक्षा, रोमीहरूलाई उचित नलाग्ने धर्म पालन गरिरहेका थिए भन्ने आरोप हुनसक्ने देखिन्छ। अतः तिनीहरूले आफूले जस्तै सतावट भोगिरहेका यहूदियाका आफ्ना भाइबहिनीहरूप्रति समानुभूति प्रकट गर्नुको कारण बुझ्न सकिन्छ।—प्रेरित १६:२०, २१; १७:५-९; १ थिस्सलोनिकी २:१४.
म्यासिडोनियालीहरूलाई प्रोत्साहित गर्न पावलले कोरिन्थीहरूले चन्दा संकलन गर्न सुरुमा देखाएको जोसको उदाहरण दिएको भए तापनि त्यतिञ्जेलसम्ममा कोरिन्थीहरूको उत्साह सेलाउन थालिसकेको थियो। अहिले कोरिन्थीहरूलाई उत्प्रेरित गर्न पावल म्यासिडोनियालीहरूको उदारता उल्लेख गर्दैछन्। तिनीहरूले वर्षदिनअघि सुरु गरेको काम समाप्त गर्ने समय आयो भनेर बताउनु पावलले आवश्यक सम्झे। किन? के भयो?—२ कोरिन्थी ८:१०, ११; ९:१-५.
तीतसले कोरिन्थमा चन्दा संकलन गर्न सुरु गरेका थिए तर तिनको प्रयासलाई विफल पार्ने समस्याहरू खडा भएको हुनसक्छ। म्यासिडोनियामा पावलसित छलफल गरिसकेपछि तीतस थप दुई जनासहित कोरिन्थका मण्डलीलाई प्रोत्साहन दिन र चन्दा संकलन गर्ने काम समाप्त गर्न फर्के। पावल कोरिन्थीहरूलाई शोषण गर्न चाहन्छन् भन्ने भावना कसै कसैले फैलाएको हुनसक्छ। त्यसैकारण तिनले संकलन कार्य पूरा गर्न तीन जना पुरुषहरूलाई सिफारिससहित पठाएका हुनसक्छन्। यस सम्बन्धमा पावलले यसो भने, “हामीले सेवा गरेको यस प्रशस्त धनको विषयमा कुनै मानिसले हाम्रो दोष नभेट्टाओस् भनी हामी जोगिनचाहन्छौं, किनभने हामी प्रभुको दृष्टिमा मात्र होइन, २ कोरिन्थी ८:६, १८-२३; १२:१८.
तर मानिसहरूका दृष्टिमा पनि आदरणीय कामको ख्याल राख्तछौं।”—चन्दा पुऱ्याउने
सा.यु. ५६ को वसन्तऋतुसम्ममा चन्दा यरूशलेममा लैजान तयार भइसकेको थियो। चन्दादाताहरूले छानेका प्रतिनिधिहरूसित पावल पनि सँगै जाने थिए। प्रेरित २०:४ अनुसार “बिरियाको पाईरसको छोरो सोपाटर, थिस्सलोनियाका अरिस्तार्खस र सिकन्डस, डर्बीका गायस र तिमोथी औ एशियाका टाइकिकस र त्रोफिमस एशियासम्म तिनका साथ गए।” प्राप्त प्रमाणअनुसार तिनीहरूमध्ये लूका पनि थिए र तिनले फिलिप्पीका मसीहीहरूको प्रतिनिधित्व गरेको हुनसक्छ। यसरी, कम्तीमा पनि यस टोलीमा नौ जना पुरुषहरू थिए।
शास्त्रज्ञ दिटर गेअर्गी भन्छन्, “संकलनबाट जम्मा भएको कुल रकम पक्कै धेरै हुनुपर्छ। . . . अन्यथा पावललगायत थुप्रै प्रतिनिधिले अन्तिम संकलनहरूको निम्ति उठाएको कष्ट र समस्या तर्कसंगत हुने थिएन।” उक्त टोली सुरक्षाको निम्ति मात्र गठन गरिएको थिएन तर पावललाई तिनीमाथि लगाइएको बेइमानीको आरोपबाट जोगाउन पनि गठन गरिएको थियो। यसरी यरूशलेममा पवित्र जनकहाँ पठाइएका भाइहरू अन्यजातिका मण्डलीहरूको प्रतिनिधि थिए।
कोरिन्थबाट सिरियासम्म जलयात्रा थालेकोले उक्त प्रतिनिधि मण्डल निस्तार चाडसम्ममा यरूशलेम पुग्ने थियो। तथापि, पावललाई मार्ने षड्यन्त्र भइरहेको खबर सुनेपछि यो योजनामा केही हेरफेर गरियो। (प्रेरित २०:३) पावलका शत्रुहरूले तिनलाई मारेर समुद्रमा नै फाल्ने विचार गरेका हुनसक्छन्।
पावललाई अरू कुराको पनि चिन्ता थियो। यात्रा थाल्नुअघि तिनले रोमका मसीहीहरूलाई “म यहूदियाका विश्वास नगर्नेहरूबाट छुटकारा पाऊँ, र यरूशलेमको निम्तिको मेरो सेवा पवित्र जनहरूलाई ग्रहणयोग्य होस्” भनेर प्रार्थना गरिदिनू भनेर लेखेका थिए। (रोमी १५:३०, ३१) पवित्र जनहरूले गहिरो कृतज्ञतासहित चन्दा स्वीकार्ने कुरामा कुनै सन्देह नभए तापनि त्यहाँ आफ्नो उपस्थितिले साधारण यहूदीहरूमाझ समस्या उत्पन्न गर्नसक्ने चिन्ता पावललाई लागेको हुनसक्छ।
प्रेरित पावलले पक्कै पनि गरिबहरूलाई सम्झेका थिए। संकलित चन्दा कहिले हस्तान्तरण गरियो, त्यसबारे धर्मशास्त्रले केही नबताए तापनि यसले एकता बढायो र यहूदामा भएका आफ्ना सँगी विश्वासीहरूबाट पाएको आध्यात्मिक धनसम्पत्तिका लागि अन्यजातिका मसीहीहरूले आफ्नो कृतज्ञता प्रकट गर्ने मौका मिल्यो। यरूशलेम पुगेको केही समयमै पावल मन्दिरमा देखा पर्दा हूलदंगा मच्चियो र तिनी समातिए। तर यसले गर्दा अन्ततः तिनले राज्यपाल र राजाहरूलाई साक्षी दिने मौका पाए।—प्रेरित ९:१५; २१:१७-३६; २३:११; २४:१–२६:३२.
आज हामीले दिने चन्दा
प्रथम शताब्दीदेखि यता थुप्रै कुराहरूमा हेरफेर भएको छ तर आधारभूत सिद्धान्तहरू भने जस्ताको तस्तै छन्। भौतिक सहयोग आवश्यक पर्दा मसीहीहरूलाई अहिले पनि जानकारी दिइन्छ र यो उचित पनि छ। खाँचोमा परेकाहरूलाई तिनीहरूले दिने चन्दा स्वेच्छाले अनि परमेश्वर र सँगी मानवप्रतिको प्रेमले उत्प्रेरित भएर दिएको हुनुपर्छ।—मर्कूस १२:२८-३१.
प्रथम शताब्दीमा पवित्र जनहरूको उद्धारको निम्ति चालिएको कदमले यस्ता चन्दासम्बन्धी गरिने कामकुरा अत्यन्तै व्यवस्थित र इमानदारीसाथ हुनैपर्छ भनेर देखाउँछ। हो, यहोवा परमेश्वरलाई आफ्ना दासहरूका आवश्यकताहरू अवश्य थाह छ। त्यसैकारण, आफ्ना दासहरूले कठिनाइको बावजूद राज्यको सुसमाचार सुनाइरहन सकून् भनेर तिनीहरूका लागि उहाँले प्रबन्ध मिलाउनुहुन्छ। (मत्ती ६:२५-३४) तैपनि, हाम्रो आर्थिक स्थिति जस्तोसुकै होस्, सबैले आ-आफ्नो तर्फबाट केही न केही गर्नसक्छौं। यसरी ‘धेरै बटुल्नेकहाँ बढ़ता हुनेछैन, र कम बटुल्नेकहाँ अभाव हुनेछैन।’—२ कोरिन्थी ८:१५.