सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“साँच्चिनै प्रभुको पुनरुत्थान भएछ”!

“साँच्चिनै प्रभुको पुनरुत्थान भएछ”!

“साँच्चिनै प्रभुको पुनरुत्थान भएछ”!

आफ्ना प्रभुको हत्या हुँदा येशूका चेलाहरू कत्ति व्याकुल भए होलान्‌, कल्पना गर्नुहोस्‌। तिनीहरूको आशा पनि अरिमथियाका यूसुफले चिहानमा गाढेको निर्जीव शरीर सरह देखिएको थियो। येशूले यहूदीहरूलाई रोमीहरूको दासत्वको जुवाबाट मुक्‍त गर्नुहुनेछ भन्‍ने प्रत्याशा पनि मृत देखिन्थ्यो।

यदि सबथोक त्यतिखेरै सिद्धिएको भए, येशूका चेलाहरू पनि अन्य थुप्रै मसीही भनाउँदाका अनुयायीजस्तै हराएर जाने थिए होलान्‌। तर येशू जीवित हुनुहुन्थ्यो! धर्मशास्त्रअनुसार उहाँ आफ्नो मृत्यु भएको केही समयपछि निकै पटक आफ्ना अनुयायीहरूबीच देखापर्नुभयो। त्यसकारण, तिनीहरूमध्ये कतिपय यसरी उद्‌गार गर्न प्रेरित भए: “साँच्चिनै प्रभुको पुनरुत्थान भएछ”!—लूका २४:३४.

तर यस नयाँ परिस्थितिले गर्दा चेलाहरूले येशू नै मसीह हुनुहुन्छ भन्‍ने आफ्नो विश्‍वासको प्रतिवाद गर्नुपऱ्‍यो। यसका लागि तिनीहरूले विशेष गरी मृत्युबाट पुनरुत्थान हुनु नै उहाँ मसीह हुनुहुन्छ भन्‍ने ठोस प्रमाण हो भनेर संकेत गरे। साँच्चै, “बड़ो शक्‍तिसित ती प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको गवाही दिन्थे।”—प्रेरित ४:३३.

यदि कसैले कुनै एक जना चेलालाई येशूको पुनरुत्थान जालसाजी हो भनेर स्वीकार्न लगाएर वा येशूको लास चिहानमै छ भनी देखाएर उहाँको पुनरुत्थानलाई झूटो प्रमाणित गरेको भए मसीही धर्म सुरुमै खत्तम हुने थियो। तर त्यसो भएन। ख्रीष्ट जीवित हुनुहुन्थ्यो भन्‍ने थाह पाएर येशूका अनुयायीहरू जताततै उहाँको पुनरुत्थानबारे घोषणा गर्दै हिंडे र असंख्य मानिसहरूले ब्यूँतनुभएको ख्रीष्टमाथि विश्‍वास गर्न थाले।

तपाईं नि? के तपाईंसँग येशूको पुनरुत्थानमा विश्‍वास गर्न सक्ने कारण छ? यो वास्तविक घटना हो भनेर प्रमाणित गर्ने के कुनै आधार छ?

कारणहरू किन केलाउने?

सुसमाचारका चारैवटा पुस्तकले येशूको पुनरुत्थानबारे रिपोर्ट गरेका छन्‌। (मत्ती २८:१-१०; मर्कूस १६:१-८; लूका २४:१-१२; यूहन्‍ना २०:१-२९) a मसीही युनानी धर्मशास्त्रका अन्य अंशले ख्रीष्ट मृत्युबाट ब्यूँतनुभएको थियो भनी निश्‍चिन्त भएर बताएको छ।

त्यसकारण, येशूको पुनरुत्थानबारे उहाँका चेलाहरूले घोषणा गरे! यदि उहाँलाई परमेश्‍वरले नै ब्यूँताउनुभएको थियो भने आजसम्म संसारले सुनेका खबरहरूमध्ये त्यो नै सबैभन्दा अनौठो खबर हुन्छ। यसको अर्थ परमेश्‍वरको अस्तित्व छ। यसबाहेक, यसको अर्थ येशू अहिले जीवित हुनुहुन्छ।

यसले हामीलाई कसरी असर गर्छ? येशूले यसरी प्रार्थना गर्नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) हो, हामी येशू र उहाँको पिताको जीवनदायी ज्ञान प्राप्त गर्नसक्छौं। यस्तो ज्ञानलाई प्रयोगमा ल्याउँदा हामी मरिहाल्यौं भने पनि हाम्रो पुनरुत्थान हुनसक्छ किनकि येशूको पुनरुत्थान भएको थियो। (यूहन्‍ना ५:२८, २९) यसबाहेक, परमेश्‍वरको महिमित पुत्र, राजाहरूका महाराजा येशूले शासन गर्नुहुने स्वर्गीय राज्यमा हामीले यसै पृथ्वीमा अनन्त जीवन पाउने आशा गर्नसक्छौं।—यशैया ९:६, ७; लूका २३:४३; प्रकाश १७:१४.

त्यसकारण, येशू वास्तवमा मृत्युबाट ब्यूँतनुभएको थियो वा थिएन भन्‍ने प्रश्‍न महत्त्वपूर्ण छ। यसले, अहिले हाम्रो जीवनलाई र हाम्रो भावी प्रत्याशालाई असर गर्छ। त्यसैकारण, हामी तपाईंलाई येशू मर्नुभएको थियो र उहाँको पुनरुत्थान भएको थियो भनेर प्रमाणित गर्ने चारवटा मनासिब कारण जाँच्न निम्त्याउँछौं।

येशू साँच्चै शूलीमा मर्नुभएको थियो

केही शंकालु व्यक्‍तिहरूको दाबी के छ भने, येशू शूलीमा टाँगिनु भए तापनि उहाँ वास्तवमा शूलीमै मर्नुभएको चाहिं थिएन। तिनीहरू, उहाँ अधमरो मात्र हुनुभएको थियो र चिहानको शीतलताले होसमा आउनुभएको थियो भन्छन्‌। यद्यपि, प्राप्त सम्पूर्ण स्रोतले चिहानमा येशूको निर्जीव शरीर राखिएको थियो भनेर प्रमाण दिन्छ।

येशूलाई जनसमक्ष मृत्युदण्ड दिइएको हुनाले उहाँ शूलीमै मर्नुभएको देख्ने साक्षीहरू त्यहाँ थिए। मृत्युदण्ड दिने रोमी अफिसरले पनि उहाँको मृत्यु भएको साक्षी दिएका थिए। उक्‍त कप्तानलाई वास्तवमा येशूको मृत्यु भयो कि भएन पक्का गर्न खटाइएको थियो। यसबाहेक, येशू मरिसक्नुभयो भन्‍ने पक्का गरिसकेपछि मात्र रोमी बडाहाकिम पोन्तियस पिलातसले अरिमथियाका यूसुफलाई येशूको लास लैजाने मन्जुरी वा स्वीकृति दिएका थिए।—मर्कूस १५:३९-४६.

चिहान रित्तो थियो

चिहान रित्तो हुनु नै चेलाहरूका लागि येशूको पुनरुत्थानको पहिलो प्रमाण थियो र यो प्रमाण निर्विवाद छ। येशूको लासलाई पहिले कहिल्यै प्रयोग नगरिएको नयाँ चिहानमा राखिएको थियो। यो चिहान, उहाँलाई झुन्ड्याइएको ठाउँ नजिकै थियो र त्यतिखेर यो ठाउँ सजिलै पत्ता लगाउन सकिन्थ्यो। (यूहन्‍ना १९:४१, ४२) उहाँको मृत्युभएको पर्सीपल्ट बिहान येशूका साथीहरू चिहानमा आउँदा उहाँको लास त्यहाँ थिएन भनी सुसमाचारका सम्पूर्ण विवरणहरूबीच सहमती पाइन्छ।—मत्ती २८:१-७; मर्कूस १६:१-७; लूका २४:१-३; यूहन्‍ना २०:१-१०.

रित्तो चिहान देखेर येशूका साथीहरू जत्ति छक्क परे, त्यति नै छक्क उहाँका शत्रुहरू पनि परे। उहाँका वैरीहरूले निकै अघिदेखि उहाँको हत्या गर्ने प्रयास गरिरहेका थिए। आफ्नो लक्ष्य पूरा गरिसकेपछि तिनीहरूले चिहानको सुरक्षाको निम्ति पहरेदार राखे र चिहानमा छापसमेत लगाए। तैपनि, हप्ताको पहिलो दिनको बिहान, चिहान रित्तो थियो।

के येशूका साथीहरूले चिहानबाट लास लगेका हुनसक्छन्‌? हुनैसक्दैन, किनकि सुसमाचारका पुस्तकहरूले देखाएअनुसार उहाँलाई मृत्युदण्ड दिइसकेपछि तिनीहरू असाध्यै व्याकुल भएका थिए। यसको अलावा, यसरी जालझेल गरेको पत्ता लागेमा सतावट अनि मृत्युसमेत भोग्नुपर्ने हुँदा, तिनीहरूले त्यसरी लास चोर्नु त सोच्न पनि सक्ने थिएनन्‌।

त्यसोभए, चिहान कसले रित्तो पाऱ्‍यो त? येशूका शत्रुहरूले लास लानु त असोचनीय हुने थियो। तिनीहरूले लगेकै भए चेलाहरूले पछि येशूको पुनरुत्थान भयो र उहाँ जीवित हुनुहुन्छ भन्दा त्यो दाबीलाई झूटो साबित गर्न तिनीहरूले पक्कै पनि लास निकाल्थे होलान्‌। तर यस्तो केही पनि भएन। किनकि लास उठाइ लैजानुहुने व्यक्‍ति परमेश्‍वर नै हुनुहुन्थ्यो।

हप्तौंपछि पत्रुसले यस्तो प्रतिवाद गर्दा येशूका शत्रुहरूले त्यसको खण्डन गरेनन्‌: “ए इस्राएली हो, यो कुरा सुन्‍नुहोस्‌, शक्‍तिका काम र आश्‍चर्यकामहरू र चिह्नहरूबाट तपाईंहरूमा एक जना मानिस, अर्थात्‌ नासरतका येशूलाई परमेश्‍वरले नियुक्‍त गर्नुभएको हो। र तपाईंहरूलाई पनि थाहै छ, कि तपाईंहरूकै बीचमा यी कामहरू परमेश्‍वरले उहाँद्वारा गर्नुभएको हो। उहाँलाई, परमेश्‍वरबाट ठहरिएको सल्लाह र अगम-ज्ञानबमोजिम सुम्पेर, अधर्मीहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगी मार्नुभयो, जसलाई परमेश्‍वरले मृत्युको पीड़ाबाट छुटकारा दिएर उठाउनुभयो। किनकि त्यसको अधीनमा उहाँ भइरहनु असम्भव थियो, किनकि दाऊदले उहाँको विषयमा भनेका छन्‌, ‘मैले प्रभुलाई सधैं मेरो मुखको सामने देखें, . . . यस उप्रान्त मेरो शरीरले पनि आशामा भरोसा गर्नेछ। किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड़नुहुनेछैन, नता तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुनदिनुहुनेछ।’ ”—प्रेरित २:२२-२७.

थुप्रैले पुनरुत्थान हुनुभएको येशूलाई देखे

प्रेरितहरूको पुस्तकमा सुसमाचारका लेखक लूकाले यसो भने: “उहाँले दुःख भोगिसक्नु भएपछि चालीस दिनसम्म [प्रेरित]हरूकहाँ देखापर्दै र परमेश्‍वरको राज्यको विषयमा कुरा गर्दै, धेरै अचुक प्रमाणहरूबाट आफूलाई जिउँदो पनि देखाउनुभयो।” (प्रेरित १:२, ३) थुप्रै चेलाले पुनरुत्थान हुनुभएको येशूलाई विभिन्‍न अवसरमा अर्थात्‌ बगैंचामा, बाटोमा, खाना खाइरहेको बेलामा, तिबिरियास समुद्र छेउमा देखेका थिए।—मत्ती २८:८-१०; लूका २४:१३-४३; यूहन्‍ना २१:१-२३.

आलोचकहरू येशू देखा पर्नुभयो भन्‍ने घटनामाथि प्रश्‍न तेर्स्याउँछन्‌। तिनीहरू यी विवरणहरू लेखकहरूको उपज हो अथवा लेखकहरूबीचको भिन्‍नता नै त्यसको प्रमाण हो भन्छन्‌। वास्तवमा, सुसमाचारको विवरणमा भएका सानातिना भिन्‍नता नै लेखकहरूबीच कुनै किसिमको साँठगाँठ भएको थिएन भन्‍ने कुराको प्रमाण हो। ख्रीष्टको पार्थिव जीवनका केही खास घटनाहरूबारे अर्को लेखकले थप विवरण पेस गर्दा येशूको विषयमा हामी झन्‌ धेरै कुरा सिक्छौं।

पुनरुत्थानपछि येशू देखापर्नु के दृष्टिभ्रम त थिएन? उहाँलाई थुप्रै मानिसले देखेको हुँदा दृष्टिभ्रम भएको हो भनेर विवाद गर्नु युक्‍तिसंगत छैन। उहाँलाई देख्नेहरूमध्ये मछुवा, आइमाई, निजामति कर्मचारीलगायत येशू मृत्युबाट ब्यूँतनुभएको अकाट्य प्रमाण देखेपछि मात्र विश्‍वास गर्ने शंकालु चेला थोमासमेत थिए। (यूहन्‍ना २०:२४-२९) निकै चोटि येशूका चेलाहरूले पुनरुत्थान हुनुभएका येशू, आफ्ना प्रभु हुनुहुन्छ भनेर झट्टै चिनिहाल्न सकेनन्‌। एक पटक उहाँलाई ५०० भन्दा बढी मानिसहरूले देखे र प्रेरित पावलले पुनरुत्थानको प्रमाणको पक्षमा बोल्ने क्रममा यही घटना प्रयोग गर्दा यिनीहरूमध्ये कति जना त जीवितै थिए।—१ कोरिन्थी १५:६.

मानिसहरूमाथि जीवित येशूको असर परेको छ

येशूको पुनरुत्थान कौतूहल वा विवादको विषय मात्र होइन। उहाँ जीवित हुनुहुन्छ भन्‍ने तथ्यले सबै ठाउँका मानिसहरूलाई सकारात्मक असर पारेको छ। प्रथम शताब्दीदेखि यता अनगिन्ती मानिसहरू मसीहीधर्मप्रति भावशून्य वा पूर्णतया विरोधी हुन छोडेर यही साँचो धर्म हो भनी निश्‍चिन्त भएका छन्‌। तिनीहरूलाई केले परिवर्तन गऱ्‍यो? परमेश्‍वरले येशूलाई स्वर्गमा महिमित आत्मिक प्राणीको रूपमा पुनरुत्थान गर्नुभएको थियो भन्‍ने प्रमाण धर्मशास्त्रको अध्ययनबाट थाह पाएकोले। (फिलिप्पी २:८-११) तिनीहरूले येशू र मुक्‍तिका लागि यहोवा परमेश्‍वरले ख्रीष्टको छुटकाराको बलिदानमार्फत गर्नुभएको प्रबन्धमाथि विश्‍वास गरेका छन्‌। (रोमी ५:८) यस्ता व्यक्‍तिविशेषहरूले परमेश्‍वरको इच्छा गरेर अनि येशूको शिक्षाअनुसार जीवन बिताएर साँचो आनन्द प्राप्त गरेका छन्‌।

प्रथम शताब्दीमा मसीही हुनुको अर्थ के थियो, विचार गर्नुहोस्‌। तिनीहरूले प्रतिष्ठा, शक्‍ति वा सम्पत्ति पाएनन्‌। यसको विपरीत, थुप्रै प्रारम्भिक मसीहीहरूले आफ्नो विश्‍वासको खातिर आफ्नो ‘धनसम्पत्ति आनन्दसँग लुट्‌न दिए।’ (हिब्रू १०:३४) मसीहीधर्ममा लाग्नुको अर्थ त्यागको जीवन बिताउनु र धेरै जनाले त शहीदसमेत हुनुपर्ने खालका सतावटहरू भोग्नु थियो।

ख्रीष्टको अनुयायी हुनुअघि थुप्रैले चाहेको भए निकै प्रतिष्ठा र धनसम्पत्ति कमाउन सक्थे। व्यवस्थाका प्रख्यात गुरु गमलीयलबाट टार्ससका शावलले शिक्षा हासिल गरेका थिए र यहूदीहरूको नजरमा तिनले विशिष्ट स्थान पाउनै लागेका थिए। (प्रेरित ९:१, २; २२:३; गलाती १:१४) हो, शावल प्रेरित पावल भए। तिनी र अन्य थुप्रैले यस संसारले दिने प्रतिष्ठा र शक्‍ति तिरस्कार गरे। किन? परमेश्‍वरको प्रतिज्ञामाथि आधारित साँचो आशाको सन्देश र येशू ख्रीष्ट मृत्युबाट पुनरुत्थान हुनुभयो भन्‍ने तथ्य फैलाउनका लागि। (कलस्सी १:२८) सत्यमा आधारित कारणका लागि तिनीहरू सतावटसमेत भोग्न तयार थिए।

आज लाखौं मानिसहरूको सम्बन्धमा पनि त्यसै भन्‍न सकिन्छ। तपाईं तिनीहरूलाई विश्‍वभरिका यहोवाका साक्षीहरूको मण्डलीमा भेट्टाउन सक्नुहुन्छ। यी साक्षीहरू तपाईंलाई ख्रीष्टको मृत्युको वार्षिक स्मरणार्थमा हार्दिक स्वागत गर्छन्‌ र यो, आइतबार, अप्रिल ८, २००१ का दिन सूर्यास्तपछि हुनेछ। तपाईं यस अवसरमा र बाइबल अध्ययनका लागि तिनीहरूको राज्यभवनमा हुने सम्पूर्ण सभाहरूमा उपस्थित हुनुभयो भने तिनीहरू रमाउनेछन्‌।

येशूको मृत्यु र पुनरुत्थानबारे मात्र होइन तर उहाँको जीवन र शिक्षाबारे पनि थप जानकारी प्राप्त गर्नुभए कसो होला? उहाँ हामीलाई आफ्नो नजिक आउन निम्तो दिनुहुन्छ। (मत्ती ११:२८-३०) यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टको सही ज्ञान प्राप्त गर्न अहिल्यै कदम चाल्नुहोस्‌। यसो गर्नुको अर्थ परमेश्‍वरको प्रिय पुत्रले शासन गर्नुहुने राज्यमा अनन्त जीवन पाउनु हो।

[फुटनोट]

a सुसमाचारका पुस्तकहरूको प्रमाणको सम्बन्धमा प्रहरीधरहरा, मे १५, २००० को “सुसमाचारका पुस्तक—इतिहास वा मिथ्या?” हेर्नुहोस्‌।

[पृष्ठ ७-मा भएका चित्रहरू]

येशू ख्रीष्टको अनुयायी भएर लाखौंले साँचो आनन्द पाएका छन्‌

[पृष्ठ ६-मा भएको चित्रको स्रोत]

From the Self-Pronouncing Edition of the Holy Bible, containing the King James and the Revised versions