सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आज्ञाकारीता—के यो बाल्यकालमा सिकाइने महत्त्वपूर्ण पाठ हो?

आज्ञाकारीता—के यो बाल्यकालमा सिकाइने महत्त्वपूर्ण पाठ हो?

आज्ञाकारीताके यो बाल्यकालमा सिकाइने महत्त्वपूर्ण पाठ हो?

“आमाबाबु आज्ञाकारी छोराछोरी होइन जिम्मेवार व्यक्‍तिहरू चाहन्छन्‌।” यस्तो थियो एउटा अखबारको शीर्षसमाचार। यो सानो समाचार न्युजील्याण्डमा गरिएको एउटा सर्वेक्षणको नतिजामा आधारित थियो। यस सर्वेक्षणले जम्मा “२२ प्रतिशतको मात्र छोराछोरीलाई घरमा आज्ञाकारीता सिकाउनुपर्छ” भन्‍ने धारणा थियो। सर्वेक्षणले देखाएअनुसार अहिलेका थुप्रै आमाबाबु आफ्ना छोराछोरीलाई राम्रो आचारण, स्वावलम्बी हुने र जिम्मेवारी जस्ता कुराहरू सिकाउनु बढी महत्त्वपूर्ण ठान्छन्‌।

यस व्यक्‍तिवाद र स्वार्थी युगमा धेरै मानिसले आज्ञाकारीता र छोराछोरीलाई यो गुण सिकाउनेबारे अस्पष्ट धारणा राख्नु कुनै छक्कलाग्दो कुरा होइन। तर के बाल्यकालमा सिकाउनुपर्ने आज्ञाकारीतालाई पुरानो जमानाको कुरा मात्र भन्‍न मिल्छ र? वा यो केटाकेटीले सिक्न र लाभ उठाउनसक्ने महत्त्वपूर्ण पाठ हो? अझ योभन्दा पनि महत्त्वपूर्ण कुरा, पारिवारिक प्रबन्धको सुरुआतकर्ता यहोवा परमेश्‍वरले आमाबाबुप्रतिको आज्ञाकारीताबारे कस्तो दृष्टिकोण राख्नुहुन्छ र त्यस्तो आज्ञाकारीताबाट हुने केही फाइदाहरू के हुन्‌?—प्रेरित १७:२८; एफिसी ३:१४, १५.

“यो उचित हो”

प्रथम शताब्दीको एफिससको मसीही मण्डलीलाई प्रेरित पावलले यस्तो लेखे: “ए बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर, किनभने यो उचित छ।” (एफिसी ६:१) अतः त्यस्तो आज्ञाकारीता देखाउनुको मुख्य कारण यो उचित ईश्‍वरीय स्तरअनुरूप सही कुराअन्तर्गत पर्छ। पावलले भनेझैं “यो उचित छ।”

यसै कुरासित मिल्दोजुल्दो तरिकामा परमेश्‍वरको वचनले प्रेमसाथ दिइएको आमाबाबुको अनुशासनलाई आकर्षक गहनाको रूपमा यसरी वर्णन गर्छ, “ती तेरो शिरमा शोभाको मुकुट र तेरो गलामा सम्मानको हार हुन्‌” र “यो प्रभुमा बढ़ता खुशी तुल्याउने” भनी पनि वर्णन गरिएको छ। (हितोपदेश १:८, ९; कलस्सी ३:२०) यसको ठीक विपरीत आमाबाबुप्रतिको अनाज्ञाकारीताले ईश्‍वरीय अनुमोदन गुमाउँछ।—रोमी १:३०, ३२.

“तिमीलाई भलो होस्‌”

पावलले आज्ञा पालन गर्नुको अर्को फाइदा पनि औंल्याए र तिनले यस्तो लेखे: “आफ्ना बाबु र आमाको मान गर (जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), र तिमीलाई भलो होस्‌, र पृथ्वीमा तिम्रो दीर्घायु होस्‌।” (एफिसी ६:२, ३; प्रस्थान २०:२१) आमाबाबुको आज्ञा पालन गर्नाले कसरी भलो हुन्छ?

प्रथमतः के यो कुरा साँचो होइन, आमाबाबु उमेरमा पाको र अनुभवी हुन्छन्‌? तिनीहरूलाई कम्प्युटर वा स्कूलमा सिकाइने अन्य विषयहरूबारे त्यति थाह नभए तापनि तिनीहरूलाई जीवन र जीवनमा सामना गर्नुपर्ने समस्याहरूबारे धेरै थाह छ। अर्कोतर्फ, परिपक्वता सँगसँगै आउने सन्तुलित सोचाइको जवानहरूमा कमी हुन्छ। तसर्थ तिनीहरू राम्रोसित सोच्दैनसोची झट्टै निर्णय गर्दा र साथीहरूको हानिकारक दबाउको सामु हार स्वीकार्दा आफ्नै नोक्सानी भोगिरहेका हुन्छन्‌। त्यसकारण, बाइबलले यसो भन्‍नु व्यावहारिक छ: “बालकको हृदयभित्र मूर्खता गाड़िएको हुन्छ।” यसको उपचार के हो? “ताडनाको बेतले उसबाट त्यो टाढ़ा भाग्नेछ।”—हितोपदेश २२:१५, नयाँ संशोधित संस्करण।

आज्ञाकारीताको फाइदा आमाबाबु र छोराछोरीको सम्बन्धमा मात्र सीमित छैन। मानव समाज सुचारु र फलदायी रूपमा चल्न सहयोगको आवश्‍यकता पर्छ र यसको लागि केही हदसम्म आज्ञाकारीता चाहिन्छ। उदाहरणका लागि, वैवाहिक सम्बन्धमा आफ्नो जोडीको भावना तथा अधिकारलाई बेवास्ता गरी अरट्ठो र भावशून्य हुनुको साटो कुरा सुन्‍न इच्छुक हुँदा शान्ति, मिलाप र आनन्द मिल्छ। जागिरमा कुनै काम वा प्रयासमा सफल हुन आफ्नो हाकिमको अधीनमा बस्नैपर्छ। सरकारी नियमकानुनप्रति आज्ञाकारी भयौं भने सजाय भोग्नु नपर्ने मात्र होइन तर यसले केही हदसम्म सुरक्षा पनि प्रदान गर्छ।—रोमी १३:१-७; एफिसी ५:२१-२५; ६:५-८.

अख्तियारवालाको आज्ञा पालन नगर्ने जवानहरू अक्सर समाजमा मिल्दैनन्‌। यसको विपरीत बाल्यकालमा सिकेको आज्ञाकारीताको पाठले जीवनभरि मदत गर्नसक्छ। यो बाल्यकालमै सिक्नु साह्रै लाभदायी कुरा हो!

आज्ञाकारीताको अनमोल इनाम

आज्ञाकारीताले आनन्ददायी पारिवारिक सम्बन्ध र अन्य जिन्दगीभर हुने फाइदाहरूको अलावा सबैभन्दा अत्यावश्‍यक सम्बन्धको निम्ति जग तयार गर्छ त्यो हो, मानिस र सृष्टिकर्ताबीचको सम्बन्ध। “जीवनको मूल” भएको ‘महान्‌ सृष्टिकर्ताको’ हैसियतमा यहोवा परमेश्‍वरले हामीबाट पूरापूर आज्ञाकारीता माग गर्नु उचित हो।—उपदेशक १२:१; भजन ३६:९.

“आज्ञा” भन्‍ने शब्दको विभिन्‍न रूप बाइबलमा १६० भन्दा धेरै चोटि उल्लेख गरिएको पाइन्छ। यसबाहेक, सयौं चोटि परमेश्‍वरको व्यवस्था, आज्ञा, आदेश, न्यायिक निर्णय र नियमहरूबारे उल्लेख गरिएको छ र यी सबैप्रति आज्ञाकारी हुनुपर्छ। परमेश्‍वरको अनुमोदन प्राप्त गर्न आज्ञाकारीता अत्यावश्‍यक गुण हो भनी उहाँ ठान्‍नुहुन्छ भन्‍ने कुरामा कुनै शंका छैन। हो, यहोवासँग राम्रो सम्बन्ध विकास गर्न आज्ञाकारीता अत्यावश्‍यक गुण हो। (१ शमूएल १५:२२) दुःखको कुरा, मानिसको स्वाभाविक झुकाउ आज्ञाकारीता नभई अनाज्ञाकारिता हो। बाइबलले यसो भन्छ: “मानिसको हृदयका विचार बालकदेखिनै खराब हुन्छ।” (उत्पत्ति ८:२१) अतः आज्ञाकारीताको पाठ बाल्यकालमा मात्र होइन जिन्दगीभर नै सिक्नुपर्छ। यसो गर्दा प्रशस्त आशिष्‌ पाइनेछ।

स्मरण रहोस्‌, आमाबाबुप्रति आज्ञाकारी हुनुका फाइदाहरू प्रेरित पावलले उल्लेख गरेझैं दुईतर्फी छन्‌। ती हुन्‌, “तिमीलाई भलो होस्‌, पृथ्वीमा तिम्रो दीर्घायु होस्‌।” यो प्रतिज्ञालाई पुष्टि गर्दै हितोपदेश ३:१, २ मा यसो भनिएको छ: “हे मेरो छोरो, मेरो अर्तीलाई नभूल्‌, तर मेरो आज्ञालाई तेरो हृदयमा जोगाइराख्‌। किनभने त्यसले तँलाई दीर्घायु र धेरै वर्ष र तँलाई उन्‍नति पनि दिन्छन्‌।” आज्ञा पालन गर्नेहरूको निम्ति महान्‌ इनाम यहोवासँग अहिल्यै व्यक्‍तिगत सम्बन्ध र शान्तिमय नयाँ संसारमा अनन्त जीवन हो।—प्रकाश २१:३, ४.

[पृष्ठ ३०, ३१-मा भएका चित्रहरू]

आज्ञाकारीताको कारण परिवारमा, काम गर्ने ठाउँमा र यहोवासँग सुमधुर सम्बन्ध विकास हुन्छ