सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी सधैं सबै कुरा सँगसँगै गर्थ्यौं

हामी सधैं सबै कुरा सँगसँगै गर्थ्यौं

जीवनी

हामी सधैं सबै कुरा सँगसँगै गर्थ्यौं

मेल्बा ब्यारीको वृत्तान्तमा आधारित

सन्‌ १९९९ जुलाई २ का दिन मेरो श्रीमान्‌ र म, हाम्रो ५७ वर्ष लामो वैवाहिक जीवनको दौडान हजारौं पटक जस्तो यहोवाका साक्षीहरूको ठूलो समूहमा भेला भएका थियौं। लोयडले त्यस शुक्रबार हवाईमा जिल्ला अधिवेशनको अन्तिम भाषण दिइरहनुभएको थियो। अकस्मात्‌ उहाँ मूर्छा पर्नुभयो। उहाँलाई बचाउने हर प्रयास गरियो तर केही सीप लागेन र अन्ततः उहाँ बित्नुभयो। a

यो दुःखद्‌ घटना सहन मलाई मदत गर्न आएका ती हवाईका मसीही भाइबहिनीहरू मेरोलागि अति बहुमूल्य छन्‌! लोयडले तिनीहरूलगायत संसारका अन्य थुप्रै व्यक्‍तिहरूको जीवनमा ठूलो प्रभाव पार्नुभएको थियो।

उहाँको मृत्यु भएको झन्डै दुई वर्ष भइसक्यो र म उहाँसँग बिताएका अनमोल वर्षहरूबारे सम्झन्छु। जस्तै, मिसनरी कार्यमा बिताएका धेरै वर्ष र न्यु योर्क ब्रूकलिनस्थित यहोवाका साक्षीहरूको मुख्यालयमा बिताएका वर्षहरू। मैले सिड्‌नी अस्ट्रेलियामा बिताएको जीवन अनि लोयड र मैले दोस्रो विश्‍वयुद्धको सुरुतिर विवाह गर्न सामना गर्नुपरेका चुनौतीहरू पनि सम्झन्छु। तर पहिला म तपाईंहरूलाई म कसरी साक्षी भएँ र सन्‌ १९३९ मा लोयडलाई कसरी भेटें, त्यसबारे बताउनेछु।

म कसरी साक्षी भएँ

मेरो मायालु आमाबाबुको नाउँ जेम्स र हेनरिटा जोन्स हो। सन्‌ १९३२ मा मेरो स्कूलको पढाइ सिद्धिंदा म १४ वर्षकी मात्र थिएँ। त्यतिबेला संसारमा महामन्दी भइरहेको थियो। परिवारलाई सघाउन मैले काम गर्न थालें। मेरा दुइटी बहिनीहरू पनि थिए। केही वर्षमै मैले राम्रो तलब भएको जागिर पाएँ र मेरो रेखदेखमा केही युवतीहरू पनि काम गर्थे।

यही समयताका, सन्‌ १९३५ मा आमाले यहोवाको एक जना साक्षीबाट एउटा बाइबल साहित्य स्वीकार्नुभयो र चाँडै सत्य यही हो भनेर उहाँ विश्‍वस्त हुनुभयो। हामी बाँकी परिवारका सदस्यले चाहिं उहाँ बौलाउनुभयो भन्‍ने सोच्यौं। तथापि, एक दिन मैले ह्वेर आर द डेड भन्‍ने शीर्षक भएको पुस्तिका देखें र त्यो शीर्षक मलाई एकदमै चाखलाग्दो लाग्यो। त्यसैले, मैले कसैले थाह नपाउने गरी त्यो पुस्तिका खुरुखुरु पढें। र त्यो नै मेरोलागि निर्णायक घडी साबित भयो! त्यसपछि तुरुन्तै म आमासँग मोडल स्टडी भनिने हप्ताको बीचमा हुने सभाहरूमा उपस्थित हुन थालें। मोडल स्टडी शीर्षक भएको पुस्तिकामा प्रश्‍न उत्तरका साथसाथै उत्तरहरूलाई समर्थन गर्ने शास्त्रपदहरू पनि हुन्थे। यो पुस्तिकाको जम्मा तीनवटा भाग प्रकाशित गरिएको थियो।

त्यही समयतिर सन्‌ १९३८ को अप्रिल महिनामा यहोवाका साक्षीहरूको मुख्यालयका प्रतिनिधि जोसेफ एफ. रदरफोर्ड सिड्‌नी आउनुभयो। मैले सुनेको पहिलो जनभाषण उहाँकै हो। यो कार्यक्रम वास्तवमा सिड्‌नी टाउन हलमा हुनुपर्ने थियो तर विरोधीहरूले त्यहाँ गर्न नदिन सफल भए। त्यसको साटो भाषण त्योभन्दा पनि धेरै ठूलो सिड्‌नी स्पोर्टस्‌ ग्राउन्डमा दिइयो। विरोधीहरूले गर्दा भएको थप प्रचारप्रसारको कारण १०,००० जना जति उपस्थित भए। त्यतिबेला अस्ट्रेलियामा भएका १,३०० साक्षीहरूको तुलनामा यो संख्या अत्यन्तै उल्लेखनीय थियो।

त्यसको केही समयपछि कुनै प्रशिक्षणविना मैले पहिलो चोटि क्षेत्र सेवकाईमा भाग लिएँ। हाम्रो समूह हाम्रो प्रचार इलाकामा पुगेपछि अगुवाइ लिइरहनुभएका भाइले मलाई यसो भन्‍नुभयो, “तपाईं त्यो घरमा जानुहोस्‌।” म यस्तो डराएकी थिएँ कि घरधनी ढोकामा आउँदा मैले “अहिले कति बज्यो?” भनेर सोधें। तिनी भित्र गई घडी हेरेर आएपछि मलाई समय बताइदिइन्‌। हाम्रो भेटको अन्त त्यहीं नै भयो। अनि म गाडीमा फर्कें।

तथापि, मैले हरेस खाइनँ र चाँडै नियमित तवरमा अरूसित राज्य सन्देश बाँड्‌न थालें। (मत्ती २४:१४) सन्‌ १९३९ को मार्च महिनामा हाम्रो घरसँगैको छिमेकी डोरोथी हचिंग्सको बाथटबमा बप्तिस्मा लिएर यहोवाप्रति आफ्नो जीवन समर्पण गरें। त्यतिबेला कोही पनि भाइहरू नभएकाले मैले बप्तिस्मा लिएपछि मलाई साधारणतया मसीही पुरुषहरूलाई दिइने मण्डलीका जिम्मेवारीहरू दिइयो।

हामीले अक्सर कसैको घरमा सभाहरू सञ्चालन गर्थ्यौं तर कहिलेकाहीं जन भाषणको निम्ति सार्वजनिक भवनहरू पनि भाडामा लिन्थ्यौं। बेथेल अर्थात्‌ हाम्रो शाखा कार्यालयबाट हेर्दै खाइलाग्दो भाइ हाम्रो सानो मण्डलीमा भाषण दिन आउनुभयो। उहाँको हाम्रो मण्डलीमा आउनुको अर्को कारण पनि रहेछ। उहाँ मलाई पनि हेर्न आउनुभएको रहेछ भनेर मलाई के थाह। हो, त्यसरी नै मैले लोयडलाई भेटें।

लोयडको परिवारलाई भेट्‌दा

चाँडै मेरो मनमा पनि यहोवालाई पूर्ण-समय सेवा गर्ने इच्छा जाग्न थाल्यो। तथापि, मैले अग्रगामी (पूर्ण-समय प्रचार कार्यमा भाग लिन) गर्न आवेदन फारम भर्दा बेथेलमा सेवा गर्न इच्छुक हुनुहुन्छ कि भनेर सोधियो। त्यसैले, सेप्टेम्बर १९३९ अर्थात्‌ दोस्रो विश्‍वयुद्ध सुरु भएकै महिनामा म सिड्‌नी शहरको बाहिरी क्षेत्र स्टार्थफिल्डस्थित बेथेल परिवारको सदस्य भएँ।

सन्‌ १९३९ डिसेम्बरमा अधिवेशनको निम्ति म न्युजील्याण्ड गएँ। लोयड न्युजील्याण्डको हुनुभएकोले उहाँ पनि त्यहीं जान लाग्नुभएको थियो। हामी एउटै जहाजमा यात्रा गऱ्‍यौं र एकअर्कालाई राम्ररी चिन्‍ने मौका पायौं। वेलिंगटनमा भएको अधिवेशनमा लोयडले मलाई उहाँको आमाबाबु र बहिनीहरूसित भेटाउनुभयो र पछि उहाँहरूको घर क्राइस्टचर्चमा पनि भेट्यौं।

हाम्रो काममा प्रतिबन्ध

सन्‌ १९४१ जनवरी १८, शनिबारका दिन राष्ट्रमण्डलका अधिकारीहरू आधा दर्जन जति कालो लिमुजीन गाडीमा शाखा कार्यालयमा सम्पत्ति जफत गर्न आए। बेथेलको ढोकासँगै गार्ड घरमा म काम गरिरहेकोले मैले नै सबैभन्दा पहिला उनीहरूलाई देखें। त्यसको १८ घण्टाअघि हामीलाई प्रतिबन्धबारे सूचना दिइएको थियो। त्यसैले शाखा कार्यालयबाट प्रायजसो सबै साहित्य तथा अन्य कागजातहरू अन्यत्र लगिसकिएको थियो। त्यसको अर्को हप्ता लोयडलगायत बेथेलका अन्य पाँच सदस्यलाई झ्यालखानामा हालियो।

झ्यालखानामा भएका भाइहरूलाई आध्यात्मिक भोजनको सबैभन्दा धेरै खाँचो छ भनेर मलाई थाह थियो। लोयडलाई प्रोत्साहन दिन मैले उहाँलाई “प्रेम पत्रहरू” लेख्ने निर्णय गरें। मैले पत्रको सुरु त प्रेम पत्रहरू लेख्ने शैलीमै लेखें तर त्यसपछि भने प्रहरीधरहरा-का सम्पूर्ण लेखहरू सार्थें र अन्तमा तपाईंको प्रेमिका भनेर हस्ताक्षर गर्थें। झन्डै साढे चार महिनापछि लोयडलाई रिहा गरियो।

विवाह अनि पूर्ण-समय सेवा

सन्‌ १९४० मा लोयडको आमा अस्ट्रेलिया आउनुभयो र लोयडले हाम्रो विवाह गर्ने विचारबारे उहाँलाई बताउनुभयो। तर उहाँले विवाह नगर्ने सल्लाह दिनुभयो किनभने दुष्ट रीतिरिवाजको अन्त अत्यन्तै नजिक देखिन्थ्यो। (मत्ती २४:३-१४) उहाँले आफ्ना साथीहरूलाई पनि विवाह गर्ने कुराबारे बताउनुभयो तर प्रत्येकले विवाह नगर्ने सल्लाह दिए। आखिरमा सन्‌ १९४२ फेब्रुअरी महिनाको एक दिन लोयडले कसैलाई थाह नदिई म र गोप्यताको वाचा लिन लगाएका अन्य चार गवाहीहरूलाई दर्ता कार्यालयमा लग्नुभयो र त्यहाँ हामीले विवाह गऱ्‍यौं। त्यतिबेला अस्ट्रेलियामा यहोवाका साक्षीहरूमाझ विवाहको लागि दर्ता गराउन त्यस्तो कुनै प्रबन्ध थिएन।

विवाहित दम्पतीको रूपमा हामीले बेथेल सेवा गर्न नसके तापनि हामीलाई विशेष अग्रगामीको कार्य गर्ने हो कि भनेर सोधियो। हामीले खुसीसाथ वागा वागा नाउँ भएको सानो शहरमा जाने कार्यभार स्वीकाऱ्‍यौं। हाम्रो प्रचारकार्यमा अझै प्रतिबन्ध लगाइएको थियो अनि हामीलाई कुनै किसिमको आर्थिक सहायता थिएन। त्यसैले, हामीले साँच्चै आफ्नो भारी यहोवामा बिसाउनुपर्थ्यो।—भजन ५५:२२.

गाउँतिर जाँदा हामी दुइटा काठी भएको साइकल चढ्‌थ्यौं। हामीले केही राम्रा मानिसहरू भेट्‌थ्यौं र उनीहरूसित लामो छलफल हुन्थ्यो। थुप्रैले बाइबल अध्ययन स्वीकारेनन्‌। तथापि, एक जना पसलेले हाम्रो कामको यस्तो मूल्यांकन गर्थे कि तिनले हरेक हप्ता हामीलाई फलफूल र तरकारीहरू दिन्थे। वागा वागामा छ महिना जति बिताएपछि हामीलाई फेरि बेथेलमै बोलाइयो।

बेथेल परिवारले स्टार्थफिल्डस्थित कार्यालय मे १९४२ मा छोडिसकेको थियो र अहिले बेथेल परिवार निजी घरहरूमा थियो। पक्राउमा पर्नदेखि बच्न तिनीहरू केही हप्ताको अन्तरालमा घरहरू फेर्थे। लोयड र म अगस्त महिनामा बेथेल फर्कंदा हामी यस्तै एउटा ठेगानामा गयौं। हाम्रो काम, दिनभरि एउटा भूमिगत छापाखानामा काम गर्ने थियो। बल्ल जून १९४३ मा हाम्रो काममा लगाइएको प्रतिबन्ध हटाइयो।

विदेशी भूमिमा सेवाको निम्ति तयारी

सन्‌ १९४७ अप्रिल महिनामा हामीलाई सं.रा.अ. न्यु योर्कको साउथ ल्यानसिङमा अवस्थित वाचटावर बाइबल स्कूल अफ गिलियडमा भर्ना हुन प्राथमिक फारम भर्न दिइयो। त्यतिञ्जेल हामीलाई अस्ट्रेलियाका मण्डलीहरूलाई आध्यात्मिक तवरमा बलियो बनाउन भेट्‌न जाने काम दिइयो। केही महिनापछि हामीले गिलियडको ११ औं कक्षामा भाग लिन निमन्त्रणा पायौं। आवश्‍यक कागजातहरू तयार गर्न र सरसामानहरू पोका पार्न हामीसँग जम्मा तीन हप्ता मात्र थियो। सन्‌ १९४७ डिसेम्बरमा परिवार तथा साथीहरूसँग बिदाबारी गरेर न्यु योर्कतिर लाग्यौं। सोही कक्षामा भाग लिन हामीसँगै निमन्त्रणा पाएका अस्ट्रेलियाका अन्य १५ जना थिए।

गिलियड स्कूलको केही महिना अत्यन्तै चाँडो बित्यो र हामीले जापान जाने मिसनरी कार्यभार पायौं। जापान जाने कागजातहरू मिलाउन समय लाग्ने भएकोले लोयड फेरि यहोवाका साक्षीहरूको परिभ्रमण निरीक्षकको रूपमा नियुक्‍त हुनुभयो। हामी जानुपर्ने मण्डलीहरू लस एन्जलसको शहरदेखि मेक्सिकोको सीमासम्म फैलिएको थियो। हाम्रो गाडी थिएन त्यसैले एउटा मण्डलीदेखि अर्को मण्डली जान प्रत्येक हप्ता मायालुपूर्वक साक्षीहरूले पुऱ्‍याइ दिन्थे। हामीले ढाकेको त्यो ठूलो क्षेत्रमा अहिले तीन अंग्रेजी र तीन स्पेनी जिल्ला क्षेत्रहरू पर्छन्‌ र ती प्रत्येक जिल्लामा पनि झन्डै दसवटा क्षेत्रहरू छन्‌!

चालै नपाई अक्टोबर १९४९ आयो र पहिला सेनाहरू ओसार्ने गरेको जहाजमा हामी जापानतिर लाग्यौं। जहाजको एउटा भाग पुरुषहरूको लागि अनि अर्को स्त्री तथा केटाकेटीहरूको निम्ति छुट्टाइएको थियो। हामी योकोहामा पुग्नु एक दिनअघि ठूलो तुफान आयो। त्यसैले होला, सबै बादल हट्यो र अर्को दिन बिहान अक्टोबर ३१ मा सूर्य उदाउँदा हामीले अत्यन्तै राम्रो माउन्ट फुजी देख्यौं। हाम्रो नयाँ कार्यभारको निम्ति कस्तो भव्य स्वागत!

जापानीहरूसँग काम गर्दा

बन्दरगाह नजिकै पुग्दा हामीले कालो कपाल भएका सयौं मानिसहरू देख्यौं। कल्याङमल्याङ आवाज सुन्दा त हामीले ‘कस्तो हल्ला गर्ने मानिसहरू!’ भन्ठान्यौं। सबै जनाको काठको जुत्ता थियो र बन्दरगाहमा राखिएको काठमा हिंड्‌दा ठूलो आवाज आउँथ्यो। योकोहामामा एक रात बिताएपछि हाम्रो मिसनरी कार्यक्षेत्र कोबे शहरतिर रेलमा गयौं। त्यहाँ हामीभन्दा केही महिनाअघि जापान आइपुगेका गिलियडका हाम्रा सहपाठी डन ह्‍यास्लेटले मिसनरी घरको रूपमा एउटा घर भाडामा लिनुभएको थियो। यो राम्रो दुई तले पश्‍चिमी शैलीको घर थियो तर घरभित्र भने केही पनि मालसामान थिएन!

सुत्नको निम्ति ओछ्यान बनाउन हामीले बारीमा भएको अग्ला घाँसहरू काट्यौं र भुइँमा बिछ्यायौं। यसरी हामीले मिसनरी कार्य सुरु गर्दा आफूसँग सुटकेसमा भएका सामानहरूबाहेक अरू केही थिएन। हामीले खाना पकाउन र आफूलाई न्यानो पार्न कोइलाले बल्ने सानो स्टोभ किन्यौं। यसलाई जापानीमा हिबाची भनिन्छ। एक दिन लोयडले दुई सँगी मिसनरीहरू पर्सी र इल्मा इजलाब बेहोस अवस्थामा भेट्टाउनुभयो। स्वच्छ चिसो हावाको निम्ति झ्याल खोलेपछि मात्र उहाँहरूलाई फेरि होसमा ल्याउन सक्नुभयो। त्यो कोइलाको स्टोभमा खाना पकाउँदै गर्दा म पनि एक चोटि बेहोस भएकी थिएँ। कुनै कुनै कुराहरूको बानी बसाउन समय लाग्यो!

भाषा सिक्नु प्राथमिकता थियो र हामीले एक महिनासम्म हरेक दिन ११ घण्टा जापानी भाषा सिक्यौं। त्यसपछि हामी सेवकाईमा वार्तालाप सुरु गर्न एक दुइटा वाक्य लेखेर जान्थ्यौं। पहिलो चोटि सेवकाईमा जाँदा मैले मियो ताकागी नाउँकी असाध्यै राम्री महिलालाई भेटेकी थिएँ र तिनले मसित असाध्यै राम्रो व्यवहार गरिन्‌। पुनःभेटहरूको दौडान जापानी-अंग्रेजी शब्दकोशको मदत लिएर कुरा गर्न निकै संघर्ष गर्नुपऱ्‍यो र पछि बिस्तारै बाइबल अध्ययन स्थापना भयो। सन्‌ १९९९ मा जापानमा विस्तार गरिएको शाखा कार्यालयको समर्पणमा जाँदा मियोलगायत मसित अध्ययन गरेका थुप्रै प्रिय जनहरू भेटें। अहिले पचास वर्ष बितिसक्यो तर तिनीहरू यहोवाको सेवामा अझै सक्दो गरेर जोसिलो राज्य उद्‌घोषकको रूपमा सेवा गर्दैछन्‌।

कोबेमा अप्रिल १, १९५० मा झन्डै १८० जना ख्रीष्टको मृत्युको स्मरणार्थमा उपस्थित भएका थिए। हामी छक्क पर्ने गरी भोलिपल्ट बिहान ३५ जना क्षेत्र सेवकाईको निम्ति उपस्थित भए। प्रत्येक मिसनरीले तीन/चार जनाको संख्यामा भाग लगाएर यी नयाँ व्यक्‍तिहरूलाई सेवकाईमा लगे। घरधनीहरू म भाषा नजान्‍ने विदेशीसित कुरै गरेनन्‌ तर मसँग गएका ती स्मरणार्थ उत्सवमा उपस्थित भएका जापानीहरूसँग कुरा गरे। कुराकानी त लम्बेको लम्बेकै थियो तर मलाई तिनीहरू के विषयमा कुरा गर्दैछन्‌ भनेर थाह थिएन। यी केही व्यक्‍तिहरूले ज्ञानमा उन्‍नति गरेर आजसम्म प्रचार कार्यमा भाग लिइरहेको थाह पाउँदा मलाई असाध्यै खुसी लाग्छ।

थुप्रै आनन्द र सन्तोषदायी कार्यभारहरू

हामीले कोबेमै सन्‌ १९५२ सम्म मिसनरी कार्य गरिरह्‍यौं। त्यसपछि हामीलाई टोकियो शहरमा खटाइयो र त्यहाँ लोयडलाई शाखा कार्यालयको निरीक्षण गर्ने जिम्मेवारी सुम्पियो। रहँदा बस्दा उहाँको कार्यभारले गर्दा उहाँले जापानभरि र अन्य देशहरूमा पनि यात्रा गर्नुपऱ्‍यो। पछि मुख्यालयका नेथेन एच. नोर टोकियो एक चोटि आउनुहुँदा मलाई यसो भन्‍नुभयो: “तपाईंको श्रीमान्‌ अर्को जोन भ्रमणको लागि कहाँ जान लाग्नुभएको छ थाह छ? अस्ट्रेलिया र न्युजील्याण्ड।” अनि उहाँले अझ यसो भन्‍नुभयो: “तपाईंचाहिं आफ्नै खर्चमा जान सक्नुहुन्छ।” कस्तो रमाइलो कुरा! आखिर हामी घर नगएको पनि नौ वर्ष भइसकेको थियो।

हामीले चाँडचाँडो हाम्रो परिवारसित सम्पर्क राख्यौं। मेरो हवाई टिकट किन्‍न मेरी आमाले मदत गर्नुभयो। लोयड र म हाम्रो असाइन्मेन्टमा व्यस्त थियौं र हामीसँग परिवारलाई भेट्‌न जाने पैसा पनि थिएन। त्यसैले, यो मेरो प्रार्थनाको जवाफ थियो। मलाई देखेपछि आमा कत्ति खुसी हुनुभयो होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ। उहाँले यसो भन्‍नुभयो: “अर्को तीन वर्षमा तिमी यहाँ फेरि आउन म पैसा जम्मा गर्नेछु।” त्यही कुरालाई मनमा राख्दै हामीले बिदाबारी गऱ्‍यौं तर दुःखको कुरा अर्को जुलाईमा उहाँ बित्नुभयो। नयाँ संसारमा उहाँसँग भेट्‌ने ठूलो आशा लिएकी छु!

सन्‌ १९६० सम्म मेरो एउटै मात्र कार्यभार मिसनरी कार्य थियो तर पछि मैले यस्तो पत्र पाएँ: “आजदेखि तपाईंको काम सम्पूर्ण बेथेल परिवारको लुगा धुने र इस्त्री गर्ने हुनेछ।” त्यतिबेला हाम्रो बेथेल परिवारमा जम्मा १२ जना जति मात्र थिए, त्यसैले मैले यस कामलगायत मेरो मिसनरी कार्य पनि गर्नसकें।

सन्‌ १९६२ मा हाम्रो जापानी शैलीको घर भत्काइयो र अर्को वर्षभित्रमा त्यसै ठाउँमा छ तले नयाँ बेथेल घर निर्माण गरियो। बेथेलमा आएका नयाँ जवान भाइहरूको कोठा र तिनीहरूको अन्य सामानहरू ठाउँ ठाउँमा राख्न मदत गर्ने काम मलाई दिइयो। साधारणतया, जापानमा केटाहरूलाई घरको केही काम गर्न सिकाइएको हुँदैनथ्यो। सांसारिक शिक्षामै बढी जोड दिइन्थ्यो र उनीहरूको आमाहरूले नै सबै गरिदिन्थे। तिनीहरूले चाँडै म तिनीहरूको आमा होइन भनेर थाह पाए। समयको अन्तरालमा धेरै जनाले संगठनमा जिम्मेवार कार्यभारहरू वहन गरे।

असाध्यै गर्मीको बेला एक दिन एक बाइबल विद्यार्थीले हाम्रो शाखा कार्यालयको भ्रमण गरिन्‌ र तिनले मैले नुहाउने कोठा घोटिरहेको देखिन्‌। तिनले भनिन्‌, “कृपया तपाईंको प्रबन्धकलाई भन्‍नुहोस्‌, यहाँ तपाईंको निम्ति काम गर्न म एक जना काम गर्ने मान्छे पठाइदिन्छु र पैसा पनि मै तिरिदिन्छु।” तिनको मायालु विचारको मूल्यांकन गरे तापनि म यहोवाको संगठनमा जे पनि काम गर्न तयार छु भनी तिनलाई बुझाएँ।

यही समयताका लोयड र मैले गिलियडको ३९ औं कक्षामा भाग लिने निमन्त्रणा पायौं! सन्‌ १९६४ मा ४६ वर्षको उमेरमा फेरि स्कूल जान पाउनु कस्तो सुअवसरको कुरा थियो! यो कोर्स विशेष गरी शाखा कार्यालयमा जिम्मेवारीहरू सम्हालिरहेकाहरूको निम्ति थियो। दश महिने कोर्सपछि हामीलाई जापानमै खटाइयो। यतिबेलासम्म जापानमा ३,००० भन्दा बढी राज्य उद्‌घोषकहरू भइसकेका थिए।

यो वृद्धिपछि यति तीव्रता आयो कि सन्‌ १९७२ सम्ममा १४,००० भन्दा बढी साक्षीहरू भइसकेका थिए र टोकियोको दक्षिणतिर नुमाजुमा नयाँ पाँच तले शाखा कार्यालय निर्माण गरियो। हाम्रो भवनबाट माउन्ट फुजीको असाध्यै राम्रो दृश्‍य देखिन्थ्यो। बडेमाको नयाँ रोटरी छापाखानाबाट हरेक महिना जापानी भाषामा दश लाख जति पत्रिका मुद्रित हुन थाल्यो। तर हाम्रो अवस्थामा भने चाँडै अर्को परिवर्तन हुन लागेको थियो।

सन्‌ १९७४ को अन्ततिर यहोवाका साक्षीहरूको ब्रूकलिनस्थित मुख्यालयबाट लोयडले परिचालक निकायमा सेवा गर्न आमन्त्रित गरिएको पत्र पाउनुभयो। सुरुमा त मैले सोचें: ‘अब हाम्रो सँगै बस्ने समय सकियो। लोयडको स्वर्गीय आशा र मेरो पार्थिव आशा भएको कारण ढिलो वा चाँडो हामी छुट्टिनु त परिहाल्छ। सायद लोयड मविना नै ब्रूकलिन जानुपर्छ होला।’ तर चाँडै मैले आफ्नो सोचाइमा छाँटकाँट गरें र राजीखुसीसाथ मार्च १९७५ मा लोयडसँग ब्रूकलिन गएँ।

मुख्यालयमा आशिष्‌हरू

ब्रूकलिनमा हुँदा पनि लोयडको मनचाहिं जापानको क्षेत्रमै थियो र उहाँ सधैं हाम्रो त्यहाँका अनुभवहरूबारे कुरा गर्नुहुन्थ्यो। तर अब अझ ठूलो मनको हुने सुअवसर थियो। उहाँको जीवनको अन्तिम २४ वर्षमा उहाँले जोन कार्यमा निकै समय बिताउनुभयो, त्यस सिलसिलामा उहाँ विश्‍वभरि यात्रा गर्नुभयो। म पनि उहाँको साथमा निकै चोटि संसारभरि गएँ।

अन्य देशका मसीही भाइहरू भेटेपछि थुप्रै कस्तो अवस्थामा बाँचिरहेका र काम गरिरहेका छन्‌ भनी मूल्यांकन गर्न मदत पाएँ। मैले उत्तरी अफ्रिकामा भेटेको दस वर्षीया एन्टेलियाको अनुहार कहिल्यै बिर्सन सक्दिनँ। तिनले परमेश्‍वरको नाउँलाई प्रेम गर्थिन्‌ र मसीही सभाहरू जानआउन हरेक चोटि साढे एक घण्टा हिंड्‌ने गर्थिन्‌। परिवारबाट क्रूर सतावट भोग्नुपरे तापनि एन्टेलियाले आफ्नो जीवन यहोवाप्रति समर्पण गरिन्‌। हामी तिनको मण्डलीमा जाँदा त्यहाँ वक्‍ता बोल्ने ठाउँमा कम वाटको एउटा मात्र चीम थियो र कोठाको अरू भागमा निस्पट्ट अन्धकार थियो। त्यस्तो अन्धकारमा पनि भाइबहिनीहरूले असाध्यै राम्रोसित गीत गाएको सुन्‍न पाउनु हृदयस्पर्शी थियो।

हाम्रो जीवनको उल्लेखनीय क्षण डिसेम्बर १९९८ मा थियो जब लोयड र म क्युबामा आयोजित “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशनमा उपस्थित हुने प्रतिनिधिहरूमध्ये थियौं। ब्रूकलिन मुख्यालयका कोही भाइहरूले तिनीहरूलाई भेट्‌न आउँदा तिनीहरूले व्यक्‍त गरेको कृतज्ञताले हाम्रो हृदय छोयो! ठूलो स्वरले जोसका साथ यहोवाको प्रशंसा गर्ने थुप्रै प्रिय भाइबहिनीहरूलाई भेटेको सम्झनाको म सधैं कदर गर्छु।

परमेश्‍वरका जनहरूमाझ घरमै भएको महसुस

म जन्मेको देश अस्ट्रेलिया भए तापनि यहोवाका संगठनले हामीलाई पठाएको सबै ठाउँका मानिसहरूसित माया बस्थ्यो। जापानमा पनि त्यस्तै भयो र अहिले संयुक्‍त राज्य अमेरिकामा बसेको २५ वर्ष भइसक्यो र यहाँ पनि त्यस्तै लाग्छ। श्रीमान्‌को मृत्यु हुँदा मेरो मनमा अस्ट्रेलिया फर्कने विचार आएन बरु म यहोवाले मलाई खटाउनुभएको ब्रूकलिन बेथेलमै सेवा गर्न चाहन्थें।

अहिले मैले ८० वर्ष नाघिसकेकी छु। पूर्ण-समयमा लागेको ६१ वर्षपछि पनि यहोवाले दिनुभएको जुनै पनि काम गर्न म तयार छु। उहाँले साँच्चै मेरो राम्रो हेरचाह गर्नुभएको छ। यहोवालाई प्रेम गर्नुहुने मेरो प्रिय श्रीमान्‌सँग ५७ वर्ष सेवा गरेका वर्षहरू पनि मेरोनिम्ति विशेष छन्‌। यहोवाले हाम्रो काममा आशिष्‌ दिइरहनुहुनेछ भनेर म विश्‍वस्त छु र उहाँले हाम्रो काम र हामीले उहाँप्रति देखाएको प्रेम बिर्सनुहुने छैन भनेर मलाई थाह छ।—हिब्रू ६:१०.

[फुटनोट]

a अक्टोबर १, १९९९ प्रहरीधरहरा-को पृष्ठ १६ र १७ हेर्नुहोस्‌।

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १९५६ मा आमासित

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १९५० को सुरुतिर लोयड र जापानी प्रकाशकहरूको समूहसँग

[पृष्ठ २६-मा भएको चित्र]

मेरो पहिलो बाइबल विद्यार्थी मियो ताकागीसँग सन्‌ १९५० को सुरुतिर र सन्‌ १९९९ मा

[पृष्ठ २८-मा भएको चित्र]

जापानमा लोयडसँग सडक साक्षी कार्य गर्दै