सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उदेकका कामहरू गर्नुहुनेलाई हेर्नुहोस्‌!

उदेकका कामहरू गर्नुहुनेलाई हेर्नुहोस्‌!

उदेकका कामहरू गर्नुहुनेलाई हेर्नुहोस्‌!

“चूपचाप खड़ा भएर परमेश्‍वरका उदेकका कामहरूलाई विचार गर्नुहोस्‌।”–अय्यूब ३७:१४.

१, २. सन्‌ १९२२ मा कस्तो उदेकलाग्दो कुरा भेट्टाइयो र यसको प्रतिक्रिया कस्तो थियो?

 पुरातत्त्वविद्‌ र अंग्रेज लर्डले गाडधन खोज्न एकअर्कालाई सहयोग गरेको वर्षौं भइसकेको थियो। अन्तमा, नोभेम्बर २६, १९२२ का दिन पुरातत्त्वविद्‌ हाउवार्ड कार्टर र लर्ड कारनार्भनले मिश्री राजाहरूको चिहान, सुप्रसिद्ध भ्याली अफ किङ्‌समा फिरऊन तुतान्‌खामेनको समाधि फेला पारे। छाप लगाइएको ढोका भेट्टाएपछि तिनीहरूले त्यसमा प्वाल पारे। त्यसपछि कार्टरले मैनबत्ती छिराएर भित्र हेरे।

कार्टरले पछि यसो भने: “भित्र के होला भन्‍ने उत्सुकतालाई थाम्न नसकेर लर्ड कारनार्भनले ‘भित्र केही देख्नुभयो?’ भनेर सोध्नुहुँदा मैले ‘देखें, अद्‌भुत कुरा’ मात्र भन्‍न सकें।” समाधिमा भएका हजारौं धनसम्पत्तिमध्ये सुनले बनेको एउटा शव बाकस थियो। तपाईंले यी “अद्‌भुत कार्यहरू[मध्ये]” केही त तस्बिरमा वा संग्रहालयमा देख्नुभएको होला। यद्यपि, संग्रहालयमा राखिएका यी सामानहरू अद्‌भुत भए तापनि तपाईंको जीवनसित यिनको केही सरोकार छैन। त्यसकारण आउनुहोस्‌, यसलाई यहीं छोडेर हाम्रो जीवनसित सम्बन्धित र मूल्यवान्‌ अद्‌भुत कार्यहरूबारे विचार गरौं।

३. हाम्रोनिम्ति मूल्यवान्‌ प्रमाणित हुनसक्ने अद्‌भुत कामहरूबारे कहाँ जानकारी पाउनसक्छौं?

उदाहरणका लागि, शताब्दीयौंअघिका एक जना व्यक्‍तिबारे विचार गरौं। तिनी चलचित्र अभिनेता, खेलाडी वा राजपरिवारका सदस्यभन्दा पनि उल्लेखनीय थिए। तिनी पूर्वका सबैभन्दा महान्‌ व्यक्‍ति कहलाइएका थिए। तिनको नाउँ भनेपछि चिन्‍नुहुन्छ होला। तिनी हुन्‌, अय्यूब। बाइबलको एउटा पूरै पुस्तक तिनीबारे लेखिएको छ। यद्यपि, तिनका एक समकालीन, एलीहू नाउँ गरेका नौजवान तिनलाई सच्याउन बाध्य भए। अय्यूबले आफू र वरपरका मानिसहरूलाई बढ्‌तै महत्त्व दिइरहेका थिए भनी एलीहूले भने। अय्यूब अध्याय ३७ मा हामी सबैको निम्ति अत्यन्त मूल्यवान्‌ केही निर्दिष्ट तथा बुद्धिमान्‌ सल्लाह पाउँछौं—अय्यूब १:१-३; ३२:१–३३:१२.

४. के कारणले गर्दा एलीहूले अय्यूब ३७:१४ मा लिपिबद्ध सल्लाह दिनुपऱ्‍यो?

अय्यूबका तीन जना मित्र भनौंदाहरूले अय्यूबको सोचाइ वा काम गलत भएको हुनसक्ने आफ्नो धारणामा जोड दिन लामो बहस गरे। (अय्यूब १५:१-६, १६; २२:५-१०) एलीहूले तिनीहरूको वार्तालाप नसकुञ्जेल धैर्यतासाथ सुनिरहे। त्यसपछि तिनले समझ र बुद्धि झल्काउँदै बोले। तिनले थुप्रै अनमोल कुराहरू बताए तर विशेष गरी यो मुख्य कुरालाई ध्यान दिनुहोस्‌: “अय्यूब, यो कुरा सुन्‍नुहोस्‌। चूपचाप खड़ा भएर परमेश्‍वरका उदेकका कामहरूलाई विचार गर्नुहोस्‌।”—अय्यूब ३७:१४.

यी कामहरू गर्नुहुने परमेश्‍वर

५. एलीहूले उल्लेख गरेको “परमेश्‍वरका उदेकका कामहरू[मा]” के समावेश छ?

विचार गर्नुहोस्‌, यहाँ एलीहूले अय्यूबलाई, अय्यूब आफैलाई, एलीहूलाई वा अरू मानिसहरूलाई ध्यान दिनू भनेनन्‌। एलीहूले बुद्धिमानीसाथ अय्यूबलाई र हामी सबैलाई यहोवा परमेश्‍वरको उदेकलाग्दा कामहरूमा ध्यान दिन आग्रह गरे। तपाईंको विचारमा “परमेश्‍वरका उदेकका कामहरू” भन्‍ने यो पद्यांशमा के के समावेश छन्‌ होला? यसबाहेक, स्वास्थ्य, आर्थिक अवस्था, भविष्य अनि परिवार, सहकर्मी र छिमेकीहरूप्रतिको तपाईंको चासोलाई एकातिर पन्छाएर किन परमेश्‍वरका कामहरूलाई विचार गर्नुपऱ्‍यो? निस्सन्देह, यहोवा परमेश्‍वरका “उदेकका कामहरू[मा]” उहाँको बुद्धि तथा हामी वरपरका सृष्टिमाथिको अख्तियार समावेश छ। (नहेम्याह ९:६; भजन २४:१; १०४:२४; १३६:५, ६) यसलाई अझ स्पष्ट पार्न यहोशूको पुस्तकको एउटा बुँदालाई ध्यान देऔं।

६, ७. (क) यहोवाले मोशा र यहोशूको समयमा कस्ता उदेकलाग्दा कामहरू गर्नुभयो? (ख) तपाईंले मोशा अनि यहोशूको समयमा भएका यी कामहरू देख्नुभएको भए कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुहुन्थ्यो?

मोशाले पुरातन इस्राएलीहरूलाई छुटाएर ल्याउन सकून्‌ भनेर यहोवाले पुरातन मिश्रमाथि विपत्ति ल्याउनुका साथै इस्राएलले लाल समुद्र तरोस्‌ भनेर त्यसलाई दुई फ्याक पार्नुभएको थियो। (प्रस्थान ७:१–१४:३१; भजन १०६:७, २१, २२) यहोशू अध्याय ३ मा पनि यस्तै घटना उल्लेख गरिएको छ। मोशाका उत्तराधिकारी यहोशूले परमेश्‍वरका जनहरूलाई अर्को नदी पार गराएर प्रतिज्ञा गरिएको देशसम्म डोऱ्‍याउनु पर्थ्यो। यहोशूले यसो भने: “तिमीहरू आफैलाई पवित्र बनाओ, किनकि भोलि तिमीहरूका बीचमा परमप्रभुले उदेकको काम गर्नुहुनेछ।” (यहोशू ३:५) कुन उदेकलाग्दो काम?

विवरणअनुसार यहोवाले यर्दन नदीको पानीको अवरोध हटाइदिनुभयो र यसले गर्दा हजारौं पुरुष, स्त्री तथा केटाकेटीहरू सुखा भूमिमा हिंड्‌न सके। (यहोशू ३:७-१७) यदि हामीले त्यहाँ दुई फ्याक भएको नदी र मानिसहरू नडराईकन त्यो नदी तरिरहेको देखेको भए, कस्तो उदेकलाग्दो उपलब्धि! भन्‍ने थियौं होला। यसले सृष्टिमाथि परमेश्‍वरको शक्‍ति प्रदर्शन गऱ्‍यो। यद्यपि, अहिले हाम्रै जीवनकालमा त्यस्तै उदेकका कामहरू भइरहेका छन्‌। ती के हुन्‌ र हामीले ती कुराहरूमा किन ध्यान दिनुपर्छ, त्यो थाह पाउन अय्यूब ३७:५-७ विचार गर्नुहोस्‌।

८, ९. अय्यूब ३७:५-७ ले कस्ता आश्‍चर्यका कामहरूतर्फ औंल्याउँछन्‌ तर यीबारे हामीले किन विचार गर्नुपर्ने हो?

एलीहूले यसरी घोषणा गरे: “परमेश्‍वरको आज्ञामा आश्‍चर्यका कामहरू हुन्छन्‌, हाम्रा बुद्धिले नभियाउने महा-कार्यहरू उहाँ गर्नुहुन्छ।” एलीहूले कुन कुरालाई मनमा राख्दै परमेश्‍वरले “आश्‍चर्य” ढंगमा काम गर्नुहुन्छ भने? तिनी हिउँ र वृष्टिबारे बताउँछन्‌। हिउँ र वृष्टिले किसानको काममा बाधा पुऱ्‍याउँछ तर त्यतिखेर तिनले आफ्नो समय र तर्कशक्‍ति चलाउँदै परमेश्‍वरका कामहरू विचार गर्ने मौका पाउँछन्‌। हामी किसान नहौंला तैपनि, हिउँ र वृष्टिले हामी सबैलाई प्रभाव पार्न सक्छ। हामी कहाँ बस्छौं, त्यसैअनुसार हिउँ र वृष्टिले हाम्रो क्रियाकलापमा पनि बाधा पुऱ्‍याउनसक्छ। यी कामहरूका पछाडि को छ र यसको अर्थ के हो भनी विचार गर्न के हामी समय निकाल्छौं? के तपाईंले कहिल्यै त्यसो गर्नुभएको छ?

उल्लेखनीय कुरा के छ भने, अध्याय ३८ मा हामीले पढेअनुसार यहोवा परमेश्‍वरले अय्यूबलाई अर्थपूर्ण प्रश्‍नहरू सोध्नुहुँदा त्यस्तै विचार व्यक्‍त गर्नुभएको थियो। हुन त हाम्रो सृष्टिकर्ताले यी प्रश्‍नहरू अय्यूबलाई सोध्नुभएको हो तर त्यसले हामी, हाम्रो मनोवृत्ति, अस्तित्व अनि भविष्यमा सुस्पष्ट प्रभाव पार्छ। त्यसकारण आउनुहोस्‌, परमेश्‍वरले के सोध्नुभयो, त्यो हेरौं र त्यसको अर्थबारे विचार गरौं। हो, अय्यूब ३७:१४ ले आग्रह गरेझैं गरौं।

१०. अय्यूब अध्याय ३८ ले हामीमाथि कस्तो प्रभाव पार्नुपर्ने हो र यसले कस्ता प्रश्‍नहरू खडा गर्छ?

१० अध्याय ३८ को सुरुमै यसो भनिएको छ: “यहोवाले अय्यूबलाई आँधी-बेह्रीबाट यसरी जवाफ दिनुभयो—‘यो को हो जसले मूर्ख कुराहरू गरेर मेरो योजनालाई धमिल्याउनखोज्छ? तेरो कम्मर कसेर मर्दझैं खडा हो, म तँलाई सवाल गर्छु, र तैंले मलाई जवाफ दे।’ ” (अय्यूब ३८:१-३) यसले यसपछिको घटनाका लागि भूमिका तयार पार्छ। ब्रह्‍माण्डको सृष्टिकर्तासामु खडा छु र उहाँप्रति जवाफदेही छु भन्‍ने वास्तविकतालाई बुझ्दै आफ्नो सोचाइमा काँटछाँट गर्न अय्यूबलाई यो घटनाले मदत गऱ्‍यो। यो हामी र हाम्रा समयका मानिसहरूले पनि गर्नुपर्ने राम्रो काम हो। त्यसपछि, परमेश्‍वरले एलीहूले उल्लेख गरेकै कुराहरू बताउनुहुन्छ। “पृथ्वीको जग मैले बसाल्दा तँ कहाँ थिइस्‌? तैंले जान्दछस्‌ र बुझ्दछस्‌ भने मलाई बता। त्यसको नाप कसले ठहरायो? तैंले त्यो जान्‍नुपर्ने! कसले त्यसमा नापको डोरी टाँग्यो? त्यसलाई थाम्ने खामाहरू कहाँ अडाएका छन्‌? त्यसको जगको ढुंगा कसले बसाल्यो?”—अय्यूब ३८:४-६.

११. अय्यूब ३८:४-६ ले हामीलाई कुन कुरा स्मरण गराउनुपर्ने हो?

११ पृथ्वीको जग बसाल्दा अय्यूब अनि हामी सबै कहाँ थियौं? रूलरको मदतबाट पृथ्वीको डिजाइन बनाएर त्यसअनुसारको रूपरेखा कोर्ने वास्तुकार हामी हौं र? पक्कै होइनौं! मानिसहरू त त्यतिबेला अस्तित्वमै थिएनन्‌। मानौं हाम्रो पृथ्वी एउटा विशाल भवन भए जस्तै गरी परमेश्‍वरले सोध्नुभयो: “त्यसको जगको ढुंगा कसले बसाल्यो?” हामी बाँच्न सकौं र फल्नफूल्न सकौं भनेर सूर्यबाट ठिक्कको दूरीमा पृथ्वी राखिएको छ भनेर हामीलाई थाह छ। अनि यसको आकार पनि ठिक्कको छ। पृथ्वी अलि ठूलो भइदिएको भए हाइड्रोजन वायुमण्डलमै हुने थियो र हामी पृथ्वीमा जीउनु सम्भव हुने थिएन। स्पष्ट छ, कसैले ठिक्क ठाउँमा “जगको ढुंगा” बसाल्यो। के यसको श्रेय अय्यूबले पाउनुपर्ने हो? हामीले? अथवा यहोवा परमेश्‍वरले?—हितोपदेश ३:१९; यर्मिया १०:१२.

के मानिससित जवाफ छ ?

१२. अय्यूब ३८:६ मा सोधिएको प्रश्‍नले हामीलाई के कुरा सोच्न लगाउँछ?

१२ परमेश्‍वरले यो पनि सोध्नुभयो: “त्यसलाई थाम्ने खामाहरू कहाँ अडेका छन्‌?” के यो प्रश्‍न विचारणीय छैन? सायद अय्यूबलाई त्यतिबेला थाह नभएको कुरा अर्थात्‌ गुरुत्वाकर्षणको शक्‍तिबारे हामीलाई थाह छ। सूर्यको गुरुत्वाकर्षण शक्‍तिले गर्दा पृथ्वी मानौं खामाहरूले थामिराखेजस्तै गरी ठीक ठाउँमा अडिएर रहेको छ भनेर हामीमध्ये प्रायजसोलाई थाह छ। तर गुरुत्वाकर्षणबारे सबै कुरा कसले बुझेको छ र?

१३, १४. (क) गुरुत्वाकर्षणको सम्बन्धमा के कुरा मानिलिनै पर्छ? (ख) अय्यूब ३८:६ ले प्रकाश पारेको वास्तविकताप्रति हामीले कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुपर्छ?

१३ हालै प्रकाशित दी युनिभर्स एक्सप्लेन्ड शीर्षकको पुस्तक ‘प्राकृतिक शक्‍तिहरूमध्ये गुरुत्वाकर्षण सबैभन्दा चिरपरिचित तर सबैभन्दा कम बुझिएको शक्‍ति हो’ भनी मानिलिन्छ। उक्‍त पुस्तक अझै यसो भन्छ: “कुनै माध्यम नभए तापनि शून्य ब्रह्‍माण्ड भएर गुरुत्वाकर्षण शक्‍ति प्रसारण हुँदो रहेछ। तथापि, भौतिकशास्त्रीहरूले हालै लगाएको अनुमानअनुसार गुरुत्वाकर्षण शक्‍ति, ग्राभिटोन भनिने स-साना कणहरूले बनेको तरंगको रूपमा प्रसारण हुन्छ . . . तर ती कणहरूको अस्तित्वबारे कसैले यकिन गरेर भन्‍न सकेको छैन।” यसको अर्थ के होला, विचार गर्नुहोस्‌।

१४ लगभग ३,००० वर्षअघि यहोवाले अय्यूबलाई ती प्रश्‍नहरू सोध्नुभएदेखि यता विज्ञानले निकै प्रगति गरिसक्यो। तैपनि, पृथ्वीलाई ठिक्क ठाउँमा राखेर हामीलाई जीवनको आनन्द उठाउन मदत गर्ने गुरुत्वाकर्षण शक्‍तिबारे न हामीले पूर्णतया बुझ्न सकेका छौं न त पोख्त भौतिकशास्त्रीहरूले नै बुझ्न सकेका छन्‌। (अय्यूब २६:७; यशैया ४५:१८) यहाँ अब हामी गुरुत्वाकर्षण शक्‍तिको रहस्य खोतल्नतर्फ लागौं भन्‍न खोजिएको होइन। बरु, परमेश्‍वरका अद्‌भुत कामहरूमध्ये यसलाई विचार गर्दा मात्र पनि उहाँबारे हाम्रो धारणालाई असर पार्नुपर्ने हो। के तपाईं उहाँको बुद्धि र ज्ञान देखेर आश्‍चर्यचकित हुनुहुन्छ अनि हामीले उहाँको इच्छाबारे अझ बढी किन सिक्नुपर्ने रहेछ भनेर बुझ्नुहुन्छ?

१५-१७. (क) अय्यूब ३८:८-११ ले केमाथि ध्यानकेन्द्रित गर्छ र यसले गर्दा के-कस्ता प्रश्‍नहरू उठे? (ख) समुद्र र पृथ्वीमा यसको विभाजनबारे हासिल भएको ज्ञानको सम्बन्धमा कुन कुरा स्वीकार्नैपर्छ?

१५ सृष्टिकर्ता अझै प्रश्‍न गर्नुहुन्छ: “त्यो पृथ्वीको गर्भबाट फुटेर निस्कँदा त्यसलाई रोक्न कसले ढोकाहरू बन्द गऱ्‍यो? जब मैले त्यसलाई बादलको कम्बलले ढाकें, र बाक्लो कुइरोले त्यसलाई लपेटें। त्यसका ढोकाहरू र अग्लाहरू ठीक ठाउँमा राखेर जब मैले त्यसका सीमाना ठहराएँ, र मैले भनें, यतिसम्म मात्र तँ आउनसक्छस्‌, अरू यता आउनसक्‍तैनस्‌, औ तेरा शक्‍तिशाली छालहरू यहाँनै रोकिनुपर्छ।”—अय्यूब ३८:८-११.

१६ समुद्रका ढोकाहरू बन्द गर्नुमा महादेश, समुद्र तथा छालहरू समावेश छन्‌। मानिसहरूले यसको अवलोकन र अध्ययन गरेको कति समय भयो? हजारौं वर्ष र विशेष गरी गत शताब्दीमा चाहिं अझ तीव्र गतिले। अहिलेसम्ममा त तिनीहरूले सबै कुरा थाह पाइसक्नुपर्ने हो जस्तो तपाईंलाई लाग्ला। यद्यपि, यो वर्ष अर्थात्‌ सन्‌ २००१ मा ठूलठूला पुस्तकालयहरूमा गएर अनुसन्धान गर्नुभयो वा नविनतम जानकारी प्राप्त गर्न इन्टरनेटमा व्यापक खानतलास गर्नुभयो भने के पाउनुहुनेछ?

१७ मान्यताप्राप्त एउटा विश्‍वकोशमा यसो भनिएको सायद पाउनुहोला: “महादेश अनि महासागरका पींधको जमिनको विभाजन, प्रकार तथा बनौट वैज्ञानिक अनुसन्धान र सिद्धान्त प्रतिपादन गर्नु अहिलेसम्म सबैभन्दा कठिन विषयहरूमध्ये एक हो।” त्यसपछि उक्‍त विश्‍वकोशले चारवटा सम्भाव्य स्पष्टीकरण दियो तर यी “थुप्रै अनुमानहरूमध्ये” केही मात्र हुन्‌, भन्यो। तपाईंलाई थाहै होला, अनुमानित तथ्य भनेको “अस्थायी स्पष्टीकरणको लागि दिइएको अपर्याप्त प्रमाण हो।”

१८. अय्यूब ३८:८-११ ले तपाईंलाई कस्तो निष्कर्षमा पुऱ्‍याउँछ?

१८ के यसले अय्यूब ३८:८-११ मा हामीले पढेका प्रश्‍नहरू कति सामयिक रहेछन्‌ भनेर अझ प्रकाश पार्दैन? हाम्रो ग्रहका यी विभिन्‍न पक्षहरूको श्रेय हामी पक्कै लिन सक्दैनौं। हाम्रा समुद्री तट वा हामीलाई व्यक्‍तिगत तवरमा अक्सर प्रभाव नपार्ने तर ज्वारभाटा उत्पन्‍न गराउन सक्नेसम्मको आकर्षण शक्‍ति प्रदर्शन गर्ने चन्द्रमालाई त्यसको ठाउँमा हामीले राखेको त होइन। तर उदेकका कामहरू गर्नुहुनेले राख्नुभएको हो भनेर तपाईंलाई थाह छ।—भजन ३३:७; ८९:९; हितोपदेश ८:२९; प्रेरित ४:२४; प्रकाश १४:७.

यहोवालाई दिनुपर्ने श्रेय दिनुहोस्‌

१९. अय्यूब ३८:१२-१४ को कवितामय अभिव्यक्‍तिहरूले कुन यथार्थतर्फ हाम्रो ध्यान खिच्छ?

१९ पृथ्वीले गर्ने परिक्रमाको श्रेय पनि मानिसहरूले लिन सक्दैनन्‌। यसबारे अय्यूब ३८:१२-१४ मा संकेत गरिएको छ। यो परिक्रमाले गर्दा हामी अक्सर मनमोहक बिहानीको उषा देख्न पाउँछौं। कुमालेको चक्रमा राखिएको माटोले आकार लिन थालेझैं, सूर्योदयपछि पृथ्वीको आकार स्पष्ट हुँदै जान्छ। पृथ्वीको गतिलाई अलिकता मात्र विचार गर्ने हो भने पनि पृथ्वी तीव्र गतिले घुम्दैन रहेछ अन्यथा नतिजा भयंकर हुनेथियो भनेर सजिलै मानिलिन बाध्य हुन्छौं। अनि दिन र रात एकदमै लामो वा मानव जीवन धान्‍नै असम्भव हुने किसिमले अत्यन्त तातो वा चिसो हुने गरी अति सुस्त गतिले पनि यो पृथ्वी घुम्दैन। साँच्चै भन्‍ने हो भने, मानिसहरूको समूहले नभई परमेश्‍वरले यो गति निर्धारण गर्नुभएकोमा हामी खुसी हुनुपर्ने हो।—भजन १४८:१-५.

२०. अय्यूब ३८:१६, १८ का प्रश्‍नहरूको जवाफ तपाईंले कसरी दिनुहुने थियो?

२० अब परमेश्‍वरले तपाईंलाई यी थप प्रश्‍नहरू सोध्नुभएको कल्पना गर्नुहोस्‌: “के तँ समुद्रको मूलहरूसम्म झरेको छस्‌? अथवा जानै नसकिने गहिराइमा हिंडेको छस्‌?” समुद्रशास्त्रीले समेत यसको पूरा जवाफ दिन सक्दैनन्‌! “के तैंले पृथ्वीको विस्तृत फैलाउलाई बुझेको छस्‌? यी सबै तैंले जानेको भए आएर मलाई बता।” (अय्यूब ३८:१६, १८) के तपाईंले पृथ्वीको सम्पूर्ण इलाका अथवा प्रायजसो ठाउँ घुमिसक्नुभएको छ? पृथ्वीका सुन्दर सुन्दर ठाउँ तथा अचम्मका थोकहरू हेर्न हाम्रो जस्तो कतिवटा जीवनकाल चाहिएला? अनि त्यो जीवनकाल कत्ति मनोरम होला!

२१. (क)अय्यूब ३८:१९ का प्रश्‍नहरूले कस्ता वैज्ञानिक दृष्टिकोणहरू प्रस्तुत गर्छन्‌? (ख) ज्योतिसम्बन्धी वास्तविकताले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्ने हो?

२१ अय्यूब ३८:१९ को यस गहन प्रश्‍नलाई पनि विचार गर्नुहोस्‌: “उज्यालो कहाँबाट आउँछ? अथवा अँध्यारोको बस्ने स्थान कहाँ छ?” पोखरीमा देखिने तरंगहरूजस्तै गरी ज्योति पनि तरंग भएर एक ठाउँबाट अर्को ठाउँसम्म बहन्छ भन्‍ने धारणा लामो समयसम्म रहेको त तपाईंलाई थाहै होला। पछि १९०५ मा अल्बर्ट आइन्सटाइनले ज्योति शक्‍तिको पोका अथवा कणजस्तो हुन्छ भनेर व्याख्या गरे। के यही नै सही परिभाषा थियो? हालै एउटा आधुनिक विश्‍वकोशले यस्तो प्रश्‍न गऱ्‍यो: “ज्योति तरंग हो या कण?” उक्‍त विश्‍वकोश यस्तो जवाफ दिन्छ: “[ज्योति] यी दुवै हुन सक्दैन किनभने [तरंग र कण] अत्यन्तै भिन्‍न कुराहरू हुन्‌। सबैभन्दा उत्तम जवाफ हो, ज्योति यो दुइटै होइन।” कुनै मानिसले परमेश्‍वरको यो सृष्टिको राम्रो वर्णन गर्न नसके तापनि सूर्यबाट आउने (प्रत्यक्ष र अप्रत्यक्ष) न्यानो ताप महसुस गरिरहेका छौं। बोटबिरुवाले ज्योतिको मदतद्वारा उत्पादन गरेको भोजन र अक्सिजनको पनि हामी आनन्द उठाउँछौं। हामी पढ्‌न, आफ्ना प्रियजनहरूको अनुहार हेर्न र सूर्यास्तलाई मन्त्रमुग्ध भएर निहार्न अनि थुप्रै कुराहरू गर्नसक्छौं। अनि यी सबै गर्दा हामीले परमेश्‍वरको उदेकका कामहरू मानिलिनुपर्दैन र?—भजन १०४:१, २; १४५:५; यशैया ४५:७; यर्मिया ३१:३५.

२२. पुरातन समयका दाऊदले परमेश्‍वरका उदेकलाग्दा कामहरूप्रति कस्तो प्रतिक्रिया व्यक्‍त गरे?

२२ यहोवाका उदेकलाग्दा कामहरू मनन गर्नुको उद्देश्‍य तीन छक पर्न वा मन्त्रमुग्ध हुनका लागि मात्र हो त? कदापि होइन। परमेश्‍वरका सबै कामहरू बुझ्नु र टिप्पणी गर्नु असम्भव छ भनेर पुरातन समयका दाऊदले स्वीकारेका थिए। तिनले लेखे: “हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले गर्नुभएको अचम्मका कामहरू[को] . . . विषयमा भनेर मैले बोलें भनेता तिनको गन्ती हुनैसक्‍तैन।” (भजन ४०:५) तथापि, उहाँका महान्‌ कार्यहरू हेरेर चूपचाप बस्नु तिनको मनसाय थिएन। दाऊदले आफ्नो अठोट भजन ९:१ मा यसरी व्यक्‍त गरेर उक्‍त कुरा प्रमाणित गरे: “मेरो पूरा हृदयले म परमप्रभुमा धन्यवाद चढ़ाउनेछु। तपाईंका सबै आश्‍चर्यकामहरूको वर्णन म गर्नेछु।”

२३. परमेश्‍वरका उदेकलाग्दा कामहरू देखेर तपाईंलाई कस्तो लाग्छ र तपाईं अरूलाई कसरी मदत गर्न सक्नुहुन्छ?

२३ के हामी पनि यसरी नै उत्प्रेरित हुनुपर्ने होइन र? परमेश्‍वरका महान्‌ कामहरूप्रतिको हाम्रो चासोले हामीलाई उहाँबारे, उहाँले गर्नुभएका र अब उहाँले गर्नुहुने कुराहरूबारे बताउन उत्प्रेरित गर्नुपर्ने होइन र? जवाफ स्पष्ट छ। हामीले “उहाँको महिमाको वर्णन जाति जातिका बीचमा . . . सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरू वर्णन” गर्नुपर्छ। (भजन ९६:३-५) हो, परमेश्‍वरबारे सिकेका कुराहरू अरूसित बाँडेर परमेश्‍वरका उदेकलाग्दा कामहरूका लागि हामी आफ्नो विनम्र मूल्यांकन प्रकट गर्नसक्छौं। सृष्टिकर्तालाई नमान्‍ने समाजमा हुर्केको भए तापनि हाम्रो सकारात्मक जानकारीमूलक अभिव्यक्‍तिहरूले परमेश्‍वरलाई चिन्‍नुपर्दो रहेछ भनेर मानिसहरूलाई सचेत गराउनसक्छौं। योभन्दा पनि महत्त्वपूर्ण यसले तिनीहरूलाई ‘सबै कुरा सृष्टि गर्नुहुने,’ उदेकका कामहरू गर्नुहुने यहोवा परमेश्‍वरबारे सिक्न र उहाँको सेवा गर्न उत्प्रेरित गर्नसक्छ।—प्रकाश ४:११.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

अय्यूब ३७:१४ मा लिपिबद्ध सल्लाहले तपाईंलाई परमेश्‍वरका कामहरूबारे के सोच्न लगाउँछ?

• विज्ञानले पूर्णतया व्याख्या गर्न नसकेको तर अय्यूब अध्याय ३७ र ३८ मा प्रकाश पारिएका केही कुरा के हुन्‌?

• परमेश्‍वरका उदेकलाग्दा कामहरू तपाईंलाई कस्तो लाग्यो र यसले तपाईंलाई के गर्न उत्प्रेरित गऱ्‍यो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ७-मा भएको चित्र]

कसले समुद्रका ढोकाहरू बन्द गरेर त्यसलाई त्यसको ठाउँमा राख्यो?

[पृष्ठ ७-मा भएको चित्र]

परमेश्‍वरले सृष्टि गर्नुभएको पृथ्वीको सम्पूर्ण रमणीय स्थलहरूको भ्रमण कसले गरिसकेको छ ?