सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चर्चका फादरहरू के तिनीहरू बाइबल सच्चाइका समर्थकहरू हुन्‌?

चर्चका फादरहरू के तिनीहरू बाइबल सच्चाइका समर्थकहरू हुन्‌?

चर्चका फादरहरू के तिनीहरू बाइबल सच्चाइका समर्थकहरू हुन्‌?

तपाईं मसीही हुनु भए पनि नहुनु भए पनि, बाइबलका परमेश्‍वर, येशू अनि मसीहीधर्मसम्बन्धी तपाईंको धारणालाई यिनीहरूले निकै असर गरेको हुनसक्छ। यिनीहरूमध्ये एक जना सुनौलो मुख कहलाइएका थिए भने अर्कोचाहिं महान्‌ कहलाइएका थिए। सामूहिक रूपमा यिनीहरूलाई “ख्रीष्टको जीवनको सर्वोत्तम मूर्तरूप” भनेर वर्णन गरिएको छ। यिनीहरू को हुन्‌? यिनीहरू आजको तथाकथित “मसीही विचारलाई” आकार दिने पुरातन समयका धार्मिक विचारविद्‌, लेखक, धर्मविद्‌ र दार्शनिकहरू अर्थात्‌ चर्चका फादरहरू हुन्‌।

धर्मसम्बन्धी अध्ययनका ग्रीक अर्थोडक्स प्राध्यापक डिमित्रियोस जे. कन्स्टान्टेलसले यस्तो दाबी गरे, “बाइबल मात्रै परमेश्‍वरको वचन होइन। परमेश्‍वरको वचन प्रकट गर्ने पवित्र आत्मालाई किताबका पन्‍नाहरूमा मात्र सीमित राख्न सकिंदैन।” ईश्‍वरीय प्रकटीकरणको अर्को भरपर्दो स्रोत के हुन सक्ला? कन्स्टान्टेलसले अन्डरस्ट्याण्डिङ द ग्रीक अर्थोडक्स चर्च शीर्षकको आफ्नो पुस्तकमा निर्धक्क हुँदै यसो भनेका छन्‌: “पवित्र परम्परा र पवित्र धर्मशास्त्र एकै सिक्काका दुई मोहडा हुन्‌।”

यस “पवित्र परम्परा” चर्चका फादरहरूको शिक्षा र लेखोटमा आधारित छन्‌। यी फादरहरू सा.यु. दोस्रो अनि पाँचौं शताब्दीका प्रमुख धर्मविद्‌ र “मसीही” दार्शनिकहरू थिए। यिनीहरूले आधुनिक “मसीही” विचारधारालाई कत्तिको प्रभावित पारेका छन्‌? के यिनीहरूको शिक्षा बाइबलमा आधारित छन्‌? येशू ख्रीष्टको चेलाका लागि मसीही सच्चाइको ठोस आधार के हुनुपर्ने हो?

ऐतिहासिक पृष्ठभूमि

सा.यु. दोस्रो शताब्दीको मध्यतिर मसीही भनौंदाहरूले तिनीहरूलाई सताउने रोमी तथा धर्म विरोधीबाट आफ्नो विश्‍वास जोगाइरहेका थिए। तथापि, यो एउटा अत्यधिक धार्मिक विचार व्यक्‍त गरिएको युग पनि थियो। येशूको “ईश्‍वरत्व[सम्बन्धी]” धार्मिक वादविवादहरू र पवित्र आत्माको प्रकृति तथा कार्यले बौद्धिक भिन्‍नता मात्र होइन धेरै कुरा भए। “मसीही” सिद्धान्तमा भएको तीव्र असहमती र सुधार्नै नसकिने विभाजन राजनैतिक तथा सामाजिक चक्रमा पनि देखा पर्न थाल्यो भने, यदाकदा त्यसले गर्दा दंगाफसाद, विद्रोह, गृह कलह अनि युद्धहरूसमेत भए। इतिहासकार पल जनसन लेख्छन्‌: “गोलमाल, विवाद र मतभिन्‍नताले गर्दा [धर्मत्यागी] मसीहीधर्म सुरु भयो र यो कायमै रह्‍यो। . . . सा.यु. पहिलो अनि दोस्रो शताब्दीताक अनगिन्ती धार्मिक विचारधाराहरू मध्य तथा पूर्वी भूमध्यसागरभरि व्याप्त भए। . . . त्यसैले, सुरुदेखि नै मसीहीधर्म आपसमा बाझिन सुरु भयो र निकै कम समानता पाइन थाल्यो।”

यस युगताक, “मसीही” शिक्षालाई व्याख्या गर्न दार्शनिक शब्दहरू प्रयोग नगरी हुन्‍न भन्‍ने लेखक तथा विद्वान्‌हरूको फलिफाप हुनथाल्यो। भर्खरै “मसीहीधर्ममा” लागेका गैरमसीही शिक्षित वर्गलाई सन्तुष्ट पार्न यस्ता धार्मिक लेखकहरू युनानी र यहूदी साहित्यहरूमा अत्यन्तै भर पर्न थाले। युनानी भाषामा लेख्ने जस्टिन मार्टरदेखि (करिब सा.यु. १००-१६५) मसीही भनौंदाहरूले युनानी संस्कृतिको दर्शन झन्‌ झन्‌ तीव्र रूपले ग्रहण गर्न थाले।

फलस्वरूप, यसको उल्लेखनीय नतिजा एलेक्सजान्ड्रियाका अर्जनका (करिब सा.यु. १८५-२५४) लेखहरूमा देखिए। अर्जनको रचना अन फर्स्ट प्रिन्सिपलस “मसीही” धर्मविज्ञानका मुख्य सिद्धान्तहरूलाई युनानी दर्शनमा व्याख्या गर्ने पहिलो व्यवस्थित प्रयास थियो। नाइसी परिषद्‌ले (सा.यु. ३२५) ख्रीष्टको “ईश्‍वरत्व” व्याख्या गर्न र स्थापित गर्न गरेको प्रयास, “मसीही” सिद्धान्तलाई व्याख्या गर्न प्रोत्साहित गर्ने महत्त्वपूर्ण कदम थियो। उक्‍त परिषद्‌ले, साधारण चर्च परिषद्‌हरूले सिद्धान्तहरूलाई पहिलेको भन्दा अझ राम्ररी वर्णन गर्न खोज्ने युगको सुरुआत गऱ्‍यो।

लेखक अनि कुशल वक्‍ताहरू

पहिलो नाइसी परिषद्‌को पालाका लेखक, सिजेरियाका युसिबियस सम्राट्‌ कन्स्टेन्टाइनसित संगत गर्थे। नाइसी स्थापित भएको झन्डै १०० वर्ष बितिसकेपछि, प्रायजसो युनानी भाषामा लेख्ने धर्मविद्‌हरूले लामो अनि चर्को वादविवाद गरे। त्यो वादविवादले पछि मसीहीजगत्‌को उल्लेखनीय शिक्षा अर्थात्‌ त्रिएकलाई जन्म दियो। यसरी वादविवाद गर्नेहरूमध्ये प्रमुखहरू त एलेक्सजान्ड्रियाका हैकमवादी विशप, एथेनासियस र कपोदिसिया, एसिया माइनरका चर्चका तीन प्रमुख—महान्‌ बेसिल, तिनका भाइ नीसका ग्रेगोरी र तिनीहरूका मित्र नाजीआन्जुसका ग्रेगोरी थिए।

यस युगका लेखक तथा प्रचारकहरूले उच्चस्तरीय वाकपटुशैली हासिल गरेका थिए। नाजीआन्जुसका ग्रेगोरी र जोन क्रिसोस्टोम (अर्थ, “सुनौलो मुख”) युनानी भाषामा अनि मिलानका एम्ब्रोस र हिप्पोका अगस्टिन ल्याटिनमा भाषण दिन पोख्त थिए। यिनीहरू त्यसबेलाका सबैभन्दा आदरणीय र प्रसिद्ध गुरु अर्थात्‌ अत्यन्त सिपालु वक्‍ता थिए। त्यसबेलाका सबैभन्दा प्रभावशाली लेखक अगस्टिन थिए। धर्मविज्ञानसित सम्बन्धित तिनका रचनाहरूले वर्तमान्‌ “मसीही” विचारधारालाई आकार दिन मुख्य भूमिका खेलेको छ। त्यतिखेरका सबैभन्दा प्रसिद्ध विद्धान्‌ जेरोमचाहिं, बाइबललाई मूल भाषाबाट ल्याटिन भल्गेटमा अनुवाद गर्ने प्रमुख व्यक्‍ति थिए।

तथापि, महत्त्वपूर्ण प्रश्‍नहरू त के हुन्‌ भने: के चर्चका यी फादरहरूले बाइबलका कुरा हुबहु पालन गरे? के तिनीहरूले प्रेरित धर्मशास्त्रअनुसार शिक्षा दिए? के तिनीहरूको लेख, परमेश्‍वरको सही ज्ञान प्राप्त गर्ने उचित माध्यम हो?

परमेश्‍वरको शिक्षा कि मानिसहरूको ?

युनानी सभ्यता र दर्शनशास्त्र नै आधुनिक “मसीही” विचारधाराको जग थियो भनेर देखाउन हालै पिसिदियाको ग्रीक अर्थोडक्स मेट्रोपोलिटन मेथोडियसले द हेलेनिक पेडेस्टल अफ क्रिश्‍चियानिटी नामक पुस्तक लेखे। उक्‍त पुस्तकमा तिनले यसरी सहर्ष स्वीकारेका छन्‌: “चर्चका प्रायजसो सबै गन्यमान्य फादरहरू युनानी सिद्धान्तहरूलाई अत्यन्त उपयोगी मान्थे। तिनीहरूले पुरातन युनानी स्रोतहरूबाट उक्‍त सिद्धान्तहरू सापट लिएर मसीही सत्यलाई बुझ्ने अनि सही तरिकाले व्यक्‍त गर्ने आधारको रूपमा प्रयोग गरे।”

उदाहरणका लागि, पिता, पुत्र अनि पवित्र आत्मा मिलेर बनेको त्रिएकलाई नै लिनुहोस्‌। नाइसी परिषद्‌पछि चर्चका थुप्रै फादर कट्टरपन्थी त्रिएकवादी भए। त्रिएकलाई मसीहीजगत्‌को महत्त्वपूर्ण सिद्धान्त बनाउन तिनीहरूको लेखोट र स्पष्टीकरणले महत्त्वपूर्ण भूमिका खेल्यो। तथापि, के बाइबलमा त्रिएक पाइन्छ? पाइँदैन। त्यसोभए, चर्चका फादरहरूले कहाँबाट त्रिएकको सिद्धान्त ल्याए त? अ डिक्सनरी अफ रिलिजियस नलेज यसो भन्छ, “त्रिएक झूटो धर्मबाट सापटी लिएर मसीही विश्‍वासमा गाभिएको भ्रष्ट तत्त्व हो।” अनि द पेगनिज्म इन आवर क्रिश्‍चियानिटी-ले “[त्रिएकको] उत्पत्ति पूर्णतया मूर्तिपूजक धर्मबाट भएको हो” भनेर पुष्टि दिन्छ। aयूहन्‍ना ३:१६; १४:२८.

अथवा शरीर मरिसकेपछि पनि मानिसको कुनै भाग जीवितै रहन्छ भन्‍ने विश्‍वास अर्थात्‌ अमर आत्माको शिक्षाबारे विचार गर्नुहोस्‌। मृत्युपछि आत्मा बाँचिरहन्छ भन्‍ने शिक्षा नै नभएको धर्ममा यो सिद्धान्त घुसाउने स्रोत पनि चर्चका फादरहरू नै थिए। “जुन प्राणीले [“आत्माले,” NW] पाप गर्छ त्यही मर्छ” भनेर बाइबलले प्रस्टै आत्मा मर्छ भनेर बताएको छ। (इजकिएल १८:४) चर्चका फादरहरूले कुन आधारमा अमर आत्मामाथि विश्‍वास गरे त? “परमेश्‍वरले अलौकिक आत्मा सृष्टि गर्नुभएर त्यसलाई मानिसहरूको शरीरभित्र राख्नुभएपछि जीवित व्यक्‍ति बनाउनुभयो भन्‍ने यो मसीही धारणा, मसीही दर्शनमा धेरै लामो समयदेखि हुँदै आएको विकासको उपज हो। पूर्वमा अर्जन र पश्‍चिममा सन्त अगस्टिनको शिक्षामा मात्र आत्मालाई अलौकिक तत्त्व हो भनेर मानिलिइएको र आत्माको सैद्धान्तिक धारणा तयार पारिएको देखिन्छ। . . . [अगस्टिनको शिक्षामा] नव प्लातोवादबाट (केही गल्तीहरूलगायत) थुप्रै कुरा समावेश गरिए” भनी न्यु क्याथोलिक इन्साइक्लोपीडिया बताउँछ। अनि प्रेस्बाइटेरियन लाइफ पत्रिका यसो भन्छ: “अमर आत्मा, पुरातन तान्त्रिक गुटले निकालेको युनानी धारणा हो, जसलाई दार्शनिक प्लातोले विस्तार गरे।” b

मसीही सच्चाइको ठोस आधार

चर्चका फादरहरूको पृष्ठभूमिलगायत तिनीहरूको शिक्षाको सुरुआतको यस छोटो जाँचपछि पनि यो प्रश्‍न सोध्नु उपयुक्‍त छ: के साँचो मसीहीले चर्चका फादरहरूको शिक्षामा विश्‍वास गर्नुपर्छ? यसको जवाफ बाइबलले नै देओस्‌।

एउटा कुरा, येशू ख्रीष्ट आफैले “फादर” (पिता) भन्‍ने जस्ता धार्मिक पद यसो भन्‍नुहुँदै प्रयोग गर्न निषेध गर्नुभएको थियो: “तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि तिमीहरूका पिता एउटै स्वर्गमा हुनुहुन्छ।” (मत्ती २३:९) कुनै धार्मिक नेतालाई “फादर” भनेर सम्बोधन गर्नु गैरमसीही तथा गैरशास्त्रीय हो। परमेश्‍वरको लिखित वचन सा.यु. ९८ मा प्रेरित यूहन्‍नाले लेख्न सिध्याएका थिए। त्यसकारण, साँचो मसीहीहरूले प्रेरित प्रकटीकरणका लागि अरू कुनै मानिसको मुख ताक्नु आवश्‍यक छैन। तिनीहरू मानव परम्पराको पछि लागेर ‘परमेश्‍वरको वचनलाई बेकम्मा नगराउन’ होसियार छन्‌। परमेश्‍वरको वचनलाई पन्छाएर मानव परम्पराको पछि लाग्नु आध्यात्मिक तवरमा घातक छ। येशूले यस्तो चेताउनी दिनुभयो: “अन्धाले अन्धालाई डोऱ्‍याउँछ भने, दुवै खाल्डामा पर्नेछन्‌।”—मत्ती १५:६, १४.

के मसीहीलाई बाइबलमा भएका परमेश्‍वरको वचनको अलावा अरू कुनै प्रकटीकरणको आवश्‍यकता छ? छैन। बरु, प्रकाशको पुस्तकले प्रेरित विवरणमा कुनै पनि कुरा थप्नदेखि यसरी सचेत गराएको छ: “यदि कुनै मानिसले तिनमा थप्यो भने, परमेश्‍वरले यस पुस्तकमा लेखिएका विपत्तिहरू त्यसमाथि थप्नुहुनेछ।”—प्रकाश २२:१८.

मसीही सच्चाइ परमेश्‍वरको वचन बाइबलमा छ। (यूहन्‍ना १७:१७; २ तिमोथी ३:१६; २ यूहन्‍ना १-४) यसलाई ठीकसँग बुझ्न सांसारिक दर्शनमा भर पर्नुपर्दैन। ईश्‍वरीय प्रकटीकरणलाई मानव बुद्धि चलाएर बुझ्न खोज्ने मानिसहरूको सम्बन्धमा प्रेरित पावलले सोधेको यो प्रश्‍न दोहऱ्‍याउनु उचित छ: “ज्ञानी खोइ त? शास्त्री कहाँ? यस युगको बहस गर्ने कहाँ? के परमेश्‍वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनुभएन?”—१ कोरिन्थी १:२०.

यसबाहेक, साँचो मसीही मण्डली “सत्यको खामा र जग हो।” (१ तिमोथी ३:१५) यसका निरीक्षकहरूले मण्डलीमा शुद्ध शिक्षालाई जोगाउन कुनै पनि दूषित शिक्षा पस्न दिंदैनन्‌। (२ तिमोथी २:१५-१८, २५) तिनीहरूले मण्डलीलाई ‘झूटा अगमवक्‍ताहरू, झूटा शिक्षकहरू र विनाश पार्ने विधर्मबाट’ जोगाउँछन्‌। (२ पत्रुस २:१) प्रेरितहरूको मृत्यु भएपछि चर्चका फादरहरूले मसीही मण्डलीमा ‘बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्तलाई’ जरा गाड्‌ने मौका दिए।—१ तिमोथी ४:१.

यस्तो धर्मत्यागको परिणाम आज मसीहीजगत्‌मा प्रस्टै देखिन्छ। चर्चका विश्‍वास र काम बाइबलको सच्चाइबाट कोसौं टाढा छ।

[फुटनोटहरू]

a त्रिएको शिक्षासम्बन्धी गहिरो छलफलका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित शुड यु बिलिभ इन द ट्रिनिटी? पुस्तिका हेर्नुहोस्‌।

b आत्मासम्बन्धी बाइबल शिक्षाको विस्तृत छलफलका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित रिजनिङ फ्रम द स्क्रिप्चर्स-को पृष्ठ ९८-१०४ र ३७५-८० हेर्नुहोस्‌।

[पृष्ठ १८-मा भएको पेटी/चित्र]

क्यापोडोसियाका फादरहरू

“अर्थोडक्स चर्च . . . चौथो शताब्दीका लेखकहरू र त्यसमा पनि विशेष गरी ‘तीन महान्‌ धार्मिक नेताहरू’ भन्‍ने पदवी पाएका नाजीआन्जुसका ग्रेगोरी, महान्‌ बेसिल र जन क्रिसोस्टमलाई . . . चर्चहरूले असाध्यै श्रद्धा गर्छन्‌” भनी भिक्षु एवम्‌ लेखक कालिस्तोस बताउँछन्‌। के यी चर्चका फादरहरूले प्रेरित धर्मशास्त्रलाई आफ्नो शिक्षाको आधार बनाएका थिए? महान्‌ बेजिलको सम्बन्धमा द फादर्स अफ द ग्रीक चर्च नामक पुस्तक यसो भन्छ: “तिनका लेखहरूबाट प्लातो, होमेर र इतिहासकारहरूका साथै कुशल वक्‍ताहरूसित तिनको आजीवन घनिष्ठ सम्बन्ध थियो भन्‍ने पुष्टि हुन्छ भने यिनीहरूले तिनको लेखाइमा प्रभाव पारेको प्रस्ट देखिन्छ। . . . बेजिल ‘ग्रीक’ नै भइरहे।” नाजीआन्जुसका ग्रेगोरीको सम्बन्धमा पनि त्यसै भन्‍न सकिन्छ। “युनानी संस्कृतिका परम्पराहरूलाई पूर्णतया ग्रहण गर्नु नै चर्चको विजय र विशिष्टताको सबैभन्दा ठूलो प्रमाण हो भन्‍ने तिनको विचार थियो।”

यी तीनै पुरुषहरूको सम्बन्धमा प्राध्यापक पानाइओतेस के. क्रिस्तु लेख्छन्‌: “नयाँ नियमको आज्ञाअनुरूप गर्न कहिलेकाहीं ‘दर्शनशास्त्र र फोस्रो छलहरूबाट’ [कलस्सी २:८] सतर्क गराए तापनि तिनीहरू आफै उत्सुकतासाथ दर्शनशास्त्र तथा नियमहरू पढ्‌थे र अरूलाई पनि पढ्‌ने सुझाउ दिन्थे।” प्रस्ट छ, चर्चका यस्ता शिक्षकहरूले आफ्नो विचारलाई समर्थन गर्न बाइबलमा पर्याप्त आधारहरू पाएनन्‌। अख्तियारको स्रोतको निम्ति तिनीहरूले अन्त गरेको जाँचपड्‌ताल गर्नु तिनीहरूको शिक्षा बाइबलभन्दा भिन्‍न भएकोले पो हो कि? प्रेरित पावलले हिब्रूका मसीहीहरूलाई यस्तो चेताउनी दिए: “नाना किसिमका र अनौठा शिक्षाहरूबाट भ्रममा नपर।”—हिब्रू १३:९.

[स्रोत]

© Archivo Iconografico, S.A./CORBIS

[पृष्ठ २०-मा भएको पेटी/चित्र]

एलेक्सजान्ड्रियाका सिरेल—चर्चका विवादास्पद फादर

चर्चका फादरहरूमध्ये सबैभन्दा विवादास्पद फादर एलेक्सजान्ड्रियाका सिरेल हुन्‌। (करिब सा.यु. ३७५-४४४) चर्चका इतिहासकार हान्स फोन काम्पनहाउजनले तिनलाई “आफ्नो ओहदाको घमण्ड गर्ने जिद्दी, हिंस्रक र धूर्त” मानिस भनेर वर्णन गरेका छन्‌। काम्पनहाउजन अझै यसो भन्छन्‌, “आफ्नो शक्‍ति र अख्तियार बढाउन काम लाग्ने कुराबाहेक अरू कुनै कुरालाई तिनी ठीक सम्झँदैनथे। . . . आफ्नो क्रूरता र कुटिल व्यवहारदेखि तिनी कहिल्यै पछुताएनन्‌।” एलेक्सजान्ड्रियाको विशप छउञ्जेल सिरेलले कन्स्टान्टिनोपोलका विशपलाई अपदस्थ गर्न घूस, मानहानि हुने लेखहरू र निन्दाचर्चाको प्रयोग गरे। तिनलाई सा.यु. ४१५ मा हिपाशी नाउँ गरेका प्रसिद्ध दार्शनिकको निर्मम हत्याको जिम्मेवार ठहराइएको छ। सिरेलका धर्मविज्ञानसम्बन्धी लेखहरूबारे काम्पनहाउजन यसो भन्छन्‌: “तिनले विश्‍वाससम्बन्धी प्रश्‍नहरूको जवाफ बाइबलबाट मात्र निधो नगर्ने तर नामी विशेषज्ञहरूले गरेका उपयुक्‍त टिप्पणीहरूको पनि मदत लिने प्रचलन सुरु गरे।”

[पृष्ठ १९-मा भएको चित्र]

जेरोम

[स्रोत]

Garo Nalbandian