सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जुनसुकै परिवेशमा हुर्कनुभएको भए तापनि तपाईं सफल हुन सक्नुहुन्छ

जुनसुकै परिवेशमा हुर्कनुभएको भए तापनि तपाईं सफल हुन सक्नुहुन्छ

जुनसुकै परिवेशमा हुर्कनुभएको भए तापनि तपाईं सफल हुन सक्नुहुन्छ

बाल्यकालदेखि नै निकोलस अलि विद्रोही स्वभावका थिए। a समयको क्रममा आन्तरिक द्वन्द्वले गर्दा तिनी लागू पदार्थको दुर्व्यसनी र जड्याहा भए। निकोलस बताउँछन्‌: “मेरो बुबा एकदम रक्सी पिउने गर्नुहुन्थ्यो र उहाँले मेरी दिदी र मलाई साह्रै दुःख दिनुभयो।”

मलिण्डाका आमाबाबु समाजमा चर्चका आदरणीय व्यक्‍तिहरू भएकाले खोट लगाउने ठाउँ नै छैन जस्तो देखिन्थ्यो। तर उनीहरू एउटा गुटसित पनि असाध्यै हेलमेल गर्थे। “उहाँहरूको गुटको केही कामकुराले मलाई नराम्रो असर पारेको थियो र यसले गर्दा सानै छँदा मेरो मनै भाँचिएको थियो,” अहिले ३० वर्ष पुगेकी मलिण्डा आफ्नो वेदना त्यसरी पोख्छिन्‌। उनी अझै यसो भन्छिन्‌: “मलाई याद भएसम्म, निराशा अनि बेकामको छु भन्‍ने भावनाले मलाई निरन्तर पिरोली रहन्थ्यो।”

हिंसा, दुर्व्यवहार, आमाबाबुले गर्ने बेवास्ता र अन्य नकारात्मक कारणहरूले गर्दा थुप्रैको बाल्यकाल भताभुंग भएको छ भन्‍ने कुरालाई कसले नकार्न सक्ला र? बाल्यकालका नरमाइला क्षणहरूको चोट निकै गहिरो हुनसक्छ। तर यस्ता चोटहरूले व्यक्‍तिविशेषलाई परमेश्‍वरको वचन अँगालेर केही हदसम्म भए पनि आनन्द प्राप्त गर्ने सम्भावनाबाट के सदाका लागि वञ्चित गर्छ? लालनपालन जस्तै भए तापनि के निकोलस र मिलण्डा निष्ठावान्‌ व्यक्‍तिहरू हुन सक्लान्‌ त? सबैभन्दा पहिले यहूदाका राजा योशियाहको उदाहरण विचार गर्नुहोस्‌।

धर्मशास्त्रीय उदाहरण

योशियाहले सा.यु.पू. सातौं शताब्दीमा (सा.यु.पू. ६५९-६२९) ३१ वर्षसम्म यहूदामा शासन गरे। आफ्नो बुबाको हत्यापछि योशियाहको राज्यारोहण हुँदा यहूदाको अवस्था अत्यन्तै खराब थियो। यहूदा र यरूशलेम बालका उपासकहरूले भरिएको थियो र तिनीहरू अम्मोनीहरूको प्रमुख देव, माल्कमको नाउँमा शपथ खाने गर्थे। परमेश्‍वरका त्यतिखेरका अगमवक्‍ता सपन्याहका अनुसार यहूदी राजकुमारहरू “गर्जने सिंहहरू[जस्तै]” र न्यायकर्ताहरू चाहिं “साँझका ब्वाँसाहरू[जस्ता]” थिए। फलस्वरूप, देशभरि हिंसा र छलकपट फैलियो। थुप्रैले मनमनै “परमप्रभुले नता असल गर्नुहुन्छ न खराब गर्नुहुन्छ” भनिरहेका थिए।—सपन्याह १:३–२:३; ३:१-५.

योशियाह कस्ता शासक भए त? बाइबलका इतिहासकार एज्रा लेख्छन्‌: “[योशियाहले] परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। तिनी दाहिने-देब्रे नलागी आफ्ना पुर्खा दाऊदकै सबै चालमा हिंड़े।” (२ इतिहास ३४:१, २) स्पष्ट छ, योशियाह परमेश्‍वरको नजरमा जे ठीक छ, त्यसै गर्न सफल भए। तर तिनको पारिवारिक पृष्ठभूमि कस्तो थियो नि?

राम्रो लालनपालन कि दुर्व्यवहारको सिकार ?

सा.यु.पू. ६६७ मा योशियाह जन्मँदा तिनका बुबा आमोन १६ वर्षका मात्र थिए भने तिनका हजुरबुबा मनश्‍शेले यहूदामा राज्य गरिरहेका थिए। यहूदामा राज्य गर्ने राजाहरूमध्ये मनश्‍शे सबैभन्दा दुष्ट थिए। बालको निम्ति वेदीहरू खडा गरेर “तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरेर उहाँलाई रिस उठाए।” तिनले आफ्ना छोराहरूलाई आगोमा होमे, तन्त्रमन्त्र गरे, जोखना हेराए, भूतप्रेत र पिशाचहरू खेलाए अनि ठूलो रक्‍तपात गरे। मनश्‍शेले यहोवाको भवनमा आफूले निर्माण गर्न लगाएको पवित्र खामोको मूर्ति पनि राख्न लगाए। तिनले यहूदा र यरूशलेमलाई “परमप्रभुले इस्राएलको निम्ति नाश गरेका जातिहरूले भन्दा पनि धेरै ज्यादा . . . कुपथमा चलाए।”—२ इतिहास ३३:१-९.

मनश्‍शे यत्ति खराब थिए कि, यहोवाले तिनलाई अश्‍शूरी शासकको राजधानी शहर, बेबिलोनमा नेल ठोकेर लग्न दिनुभयो। कैदमा छँदा मनश्‍शेले पश्‍चात्ताप गरे, आफैलाई विनम्र तुल्याए र यहोवासित माफी मागे। तिनले गरेको प्रार्थना परमेश्‍वरले सुन्‍नुभयो र तिनलाई फेरि यरूशलेमको सिंहासनमा बसाल्नुभयो। त्यसपछि मनश्‍शेले थुप्रै सुधार गरे र सफलता पनि पाए।—२ इतिहास ३३:१०-१७.

मनश्‍शेको दुष्टता र पश्‍चात्तापले तिनको छोरा आमोनमाथि कस्तो प्रभाव पाऱ्‍यो? तिनी असाध्यै दुष्ट भए। मनश्‍शेले पश्‍चात्ताप गरेर, आफैले सुरुको असुद्धता हटाउने प्रयास गर्दा आमोनले सकारात्मक प्रतिक्रिया जनाएनन्‌। बाइस वर्षको उमेरमा राज्यसत्ता प्राप्त गरेपछि आमोनले “तिनका पिता मनश्‍शेले गरेझैं तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे।” यहोवासमक्ष आफूलाई विनम्र तुल्याउनुको साटो आमोनको “अपराध झन्‌ बढ़ी भयो।” (२ इतिहास ३३:२१-२३) आमोन यहूदाको राजा हुँदा योशियाह छ वर्षका मात्र थिए। योशियाहले कत्ति डरलाग्दो अवस्थामा बाल्यकाल बिताउनु पऱ्‍यो होला!

तिनका भारदारहरूले षड्यन्त्र रचेर तिनको हत्या गर्दा आमोनको दुष्ट शासन दुई वर्षमै टुंगियो। यद्यपि, जनताले आमोनका षड्यन्त्रकारीहरूलाई मारेर तिनको छोरो योशियाहलाई राजा बनाए।—२ इतिहास ३३:२४, २५.

बाल्यावस्थामा छँदै नकारात्मक परिस्थितिको सिकार हुनुपरे तापनि योशियाहले यहोवाको नजरमा जे असल छ, त्यही गरे। तिनले यति सफल शासन गरे कि बाइबलले यसो भन्छ: “आफ्ना सारा मन, प्राण र शक्‍तिले मोशाका सबै व्यवस्था मानेर हिंड़ने कुनै पनि राजा परमप्रभुतर्फ त्यसरी फर्केका थिएनन्‌। तिनीजस्तै अरू कुनै राजा पनि फेरि देखिएन।”—२ राजा २३:१९-२५.

राम्रो लालनपालन नपाउनेहरूका लागि योशियाह एकदमै प्रोत्साहनको स्रोत हुनसक्छन्‌! हामी तिनीबाट के सिक्नसक्छौं? योशियाहलाई सही मार्ग छान्‍न र त्यसैमा लागिरहन केले मदत गऱ्‍यो?

यहोवालाई चिन्‍ने प्रयास गर्नुहोस्‌

योशियाहलाई बाल्यकालमा परेको सकारात्मक प्रभाव तिनको बाजे मनश्‍शेको पश्‍चात्ताप थियो। तिनीहरू दुई जनाले कति समय सँगै बिताए र मनश्‍शेले सुधार कार्यहरू थाल्दा योशियाहको उमेर कति थियो, त्यसबारे बाइबलले केही बताएको छैन। यहूदीहरूको संयुक्‍त परिवार हुने भएकोले मनश्‍शेले आफ्नो नातिलाई वरपर व्याप्त भ्रष्ट प्रभावहरूबाट जोगाउन उसको हृदयमा साँचो परमेश्‍वर यहोवा र उहाँको वचनको आदर हालिदिएका हुनसक्छन्‌। मनश्‍शेले योशियाहको हृदयमा रोप्न सकेको सत्यको बीउ र अन्य सकारात्मक प्रभावहरूको फल अन्ततः मीठो भयो। यहूदाको सिंहासनमा बसेको आठौं वर्षमा १५ वर्षका योशियाहले यहोवाको इच्छा जान्‍न अनि त्यसअनुरूप गर्न खोजे।—२ इतिहास ३४:१-३.

कसै कसैले बाल्यकालमा टाढाको नातेदार, चिनेजानेको व्यक्‍ति वा छिमेकीले गर्दा मात्र सच्चाइबारे अलिकता थाह पाएको हुनसक्छ। यद्यपि, रोपिएको बीउमा मलजल हाल्दा त्यसले पछि फल फलाउन सक्छ। लेखको सुरुमा उल्लेख गरिएको मलिण्डाको छिमेकमा एक जना बाजेजस्तै व्यक्‍ति थिए र तिनले उनलाई घरैमा प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌! पत्रिकाहरू ल्याइदिने गर्थे। त्यतिबेलाको मीठो सम्झना गर्दै उनी भन्छिन्‌: “मेरो छिमेकी बाजेले चाडपर्व नमनाउनुभएको देखेर म एकदमै प्रभावित भएकी थिएँ। किनकि मेरा आमाबाबु जुन गुटसँग संगत गर्नुहुन्थ्यो, ती गुटका मानिसहरू हालोविन र त्यस्तै अन्य चाडपर्वमा धार्मिक क्रियाकलाप गर्ने गर्नुहुन्थ्यो।” एक दशकजति पछि मलिण्डालाई एक जना साथीले यहोवाका साक्षीहरूको राज्यभवनमा निम्तो दिंदा आफ्नो छिमेकीलाई सम्झिन्‌ र बाइबल अध्ययन गर्ने प्रस्तावलाई सहर्ष स्वीकारिन्‌। यसले तिनलाई सच्चाइ खोज्न मदत गऱ्‍यो।

परमेश्‍वरसामु विनम्र हुनुहोस्‌

योशियाहको शासनकालमा यहूदामा थुप्रै धार्मिक सुधार भए। मूर्तिपूजक यहूदालाई सफा गर्ने छ-वर्षे अभियानपछि योशियाहले यहोवाको भवन मर्मत गर्न सुरु गरे। मर्मत कार्य भइरहेको बेला प्रधान पूजाहारी हिल्कियाहले बहुमूल्य कुरा भेट्टाए! तिनले “परमप्रभुको व्यवस्थाको पुस्तक[को]” मूल प्रति भेट्टाए। हिल्कियाहले यो सनसनीपूर्ण खोज सचिव, शापानलाई सुम्पेपछि तिनले यसबारे राजालाई अवगत गराए। के यस्तो खोजपछि २५ वर्षका योशियाह घमण्डले फुले?—२ इतिहास ३४:३-१८.

एज्रा लेख्छन्‌: “राजाले व्यवस्थाको पुस्तकमा लेखिएको कुरा सुने पछि आफ्नो लुगा च्याते।” यो तिनको हृदयग्राही शोक थियो किनकि परमेश्‍वरले दिनुभएको सबै आज्ञा आफ्नो पूर्खाले पालन गरेका रहेनछन्‌ भनी तिनले बुझे। नम्रताको कत्ति राम्रो चिह्न! तुरुन्तै राजाले पाँच जना प्रतिनिधिलाई हुल्दाकहाँ यहोवासित सोधपुछ गर्न पठाए। फलस्वरूप, प्रतिनिधि मण्डलले यस्तो प्रतिवेदन ल्याए: ‘यहोवाको व्यवस्था पालन नगरेकोले नाश आइपर्नेछ। तर तँ, राजा योशियाह विनम्र भएकोले तेरो चिहानमा तँ कुशलसित गाडिनेछस्‌। र तैंले विपत्ति देख्नेछैनस्‌।’ (२ इतिहास ३४:१९-२८) योशियाहको मनोवृत्तिदेखि यहोवा प्रसन्‍न हुनुहुन्थ्यो।

हाम्रो पृष्ठभूमि जस्तोसुकै भए तापनि हामी आफैलाई साँचो परमेश्‍वर यहोवासामु विनम्र तुल्याउन सक्छौं र उहाँ अनि उहाँको वचन बाइबलप्रति आदरणीय मनोवृत्ति देखाउन सक्छौं। सुरुमा उल्लेख गरिएका निकोलसले त्यसै गरे। तिनी भन्छन्‌: “लागू पदार्थ र जाँडरक्सीले गर्दा मेरो जीवन समस्यै समस्याले घेरिएको भए तापनि बाइबलमा मेरो चासो थियो र मलाई मेरो जीवन उद्देश्‍यपूर्ण भएको मन पर्थ्यो। आखिर म यहोवाका साक्षीहरूको सम्पर्कमा आएँ र आफ्नो जीवनशैली परिवर्तन गरें र सच्चाइलाई अँगाले।” हाम्रो अवस्था जस्तोसुकै भए तापनि हामी परमेश्‍वर र उहाँको वचनप्रति आदर देखाउन सक्छौं।

यहोवाले गर्नुभएको प्रबन्धबाट लाभ उठाउनुहोस्‌

योशियाह यहोवाका अगमवक्‍ताहरूलाई पनि गहिरो आदर गर्थे। तिनले अगमवादिनी हुल्दासित परामर्श लिनुका साथै अन्य अगमवक्‍ताहरूको कुरा पनि राम्ररी सुने। उदाहरणका लागि, यहूदामा व्याप्त मूर्तिपूजाको घोर भर्त्सना गर्न यर्मिया र सपन्याह व्यस्त थिए। उनीहरूको सन्देशलाई ध्यान दिएकाले नै योशियाहले झूटो धर्मलाई निमिट्यान्‍न पार्ने बल पाएको हुनुपर्छ!—यर्मिया १:१, २; ३:६-१०; सपन्याह १:१-६.

“मालिक” येशू ख्रीष्टले ठीक ठीक समयमा आध्यात्मिक आहारको प्रबन्ध मिलाउन आफ्ना अभिषिक्‍त जनहरू अर्थात्‌ “विश्‍वासी र बुद्धिमान” दास नियुक्‍त गर्नुभएको छ। (मत्ती २४:४५-४७) बाइबल आधारित प्रकाशनहरू र मण्डलीमा गरिने प्रबन्धहरूमार्फत दास वर्गले बाइबलका सल्लाह पालन गर्दा हुने फाइदाहरूतर्फ मानिसहरूको ध्यान खिच्छ र आफ्नो दैनिक जीवनमा ती कुराहरू कसरी लागू गर्ने, त्यसबारे व्यावहारिक सुझावहरू दिन्छ। जरा गाडेर बसेका हानिकारक मनोवृत्तिहरूलाई उखेल्न मदत गर्ने यहोवाका प्रबन्धहरू प्रयोग गर्नु साँच्चै कति उपयुक्‍त छ! बाल्यकालदेखि नै निकोलसलाई कसैको अधीनमा बस्न मनै पर्दैनथ्यो। परमेश्‍वरको वचन सिक्दासमेत उनको यो कमजोरीले गर्दा यहोवाको पूर्ण सेवा गर्न सकिरहेका थिएनन्‌। तर आफ्नो यो मनोवृत्तिलाई परिवर्तन गर्नु कम सजिलो थिएन। तर समयमा तिनी सफल भए। कसरी? निकोलस बताउँछन्‌, “दुई जना समझदार प्राचीनहरूको मदत पाएर मैले आफ्नो कमजोरी मानिलिएँ र उहाँहरूले दिनुभएको मायालु धर्मशास्त्रीय सल्लाह प्रयोग गर्न थालें।” तिनी अझै भन्छन्‌: “अझै पनि कहिलेकाहीं झोंक चल्छ तर अहिले म आफ्नो विद्रोही प्रवृत्तिलाई नियन्त्रणमा राख्नसक्छु।”

मलिण्डाले पनि जीवनमा महत्त्वपूर्ण निर्णय गर्ने बेला प्राचीनहरूसित सल्लाह मागिन्‌। विगतमा भोग्नुपरेको नैराश्‍य अनि बेकारीपनको अनुभूतिसित डट्‌न तिनले विशेष गरी प्रहरीधरहराब्यूँझनुहोस्‌!-का विभिन्‍न लेखहरू असाध्यै मदतकारी पाएकी छिन्‌। तिनी भन्छिन्‌: “कहिलेकाहीं ती लेखहरूमा भएको सानो अनुच्छेद वा वाक्यले समेत ठूलो औषधीको काम गर्छ। चाहिएकै बेला झट्टै भेट्टाउन सकूँ भनेर मैले यस्ता लेखहरू लगभग नौ वर्ष अघिदेखि जम्मा गरिरहेको छु।” आज तिनीसित करिब ४०० लेखहरू छन्‌!

अहँ, मानिसहरूले सधैंभरिका लागि नराम्रो परिवारको सिकार भइरहनु पर्दैन। यहोवाको मदत पाएर तिनीहरू आध्यात्मिक तवरमा सफल हुनसक्छन्‌। राम्रो लालनपालन पाउने व्यक्‍तिले निष्ठा कायम गर्छ नै भन्‍न नसकिएझैं नराम्रो बाल्यावस्थाको सिकार हुने व्यक्‍तिविशेषले परमेश्‍वरको भय राख्न सक्दैन भन्‍न सकिंदैन।

मन्दिरको मर्मत गर्दा व्यवस्थाको पुस्तक भेट्टाइसकेपछि योशियाहले ‘आफ्नो सम्पूर्ण मन र तनले परमेश्‍वरको हुकूम मान्‍न र उहाँका आज्ञा, नियम अनि धर्म विधिहरू पालन गर्न यहोवाको सामने बाचा बाँधे।’ (२ इतिहास ३४:३१) अन्तिम सास फेर्ने बेलासम्म पनि तिनको यो अठोट ढलपल भएन। मलिण्डा र निकोलसले पनि त्यसै गरी यहोवा परमेश्‍वरप्रति वफादार रहने र निष्ठा कायम गर्ने निर्णय गरेका छन्‌। हामी, तपाईंले पनि परमेश्‍वरसित घनिष्ठ हुने र विश्‍वासी भई उहाँको सेवा गर्ने निर्णय गरेको हेर्न चाहन्छौं। सफलता पाइन्छ भनेर तपाईं पनि ढुक्क हुन सक्नुहुन्छ किनकि यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सह्‍माल्नेछु।”—यशैया ४१:१०, १३.

[फुटनोट]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २६-मा भएका चित्रहरू]

अत्यन्तै डरलाग्दो अवस्थामा बाल्यकाल गुजार्नु परे तापनि योशियाहले यहोवालाई चिन्‍न र जीवन सफल बनाउन प्रयत्न गरे

[पृष्ठ २८-मा भएको चित्र]

जरा गाडेर बसेका आनीबानी हटाउन तपाईंलाई प्राचीनहरूले मदत गर्नसक्छन्‌

[पृष्ठ २८-मा भएको चित्र]

“प्रहरीधरहरा” र “ब्यूँझनुहोस्‌!”-ले तपाईंलाई निष्ठा कायम गर्न मदत गर्नसक्छन्‌