सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नकारात्मक भावनाहरू कसरी हटाउने

नकारात्मक भावनाहरू कसरी हटाउने

नकारात्मक भावनाहरू कसरी हटाउने

● आसापले यस्तो गुनासो गरे: “निश्‍चय व्यर्थमा मैले आफ्नो हृदय शुद्ध गरेको छु, र निर्दोषतामा आफ्नो हात धोएँ। किनकि दिनभरि म विपत्तिमा परेको छु, र बिहानैपिच्छे मैले चेताउनी पाउँदैरहें।”– भजन ७३:१३, १४.

● बारूकले यसरी बिलाप गरे: “धिक्कार मलाई! किनकि परमप्रभुले मेरो दुःखमाथि दुःख थपिदिनुभयो! सुस्केरा मार्दा मार्दा म थाकिसकें! म कतै पनि विश्राम पाउँदिनँ!”– यर्मिया ४५:३.

● नाओमीले यस्तो विरह पोखिन्‌: “मलाई नाओमी नभन। मलाई मारा भन, किनभने सर्वशक्‍तिमान्‌ले मसँग नमीठो व्यवहार गर्नुभएको छ। म भरिपूर्ण भएर गएको थिएँ, तर परमप्रभुले मलाई रित्तो फर्काएर ल्याउनुभएको छ। मलाई किन नाओमी भन्छौ? परमप्रभु मेरो विरुद्धमा उठ्‌नुभएको छ। सर्वशक्‍तिमान्‌ले ममाथि विपत्ति ल्याउनुभएको छ।”– रूथ १:२०, २१.

यहोवाका विश्‍वासी सेवकहरू कहिलेकाहीं असाध्यै निरुत्साहित भएका थुप्रै घटनाहरू बाइबलमा छन्‌। तथ्य कुरा के हो भने, असिद्ध भएकोले हामी सबै बेला बेलामा निरुत्साहित हुन्छौं। तीता अनुभवहरूले गर्दा हामीमध्ये कोही कोही अरूभन्दा अत्यन्तै निरुत्साही हुन्छौं वा सायद आफैलाई धिक्कार्छौं होला।

तथापि, नियन्त्रण गर्न सकिएन भने यस्ता भावनाहरूले अरू अनि यहोवा परमेश्‍वरसितको तपाईंको सम्बन्धलाई भताभुंग पार्नसक्छ। आफैलाई धिक्कार्ने झुकाउ भएकी एउटी मसीही स्त्री स्वीकार्छिन्‌: “सामाजिक जमघटमा निम्तो पाउँदा मैले निकै पटक अस्वीकार गरेकी छु। किनकि म मण्डलीका अरूसित संगत गर्न योग्यको छु जस्तो मलाई लाग्दैन।” यस्तो भावनाले व्यक्‍तिविशेषको जिन्दगीमा कस्तो विध्वंसकारी असर गर्नसक्छ! यस्ता भावनाहरूमाथि विजयी हुन तपाईं के गर्न सक्नुहुन्छ?

परमेश्‍वरसित घनिष्ठ हुनुहोस्‌

भजन ७३ अध्यायमा आसापले आफ्नो व्यथा उदांग पारेका छन्‌। दुष्टहरूको समृद्ध जीवनदेखि तिनी डाही भए। अभक्‍त मानिसहरू हठी अनि हिंस्रक भए तापनि तिनीहरूले कुनै सजाय नपाएको तिनले देखे। त्यसपछि तिनले धर्मी मार्गमा चलिरहनु के ठीक होला र भन्‍ने शंका व्यक्‍त गरे।—भजन ७३:३-९; १३, १४.

के तपाईंलाई पनि आसापलाई जस्तै आफ्नो दुष्टताको फूर्ति लगाउने दुष्टहरू सफल भएजस्तो लाग्छ? आसापले आफ्नो नकारात्मक भावनाहरूमाथि कसरी विजय हासिल गरे? तिनी अझै भन्छन्‌: “यो म कसरी जान्‍नसकूँ भनी जब मैले विचार गरें, त्यो मेरो दृष्टिमा साह्रै कठिन भयो। जब सम्म म परमेश्‍वरको पवित्र स्थानमा पसिनँ, र तिनीहरूको आखिरी अन्तको विचार मैले गरिनँ।” (भजन ७३:१६, १७) यहोवालाई प्रार्थना गर्ने आसापले सकारात्मक कदम चाले। प्रेरित पावलले प्रयोग गरेका शब्दहरूलाई प्रयोग गर्ने हो भने आसापले आफूभित्रको ‘आत्मिक मानिसलाई’ जगाएर ‘शारीरिक मानिसलाई’ दबाए। पुनः आध्यात्मिक दृष्टि पाएपछि यहोवाले खराबीलाई घृणा गर्नुहुन्छ र समयमा दुष्टहरूले दण्ड पाउनेछन्‌ भनेर तिनले बुझे।—१ कोरिन्थी २:१४, १५.

जीवनको वास्तविकतामाथि ध्यानकेन्द्रित गर्न बाइबलको सहारा लिनु अति जरुरी रहेछ! दुष्टहरूको दुष्टतादेखि उहाँ अनभिज्ञ हुनुहुन्‍न भनेर यहोवा हामीलाई सम्झाउनुहुन्छ। बाइबल हामीलाई यस्तो शिक्षा दिन्छ: “धोकामा नपर, परमेश्‍वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ। . . . भलाइ गर्नामा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।” (गलाती ६:७-९) यहोवाले दुष्टहरूलाई “चिप्ला ठाउँहरूमा राख्नुहुन्छ” र उहाँले तिनीहरूलाई “सर्वनाशमा फाल्नुहुन्छ।” (भजन ७३:१८) अन्तमा ईश्‍वरीय न्याय सधैं विजयी हुनेछ।

यहोवाको टेबलबाट निरन्तर आध्यात्मिक आहार खानुभयो र परमेश्‍वरका जनहरूसितको स्वास्थ्यकर संगतिको फाइदा उठाउनुभयो भने त्यसले तपाईंलाई आफ्नो विश्‍वास बलियो पार्न अनि निरुत्साह वा अन्य नकारात्मक भावनाहरूलाई जित्न मदत गर्नेछ। (हिब्रू १०:२५) आसापले जस्तै परमेश्‍वरसित घनिष्ठ हुनुभएर तपाईंले उहाँको मायालु आड पाउनुहुनेछ। आसाप अझै यसो भन्छन्‌: “म निरन्तर तपाईंसँगै छु। तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ। तपाईंले आफ्नै सल्लाहले मलाई डोऱ्‍याउनुहुनेछ। र त्यसपछि मलाई आफ्नो महिमा लिनुहुनेछ।” (भजन ७३:२३, २४) कलिलै उमेरमा दुर्व्यवहारको सिकार भएकी एउटी मसीहीले उक्‍त शब्दहरूबाट निकै सिकिन्‌। तिनी भन्छिन्‌, मण्डलीसित घनिष्ठ सम्बन्ध राख्दा मैले जीवनप्रति भिन्‍नै दृष्टिकोण राख्न सकें। मसीही प्राचीनहरू मायालु हुँदा रहेछन्‌ र उहाँहरू प्रहरी होइनन्‌ तर गोठाला हुन्‌ भनेर प्रस्टै देखें।” हो, दयालु मसीही प्राचीनहरूले हानिकारक अनुभूतिहरू हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्‌।—यशैया ३२:१, २; १ थिस्सलोनिकी २:७, ८.

यहोवाको सल्लाह स्वीकार्नुहोस्‌

अगमवक्‍ता यर्मियाको सचिव बारूकले आफ्नो कामले गर्दा उत्पन्‍न भएको भावनात्मक दबाउको कारण सुस्केरा हालेका थिए। तथापि, यहोवाले दयालु हुनुहुँदै बारूकको ध्यान वास्तविकतातर्फ खिच्नुभयो। “ ‘के तँ चाहिं आफ्नै निम्ति ठूला कुराहरू खोज्छस्‌? ती नखोज्‌। किनकि हेर्‌, म सबै प्राणीमाथि विपत्ति ल्याइरहेछु, तर तँ जहाँ जान्छस्‌ ती सबै ठाउँमा तेरो प्राण म तँलाई युद्धको लूटको धनसरह छोड़िदिनेछु, परमप्रभु भन्‍नुहुन्छ।’ ”—यर्मिया ४५:२-५.

यहोवाले बारूकको स्वार्थ नै तिनी हताश हुनुको कारण हो भनेर प्रस्ट पार्नुभयो। परमेश्‍वरले सुम्पनुभएको काममा बारूक आनन्दित हुन सकेनन्‌। किनकि अर्कोतिर तिनी आफ्नैनिम्ति ठूलठूला कुराहरू खोजिरहेका थिए। निरुत्साहमाथि विजय प्राप्त गर्ने प्रभावकारी कदम, दायाँबायाँ अरू कुरामा नअलमलिएर ईश्‍वरीय सन्तुष्टिबाट प्राप्त हुने मनोशान्तिलाई अँगाल्नु हो भनेर सायद तपाईंले पनि महसुस गर्नुहुनेछ।—फिलिप्पी ४:६, ७.

मोआबमा आफ्नो लोग्ने अनि दुई छोराहरूको मृत्यु हुँदा विधवा नाओमीले व्याकुल भएर हरेस खाइनन्‌। तथापि, केही समय तिनलाई आफू र आफ्ना बुहारीहरूको अवस्था देखेर साह्रै खल्लो लागेको छनक पाइन्छ। तिनीहरूलाई बिदा गर्दा नाओमीले यसो भनिन्‌: “परमप्रभु मेरो विरुद्धमा हुनुभएकोले मेरो अवस्था तिमीहरूको भन्दा खोटो छ।” फेरि बेतलेहेममा पुग्दा तिनले यसो भन्दै जिद्दी गरिन्‌: “मलाई नाओमी [“मीठास”] नभन। मलाई मारा [“तीतो”] भन, किनभने सर्वशक्‍तिमान्‌ले मेरो जीवन तीतो बनाइदिनुभएको छ।”—रूथ १:१३, २०, नयाँ संशोधित संस्करण।

तथापि, नाओमीले शोक गरेर आफूलाई यहोवा र उहाँका मानिसहरूबाट टाढा राखिनन्‌। “परमप्रभुले आफ्ना लोकको हेरचाहा गरेर तिनीहरूलाई भोजन दिनुभएको छ भन्‍ने” कुरा तिनी मोआबमा छँदा सुनेकी थिइन्‌। (रूथ १:६) आफ्नोलागि सबैभन्दा राम्रो स्थान परमेश्‍वरका जनहरू माझ हुनु नै हो भनेर तिनले बुझिन्‌। त्यसपछि, आफ्नी बुहारी रूथसँगै नाओमी यहूदा फर्किन्‌ र रूथलाई नातेदार तथा नयाँ मालिक बोअजसित गर्नुपर्ने व्यवहार कुशलतासाथ सिकाइन्‌।

त्यसै गरी आज पनि मृत्युका कारण आफ्नो लोग्ने वा स्वास्नी गुमाएका वफादार जनहरूले मसीही मण्डलीमा व्यस्त रहेर आफ्नो भावनात्मक तनाउसँग सफलतासाथ सामना गरिरहेका छन्‌। नाओमीजस्तै तिनीहरू पनि आध्यात्मिक कामकुरामा व्यस्त रहन्छन्‌ अनि दिनदिनै परमेश्‍वरको वचन पढ्‌छन्‌।

ईश्‍वरीय बुद्धि प्रयोग गर्दा हुने फाइदा

बाइबलका यी विवरणहरूले नकारात्मक भावनाहरूसित लड्‌न सकिन्छ भनेर कसरी बुझाउँछन्‌। आसापले परमेश्‍वरको मन्दिरमा आश्रय खोजे र धैर्यतासाथ यहोवामा भरोसा गरे। बारूकले सल्लाह स्वीकारे र भौतिक कुराहरूमा अलमलिन छोडे। नाओमीले तरुनी रूथलाई साँचो परमेश्‍वरको उपासना गर्ने सुअवसर प्राप्त गर्न तयार पार्दै यहोवाका जनहरूबीच सक्रिय भइन्‌।—१ कोरिन्थी ४:७; गलाती ५:२६; ६:४.

तपाईं पनि यहोवाले आफ्ना जनहरूलाई व्यक्‍तिगत अनि सामूहिक तवरमा दिनुभएको ईश्‍वरीय विजयमाथि विचार गर्दै निरुत्साह र अन्य नकारात्मक भावनाहरूमाथि विजयी हुन सक्नुहुन्छ। यहोवाले तपाईंको निम्ति छुटकाराको प्रबन्ध गर्नुभएर देखाउनुभएको ठूलो प्रेमबारे मनन गर्नुहोस्‌। साँचो मसीही भ्रातृत्वप्रेमको मूल्यांकन गर्नुहोस्‌। परमेश्‍वरको भावी नयाँ संसारमा बिताउनुहुने जीवनमा ध्यानकेन्द्रित गर्नुहोस्‌। अनि तपाईं आसापले जस्तै यसो भन्‍नुहोस्‌: “परमेश्‍वरको नजीक जान मेरो निम्ति असल छ। मैले तपाईंका सबै कार्यहरूको बयान गरूँ भनी मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्थान बनाएको छु।”—भजन ७३:२८.