सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरका उदेकलाग्दा कामहरूमा ध्यान दिनुहोस्‌

परमेश्‍वरका उदेकलाग्दा कामहरूमा ध्यान दिनुहोस्‌

परमेश्‍वरका उदेकलाग्दा कामहरूमा ध्यान दिनुहोस्‌

“हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले गर्नुभएको अचम्मका कामहरू र हामीतर्फको तपाईंको विचार धेरैनै छन्‌। तपाईंको सामने ती सम्झेर क्रमैसँग राख्नसकिंदैन।”–भजन ४०:५.

१, २. परमेश्‍वरका उदेकलाग्दा कामहरूको कस्तो प्रमाण छ र यसले हामीलाई के स्वीकार्न प्रेरित गर्नुपर्ने हो?

 बाइबल पढ्‌नुहुँदा परमेश्‍वरले आफ्ना पुरातन जन, इस्राएलका लागि कति उदेकलाग्दा कामहरू गर्नुभएछ, सजिलै थाह पाउन सक्नुहुन्छ। (यहोशू ३:५; भजन १०६:७, २१, २२) यहोवाले अहिले त्यसरी मानिसजातिको मामिलामा हस्तक्षेप गर्नुहुन्‍न तैपनि हामी आफ्नो वरपर उहाँका उदेकलाग्दा कामहरूको प्रशस्त प्रमाण पाउँछौं। त्यसकारण, भजनरचयितासँगसँगै यसो भन्‍ने हामीसित हर कारण छ: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्‌। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।”—भजन १०४:२४; १४८:१-५.

सृष्टिकर्ताका कामहरूको यस्तो सुस्पष्ट प्रमाण आज थुप्रैले बेवास्ता गर्छन्‌ वा इन्कार गर्छन्‌। (रोमी १:२०) तथापि, ती कुराहरूको विचार गर्नु अनि हाम्रो रचनाकारसामु हाम्रो के स्थान अनि के दायित्व रहेछ भनेर निष्कर्ष निकाल्नु हाम्रोनिम्ति उचित छ। यस सम्बन्धमा अय्यूब अध्याय ३८ देखि ४१ निकै मदतकारी साबित हुन्छ किनकि ती अध्यायहरूमा यहोवाले आफ्ना उदेकलाग्दा केही कामहरूतिर अय्यूबको ध्यान खिच्नुभएको छ। परमेश्‍वरले उठाउनुभएका केही मनासिब विषयहरूमा ध्यान दिनुहोस्‌।

शक्‍तिशाली अनि उदेकलाग्दा कामहरू

३. अय्यूब ३८:२२, २३, २५-२९ मा लिपिबद्ध गरिएअनुसार परमेश्‍वरले के के कुरा सोध्नुभयो?

एक चोटि परमेश्‍वरले अय्यूबलाई सोध्नुभयो: “के तँ हिउँको भण्डारमा पुगेको छस्‌? अथवा असिना थुपारेको स्थान तैंले देखेको छस्‌? जो मैले विपत्तिको दिनको युद्ध र लडाइँको घडीको निम्ति तयार पारी राखेको छु।” हाम्रो पृथ्वीका थुप्रै इलाकामा हिउँ र असिना जीवनको भाग नै भइसक्यो। परमेश्‍वरले अझै भन्‍नुभयो: “महा-वृष्टिको लागि कसले नहर खनेको छ? र तूफानको निम्ति बाटो कसले तयार गरेको छ? निर्जन ठाउँमा र उजाड़ वनमा वृष्टि हुनको निम्ति उजाड़ र रूखो जमीन हराभरा बनाउन र सुखा जमीनमा घाँसहरू उमार्न कसले बाटो तयार गऱ्‍यो? के वृष्टिको कुनै बाबु छ? शीतको थोपालाई जन्माउने बाबु को हो? कसको गर्भले हिउँलाई जन्मायो? आकाशबाट झर्ने तुसारोको आमा चाहिं को हो?”—अय्यूब ३८:२२, २३, २५-२९.

४-६. कुन अर्थमा हिउँसम्बन्धी मानिसको ज्ञान अपूरो छ?

व्यस्त जीवन बिताउने र यात्रा गरिरहने व्यक्‍तिहरूलाई हिउँ समस्याबाहेक अरू केही नलाग्ला। यद्यपि, अरू कतिपय भने हिउँदमा अत्यन्तै रमाइला विशेष कामकुराहरू गर्न पाइने भएकोले हिउँ पर्दा रमाइलो मान्छन्‌। परमेश्‍वरले सोध्नुभएको प्रश्‍नलाई विचार गर्दा के तपाईंसित हिउँ कस्तो देखिन्छ अथवा हिउँ के हो भन्‍ने विषयमा मात्र पनि पूरा ज्ञान छ? हुन त हामीलाई तस्बिर हेरेको वा आफैले हिऊँ देखेकोले हिउँको ढिस्को कस्तो हुन्छ भनेर थाह छ होला। तर हिमकणहरू नि? हिमकणहरू कस्ता हुन्छन्‌ भनेर के तपाईंले हिउँ पर्ने ठाउँमै गएर हेरिसक्नुभयो?

केही मानिसहरूले हिमकणहरूको अध्ययन र तस्बिर खिच्न थालेको दशकौं भइसक्यो। हिमकणमा १०० वटा जति स-साना कोमल शीतमणिहरू हुनसक्छन्‌ र ती बेग्लाबेग्लै सुन्दर आकृतिका हुन्छन्‌। एटमोसफेर शीर्षकको पुस्तक यसो भन्छ: “हिमपत्रहरूको अनगिन्ती आकार एकप्रकारले अद्वितीय छ र उस्तै प्रकारका आकृतिहरू बन्‍न सम्भव छ भनी वैज्ञानिकहरूले भने तापनि दुइटा उस्तै प्रकारको हिउँपत्र भने अहिलेसम्म फेला परेको छैन। विल्सन ए. बेन्टलीले . . . त्यस्तै एउटा विशाल खोज गरेका थिए र तिनले माइक्रोस्कोपद्वारा हिमकणहरूको तस्बिर खिच्न ४० वर्षभन्दा बढी समय बिताए तर दुइटा एकैनासे हिमकण भने भेट्टाएनन्‌।” यदाकदा दुरुस्तै देखिने हिमकण भेट्टाइ हाले तापनि, के यसले हिमकणको विशाल विविधतालाई कम अचम्मलाग्दो बनाउला?

परमेश्‍वरको प्रश्‍न सम्झनुहोस्‌: “के तँ हिउँको भण्डारमा पुगेको छस्‌?” थुप्रैले बादललाई नै हिउँको मुहान वा भण्डार ठान्छन्‌। ती थरिथरिका हिमकणका कति किसिमका मणिहरू छन्‌, त्यो गन्‍न र ती कसरी बनिए राम्ररी बुझ्न हिउँको भण्डारमा गएर खोजीनिती गरेको के तपाईं कल्पना गर्न सक्नुहुन्छ? एउटा विज्ञान विश्‍वकोश यसो भन्छ: “बादलका थोपाहरूलाई जमाउन माइनस ४० डिग्री सेल्सियस चाहिने हिउँको न्युक्लियसको प्रकृति अझै बुझ्न सकिएको छैन।”—भजन १४७:१६, १७; यशैया ५५:९, १०.

७. पानी पर्ने सम्बन्धमा मानिसको ज्ञान कत्तिको विस्तृत छ?

अनि वृष्टिबारे चाहिं के भन्‍न सकिन्छ नि? परमेश्‍वरले अय्यूबलाई सोध्नुभयो: “के वृष्टिको कुनै बाबु छ? शीतको थोपालाई जन्माउने बाबु को हो?” माथि उल्लिखित विश्‍वकोश यसो भन्छ: “वायुमण्डलीय गतिको जटिलता र हावाको कण अनि बाफको ठूलो विविधताले गर्दा बादल अनि पानीको कण कसरी बन्छ भनी विस्तृत सिद्धान्त प्रतिपादन गर्न असम्भव देखिन्छ।” सरल शब्दमा भन्‍ने हो भने वैज्ञानिकहरूले विस्तृत सिद्धान्तहरू पेश गरेका छन्‌ तर तिनीहरूले पानी पर्ने सम्बन्धमा सब थोक साँच्चै बुझ्न भने सकेका छैनन्‌। यद्यपि, तपाईंलाई थाह छ कि पानी पर्छ, जमिन भिज्छ, बोटबिरुवा फस्टाउँछ अनि पृथ्वीमा जीवन सम्भव हुनुका साथै मनोहर हुन्छ।

८. प्रेरित १४:१७ मा लिपिबद्ध पावलका शब्दहरू किन उपयुक्‍त छन्‌?

प्रेरित पावलले औंल्याएको निष्कर्षसित के तपाईं सहमत हुनुहुन्‍न? तिनले यी अद्‌भुत कार्यहरूमा सृष्टिकर्ताको प्रमाण खोज्न आग्रह गरे। पावलले यहोवा परमेश्‍वरबारे यसो भने: “यसो भए तापनि उहाँले आफूलाई विना गवाही छोड़नुभएन, यसरी कि उहाँले तपाईंहरूलाई हृदयमा खुराक र आनन्दले भरिदिनुभयो।”—प्रेरित १४:१७; भजन १४७:८.

९. परमेश्‍वरका उदेकलाग्दा कार्यहरूमा उहाँको शक्‍ति कसरी प्रकट हुन्छ?

यस्ता अद्‌भुत अनि लाभदायक काम गर्नुहुने व्यक्‍तिको अपार बुद्धि र शक्‍ति छ भन्‍ने कुरामा कुनै शंका हुन सक्दैन। उहाँको शक्‍तिको सम्बन्धमा यस तथ्यलाई विचार गर्नुहोस्‌: भनिन्छ, हरेक दिन सालाखाला ४५,००० चोटि र यसरी प्रति वर्ष १ करोड ६० लाखभन्दा बढी पटक मेघ गर्जन्छ। यसको अर्थ, अहिले यतिखेर २,००० चोटि जति मेघ गर्जिरहेको छ। तपाईंले यसरी बिजुली चम्केको देख्नुहुने जटिल मेघले एक चोटिमा, दोस्रो विश्‍वयुद्धमा खसालिएको दसवटा वा त्योभन्दा बढी आणविक बमबाट निस्कने शक्‍ति बराबरको शक्‍ति निकाल्छ। त्यही शक्‍तिको केही भाग तपाईंले आकाशमा बिजुली चम्केको जस्तो देख्नुहुन्छ। यो विस्मयकारी हुनुका साथै बिजुली चम्कँदा एक प्रकारको नाइट्रोजन उत्पादन हुन्छ र त्यो जमिनले सोस्छ अनि त्यसलाई बोटबिरुवाले प्राकृतिक मलको रूपमा प्रयोग गर्छ। अतः बिजुली चम्कनु शक्‍तिको बाह्‍य रूप हो तर यसका लाभहरू छन्‌।—भजन १०४:१४, १५.

तपाईं कुन निष्कर्षमा पुग्नुहुन्छ ?

१०. अय्यूब ३८:३३-३८ मा सोधिएका प्रश्‍नहरूको जवाफ तपाईं कसरी दिनुहुन्छ?

१० अय्यूबको ठाउँमा आफूलाई राख्नुहोस्‌ अनि सर्वशक्‍तिमान्‌ परमेश्‍वरले प्रश्‍न गरिरहनुभएको दृश्‍य कल्पना गर्नुहोस्‌। परमेश्‍वरका उदेकलाग्दा कामहरूमा मानिसहरूले त्यति ध्यान दिएका छैनन्‌ भनेर सायद तपाईं सहमत हुनुहुन्छ होला। अय्यूब ३८:३३-३८ मा यहोवाले हामीसित सोध्नुभएका यी प्रश्‍नहरू पाउँछौं। “आकाशको शासन गर्ने नियमहरूलाई के तैंले घोषणा गरेको होस्‌? अथवा पृथ्वीको प्राकृतिक नियमहरूलाई तैंले ठहराएको होस्‌? त्यसका पानीको भारले तँलाई छोपोस्‌ भनी के घनघोर बादललाई तैंले हुकूम गर्नसक्छस्‌? तैंले बिजुलीलाई चम्कन लाउँदा ‘म तयार छु’ भनी त्यसले भन्छ र? कसले सासलाई बुद्धि दियो? कसले भालेलाई पूर्व-ज्ञान दियो? को यस्तो बुद्धिमानी छ जसले बुद्धिको मेघलाई जम्मा गर्छ, र आकाशमा भएको भण्डारलाई रित्याउँछ? जब धूलोले भरिएको माटो फलामझैं कड़ा हुन्छ, र माटोको डल्ला एकसाथ टाँसेर बस्छ।”

११, १२. परमेश्‍वर उदेकलाग्दा कामहरू गर्नुहुने हुनुहुन्छ भनेर प्रमाणित गर्ने केही कुरा के हुन्‌?

११ एलीहूले अय्यूबलाई प्रश्‍न गरेका केही बुँदाहरू र यहोवाले अय्यूबलाई “मर्दझैं” जवाफ दिन लाउनुभएका केही अंशहरू मात्र हामीले छलफल गऱ्‍यौं। (अय्यूब ३८:३) हामी “केही” भन्दैछौं किनभने अध्याय ३८ र ३९ मा परमेश्‍वरले सृष्टिका अरू थुप्रै उल्लेखनीय पक्षहरूतिर ध्यानकेन्द्रित गर्नुभयो। उदाहरणका लागि, आकाशमण्डललाई लिनुहोस्‌। कसलाई ती सबैको नियमहरू थाह छ? (अय्यूब ३८:३१-३३) यहोवाले अय्यूबको ध्यान केही जनावरहरूतर्फ पनि खिच्नुभयो। जस्तै सिंह र काग, घोरल र वन-गधा, अर्ना-भैंसी र शतुर्मूर्ग, शक्‍तिशाली घोडा र चिल। परमेश्‍वरले अय्यूबलाई तिनले यी थरिथरिका जनावरहरूलाई आ-आफ्नो जीवन धान्‍ने र सपार्ने स्वभाव दिएको हो र भनेर सोध्नुभयो। तपाईंलाई विशेष गरी घोडा र अरू जनावरहरू मनपर्छ भने यी अध्यायहरू पढ्‌नु रमाइलो लाग्नसक्छ।—भजन ५०:१०, ११.

१२ वास्तवमा, तपाईंले अय्यूब अध्याय ४० र ४१ पनि जाँच्न सक्नुहुन्छ। त्यहाँ यहोवाले अय्यूबलाई विशेष गरी दुइटा प्राणीबारे प्रश्‍न गर्नुभएको छ। हामीलाई थाह भएसम्म ती दुई प्राणी, भयानक शरीर र बलियो जीउडाल भएको जलगैंडा (बेहिमोथ) र नील नदीमा पाइने गोही (लिभियाथान) हो। यी दुवै प्राणी बेग्लाबेग्लै तरिकामा अद्‌भुत छन्‌ र ध्यान दिएर हेर्न लायकका छन्‌। आउनुहोस्‌, अब हामी कस्तो निष्कर्षमा पुग्नुपर्ने हो, हेरौं।

१३. परमेश्‍वरले सोध्नुभएका प्रश्‍नहरूले अय्यूबमा कस्तो प्रभाव पाऱ्‍यो र यी कुराहरूले हामीलाई कसरी असर गर्नुपर्ने हो?

१३ परमेश्‍वरका प्रश्‍नहरूले अय्यूबमाथि कस्तो प्रभाव पाऱ्‍यो, अय्यूब अध्याय ४२ ले बताउँछ। पहिले अय्यूबले आफू र अरूलाई बढ्‌तै महत्त्व दिएका थिए। तर परमेश्‍वरले सोध्नुभएका प्रश्‍नहरूमार्फत पाएका सुधारहरू स्वीकारिसकेपछि अय्यूबले आफ्नो सोचाइ परिवर्तन गरे। तिनले यसरी स्वीकारे: “तपाईं [यहोवा] सबै कुरा गर्नसक्नुहुन्छ भनी म जान्दछु, औ कुनै काम पनि तपाईंको शक्‍तिको बाहिर छैन। तर मैले ता म आफैले नजानेका महान्‌ कामहरूका विषयमा भनेको छु, मैले जान्‍न नसक्ने साह्रै अचम्मका कुराहरू!” (अय्यूब ४२:२, ३) हो, परमेश्‍वरका कामहरूमा ध्यान दिइसकेपछि अय्यूबले यी कुराहरू आफ्नो लागि अत्यन्तै उदेकलाग्दो छ भनी बताए। यी अद्‌भुत सृष्टिको पुनरावलोकन गरिसकेपछि परमेश्‍वरको महान्‌ बुद्धि र शक्‍तिदेखि हामी पनि त्यतिकै प्रभावित हुनुपर्ने हो। किन? उहाँको अपार शक्‍ति र क्षमता देखेर प्रभावित हुन्‌? वा त्योभन्दा अझ बढी प्रभावित हुनुपर्ने हो?

१४. परमेश्‍वरका उदेकलाग्दा कामहरू देखेर दाऊदले कस्तो प्रतिक्रिया व्यक्‍त गरे?

१४ भजन ८६ मा दाऊदले यससित मिल्दोजुल्दो अभिव्यक्‍ति जाहेर गरेको पाउँछौं र तिनले यसअघि यस्तो भजन गाएका थिए: “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ, दिनले दिनसँग बात गर्छ, र रातले रातलाई ज्ञान सिकाउँछ।” (भजन १९:१, २) तर दाऊदले त्यति मात्र भनेनन्‌। भजन ८६:१०, ११ मा हामी यसो लेखिएको पाउँछौं: “तपाईं महान्‌ हुनुहुन्छ, र आश्‍चर्यकामहरू गर्नुहुन्छ। तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ। हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्‌, म तपाईंको सत्यतामा हिंड्‌नेछु। तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्‌।” सृष्टिकर्ताका उदेकलाग्दा कामहरू देखेर दाऊदले आश्‍चर्य प्रकट गरेर मात्र चित्त बुझाएनन्‌, उहाँप्रति श्रद्धेय भय पनि देखाए। तपाईं त्यसको कारण बुझ्न सक्नुहुन्छ। दाऊदले यस्ता अद्‌भुत कार्यहरू गर्न सक्नुहुने व्यक्‍तिलाई अप्रसन्‍न तुल्याउन चाहेनन्‌। हामीले पनि नचाहनु पर्ने हो।

१५. परमेश्‍वरप्रति दाऊदको श्रद्धेय भय किन उपयुक्‍त थियो?

१५ परमेश्‍वरसित अत्यधिक शक्‍ति हुनुका साथै त्यो शक्‍ति नियन्त्रण गर्नसक्नु हुने भएकोले उहाँको ईश्‍वरीय अनुग्रह पाउन अयोग्य व्यक्‍तिहरू विरुद्ध उहाँले त्यो शक्‍ति प्रयोग गर्न सक्नुहुन्छ भनेर दाऊदले बुझेको हुनैपर्छ। तिनीहरूका लागि त्यो अनिष्टकारी हुनेछ। परमेश्‍वरले अय्यूबलाई सोध्नुभयो: “के तँ हिउँको भण्डारमा पुगेको छस्‌? अथवा असिना थुपारेको स्थान तैंले देखेको छस्‌? जो मैले विपत्तिको दिनको युद्ध र लड़ाइँको घड़ीको निम्ति तयार पारी राखेको छु।” हिउँ, असिना, वर्षा, बतास, मेघ गर्जन सबै परमेश्‍वरका हतियारहरू हुन्‌। अनि यी प्राकृतिक शक्‍तिहरू कम भयानक छैनन्‌!—अय्यूब ३८:२२, २३.

१६, १७. परमेश्‍वरसित भएको अथाह शक्‍तिलाई केले चित्रण गर्छ र उहाँले विगतमा यस्तो शक्‍ति कसरी प्रयोग गर्नुभयो?

१६ यीमध्ये कुनै एउटा अर्थात्‌ तुफान, भुमरी, असिना वा बाढीले तपाईंको इलाकामा पुऱ्‍याएको क्षति त सम्झनुभएको होला। उदाहरणका लागि, सन्‌ १९९९ को अन्ततिर दक्षिणपश्‍चिम युरोपमा ठूलो हुरीबतास चलेको थियो। यो देखेर मौसमविद्‌हरूसमेत छक्कै परेका थिए। दुई सय किलोमिटर प्रति घण्टाको गतिमा बहिरहेको यो तुफानी बतासले घरको छाना उडायो, बिजुलीका खम्बाहरू ढाल्यो अनि ट्रकहरू पल्टायो। अब यो दृश्‍य कल्पना गर्ने प्रयास गर्नुहोस्‌। उक्‍त हुरी बतासले २७ करोड जति रूखहरू उखेल्यो वा दुई टुक्रा पाऱ्‍यो अनि पेरिसबाहिर भर्साइल पार्कमा मात्रै १०,००० वटा रूख ढाल्यो। लाखौं घरमा बिजुली थिएन। लगभग १०० जनाको ज्यान गयो। क्षणभरमै यी सब भयो। कस्तो भयानक शक्‍ति!

१७ कोही कोही आँधीबेहरीलाई अन्धाधुन्ध, जथाभाबी चल्ने, अनियन्त्रित शक्‍ति भन्छन्‌। अद्‌भुत कार्यहरू गर्नुहुने सर्वशक्‍तिमान्‌ परमेश्‍वरले यस्ता शक्‍तिहरूलाई नियन्त्रण गरेर कुनै खास दिशातर्फ मात्र केन्द्रित गर्नुभयो भने के हुन्थ्यो होला? उहाँले अब्राहामको समयमा त्यसै गर्नुभयो। पृथ्वीको न्यायकर्ताले सदोम र गमोराको दुष्टता तौलिसक्नुभएको थियो भनेर अब्राहामले थाह पाइसकेका थिए। तिनीहरू अत्यन्तै भ्रष्ट भएकोले तिनीहरूको गुनासो परमेश्‍वरसम्म पुगिसकेको थियो र उहाँले यी दोषी शहरहरूबाट सबै धर्मी मानिसहरूलाई उम्कन मदत गर्नुभयो। इतिहासले यस्तो विवरण दिन्छ: यी पुरातन शहरहरूमाथि “यहोवाले आकाशबाट आगो र गन्धक वर्षाउनुभयो।” धर्मीहरूलाई जोगाएर अपश्‍चात्तापी दुष्टहरूलाई विनाश गर्नु पनि परमेश्‍वरको उदेकलाग्दो काम थियो।—उत्पत्ति १९:२४.

१८. यशैया अध्याय २५ ले कस्ता उदेकलाग्दा कामहरूतिर औंल्याउँछ?

१८ पछि यहोवाले पुरातन शहर, बाबेललाई पनि त्यस्तै दण्ड दिने निर्णय सुनाउनुभयो र यस शहरबारे यशैया अध्याय २५ मा लेखिएको छ। परमेश्‍वरले उक्‍त शहर विनाश हुनेछ भनी अगमवाणी गर्नुभयो: “तपाईंले शहरलाई ढुंगाको थुप्रो बनाइदिनुभएको छ। सुरक्षित [“नगरलाई,” नयाँ संशोधित संस्करण] ध्वंस गर्नुभयो। विदेशीहरूको महलहरूले भरिएको शहर अब शहर रहेन। त्यो फेरि कहिल्यै बनाइनेछैन।” (यशैया २५:२) अहिले त्यो पुरातन बाबेल भएको ठाउँ हेर्न जाने आगन्तुकहरूले उक्‍त भविष्यवाणी सत्य साबित भयो भन्‍ने पुष्टि दिनसक्छन्‌। के बाबेलको विनाश संयोग मात्र थियो? थिएन। बरु, हामी यशैयाको यो धारणा स्वीकार्न सक्छौं: “हे परमप्रभु, तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, म तपाईंको प्रशंसा गर्छु। म तपाईंको नाउँको स्तुति गर्छु, किनकि तपाईंले आश्‍चर्यका कामहरू गर्नुभयो। तादिका तपाईंका योजना पूर्ण रूपले पूरा भएको छ।”—यशैया २५:१.

भावी उदेकलाग्दा कामहरू

१९, २०. हामी यशैया २५:६-८ को कस्तो पूर्तिको आशा गर्नसक्छौं?

१९ परमेश्‍वरले विगतमा उपरोक्‍त भविष्यवाणी पूरा गर्नुभयो र भविष्यमा पनि अचम्मलाग्दो तरिकामा पूरा गर्नुहुनेछ। यस सन्दर्भमा, जहाँ यशैयाले परमेश्‍वरले गर्नुहुने “आश्‍चर्यका कामहरू” उल्लेख छन्‌, त्यसलाई विचार गर्ने हो भने बाबेलमाथि भविष्यसूचक न्याय अचूक रूपले पूरा भएझैं अवश्‍य पूरा हुने एउटा भरपर्दो भविष्यवाणी बाँकी नै रहेको पाउँछौं। कस्तो “आश्‍चर्यका कामहरू” प्रतिज्ञा गरिएको छ? यशैया २५:६ यसो भन्छ: “सेनाहरूका यहोवाले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठामीठा थोकहरू—छिप्पिएको मद्य, असल असल स्वादिष्ट थोकहरू, एकदमै छिप्पिएको छानेको मद्यको भोज लाउनुहुनेछ।”

२० परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा त्यो भविष्यवाणी अवश्‍य पूरा हुनेछ भनी हामी ढुक्क हुन सक्छौं। अहिले थुप्रै मानिसलाई पिरोलिरहेका समस्याहरू त्यतिबेला हुनेछैनन्‌। वास्तवमा, यशैया २५:७, ८ को भविष्यवाणीले परमेश्‍वरले आफ्नो शक्‍ति प्रयोग गर्नुभएर सबैभन्दा आश्‍चर्यको काम गर्नुहुनेछ भनी ग्यारेन्टी दिन्छ: “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा दूर गर्नुहुनेछ, किनकि परमप्रभुले यसै भन्‍नुभएको छ।” पछि प्रेरित पावलले यही कुरा उद्धरण गर्दै परमेश्‍वरले मरेकाहरूको पुनरुत्थान गर्नुभएर तिनीहरूलाई फेरि जीवन दिनुहुनेछ भनेर बताए। त्यो कस्तो उदेकलाग्दो कार्य हुनेछ!—१ कोरिन्थी १५:५१-५४.

२१. परमेश्‍वरले मरेकाहरूको निम्ति कस्तो उदेकको काम गर्नुहुनेछ?

२१ कसैले दुःखको आँसु बगाउन नपर्नुको अर्को कारण हो, शारीरिक रोगबिमार नहुनु। यस पृथ्वीमा हुनुहुँदा येशूले अन्धालाई ज्योति दिनुभयो, बहिरालाई सुन्‍न सक्ने बनाउनुभयो अनि अपांगलाई तन्दरुस्त पार्नुभयो अनि त्यस्तै गरी थुप्रैलाई निको पार्नुभएको थियो। लगभग ३८ वर्षसम्म लंगडो भएर जीवन बिताइसकेको व्यक्‍तिलाई येशूले निको पार्नुभएको विवरण हामी यूहन्‍ना ५:५-९ मा पाउँछौं। यो घटना देख्नेहरूले त्यसलाई चमत्कार वा अद्‌भुत कार्यको रूपमा मानिलिए। र थियो पनि! तथापि, येशूले त्योभन्दा अझ अद्‌भुत काम त मरेकाहरूको पुनरुत्थान हुनेछ भनी बताउनुभयो: “यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌। औ भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, तर कुभलो गर्नेहरूचाहिं इन्साफको पुनरुत्थानको निम्ति निस्किआउनेछन्‌।”—यूहन्‍ना ५:२८, २९.

२२. गरिब र दरिद्रहरूले राम्रो भविष्यको किन आशा गर्नसक्छन्‌?

२२ यो पक्कै हुनेछ किनभने यो हुनेछ भनी प्रतिज्ञा गर्नुहुने व्यक्‍ति स्वयम्‌ यहोवा हुनुहुन्छ। उहाँले आफ्नो महान्‌ शक्‍ति सुधार गर्न प्रयोग गर्नुहुँदा त्यसको परिणाम उदेकलाग्दो हुनेछ भनी ढुक्क हुनुहोस्‌। उहाँले आफ्नो राजा पुत्रद्वारा यसो गर्नुहुनेछ भनी भजन ७२ ले देखाउँछ। तब धर्मीहरूको फलिफाप हुनेछ। प्रशस्त शान्ति हुनेछ। परमेश्‍वरले गरिब तथा दरिद्रहरूलाई छुटकारा दिनुहुनेछ। उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ। त्यसको फल [पुरातन] लबानोनको देवदारझैं हल्लिनेछन्‌। र शहरकाहरूचाहिं पृथ्वीका घाँसझैं सप्रनेछन्‌।”—भजन ७२:१६.

२३. परमेश्‍वरका उदेकलाग्दा कामहरूले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्ने हो?

२३ स्पष्टतः यहोवाले बितेका दिनहरूमा गर्नुभएका, अहिले गरिरहनुभएका अनि निकट भविष्यमा सम्पूर्ण उदेकलाग्दा कामहरूमा ध्यान दिनुपर्ने कारण हामीसित छ। “यहोवा, इस्राएलका परमेश्‍वर धन्यका होऊन्‌, उहाँले मात्र उदेकको काम गर्नुहुन्छ। उहाँको पराक्रमी नाउँ सदा सर्वदै धन्यको होस्‌। सारा पृथ्वी उहाँको महिमाले भरपूर होस्‌। आमेन, आमेन।” (भजन ७२:१८, १९) यस्तो उद्‌गार हाम्रो नातेदार र अरूसितको दैनिक कुराकानीको भाग हुनुपर्छ। हो, “उहाँको महिमाको वर्णन जाति जातिका बीचमा . . . सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरू वर्णन” गरिरहौं।—भजन ७८:३, ४; ९६:३, ४.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• अय्यूबलाई सोधिएका प्रश्‍नहरूले मानिसको ज्ञान सीमित छ भनेर कसरी स्पष्ट पार्छ?

अय्यूब अध्याय ३७-४१ मा प्रस्ट पारिएका परमेश्‍वरका उदेकलाग्दा कामहरूको कुनचाहिं उदाहरणले तपाईंलाई प्रभाव पाऱ्‍यो?

• परमेश्‍वरका केही उदेकलाग्दा कामहरू विचार गरिसकेपछि हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्ने हो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएका चित्रहरू]

हिमकणको अचम्मलाग्दो विशाल विविधता र बिजुली चम्कनुजस्तो विस्मयकारी शक्‍तिबारे तपाईं निष्कर्षमा के भन्‍नुहुन्छ ?

[स्रोत]

snowcrystals.net

[पृष्ठ १३-मा भएका चित्रहरू]

परमेश्‍वरका उदेकका कामहरू हाम्रो दैनिक कुराकानीको भाग होस्‌