सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आनन्दित परमेश्‍वरसँग खुसी हुनुहोस्‌

आनन्दित परमेश्‍वरसँग खुसी हुनुहोस्‌

आनन्दित परमेश्‍वरसँग खुसी हुनुहोस्‌

“अन्त्यमा, ए भाइ हो, बिदाको सलाम [ “आनन्दित होओ,” NW]। . . . प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ।”—२ कोरिन्थी १३:११.

१, २. (क) आज थुप्रैको जीवनमा किन आनन्द छैन? (ख) आनन्द भनेको के हो र यो हामी कसरी खेती गर्नसक्छौं?

 यस अन्धकारमय समयमा धेरै मानिसले आनन्दित हुने कमै मात्र कारणहरू भेट्टाउँछन्‌। आफू वा आफ्ना प्रिय जनहरूमाथि दुःख आइपर्दा तिनीहरू पुरातन अय्यूबले जस्तै महसुस गर्छन्‌। तिनले यसो भनेका थिए: “स्त्रीबाट जन्मेको मानिस अल्प-आयुका र अशान्तिले भरिएको हुन्छ।” (अय्यूब १४:१) यस “डरलाग्दो समय[मा]” आइपर्ने दबाउ तथा तनाउहरूबाट मसीहीहरू मुक्‍त छैनन्‌ र कहिलेकाहीं यहोवाका विश्‍वासी सेवकहरू निरुत्साहित हुनु कुनै छक्कलाग्दो कुरा होइन।—२ तिमोथी ३:१.

तैपनि, मसीहीहरू परीक्षाको बेला समेत आनन्दित हुनसक्छन्‌। (प्रेरित ५:४०, ४१) यो कसरी सम्भव छ भनी बुझ्न, पहिला आनन्द भनेको के हो, त्यसबारे विचार गर्नुहोस्‌। आनन्दलाई “कुनै असल कुराको प्राप्ति वा पछि प्राप्त हुने आशाले उत्पन्‍न हुने अनुभूति” भनी परिभाषित गरिएको छ। a तसर्थ, परमेश्‍वरको नयाँ संसारमा प्राप्त हुने आशिष्‌हरूबारे मनन गर्दै हाल पाइरहेका आशिष्‌हरूमाथि मनन गर्ने समय निकाल्यौं भने हामी आनन्दित हुनसक्छौं।

३. सबैसित आनन्दित हुने कुनै न कुनै कारण छ भनी कुन अर्थमा भन्‍न सकिन्छ?

हामी सबैले कृतज्ञ हुनुपर्ने केही न केही आशिष्‌हरू पाएका छौं। परिवारको शिरले आफ्नो जागिर गुमाउनसक्छन्‌। स्वाभाविकतः तिनी चिन्तित छन्‌। तिनी आफ्ना प्रियजनका आवश्‍यकताहरू पूरा गर्न चाहन्छन्‌। यद्यपि, तिनी शारीरिक तवरमा तन्दुरुस्त र बलियो छन्‌ भने तिनी त्यसको लागि कृतज्ञ हुनसक्छन्‌। किनकि अर्को जागिर पायो भने तिनले फेरि मेहनत गर्नसक्छन्‌। अर्कोतर्फ, मसीही स्त्री अकस्मात्‌ लागेको रोगले गर्दा अशक्‍त भएको हुनसक्छ। तैपनि, सम्मान र साहसका साथ रोग सहन मदत गर्ने मायालु साथी तथा परिवारका सदस्यहरूको निम्ति तिनी धन्यवादी हुनसक्छिन्‌। अनि परिस्थिति जस्तोसुकै भए तापनि सबै साँचो मसीहीहरू “आनन्दित परमेश्‍वर” [NW] यहोवा र “परमधन्य र अद्वितीय” येशू ख्रीष्टलाई चिन्‍ने सुअवसर पाएकोमा आनन्दित हुनसक्छन्‌। (१ तिमोथी १:११; ६:१५) हो, यहोवा परमेश्‍वर र येशू ख्रीष्ट अत्यन्तै आनन्दित व्यक्‍तिहरू हुनुहुन्छ। पृथ्वीको अवस्था यहोवाको सुरुको उद्देश्‍यभन्दा एकदमै भिन्‍न भए तापनि उहाँहरूले आनन्द गुमाउनुभएको छैन। उहाँहरूको उदाहरणले हाम्रो आनन्द कायम राख्ने सन्दर्भमा धेरै कुरा सिकाउनसक्छ।

उहाँहरूले कहिल्यै आफ्नो आनन्द गुमाउनुभएको छैन

४, ५. (क) प्रथम मानवहरूले विद्रोह गर्दा यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? (ख) यहोवाले मानिसजातिप्रति कसरी सकारात्मक मनोभाव राख्नुभयो?

आदम र हव्वाले अदनको बगैंचामा स्वस्थ शरीर र सिद्ध दिमागको आनन्द उठाए। तिनीहरूले फलदायी काम पाएका थिए र काम गर्ने वातावरण पनि सुन्दर थियो। अझ त्योभन्दा पनि उत्तम कुरा त, तिनीहरूले यहोवासँग नियमित तवरमा कुरा गर्ने सुअवसर पाएका थिए। तिनीहरूले सुखमय भविष्यको आनन्द उठाऊन्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य थियो। तर हाम्रा प्रथम आमाबाबु ती सबै असल वरदानहरू पाएर पनि सन्तुष्ट भएनन्‌। तिनीहरूले निषेध गरिएको “असल र खराबको ज्ञान दिने रूखको फल” चोरेर खाए। यो अनाज्ञाकारी काम आज तिनीहरूको सन्तान हामीले भोगिरहेका सबै प्रकारको दुःखको कारण भयो।—उत्पत्ति २:१५-१७; ३:६; रोमी ५:१२.

तथापि, आदम र हव्वाको कृतघ्न मनोभाव देखी वाक्क भएर यहोवाले आफूलाई दुःखी बनाउनु भएन। तिनीहरूको कुनै न कुनै सन्तान उहाँलाई उपासना गर्न अग्रसर हुनेछ भनी उहाँ विश्‍वस्त हुनुहुन्थ्यो। साँच्चै भन्‍ने हो भने, उहाँ यति विश्‍वस्त हुनुहुन्थ्यो कि आदम र हव्वाको पहिलो सन्तान जन्मनुअघि नै तिनीहरूको आज्ञाकारी सन्तानलाई उद्धार गर्ने आफ्नो उद्देश्‍य घोषणा गर्नुभयो! (उत्पत्ति १:३१; ३:१५) त्यसपछिका शताब्दीहरूमा अधिकांश मानिसजाति आदम र हव्वाको पाइलामै हिंडे तापनि यहोवाले जताततै अनाज्ञाकारीता देखेर मानव परिवारलाई तिरस्कार गर्नुभएन। बरु, उहाँको ‘हृदयलाई आनन्द तुल्याउने’ अनि उहाँलाई साँच्चै प्रेम गर्नुका साथै खुसी तुल्याउन साँचो प्रयास गर्ने पुरुष तथा स्त्रीहरूतिर ध्यान दिनुभयो।—हितोपदेश २७:११; हिब्रू ६:१०.

६, ७. के-कस्ता कारणहरूले येशूलाई आनन्दित भइरहन मदत गऱ्‍यो?

येशूले चाहिं के गर्नुभयो नि? उहाँ कसरी आनन्दित रहिरहनुभयो? स्वर्गमा शक्‍तिशाली आत्मिक प्राणी भएको नाताले उहाँले पृथ्वीमा पुरुष तथा स्त्रीहरूको गतिविधि हेर्ने प्रशस्त मौका पाउनुभएको थियो। तिनीहरूको असिद्धता छर्लंग थियो, तैपनि येशू तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो। (हितोपदेश ८:३१) पछि पृथ्वीमा आउनुभएर साँच्चै मानिसहरूसँग “बास” गर्नुहुँदा समेत उहाँको मानिसजातिप्रतिको दृष्टिकोण परिवर्तन भएन। (यूहन्‍ना १:१४) के कारणले गर्दा परमेश्‍वरको सिद्ध पुत्रले पापी मानव परिवारप्रति त्यस्तो सकारात्मक दृष्टिकोण राख्न सक्नुभयो?

प्रथमतः येशू आफू र अरूबाट व्यावहारिक आशा गर्नुहुन्थ्यो। आफूले संसारलाई परिवर्तन गर्नसक्ने छैन भनेर उहाँलाई थाह थियो। (मत्ती १०:३२-३९) त्यसकारण, एक जना निष्कपट व्यक्‍तिले राज्य सन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाउँदा मात्र पनि उहाँ आनन्दित हुनुहुन्थ्यो। उहाँका चेलाहरूको आचरण र मनोभाव सधैं सही नभए तापनि तिनीहरू हृदयदेखि नै साँच्चै परमेश्‍वरको इच्छा गर्न चाहन्छन्‌ भनी येशूलाई थाह थियो र यही कारणले गर्दा उहाँ तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो। (लूका ९:४६; २२:२४, २८-३२, ६०-६२) अझ भन्‍ने हो भने, स्वर्गमा हुनुहुने आफ्नो पितासँग प्रार्थना गर्नुहुँदा उहाँले आफ्ना चेलाहरूले त्यतिबेलासम्म चालेका सकारात्मक कदमबारे छोटकरीमा यसो भन्‍नुभयो: “तिनीहरूले तपाईंको वचन पालन गरेका छन्‌।”—यूहन्‍ना १७:६.

८. हाम्रो आनन्द कायम गर्ने सन्दर्भमा हामीले यहोवा अनि येशूको अनुकरण गर्नसक्ने केही तरिका उल्लेख गर्नुहोस्‌।

निस्सन्देह, यस सन्दर्भमा यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टले बसाल्नुभएको उदाहरणलाई विचार गर्दा हामी सबैले लाभ उठाउनेछौं। आफूले आशा गरेजस्तो नहुँदा अत्यन्तै चिन्तित नभई के हामी यहोवाको अझ राम्ररी अनुकरण गर्नसक्छौं? आफ्नो वर्तमान परिस्थितिबारे सकारात्मक दृष्टिकोण राखेर अनि आफू र अरूबाट आशा राख्ने कुरामा व्यावहारिक भएर के हामी अझ राम्ररी येशूको पाइला पछ्याउनसक्छौं? सबै जोसिला मसीहीहरूको महत्त्वपूर्ण पक्ष अर्थात्‌ क्षेत्र सेवकाईमा यीमध्ये केही सिद्धान्तहरू कसरी व्यावहारिक ढंगमा लागू गर्न सकिन्छ, आउनुहोस्‌ हामी हेरौं।

सेवकाईप्रति सकारात्मक दृष्टिकोण कायम राख्नुहोस्‌

९. यर्मियाको आनन्द कसरी फेरि जाग्यो र तिनको उदाहरणले हामीलाई कसरी मदत गर्नसक्छ?

हामीले आनन्दित भई सेवा गरेको यहोवा चाहनुहुन्छ। हाम्रो आनन्द हामीले प्राप्त गर्ने नतिजाहरूमा निर्भर हुनु हुँदैन। (लूका १०:१७, २०) अगमवक्‍ता यर्मियाले अफलदायी इलाकामा वर्षौंसम्म प्रचार गरे। मानिसहरूको नकारात्मक प्रतिक्रियामा ध्यानकेन्द्रित गरेर तिनले आफ्नो आनन्द गुमाए। (यर्मिया २०:८) तर आफूले सुनाइरहेको असल सन्देशमा घोरिंदा तिनी फेरि आनन्दित भए। यर्मियाले यहोवालाई यसो भने: “तपाईंका वचन पाइए औ मैले ती खाएँ, तपाईंका वचन मलाई रमाहट, र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनभने हे सेनाहरूका परमप्रभु, तपाईंको नाउँले म कहलाइन्छु।” (यर्मिया १५:१६) हो, परमेश्‍वरको वचन प्रचार गर्ने सुअवसर पाएकोमा यर्मिया आनन्दित भए। हामी पनि आनन्दित हुनसक्छौं।

१०. हाम्रो इलाका अहिले फलदायी नभए तापनि हामी कसरी सेवकाईमा आफ्नो आनन्द कायमै राख्नसक्छौं?

१० अधिकांश मानिसहरूले सुसमाचार सुन्‍न इन्कार गरे तापनि क्षेत्र सेवकाईमा भाग लिंदा आनन्दित हुने हामीसँग प्रशस्त कारण छ। नर्बिसनुहोस्‌, कोही कोही मानिस उहाँको सेवा गर्न अग्रसर हुनेछन्‌ भन्‍ने कुरामा यहोवा पूर्णतया विश्‍वस्त हुनुहुन्थ्यो। आखिरमा कसै न कसैले सार्वभौमिकताको विवाद अवश्‍य बुझ्नेछ र राज्य सन्देश स्वीकार्नेछ भन्‍ने आशा राखेर यहोवाले हार नमान्‍नु भए जस्तै हामीले पनि कहिल्यै हार मान्‍नु हुँदैन। मानिसहरूको परिस्थिति परिवर्तन हुन्छ भनी हामीले कहिल्यै बिर्सनु हुँदैन। मनमै नचिताएको क्षति वा समस्या आइपर्दा अरू कुनै कुरा चासो नराखि आफैमा सन्तोष भएको मानिसले समेत जीवनको अर्थबारे घोरिएर सोच्न थाल्नसक्छ। त्यस्ता मानिस ‘आध्यात्मिक कुराबारे’ सजग हुँदा के तिनलाई मदत गर्न तपाईं जुट्‌नुहुनेछ? (मत्ती ५:३) के थाह, तपाईंको इलाकाका कोही कोही अर्को चोटि जाँदा नै सुसमाचार सुन्‍न तयार होलान्‌ कि!

११, १२. एउटा शहरमा के भयो र हामी यसबाट कस्तो पाठ सिक्नसक्छौं?

११ हाम्रो इलाकाको रहनसहन पनि परिवर्तन हुनसक्छ। एउटा उदाहरण विचार गर्नुहोस्‌। एउटा सानो शहरमा, आपसमा असाध्यै मिल्ती भएका थुप्रै दम्पतीहरू बस्थे। तिनीहरूको उमेर छिप्पिसकेको थिएन र तिनीहरूका छोराछोरी पनि थिए। तिनीहरू प्रत्येकको घरमा जाँदा यहोवाका साक्षीहरूले सधैं “हामीलाई चासो छैन!” भन्‍ने जवाफ पाउँथे। तिनीहरूमध्ये कसैले राज्य सन्देशप्रति चासो देखाइहाले भने पनि छिमेकीहरूले साक्षीहरूसित फेरि भेटघाट गरिरहनु आवश्‍यक छैन भन्‍ने सल्लाह दिइहाल्थे। त्यहाँ प्रचार गर्नु पक्कै चुनौतीपूर्ण थियो। यद्यपि, साक्षीहरूले हरेस खाएनन्‌ र प्रचार गरी नै रहे। नतिजा कस्तो भयो?

१२ समयको अन्तरालमा त्यस शहरका केटाकेटीहरू हुर्के, तिनीहरूले विवाह गरे र त्यहीं बसोबास गर्न थाले। आफ्नो जीवनशैलीले साँचो आनन्द नदिएको महसुस गर्ने तीमध्ये केही नयाँ पुस्ताका वयस्कहरूले सत्यको खोजी गर्न थाले। साक्षीहरूले उद्‌घोषणा गरिरहेको सुसमाचार स्वीकार्दा तिनीहरूले आफूले खोजेको आनन्द पाए। यसप्रकार, निकै वर्षपछि त्यहाँको सानो मण्डलीमा वृद्धि हुन थाल्यो। हरेस नखाने राज्य प्रकाशकहरू कत्ति आनन्दित भए होलान्‌, कल्पना गर्नुहोस्‌ त! लगनशील भई महिमित राज्य सन्देश प्रचार गरेर हामी पनि आनन्दित होऔं!

सँगी विश्‍वासीहरूले तपाईंलाई मदत गर्नेछन्‌

१३. हामी निरुत्साहित हुँदा कोसँग मदत माग्नसक्छौं?

१३ धेरै दबाउ वा आपत्‌ आइपर्दा तपाईं सान्त्वनाको निम्ति कहाँ जान सक्नुहुन्छ? यहोवाका लाखौं समर्पित सेवकहरू पहिला यहोवालाई प्रार्थनामा पुकार्छन्‌ अनि आफ्ना मसीही भाइबहिनीहरूसित मदत माग्छन्‌। पृथ्वीमा हुनुहुँदा स्वयम्‌ येशूले चेलाहरूको मदतको कदर गर्नुभयो। आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रातमा उहाँले चेलाहरूलाई तिमीहरू “मेरो परीक्षामा मसितै रहेकाहरू हौ” भन्‍नुभयो। (लूका २२:२८) निस्सन्देह, ती चेलाहरू असिद्ध थिए तर तिनीहरूको वफादारी परमेश्‍वरको पुत्रको निम्ति सान्त्वनाको स्रोत थियो। हामीले पनि आफ्ना सँगी उपासकहरूबाट बल पाउनसक्छौं।

१४, १५. एक दम्पतीलाई आफ्नो छोराको मृत्युको पीडा सहन केले मदत गऱ्‍यो र तिनीहरूको अनुभवबाट तपाईंले के सिक्नुभयो?

१४ मिशेल र डायन नाउँ गरेका मसीही दम्पतीले आफ्ना भाइबहिनीको सहयोग कत्तिको मूल्यवान्‌ हुनसक्छ भन्‍ने कुरा थाह पाए। तिनीहरूको २० वर्षीय छोरा जोनाथन फुर्तिलो थिए र तिनको भविष्य उज्ज्वल थियो। साथै, तिनी मसीही थिए। तर तिनको मस्तिष्कमा ट्युमर भएको पत्ता लाग्यो। चिकित्सकहरूले तिनलाई बचाउन निकै साहसिक प्रयास गरे तर जोनाथनको शारीरिक अवस्था झन्‌ झनै बिग्रँदै गयो र आखिरमा एक दिउँसो तिनको मृत्यु भयो। मिशेल र डायनको संसारै डुबेझैं भयो। त्यस साँझ सञ्चालन हुने सेवा सभा सिद्धिनै लागेको तिनीहरूलाई याद भयो। तैपनि, अत्यन्तै सान्त्वनाको खाँचो भएको कारण आफ्नो साथमा भएको प्राचीनलाई तिनीहरूसँग राज्यभवनमा आउन आग्रह गरे। मण्डलीमा जोनाथनको मृत्युबारे घोषणा गरिरहेकै बेला तिनीहरू राज्यभवन आइपुगे। सभापछि रुँदै गरेका आमाबाबुकहाँ भाइबहिनीहरू आए र अंकमाल गरेर सान्त्वनाका शब्दहरू बोले। डायन भन्छिन्‌: “राज्यभवन आइपुग्दा हामीले एकदमै शून्य महसुस गरेका थियौं तर भाइहरूले दिएको सान्त्वनाबाट हामीले निकै प्रोत्साहन पायौं! उहाँहरूले हाम्रो पीडा हटाउन नसके तापनि दुःख सहन मदत गर्नुभयो!”—रोमी १:११, १२; १ कोरिन्थी १२:२१-२६.

१५ दुःखको कारण मिशेल र डायन आफ्ना भाइहरूसँग घनिष्ठ भए। यस घटनाले गर्दा मिशेल र डायन पनि आपसमा झन्‌ नजिक भए। मिशेल यसो भन्छन्‌: “मैले मेरी प्रिय पत्नीको अझ बढी कदर गर्न सिकेको छु। निरुत्साहित भएको बेला हामी आपसमा बाइबलका कुरा र यहोवाले हामीलाई कसरी सम्हालिरहनुभएको छ भनी कुरा गर्छौं।” डायन अझ यसो भन्छिन्‌: “राज्य आशाहरू हाम्रोलागि झन्‌ अर्थपूर्ण भएका छन्‌।”

१६. आफ्ना आवश्‍यकताहरूबारे भाइहरूलाई थाह दिन अग्रसर हुनु किन महत्त्वपूर्ण छ?

१६ हो, आपत्‌विपद्‌ आइपर्दा हाम्रा मसीही भाइबहिनीहरू “सान्त्वना दिने मानिसहरू” हुनसक्छन्‌ र हामीलाई आनन्दित रहिरहन मदत गर्नसक्छन्‌। (कलस्सी ४:११) तिनीहरूले हाम्रो मनको कुरा पक्कै जान्‍न सक्दैनन्‌। त्यसैले, हामीलाई मदत चाहिएको बेला तिनीहरूलाई थाह दिनु बेस हुन्छ। अनि हाम्रा भाइहरूले दिएको सान्त्वना यहोवाबाट आएको हो भन्‍ने विचार गर्दै त्यसका लागि साँचो मूल्यांकन व्यक्‍त गर्नसक्छौं।—हितोपदेश १२:२५; १७:१७.

तपाईंको मण्डलीमा हेर्नुहोस्‌

१७. एक एक्ली आमाले कस्ता समस्याहरू सामना गरिन्‌ र हामीले तिनीजस्ता व्यक्‍तिहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

१७ तपाईं आफ्ना सँगी विश्‍वासीहरूलाई जति नजिकबाट हेर्नुहुन्छ त्यत्ति नै तिनीहरूको मूल्यांकन गर्न तपाईंले सिक्नुहुनेछ र तिनीहरूसँगको संगतिमा आनन्द उठाउनुहुनेछ। तपाईंको मण्डलीमा हेर्नुहोस्‌। तपाईं के देख्नुहुन्छ? आफ्नो छोराछोरीलाई सच्चाइमा हुर्काउन संघर्ष गरिरहेकी एक्ली आमा छिन्‌ कि? तिनले बसालेकी असल उदाहरणबारे के तपाईंले विचार गर्नुभएको छ? तिनले सामना गर्ने केही समस्याहरू कल्पना गर्ने प्रयास गर्नुहोस्‌। जिनेन नाउँकी एक्ली आमा आफूले सामना गर्नुपर्ने केही समस्याहरू यसरी बताउँछिन्‌: एक्लोपन, सहकर्मी पुरुषहरूले नाजायज सम्बन्ध बढाउन खोज्ने, पैसाको हरहिसाब राख्नुपर्ने इत्यादि। तिनी अझ यसो भन्छिन्‌, तर सबैभन्दा ठूलो समस्या आफ्ना छोराछोरीको भावनात्मक आवश्‍यकताहरूको देखभाल गर्नु हो किनभने प्रत्येक छोराछोरीको भिन्‍नाभिन्‍नै व्यक्‍तित्व हुन्छ। जिनेन एउटा समस्या पनि बताउँछिन्‌: “पतिको अभावलाई पूरा गर्न छोरालाई घरको शिर बनाउने झुकाउ हटाउनु साँच्चै चुनौतीपूर्ण हुनसक्छ। अनि मेरी छोरी पनि छिन्‌ र तिनलाई मेरा सबै समस्याहरू बताएर बोझले नलाद्‌न निकै गाह्रो छ।” हजारौं ईश्‍वरभीरु एक्लो आमाबाबुजस्तै जिनेन पनि दिनभरि जागिर खानुका साथै आफ्नो घरधन्दा सम्हाल्छिन्‌। तिनी आफ्ना छोराछोरीसित बाइबल अध्ययन पनि गर्छिन्‌, सेवकाईमा जान प्रशिक्षण दिन्छिन्‌ र तिनीहरूलाई मण्डलीका सभाहरूमा ल्याउँछिन्‌। (एफिसी ६:४) निष्ठा कायम गर्न यस परिवारले दिनहुँ गरेको प्रयास देखेर यहोवा कत्ति आनन्दित हुनुहुन्छ होला! त्यस्ता व्यक्‍तिहरू हाम्रोमाझ हुँदा के हाम्रो हृदय पनि आनन्दित हुँदैन र? अवश्‍य।

१८, १९. मण्डलीका सदस्यहरूप्रतिको मूल्यांकन हामी कसरी गहिरो बनाउँदै लैजानसक्छौं, व्याख्या गर्नुहोस्‌।

१८ तपाईंको मण्डलीमा फेरि हेर्नुहोस्‌। तपाईंले सभाहरू कहिल्यै ‘नछोड्‌ने’ विश्‍वासी विधवा तथा विधुरहरू देख्नुहुन्छ होला। (लूका २:३७) के तिनीहरूले कहिलेकाहीं एक्लो महसुस गर्छन्‌? अवश्‍य। तिनीहरूलाई आफ्नो जीवनसाथीको अभाव असाध्यै खटकिन्छ! तर तिनीहरू यहोवाको सेवामा व्यस्त रहन्छन्‌ र अरूमा व्यक्‍तिगत चासो लिन्छन्‌। तिनीहरूको स्थिर र सकारात्मक मनोवृत्तिले मण्डलीको आनन्दमा योगदान पुऱ्‍याउँछ! तीस वर्षभन्दा बढी समयदेखि पूर्ण-समय सेवा गर्दै आएका मसीहीले यस्तो टिप्पणी गरे: “थुप्रै परीक्षा सामना गर्नुपरे तापनि विश्‍वासीपूर्वक यहोवाको सेवा गर्दै आएका वृद्ध भाइबहिनीहरू देख्दा मलाई साह्रै आनन्द लाग्छ!” हो, हामीमाझ भएका वृद्ध मसीहीहरू जवानहरूको निम्ति ठूलो प्रोत्साहनका स्रोत हुन्‌।

१९ हालसालै मात्र मण्डलीसँग संगत गर्न थालेका नयाँ व्यक्‍तिहरू नि? तिनीहरूले सभामा आफ्नो विश्‍वास व्यक्‍त गर्दा के हामी उत्साहित हुँदैनौं र? बाइबल अध्ययन गर्न थालेदेखि तिनीहरूले गरेको प्रगतिबारे विचार गर्नुहोस्‌। यहोवा तिनीहरूसँग पक्कै पनि अत्यन्तै खुसी हुनुहुन्छ। के हामी पनि खुसी छौं? हामी तिनीहरूको प्रयासमा खुसी छौं भनी बताउन के हामी तिनीहरूको सराहना गर्छौं?

२०. मण्डलीको प्रत्येक सदस्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भनेर किन भन्‍न सकिन्छ?

२० के तपाईं विवाहित, अविवाहित वा एक्लो आमा या बुबा हुनुहुन्छ? के तपाईं टुहुराटुहुरी वा विधवा वा विधुर हुनुहुन्छ? के तपाईंले मण्डलीसँग संगत गर्न थाल्नुभएको धेरै वर्ष भइसक्यो वा भर्खरै संगत गर्न थाल्नुभएको हो कि? तपाईंहरू सबैको वफादारीको उदाहरण प्रोत्साहनजनक छ भनी विश्‍वस्त हुनुहोस्‌। अनि तपाईंले राज्य गीत गाउन स्वरमा स्वर मिलाउनुहुँदा, टिप्पणी गर्नुहुँदा वा ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिनुहुँदा हाम्रो आनन्द अझ बढ्‌छ। अझ त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त त्यसले यहोवाको हृदय आनन्दित तुल्याउँछ।

२१. हामीसँग के गर्ने थुप्रै कारण छन्‌ तर कस्ता प्रश्‍नहरू खडा हुन्छन्‌?

२१ हो, यस समस्याग्रस्त समयमा पनि हामी आनन्दित भएर हाम्रो आनन्दित परमेश्‍वरको उपासना गर्नसक्छौं। पावलको प्रोत्साहन सुन्‍ने हामीसँग थुप्रै कारण छ: “अन्त्यमा, ए भाइ हो, बिदाको सलाम [“आनन्दित होओ,” NW]। . . . प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ।” (२ कोरिन्थी १३:११) तर हामीले प्राकृतिक प्रकोप, सतावट वा आर्थिक कठिनाइको सामना गर्नुपऱ्‍यो भने नि? के त्यस्तो परिस्थितिमा हाम्रो आनन्द कायम राख्न सम्भव छ? अर्को लेख छलफल गरेपछि तपाईं आफैले यसको निष्कर्ष निकाल्नुहोस्‌।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स, खण्ड २, पृष्ठ ११९ हेर्नुहोस्‌।

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• आनन्दलाई कसरी व्याख्या गर्न सकिन्छ?

• सकारात्मक मनोवृत्ति कायम गर्दा त्यसले हामीलाई आनन्दित हुन कसरी मदत गर्नसक्छ?

• हाम्रो मण्डलीको इलाकाबारे सकारात्मक मनोवृत्ति राख्न कुन कुराले मदत गर्नसक्छ?

• तपाईंको मण्डलीका भाइबहिनीहरूको तपाईं कुन कुन तरिकामा मूल्यांकन गर्नुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएका चित्रहरू]

हाम्रो इलाकाका मानिसहरू परिवर्तन हुनसक्छन्‌

[पृष्ठ १२-मा भएको चित्र]

तपाईंको मण्डलीका भाइबहिनीहरूले के-कस्ता चुनौती सामना गर्दैछन्‌ ?