सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आनन्दित भएर यहोवाको सेवा गरिरहनुहोस्‌

आनन्दित भएर यहोवाको सेवा गरिरहनुहोस्‌

आनन्दित भएर यहोवाको सेवा गरिरहनुहोस्‌

“प्रभुमा सधैं आनन्द गर। म फेरि पनि भन्छु, आनन्द गर।”—फिलिप्पी ४:४.

१, २. एक भाइ र तिनको परिवार आफ्नो सम्पूर्ण सरसम्पत्ति गुमाउनुपरे तापनि कसरी आनन्दित रहिरहन सके?

 सियरा लियोनमा बसोबास गर्ने ७० वर्षीय जेम्सले जिन्दगीभर मेहनत गरे। साधारण चारवटा कोठा भएको घर किन्‍न पुग्ने पैसा जम्मा हुँदा तिनी कत्ति खुसी भए होलान्‌, कल्पना गर्नुहोस्‌ त! तथापि, जेम्स तथा तिनको परिवार त्यस घरमा सरेको केही समय बित्न नपाउँदै गृहयुद्ध सुरु भयो र तिनीहरूको घर पूरै भस्म हुने गरी आगो लगाइयो। तिनीहरूले आफ्नो घर गुमाए तर आनन्द गुमाएनन्‌। किन?

जेम्स तथा तिनको परिवारले गुमेको कुरामा होइन तर आफूसँग अझ बाँकी रहेका कुरामा आफ्नो मन लगाए। जेम्स भन्छन्‌: “त्यस्तो डरलाग्दो समयमा पनि हामीले सभाहरू सञ्चालन गऱ्‍यौं, बाइबल पढ्यौं, सँगै प्रार्थना गऱ्‍यौं र आफूसँग भएको थोरै कुरा पनि बाँडचुँड गऱ्‍यौं। हामी आनन्दित रहनसक्यौं। किनभने हामीले यहोवासँगको सुमधुर सम्बन्धमा आफ्नो मन लगायौं।” आफूले आनन्द उठाइरहेको असल कुराहरू जसमध्ये सबैभन्दा ठूलो यहोवासँगको घनिष्ठ सम्बन्धबारे विचार गरेर यी विश्‍वासी मसीहीहरू ‘आनन्दित रहिरहन’ सके। (२ कोरिन्थी १३:११, NW) निस्सन्देह, तिनीहरूको निराशाजनक परिस्थिति सहन सजिलो थिएन। तर तिनीहरू यहोवासित रुष्ट भएनन्‌।

३. कोही कोही प्रारम्भिक मसीहीहरूले कसरी आफ्नो आनन्द गुमाएनन्‌?

जेम्स तथा तिनको परिवारले सामना गरेजस्तै परीक्षाहरू प्रारम्भिक मसीहीहरूले पनि सामना गरे। तैपनि, प्रेरित पावलले हिब्रू मसीहीहरूलाई यी शब्दहरू लेखे: “तिमीहरूका धनसम्पत्ति [ तिमीहरूले] आनन्दसँग लूट्‌न दियौ।” त्यसपछि पावलले तिनीहरूको आनन्दको स्रोतबारे बताए: “तिमीहरू आफैकहाँ उत्तम र रहिरहने अर्को एउटा सम्पत्ति छ।” (हिब्रू १०:३४) हो, ती प्रथम शताब्दीका मसीहीहरूसँग बलियो आशा थियो। तिनीहरूले पूर्ण भरोसाका साथ परमेश्‍वरको स्वर्गीय राज्यमा लुट्‌न नसकिने धन अर्थात्‌ कहिल्यै नओइलाउने “जीवनको मुकुट” प्राप्त गर्न उत्सुकतासाथ पर्खिरहेका थिए। (प्रकाश २:१०) आज हाम्रो मसीही आशा चाहे स्वर्गीय होस्‌ वा पार्थिव, कठिनाइको बेलामा समेत त्यसले आनन्दित रहिरहन हामीलाई मदत गर्नसक्छ।

“आशामा आनन्द गर”

४, ५. (क) रोमीहरूको निम्ति “आशामा आनन्द गर” भन्‍ने पावलको सल्लाह किन समयसापेक्ष थियो? (ख) कस्ता कारणहरूले गर्दा मसीहीले आफ्नो आशा बिर्सनसक्छन्‌?

पावलले रोमका सँगी विश्‍वासीहरूलाई अनन्त जीवनको “आशामा आनन्द गर” भनी प्रोत्साहन दिए। (रोमी १२:१२) त्यो रोमीहरूको निम्ति समयसापेक्ष सल्लाह थियो। पावलले तिनीहरूलाई सो कुरा लेखेको दस वर्ष पनि नबित्दै तिनीहरूले क्रूर सतावट भोग्नुपऱ्‍यो र कोही कोहीलाई त सम्राट नेरोको आदेशमा मृत्युसम्मै शासना दिइयो। प्रतिज्ञा गरिएको जीवनको मुकुट परमेश्‍वरले अवश्‍य दिनुहुनेछ भन्‍ने विश्‍वासले तिनीहरूलाई निस्सन्देह दुःखको बेला सम्हाल्यो। आज हामीलाई नि?

मसीही भएको हुनाले हामी पनि खेदोमा नपरिएला भन्‍न सक्दैनौं। (२ तिमोथी ३:१२) यसबाहेक, “समय र अवसरले” हामीलाई पनि अधीनमा पार्नसक्छ भनी हामीलाई थाह छ। (उपदेशक ९:११) दुर्घटनाको कारण प्रियजनको मृत्यु हुनसक्छ। प्राणघातक रोगको कारण आमाबाबु वा घनिष्ठ मित्रको मृत्यु हुनसक्छ। राज्य आशामा हामीले निरन्तर ध्यान दिएनौं भने त्यस्ता परीक्षाहरू आइपर्दा हाम्रो आध्यात्मिकता खतरामा पर्नसक्छ। त्यसकारण, आफैलाई यी प्रश्‍नहरू सोध्नु बेस हुनेछ, ‘के म “आशामा आनन्द” गर्छु? यस आशामा मनन गर्न म कत्तिको समय निकाल्छु? आउँदै गरेको प्रमोदवन के मलाई वास्तविक लाग्छ? के म आफूलाई प्रमोदवनमा बसिरहेको कल्पना गर्छु? पहिला सत्य सिकेको समयमा जस्तै के अहिले पनि म यस दुष्ट रीतिरिवाजको अन्त आओस्‌ भनेर उत्सुक छु?’ यो अन्तिम प्रश्‍न गम्भीरतासाथ विचार गर्नु लायकको छ। किन? किनभने हामी स्वस्थ छौं, कमाइ राम्रै छ र युद्ध, खानाको अभाव वा प्राकृतिक प्रकोपहरूबाट प्रभावित नभएको ठाउँमा बसिरहेका छौं भने यदाकदा परमेश्‍वरको नयाँ संसार कत्तिको जरुरी छ भन्‍ने कुरा बिर्सनसक्छौं।

६. (क) संकष्ट भोग्नुपर्दा पावल र सिलासले कुन कुरामा ध्यान लगाए? (ख) पावल र सिलासको उदाहरणले आज हामीलाई कसरी हौसला दिन्छ?

पावलले रोमीहरूलाई “संकष्टमा स्थिर रहो” भनेर पनि सल्लाह दिए। (रोमी १२:१२) पावलको निम्ति संकष्टहरू कुनै नौलो कुरा थिएन। एक चोटि तिनले एक जना मानिसले “म्यासिडोनियामा आएर” हामीलाई यहोवाबारे सिक्न मदत गर्नुहोस्‌ भनिरहेको दर्शन देखे। (प्रेरित १६:९) त्यसपछि पावल लूका, सिलास र तिमोथीलाई लिएर युरोप यात्रामा गए। यी जोसिला मिसनरीहरूलाई कुन कुराले ढुकेर बसिरहेको थियो? संकष्टले! तिनीहरूले म्यासिडोनियाली शहर फिलिप्पीमा प्रचार गरेपछि पावल र सिलासलाई कोर्रा लगाएर झ्यालखानामा हालियो। स्पष्टतः फिलिप्पीका केही नागरिकहरू राज्य सन्देशप्रति भावशून्य मात्र होइन तर कट्टर विरोधीसमेत थिए। आफूले नचिताएको परिस्थिति आइपर्दा के ती जोसिला मिसनरीहरूले आफ्नो आनन्द गुमाए? गुमाएनन्‌। तिनीहरूलाई पिटेर झ्यालखानामा राखेपछि “आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरका भजन गाइरहेका थिए।” (प्रेरित १६:२५, २६) निस्सन्देह, पिटाइको दुखाइले पावल र सिलासलाई कुनै आनन्द भएन तर ती दुई मिसनरीको ध्यान त्यसमा थिएन। तिनीहरूको ध्यान यहोवा अनि उहाँले कुन तरिकामा तिनीहरूलाई आशिष्‌ दिइरहनुभएको छ, त्यसमा थियो। आनन्दसाथ ‘संकष्टमा स्थिर रहेर’ पावल अनि सिलास फिलिप्पी र अन्य ठाउँका भाइहरूको निम्ति असल उदाहरण बने।

७. हाम्रो प्रार्थनामा धन्यवाद पनि किन समावेश हुनुपर्छ?

पावलले यस्तो लेखे: “प्रार्थनामा अटूटसँग लागिरहो।” (रोमी १२:१२) चिन्ताले पिरोलिंदा के तपाईं प्रार्थना गर्नुहुन्छ? तपाईं के विषयमा प्रार्थना गर्नुहुन्छ? सायद तपाईं आफ्नो खास समस्या बताउनुहुन्छ होला र यहोवाको मदत माग्नुहुन्छ होला। तर तपाईंले आनन्द उठाइरहनुभएका आशिष्‌हरूको निम्ति धन्यवाद पनि समावेश गर्न सक्नुहुन्छ। समस्याहरू आइपर्दा, यहोवाले हामीसँग गर्नुभएको भलाइबारे विचार गर्दा पनि “आशामा आनन्द” गर्न मदत मिल्छ। दाऊद, जसको जीवनमा विभिन्‍न समस्याहरू आइपरेको थियो, तिनले यस्तो लेखे: “हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले गर्नुभएको अचम्मका कामहरू र हामीतर्फको तपाईंको विचार धेरैनै छन्‌। तपाईंको सामने ती सम्झेर क्रमैसँग राख्नसकिंदैन। यदि तिनको विषयमा भनेर मैले बोलें भनेता तिनको गन्ती हुनैसक्‍तैन।” (भजन ४०:५) दाऊदले जस्तै नियमित तवरमा यहोवाबाट पाएका आशिष्‌हरूमा मनन गऱ्‍यौं भने हामीले आनन्दित हुने कारण पक्कै पाउनेछौं।

सकारात्मक मनोवृत्ति राख्नुहोस्‌

८. सतावटको बेला मसीहीलाई आनन्दित रहन कुन कुराले मदत गर्छ?

येशू आफ्ना अनुयायीहरूलाई विभिन्‍न परीक्षा सामना गर्नुपर्दा सकारात्मक मनोवृत्ति राख्न प्रोत्साहन दिनुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्‌, र खेदो गर्नेछन्‌, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्‌।” (मत्ती ५:११) त्यस्ता परिस्थितिहरूमा आनन्दित हुने हामीसित कस्तो कारण छ? हामीले सतावटहरू सामना गर्नसक्नु हामीसँग यहोवाको आत्मा छ भन्‍ने कुराको प्रमाण हो। प्रेरित पत्रुसले आफ्नो समयका सँगी मसीहीहरूलाई यसो भने: “यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित हुन्छौ भनेता तिमीहरू धन्यका हौ। किनभने महिमाको आत्मा र परमेश्‍वरको आत्मा तिमीहरूमाथि ठहर्छ।” (१ पत्रुस ४:१३, १४) यहोवाले आफ्नो आत्माद्वारा हामीलाई पनि सहन मदत गर्नुहुनेछ र फलस्वरूप हामीले आफ्नो आनन्द गुमाउनेछैनौं।

९. आफ्नो विश्‍वासको कारण झ्यालखानामा पर्दा कोही कोही भाइहरूलाई आनन्दित हुन कुन कुराले मदत गऱ्‍यो?

अत्यन्तै दयनीय परिस्थितिमा समेत हामी आनन्दित हुने कारणहरू भेट्टाउनसक्छौं। अडोल्फ नाउँ गरेका मसीहीले त्यस्तै अनुभव गरे। तिनी बस्ने देशमा धेरै वर्षसम्म यहोवाका साक्षीहरूको कार्यमा प्रतिबन्ध लगाइएको थियो। अडोल्फ र तिनका केही साथीहरू पक्राउमा परेका थिए र बाइबल आधारित विश्‍वासलाई त्याग्न इन्कार गरेको कारण लामो समयसम्म कैद सजाय पाए। कैदी जीवन गाह्रो थियो तर पावल र सिलासले जस्तै अडोल्फ र तिनका साथीहरूले परमेश्‍वरलाई धन्यवाद चढाउने कारण भेट्टाए। जेलको अनुभवले गर्दा विश्‍वास बलियो बनाउने र उदारता, समानुभूति तथा भ्रातृत्व प्रेमजस्ता बहुमूल्य मसीही गुणहरू विकास गर्ने मदत पाएको तिनीहरूले उल्लेख गरे। उदाहरणका लागि, कोही कैदीले घरबाट पठाएको कुनै पोका पाउँदा त्यसमा भएका चीजहरू सँगी विश्‍वासीहरूसित बाँडचुँड गर्थे र तिनीहरूले ती थप प्रबन्धहरू “हरेक असल दान र हरेक उत्तम वरदान[का]” दाता यहोवाबाट नै आएको हो भन्‍ने विचार राख्थे। यस्तो दयालु कामले गर्दा दिने र पाउने दुवैले आनन्द महसुस गर्थे। अतः तिनीहरूको विश्‍वास तोड्‌ने हिसाबले झ्यालखानामा हालिए तापनि वास्तवमा त्यही झ्यालखानाको अनुभवले तिनीहरूलाई आध्यात्मिक तवरमा बलियो बनायो!—याकूब १:१७; प्रेरित २०:३५.

१०, ११. अलिकता पनि दयामाया नराखी गरिएको केरकार पछि लामो जेल सजाय पाउँदा एउटी बहिनीले आफूलाई कसरी सम्हालिन्‌?

१० एले बसोबास गर्ने देशमा पनि लामो समयसम्म राज्य प्रचारकार्यमा प्रतिबन्ध लगाइएको थियो र अरूसँग आफ्नो मसीही आशा बाँडेको कारण तिनी पक्राउमा परेकी थिइन्‌। आठ महिनासम्म अलिकति पनि दयामाया नराखी तिनलाई केरकार गरियो। पछि अदालतमा तिनको मुद्दा सुनुवाइ हुँदा तिनलाई दस वर्षको कैद सजाय दिइयो। तिनी बस्ने जेलमा कोही पनि यहोवाका साक्षीहरू थिएनन्‌। त्यतिबेला एले २४ वर्षकी मात्र थिइन्‌।

११ निस्सन्देह, एलेलाई आफ्नो युवावस्था जेलमा बिताउन कदापि मन परेको थिएन। तर आफ्नो परिस्थिति परिवर्तन गर्न नसकिने भएकोले तिनले आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउने निर्णय गरिन्‌। त्यसकारण, तिनले जेललाई नै प्रचार गर्ने व्यक्‍तिगत इलाकाको रूपमा लिन थालिन्‌। तिनी यसो भन्छिन्‌, “यति धेरै प्रचार गर्नुपर्ने थियो कि समय बितेको नै थाह भएन।” झन्डै पाँच वर्षपछि एलेलाई फेरि केरकार गरियो। जेल सजायले तिनको विश्‍वास भंग गर्न नसकेको देखेपछि तिनलाई केरकार गर्ने अधिकारीहरूले तिनलाई यसो भने: “हामी तिमीलाई छोड्‌न सक्दैनौं किनभने तिमी बद्‌लिएकी छैनौ।” “तर म बद्‌लिएकी छु!” भनी एलेले दृढतासाथ जवाफ दिइन्‌। “जेलमा बसेदेखि मेरो मनोवृत्ति राम्रो भएको छ र मेरो विश्‍वास पनि पहिलाभन्दा झन्‌ बलियो भएको छ!” अनि तिनले अझ यसो भनिन्‌: “तपाईंहरू मलाई छोड्‌न चाहनुहुन्‍न भने ठीकै छ यहोवाले मलाई मुक्‍त गर्न योग्यको नठान्‍नुभएसम्म म यहीं बस्छु।” साढे पाँच वर्षको कैद सजायले पनि एलेको आनन्द खोस्न सकेन! परिस्थिति जस्तोसुकै भए तापनि त्यसमै सन्तुष्ट हुन तिनले सिकिन्‌। के तपाईं तिनको उदाहरणबाट केही सिक्न सक्नुहुन्छ?—हिब्रू १३:५.

१२. कठिन परिस्थितिको बेला कुन कुराले मसीहीको मनमा शान्ति ल्याउनसक्छ?

१२ त्यस्ता चुनौतीहरूको सामना गर्न एलेले केही विशेष वरदान पाइन्‌ होला भन्‍ने निष्कर्षमा नपुग्नुहोस्‌। सजाय पाउनुअघिका महिनाहरूमा गरिएको केरकारलाई संकेत गर्दै एले यो कुरा स्वीकार्छिन्‌: “डरले मेरो दाँत बजेको मैले बिर्सेको छैन। त्यतिबेला म तर्सेको भंगेरा जस्तै थिएँ।” तथापि, एलेको यहोवामा बलियो विश्‍वास थियो। तिनले यहोवामाथि भरोसा गर्न सिकेकी छिन्‌। (हितोपदेश ३:५-७) फलस्वरूप, परमेश्‍वर तिनको निम्ति पहिलेको भन्दा झन्‌ वास्तविक हुनुभएको छ। तिनी भन्छिन्‌: “हरेक चोटि केरकार गर्ने कोठामा जाँदा मलाई शान्तिले छोपेको महसुस हुन्थ्यो। . . . परिस्थिति जति डरलाग्दो भयो त्यति नै धेरै शान्ति महसुस हुन्थ्यो।” त्यो शान्तिको स्रोत यहोवा हुनुहुन्थ्यो। प्रेरित पावल भन्छन्‌: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।”—फिलिप्पी ४:६, ७.

१३. कुनै संकष्ट आइपर्दा हामीले सहने बल पाउनेछौं भनेर कुन कुराले आश्‍वासन दिन्छ?

१३ अहिले जेलबाट मुक्‍त भइसकेकी एले कठिनाइको बावजूद आनन्दित रहिरहन सकिन्‌। तिनले यो सबै आफ्नै बलमा भर परेर होइन तर यहोवाले दिनुभएको बलमाथि भर परेर गर्न सकेकी हुन्‌। प्रेरित पावलबारे पनि त्यसै भन्‍न सकिन्छ। तिनले यस्तो लेखे: “यसकारण ख्रीष्टको शक्‍ति ममा बास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा ज्यादै खुशीसित घमण्ड गर्नेछु। . . . किनभने दुर्बल हुँदा, म शक्‍तिमान हुन्छु।”—२ कोरिन्थी १२:९, १०.

१४. कठिन परिस्थितिमा मसीहीले कस्तो सकारात्मक मनोवृत्ति राख्नसक्छ र नतिजा कस्तो हुनसक्छ, व्याख्या गर्नुहोस्‌।

१४ आज तपाईंले व्यक्‍तिगत रूपमा सामना गर्नुभएका दबाउहरू हामीले यहाँ छलफल गरेभन्दा फरक हुनसक्छन्‌। तर दबाउहरू जस्तोसुकै प्रकारको होस्‌, ती सामना गर्न गाह्रो नै हुन्छ। उदाहरणका लागि, तपाईंको हाकिम अन्य धार्मिक आस्था हुने कर्मचारीहरूको काममा भन्दा तपाईंको काममा अत्यन्तै किचकिच गर्छन्‌ होला। अर्को जागिर खोज्नु पनि तपाईंको निम्ति सम्भव नहोला। यस्तो अवस्थामा तपाईं कसरी आफ्नो आनन्द कायम राख्न सक्नुहुन्छ? कैदको अनुभवले गर्दा महत्त्वपूर्ण गुणहरू विकास गर्न मदत पाएका अडोल्फ र तिनका सँगीहरूलाई सम्झनुहोस्‌। तपाईंको “खुसी पार्न गाह्रो” हाकिमलाई चित्त बुझाउने निष्कपट प्रयास गर्नुभयो भने तपाईंले सहनशीलता र धीरजजस्ता मसीही गुणहरू विकास गर्नुहुनेछ। (१ पत्रुस २:१८, NW) यसबाहेक, तपाईं समयको अन्तरालमा मूल्यवान्‌ कर्मचारी ठहरिन सक्नुहुन्छ अनि तपाईंले कुनै दिन अन्तै चित्तबुझ्दो जागिर पाउन सक्नुहुन्छ। आनन्दित भई यहोवाको सेवा गरिरहन सक्ने अन्य केही तरिकाहरू अब हामी छलफल गरौं।

जीवन सरल बनाउँदा आनन्दित हुन सकिन्छ

१५-१७. एउटा दम्पतीले आफ्नो तनाउको स्रोत पूर्णतया हटाउन नसके तापनि यसलाई केही हदसम्म कसरी कम गर्न सिके?

१५ तपाईंले गर्नुहुने कामको प्रकार वा ठाउँबारे तपाईंले गर्नसक्ने छनौट त्यति नहोला तर जीवनमा त्यस्ता अन्य पक्षहरू हुनसक्छन्‌ जसलाई तपाईं केही हदसम्म नियन्त्रण गर्न सक्नुहुन्छ। निम्न उदाहरण विचार गर्नुहोस्‌।

१६ एक मसीही दम्पतीले प्राचीनलाई आफ्नो घरमा खाना खान बोलाए। त्यस साँझ कुराकानीको दौडान उक्‍त भाइ र तिनकी पत्नीले हालसालै जीवनको दबाउले गर्दा आफूहरू अत्यन्तै हतोत्साहित भएको कुरा बताए। दुवैले दिनभरि धेरै समय र प्रयास खर्च गर्नुपर्ने जागिर खाइरहेको भए तापनि अर्को जागिर खोज्ने स्थितिमा तिनीहरू थिएनन्‌। त्यसकारण, यस्तो परिस्थितिलाई कतिञ्जेल सहेर बस्न सकिने हो, तिनीहरूले विचार गरिरहेका रहेछन्‌।

१७ सल्लाह माग्दा प्राचीनले यस्तो उत्तर दिए, “जीवन सरल बनाउनुहोस्‌।” तर कसरी? श्रीमान्‌ श्रीमतीले काममा जान र आउन हरेक दिन झन्डै तीन घण्टा बिताइरहेका थिए। त्यस दम्पतीलाई राम्ररी चिन्‍ने उक्‍त प्राचीनले तिनीहरूलाई कार्यालय छेउछाउमै सर्नेबारे विचार गर्न सल्लाह दिए। यसो गर्दा तिनीहरूले हरेक दिन काममा जान र आउन खर्च गर्नुपर्ने समय कम गर्नसक्थे। अनि यसबाट बचेको समय अन्य महत्त्वपूर्ण कुराहरूमा वा आराम गर्न प्रयोग गर्न सकिन्थ्यो। जीवनका दबाउहरूले गर्दा केही हदसम्म आनन्द गुमाइरहनुभएको छ भने केही काँटछाँट गर्न सकिन्छ कि भनेर आफ्नो परिस्थिति केलाएर हेरे कसो होला?

१८. निर्णय गर्नुअघि राम्ररी विचार गर्नु किन अत्यावश्‍यक छ?

१८ तनाउ कम गर्ने अर्को तरिका निर्णय गर्नुअघि राम्ररी सोच्नु हो। उदाहरणका लागि, एक मसीहीले घर बनाउने निर्णय गरे। आफूले पहिले कहिल्यै घर नबनाएको भए तापनि तिनले एकदमै जटिल डिजाइन छाने। अहिले, तिनले आफ्नो घरको निम्ति डिजाइन छान्‍नुअघि “आफ्ना पाइलाहरू सतर्कसाथ” विचार गरेको भए अनावश्‍यक समस्याहरू हटाउन सकिन्थ्यो भनी बुझेका छन्‌। (हितोपदेश १४:१५, नयाँ संशोधित संस्करण) अर्को एक मसीही, सँगी विश्‍वासीले लिन लागेको ऋणको जमानी बस्न सहमत भए। कबुलियतनामाअनुसार ऋणी ऋण तिर्न असमर्थ भएमा जमानी बस्ने मानिसले त्यो ऋण तिर्नुपर्थ्यो। सुरुमा त सबै कुरा राम्रै चलिरहेको थियो तर केही समयपछि ऋणी कबुलियतनामाअनुसार चल्न छाडे। ऋण दिने पक्ष सतर्क भयो र जमानी बस्ने मानिसलाई सबै पैसा तिर भन्‍न थाल्यो। यसले गर्दा जमानी बस्ने मानिसलाई निकै तनाउ भयो। जमानी बस्नुअघि सबै कुरा राम्ररी विचार गरेको भए के तिनी यो समस्याबाट बच्न सक्दैनथे र?—हितोपदेश १७:१८.

१९. जीवनमा तनाउ कम गर्नसक्ने केही तरिकाहरू के हुन्‌?

१९ हामी थकित हुँदा व्यक्‍तिगत बाइबल अध्ययन कम गरेर, क्षेत्र सेवकाई र सभामा उपस्थिति कम गरेर तनाउ कम गर्न अनि फेरि स्फूर्ति पाउन सकिन्छ होला भनी कहिल्यै नसोच्नुहोस्‌। किनभने यहोवाको पवित्र आत्मा प्राप्त गर्ने यी महत्त्वपूर्ण तरिका हुन्‌। त्यसको एउटा फल आनन्द हो। (गलाती ५:२२) मसीही गतिविधिहरू सधैं स्फूर्तिदायी हुन्छन्‌ र साधारणतया अत्यन्तै थकाइलाग्दो हुँदैनन्‌। (मत्ती ११:२८-३०) आध्यात्मिक कामकुराले भन्दा पनि पेसागत काम वा मनोरञ्जनले थकाउने सम्भावना धेरै हुन्छ। त्यसैले, समयमै सुत्न सिक्दा थकाइ मेट्‌न सक्छ। अलि थप आराम गर्दा धेरै लाभकारी हुनसक्छ। आफ्नो मृत्यु नहोउञ्जेल यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्यको रूपमा सेवा गर्ने एन. एच. नोर मिसनरीहरूलाई यसो भन्‍ने गर्थे: “निरुत्साहित हुँदा सबैभन्दा पहिला आराम गर्नुपर्छ। सामना गर्न एकदमै गाह्रो लागेको समस्या समेत एक रातको राम्रो सुताइपछि कति सानो लाग्छ, त्यो देखेर तपाईं छक्क पर्नुहुनेछ!”

२०. (क) हामीले आफ्नो आनन्द कायम गर्नसक्ने केही तरिकाहरू संक्षिप्तमा बताउनुहोस्‌। (ख) आनन्दित हुन तपाईंले के-कस्ता कारणहरू विचार गर्न सक्नुहुन्छ? (पृष्ठ १७ मा पेटी हेर्नुहोस्‌।)

२० मसीहीहरूले “आनन्दित परमेश्‍वर[को]” सेवा गर्ने सुअवसर पाएका छन्‌। (१ तिमोथी १:११, NW) गम्भीर समस्याहरू आइपर्दासमेत हामीले आफ्नो आनन्द कायम राख्न सक्दो रहेछौं भनेर हामीले देख्यौं। त्यसकारण, राज्य आशालाई हाम्रो नजरदेखि ओझेल हुन नदेऔं, आवश्‍यक परेको बेला आफ्नो दृष्टिकोणमा काँटछाँट गरौं र जीवन सरल बनाऔं। तब, हाम्रो परिस्थिति जस्तोसुकै भए तापनि प्रेरित पावलका यी शब्दहरूअनुरूप चल्न सक्नेछौं: “प्रभुमा सधैं आनन्द गर। म फेरि पनि भन्छु, आनन्द गर।”—फिलिप्पी ४:४.

निम्न प्रश्‍नहरूमा गहिरिएर विचार गर्नुहोस्‌:

• मसीहीहरूले किन आफ्नो ध्यान पूर्णतया राज्य आशामा केन्द्रित गर्नुपर्छ?

• कठिन परिस्थितिहरूमा पनि आनन्दित रहिरहन कुन कुराले मदत गर्नसक्छ?

• हामीले आफ्नो जीवन सरल बनाउन किन प्रयास गर्नुपर्छ?

• कसै कसैले कुन कुन क्षेत्रमा आफ्नो जीवन सरल बनाएका छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको पेटी/चित्रहरू]

आनन्दित हुन सकिने थप कारणहरू

मसीही भएको नाताले हामीसित आनन्दित हुने थुप्रै कारण छन्‌। निम्न कुराहरू विचार गर्नुहोस्‌:

१. हामीले यहोवालाई चिनेका छौं।

२. हामीले परमेश्‍वरको वचनको सच्चाइ सिकेका छौं।

३. येशूको छुडौतीको बलिदानमाथिको विश्‍वासद्वारा हामी आफ्नो पापको क्षमा पाउनसक्छौं।

४. परमेश्‍वरको राज्यले शासन गर्न थालेको छ र नयाँ संसार चाँडै आउँदैछ!

५. यहोवाले हामीलाई आध्यात्मिक प्रमोदवनमा राख्नुभएको छ।

६. हामी हितकर मसीही संगतिबाट आनन्द उठाउँछौं।

७. हामीले प्रचारकार्यमा भाग लिने सुअवसर पाएका छौं।

८. हामी जीवित छौं र केही हदसम्म तन्दुरुस्त छौं।

आनन्दित हुने अरू कतिवटा कारण तपाईं उल्लेख गर्न सक्नुहुन्छ ?

[पृष्ठ १३-मा भएको चित्र]

पावल र सिलास झ्यालखानामा हुँदासमेत आनन्दित थिए

[पृष्ठ १५-मा भएका चित्रहरू]

के तपाईंको ध्यान परमेश्‍वरको नयाँ संसारको आनन्ददायी प्रत्याशाहरूमा केन्द्रित छ ?