के तपाईंले ‘समयको अवसर विचार गरिरहनुभएको छ’?
के तपाईंले ‘समयको अवसर विचार गरिरहनुभएको छ’?
प्रेरित पावलले प्रथम शताब्दीका एफिससका मसीहीहरूलाई यस्तो सल्लाह दिए: “कसरी हिंड़छौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो, समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ।” (एफिसी ५:१५, १६) यस्तो सल्लाह दिनु किन आवश्यक परेको थियो? यस प्रश्नको जवाफ दिन पहिला त्यस पुरातन शहरमा मसीहीहरूले सामना गर्नुपरेको अवस्था बुझ्नुपर्छ।
एफिसस यसको समृद्धि, घोर अनैतिकता, व्याप्त अपराध र विभिन्न प्रेतविद्यासित सम्बन्धित गतिविधिको लागि प्रख्यात थियो। यसबाहेक, मसीहीहरूले समयको सन्दर्भमा दर्शनशास्त्रीय विश्वासहरूको पनि सामना गर्नुपर्थ्यो। एफिससका गैरमसीही युनानीहरू समय एकै दिशामा मात्र बग्छ भनेर विश्वास गर्दैनथे। युनानी दर्शनले जीवन कहिल्यै अन्त नहुने चक्रमा दोहोरिरहन्छ भनी सिकाउँथ्यो। एउटा चक्रमा समय बरबाद गर्ने मानिसले अर्को चक्रमा फेरि समय फिर्ता पाउनसक्थ्यो। यस्तो प्रकारको सोचाइले एफिससका मसीहीहरूलाई यहोवाका घटनाक्रमहरूको समय तालिकालगायत ईश्वरीय न्यायको समय तालिकालाई हल्कासँग लिन प्रलोभित गर्नसक्थ्यो। तसर्थ, “समयको अवसर” विचार गर भन्ने पावलको सल्लाह उचित थियो।
पावलले समयबारे साधारण अर्थमा मात्र कुरा गरिरहेका थिएनन्। तिनले प्रयोग गरेका युनानी शब्दले तोकिएको समय अर्थात् खास उद्देश्यको निम्ति उचित समयलाई बुझाउँछ। पावलले प्रथम शताब्दीका मसीहीहरूलाई अन्त आउनुअघि र ईश्वरीय कृपा अनि उद्धारको प्रबन्ध हटाइनुअघि समयको सदुपयोग गर्न सल्लाह दिइरहेका थिए।—रोमी १३:११-१३; १ थिस्सलोनिकी ५:६-११.
हामी पनि अहिले त्यस्तै समयको अवसर विचार गर्नुपर्ने समयमा बाँचिरहेका छौं। यो कहिल्यै नदोहोरिने अनुग्रहको समयको परवाह नगरी यस संसारले दिने सुखविलासको पछि लाग्नुको सट्टा मसीहीहरूले उपलब्ध समय ‘भक्तिका काम’ गर्न प्रयोग गरेर अनि सृष्टिकर्ता यहोवा परमेश्वरसँग आफ्नो सम्बन्ध बलियो बनाउन चलाए बुद्धिमानी हुनेछ।—२ पत्रुस ३:११; भजन ७३:२८; फिलिप्पी १:१०.