सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विधवाहरूलाई कठिनाइको बेला मदत गर्ने

विधवाहरूलाई कठिनाइको बेला मदत गर्ने

विधवाहरूलाई कठिनाइको बेला मदत गर्ने

विधवाहरूबारे सबैभन्दा लोकप्रिय कथाहरूमध्ये एउटा रूथ र तिनकी सासू नाओमीको बाइबल विवरण हो। ती दुवै स्त्री विधवा थिए। तथापि, नाओमीले आफ्नो पति मात्र होइन तर दुई छोरा पनि गुमाइन्‌। ती दुई छोरामध्ये एक रूथका पति थिए। तिनीहरू कृषिप्रधान समाजमा बस्ने भएकीले धेरैजसो कामको लागि पुरुषहरूमा निर्भर हुनुपर्थ्यो। साँच्चि नै तिनीहरूको परिस्थिति दयनीय थियो।—रूथ १:१-५, २०, २१.

तथापि, नाओमीको साथ छोड्‌न नमान्‍ने बुहारी रूथ तिनको हितैषी मित्र र सान्त्वनादाता साबित भइन्‌। रहँदा बस्दा रूथले नाओमीलाई औधी प्रेम गर्ने भएकीले मात्र होइन तर परमेश्‍वरप्रतिको प्रेमले गर्दा पनि तिनी नाओमीको निम्ति “सात भाइ छोराभन्दा पनि असल सिद्ध” भइन्‌। (रूथ ४:१५) नाओमीले रूथलाई आफ्नो मोआबी परिवार र साथीहरूकहाँ नै फर्कन सल्लाह दिंदा रूथले वफादरीको सन्दर्भमा अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा हृदयस्पर्शी उत्तर दिइन्‌: “तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहींनै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, औ तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌। तपाईं जहाँ मर्नुहुन्छ म पनि त्यहीं मर्नेछु, र त्यहींनै गाड़िनेछु। मृत्युबाहेक अरू कुनै कुराले हामीलाई अलग गर्नेछैन भनी परमप्रभु तपाईंका परमेश्‍वरको सामने म यो गम्भीर शपथ खाएर भन्छु।”—रूथ १:१६, १७.

रूथको मनोभाव यहोवा परमेश्‍वरले याद गर्नुभयो। उहाँले रूथ र नाओमीको सानो परिवारलाई आशिष्‌ दिनुभयो र पछि रूथले बोअज नाउँका इस्राएलीसँग विवाह गरिन्‌। तिनीहरूको सन्तानलाई नाओमीले आफ्नै सन्तानसरह देखभाल गरिन्‌ र यही सन्तान पछि गएर येशू ख्रीष्टको पुर्खा भयो। इतिहासको यो भाग, यहोवाले उहाँसँग नजिक हुने र उहाँमाथि भरोसा गर्ने विधवाहरूलाई टिठाउनुहुन्छ भन्‍ने कुराको उदाहरण हो। यसबाहेक, विधवाहरूलाई उनीहरूको कठिनाइमा मायालु मदत गर्ने व्यक्‍तिहरूको उहाँले कदर गर्नुहुन्छ भनी बाइबलले बताउँछ। अतः हामीले आज आफू वरपर भएका विधवाहरूलाई कसरी मदत गर्नसक्छौं?—रूथ ४:१३, १६-२२; भजन ६८:५.

तोकिएको मदत दिनुहोस्‌ तर हैकम नचलाउनुहोस्‌

विधवाहरूलाई मदत गर्ने प्रस्ताव राख्दा हैकम चलाउने नभई स्पष्ट र तोकिएको मदत दिनु बेस हुनेछ। अस्पष्ट कुराहरू भन्‍ने नगर्नुहोस्‌ जस्तै, “केही चाहियो भने भन्‍नुहोस्‌ न है।” त्यस्तो भन्‍नु त जाडोले कठ्यांग्रिएको र भोकाइरहेको कोही व्यक्‍तिलाई “न्यानो गरी बस्नू र राम्ररी खानू” भन्‍ने तर मदतचाहिं केही नगर्नु बराबर हो। (याकूब २:१६) प्रायजसो मानिसहरूले मदत चाहिंदा पनि भन्दैनन्‌ बरु, एक्लै दुःख भोगिरहन्छन्‌। त्यस्ता मानिसहरूको आवश्‍यकता बुझ्न विवेक चाहिन्छ। अर्कोतर्फ, अत्यन्तै हैकम चलाउने भएर विधवाको जीवन नै पूर्णतया नियन्त्रणमा राख्न खोज्यो भने चित्त दुख्न वा मतभेद उत्पन्‍न हुनसक्छ। तसर्थ, अरूसँग व्यवहार गर्दा सन्तुलित हुनुपर्ने कुरामा बाइबलले जोड दिन्छ। यसले अरू मानिसहरूमा निःस्वार्थ चासो लिन हामीलाई प्रोत्साहन दिए तापनि अरूको कुरामा हात नहाल्न पनि सम्झाउँछ।—फिलिप्पी २:४; १ पत्रुस ४:१५.

रूथले नाओमीसित त्यस्तै सन्तुलित मनोभाव देखाइन्‌। रूथ आफ्नो सासूसँगै वफादार भएर रहे तापनि नाओमीलाई दबाउने वा प्रभुत्व जमाउने गरिनन्‌। नाओमी र आफ्नो लागि भोजनको प्रबन्ध मिलाउने जस्ता व्यावहारिक कदम चाले तापनि तिनले सधैं नाओमीको निर्देशन सुनिन्‌।—रूथ २:२, २२, २३; ३:१-६.

निस्सन्देह, व्यक्‍तिपिच्छे आवश्‍यकताहरू फरक हुनसक्छन्‌। सुरुमा उल्लेख गरिएको सान्ड्रा यसो भन्छिन्‌: “निराश हुँदा मलाई चाहिने कुरा मसँग थियो अर्थात्‌ मेरो वरपर जम्मा भएका मेरा मायालु साथीहरू।” अर्कोतर्फ, सुरुमा उल्लेख गरिएको एलेन केही समय एक्लै बस्न चाहन्थिन्‌। अतः मदतकारी हुनुको अर्थ विवेकी भएर अरूको एक्लै बस्ने इच्छाको कदर गर्नु र मदतको खाँचो भएको बेला मदत दिनेबीच सन्तुलन कायम राख्नु हो।

परिवारबाट सहयोग

विधवाले आफ्नो अवस्था सफलतासँग लड्‌नसक्छन्‌ भनी आश्‍वासन दिने सन्दर्भमा न्यानो, मायालु परिवार छ भने, तिनीहरूले धेरै गर्नसक्छ। परिवारका कुनै सदस्यले अरूले भन्दा धेरै सहयोग गर्नसके तापनि सबैले योगदान पुऱ्‍याउनसक्छन्‌। “कुनै विधवाका छोरा-छोरी अथवा नाति-नातिनीहरू छन्‌ भने, पहिले तिनीहरूले आफ्नै परिवारमा दया देखाऊन्‌ र आफ्ना माता-पितालाई प्रत्युपकारको साटो तिर्न सिकून्‌, किनकि यो परमेश्‍वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ।”—१ तिमोथी ५:४.

थुप्रै अवस्थामा आर्थिक सहयोग दिनु वा ‘साटो तिर्नु’ अनावश्‍यक हुनसक्छ। कोही कोही विधवाहरूसित आफ्ना आवश्‍यकताहरू पूरा गर्न पर्याप्त पैसा हुनसक्छ र अरूचाहिं कुनै कुनै देशमा सरकारले उपलब्ध गराउने सुविधाको योग्य हुनसक्छन्‌। तर खाँचो परेका विधवाहरू छन्‌ भने परिवारका सदस्यहरूले मदत गर्नुपर्छ। विधवालाई मदत गर्ने नजिकको नातेदार कोही छैन वा तिनीहरू मदत गर्न असमर्थ छन्‌ भने धर्मशास्त्रले सँगी विश्‍वासीहरूलाई तिनको मदत गर्न प्रोत्साहन दिन्छ: “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह गर। . . . [यो नै] हाम्रा परमेश्‍वर र पिताको सामने शुद्ध धर्म हो।”—याकूब १:२७.

यी बाइबल सिद्धान्तहरू लागू गर्ने व्यक्‍तिहरूले साँच्चि नै ‘विधवाहरूलाई आदर’ गर्छन्‌। (१ तिमोथी ५:३) अतः कुनै व्यक्‍तिको आदर गर्नुको अर्थ तिनको कदर गर्नु पनि हो। आदर देखाइएका मानिसहरूले आफ्नो महत्त्व भएको, मूल्यांकन र सम्मान गरिएको महसुस गर्छन्‌। गर्नैपर्ने भएकोले मात्र जबरजस्ती कदर गरिरहेको तिनीहरूले महसुस गर्दैनन्‌। रूथ आफै विधवा भए तापनि तिनले राजीखुसीसाथ मायालु नाओमीको शारीरिक तथा भावनात्मक आवश्‍यकताहरू पूरा गर्न बन्दोबस्त मिलाएर नाओमीको साँच्चै आदर गरिन्‌। वास्तवमा, रूथको यस्तो मनोभावले गर्दा तिनले चाँडै राम्रो नाउँ कमाइन्‌ र तिनको भावी पतिले पनि तिनलाई यस्तो भने: “तिमी गुणवती छौ भन्‍ने कुरा यस नगरका सबै मानिसलाई थाह भइसकेको छ।” (रूथ ३:११) अर्कोतर्फ, नाओमीको परमेश्‍वरप्रतिको प्रेम, किचकिच नगर्ने बानी र रूथको प्रयासको निम्ति तिनको गहिरो मूल्यांकनले गर्दा निस्सन्देह, रूथलाई पनि तिनलाई सघाउन सजिलो भयो। आजका विधवाहरूको निम्ति नाओमी कस्तो राम्रो उदाहरण हुन्‌!

परमेश्‍वरसँग घनिष्ठ हुनुहोस्‌

निस्सन्देह, परिवारका सदस्य तथा साथीहरूले जीवनसाथीको मृत्युले गर्दा उत्पन्‍न शून्यताको पूर्ति गर्न सक्दैनन्‌। सोही कारणले गर्दा शोकित व्यक्‍ति ‘करुणामय पिता, र सबै सान्त्वनाका परमेश्‍वरसँग’ नजिक हुनु महत्त्वपूर्ण छ, “उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ।” (२ कोरिन्थी १:३, ४, नयाँ संशोधित संस्करण) येशूको जन्म भएको बेला ८४ वर्ष पुगेकी भक्‍तालु विधवा हन्‍नालाई विचार गर्नुहोस्‌।

विवाह गरेको सात वर्ष नबित्दै पतिको मृत्यु भएपछि हन्‍नाले सान्त्वनाको निम्ति यहोवालाई पुकारिन्‌। “[तिनी] मन्दिर छोड़दैन थिइन्‌। तर उपवास र प्रार्थना गर्दै रात-दिन उपासना गर्दथिइन्‌।” (लूका २:३६, ३७) हन्‍नाको ईश्‍वरीय भक्‍ति देखेर के यहोवाले कुनै प्रतिक्रिया देखाउनुभयो? हो, देखाउनुभयो! पछि गएर संसारको उद्धारकर्ता हुने शिशु हेर्ने सुअवसर दिनुभएर उहाँले तिनीप्रति विशेष तरिकामा प्रेम प्रदर्शित गर्नुभयो। यसले गर्दा हन्‍ना कत्ति रोमाञ्चित हुनुका साथै सान्त्वना पाइन्‌ होला! तिनले स्पष्टतः भजन ३७:४ को सत्यता अनुभव गरिन्‌: “तँ आफै परमप्रभुमा मग्न हो। र उहाँले तेरो मनोरथ पूर्ण गर्नुहुनेछ।”

परमेश्‍वरले सँगी मसीहीहरूमार्फत काम गर्नुहुन्छ

एलेन भन्छिन्‌: “डेविडको मृत्यु भएको लामो समयपछि पनि करङमा चक्कुले घोचेझैं म शारीरिक पीडा महसुस गर्थें। मैले यो अपच भएको होला भन्ठानेकी थिएँ। तर एक दिन यस्तो नराम्रोसित दुख्यो कि डाक्टरकहाँ जाने विचार गरें। एक बुझकी आध्यात्मिक बहिनी र मित्रले मेरो दुखाइको कारण, मेरो शोक हुनसक्ने कुरा बताउनुका साथै यहोवासँग मदत र सान्त्वना माग्न प्रोत्साहन दिनुभयो। मैले तुरुन्तै उहाँको सल्लाह पालन गरें र तुरुन्तै यहोवालाई मेरो शोक सहन मदतको निम्ति मनमनै तर हृदयस्पर्शी प्रार्थना गरें। अनि उहाँले मलाई सम्हाल्नु पनि भयो!” एलेनले सन्चो महसुस गर्न थालिन्‌ र चाँडै तिनको शारीरिक पीडा पनि हराउन थाल्यो।

शोकित विधवाहरूलाई विशेष गरी मण्डलीका प्राचीनहरूले मायालु ढंगमा मित्रभाव देखाउनसक्छन्‌। नियमित तवरमा कुशलता र विवेकी ढंगमा आध्यात्मिक मदत र सान्त्वना दिएर प्राचीनहरूले तिनीहरूलाई कठिनाइको बावजूद यहोवासँग नजिक हुन मदत गर्नसक्छन्‌। आवश्‍यक परेको ठाउँमा प्राचीनहरूले आर्थिक सहयोगको निम्ति पनि प्रबन्ध मिलाउनसक्छन्‌। त्यस्ता अनुकम्पापूर्ण विवेकी प्राचीनहरू साँच्चै “बतासबाट लुक्ने ठाउँ” नै हुन्‌।—यशैया ३२:२; प्रेरित ६:१-३.

पृथ्वीको नयाँ राजाबाट चिरस्थायी सान्त्वना

झन्डै २,००० वर्षअघि वृद्ध हन्‍ना जुन शिशु देखेर हर्षित भएकी थिइन्‌ उक्‍त शिशु अहिले परमेश्‍वरको स्वर्गीय राज्यको मसीही राजा भइसक्नुभएको छ। यस सरकारले चाँडै मृत्युलगायत दुःखको अन्य सबै कारक तत्त्वहरू हटाउनेछ। यस सन्दर्भमा प्रकाश २१:३, ४ ले यसो भन्छ: “हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। . . . उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” के तपाईंले यो विवरण “मानिसहरू[लाई]” संकेत गरेर भनिएको हो भनेर याद गर्नुभयो? हो, मानिसहरू मृत्यु र यसले गर्दा हुने सबै शोक रुवाइबाट मुक्‍त हुनेछन्‌।

तर योभन्दा पनि राम्रो समाचार छ! मरिसकेका व्यक्‍तिहरूको पुनरुत्थान हुनेछ भनेर पनि बाइबलले प्रतिज्ञा गर्छ। “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले [येशूको] सोर सुन्‍नेछन्‌।” (यूहन्‍ना ५:२८, २९) जसरी येशूले पुनरुत्थान गर्नुभएको लाजरस आत्मिक प्राणीको रूपमा ब्यूँतेनन्‌ त्यसरी नै तिनीहरू पनि आत्मिक प्राणीको रूपमा होइन तर मानिसको रूपमै ब्यूँतनेछन्‌। (यूहन्‍ना ११:४३, ४४) त्यसपछि “भलो गर्नेहरू[लाई]” मानव सिद्धतामा पुऱ्‍याइनेछ र उहाँले ‘आफ्नो मुठी खोलेर सबै जीवित प्राणीको इच्छा सन्तुष्ट’ पार्नुहुँदा व्यक्‍तिगत रूपमा यहोवाको मायालु हेरचाह अनुभव गर्नसक्ने छन्‌।—भजन १४५:१६.

आफ्नो आफन्त गुमाएका र यस निश्‍चित आशामा विश्‍वास राख्नेहरूको निम्ति यो ठूलो सान्त्वनाको स्रोत हो। (१ थिस्सलोनिकी ४:१३) अतः तपाईं विधवा हुनुहुन्छ भने सान्त्वना र दिनहुँ विभिन्‍न बोझ वहन गर्न मदतको निम्ति “निरन्तर प्रार्थना” गरिरहनुहोस्‌। (१ थिस्सलोनिकी ५:१७; १ पत्रुस ५:७) अनि दिनहुँ परमेश्‍वरको वचन पढ्‌न समय निकाल्नुहोस्‌ ताकि परमेश्‍वरका विचारहरूबाट सान्त्वना पाउन सकियोस्‌। तपाईंले यसो गर्नुभयो भने विधवा भएको कारण सामना गर्नुपर्ने सबै परीक्षा तथा चुनौतीहरूको बावजूद यहोवाले शान्ति पाउन साँच्चै मदत गर्नुहुन्छ भनेर तपाईंले देख्नुहुनेछ।

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

दतकारी हुनुको अर्थ अरूको एक्लै बस्ने इच्छाको कदर गर्नु र मदतको खाँचो भएको बेला मदत दिनेबीच सन्तुलन कायम राख्नु हो

[पृष्ठ ७-मा भएको चित्र]

उमेर ढल्किसकेकी विधवा हन्‍नाले यहोवाबाट आशिष्‌ पाइन्‌