सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विधवा भएपछि दुई महिलाको अवस्था कस्तो भयो

विधवा भएपछि दुई महिलाको अवस्था कस्तो भयो

विधवा भएपछि दुई महिलाको अवस्था कस्तो भयो

सान्ड्रा विधवा हुन्‌, तिनी अस्ट्रेलियामा बसोबास गर्छिन्‌। केही वर्षअघि तिनको श्रीमान्‌को मृत्यु हुँदा सुरुमा त तिनी छाँगाबाट खसेझैं भइन्‌। “उहाँ बित्नुहुँदा मैले अचानक आफ्नो जीवनसाथी मात्र होइन तर असल मित्र पनि गुमाएँ भन्‍ने महसुस हुँदा म साह्रै विचलित भएँ। अस्पतालबाट म कसरी घर आइपुगें वा बाँकी दिन कसरी बिताएँ मलाई केही थाह छैन। त्यसपछिका केही हप्ता म साह्रै त्रसित भएँ अनि बिस्तारै शारीरिक पीडाले छोप्यो।”

सान्ड्राकै तिनीभन्दा उमेरमा जेठी एलेन नाउँ भएकी साथी छिन्‌। तिनी विधवा भएको झन्डै छ वर्ष भइसक्यो। एलेनले आफ्नो क्यान्सर रोगद्वारा पीडित श्रीमान्‌ डेविडको छ महिनासम्म स्याहारसुसार गरिन्‌ र त्यसपछि तिनको मृत्यु भयो। श्रीमान्‌को मृत्युको कारण तिनी यति दुःखित भइन्‌ कि तिनी केही समयसम्म अन्धीसरह भइन्‌। दुई वर्षपछि तिनी सार्वजनिक स्थलमै बेहोस भइन्‌। डाक्टरले तिनमा कुनै रोगको लक्षण भेटाएनन्‌। तथापि, एलेनले आफ्नो शोक सबै आफैमा गुम्साएर राखिराखेको तिनले थाह पाए। त्यसैले, तिनले एलेनलाई घर गएर रुने प्रयास गर्न सल्लाह दिए। “मलाई मेरो दुःखको सामना गर्नसक्न केही समय लाग्यो” भनी एलेन मानि लिन्छिन्‌ र अझ एक्लो महसुस गर्दा “कोठामा गएर डेविडको लुगाले आफ्नो टाउको छोपेर बस्ने” गरेको तिनी बताउँछिन्‌।

हो, आफ्नो प्रिय जीवनसाथीको मृत्यु हुँदा विभिन्‍न प्रतिक्रियाहरू हुनसक्छन्‌ किनभने विधवा हुनु भनेको श्रीमान्‌विना बाँच्नु मात्रै होइन। उदाहरणका लागि, सान्ड्रालाई केही समयसम्म त आफू पहिलाको मान्छे नै होइन जस्तो लाग्यो। भर्खरै विधवा भएका अन्य थुप्रैले जस्तै तिनले पनि निस्सहाय र असुरक्षित महसुस गरिन्‌। सान्ड्रा यसरी सम्झना गर्छिन्‌: “अन्तिम निर्णयहरू गर्नुपर्दा मेरो श्रीमान्‌ सधैं मसँगै हुनुहुन्थ्यो तर अकस्मात्‌ विधवा हुँदा ती निर्णयहरू म एक्लैले गर्नुपऱ्‍यो। मेरो निद्रा नै खलबलियो। म थकित र आलसतालस भएँ। के गर्ने, कसो गर्ने भन्‍ने नै थाह हुँदैनथ्यो।”

सान्ड्रा र एलेनको जस्तो अनगिन्ती अनुभव संसारभरि दिनहुँ दोहोरिन्छन्‌। बिमारी, दुर्घटना, युद्ध, जातीय संहार र हिंसाले विधवाहरूको संख्या बढाउनुमा टेवा दिइरहेको छ। a यस्ता थुप्रै महिलाहरू रनभुल्लमा परेर आफ्ना दुःखहरू आफैभित्र गुम्साएर राख्छन्‌। विधवा अवस्था स्वीकार्न प्रयास गरिरहेकाहरूलाई इस्टमित्र तथा नातेदारहरूले कसरी मदत गर्नसक्छन्‌? यस विषयमा यसपछिको लेखमा दिइएका केही सुझाउहरू मदतकारी साबित हुनसक्छन्‌।

[फुटनोट]

a आफ्नो श्रीमान्‌ले छोडेको कारण अन्य केही महिलाहरूको अवस्था विधवाहरूको जस्तै भएको छ। छुट्टिएर बस्ने र सम्बन्धविच्छेदले आफ्नै प्रकारको समस्या सृजना गरे तापनि यस पछिको लेखमा छलफल गरिएका केही सिद्धान्तहरूले यी परिस्थितिमा भएका महिलाहरूलाई पनि मदत गर्नसक्छन्‌।