सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने

आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने

आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने

“तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।”–एफिसी ६:४.

१. परिवारको निम्ति परमेश्‍वरको उद्देश्‍य के थियो तर के भयो?

 “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै . . . जाओ।” (उत्पत्ति १:२८) आदम र हव्वालाई भन्‍नुभएका यी शब्दहरूद्वारा यहोवा परमेश्‍वरले पारिवारिक प्रबन्धको सुरुआत गर्नुभयो। (एफिसी ३:१४, १५) प्रथम दम्पतीले, सम्पूर्ण पृथ्वी आफ्ना सिद्ध साखासन्तानले भरिएको, तिनीहरू सबैले प्रमोदवनरूपी पृथ्वीमा आनन्दसाथ जीवन बिताएको अनि आफ्ना महान्‌ सृष्टिकर्ताको एकताबद्ध भई उपासना गरेको आशा गर्नसक्थे। तर आदम र हव्वाले पाप गरे र पृथ्वी धर्मी अनि ईश्‍वरभीरु मानिसहरूले भरिन पाएन। (रोमी ५:१२) बरु, पारिवारिक जीवन छिटै खस्कन थाल्यो र जताततै घृणा, हिंसा फस्टाउन थाल्यो भने विशेष गरी यो “आखिरी दिनमा” “स्वाभाविक प्रेम[समेत]” हराउन थाल्यो।—२ तिमोथी ३:१-५; उत्पत्ति ४:८, २३; ६:५, ११, १२.

२. आदमका सन्तानसित कस्ता गुणहरू थिए तर आध्यात्मिक तवरमा बलियो परिवार बसाल्न के आवश्‍यक थियो?

आदम र हव्वा परमेश्‍वरको स्वरूपमा सृजिएका थिए। तथापि, परमेश्‍वरले आदमलाई तिनी पापी भए तापनि सन्तान जन्माउने अनुमति दिनुभयो। (उत्पत्ति १:२७; ५:१-४) आफ्ना बाबुसितजस्तै आदमका सन्तानहरूसित पनि नैतिक क्षमता थियो र तिनीहरू सही अनि गलत छुट्याउन सक्थे। सृष्टिकर्तालाई कसरी उपासना गर्ने अनि आफ्नो सारा हृदय, प्राण, मन र शक्‍तिले उहाँलाई माया गर्नु किन महत्त्वपूर्ण छ भनेर तिनीहरूलाई सिकाउन सकिन्थ्यो। (मर्कूस १२:३०; यूहन्‍ना ४:२४; याकूब १:२७) यसबाहेक, तिनीहरूलाई ‘न्याय गर्न, दया गर्न र परमेश्‍वरसित नम्र भएर हिंड्‌न’ पनि तालिम दिन सकिन्थ्यो। (मीका ६:८) तथापि, पापी भएका कारण तिनीहरूले आध्यात्मिक तवरमा बलियो परिवार बसाल्न निरन्तर पर्याप्त मात्रामा ध्यान दिनु आवश्‍यक थियो।

समयको पूरा सदुपयोग गर्नुहोस्‌

३. मसीही छोराछोरी हुर्काउन आमाबाबुले कसरी समयको पूरा सदुपयोग गर्न सक्छन्‌?

यो गोलमाल अनि कठिन समयमा छोराछोरीलाई “खराबीलाई” साँच्चै “घृणा” गर्ने अनि ‘यहोवालाई प्रेम गर्ने’ व्यक्‍ति बनाउन निकै प्रयास गर्नैपर्छ। (भजन ९७:१०) बुद्धिमान्‌ आमाबाबुले यो चुनौती सामना गर्न समयको पूरा सदुपयोग गर्छन्‌। (एफिसी ५:१५-१७) तपाईं आमा अथवा बुबा हुनुहुन्छ भने कसरी समयको पूरा सदुपयोग गर्न सक्नुहुन्छ? पहिले त, छोराछोरीलाई सिकाउन र तालिम दिनुका साथै “जे उत्तम छ . . . खुट्ट्याउन” प्राथमिकता दिनुहोस्‌। (फिलिप्पी १:१०, ११) दोस्रो, आफ्नो जीवनशैली सरल बनाउनुहोस्‌। त्यति आवश्‍यक नभएका क्रियाकलापहरूलाई तपाईंले पन्छाउनुपर्छ। वा हेरचाह गर्न निक्कै समय खाने अनावश्‍यक सरसामानहरू हटाउनु आवश्‍यक पर्नसक्छ। मसीही आमा वा बुबाको हैसियतमा ईश्‍वरभीरु छोराछोरी हुर्काउन गर्नुभएका प्रयासहरूको निम्ति तपाईं कहिल्यै पछुताउनु पर्नेछैन।—हितोपदेश २९:१५, १७.

४. परिवारलाई कसरी एक बनाउन सकिन्छ?

आमाबाबुले छोराछोरीसित समय बिताउँदा र अझ त्यसमाथि आध्यात्मिक कुराहरूलाई केन्द्रित गरेर समय बिताउँदा तिनीहरूको मेहनत बेकार जाने छैन। अनि परिवारलाई एकताबद्ध पार्ने उत्तम तरिकाहरूमध्ये यो पनि एक हो। तर मन लाग्दा सँगै बस्ने नभए पटक्कै वास्ता नगर्ने नगर्नुहोस्‌। सँगै समय बिताउन तालिका बनाउनुहोस्‌। यसको अर्थ, बस्न त एकै छानामुनि बसेको तर आ-आफ्नो धुनमा मस्त हुनु भनेको त पक्कै होइन। दिनहुँ व्यक्‍तिगत ध्यान पाएमा छोराछोरी अझ राम्ररी हुर्कन्छन्‌, बढ्‌छन्‌। माया अनि चासो प्रशस्त मात्रामा देखाउनुपर्छ। छोराछोरी जन्माउने निर्णय गर्नुअघि नै विवाहित दम्पतीले यो गहन जिम्मेवारीलाई गम्भीरतासाथ विचार गर्नैपर्छ। (लूका १४:२८) त्यसपछि तिनीहरूले छोराछोरी हुर्काउनु पर्दा त्यसलाई बोझ ठान्‍नेछैनन्‌। बरु, यसलाई आशिषित विशेषाधिकारको रूपमा लिनेछन्‌।—उत्पत्ति ३३:५; भजन १२७:३.

बोली र कामद्वारा सिकाउनुहोस्‌

५. (क) छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउनअघि के गर्नुपर्छ? (ख) व्यवस्था ६:५-७ मा आमाबाबुलाई कस्तो सल्लाह दिइएको छ?

छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउनुअघि पहिले, तपाईं आफैले नै यहोवालाई माया गरेको हुनुपर्छ। परमेश्‍वरप्रतिको बलियो प्रेमले तपाईंलाई उहाँका सबै निर्देशनहरू विश्‍वासी भई पालन गर्न उत्प्रेरित गर्नेछ। यसमा छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्नु पनि समावेश छ। (एफिसी ६:४) परमेश्‍वरले आमाबाबुलाई छोराछोरीको निम्ति उदाहरण बसाल्न, तिनीहरूसित कुराकानी गर्न र तिनीहरूलाई सिकाउने सल्लाह दिनुहुन्छ। व्यवस्था ६:५-७ यसो भन्छ: “तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्‍तिले प्रेम गर। मैंले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।” बारम्बार सम्झाउँदै र दोहऱ्‍याउँदै तपाईंले छोराछोरीको मनमा परमेश्‍वरका आज्ञा हालिदिन सक्नुहुन्छ। यसरी, छोराछोरीले यहोवाप्रतिको तपाईंको माया बुझ्नेछन्‌ र यसले तिनीहरूलाई पनि यहोवासित घनिष्ट सम्बन्ध कायम गर्न उत्प्रेरित गर्नेछ।—हितोपदेश २०:७.

६. केटाकेटीले अरूको उदाहरण हेरेर सिक्छन्‌ भन्‍ने तथ्यबाट आमाबाबुले कसरी फाइदा उठाउन सक्छन्‌?

केटाकेटी जे पनि सिक्न उत्सुक हुन्छन्‌। तिनीहरू निकै चासो दिएर सुन्छन्‌ र हेर्छन्‌ अनि तपाईंको नक्कल गर्न खप्पिस हुन्छन्‌। तपाईं भौतिकवादी हुनुहुन्‍न रहेछ भन्‍ने कुरा तिनीहरूले देखेमा यसले तिनीहरूलाई येशूको सल्लाह पालन गर्न मदत गर्छ। तपाईंले तिनीहरूलाई भौतिक कुराको फिक्री गर्न होइन तर ‘पहिले परमेश्‍वरको राज्य खोज्न’ सिकाइरहनुभएको हुनुहुनेछ। (मत्ती ६:२५-३३) बाइबल सच्चाइ, परमेश्‍वरको मण्डली र नियुक्‍त प्राचीनहरूबारे स्वास्थ्यकर, उत्थानदायी कुराकानी गरेर तपाईंले छोराछोरीलाई यहोवालाई आदर गर्न र उहाँले गर्नुभएका आध्यात्मिक प्रबन्धहरूको मूल्यांकन गर्न सिकाइरहनुभएको हुनुहुनेछ। केटाकेटीले मुखले पकपक बोलेको, कामचाहिं नगरेको याद गरिहाल्ने भएको हुँदा तपाईं आध्यात्मिक कुराहरूको गहिरो मूल्यांकन गर्नुहुन्छ भनी छोराछोरीले तपाईंको आचरण र मनोवृत्तिबाट पनि देखेको हुनैपर्छ। आफ्नो राम्रो आचरणले छोराछोरीमाथि राम्रो प्रभाव पारेको र तिनीहरूले सारा हृदयले यहोवालाई माया गरेको देख्न पाउनु साँच्चै ठूलो आशिष्‌ हो!—हितोपदेश २३:२४, २५.

७, ८. सानैदेखि छोराछोरीलाई तालिम दिनुको महत्त्व कुन उदाहरणले प्रस्ट पार्छ र यसको सफलताको श्रेय कसलाई जान्छ?

भेनेज्वेलाको निम्न घटनाबाट सानैदेखि छोराछोरीलाई तालिम दिनुको महत्त्व प्रस्ट हुन्छ। (२ तिमोथी ३:१५) यो फेलिक्स र मर्लीन नाउँ गरेका जवान दम्पतीको कुरा हो। तिनीहरू दुवै अग्रगामी हुन्‌। तिनीहरूका छोरा फेलीतो जन्मँदा छोरालाई यहोवाको साँचो उपासकको रूपमा हुर्काउन भएभरको प्रयास गर्न तिनीहरू उत्सुक थिए। मर्लीनले यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलका कथाहरू भएको मेरो पुस्तक-बाट ठूलो स्वरमा फेलीतोलाई पढेर सुनाउन थालिन्‌। सानै छँदा फेलीतोले मोशा र यस पुस्तकमा देखाइएका अन्य व्यक्‍तिहरूलाई चिन्‍न थाल्यो।

कलिलै छँदा फेलीतोले आफै साक्षी दिन थाल्यो। उसले राज्य प्रचारक हुने आफ्नो इच्छालाई पूरा गऱ्‍यो र पछि उसले बप्तिस्मा पनि लियो। समयमा उसले नियमित अग्रगामीको काम गर्न थाल्यो। उसका आमाबाबु यस्तो टिप्पणी गर्छन्‌: “छोराको उन्‍नति, यहोवाकै कृपा र निर्देशनहरूको फल हो।”

छोराछोरीलाई आध्यात्मिक तवरमा हुर्कन मदत गर्नुहोस्‌

९. विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत पाइने आध्यात्मिक निर्देशनहरूका लागि हामी किन धन्यवादी हुनुपर्छ?

छोराछोरी हुर्काउने सम्बन्धमा सुझाउ दिने थुप्रै पत्रपत्रिका, सयौं पुस्तक र हजारौं इन्टरनेट वेब साइटहरू छन्‌। अक्सर “यी जानकारी एक आपसमा बाझिन्छन्‌” भनेर केटाकेटीबारे तयार पारिएको न्युजवीक-को विशेषांकले बतायो। “आफूले सही छ भनेर भरोसा गरेको जानकारी सरासर गलत ठहरिनु एकदमै चिन्ताको कुरा हो।” परिवारहरूको निर्देशन र आध्यात्मिक वृद्धिका लागि प्रशस्त प्रबन्ध गर्नुभएकोमा हामी यहोवाप्रति धेरै धन्यवादी छौं! के तपाईं विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत गरिएका हरेक प्रबन्धको पूर्ण सदुपयोग गर्नुहुन्छ?—मत्ती २४:४५-४७.

१०. आमाबाबु र छोराछोरी दुवै पक्षलाई प्रभावकारी पारिवारिक बाइबल अध्ययन कसरी फाइदाजनक साबित हुनसक्छ?

१० एउटा महत्त्वपूर्ण आवश्‍यकता त तनाउमुक्‍त वातावरणमा गरिने नियमित पारिवारिक बाइबल अध्ययन हो। यसलाई निर्देशनमूलक, रमाइलो अनि प्रोत्साहनदायी बनाउन राम्रो तयारीको खाँचो पर्छ। छोराछोरीलाई मनको कुरा पोख्न लगाएर तिनीहरूको मन अनि हृदयमा भएका कुराहरू आमाबाबुले बुझ्न सक्छन्‌। पारिवारिक अध्ययनको प्रभावकारीता ठम्याउने एउटा तरिका परिवारका सबै सदस्यले पारिवारिक अध्ययनलाई उत्सुकतासाथ पर्खेका छन्‌ कि छैनन्‌ पक्का गरेर हो।

११. (क) आमाबाबुले छोराछोरीको निम्ति कस्ता लक्ष्यहरू निर्धारण गर्न सक्छन्‌? (ख) एउटी जापानी केटीले लक्ष्य निर्धारण गर्दा परिणाम कस्तो भयो?

११ त्यसै गरी आध्यात्मिक लक्ष्यहरूले पनि परिवारलाई आध्यात्मिक तवरमा बलियो बनाउँछ र छोराछोरीलाई यस्ता लक्ष्यहरू निर्धारण गर्न आमाबाबुले मदत गर्नुपर्छ। उपयुक्‍त लक्ष्यहरूमा दिनहुँ बाइबल पढ्‌नु, सुसमाचारको नियमित प्रकाशक हुनु अनि समर्पण र बप्तिस्मातर्फ उन्‍नति गर्नु आदि पर्छन्‌। अन्य लक्ष्यहरूमा अग्रगामीको रूपमा, बेथलमा वा मिसनरीजस्ता पूर्णसमय सेवा गर्नु पनि समावेश हुन सक्छन्‌। प्राथमिक स्कूलमा छँदा आयुमी नाउँ गरेकी जापानी केटीले आफ्नो कक्षाका सबैलाई साक्षी दिने लक्ष्य राखिछन्‌। आफ्नो शिक्षक र सहपाठीहरूको चासो जगाउन उनले पुस्तकालयमा बाइबलका थुप्रै प्रकाशनहरू राख्ने अनुमति लिइन्‌। फलतः प्राथमिक स्कूलमा बिताएको छ वर्षभित्र उनले १३ वटा बाइबल अध्ययन गरिन्‌। उनका बाइबल विद्यार्थीहरूमध्ये एक जना र विद्यार्थीको परिवारका अन्य सदस्यहरू बप्तिस्माप्राप्त मसीही भए।

१२. मसीही सभाहरूबाट केटाकेटीहरूले कसरी धेरै फाइदा उठाउन सक्छन्‌?

१२ सभाहरूमा नियमित तवरमा उपस्थित हुनु पनि आध्यात्मिक स्वास्थ्यको निम्ति आवश्‍यक छ। प्रेरित पावलले सँगी विश्‍वासीहरूलाई ‘कसैकसैको बानी भएझैं, एक ठाउँमा भेला हुन नछोड’ भनी सल्लाह दिए। कसैकसैको भेला नहुने बानी भएजस्तो हामी त्यस्तो बानी नबसालौं। किनकि जवान तथा वृद्ध सबैले नियमित तवरमा मसीही सभाहरूमा भेला भएर धेरै लाभ उठाउँछन्‌। (हिब्रू १०:२४, २५; व्यवस्था ३१:१२) केटाकेटीलाई ध्यान दिएर सुन्‍न सिकाउनुपर्छ। सभाहरूका लागि तयारी पनि नगरी हुँदैन किनकि टिप्पणी दिएर भाग लिंदा धेरै फाइदा हुन्छ। साना केटाकेटीले एक दुई शब्द बोलेर वा अनुच्छेदको सानो अंश पढेर टिप्पणी गर्न सुरु गर्न सक्छन्‌ भने तिनीहरूलाई जवाफ खोज्न र आफ्नै शब्दमा टिप्पणी गर्न लगाउन सिकाएमा धेरै फाइदा हुनेछ। के तपाईं आमाबाबु आफैले नियमित तवरमा अर्थपूर्ण टिप्पणीहरू दिनुभएर राम्रो उदाहरण बसाल्नुहुन्छ? परिवारका प्रत्येक सदस्यसित आफ्नै बाइबल, गीतको पुस्तक अनि धर्मशास्त्रीय छलफलमा प्रयोग गरिने प्रकाशनको एक प्रति हुनु पनि राम्रो हो।

१३, १४. (क) किन आमाबाबुले छोराछोरीसित सेवकाईमा काम गर्नुपर्छ? (ख) कुन कुराले छोराछोरीलाई क्षेत्र सेवकाई लाभदायी र आनन्ददायी बनाउन मदत गर्नेछ?

१३ बुद्धिमान्‌ आमाबाबुले छोराछोरीको जोसलाई यहोवाको सेवा गर्नेतर्फ केन्द्रित गर्नेछन्‌ र प्रचारकार्यलाई जीवनको महत्त्वपूर्ण भाग बनाउन तिनीहरूलाई मदत गर्नेछन्‌। (हिब्रू १३:१५) सेवकाईमा छोराछोरीसित सँगै काम गरेपछि मात्र आमाबाबुले छोराछोरीलाई “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला” हुन आवश्‍यक तालिम दिन सक्नेछन्‌। (२ तिमोथी २:१५) त्यसोभए, तपाईं के गर्दै हुनुहुन्छ? यदि तपाईं आमा अथवा बुबा हुनुहुन्छ भने के तपाईं छोराछोरीलाई क्षेत्र सेवाको निम्ति तयार पार्दै हुनुहुन्छ? यसो गर्दा तिनीहरूले आफ्नो सेवकाईलाई आनन्ददायी, अर्थपूर्ण अनि फलदायी बनाउन मदत पाउनेछन्‌।

१४ आमाबाबु र छोराछोरीले सेवकाईमा एकसाथ काम गर्नु किन फाइदाजनक छ? किनकि सँगै प्रचारमा जाँदा छोराछोरीले आमाबाबुले बसालेको असल उदाहरण हेर्न र त्यसको नक्कल गर्न सक्छन्‌। यसबाहेक, आमाबाबुले पनि छोराछोरीको मनोवृत्ति, बानीबेहोरा र क्षमता हेर्न सक्नेछन्‌। सेवकाई पूरा गर्ने विभिन्‍न तरिकाहरूसित भिज्न मदत गर्न छोराछोरीलाई सँगै लाने गर्नुहोस्‌। सम्भव भए, प्रत्येक छोराछोरीको क्षेत्र सेवकाईमा जान आफ्नै झोला होस्‌ र उसलाई झोला सफा अनि बोक्न लायकको अवस्थामा राख्न गर्नुपर्ने कुराहरू सिकाउनुहोस्‌। अनवरत तालिम र प्रोत्साहन दिंदा सेवकाईको निम्ति साँचो मूल्यांकन बढ्‌नेछ र प्रचार कार्य परमेश्‍वर अनि छिमेकीलाई माया देखाउने तरिका रहेछ भनेर छोराछोरीले बुझ्नेछन्‌।—मत्ती २२:३७-३९; २८:१९, २०.

आध्यात्मिकता कायम राख्नुहोस्‌

१५. परिवारको आध्यात्मिकता दुरुस्त राख्नु अत्यन्तै महत्त्वपूर्ण भएकोले यसो गर्ने केही तरिका के हुन्‌?

१५ परिवारको आध्यात्मिकतालाई कायम राख्नु अत्यावश्‍यक छ। (भजन ११९:९३) यसो गर्ने एउटा तरिका मौका पाउने बित्तिकै परिवारसित आध्यात्मिक कुराबारे छलफल गर्नु हो। के तपाईं परिवारसित दैनिक पद छलफल गर्नुहुन्छ? “बाटोमा हिंड्‌दा” क्षेत्र सेवाबाट बटुलेका अनुभवहरू सुनाउने वा हालैका प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाहरूका बुँदाहरू बताउने के तपाईंको बानी छ? हर नयाँ बिहानीका लागि अनि उहाँले तपाईंको निम्ति गर्नुभएका त्यस्ता थुप्रै प्रबन्धहरूका लागि के तपाईं “ढल्केर बस्ता” यहोवा परमेश्‍वरलाई धन्यवाद दिन सम्झनुहुन्छ? (व्यवस्था ६:६-९) तपाईंले गर्नुभएका हर कामकुरामा परमेश्‍वरप्रतिको तपाईंको माया छोराछोरीले देख्दा, यसले तिनीहरूलाई सच्चाइलाई आफ्नो बनाउन मदत गर्नेछ।

१६. छोराछोरीलाई नै अनुसन्धान गर्न प्रोत्साहन दिनु कत्तिको फाइदाजनक छ?

१६ कहिलेकाहीं छोराछोरीलाई समस्याहरू वा अप्ठ्‌यारा परिस्थितिहरूसँग सफलतासाथ सामना गर्न निर्देशन चाहिन्छ। तिनीहरूलाई के गर्नुपर्छ वा के गर्नुहुँदैन बताइरहनुको साटो ती विषयहरूमा परमेश्‍वरको दृष्टिकोण कस्तो छ तिनीहरूलाई नै अनुसन्धान गर्न प्रोत्साहन दिनुभए कसो होला? ‘विश्‍वासी र बुद्धिमान्‌ दासले’ प्रबन्ध गरेका हर औजार र प्रकाशनहरूको सदुपयोग गर्न छोराछोरीलाई सिकाउँदा तिनीहरूले यहोवासित घनिष्ट सम्बन्ध कायम राख्ने मदत पाउनेछन्‌। (१ शमूएल २:२१ख) अनि तिनीहरू आफैले अनुसन्धान गरेर भेट्टाएका फाइदाजनक कुराहरू परिवारका अन्य सदस्यसित बाँड्‌दा परिवारको आध्यात्मिकता अझै बढ्‌छ।

यहोवामाथि पूर्ण भरोसा राख्नुहोस्‌

१७. छोराछोरीलाई मसीही बनाउने गरी हुर्काउने सम्बन्धमा एक्ली आमा वा एक्लो बुबा किन हतोत्साही हुनुपर्दैन?

१७ आमाविना वा बुबाविनाको परिवारमा चाहिं के-कसो गर्न सकिन्छ नि? यस्तो अवस्थामा छोराछोरी हुर्काउन थप चुनौती सामना गर्नुपर्ने हुन्छ। तर लोग्ने वा स्वास्नीविना आफू एक्लैले परिवार हुर्काउनु परिरहेको स्त्री वा पुरुष हतोत्साही हुनुपर्दैन! परमेश्‍वरमा भरोसा गर्ने, आज्ञाकारी हुँदै उहाँका सल्लाह पालन गर्ने थुप्रै एक्ली आमा वा बुबाको अनुभवहरूले सफलता पाउन सकिन्छ भनेर देखाउँछ। आफू एक्लैले भए पनि तिनीहरूले असल अनि आध्यात्मिकतामा बलिया छोराछोरी हुर्काएका छन्‌। (हितोपदेश २२:६) हो, एक्ली आमा वा बुबाले यहोवामा पूर्ण भरोसा राख्नु आवश्‍यक छ। उहाँले मदत गर्नुहुनेछ भनेर तिनीहरूले विश्‍वास गर्नैपर्छ।—भजन १२१:१-३.

१८. आमाबाबुले छोराछोरीको कस्तो मानसिक र शारीरिक आवश्‍यकताहरूमा पनि ध्यान दिनुपर्छ तर प्राथमिकता केमा राख्नुपर्छ?

१८ बुद्धिमान्‌ आमाबाबुले ‘हाँस्ने एउटा समय छ र नाच्ने एउटा समय छ’ भनेर बुझेका हुन्छन्‌। (उपदेशक ३:१, ४) छोराछोरीलाई मानसिक अनि शारीरिक तवरमा हुर्कन मदत गर्न सन्तुलित स्वास्थ्यकर मनोरञ्जन अत्यावश्‍यक छ। उत्थानदायी संगीत र विशेष गरी परमेश्‍वरको प्रशंसा गर्ने गीतहरू गाउँदा छोराछोरीलाई यहोवासित बलियो सम्बन्ध कायम गर्नसक्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्यकर मनोवृत्ति राख्न मदत मिल्नेछ। (कलस्सी ३:१६) युवावस्था ईश्‍वरभीरु वयस्क हुन सिक्ने समय पनि हो र यसो गर्दा जीवनको आनन्द प्रमोदवनरूपी पृथ्वीसम्मै कायम रहनसक्छ।—गलाती ६:८.

१९. छोराछोरी हुर्काउन यहोवाले आशिष्‌ दिनुहुन्छ भनेर आमाबाबु किन ढुक्क हुन सक्छन्‌?

१९ यहोवा सबै मसीही परिवार आध्यात्मिकतामा बलियो र एकताबद्ध होस्‌ भन्‍ने चाहनुहुन्छ। हामी साँच्चै परमेश्‍वरलाई प्रेम गर्छौं र सकेसम्म उहाँको वचन पालन गर्न प्रयत्न गर्छौं भने उहाँले हामीलाई आशिष्‌ दिनुहुनेछ र उहाँका प्रेरित निर्देशनहरू पालन गर्न आवश्‍यक बल दिनुहुनेछ। (यशैया ४८:१७; फिलिप्पी ४:१३) नबिर्सनुहोस्‌, अहिले तपाईंसित छोराछोरीलाई सिकाउने र तालिम दिने मौका सीमित छ र यो मौका फेरि दोहरिनेछैन। परमेश्‍वरको वचनको सल्लाह पालन गर्न सकेसम्म प्रयास गर्नुहोस्‌ र परिवारलाई आध्यात्मिकतामा बलियो बनाउने तपाईंको प्रयासमा यहोवाले आशिष्‌ दिनुहुनेछ।

हामीले के सिक्यौं ?

• छोराछोरीलाई तालिम दिंदा समयको पूरा सदुपयोग गर्नु किन महत्त्वपूर्ण छ?

• आमाबाबुले किन राम्रो उदाहरण बसाल्नुपर्छ?

• छोराछोरीलाई आध्यात्मिक तवरमा हुर्कन मदत दिने केही महत्त्वपूर्ण तरिकाहरू के हुन्‌?

• परिवारको आध्यात्मिकता कसरी दुरुस्त राख्न सकिन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २४, २५-मा भएका चित्रहरू]

आध्यात्मिक तवरमा बलियो परिवारले परमेश्‍वरको वचन नियमित अध्ययन गर्छ, मसीही सभाहरूमा उपस्थित हुन्छ र सेवकाईमा सँगसँगै काम गर्छन्‌