सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उहाँका ठूला कामहरूका लागि यहोवाको प्रशंसा गर्नुहोस्‌!

उहाँका ठूला कामहरूका लागि यहोवाको प्रशंसा गर्नुहोस्‌!

उहाँका ठूला कामहरूका लागि यहोवाको प्रशंसा गर्नुहोस्‌!

“मेरो प्राणले परमप्रभुको प्रशंसा गर्दछ . . . किनभने सर्वशक्‍तिमानले मेरो निम्ति ठूलो काम गर्नुभएको छ।”–लूका १:४६-४९.

१. कस्ता ठूला कामहरूका लागि हामीले यहोवाको प्रशंसा गर्नु उचित छ?

 यहोवाले ठूला कामहरू गर्नुभएको छ जसका लागि उहाँ प्रशंसायोग्य हुनुहुन्छ। मिश्रबाट इस्राएलीहरूले पाएको छुटकाराको वर्णन गर्दा मोशाले यस्तो घोषणा गरे: “तिमीहरूले आफ्नै आँखाले परमप्रभुले गर्नुभएका सबै महान्‌ कार्यहरू देखेका छौ।” (व्यवस्था ११:१-७) त्यसै गरी गब्रिएल स्वर्गदूतले कुमारी मरियमलाई येशूको जन्मबारे घोषणा गर्दा मरियमले यसो भनिन्‌: “मेरो प्राणले परमप्रभुको प्रशंसा गर्दछ . . . किनभने सर्वशक्‍तिमानले मेरो निम्ति ठूलो काम गर्नुभएको छ।” (लूका १:४६-४९) इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाउनु र आफ्नो प्रिय पुत्रलाई चमत्कारी ढंगमा गर्भमा सार्नुजस्ता ठूला कामहरूका लागि हामी यहोवाका साक्षीहरू उहाँको प्रशंसा गर्छौं।

२. (क) आज्ञाकारी मानिसजातिका लागि परमेश्‍वरको “सनातनको अभिप्राय[को]” अर्थ के हो? (ख) पत्मोसको टापुमा यूहन्‍नाले के अनुभव गरे?

यहोवाका थुप्रै ठूला कामहरू मसीह र उहाँको राज्य शासनमार्फत आज्ञाकारी मानिसजातिलाई आशिष्‌ दिने उहाँको “सनातनको अभिप्राय[सित]” सम्बन्धित छ। (एफिसी ३:८-१३) वृद्ध प्रेरित यूहन्‍नाले दर्शनमा स्वर्गको खुला ढोकाबाट भित्र चियाउने मौका पाउँदा उक्‍त उद्देश्‍य क्रमशः विकास भइरहेको थियो। तिनले तुरहीको जस्तो सोरले “यतामाथि आऊ, र अब यसपछि हुनआउने कुराहरू म तिमीलाई देखाउनेछु” भनेको सुने। (प्रकाश ४:१) “परमेश्‍वरको वचन र येशू ख्रीष्टको साक्षीको निम्ति” रोमी सरकारद्वारा पत्मोस टापुमा निर्वासित यूहन्‍नाले “येशू ख्रीष्टको प्रकाश” पाएका थिए। प्रेरितले देखेका र सुनेका कुराहरूले परमेश्‍वरको “सनातनको अभिप्राय[बारे]” थुप्रै कुरा प्रकाश पाऱ्‍यो र यसरी प्रथम शताब्दीका सम्पूर्ण साँचो मसीहीहरूले आध्यात्मिक ज्योति अनि समय सुहाउँदो प्रोत्साहन पाए।—प्रकाश १:१, ९, १०.

३. यूहन्‍नाले दर्शनमा देखेका २४ धर्मगुरुहरूले कसलाई प्रतिनिधित्व गर्छन्‌?

स्वर्गको खुला ढोकाबाट यूहन्‍नाले २४ जना प्राचीनहरू सिंहासनमा बसेका र राजाहरूले जस्तै मुकुट लगाएका देखे। परमेश्‍वरसामु घोप्टो परेर तिनीहरूले यसो भने: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।” (प्रकाश ४:११) ती प्राचीनहरूले, परमेश्‍वरले प्रतिज्ञा गर्नुभएबमोजिम पुनरुत्थानपछि उच्च ओहदा पाउने सबै अभिषिक्‍त मसीहीहरूको प्रतिनिधित्व गर्छ। यहोवाले गर्नुभएका उदेकलाग्दा सृष्टि देखेर तिनीहरू उहाँको प्रशंसा गर्न प्रेरित भएका छन्‌। हामी पनि ‘परमेश्‍वरको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभावको’ प्रमाण देखेर छक्क पर्छौं। (रोमी १:२०) अनि हामी यहोवाबारे जति बढी सिक्छौं उत्तिनै उहाँका ठूला कामहरू देखेर झन्‌ धेरै प्रशंसा गर्ने कारणहरू पाउँछौं।

यहोवाका प्रशंसनीय कामहरूको घोषणा गर्नुहोस्‌!

४, ५. दाऊदले कसरी यहोवाको प्रशंसा गरे, उदाहरणहरू दिनुहोस्‌।

भजनरचयिता दाऊदले परमेश्‍वरका ठूला कामहरू देखेर उहाँको प्रशंसा गरे। उदाहरणका लागि, दाऊदले यसरी गाए: “सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्तुति गाओ। जाति जातिका बीचमा उहाँका कामहरूको घोषणा गर। हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। मलाई घृणा गर्नेहरूबाट मैले भोग्नु परेको कष्ट हेर्नुहोस्‌, तपाईं, जसले मलाई मृत्युको ढोकाबाट उठाउनुहुन्छ। र तपाईंको सबै प्रशंसा सियोनकी छोरीका ढोकाहरूमा म देखाउनसकूँ।” (भजन ९:११, १३, १४) आफ्ना छोरा सुलेमानलाई मन्दिरको निर्माण नक्सा बताएपछि दाऊदले यसो भन्दै परमेश्‍वरलाई धन्यवाद चढाए र उहाँको प्रशंसा गरे: “हे परमप्रभु, महानता, शक्‍ति, महिमा, गौरव र वैभव तपाईंकै हुन्‌। . . . हे परमप्रभु, राज्याधिकार तपाईंकै हो, औ सबैका माथि तपाईं सर्वोच्च हुनुहुन्छ। . . . औ अब, हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद दिंदैछौं औ तपाईंको महिमित नाउँको प्रशंसा गर्दैछौं।”—१ इतिहास २९:१०-१३.

प्रेरित धर्मशास्त्रले हामीलाई दाऊदले जस्तै परमेश्‍वरको प्रशंसा गर्ने सल्लाह दिन्छ र हो, आग्रहसमेत गर्छ। भजनको पुस्तकमा परमेश्‍वरको प्रशंसा गर्न व्यक्‍त गरिएका प्रशस्त अभिव्यक्‍तिहरू पाउँछौं र तीमध्ये आधाजसो गीतहरू त दाऊदले रचेका हुन्‌। तिनले निरन्तर यहोवाको प्रशंसा गरिरहे र यहोवालाई धन्यवाद दिइरहे। (भजन ६९:३०) यसबाहेक, पुरातन समयदेखि नै यहोवाको प्रशंसा गर्न दाऊद र अरूका प्रेरित रचनाहरू प्रयोग गरिन्थ्यो।

६. प्रेरित भजन हाम्रोनिम्ति कसरी लाभदायी हुनसक्छ?

यहोवाका उपासकहरूका लागि भजनसंग्रह एकदमै लाभदायी छ! यहोवाले हाम्रोनिम्ति गरिरहनुभएका सबै अद्‌भुत कामहरूका लागि उहाँलाई धन्यवाद चढाउने इच्छा हुँदा हाम्रो ध्यान भजनसंग्रहमा पाइने मीठा मीठा शब्दहरूतर्फ जानसक्छ। जस्तै, नयाँ बिहानी हेर्न पाउँदा हामी यस्तै अभिव्यक्‍ति व्यक्‍त गर्न उत्प्रेरित हुनसक्छौं: “परमप्रभुमा धन्यवाद दिनु, र हे परम प्रधान, तपाईंको स्तुति गर्नु, बिहान तपाईंको करुणाको प्रचार गर्नु, र हरेक रात तपाईंको सत्यताको, . . . स्तुति गर्नु, असल कुरो हो। किनकि हे परमप्रभु, तपाईंले आफ्नो कामद्वारा मलाई आनन्दित तुल्याउनुभएको छ, तपाईंका हातका काममानै म कराई कराईकन गाउनेछु।” (भजन ९२:१-४) हाम्रो आध्यात्मिक प्रगतिमा बाधा पुऱ्‍याउने कुरामाथि विजय हुँदा भजनरचयिताले गाएजस्तै हामी पनि यसरी प्रार्थनामा आनन्द र कृतज्ञता जाहेर गर्न उत्प्रेरित हुनसक्छौं: “आओ, परमप्रभुको निम्ति हामी गाऔं। हाम्रा उद्धारको चटानको निम्ति जयजयकार गरौं। धन्यवाद गर्दै उहाँको सामने आऔं, भजन गाउँदै उहाँको जयजयकार गरौं।”—भजन ९५:१, २.

७. (क) मसीहीहरूले गाउने थुप्रै गीतको विषयमा के कुरा उल्लेखनीय छ? (ख) सभाहरूमा छिट्टै आउने र अन्तसम्मै बस्ने एउटा जायज कारण के हो?

हामी अक्सर मण्डलीका सभाहरूमा, सम्मेलन र अधिवेशनहरूमा यहोवाको प्रशंसा गर्न ठूलो स्वरमा गीत गाउँछौं। यी गीतहरूमध्ये प्रायजसो भजनसंग्रहको पुस्तकमा भएका प्रेरित विचारहरूमा आधारित हुनु उल्लेखनीय छ। यहोवाको प्रशंसा गर्न हामीसित मीठा मीठा गीतको आधुनिक सँगालो हुनु कति खुसीको कुरा हो! परमेश्‍वरको प्रशंसाको गीत गाउनु, हाम्रा सभाहरूमा छिट्टै आउनु र अन्तसम्मै बस्नुपर्ने जायज कारणहरूमध्ये एक हो। यसरी सँगी उपासकहरूसँग मिली गीत गाएर अनि प्रार्थनामा भाग लिएर यहोवाको प्रशंसा गर्छौं।

‘मानिसहरू हो, याहको प्रशंसा गर!’

८. “हल्लेलूयाह” शब्दमा के छ र यसको अर्थ के हो?

“हल्लेलूयाह” भन्‍ने शब्दमा यहोवाको प्रशंसा पाइन्छ र यो अक्सर ‘मानिसहरू हो, याहको प्रशंसा गर’ भन्‍ने हिब्रू अभिव्यक्‍तिको रूपान्तर हो। उदाहरणका लागि, भजन १३५:१-३ मा हामी यस्तो न्यानो अनि सशक्‍त निमन्त्रणा पाउँछौं: “परमप्रभुको स्तुति गर। परमप्रभुको नाउँको स्तुति गर, हे परमप्रभुका सेवक हो, उहाँको स्तुति गर। तिमीहरू, जो परमप्रभुको भवनमा परमप्रभुकै भवनका चोकहरूमा खड़ा रहन्छौ। परमप्रभुको स्तुति गर, किनभने परमप्रभु भला हुनुहुन्छ, उहाँको नाउँको भजन गाओ, किनभने त्यो मनपर्ने हुन्छ।”

९. यहोवाको प्रशंसा गर्न हामीलाई के कुराले उत्प्रेरित गर्छ?

परमेश्‍वरका अद्‌भुत सृष्टि अनि उहाँले हाम्रोनिम्ति गर्नुभएका सबै कामहरूलाई विचार गर्दा हार्दिक मूल्यांकनले हामीलाई उहाँको प्रशंसा गर्न उत्प्रेरित गर्छ। बितेको समयमा यहोवाले आफ्ना जनहरूका लागि गर्नुभएका चमत्कारहरूलाई विचार गर्दा हाम्रो हृदय उहाँको स्तुति गर्न उत्प्रेरित हुन्छ। अनि यहोवाले गर्नुभएका प्रतिज्ञाहरू मनन गर्दा उहाँको प्रशंसा गर्ने र उहाँप्रति कृतज्ञता जाहेर गर्ने तरिकाहरू हामी खोज्छौं।

१०, ११. कसरी हाम्रो अस्तित्वले हामीलाई परमेश्‍वरको प्रशंसा गर्ने कारण दिन्छ?

१० हाम्रो अस्तित्वले पनि याहको प्रशंसा गर्ने जायज कारण दिन्छ। दाऊदले यसरी गाए: “म तपाईंलाई [यहोवालाई] धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।” (भजन १३९:१४) हो, हामी “आश्‍चर्य रीतिले” बनिएका छौं र हामीसित हेर्ने, सुन्‍ने, स्वाद लिने अनि सोच्ने क्षमताजस्ता अनमोल वरदानहरू छन्‌। त्यसोभए, के हामीले आफ्नो जीवन हाम्रो रचनाकारको प्रशंसा हुने तरिकामा बिताउनु पर्दैन र? पावलले यी शब्दहरू लेख्दा, यस्तै विचार व्यक्‍त गरे: “चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरकै महिमाको निम्ति गर।”—१ कोरिन्थी १०:३१.

११ हामी साँच्चै यहोवालाई माया गर्छौं भने, उहाँको महिमाको निम्ति हामी सबथोक गर्नेछौं। येशूले पहिलो आज्ञा यो हो भनेर बताउनुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्‍तिले प्रेम गर्‌।” (मर्कूस १२:३०; व्यवस्था ६:५) हामीले अवश्‍य यहोवालाई माया गर्नुपर्छ र हाम्रो रचनाकारको रूपमा र “हरेक असल दान र हरेक उत्तम वरदान” दिनुहुने परमेश्‍वरको रूपमा उहाँको प्रशंसा गर्नुपर्छ। (याकूब १:१७; यशैया ५१:१३; प्रेरित १७:२८) आखिर, हाम्रो तर्कशक्‍ति, आध्यात्मिक क्षमता र हाम्रो शारीरिक बल अर्थात्‌ हाम्रा सम्पूर्ण गुण अनि क्षमताहरू परमेश्‍वरले नै दिनुभएको हो। हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँ हाम्रो माया अनि प्रशंसाको योग्य हुनुहुन्छ।

१२. यहोवाका ठूला कामहरू र भजन ४०:५ का शब्दहरू तपाईंलाई कस्ता लाग्छन्‌?

१२ यहोवाका ठूला कामहरूका लागि उहाँलाई माया गर्ने अनि उहाँको प्रशंसा गर्ने हामी अनगिन्ती कारणहरू पाउँछौं! दाऊदले यसप्रकार गाए: “हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले गर्नुभएको अचम्मका कामहरू र हामीतर्फको तपाईंको विचार धेरैनै छन्‌। तपाईंको सामने ती सम्झेर क्रमैसँग राख्नसकिंदैन। यदि तिनको विषयमा भनेर मैले बोलें भनेता तिनको गन्ती हुनैसक्‍तैन।” (भजन ४०:५) यहोवाले गर्नुभएका सबै अचम्मका काम भन्‍न सक्ने क्षमता दाऊदसित थिएन र हामीसँग पनि छैन। तर हामी, परमेश्‍वरका कुनै पनि ठूला कामतिर हाम्रो ध्यान खिचिदा सधैं उहाँको प्रशंसा गरिरहौं।

परमेश्‍वरका अनन्त उद्देश्‍यसित सम्बन्धित कामहरू

१३. परमेश्‍वरका ठूला कामहरू हाम्रो आशासित कसरी सम्बन्धित छन्‌?

१३ परमेश्‍वरका अनन्त उद्देश्‍यसित सम्बन्धित उहाँका ठूला अनि प्रशंसनीय कामहरूसित हाम्रो भावी आशाको नजिकको सम्बन्ध छ। अदनको बगैंचामा भएको विद्रोहपछि यहोवाले आशाले भरिएको पहिलो भविष्यवाणी गर्नुभयो। सर्पलाई दण्ड सुनाउनुहुँदै परमेश्‍वरले यसो भन्‍नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कच्चो डस्नेछस्‌।” (उत्पत्ति ३:१५) दुष्ट संसारलाई नाश गर्ने जलप्रलयमा यहोवाले नूह र तिनको परिवारलाई जोगाउनुभएर गर्नुभएको ठूलो कामपछि विश्‍वासी जनहरूले स्त्रीको प्रतिज्ञा गरिएको सन्तानमाथिको आशा आ-आफ्नो हृदयमा साँचिराखेका थिए। (२ पत्रुस २:५) अब्राहाम र दाऊदजस्ता विश्‍वासी पुरुषहरूसित गरिएको यस्तो भविष्यसूचक प्रतिज्ञाले यस वंशमार्फत यहोवाले पूरा गर्नुहुने कुराहरूमाथि थप अन्तर्दृष्टि प्रदान गऱ्‍यो।—उत्पत्ति २२:१५-१८; २ शमूएल ७:१२.

१४. यहोवाले मानिसजातिको निम्ति गर्नुभएका कामहरूको उत्कृष्ट प्रमाण के हो?

१४ आफ्नो एक मात्र पुत्र अर्थात्‌ प्रतिज्ञा गरिएको वंश, येशू ख्रीष्टलाई छुटकाराको बलिदानको रूपमा दिनुहुँदा यहोवा, मानिसजातिको निम्ति ठूला कामहरू गर्नुहुने व्यक्‍ति हुनुहुन्छ भनी राम्ररी प्रकट भयो। (यूहन्‍ना ३:१६; प्रेरित २:२९-३६) यो बलिदानले परमेश्‍वरसित फेरि मेलमिलाप गर्ने आधार तयार पाऱ्‍यो। (मत्ती २०:२८; रोमी ५:११) सबैभन्दा पहिले मेलमिलापमा आउनेहरूलाई यहोवाले सा.यु. ३३ पेन्तिकोसमा स्थापित मसीही मण्डलीमा जम्मा गर्नुभयो। येशूको मृत्यु अनि पुनरुत्थानले गर्दा आज्ञाकारी मानिसहरूले कसरी परमेश्‍वरको स्वर्गीय राज्यमा अनन्त आशिष्‌हरू अनुभव गर्नसक्ने भए, त्यसबारे पवित्र आत्माको मदतद्वारा तिनीहरूले टाढा टाढासम्म सुसमाचार प्रचार गरे।

१५. आज हाम्रो समयमा यहोवाले कसरी अद्‌भुत तरिकामा काम गर्नुभएको छ?

१५ आज हाम्रो समयमा यहोवाले शेष अभिषिक्‍त मसीहीहरूलाई अद्‌भुत तरिकामा जम्मा गर्नुभएको छ। स्वर्गमा ख्रीष्टसँगै राज्य गर्ने १,४४,००० मध्येका शेष जनहरूमाथि छाप नलगाउञ्जेल विनाशको बतास रोकेर राखिएको छ। (प्रकाश ७:१-४; २०:६) त्यसै गरी, उहाँले अभिषिक्‍त मसीहीहरूलाई “महान्‌ बेबिलोन” अर्थात्‌ झूटो धर्मको विश्‍व साम्राज्यको आध्यात्मिक बन्धनबाट छुटाउनुभयो। (प्रकाश १७:१-५) यो छुटकारा सन्‌ १९१९ मा भएको थियो र त्यसबेलादेखि यिनीहरूले अनुभव गरेका ईश्‍वरीय सुरक्षाले यी अभिषिक्‍त शेष जनलाई के गर्ने मौका मिल्यो? द्रुत गतिले आइरहेको “महासंकष्टमा” यहोवाले शैतानको दुष्ट रीतिरिवाजलाई नाश गर्नुअघि अन्तिम साक्षी दिन यिनीहरूले चम्कने मौका पाइरहेका छन्‌।—मत्ती २४:२१; दानियल १२:३; प्रकाश ७:१४.

१६. वर्तमान्‌ विश्‍वव्यापी राज्यप्रचार कार्यको नतिजा के भइरहेको छ?

१६ यहोवाका अभिषिक्‍त साक्षीहरूले विश्‍वभरि जोडतोडका साथ राज्यप्रचार कार्यमा जोसिलो भई नेतृत्व लिइरहेका छन्‌। फलतः असंख्य “अरू भेड़ा” अहिले यहोवाको उपासक भइरहेका छन्‌। (यूहन्‍ना १०:१६) पृथ्वीका नम्र जनहरूले हामीसित मिलेर यहोवाको प्रशंसा गर्ने मौका अझै खुल्ला रहेकोमा हामी रमाउँछौं। “आउनुहोस्‌” भन्‍ने निम्तो स्वीकार्नेहरू महासंकष्टमा बचाइनेछन्‌ र तिनीहरूले अनन्तसम्म यहोवाको प्रशंसा गर्ने आशा गर्न सक्छन्‌।—प्रकाश २२:१७.

साँचो उपासनातर्फ हजारौं ओइरिएका छन्‌

१७. (क) हाम्रो प्रचारकार्यसित सम्बन्धित ठूला कामहरू यहोवाले कसरी गर्दै हुनुहुन्छ? (ख) जकरिया ८:२३ कसरी पूरा हुँदैछ?

१७ यहोवाले अहिले हाम्रो प्रचारकार्यसित सम्बन्धित ठूला अनि प्रशंसनीय कामहरू गर्दै हुनुहुन्छ। (मर्कूस १३:१०) हालैका वर्षहरूमा उहाँले “एउटा ठूलो र अभिप्राय पूरा गर्ने ढोका” खोल्नुभएको छ। (१ कोरिन्थी १६:९) फलतः पहिले सच्चाइका शत्रुहरूले गर्दा सुसमाचार प्रचार गर्न असम्भव भएका थुप्रै इलाकामा सुसमाचार प्रचार गर्न सकिएको छ। आध्यात्मिक अन्धकारमा जीवन बिताउनेहरूले अहिले यहोवाको उपासना गर्ने निम्तो स्वीकारिरहेका छन्‌। तिनीहरूले यी भविष्यसूचक शब्दहरू पूरा गरिरहेका छन्‌: “ती दिनमा सबै जातिका विभिन्‍न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले एउटा यहूदीको लुगा समातेर यसो भन्‍नेछन्‌, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।’ ” (जकरिया ८:२३) यी ‘मानिसहरू’ आध्यात्मिक यहूदीहरू अर्थात्‌ वर्तमान्‌ समयका शेष अभिषिक्‍त मसीहीहरू हुन्‌। दस संख्याले पृथ्वीसित सम्बन्धित कुराको पूर्णतालाई संकेत गर्नसक्ने भएकोले “दश जना मानिसले” ‘ठूलो भीड़को’ प्रतिनिधित्व गर्छ। यो ‘ठूलो भीड़लाई’ ‘परमेश्‍वरका इस्राएलको’ संगतिमा ल्याएर “एकै बगाल[को]” बनाइएको छ। (प्रकाश ७:९, १०; गलाती ६:१६) यहोवा परमेश्‍वरको उपासकको हैसियतमा यति धेरै मानिसहरूले एकसाथ पवित्र सेवा गरिरहेको हेर्न पाउनु साँच्चै साह्रै रमाइलो कुरा हो!

१८, १९. यहोवाले प्रचार कार्यमाथि आशिष्‌ दिइरहनुभएको छ भन्‍ने के प्रमाण छ?

१८ झूटो धर्मले जरा गाडेका मुलुकका दसौं हजार, अझ भनौं भने हजारौं हजारले साँचो उपासनालाई अँगालेको देख्दा हामी रोमाञ्चित हुन्छौं। एकताक हामीले, तिनीहरूले परमेश्‍वरको राज्य सुसमाचार कहिल्यै स्वीकार्दैनन्‌ होला भन्ठानेका थियौं। हालैको जनवरी १, २००१ को प्रहरीधरहरा हेर्नुहोस्‌ र अहिले राज्य उद्‌घोषकहरूको संख्या १,००,००० देखि झन्डै १०,००,००० हुने देश कुन कुन रहेछन्‌ याद गर्नुहोस्‌। राज्यप्रचार कार्यमा साँच्चै यहोवाको आशिष्‌ छ भन्‍ने कुराको यो सशक्‍त प्रमाण हो।—हितोपदेश १०:२२.

१९ हामीलाई साँचो उद्देश्‍य भएको जीवन, उहाँको सेवा गर्ने जस्तो इनामदायी काम र उज्ज्वल भविष्य दिनुभएकोमा हामी उहाँको जनको रूपमा स्वर्गमा हुनुहुने हाम्रो पिता, यहोवाको प्रशंसा गर्छौं, उहाँलाई धन्यवाद दिन्छौं। सबै ईश्‍वरीय प्रतिज्ञाहरू पूरा हुने समयको हामी उत्कट प्रतीक्षा गर्छौं र ‘अनन्त जीवनको निम्ति आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड्‌ने’ अटल निर्णय गर्छौं। (यहूदा २०, २१) अहिले यहोवाको प्रशंसा गर्ने ठूलो भीडको संख्या झन्डै ६०,००,००० पुग्न लागेको देख्न पाउँदा हामी कत्ति हर्षित छौं! यहोवाले आशिष्‌ दिइरहनुभएको सुस्पष्ट प्रमाण पाइरहेका शेष अभिषिक्‍त जनहरू र तिनीहरूका अरू भेडाका साथीहरू अहिले २३५ राष्ट्रका झन्डै ९१,००० मण्डलीहरूमा संगठित भएका छन्‌। “विश्‍वासी र बुद्धिमान दास[को]” अथक प्रयासको कारण हामी सबैले प्रशस्त आध्यात्मिक भोजन पाइरहेका छौं। (मत्ती २४:४५) मायालु निरीक्षण गर्ने प्रगतिशील ईश्‍वरतान्त्रिक संगठनले यहोवाका साक्षीहरूको ११० वटा शाखा कार्यालयमार्फत राज्य गतिविधि सञ्चालन गरिरहेको छ। यहोवाले आफ्ना मानिसहरूको हृदयलाई ‘आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर्न’ उत्प्रेरित गराउनुभएकोमा हामी धन्यवादी छौं। (हितोपदेश ३:९, १०) फलतः आवश्‍यकताअनुसार छापाखाना, बेथेल तथा मिसनरी घर, राज्यभवन र सम्मेलन भवनहरू निर्माण गर्दै हाम्रो विश्‍वव्यापी प्रचारकार्य निरन्तर चलिरहेको छ।

२०. यहोवाका ठूला र प्रशंसनीय कामहरूमा मनन गर्दा त्यसले हामीमा कस्तो प्रभाव पार्नुपर्ने हो?

२० स्वर्गमा हुनुहुने हाम्रो पिताको सबै ठूला र प्रशंसनीय काम उल्लेख गर्नु असम्भव छ। तर के धर्मी हृदय हुने व्यक्‍ति यहोवाको प्रशंसा गर्ने मानिसहरूको जमातबाट अलग बस्न सक्ला? पक्कै सक्दैन! त्यसकारण, परमेश्‍वरलाई माया गर्नेहरू सबैले यसरी रमाहट गरून्‌: “[याहको] प्रशंसा गर। स्वर्गबाट [याहको] प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर। हे उहाँका सारा दूतगण हो, उहाँको प्रशंसा गर, . . . जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटा-केटीहरू। तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्‌, किनकि उहाँको नाउँ मात्रै उच्च मानिएको छ, उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ।” (भजन १४८:१, २, १२, १३) हो, अहिले र अनन्तसम्म, ठूला कामहरू गर्नुहुने यहोवाको प्रशंसा गरिरहौं!

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवाका केही प्रशंसनीय कामहरू के हुन्‌?

• यहोवाको प्रशंसा गर्न तपाईं किन उत्प्रेरित हुनुहुन्छ?

• हाम्रो आशा परमेश्‍वरका ठूला कामहरूसित कसरी गाँसिएका छन्‌?

• यहोवाले राज्यप्रचार कार्यसित सम्बन्धित प्रशंसनीय कामहरू कसरी गरिरहनुभएको छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

यहोवाको प्रशंसाका गीतहरू गाउँदा के तपाईं हृदयदेखि गाउनुहुन्छ?

[पृष्ठ १३-मा भएका चित्रहरू]

नम्र जनहरूले हामीसित मिलेर यहोवाको प्रशंसा गर्ने मौका अझै खुल्ला रहेकोमा हामी रमाउँछौं