सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पति वा पत्नी रोज्नका लागि ईश्‍वरीय मार्ग निर्देशन

पति वा पत्नी रोज्नका लागि ईश्‍वरीय मार्ग निर्देशन

पति वा पत्नी रोज्नका लागि ईश्‍वरीय मार्ग निर्देशन

“म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।”–भजन ३२:८.

१. सफल वैवाहिक जीवनका लागि कस्ता तत्त्वहरू अत्यावश्‍यक छन्‌?

 जमिनबाट धेरै माथि झुन्ड्याइएको पिङमा सर्कस कलाकार मच्चिरहेको छ। अचानक ऊ पिङबाट फुत्रुक्क उफ्रन्छ र जीउलाई डल्लो पारेर कुशलतासाथ हावामा हुत्तिन्छ। तुरुन्तै ऊ आफ्नो जीउ सीधा पार्छ र पाखुराहरू तन्काउँदा अर्कोतिर टाउको तल पारेर पिङमा झुन्डिरहेका कलाकारका हातहरू च्याप्प समात्छ। बरफमा स्केटिङ गर्ने एक जोडी सरर्र भुइँमा चिप्लिरहेका छन्‌। अचानक लोग्नेमान्छेले आफ्नी जोडीलाई उचाल्छ र मास्तिर हावामा फ्याँक्छ। ऊ हावामा फनफनी घुम्छे र बडो आकर्षक ढंगमा एउटा खुट्टाले भुइँमा उभिन्छे र आफ्नो जोडीसित वरपर फन्को मार्न थाल्छे। कलाकारहरूको यो खेल, हेर्दा कति सजिलो देखिन्छ। यद्यपि, अभ्यास, सक्षम जोडी र विशेष गरी सही डोऱ्‍याइ वा निर्देशनविना कसले यस्ता कलाहरू देखाउने प्रयास गर्लान्‌ र। त्यसै गरी, वैवाहिक जीवनमा स्वतः सफल भइन्छ जस्तो लाग्नसक्छ। तथापि, यो पनि असल जोडी, आपसी प्रयास र विशेष गरी बुद्धिमानी सल्लाहहरूमा भर पर्छ। हो, वास्तवमा विवाहको कुरामा पनि सही मार्ग निर्देशन अत्यावश्‍यक छ।

२. (क) वैवाहिक प्रबन्धको सुरुआत कसले गर्नुभयो र कुन उद्देश्‍यका लागि? (ख) केही वैवाहिक प्रबन्ध कसरी मिलाइन्छन्‌?

अविवाहित युवकयुवतीले विवाह अर्थात्‌ जीवनसाथीबारे सोच्नु सामान्य कुरा हो। यहोवा परमेश्‍वरले विवाहको स्थापना गर्नु भएदेखि नै पुरुष र स्त्रीबीच यो सामान्य कुरा भई आएको छ। तर पहिलो पुरुष आदम आफैले आफ्नी श्रीमती छानेका थिएनन्‌। मायालु यहोवाले तिनको निम्ति पत्नीको प्रबन्ध गरिदिनुभएको थियो। (उत्पत्ति २:१८-२४) प्रथम मानव दम्पतीले सन्तान जन्माएर अन्तमा सम्पूर्ण पृथ्वी भरून्‌ भन्‍ने उहाँको इच्छा थियो। यो पहिलो विवाहपछि अक्सर आमाबाबु आफैले नै छोराछोरीको निम्ति दुलहा वा दुलही खोज्न थाले भने कहिलेकाहीं सम्बन्धित व्यक्‍तिहरूको स्वीकृति लिएपछि दुलहादुलही खोजिन्थ्यो। (उत्पत्ति २१:२१; २४:२-४, ५८; ३८:६; यहोशू १५:१६, १७) कतै कतै र कुनै कुनै समाजमा अझै आमाबाबुले नै छोराछोरीको निम्ति दुलहादुलही खोज्ने प्रचलन भए तापनि हिजोआज आफैले रोज्ने चलन बढ्‌दो छ।

३. विवाह गर्न केटा वा केटी कसरी छान्‍नुपर्छ?

विवाह गर्न केटा वा केटी कसरी रोज्ने? कोही कोही बाहिरी रूप अनि सौन्दर्य देखेर आकर्षित हुन्छन्‌ अर्थात्‌ तिनीहरूलाई आकर्षक अनि रहरलाग्दो व्यक्‍ति मन पर्छ। अरू कतिपयचाहिं धनसम्पत्ति हेर्छन्‌ अर्थात्‌ आफ्नो राम्रो हेरविचार गर्नसक्ने अनि हर आवश्‍यकता र चाहना पूरा गर्नसक्ने व्यक्‍ति खोज्छन्‌। तर के यी कुराहरूले मात्र वैवाहिक जीवनलाई आनन्दित अनि सन्तुष्टदायी बनाउनसक्छ त? हितोपदेश ३१:३० यसो भन्छ: “सौन्दर्य भ्रमात्मक हुन्छ, औ सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्‍वरको भय भान्‍ने स्त्रीनै आदरणीय हुन्छिन्‌।” अनि यसैमा महत्त्वपूर्ण कुरा लुकेको छ: विवाह गर्न केटा वा केटी छान्दा यहोवालाई ध्यानमा राख्नु।

परमेश्‍वरले दिनुहुने मायालु निर्देशन

४. विवाह गर्नका लागि जोडी छान्‍ने सम्बन्धमा परमेश्‍वरले हामीलाई कस्तो मदत दिनुभएको छ?

स्वर्गमा हुनुहुने हाम्रो मायालु पिता यहोवाले हामीलाई हरेक कुरामा डोऱ्‍याउन आफ्नो लिखित वचन दिनुभएको छ। उहाँ यसो भन्‍नुहुन्छ: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।” (यशैया ४८:१७) त्यसोभए, विवाह गर्न केटा वा केटी छान्‍ने सम्बन्धमा बाइबलमा परापूर्वकालदेखि लाभप्रद साबित भएका मार्ग निर्देशनहरू पाइनु कुनै अचम्मलाग्दो कुरा होइन। यहोवा हाम्रो विवाह स्थायी र आनन्दित भएको चाहनुहुन्छ। त्यसकारण, उहाँले हामीलाई यी मार्ग निर्देशनहरू बुझ्न र त्यसलाई प्रयोग गर्न मदत दिनुभएको छ। मायालु सृष्टिकर्ताबाट हामीले आशा गर्ने कुरा नै यही हो नि, होइन र?—भजन १९:८.

५. चिरकालीन सुखी वैवाहिक जीवनका लागि नगरी नहुने कुरा के हो?

यहोवा परमेश्‍वरले वैवाहिक प्रबन्ध स्थापित गर्नुहुँदा उहाँले त्यो चिरकालीन बन्धन होस्‌ भनेर विचार गर्नुभएको थियो। (मर्कूस १०:६-१२; १ कोरिन्थी ७:१०, ११) त्यसैले, ‘उहाँ सम्बन्धविच्छेदको कुरालाई घृणा गर्नुहुन्छ’ र “व्यभिचारको” बाहेक अन्य कारणले सम्बन्धविच्छेद गर्ने अनुमति दिनुहुन्‍न। (मलाकी २:१३-१६, नयाँ संशोधित संस्करण; मत्ती १९:९) त्यसकारण, विवाह गर्नका लागि जोडी छान्‍नु गम्भीर कदमहरूमध्ये एक हो र यसलाई हल्कासित लिनु हुँदैन। विवाहले जति सुखी वा दुःखी गर्नसक्ने अरू कुनै निर्णय छैन। सही छनौटले व्यक्‍तिविशेषको जीवन पूर्ण र सन्तुष्ट पार्नसक्छ भने गलत छनौट गरेमा दुःखको अन्त नहुनसक्छ। (हितोपदेश २१:१९; २६:२१) सुखी भइरहने हो भने, बुद्धिमानीसाथ छनौट गर्नु र आफ्नो पति वा पत्नीलाई धोखा नदिनु अत्यावश्‍यक छ। किनकि परमेश्‍वरले विवाहलाई आपसी सहयोगद्वारा फस्टाउने साझेदारी सम्बन्धको रूपमा स्थापित गर्नुभएको थियो।—मत्ती १९:६.

६. विवाह गर्नका लागि जोडी छान्दा युवकयुवतीहरूले विशेष गरी किन होस पुऱ्‍याउनुपर्छ र तिनीहरूले कसरी बुद्धिमानी निर्णय गर्न सक्छन्‌?

विशेष गरी शारीरिक आकर्षण र आवेगको वशमा नपर्न विवाह गर्नका लागि केटा वा केटी रोज्दा युवकयुवतीले अत्यन्तै होस पुऱ्‍याउनुपर्ने कुरा हुन्‌। यी कुराहरूलाई प्राथमिकता दियो भने वैवाहिक सम्बन्ध छिट्टै अमिलोपन अनि घृणाले भरिन सक्छ। (२ शमूएल १३:१५) अर्कोतिर, आफ्नो जोडीलाई र आफैलाई अझै राम्ररी चिन्‍न थाल्दा स्थायी प्रेम खेती गर्न सकिन्छ। हाम्रो मनले चाहेको कुराले हाम्रो भलाइ नगर्न पनि सक्छ भनेर बुझ्नु पनि आवश्‍यक छ। (यर्मिया १७:९) त्यसैकारण, बाइबलमा पाइने ईश्‍वरीय निर्देशन अत्यन्तै आवश्‍यक छ। यसले हामीलाई जीवनमा बुद्धिमान्‌ निर्णयहरू कसरी गर्न सकिन्छ, त्यो बुझ्न मदत गर्छ। यहोवाको प्रतिनिधित्व गर्दै भजनरचयिताले यसो भने: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” (भजन ३२:८; हिब्रू ४:१२) विवाहले प्रेम र मित्रता जस्तो हाम्रो जन्मजात आवश्‍यकताहरूलाई सन्तुष्ट पार्न सक्ने भए तापनि यसले परिपक्वता र विवेक आवश्‍यक पर्ने चुनौतीहरू पनि खडा गर्छ।

७. किन कसै कसैले बाइबल आधारित सल्लाह पालन गर्दैनन्‌ र यसले कुन मार्गतिर लैजान सक्छ?

विवाह गर्नका लागि जोडी छान्‍नुपर्दा विवाहको आरम्भकले के भन्‍नुभएको छ भनेर निर्देशन खोज्नु बुद्धिमानी हो। यद्यपि, आमाबुबा वा मसीही प्राचीनले बाइबलमा आधारित सल्लाह दिनुहुँदा हामी ठाडै इन्कार गरौंला। उहाँहरूले कुरै बुझ्नुहुन्‍न जस्तो हामीलाई लाग्ला र भावनात्मक इच्छाहरूले हामीलाई आफ्नो मनले भनेजस्तो गर्न सुऱ्‍याउन सक्छ। तथापि, केही समयपछि दैनिक जीवनका वास्तविकताहरूको सामना गर्नुपरेपछि हाम्रै भलाइ हुने बुद्धिमानी सल्लाह पालन नगरेकोमा पछुतो लाग्न सक्छ। (हितोपदेश २३:१९; २८:२६) हेरचाह गर्न गाह्रो छोराछोरी र हुनसक्छ विश्‍वासमा नभएको पति वा पत्नीसँगको मायारहित वैवाहिक जीवन बिताउन हामी बाध्य हुनसक्छौं। हामीलाई सुखी बनाउने प्रबन्ध नै हाम्रो दुःखको स्रोत हुँदा कति नमीठो हुनेछ!

ईश्‍वरीय भक्‍ति—निर्णायक तत्त्व

८. वैवाहिक जीवनलाई स्थायी र आनन्दको स्रोत बनाउन ईश्‍वरीय भक्‍तिले कसरी मदत गर्छ?

हो, पारस्परिक आकर्षणले वैवाहिक जीवनलाई बलियो बनाउन मदत गर्छ। तर वैवाहिक बन्धनलाई स्थायी र आनन्दको स्रोत बनाउने हो भने अन्तर्निहित मूल्य र मान्यताहरू समान हुनु झनै महत्त्वपूर्ण छ। यदि दुवै यहोवा परमेश्‍वरका भक्‍त हुन्‌ भने यसले वैवाहिक जीवनलाई अरू कुनै तत्त्वले दिन नसक्ने चिरकालीन स्थायित्व अनि एकता प्रदान गर्छ। (उपदेशक ४:१२) मसीही दम्पतीले आफ्नो जीवन यहोवाको साँचो उपासनामा केन्द्रित गरे भने तिनीहरू आध्यात्मिक, मानसिक अनि नैतिक तवरमा एकताबद्ध हुन्छन्‌। तिनीहरू एकसाथ परमेश्‍वरको वचन पढ्‌छन्‌। तिनीहरू एकसाथ प्रार्थना गर्छन्‌ र यसले तिनीहरूको हृदयलाई एकताबद्ध पार्छ। तिनीहरू सँगै मसीही सभा जान्छन्‌ र क्षेत्र सेवकाईमा पनि सँगै काम गर्छन्‌। यी सबैले यस्तो बलियो आध्यात्मिक बन्धन बनाउँछ जसले दुवैलाई एकअर्काको समीप ल्याउँछ। योभन्दा पनि महत्त्वपूर्ण कुरा त, यसो गर्दा यहोवाको आशिष्‌ प्राप्त हुन्छ।

९. इसहाकको निम्ति दुलही खोज्ने सम्बन्धमा अब्राहामले के गरे र यसको परिणाम कस्तो भयो?

ईश्‍वरीय भक्‍तिका कारण विश्‍वासी कुलपिता अब्राहामले आफ्नो छोरा इसहाकको निम्ति दुलही खोज्ने बेला परमेश्‍वरलाई प्रसन्‍न पार्ने मार्ग खोजे। अब्राहामले आफ्ना विश्‍वासी सेवकलाई यसो भने: “म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु कि तैंले मेरो छोरालाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनु, तर मेरो देशमा मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकको लागि स्वास्नी ल्याउनु। . . . [यहोवाले नै] आफ्ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैंले मेरो छोरालाई त्यहाँबाट एउटी स्वास्नी ल्याइदिनू।” रिबेका उल्लेखनीय पत्नी साबित भइन्‌ र इसहाक तिनलाई औधी माया गर्थे।—उत्पत्ति २४:३, ४, ७, १४-२१, ६७.

१०. लोग्ने अनि स्वास्नीमाथि कस्ता धर्मशास्त्रीय दायित्वहरू छन्‌?

१० यदि हामी अविवाहित मसीहीहरू हौं भने ईश्‍वरीय भक्‍तिले हामीलाई वैवाहिक जीवनलाई चाहिने धर्मशास्त्रीय आवश्‍यकताहरू पूरा गर्ने गुणहरू विकास गर्न मदत गर्नेछ। लोग्नेस्वास्नीले पूरा गर्नुपर्ने दायित्वहरूमध्ये केहीबारे प्रेरित पावलले यसप्रकार उल्लेख गरेका छन्‌: “पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस। . . . पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, . . . पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। . . . तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई जस्तैगरी प्रेम गर, औ पत्नीले पनि आफ्ना पतिको डर मानोस्‌।” (एफिसी ५:२२-३३) हामीले देखिहाल्यौं, पावलका प्रेरित वचनहरूले प्रेम र आदर आवश्‍यक छ भनेर जोड दिन्छ। यस सल्लाहबमोजिम गर्नुमा यहोवाप्रतिको श्रद्धेय भय समावेश छ। सुखदुःख जस्तै भए पनि हृदयदेखि वचनबद्ध हुनु पनि यसमा समावेश छ। विवाह गर्ने विचार गरिरहेका मसीहीहरू यो जिम्मेवारी वहन गर्नसक्ने हुनुपर्छ।

कुन उमेरमा विवाह गर्ने निर्णय गर्नु

११. (क) कहिले विवाह गर्ने भन्‍ने सम्बन्धमा धर्मशास्त्रमा कस्तो सल्लाह दिइएको छ? (ख) पहिलो कोरिन्थी ७:३६ मा लिपिबद्ध बाइबलको सल्लाह पालन गर्नु बुद्धिमानी छ भनेर कुन उदाहरणले देखाउँछ?

११ विवाह गर्न तयार छौं वा छैनौं, त्यो जान्‍नु अत्यावश्‍यक छ। विवाह गर्न योग्यको हुने उमेर व्यक्‍तिविशेषअनुसार फरक फरक हुने भएकोले धर्मशास्त्रले विवाह गर्ने उमेर तोकेको छैन। तथापि, यौनाकांक्ष तीव्र भएर सही निर्णय गर्न नसकिने उमेर अर्थात्‌ “बैंस” नबितुञ्जेल पर्खनु असल छ भनेर शास्त्रले देखाउँछ। (१ कोरिन्थी ७:३६) मीशेल भन्छिन्‌, “किशोरावस्थामै मेरा साथीहरू डेटिङमा जान थालेको र विवाह गर्न थालेको देख्दा मलाई यो सल्लाह पालन गर्न कहिलेकाहीं गाह्रो लाग्थ्यो। तर यो सल्लाह त यहोवाले नै दिनुभएको हो र उहाँले हाम्रै भलाइ हुने कुरा बताउनुहुन्छ भनेर मैले मानिलिएँ। बिहे गर्न हतार नगरेको कारण मैले यहोवासितको आफ्नो सम्बन्धमाथि ध्यान दिनसकें र केही त्यस्ता अनुभवहरू पनि बटुलें जुन सामान्यतयः किशोरावस्थामा पाउन गाह्रो हुन्छ। केही वर्ष बितेपछि म वैवाहिक जीवनमा आइपर्न सक्ने जिम्मेवारी वहन गर्न र समस्याहरू समाधान गर्नसक्ने हुनसकें।”

१२. कलिलै छँदा बिहे गर्न हतार गर्नु किन बुद्धिमानी होइन?

१२ कलिलै उमेरमा बिहे गर्न हतार गर्नेहरूले पछि आफू परिपक्व हुँदा आफ्ना आवश्‍यकता र चाहनाहरू अक्सर बदलिएको पाउँछन्‌। त्यसपछि पहिले आफूलाई असाध्यै मन परेका कुराहरू अहिले त्यति महत्त्वपूर्ण लाग्न छाडेको तिनीहरू अनुभव गर्छन्‌। एउटी मसीही किशोरीले आफ्नो उमेर १६ वर्ष पुगेपछि बिहे गर्ने निधो गरेकी थिइन्‌। तिनकी हजुरआमाले अनि तिनकी आमाले पनि १६ वर्षमै बिहे गरेका रहेछन्‌। त्यतिखेर आफूले बिहे गर्न खोजेको युवकले बिहे गर्न नमान्दा तिनले अर्कै युवक रोजिन्‌। तथापि, पछि आफूले त्यसरी हतारमा निर्णय गरेकोमा तिनी असाध्यै पछुताइन्‌।

१३. अपरिपक्व छँदै बिहे गर्नेहरूसित अक्सर के कुरा हुँदैन?

१३ बिहे गर्ने विचार गर्दा यसमा विथोलित हुने सबै कुराबारे परिपक्व भएर विचार गर्नु महत्त्वपूर्ण छ। परिपक्व नभई बिहे गर्दा तीन थुप्रो समस्या आइपर्न सक्छ र ती समस्याहरूको सामना गर्न उमेर नपुगेका विवाहित दम्पती असक्षम हुनसक्छन्‌। वैवाहिक जीवनका दबाउ सामना गर्ने र बालबच्चा हुर्काउने अनुभव अनि परिपक्वता तिनीहरूसित नहुनसक्छ। हामी शारीरिक, मानसिक अनि आध्यात्मिक तवरमा स्थायी साझेदारी वहन गर्नसक्ने भएपछि मात्र विवाह गर्नुपर्छ।

१४. वैवाहिक जीवन तनाउग्रस्त हुँदा के आवश्‍यक पर्छ?

१४ बिहे गर्नेहरूलाई “शरीरमा कष्ट हुनेछ” भनेर पावलले लेखे। (१ कोरिन्थी ७:२८) दुई भिन्‍न व्यक्‍तित्वको मेल हुने भएकोले समस्याहरू खडा हुनेछन्‌ र दृष्टिकोण भिन्‍न हुनेछन्‌। मानव असिद्धताको कारण वैवाहिक जीवनमा आफ्नो धर्मशास्त्रीय भूमिका निर्वाह गर्न गाह्रो हुनसक्छ। (१ कोरिन्थी ११:३; कलस्सी ३:१८, १९; तीतस २:४, ५; १ पत्रुस ३:१, २, ७) तनाउग्रस्त परिस्थितिलाई मायालु ढंगले समाधान गर्नका लागि ईश्‍वरीय निर्देशन खोज्न र पालन गर्न परिपक्वता अनि आध्यात्मिक स्थिरता चाहिन्छ।

१५. आमाबाबुले छोराछोरीलाई वैवाहिक जीवनको निम्ति तयार गर्न कस्तो भूमिका निर्वाह गर्न सक्छन्‌? उदाहरण दिनुहोस्‌।

१५ आमाबाबुले छोराछोरीलाई ईश्‍वरीय निर्देशनहरू पालन गर्नुको महत्त्व बुझ्न मदत गरेर विवाहको निम्ति तयार पार्नसक्छन्‌। धर्मशास्त्र र मसीही प्रकाशनहरू निपुणतासाथ प्रयोग गर्दा आमाबाबुले छोराछोरीलाई आफू र आफ्ना भावी पति वा पत्नी वैवाहिक जीवनको जिम्मेवारी वहन गर्नसक्ने भइसके कि भइसकेका छैनन्‌ पक्का गर्न मदत गर्न सक्छन्‌। a अठाह्र वर्षीया ब्लसमको मण्डलीका एक जना युवकसित माया बसेको थियो। तिनी पूर्ण-समय अग्रगामी सेवक थिए र तिनीहरू बिहे गर्न चाहन्थे। तर ब्लसमका आमाबाबुलाई तिनी कलिलै छिन्‌ भन्‍ने लागेर एक वर्षजति कुर्न लगाए। ब्लसमले पछि यसरी लेखिन्‌: “आमाबाबुले दिनुभएको बुद्धिमानी सल्लाहका लागि अहिले म कृतज्ञ छु। वर्षदिन भित्र म केही हदसम्म परिपक्व भएँ र त्यो युवकसित असल लोग्नेमा हुनुपर्ने गुणहरू रहेनछ भन्‍ने कुरा मैले थाह पाएँ। पछि उसले संगठन छोडेर गयो। कसो मेरो जिन्दगी नै बर्बाद भएन! भरोसायोग्य सुझाउहरू दिने बुद्धिमान्‌ आमाबाबु हुनु कत्ति राम्रो कुरा हो!”

‘प्रभुमा मात्र विवाह गर्नुहोस्‌’

१६. (क) ‘प्रभुमा मात्र बिहे गर्ने’ सम्बन्धमा कसरी मसीहीको परीक्षा हुनसक्छ? (ख) बेग्लै विश्‍वास भएका व्यक्‍तिसित बिहे गर्ने प्रलोभनमा पर्दा मसीहीहरूले के सम्झनुपर्छ?

१६ मसीहीहरूलाई “प्रभुमा मात्र” विवाह गर्नू भन्‍ने यहोवाको सुस्पष्ट निर्देशन छ। (१ कोरिन्थी ७:३९) यस सम्बन्धमा मसीही आमाबाबु र छोराछोरीको जाँच हुनसक्छ। कसरी? जवान मानिसहरूले विवाह गर्ने इच्छा गर्लान्‌ तर मण्डलीमा बिहे गर्न योग्य जोडी नभेटिन सक्छ अथवा त्यस्तो लागेको हुनसक्छ। कुनै खास ठाउँमा महिलाहरूको तुलनामा पुरुषको संख्या थोरै हुनसक्छ वा आफ्नो निम्ति सुहाउने कुनै जोडी नै नदेखिएको हुनसक्छ। समर्पण नगरिसकेका मण्डलीका युवकले मसीही युवतीप्रति (वा युवतीले मसीही युवकप्रति) चासो देखाउलान्‌ र त्यतिखेर यहोवाका स्तरहरूसित सम्झौता गर्ने दबाउ आउन सक्छ। यस्तो परिस्थितिमा अब्राहामलाई सम्झनु राम्रो हुनेछ। छोरा इसहाकको बिहे यहोवाकै उपासकसित हुनुपर्छ भनेर पक्का गर्नु अब्राहामले परमेश्‍वरसितको आफ्नो सम्बन्ध राम्रो पारेको एउटा प्रमाण हो। इसहाकले आफ्नो छोरा याकूबको सम्बन्धमा पनि त्यसै गरे। यसमा विथोलित सबैले प्रयास गर्नुपऱ्‍यो तर यसो गर्दा परमेश्‍वर प्रसन्‍न हुनुभयो र उहाँको आशिष्‌ प्राप्त भयो।—उत्पत्ति २८:१-४.

१७. बेग्लै विश्‍वासमा हुने व्यक्‍तिसित बिहे गर्नु किन विध्वंसकारी साबित हुनसक्छ र ‘प्रभुमा मात्र बिहे गर्नुको’ सबैभन्दा महत्त्वपूर्ण कारण के हो?

१७ बेग्लै विश्‍वास भएको व्यक्‍ति पछि मसीही भएको केही घटना त छन्‌। तैपनि, बेग्लै विश्‍वास भएकासित बिहे गर्नु अक्सर विध्वंसकारी साबित भएको छ। एउटै हलोमा नजोतिएकाहरूको विश्‍वास, स्तर वा लक्ष्य एउटै हुँदैन। (२ कोरिन्थी ६:१४) यसले पारस्परिक कुराकानी र वैवाहिक सुखमा नराम्रो असर पार्नसक्छ। उदाहरणका लागि, एउटी मसीही स्त्री सभामा सिकेका प्रोत्साहनजनक कुराहरू घर फर्केर पतिसित आध्यात्मिक छलफल गर्न नपाएकोमा अत्यन्तै खल्लो महसुस गर्छिन्‌। किनकि तिनको पतिको बेग्लै विश्‍वास छ। अनि योभन्दा पनि महत्त्वपूर्ण कुरा त, ‘प्रभुमा बिहे गर्नु’ भनेको यहोवाप्रति वफादार हुनु हो। परमेश्‍वरको वचनअनुसार चल्दा हाम्रो हृदयले हामीलाई धिक्कार्दैन किनकि हामीले ‘उहाँको दृष्टिमा मनपर्ने कुराहरू गरिरहेका हुन्छौं।’—१ यूहन्‍ना ३:२१, २२.

१८. विवाह गर्ने विचार गर्दा कस्ता महत्त्वपूर्ण कुराहरूमा ध्यान दिनुपर्छ र किन?

१८ विवाह गर्ने विचार गर्दा भावी पति वा पत्नीको सद्‌गुण र आध्यात्मिकता प्रमुख चासोको विषय हुनुपर्छ। मसीही व्यक्‍तित्वका साथै परमेश्‍वरप्रतिको प्रेम र उहाँप्रतिको सम्पूर्ण हृदयसहितको भक्‍ति शारीरिक आकर्षणभन्दा कता हो कता बहुमूल्य छन्‌। आध्यात्मिक तवरमा बलियो पति वा पत्नी बन्‍न आफ्नो दायित्व पूरा गर्ने र त्यसको मूल्यांकन गर्नेहरूले ईश्‍वरीय अनुमोदन पाउनेछन्‌। अनि विवाहित जोडीले सबैभन्दा ठूलो आड, सृष्टिकर्ताप्रतिको भक्‍ति र उहाँको निर्देशन पूर्णतया स्वीकार्दा प्राप्त गर्न सक्छन्‌। यसप्रकार, यहोवाको आदर हुन्छ र वैवाहिक जीवन बलियो आध्यात्मिक जगमाथि बसालिनेछ र यसले वैवाहिक जीवनलाई स्थायी बनाउनेछ।

[फुटनोट]

a प्रहरीधरहरा, फेब्रुअरी १५, १९९९, पृष्ठ ४-८ हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• विवाह गर्नका लागि असल जोडी छान्दा किन ईश्‍वरीय निर्देशन चाहिन्छ?

• ईश्‍वरीय भक्‍तिले वैवाहिक बन्धन बलियो बनाउन कसरी मदत गर्नेछ?

• आमाबाबुले छोराछोरीलाई विवाहको निम्ति कसरी तयार पार्न सक्छन्‌?

• ‘प्रभुमा मात्र बिहे गर्नु’ किन महत्त्वपूर्ण छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएका चित्रहरू]

विवाह गर्नका लागि जोडी छान्‍ने सन्दर्भमा परमेश्‍वरको सल्लाह पालन गर्दा प्रशस्त आनन्द पाउन सकिन्छ

[पृष्ठ १८-मा भएका चित्रहरू]

‘प्रभुमा मात्र बिहे गर्दा’ प्रचुर मात्रामा आशिष्‌ पाइन्छ