सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले दुःखकष्ट हुने अनुमति दिनुभएको समय सिद्धिनै लागेको छ

परमेश्‍वरले दुःखकष्ट हुने अनुमति दिनुभएको समय सिद्धिनै लागेको छ

परमेश्‍वरले दुःखकष्ट हुने अनुमति दिनुभएको समय सिद्धिनै लागेको छ

जताततै दुःखकष्टसिवाय अरू केही छैन। कतिपय मानिसहरू आफैले गर्दा दुःखकष्ट भोग्छन्‌। तिनीहरू यौनजन्य रोगहरूको सिकार भएका छन्‌ वा तिनीहरू लागू पदार्थ वा मद्यपान वा धूम्रपानको कुलतमा फँसेका छन्‌। अथवा जे पायो त्यही खाने बानी भएकोले तिनीहरूको स्वास्थ्य बिग्रेको हुनसक्छ। तथापि, युद्ध, जातीय दंगा, अपराध, गरिबी, भोकमरी, रोगबिमार आदि साधारण तर मानिसजातिको हातबाहिरको कुराले गर्दा पनि थुप्रै दुःखकष्ट हुने गर्छ। मानिसजातिले नियन्त्रण गर्न नसक्ने दुःखकष्टहरूमध्ये वृद्धावस्था र मृत्यु पनि हो।

बाइबल हामीलाई “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनेर आश्‍वस्त गराउँछ। (१ यूहन्‍ना ४:८) त्यसोभए, यस्तो मायालु पिताले शताब्दीयौंदेखि किन दुःखकष्ट रहिरहन दिनुभएको त? उहाँले कहिले दुःखकष्ट हटाउनुहुनेछ? यस्ता प्रश्‍नहरूको जवाफ पाउन हामीले मानिसजाति अनि परमेश्‍वरको उद्देश्‍यलाई जाँच्नु आवश्‍यक छ। यसले हामीलाई किन परमेश्‍वरले दुःखकष्ट रहिरहन दिनुभयो र परमेश्‍वरले के गर्नुहुनेछ, त्यो बुझ्न मदत गर्नेछ।

सही र गलत छनौट गर्ने उपहार

परमेश्‍वरले पहिलो मानव सृष्टि गर्नुहुँदा उहाँले उक्‍त मानवलाई शरीर र दिमाग मात्र दिनुभएन। यसबाहेक, उहाँले आदम र हव्वालाई मस्तिष्कविहीन यन्त्रमानव पनि बनाउनुभएन। उहाँले तिनीहरूमा सही र गलत छनौट गर्ने क्षमता राखिदिनुभएको थियो। अनि यो सर्वोत्तम उपहार थियो किनकि “आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।” (उत्पत्ति १:३१) हो, “उहाँको काम सिद्ध छ।” (व्यवस्था ३२:४) हामी सबै सही र गलत छनौट गर्ने यो उपहारलाई बहुमूल्य ठान्छौं किनकि हामी हाम्रा सम्पूर्ण सोचविचार र कामकुराले कुनै छनौट नै गर्न नदिएको चाहँदैनौं।

तथापि, सही र गलत छनौट गर्ने यो सर्वोत्तम उपहारको के कुनै सिमाना थिएन? प्रारम्भिक मसीहीहरूलाई दिइएका निर्देशनहरूमा परमेश्‍वरको वचनले यस्तो जवाफ दिएको छ: “स्वतन्त्रजस्तै भएर हिंड़, तर दुष्टताको ओढ़नेले तिमीहरूका स्वतन्त्रतालाई ढाकेर होइन, तर परमेश्‍वरको दासहरूझैं भएर चल।” (१ पत्रुस २:१६) सबैको भलाइको निम्ति सीमा हुनैपर्छ। यसकारण, सही र गलत छनौट गर्ने स्वतन्त्रता पनि नियम व्यवस्थाहरूद्वारा नियन्त्रित हुनुपर्ने हो। अन्यथा, अराजकता मच्चिने थियो।

कसको व्यवस्था ?

कसको व्यवस्थाले स्वतन्त्रताको उचित सीमा निर्धारण गर्नुपर्थ्यो? यस प्रश्‍नको जवाफ परमेश्‍वरले दुःखकष्ट रहिरहन दिनुको आधारभूत कारणसित सम्बन्धित छ। परमेश्‍वर मानिसजातिको सृष्टिकर्ता हुनुभएकोले तिनीहरूको आफ्नै अनि अरूको भलाइको निम्ति कस्ता व्यवस्थाहरू आवश्‍यक छन्‌, त्यो उहाँलाई राम्ररी थाह छ। यस विषयमा बाइबल यसो भन्छ: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।”—यशैया ४८:१७.

स्पष्टतः मुख्य कुरा के हो भने, परमेश्‍वरबाट स्वतन्त्र होऊन्‌ भन्‍ने हेतुले मानिसहरू सृजिएका थिएनन्‌। परमेश्‍वरको धार्मिक व्यवस्था पालन गरेको खण्डमा मात्र सफल अनि आनन्दित हुनसक्ने हिसाबले उहाँले तिनीहरूको सृष्टि गर्नुभएको थियो। परमेश्‍वरका अगमवक्‍ता यर्मियाले यसो भने: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।”—यर्मिया १०:२३.

परमेश्‍वरले मानिसजातिलाई आफ्ना भौतिक नियमहरूले बाँध्नुभयो, जस्तै कि गुरुत्वाकर्षणको नियम। त्यसै गरी, उहाँले मानिसजातिलाई आफ्नो नैतिक नियमको अधीनमा पनि राख्नुभएको छ। यी नैतिक नियम पालन गर्दा समाजमा एकता छाउन सक्थ्यो। त्यसैकारण, परमेश्‍वरको वचन यसो भन्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌। र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌।”—हितोपदेश ३:५.

यसरी, परमेश्‍वरको शासनको अधीनमा बस्न इन्कार गर्दा मानव परिवार कहिल्यै सफल हुनसक्दैन थियो। उहाँबाट स्वतन्त्र हुन खोजेर मानिसहरूले एकअर्कासित बाझिने समाजिक, आर्थिक, राजनैतिक अनि धार्मिक परिपाटीको कल्पना गर्ने थिए र ‘एउटा मानिसले अर्को मानिसलाई दुःख दिने थिए।’—उपदेशक ८:९.

गल्ती कहाँ भयो ?

परमेश्‍वरले हाम्रा प्रथम मातापिता आदम र हव्वालाई सिद्ध सुरुआत दिनुभएको थियो। तिनीहरूसित सिद्ध शरीर र सिद्ध मन अनि प्रमोदवनरूपी घर थियो। परमेश्‍वरको शासनको अधीनमा बसेका भए तिनीहरू सिद्ध अनि आनन्दित हुनसक्ने थिए। समय बित्दै जाँदा तिनीहरू यस पृथ्वीमा जीवन बिताइरहेका सम्पूर्ण सिद्ध अनि आनन्दित मानव परिवारका मातापिता हुने थिए। मानवजातिको निम्ति परमेश्‍वरको यही उद्देश्‍य थियो।—उत्पत्ति १:२७-२९; २:१५.

तथापि, हाम्रा प्रथम मातापिताले सही र गलत छनौट गर्ने आफ्नो क्षमताको दुरुपयोग गरे। परमेश्‍वरबाट स्वतन्त्र भएर सफल हुन सकिन्छ भन्‍ने गलत सोचाइ तिनीहरूले राखे। स्वेच्छासाथ तिनीहरूले उहाँको व्यवस्थाको सीमालाई नाघे। (उत्पत्ति, अध्याय ३) तिनीहरूले उहाँको शासन व्यवस्थालाई इन्कार गरेको हुँदा उहाँलाई पनि तिनीहरूलाई सिद्धता दिइराख्नुपर्ने बाध्यता भएन। “तिनीहरूले उहाँसँग भ्रष्ट व्यवहार गरे, तिनीहरू उहाँको सन्तान भइरहन सकेनन्‌ र तिनीहरू पतित भए।”—व्यवस्था ३२:५.

परमेश्‍वरको आज्ञा उल्लंघन गरेदेखि आदम र हव्वाको तन अनि मन दुवै खस्कन थाल्यो। जीवनको मूल यहोवासित छ। (भजन ३६:९) यहोवाबाट आफूलाई अलग्याएको हुनाले प्रथम मानव दम्पती असिद्ध भए र अन्तमा मरे। (उत्पत्ति ३:१९) वंशाणुगत गुणको नियमअनुरूप तिनीहरूका सन्तानले आफ्ना मातापितासित भएको कुरा मात्र पाउने भए। अनि त्यो के थियो? त्यो थियो, असिद्धता र मृत्यु। त्यसैकारण, प्रेरित पावलले यसप्रकार लेखे: “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।”—रोमी ५:१२.

प्रमुख विवाद—सार्वभौमिकता

आदम र हव्वाले परमेश्‍वरको विद्रोह गर्दा तिनीहरूले उहाँको सार्वभौमिकता अर्थात्‌ उहाँको शासन गर्ने अधिकारलाई चुनौती दिएका थिए। यहोवाले तिनीहरूलाई नाश गर्न सक्नुहुन्थ्यो र फेरि अर्को दम्पती सृजनुभएर नयाँ सुरुआत गर्न सक्नुहुन्थ्यो। तर यसो गर्दा मानिसको निम्ति कसको शासन ठीक र सही छ भन्‍ने विवाद सुल्झने थिएन। परमेश्‍वरबाट स्वतन्त्र भएर गरेको शासन सफल होला कि नहोला, त्यसको टुंगो लगाउन मानिसजातिलाई तिनीहरूको आफ्नै कल्पनामा आधारित समाज खडा गर्न समय दिइयो।

मानिसको हजारौं वर्ष लामो इतिहासले के देखाउँछ? यतिका शताब्दीसम्म मानिसहरूले हर प्रकारका सामाजिक, आर्थिक, राजनैतिक अनि धार्मिक पद्धति अपनाएर हेरिसके। तथापि, दुष्टता र दुःखकष्ट यथावतै छ। विशेष गरी आज हाम्रो समयमा ‘खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌ झन्‌ खराब भएका छन्‌।’—२ तिमोथी ३:१३.

बीसौं शताब्दीमा वैज्ञानिक र औद्योगिक क्षेत्रमा ठूलो उपलब्धि हासिल गरियो। तर मानवजातिको इतिहासभरिकै सबैभन्दा चर्को दुःखकष्ट पनि भोगियो। औषधोपचार क्षेत्रमा जस्तोसुकै प्रगति गरिएको भए तापनि परमेश्‍वरको व्यवस्था अझै पनि लागू हुन्छ। अनि त्यो व्यवस्था हो: जीवनको मूलसित अर्थात्‌ परमेश्‍वरसित अलग्गिएको मानिसजाति बिरामी र वृद्ध भएका छन्‌, मरेका छन्‌। मानिसले ‘आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउन’ सक्दैन रहेछ भनेर कति राम्ररी प्रमाणित भएको छ!

परमेश्‍वरको सार्वभौमिकताको औचित्य प्रमाणित

परमेश्‍वरबाट स्वतन्त्र हुन खोज्ने यस्तो दुःखलाग्दो कदमले, मानिसजातिले उहाँबाट अलग्गिएर शासन गर्न खोज्दा कहिल्यै सफलता पाउन सक्दैनन्‌ भनेर सदाका लागि प्रमाणित भयो। परमेश्‍वरको शासनले मात्र आनन्द, एकता, सुस्वास्थ्य अनि जीवन दिनसक्छ। यसबाहेक हामी, मानिसजातिले परमेश्‍वरबाट स्वतन्त्र भएर शासन गर्न खोजेको समयको “आखिरी दिनमा” बाँचिरहेका छौं भनेर यहोवा परमेश्‍वरको अचूक वचन पवित्र बाइबलले देखाउँछ। (२ तिमोथी ३:१-५) अब उप्रान्त यहोवाले मानिसजातिलाई शासन गरिरहने अनुमति दिनुहुनेछैन। यसबाहेक, उहाँले सहिरहनुभएको दुष्टता अनि दुःखकष्टको समय पनि सिद्धिनै लागेको छ।

अब चाँडै परमेश्‍वरले मानिसजातिको कामकुरामा हस्तक्षेप गर्नुहुनेछ। धर्मशास्त्र हामीलाई यसो भन्छ: “ती राजाहरूका [विद्यमान मानव शासनहरू] समयमा स्वर्गका परमेश्‍वरले [स्वर्गमा] एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ [न त फेरि मानिसजातिले पृथ्वीमा शासन गर्नेछ]। त्यसले यी सबै राज्यहरूलाई [वर्तमान शासनहरूलाई] चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:४४.

स्वर्गीय राज्यमार्फत यहोवा परमेश्‍वरको सार्वभौमिकता उच्च पार्नु नै बाइबलको मूल विषय हो। येशूले यसलाई आफ्नो शिक्षाको मुख्य विषय बनाउनुभयो। उहाँले भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.

मानिसको शासन हटेर परमेश्‍वरको शासन सुरु हुँदा को को बच्नेछन्‌ र को को बच्नेछैनन्‌? हितोपदेश २:२१, २२ ले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “सोझाहरू [परमेश्‍वरको शासनलाई समर्थन गर्नेहरू] पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू [परमेश्‍वरको शासनलाई समर्थन नगर्नेहरू] त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।” परमेश्‍वरको प्रेरणा पाएर भजनरचयिताले यसरी गाए: “थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌। धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:१०, ११, २९.

उदेकलाग्दो नयाँ संसार

परमेश्‍वरको शासन सुरुभएपछि वर्तमान रीतिरिवाजको अन्तमा बाँच्नेहरूले दुष्टता र दुःखकष्टमुक्‍त पृथ्वीमा प्रवेश पाउनेछन्‌। मानिसजातिलाई परमेश्‍वरको व्यवस्था सिकाइनेछ र समय बित्दै जाँदा “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) नैतिक बल दिने यस्तो मदतकारी शिक्षाले मानव समाजलाई साँच्चै शान्तिले भरिपूर्ण अनि एकताबद्ध बनाउनेछ। यसरी, युद्ध, हत्या, हिंसा, बलात्कार, चोरी वा अन्य कुनै प्रकारका अपराध हुनेछैनन्‌।

परमेश्‍वरको नयाँ संसारमा जीवन बिताउने आज्ञाकारी मानिसजातिले उदेकलाग्दा प्रशस्त शारीरिक फाइदाहरू उठाउनेछन्‌। परमेश्‍वरको शासनको विरोध गर्दा हुने सम्पूर्ण खराब परिणाम हटाइनेछ। असिद्धता, रोगबिमार, वृद्धावस्था र मृत्यु बितेको कुरा हुनेछ। बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ” यसबाहेक, धर्मशास्त्रले यस्तो पनि प्रतिज्ञा गर्छ: “तब अन्धाहरूका आँखा खोलिनेछन्‌, र बहिराहरूका कान उघारिनेछन्‌। तब लङ्‌गड़ा मृगझैं उफ्रनेछ, र गूङ्‌गाको जिब्रोले स्तुति गर्नेछ, किनकि उजाड़–स्थानमा पानी फूटेर निस्कनेछ, र मरूभूमिमा खोलाहरू बग्नेछन्‌।” (यशैया ३३:२४; ३५:५, ६) दिनानुदिन तन्दुरुस्त हुँदै जान पाउनु कत्ति रोमाञ्चकारी हुनेछ!

परमेश्‍वरको मायालु निर्देशन पालन गर्दै त्यस नयाँ संसारमा बस्नेहरूले सम्पूर्ण पृथ्वीलाई प्रमोदवन बनाउन आफ्नो श्रम तथा शक्‍ति अनि सीप प्रयोग गर्नेछन्‌। गरिबी, भोकमरी र घरबारविहीन जस्ता समस्याहरू बितेका कुरा हुनेछन्‌ किनकि यशैया यस्तो भविष्यवाणी गर्छन्‌: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन, किनकि जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ, र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌।” (यशैया ६५:२१, २२) साँच्चै, “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।”—मीका ४:४.

परमेश्‍वर र आज्ञाकारी मानिसहरूको मायालु हेरविचार पाएपछि पृथ्वी पनि फस्टाउनेछ। शास्त्रपदहरूले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “उजाड़ र निर्जल–भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। वसन्तको फूलझैं त्यो फक्रनेछ। . . . उजाड़–स्थानमा पानी फूटेर निस्कनेछ, र मरूभूमिमा खोलाहरू बग्नेछन्‌।” (यशैया ३५:१, ६) “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।”—भजन ७२:१६.

अनि मरिसकेका अरबौं व्यक्‍तिहरू नि? परमेश्‍वरको सम्झनामा हुनेहरू जतिले फेरि जीवन पाउनेछन्‌ किनकि “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” (प्रेरित २४:१५) हो, मरिसकेका मानिसहरूले फेरि जीवन पाउनेछन्‌। तिनीहरूलाई पनि परमेश्‍वरको शासनसित सम्बन्धित सत्य कुरा बताइनेछ र पृथ्वीमा सधैंभरि बाँच्ने मौका दिइनेछ।—यूहन्‍ना ५:२८, २९.

यसरी हजारौं वर्षदेखि मानिसजातिलाई आफ्नो मुट्‌ठीमा कसिरहेको दुःखकष्ट, रोगबिमार र मृत्यु जस्ता दुःखदायी अवस्थालाई यहोवा परमेश्‍वरले पूर्णतया हटाउनुहुनेछ। फेरि रोगबिमार हुनेछैन! फेरि असक्‍त हुनुपर्नेछैन! फेरि मृत्यु हुनेछैन! परमेश्‍वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका [हुने]छन्‌।”—प्रकाश २१:३, ४.

परमेश्‍वरले यसरी दुःखकष्टको अन्त गर्नुहुनेछ। उहाँले यस भ्रष्ट संसारलाई नाश गर्नुहुनेछ र “धार्मिकताले बास” गर्ने नयाँ रीतिरिवाज बसाल्नुहुनेछ। (२ पत्रुस ३:१३) कत्ति राम्रो समाचार! हामीलाई यस्तो नयाँ संसारको अत्यन्तै खाँचो छ। तर हामीले यो नयाँ संसारलाई हेर्न अब धेरै समय कुर्नुपर्दैन। बाइबलका भविष्यवाणीहरू एकपछि अर्को गर्दै पूरा भइरहेको हुँदा हामीले यो नयाँ संसार संघारैमा छ र परमेश्‍वरले दुःखकष्ट हुने अनुमति दिनुभएको समय सिद्धिनै लागेको छ भनेर थाह पाएका छौं।—मत्ती २४:३-१४.

[पृष्ठ ८-मा भएको पेटी]

मानव शासनको असफलता

मानव शासनको सम्बन्धमा भूतपूर्व जर्मन चान्सलर हेल्मुट श्‍मीटले यसो भने: “हामी मानिसहरूले . . . आंशिक रूपमा र त्यो पनि प्रायः नराम्रोसित शासन गरेका छौं। . . . हामीले अहिलेसम्म पूर्ण शान्तिले भरिएको शासन गरेका छैनौं।” ह्‍युमन डिभेलोपमेन्ट रिपोर्ट १९९९ ले यस्तो टिप्पणी गऱ्‍यो: “बढ्‌दो सामाजिक अस्थिरता, अपराध र गृह कलहले गर्दा सबै राष्ट्रहरूले आ-आफ्नो सामाजिक बन्धन खुकुलो हुँदै गएको रिपोर्ट दिएका छन्‌। . . . विश्‍वभरि खतरा झन्‌ झन्‌ बढ्‌दै गएको छ र यस खतरालाई टार्ने क्षमता राष्ट्रसित छैन भने अन्तरराष्ट्रिय सहयोगको त कुरै नगरे पनि हुन थालिसक्यो।”

[पृष्ठ ८-मा भएका चित्रहरू]

‘तिनीहरूले प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌।’ —भजन ३७:११

[पृष्ठ ५-मा भएको चित्रको स्रोत]

Third from top, mother and child: FAO photo/B. Imevbore; bottom, explosion: U.S. National Archives photo