सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अन्तिम विजयतर्फ अघि बढिरहेको!

अन्तिम विजयतर्फ अघि बढिरहेको!

अन्तिम विजयतर्फ अघि बढिरहेको!

“मैले हेरें, र सेतो घोड़ा र त्यसमाथि बस्नेले एउटा धनु लिएको मैले देखें, र तिनलाई एउटा मुकुट पनि दिइयो, औ तिनी विजय गर्दै र विजय गर्नालाई निस्के।”–प्रकाश ६:२.

१. यूहन्‍नाले दर्शनमा भविष्यमा हुने कस्ता घटनाहरू देखे?

 ईश्‍वरीय प्रेरणाद्वारा प्रेरित यूहन्‍नाले झन्डै १,८०० वर्षपछि हुने घटना देखे र ख्रीष्ट राज सिंहासनमा विराजमान हुनुभएको घटना वर्णन गरे। आफूले देखेको दर्शनबारे विश्‍वस्त हुन यूहन्‍नालाई विश्‍वासको आवश्‍यकता थियो। यो भविष्यवाणी गरिएको राज्याभिषेक १९१४ मा भयो भनी अहिले हामीसित स्पष्ट प्रमाणहरू छन्‌। विश्‍वासको आँखाबाट हामी येशू ख्रीष्ट “विजय गर्दै र विजय गर्नालाई” निस्केको देख्नसक्छौं।

२. राज्यको स्थापनापछि दियाबलले कस्तो प्रतिक्रिया देखायो र यो कुन कुराको प्रमाण हो?

राज्यको स्थापनापछि शैतानलाई स्वर्गबाट तल फ्याँकियो। यसैकारण, त्यो अझ तीव्रता र क्रोधका साथ युद्ध गर्न अघि बढ्यो तर त्यो निश्‍चय पनि सफल हुनसक्दैन। (प्रकाश १२:७-१२) त्यसको क्रोधले गर्दा विश्‍व परिस्थिति झनै डरलाग्दो भएको छ। मानव समाज झन्‌ झनै खस्किरहेको छ। यहोवाका साक्षीहरूको निम्ति यी सबै, राजा “विजय गर्नालाई” अघि बढिरहेको स्पष्ट प्रमाण हो।

नयाँ विश्‍व समाजको स्थापना गरिन्छ

३, ४. (क) राज्यको स्थापना भएदेखि मसीही मण्डलीमा कस्ता संगठनात्मक परिवर्तनहरू गरिएका छन्‌ र ती किन आवश्‍यक थियो? (ख) यशैयाले भविष्यवाणी गरेझैं यस्ता परिवर्तनहरूले गर्दा कस्तो फाइदा भएको छ?

राज्य स्थापित भएपछि अहिले थप जिम्मेवारीहरू पाएको पुनर्स्थापित मसीही मण्डली झनै प्रथम शताब्दीका मसीही मण्डलीअनुरूप हुनुपर्ने थियो। अतः १९३८ को द वाचटावर-को जून १ र १५ अंकले मसीही संगठन कसरी सञ्चालन हुनुपर्छ भनी केलायो। पछि, सन्‌ १९७१ डिसेम्बर १५ को अंकमा “परिचालक निकाय कानुनी संस्थाभन्दा भिन्‍न” भन्‍ने लेखमा अझ स्पष्ट गरी आधुनिक समयको परिचालक निकाय चिनाइएको थियो। सन्‌ १९७२ मा स्थानीय मण्डलीहरूलाई मदत र निर्देशन दिन प्राचीनहरूको समूह नियुक्‍त गरिएको थियो।

उचित निरीक्षणको पुनर्स्थापनापछि मसीही मण्डलीहरू निकै सुदृढ भए। साथै, मण्डलीहरूलाई सुदृढ पार्नका लागि परिचालक निकायले प्राचीनहरूलाई तिनीहरूको जिम्मेवारीबारे निर्देशन दिन र न्यायिक मामिलाहरूसम्बन्धी प्रशिक्षण दिन पनि प्रबन्ध मिलायो। परमेश्‍वरको पार्थिव संगठनमा बिस्तारै हुने उन्‍नतिहरू र त्यसका सकारात्मक नतिजाबारे यशैया ६०:१७ मा भविष्यवाणी गरिएको थियो: “काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा पीतल र ढुङ्‌गाको सट्टामा फलाम। म तेरा हाकिमहरूलाई मेल–मिलाप गराउने, र तेरा शासकहरूलाई न्यायपूर्वक काम गर्ने तुल्याउनेछु।” यी सकारात्मक परिवर्तनहरूले ईश्‍वरीय आशिष्‌ झल्कायो र उहाँको राज्यलाई जोसका साथ समर्थन गर्नेहरूमाथि परमेश्‍वरको अनुमोदन छ भनेर स्पष्ट भयो।

५. (क) यहोवाले आफ्ना जनहरूलाई दिनुभएको आशिष्‌प्रति शैतानको प्रतिक्रिया कस्तो थियो? (ख) फिलिप्पी १:७ अनुरूप यहोवाका जनहरूले शैतानको क्रोधप्रति कस्तो प्रतिक्रिया देखाएका छन्‌?

राज्यको स्थापनापछि परमेश्‍वरले आफ्ना जनहरूलाई दिनुभएको मायालु हेरचाह र डोऱ्‍याइ शैतानको नजरबाट लुक्न सकेन। उदाहरणका लागि, सन्‌ १९३१ मा मसीहीहरूको यस सानो समूहले आफूहरू बाइबल स्टुडेन्ट्‌स मात्र होइन भनी सार्वजनिक रूपमा घोषणा गरे। यशैया ४३:१० अनुरूप तिनीहरू यहोवाका साक्षीहरू थिए! संयोगवश हो या होइन तर त्यसपछि दियाबलले विश्‍वभरि पहिला कहिल्यै नदिएको सतावट दिन थाल्यो। संयुक्‍त राज्य, क्यानाडा र जर्मनीजस्ता साधारणतया धार्मिक सहिष्णुता भएको देशको रूपमा चिनिने ठाउँहरूमा समेत बारम्बार धार्मिक स्वतन्त्रताको निम्ति मुद्दा लड्‌नुपऱ्‍यो। सन्‌ १९८८ सम्ममा सं.रा.-को सर्वोच्च अदालतले यहोवाका साक्षीहरू मुछिएका ७१ वटा मुद्दाहरूको पुनरावृत्ति गऱ्‍यो र तीमध्ये दुई तिहाइ मुद्दाहरू तिनीहरूको पक्षमा निर्णय भयो। आज विश्‍वभरि “सुसमाचारको [कानुनी] रक्षा र समर्थनको काम दुवै” गर्नका लागि प्रथम शताब्दीमा जस्तै मुद्दाहरू लडिंदै छन्‌।—फिलिप्पी १:७.

६. के यहोवाका जनहरूलाई प्रतिबन्ध तथा रोकहरूले अघि बढ्‌नदेखि रोक्न सके? व्याख्या गर्नुहोस्‌।

सन्‌ १९३० को दशकमा दोस्रो विश्‍वयुद्ध सुरु हुने तर्खर भइरहेका दिनहरूमा तानाशाही सरकारहरूले यहोवाका साक्षीहरूको काममा प्रतिबन्ध वा रोक लगाए, जसमध्ये तीनवटा देशको मात्र नाउँ लिनुपर्दा, जर्मनी, स्पेन र जापान पर्दछन्‌। तर सन्‌ २००० मा यी तीन देशमा मात्र परमेश्‍वरको राज्यका झन्डै ५,००,००० सक्रिय उद्‌घोषकहरू भइसकेका थिए। यो सन्‌ १९३६ मा संसारभरि भएका साक्षीहरूको संख्याभन्दा झन्डै दस गुणा बढी हो! स्पष्टतः प्रतिबन्ध तथा रोकहरूले यहोवाका जनहरूलाई तिनीहरूको विजयी राजा येशू ख्रीष्टको अगुवाइमा अघि बढ्‌नदेखि रोक्न सक्दैनन्‌।

७. सन्‌ १९५८ मा कस्तो उल्लेखनीय घटना भयो र त्यतिबेलादेखि यता कस्ता नाटकीय परिवर्तनहरू भएका छन्‌?

सन्‌ १९५८ मा न्यु योर्क शहरमा भएको यहोवाका साक्षीहरूको त्यतिबेलासम्मको सबैभन्दा ठूलो अधिवेशन अर्थात्‌ ईश्‍वरीय इच्छा नामक अन्तरराष्ट्रिय सम्मेलन, यहोवाका जनहरू अघि बढिरहेका छन्‌ भन्‍ने ठूलो प्रमाण थियो। त्यतिबेला शिखर उपस्थिति संख्या २,५३,९२२ पुगेको थियो। सन्‌ १९७० सम्ममा पूर्वी जर्मनीको रूपमा चिनिने देशबाहेक माथि उल्लिखित अन्य तीन देशमा प्रतिबन्ध हटाइसकिएको थियो। तर विशाल सोभियत संघ र वार्सा सम्झौताका मित्र राष्ट्रहरूमा भने प्रतिबन्ध अझै कायमै थियो। आज यी पूर्व साम्यवादी राष्ट्रहरूमा पाँच लाखभन्दा बढी सक्रिय साक्षीहरू छन्‌।

८. यहोवाले आफ्ना जनहरूलाई आशिष्‌ दिनुभएकोले नतिजा कस्तो भएको छ र सन्‌ १९५० को द वाचटावर-ले यसबारे के भन्यो?

यहोवाका साक्षीहरूले वृद्धि अनुभव गरेका छन्‌ किनभने तिनीहरू “पहिले उहाँको राज्य र [परमेश्‍वरको] धार्मिकता खोजी” गर्छन्‌। (मत्ती ६:३३) शाब्दिक अर्थमा यशैयाको भविष्यवाणी साँच्चै पूरा भइसकेको छ: “थोरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले, त्यसको समयमा त्यो चाँड़ै पूरा गर्नेछु।” (यशैया ६०:२२) अनि वृद्धि हुन बन्द भएको छैन। गत दशकको दौडान मात्र पनि राज्य शासनका सक्रिय उद्‌घोषकहरूको संख्या १७,५०,००० ले वृद्धि भयो। तिनीहरू स्वेच्छाले यस्तो समूहको भाग भएका छन्‌, जसबारे १९५० को द वाचटावर-ले यस्तो टिप्पणी गऱ्‍यो: “परमेश्‍वर नयाँ विश्‍व समाज तयार पार्दै हुनुहुन्छ। . . . यो सानो समूहले आरमागेडोन पार गर्नेछ . . . र ‘नयाँ पृथ्वीमा’ सबैभन्दा पहिला पुग्ने मानिसहरू हुनेछन्‌ . . . संगठनात्मक प्रक्रियाबारे चिरपरिचित भइसकेकोले ईश्‍वरतान्त्रिक ढंगमै व्यवस्थित गरिनेछन्‌।” त्यस लेखको अन्तमा यसो भनिएको थियो: “नयाँ विश्‍व समाजतर्फ हामी सबै जना सँगसँगै स्थिरतासाथ अघि बढौं!”

९. यहोवाका साक्षीहरूले वर्षौंको दौडान सिकेका कुराहरू कसरी लाभकारी साबित भएका छन्‌?

त्यतिञ्जेल यस बढ्‌दो नयाँ विश्‍व समाजले कामकुरा सुचारु रूपमा चलाउन सिकेका छन्‌। यो अहिले अनमोल साबित भइरहेको छ र सायद आरमागेडोनपछि पुनर्स्थापनाका दिनहरूमा समेत अनमोल साबित हुनेछ। उदाहरणका लागि, साक्षीहरूले ठूलठूला अधिवेशनहरूको आयोजना गर्ने, आकस्मिक उद्धारकार्य गर्ने र चाँडचाँडो भवनहरू निर्माण गर्न सिकेका छन्‌। यस्ता गतिविधिहरूको कारण थुप्रैले यहोवाका साक्षीहरूलाई सराहना र आदरको दृष्टिले हेर्न थालेका छन्‌।

गलत धारणाहरू सच्याउने

१०, ११. यहोवाका साक्षीहरूबारे गलत धारणाहरू कसरी सच्याइएका छन्‌, व्याख्या गर्नुहोस्‌।

१० यद्यपि, यहोवाका साक्षीहरू समाजविरोधी हुन्‌ भनी आरोप लगाउने मानिसहरू पनि छन्‌। यस्तो आरोप विशेष गरी साक्षीहरूको रक्‍तक्षेपण, तटस्थता, धूम्रपान र नैतिकताको सन्दर्भमा बाइबल आधारित अडानको कारण आएको हो। तर अहिले थुप्रै मानिसहरूले साक्षीहरूको धारणा सही हो भनी मानिलिन थालेका छन्‌। उदाहरणका लागि, पोल्याण्डकी एक चिकित्सकले यहोवाका साक्षीहरूको प्रशासनिक कार्यालयमा फोन गरेर तिनी र तिनका सहकर्मीहरूबीच रक्‍तक्षेपणको विषयमा निकै घण्टासम्म बहस भएको कुरा बताइन्‌। उक्‍त बहस त्यस दिन पोलिस दैनिकी जेनेक जाडोने-मा प्रकाशित लेखको कारण सुरु भएको थियो। उक्‍त डाक्टर आफैले यो कुरा स्वीकारिन्‌: “चिकित्सा क्षेत्रमा रगतको बढी प्रयोग भएकोमा मलाई व्यक्‍तिगत तवरमा दुःख लागेको छ। यसलाई रोक्नुपर्छ र कसैले यस सम्बन्धी कुरा उठाएकोमा म खुसी छु। म यसबारे अझ थप जानकारी चाहन्छु।”

११ गत वर्ष आयोजित सम्मेलनमा इजरायल, क्यानाडा, युरोप र संयुक्‍त राज्यबाट आएका चिकित्सा विशेषज्ञहरूले रगतविना बिरामीको उपचार गर्ने तरिकाहरूबारे छलफल गरे। स्वीट्‌जरल्याण्डमा आयोजित त्यस सभामा धेरैको धारणा विपरीत, रक्‍तक्षेपणविना उपचार गरिएकाहरूको भन्दा रक्‍तक्षेपण गरेकाहरूको मृत्युदर बढी छ भनेर औंल्याइयो। रक्‍तक्षेपण गरेर उपचार गर्ने मानिसहरूभन्दा रक्‍तक्षेपणविना उपचार गर्ने साक्षीहरू चाँडै घर जानसकेका छन्‌ भने यसले उपचारको खर्च पनि कम गरेको छ।

१२. यहोवाका साक्षीहरूको राजनैतिक तटस्थताबारे प्रतिष्ठित व्यक्‍तिहरूले गरेको सराहनाको उदाहरण दिनुहोस्‌।

१२ यहोवाका साक्षीहरूले दोस्रो विश्‍वयुद्धको दौडान आफू नाजीहरूको सतावटको मुख्य तारो हुँदा र त्यसपछि पनि लिएको तटस्थताको अडानबारे थुप्रैले सकारात्मक टिप्पणी गरेका छन्‌। यहोवाका साक्षीहरूद्वारा निर्मित जेहोभाज्‌ विट्‌नेसेज स्ट्याड फर्म अगेन्सट नाजी असल्ट नामक भिडियो क्यासेट नोभेम्बर ६, १९९६ मा जर्मनीको राभेनस्ब्रूक यातना शिविरमा विमोचन गरिनु अत्यन्तै उचित थियो र यसले गर्दा थप्रै सकारात्मक टिप्पणी प्राप्त भए। अप्रिल १८, १९९८ मा बर्जन-बेलजनस्थित कुख्यात यातना शिविरमा यस्तै भिडियो देखाइँदा लोवर साक्सोनीका सेन्टर फर पोलटिकल एडुकेसनका निर्देशक डा. वुल्फगांग शीलले यसप्रकार स्वीकारे: “इतिहासको सबैभन्दा लज्जासपद सत्यहरूमध्ये एउटा मसीही चर्चहरूले भन्दा दृढताका साथ यहोवाका साक्षीहरूले राष्ट्रिय समाजवादलाई तिरस्कार गर्नु हो। . . . यहोवाका साक्षीहरूको शिक्षा र धार्मिक जोस हामीलाई जस्तो सुकै लागे तापनि तिनीहरूले नाजी शासनकालमा देखाएको अडान आदरयोग्य छ।”

१३, १४. (क) प्रारम्भिक मसीहीहरूको पक्षमा अप्रत्याशित स्रोतबाट कस्तो न्यायिक टिप्पणी गरियो? (ख) आज परमेश्‍वरका जनहरूको पक्षमा बोलिएका सकारात्मक टिप्पणीहरूको उदाहरण दिनुहोस्‌।

१३ विवादस्पद विषयहरूमा प्रतिष्ठित व्यक्‍तिहरूले वा अदालतले यहोवाका साक्षीहरूको पक्षमा बोलिदिंदा वा निर्णय गर्दा त्यसले पूर्वाग्रह हटाउन र साक्षीहरूलाई अझ सकारात्मक दृष्टिले हेर्न मदत गर्छ। यसले गर्दा पहिला कहिल्यै सुन्‍न राजी नभएका मानिसहरूसँग तिनीहरू कुरा गर्नसक्छन्‌। अतः त्यस्ता कार्यहरूको स्वागत गरिन्छ र यहोवाका साक्षीहरूले साँच्चै त्यसको मूल्यांकन गर्छन्‌। यसले प्रथम शताब्दीमा यरूशलेममा भएको घटनाको सम्झना दिलाउँछ। यहूदीहरूको सर्वोच्च अदालत अर्थात्‌ महासभा मसीहीहरूको हत्या गर्न तयार भइरहेको बेला “व्यवस्थाका पण्डित र जनतामा माननीय” गमलिएल नाउँ गरेका व्यक्‍तिले चेताउनी दिंदै यसो भने: “ए इस्राएली हो, यी मानिसहरूका विषयमा तपाईंहरूले जे गर्न आँट्‌नुभएको छ, त्यसमा होशियार हुनुहोस्‌। . . . यी मानिसहरूबाट अलग रहनुहोस्‌, र यिनीहरूलाई छोड़िदिनुहोस्‌, किनकि यिनीहरूको यो मत, अथवा यो काम मानिसहरूबाट रहेछ भने त्यो आफै मेटिनेछ। तर यदि परमेश्‍वरबाटै भएको रहेछ भनेता तपाईंहरूले तिनलाई मेटाउन सक्नुहुन्‍न, नत्रता तपाईंहरू परमेश्‍वरका विरुद्धमा चलेको ठहरिनुहोला।”—प्रेरित ५:३३-३९.

१४ गमलिएल जस्तै प्रतिष्ठित व्यक्‍तिहरूले हालसालै यहोवाका साक्षीहरूको धार्मिक स्वतन्त्रताको पक्षमा बोलेका छन्‌। उदाहरणका लागि, इन्टरनेसनल अक्याडेमी फर फ्रिडम अफ रिलिजन एण्ड बिलिफका पूर्व अध्यक्षले यस्तो तर्क गरे: “समाजले कुनै धर्मको विश्‍वासलाई अस्वीकार्य वा अपरम्परागत ठान्दैमा त्यस धर्मको धार्मिक स्वतन्त्रता खोस्न मिल्दैन।” लिपजिगमा धर्मबारे वैज्ञानिक अध्ययन गरिरहेका प्राध्यापकले, जर्मनी सरकारले तथाकथित्‌ धार्मिक गुटहरूबारे अनुसन्धान गर्न गठन गरेको समितिको सन्दर्भमा यस्तो तार्किक प्रश्‍न गरे: “दुई ठूला चर्चलाई [रोमन क्याथोलिक चर्च र लुथरियन चर्च] छाडेर किन साना धार्मिक समूहको मात्र केरकार गर्ने?” यसको उत्तरको लागि हामीले धेरै टाढा हेर्नु आवश्‍यक छैन, जर्मनीका पूर्व अधिकारीले लेखेका कुरा पर्याप्त छ। तिनले यस्तो लेखे: “सरकारले यस्तो समिति गठन गर्नुमा चर्चका कट्टरपन्थीहरूको ठूलो हात छ भन्‍ने कुरा स्पष्टै देखिन्छ।”

उद्धारको निम्ति हामी कसलाई पुकार्छौं ?

१५, १६. (क) गमलिएलको कार्य किन सीमित रूपमा मात्र प्रभावकारी हुनसक्यो? (ख) येशूको खातिर गर्नसक्ने कुरामा अन्य तीन प्रतिष्ठित व्यक्‍तिहरू कसरी सीमित भए?

१५ गमलिएलले बताएका कुराबाट ईश्‍वरीय समर्थन पाएको काम असफल हुन सक्दैन भन्‍ने तथ्य प्रस्ट हुन्छ। महासभामा तिनले बोलेका कुराको कारण प्रारम्भिक मसीहीहरूले निस्सन्देह त्यसबाट फाइदा उठाए तर येशूले, उहाँका चेलाहरूले सतावट भोग्नेछ भनी भन्‍नुभएको कुरा पनि तिनीहरूले बिर्सेनन्‌। हुन त गमलिएलले गर्दा मसीहीहरूको हत्या गर्ने धर्म गुरुहरूको योजना सफल हुन सकेन, तरैपनि तिनीहरूबाट सतावट आउन भने बन्द भएन किनभने हामी यस्तो पढ्‌छौं: “तब तिनीहरूले तिनका कुरा सुने, र ती प्रेरितहरूलाई डाकेर तिनीहरूलाई पिटेर यसो भन्‍ने आदेश गरेर छोड़िदिए, ‘अबदेखि येशूको नाउँमा नबोल्नू।’ ”—प्रेरित ५:४०.

१६ येशूको पूर्पक्ष हुँदा पोन्तियस पिलातसले केही गल्ती नभेट्टाएको कारण उहाँलाई छोड्‌ने प्रयास गरे। तर तिनी सफल भएनन्‌। (यूहन्‍ना १८:३८, ३९; १९:४, ६, १२-१६) येशूप्रति सकारात्मक दृष्टिकोण राख्ने महासभाका दुई सदस्य निकोदेमस र अरमथियाको यूसुफले समेत येशू विरुद्ध अदालती कारबाही रोक्न त्यति केही गर्न सकेनन्‌। (लूका २३:५०-५२; यूहन्‍ना ७:४५-५२; १९:३८-४०) परमेश्‍वरका जनहरूको पक्षमा खडा भएका मानिसहरूको मनसाय जत्ति नै असल भए तापनि तिनीहरूले गर्नसक्ने काम सीमित छन्‌। संसारले ख्रीष्टलाई घृणा गरेझैं उहाँका साँचो अनुयायीहरूलाई पनि घृणा गर्नेछन्‌। पूरा उद्धार यहोवाबाट मात्र आउनसक्छ।—प्रेरित २:२४.

१७. यहोवाका साक्षीहरू कस्तो व्यावहारिक विचारधारा राख्छन्‌ तर सुसमाचार प्रचार गरिरहने तिनीहरूको अठोट किन कमजोर भएको छैन?

१७ यहोवाका साक्षीहरू, सतावटहरू आउन बन्द हुनेछन्‌ भन्‍ने आशा राख्दैनन्‌। शैतानको दुष्ट रीतिरिवाज पूर्णतया परास्त भइसकेपछि मात्र सतावटहरू आउन बन्द हुनेछन्‌। यद्यपि, सतावट जतिसुकै कठिन भए तापनि त्यसले साक्षीहरूलाई राज्यको प्रचार गर्ने काम पूरा गर्नदेखि रोक्न सक्दैन। तिनीहरूसँग ईश्‍वरीय समर्थन भएको कारण तिनीहरूलाई कसले पो रोक्ने आँट गर्नसक्छ र? तिनीहरू आफ्नो नेता येशू ख्रीष्टलाई उचित आदर्शको रूपमा हेर्छन्‌।—प्रेरित ५:१७-२१, २७-३२.

१८. यहोवाका जनहरूसामु अझै कस्ता कठिनाइहरू छन्‌ तर तिनीहरू कस्तो नतिजा हुनेछन्‌ भनेर विश्‍वस्त छन्‌?

१८ सुरुदेखि नै साँचो धर्मले सतावट भोग्दै आएको छ। चाँडै गोग अर्थात्‌ स्वर्गबाट फ्याँकिएदेखि पतित अवस्थामा भएको शैतानले यसलाई आक्रमण गर्नेछ। तरैपनि साँचो धर्म बच्नेछ। (इजकिएल ३८:१४-१६) शैतानको डोऱ्‍याइमा “पृथ्वीका राजाहरू[ले]” “थुमाको विरुद्धमा युद्ध गर्नेछन्‌, र थुमाले तिनीहरूलाई जित्नुहुनेछ। किनकि उहाँ प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजा हुनुहुन्छ।” (प्रकाश १६:१४; १७:१४) हो, हाम्रो राजा अन्तिम विजयतर्फ अघि बढ्‌दै हुनुहुन्छ र चाँडै पूरा “विजय” हासिल गर्नुहुनेछ। अब छिट्टै यहोवाका उपासकहरूले “परमेश्‍वर हामीतर्फ हुनुहुन्छ” भन्दा कसैले नकार्नेछैनन्‌। तर त्यो समय नआउञ्जेल उहाँसँगसँगै अघि बढ्‌नु हाम्रोनिम्ति ठूलो सुअवसरको कुरा हो!—रोमी ८:३१; फिलिप्पी १:२७, २८.

के तपाईं बुझाउन सक्नुहुन्छ?

• राज्यको स्थापना भएदेखि यहोवाले मसीही मण्डलीलाई बलियो बनाउन के गर्नुभएको छ?

• ख्रीष्टको विजय पूरा हुन नदिन शैतानले के गर्न खोजेका छन्‌ र नतिजा कस्तो भएको छ?

• गैरसाक्षीहरूको सकारात्मक कार्यप्रति हामीले कस्तो सन्तुलित दृष्टिकोण राख्नुपर्छ?

• शैतानले चाँडै के गर्नेछ र यसको नतिजा कस्तो हुनेछ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

अधिवेशनहरू यहोवाका जनहरू अघि बढिरहेका छन्‌ भन्‍ने कुराको प्रमाण हुन्‌

[पृष्ठ २०-मा भएको चित्र]

दोस्रो विश्‍वयुद्धको दौडान साक्षीहरूले लिएको तटस्थताको अडानले अझै यहोवाको प्रशंसा गर्दैछ