सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनका आध्यात्मिक आवश्‍यकताहरू पूरा भए

तिनका आध्यात्मिक आवश्‍यकताहरू पूरा भए

राज्य उद्‌घोषकहरूको रिपोर्ट

तिनका आध्यात्मिक आवश्‍यकताहरू पूरा भए

साइप्रस, भूमध्यसागरको उत्तरपूर्वी छेउको टापु हो। बाइबलकालीन समयमा साइप्रस तामा र उन्‍नत जातको काठको निम्ति प्रख्यात थियो। पावल र बर्णाबासले आफ्नो प्रथम मिसनरी यात्राको दौडान त्यहाँ सुसमाचार उद्‌घोषणा गरेका थिए। (प्रेरित १३:४-१२) आज पनि थुप्रै साइप्रसवासीको जीवनमा सुसमाचारले सकारात्मक प्रभाव पारिरहेको छ। चालीस वर्ष नाघिसकेका लुकसको जीवनमा पनि यो निश्‍चय साँचो साबित भएको छ। तिनी भन्छन्‌:

“हाम्रो परिवारमा मसमेत गरी जम्माजम्मी सात छोराछोरी थिए। मेरो जन्म किसान परिवारमा भएको थियो। केटाकेटी छँदादेखि नै मलाई पढ्‌ने खूब रुचि थियो। मलाई सबैभन्दा मनपर्ने पुस्तक खल्तीमै अट्‌ने मसीही युनानी धर्मशास्त्र थियो। दस वर्षको हुँदा म र केही साथीहरू मिलेर सानो बाइबल अध्ययन समूह बनाएका थियौं। तथापि, लामो समयसम्म यो समूह टिक्न सकेन किनभने गाउँका केही बूढापाकाहरूले हामीलाई धर्मविरोधिहरू भन्‍न थाले।

“पछि संयुक्‍त राज्यमा अध्ययन गर्न जाँदा मैले विभिन्‍न धार्मिक पृष्ठभूमिका मानिसहरू भेटें। यसले ममा फेरि आध्यात्मिक कुराहरूप्रति चासो जगायो। विभिन्‍न धर्महरूबारे अध्ययन गर्दै मैले विश्‍वविद्यालयको पुस्तकालयमा धेरै दिन बिताएँ। मैले थुप्रै चर्च पनि धाएँ तर मेरो सबै प्रयासको बावजूद मेरो आध्यात्मिक तृष्णा मेटिएन।

“आफ्नो पढाइ पूरा भएपछि म साइप्रस फर्किएँ र चिकित्सा अनुसन्धान प्रयोगशालामा निर्देशकको जागिर खाएँ। आन्डोनियोस नाउँ गरेका एक जना पाको यहोवाका साक्षी मेरो कार्यालयमा मलाई भेट्‌न आउने गर्थे। तर तिनले मलाई यसरी भेट्‌न आउन थालेको ग्रीक अर्थोडक्स चर्चले थाह पाइहाल्यो।

“चाँडै एक धर्मविद्‌ मलाई भेट्‌न आए र यहोवाका साक्षीहरूसँग कुरा नगर्न निरुत्साहित गर्न थाले। मलाई सानैदेखि ग्रीक अर्थोडक्स चर्चसँग सच्चाइ छ भनी सिकाइएकोले मैले तिनको कुरा सुनें र आन्डोनियोसलाई भेट्‌न छोडिदिएँ अनि धर्मविद्‌सँग बाइबल छलफल गर्न सुरु गरें। म साइप्रसका थुप्रै गुम्बाहरूमा पनि गएँ। म उत्तरी ग्रीसस्थित माउन्ट आथोससमेत गएँ, जसलाई अर्थोडक्स मसीहीहरूको सबैभन्दा पवित्र पहाडको रूपमा लिइन्छ। तर, मैले अझै बाइबलसम्बन्धी प्रश्‍नहरूको उत्तर पाइनँ।

“त्यसपछि मैले परमेश्‍वरलाई सच्चाइ भेट्टाउन मदत मागें। त्यसको केही समयपछि आन्टोनियोस मेरो कार्यालयमा मलाई फेरि भेट्‌न आए र मलाई आफ्नो प्रार्थनाको जवाफ यही हो जस्तो लाग्यो। त्यसैले, मैले धर्मविद्‌सँग भेट्‌न छोडेर आन्टोनियोससँग बाइबल अध्ययन गरें र उन्‍नति गर्न थालें अनि अक्टोबर १९९७ मा पानीको बप्तिस्माद्वारा यहोवाप्रतिको आफ्नो समर्पण जाहेर गरें।

“मेरी पत्नी र १४ अनि १० वर्षका दुई ठूली छोरीहरूले सुरुमा त विरोध गरे। तर मेरो असल आचरणको कारण मेरी श्रीमतीले राज्यभवन जाने निर्णय गरिन्‌। साक्षीहरूको स्नेह र तिनीहरूले देखाएको व्यक्‍तिगत चासो देखेर तिनी अत्यन्तै प्रभावित भइन्‌। तिनी विशेष गरी तिनीहरूले बाइबल प्रयोग गरेको देखेर प्रभावित भइन्‌। फलस्वरूप, मेरी श्रीमती र दुई जेठी छोरीहरूले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। तिनीहरू तीन जनाले सन्‌ १९९९ मा आयोजित “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशनमा बप्तिस्मा लिंदा म कत्ति खुसी भएँ होला, कल्पना गर्नुहोस्‌ त!

“हो, सच्चाइको लागि मैले गरेको खोज पूरा भएको छ। अहिले मेरी श्रीमती र चार छोराछोरीलगायत सम्पूर्ण परिवार यहोवाको शुद्ध उपासनामा एकताबद्ध भएका छौं।”