सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमेश्‍वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ?”

“परमेश्‍वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ?”

“परमेश्‍वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ?”

“अब हामीले यी कुरालाई के भनौं? यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ?”–रोमी ८:३१.

१. इस्राएलीहरूसँगसँगै मिश्रबाट को पनि निस्केर आए र तिनीहरूले त्यसो गर्नुको कारण के थियो?

 इस्राएलीहरूले मिश्र देशमा बिताएको २१५ वर्षको अधिकांश समय दासत्वमै बित्यो र त्यो दासत्वबाट स्वतन्त्र हुँदा “तिनीहरूका साथमा एक मिश्रित दल पनि लागे।” (प्रस्थान १२:३८) यी गैरइस्राएलीहरूले मिश्रमा उत्पात मच्चाउने अनि तिनीहरूका झूटा देवहरूलाई हाँसोको पात्रो बनाउने दसवटा भयानक विपत्तिहरू भोगेका थिए। विशेष गरी चौथो विपत्तिदेखि तिनीहरूले यहोवासित आफ्ना जनहरूलाई सुरक्षा गर्नसक्ने क्षमता रहेछ भनेर देखे। (प्रस्थान ८:२३, २४) यहोवाको उद्देश्‍यबारे सीमित ज्ञान भए तापनि एउटा कुरामा भने तिनीहरू पक्का भए: मिश्रका देवहरू मिश्रीहरूलाई जोगाउन असफल भए भने यहोवाले इस्राएलीहरूको खातिर आफूलाई बलियो साबित गर्नुभयो।

२. राहाबले किन इस्राएली जासुसहरूलाई सघाए र तिनीहरूको परमेश्‍वरमाथि तिनको भरोसा किन व्यर्थमा गएन?

चालीस वर्षपछि इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि मोशाका उत्तराधिकारी यहोशूले त्यस राष्ट्रको जासुसी गर्न दुई जना मानिसलाई पठाए। त्यहाँ तिनीहरूले यरीहोका बासिन्दा राहाबलाई भेटे। इस्राएलीहरूले मिश्र छोडेपछि ४० वर्षको दौडान तिनीहरूलाई सुरक्षित राख्न यहोवाले गर्नुभएका शक्‍तिशाली कार्यहरूबारे तिनले सुनेकी थिइन्‌। त्यसैले, परमेश्‍वरको आशिष्‌ पाउने हो भने उहाँका जनहरूलाई सघाउनुपर्छ भनेर तिनलाई थाह थियो। तिनको बुद्धिमानी निर्णयको कारण पछि इस्राएलले त्यस शहरलाई कब्जा गर्दा तिनी र तिनको परिवार विनाशबाट बचे। तिनीहरूको चमत्कारीपूर्ण बचाउ नै परमेश्‍वर तिनीहरूको साथमा हुनुहुन्छ भन्‍ने सुस्पष्ट प्रमाण थियो। अतः राहाबले इस्राएलीहरूको परमेश्‍वरमाथि राखेको भरोसा व्यर्थमा गएन।—यहोशू २:१, ९-१३; ६:१५-१७, २५.

३. (क) येशूले पुनर्निर्माण गरिएको यरीहो शहर नजिकै के चमत्कार गर्नुभयो र यहूदी धर्मगुरुहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) केही यहूदी र पछि थुप्रै गैरयहूदीले के कुरा बुझे?

पन्ध्र शताब्दीपछि पुनर्निर्माण गरिएको यरीहो शहर नजिकै बस्ने अन्धो माग्नेलाई येशू ख्रीष्टले निको पार्नुभयो। (मर्कूस १०:४६-५२; लूका १८:३५-४३) येशूसँग परमेश्‍वरको समर्थन छ भन्‍ने कुरा स्वीकार्दै त्यस मानिसले आफूमाथि दया देखाउन बिन्ती गरे। अर्कोतर्फ, यहूदी धर्मगुरुहरू तथा तिनीहरूका अनुयायीहरूले भने साधारणतया येशूले गर्नुभएका चमत्कारहरू परमेश्‍वरको कार्यको प्रमाण हो भनी स्वीकार्न इन्कार गरे। बरु, तिनीहरू उहाँको आलोचना गर्थे। (मर्कूस २:१५, १६; ३:१-६; लूका ७:३१-३५) येशूलाई मारेको केही दिनपछि उहाँको पुनरुत्थान हुँदासमेत तिनीहरूले यो परमेश्‍वरले गर्नुभएको हो भनी स्वीकार्न इन्कार गरे। बरु, तिनीहरूले “प्रभु येशूको प्रचार” कार्यमा बाधा पुऱ्‍याउने प्रयास गर्दै येशूका अनुयायीहरूलाई सतावट दिने काममा नेतृत्व लिए। तर केही यहूदी र पछि थुप्रै गैरयहूदीले यी घटनाहरूमा ध्यान दिए र घटनाको सही विश्‍लेषण गरे। परमेश्‍वरले आत्मधर्मी यहूदी नेताहरूलाई तिरस्कार गर्नुभएर येशू ख्रीष्टका नम्र अनुयायीहरूलाई समर्थन गर्नुभएको छ भनी तिनीहरूले स्पष्ट बुझे।—प्रेरित ११:१९-२१.

आज कसले परमेश्‍वरको समर्थन पाइरहेको छ ?

४, ५. (क) केही मानिसहरू धर्म छनौट गर्नुपर्दा कस्ता कुराहरूलाई बढी ध्यान दिन्छन्‌? (ख) साँचो धर्म चिन्‍न सोध्नैपर्ने महत्त्वपूर्ण प्रश्‍न कुन हो?

साँचो धर्मको सन्दर्भमा हालैको टिभी अन्तरवार्तामा एक जना पादरीले यसो भने: “कुनै मानिसले आफ्नो धर्मअनुसार जीवन बिताउँदा त्यसले उसलाई असल मानिस बनाउँछ भने त्यही नै साँचो धर्म हो भन्‍ने पक्षमा म छु।” हो, साँचो धर्मले असल व्यक्‍ति बनाउँछ। तर धर्मले असल व्यक्‍ति बनाउँछ भन्दैमा के त्यस धर्मसँग परमेश्‍वरको समर्थन छ भनी प्रमाणित हुन्छ र? धर्म साँचो हो या होइन भनी निधो गर्ने तरिका के यही मात्र हो त?

सबैले व्यक्‍तिगत छनौट गर्ने अधिकारको मूल्यांकन गर्छन्‌ र यसमा आफूले मान्‍न चाहेको धर्म छनौट गर्ने अधिकार पनि समावेश छ। तर छनौट गर्ने स्वतन्त्रता छ भन्दैमा सबैले सही छनौट नै गर्छन्‌ भन्‍ने ग्यारेन्टी छैन। उदाहरणका लागि, कसैकसैले अनुयायीहरूको संख्या, धन, चाडहरूको भव्यता वा पारिवारिक सम्बन्धको आधारमा छनौट गर्ने गर्छन्‌। तर धर्म साँचो हो या होइन भनी निर्धारण गर्न यी कुराहरू निर्णायक होइनन्‌। महत्त्वपूर्ण त यो प्रश्‍न हो: कुनचाहिं धर्मले आफ्ना अनुयायीहरूलाई परमेश्‍वरको इच्छाअनुसार गर्न आग्रह गर्छ र कुनचाहिं धर्मका अनुयायीहरूले “परमेश्‍वर हामीतर्फ हुनुहुन्छ” भनी पूर्ण भरोसाका भन्‍नसक्ने गरी ईश्‍वरीय समर्थनको ठोस प्रमाण दिन्छन्‌?

६. साँचो र झूटो धर्म चिन्‍ने सन्दर्भमा येशूका कुन शब्दहरूले प्रकाश पार्छ?

साँचो र झूटो धर्म छुट्याउने सम्बन्धमा येशूले यस्तो नियम औंल्याउनुभयो: “झूटा अगमवक्‍ताहरूदेखि होशियार रह, जो तिमीहरूकहाँ भेड़ाका भेषमा आउँछन्‌, तर भित्रपट्टि चाहिं लुटाहा ब्वाँसाहरू जस्ता हुन्छन्‌। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ।” (मत्ती ७:१५, १६; मलाकी ३:१८) आउनुहोस्‌, हामी साँचो धर्मका केही “फल” अर्थात्‌ चिनारीहरूको पुनरावलोकन गरौं। यसो गर्दा आज कसले ईश्‍वरीय समर्थन पाइरहेको छ भनी निर्णय गर्नसक्नेछौं।

परमेश्‍वरको समर्थन पाउनेहरूका चिनारीहरू

७. बाइबलमा आधारित कुराहरू मात्र सिकाउनुको अर्थ के हो?

तिनीहरूका शिक्षाहरू बाइबलमा आधारित हुन्छन्‌। येशूले यसो भन्‍नुभयो: “मेरो शिक्षा मेरै होइन, तर मलाई पठाउनेको हो। यदि कुनै मानिसले उहाँको इच्छा पालन गर्न चाहन्छ भने, यस शिक्षाको विषयमा उसले यो जान्‍नेछ, कि यो परमेश्‍वरतर्फबाट हो, कि म आफ्नैतर्फबाट बोल्दछु।” अनि उहाँले यस्तो पनि भन्‍नुभयो: “जो परमेश्‍वरको हो, त्यसले परमेश्‍वरको कुरा सुन्दछ।” (यूहन्‍ना ७:१६, १७; ८:४७) त्यसकारण, परमेश्‍वरको समर्थन पाउन परमेश्‍वरले आफ्नो वचनमा प्रकाश पार्नुभएका कुराहरू मात्र सिकाउनुपर्छ र मानव बुद्धि वा परम्परामा आधारित शिक्षाहरू इन्कार गर्नुपर्छ।—यशैया २९:१३; मत्ती १५:३-९; कलस्सी २:८.

८. उपासना गर्दा परमेश्‍वरको नाउँ प्रयोग गर्नु किन महत्त्वपूर्ण छ?

तिनीहरू परमेश्‍वरको नाउँ यहोवा प्रयोग गर्नुका साथै घोषणा गर्छन्‌। यशैयाले यस्तो अगमवाणी गरे: “त्यस दिन तिमीहरूले भन्‍नेछौ, परमप्रभुलाई धन्यवाद देऊ। उहाँको नाउँको पुकारा गर। जाति जातिहरूका बीचमा उहाँका कार्यहरूको प्रचार गर, उहाँको नाउँ उच्च पारिएको छ भनी चर्चा गर परमप्रभुको भजन गाऊ, किनकि उहाँले महिमित कामहरू गर्नुभएको छ। सारा पृथ्वीमा यो कुराको प्रचार होस्‌।” (यशैया १२:४, ५) येशूले आफ्ना अनुयायीहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌।” (मत्ती ६:९) अतः यहूदी होस्‌ वा गैरयहूदी, मसीहीहरूले “[परमेश्‍वरको] नाउँको निम्ति” सेवा गर्नुपर्थ्यो। (प्रेरित १५:१४) परमेश्‍वर निश्‍चय पनि “उहाँको नाउँको निम्ति” सेवा गर्न प्रसन्‍न मानिसहरूलाई समर्थन गर्न आनन्दित हुनुहुन्छ।

९. (क) किन आनन्द साँचो धर्मका सदस्यहरूको चिनारी हो? (ख) यशैया कसरी साँचो धर्मको तुलना झूटो धर्मसँग गर्छन्‌?

तिनीहरू परमेश्‍वरको आनन्दित व्यक्‍तित्व झल्काउँछन्‌। “सुसमाचार[का]” लेखकको हैसियतमा यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ। (१ तिमोथी १:११) त्यसैकारण, उहाँका उपासकहरू कसरी दुःखी वा निरन्तर निराशावादी हुनसक्छन्‌ र? संसारको निराशाजनक अवस्था र व्यक्‍तिगत समस्याको बावजूद साँचो मसीहीहरू आनन्दित रहन्छन्‌ किनभने तिनीहरू नियमित रूपमा प्रचुर आध्यात्मिक भोजमा भाग लिन्छन्‌। यशैया यसप्रकार तिनीहरूको तुलना झूटो धर्म पालन गर्ने मानिसहरूसँग गर्छन्‌: “परमप्रभु भन्‍नुहुन्छ, हेर, मेरा दासहरूले खानेछन्‌, तर तिमीहरू भने भोकाउनेछौ। हेर, मेरा दासहरूले पिउनेछन्‌, तर तिमीहरू भने तिर्खाउनेछौ। हेर, मेरा दासहरूले हर्ष मनाउनेछन्‌, तर तिमीहरू चाहिं लाजमा पर्नेछौ। हेर, मेरा दासहरू हृदयमा आनन्द भएकाले गाउनेछन्‌, तर तिमीहरू चाहिं हृदयमा दुःख भएकोले रूनेछौ, र आत्मामा खिन्‍न भएकोले चिच्याई चिच्याई रूनेछौ।”—यशैया ६५:१३, १४.

१०. साँचो धर्म पालन गर्ने व्यक्‍ति परीक्षा तथा गल्तीहरूबाट पाठ सिक्नदेखि कसरी बच्नेछन्‌?

१० तिनीहरूको आचरण र निर्णयहरू बाइबलका सिद्धान्तहरूमा आधारित हुन्छन्‌। हितोपदेशका लेखक हामीलाई यस्तो सल्लाह दिन्छन्‌: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितोपदेश ३:५, ६) परमेश्‍वर, ईश्‍वरीय बुद्धिको अवहेलना गर्ने विरोधाभासपूर्ण मानव सिद्धान्तहरूको पछि लाग्नेहरूलाई होइन बरु निर्देशनको निम्ति उहाँलाई पुकार्नेहरूलाई समर्थन गर्नुहुन्छ। परमेश्‍वरको वचनअनुसार आफ्नो जीवन ढाल्न व्यक्‍तिविशेष जति तयार हुन्छन्‌ त्यति नै परीक्षा तथा गल्तीहरूबाट पाठ सिक्नदेखि बच्नेछन्‌।—भजन ११९:३३; १ कोरिन्थी १:१९-२१.

११. (क) साँचो धर्म किन पादरी वर्ग र सामान्य वर्गमा विभाजित हुन सक्दैन? (ख) परमेश्‍वरका जनहरूमाझ अगुवाइ लिनेहरूले बगालको लागि कस्तो उदाहरण बसाल्छन्‌?

११ तिनीहरू प्रथम शताब्दीका मसीही मण्डलीजस्तै व्यवस्थित हुन्छन्‌। येशूले यस्तो सिद्धान्त औंल्याउनुभयो: “तिमीहरूलाई कसैले गुरु नभनोस्‌ किनकि तिमीहरूका गुरु एउटै छन्‌, र तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि तिमीहरूका पिता एउटै स्वर्गमा हुनुहुन्छ। तिमीहरूलाई मालिक कसैले नभनोस्‌, किनकि तिमीहरूका एक मात्र मालिक ख्रीष्टनै हो। तर तिमीहरूमा जो सबैभन्दा ठूलो छ, त्योचाहिं तिमीहरूको सेवक हुनेछ।” (मत्ती २३:८-११) हठी पादरी वर्ग ठूलठूला नाउँ धारण गरेर आफ्नो सम्मान गर्ने र सर्वसाधारणभन्दा आफूलाई ठूलो बनाउने गर्छन्‌। तर मण्डलीका भाइहरू यस्ता कुराहरूदेखि टाढै बस्छन्‌। (अय्यूब ३२:२१, २२) परमेश्‍वरको बगालको गोठालो गर्नेहरूलाई यसो भनिएको छ, “करले होइन, तर परमेश्‍वरको इच्छाबमोजिम, खुशीसाथ। पैसाको लोभले होइन, तर तयारी मनले, तिमीहरूका जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको उदाहरण होओ।” (१ पत्रुस ५:२, ३) साँचो मसीही गोठालाहरू आफूलाई अरूको विश्‍वासमाथि हैकम जमाउने प्रयास गर्दैनन्‌। परमेश्‍वरको सेवामा लाग्ने सँगी कामदारहरूको हैसियतमा तिनीहरू केवल असल उदाहरण बसाल्ने प्रयास गर्छन्‌।—२ कोरिन्थी १:२४.

१२. परमेश्‍वरको समर्थन पाउने इच्छा गर्नेहरूले मानव सरकारको सन्दर्भमा कस्तो सन्तुलित विचारधारा राखेको परमेश्‍वर चाहनुहुन्छ?

१२ तिनीहरू मानव सरकारहरूको अधीनमा बसे तापनि तटस्थ रहन्छन्‌। “उच्च अख्तियारवालाहरूका अधीनमा” नबस्नेहरूले परमेश्‍वरको समर्थन पाउने आशा गर्न सक्दैनन्‌। किन? किनभने “अख्तियारहरूचाहिं परमेश्‍वरबाट खटिएका हुन्छन्‌। यसकारण अख्तियारवालाको विरुद्धमा खड़ा हुनेले परमेश्‍वरको धार्मिकविधानको विरोध गर्दछ।” (रोमी १३:१, २) तथापि, उच्च अख्तियारवालाको इच्छा र परमेश्‍वरको इच्छा आपसमा बाझिन सक्ने सम्भाव्यतालाई येशूले यसो भन्‍नुहुँदै स्वीकार्नुभयो: “सिजरका चीजहरू सिजरलाई देओ, र परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई।” (मर्कूस १२:१७) परमेश्‍वरको समर्थन पाउने इच्छा गर्नेहरूले “पहिले [परमेश्‍वरको] राज्य र उहाँको धार्मिकता खोजी” गर्नुका साथै आफू बस्ने राष्ट्रको नियम, परमेश्‍वरको नियम विपरीत नभएसम्म पालन गर्नुपर्छ। (मत्ती ६:३३; प्रेरित ५:२९) येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुहुँदा तटस्थतामा जोड दिनुभयो: “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!” उहाँले पछि यस्तो भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन।”—यूहन्‍ना १७:१६; १८:३६.

१३. परमेश्‍वरका जनहरू चिन्‍न प्रेमले कसरी मदत गर्छ?

१३ तिनीहरू पक्षपात नगरीकन सबै मानिसतर्फ “भलाइको काम” गर्छन्‌। (गलाती ६:१०) मसीही प्रेमले पक्षपात गर्दैन, छालाको रङ, आर्थिक तथा शैक्षिक पृष्ठभूमि, राष्ट्रियता वा भाषाको वास्ता नगरी सबै मानिसलाई स्वीकार्छ। सबैतर्फ र अझ विशेष गरी एउटै विश्‍वासमा हुनेहरूका लागि तिनीहरूले गर्ने भलाइले परमेश्‍वरको समर्थन तिनीहरूसित छ भन्‍ने कुरा बुझ्न मदत गर्छ। येशूले यसो भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यो भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।”—यूहन्‍ना १३:३५; प्रेरित १०:३४, ३५.

१४. परमेश्‍वरको अनुमोदन पाउनेहरूले के सबैबाट पनि अनुमोदन पाउँछ नै भन्‍ने छ? व्याख्या गर्नुहोस्‌।

१४ परमेश्‍वरको इच्छाअनुसार गर्नका लागि तिनीहरू सतावट भोग्नसमेत तयार हुन्छन्‌। येशूले पहिल्यै आफ्ना चेलाहरूलाई यस्तो चेताउनी दिनुभयो: “तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्‌, तिनीहरूले मेरो वचन पालन गरे भने, तिमीहरूको पनि पालन गर्नेछन्‌।” (यूहन्‍ना १५:२०; मत्ती ५:११, १२; २ तिमोथी ३:१२) परमेश्‍वरको समर्थन पाउनेहरू नूहजस्तै सधैं लोकप्रिय भएका छैनन्‌। नूहले आफ्नो विश्‍वासद्वारा संसारलाई दोषी ठहऱ्‍याए। (हिब्रू ११:७) आज, परमेश्‍वरको समर्थन चाहनेहरू सतावटबाट बच्न परमेश्‍वरको वचनलाई हल्कासित लिने वा ईश्‍वरीय सिद्धान्तहरूसित सम्झौता गर्ने गर्दैनन्‌। वफादारीसाथ परमेश्‍वरको सेवा गरुञ्जेल तिनीहरूदेखि ‘ताजुब हुनेहरू र तिनीहरूका विरुद्धमा खराबी बोल्नेहरू’ हुनेछन्‌ भनेर तिनीहरूलाई थाह छ।—१ पत्रुस २:१२; ३:१६; ४:४.

तथ्यहरू केलाउने समय

१५, १६. (क) परमेश्‍वरको समर्थन प्राप्त धार्मिक समूह चिन्‍न कस्ता प्रश्‍नहरूले मदत गर्नेछन्‌? (ख) लाखौं मानिसहरू कस्तो निष्कर्षमा पुगेका छन्‌ र किन?

१५ आफैलाई प्रश्‍न गर्नुहोस्‌, ‘यसले सिकाउने कुराहरू अधिकांश मानिसहरूको विश्‍वासभन्दा फरक भए तापनि कुनचाहिं धार्मिक समूहले परमेश्‍वरको वचन पालन गर्छ? कसले आफ्नो परिचय दिनसमेत परमेश्‍वरको नाउँ प्रयोग गरेर उहाँको नाउँको महत्त्वमाथि जोड दिन्छ? सम्पूर्ण मानव समस्याको एउटै मात्र समाधान परमेश्‍वरको राज्य हो भनी कसले भन्छ? पुरानो विचारधाराको मानिस भनी कहलाइने खतराको बावजूद कसले बाइबल स्तरअनुरूप आफ्नो आचारण कायम राख्छन्‌? कुनचाहिं समूहको तलबप्राप्त पादरी छैन र सबै सदस्यहरू प्रचारक छन्‌? राजनीतिमा भाग लिन इन्कार गरे तापनि नियमपालक नागरिकहरू भनेर को चिनिन्छन्‌? परमेश्‍वर अनि उहाँको उद्देश्‍यबारे अरूलाई सिक्न मदत गर्न मायालुपूर्वक कसले समय र पैसा खर्च गर्छ? अनि यी सबै सकारात्मक कुराहरूको बावजूद कसले अझै हेला, गिल्लाका साथै सतावट सहनु परिरहेको छ?’

१६ संसारभरिका लाखौं मानिसहरूले यी तथ्यहरू केलाएका छन्‌ र यहोवाका साक्षीहरूले मात्र साँचो धर्म पालन गरिरहेका छन्‌ भन्‍ने कुरामा विश्‍वस्त भएका छन्‌। यहोवाका साक्षीहरूको शिक्षा, तिनीहरूको आचरणका साथै तिनीहरूको धर्मले पुऱ्‍याइरहेका लाभहरूको आधारमा तिनीहरू यस्तो निष्कर्षमा पुगेका हुन्‌। (यशैया ४८:१७) लाखौंले जकरिया ८:२३ मा भविष्यवाणी गरिएझैं भनिरहेका छन्‌: “हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।”

१७. यहोवाका साक्षीहरूले आफूसँग साँचो धर्म छ भनी दाबी गर्नु किन अहंकार होइन?

१७ यहोवाका साक्षीहरूले मात्र परमेश्‍वरको समर्थन पाएका छन्‌ भनी बताउनु के तिनीहरूको अहंकार भएन र? वास्तवमा, तिनीहरूको दाबी पनि मिश्रमा भएका इस्राएलीहरूले मिश्रीहरूको बेग्लै विश्‍वासको बावजूद परमेश्‍वरको समर्थन आफूसित छ भनी गरेको दाबी वा प्रथम शताब्दीका मसीहीहरूले यहूदी धर्म हैन तर आफूसित परमेश्‍वरको समर्थन छ भनेजस्तै हो। यस विषयमा तथ्यहरू आफैले प्रमाण दिन्छ। आफ्ना साँचो अनुयायीहरूले अन्तको समयमा गर्नेछन्‌ भनी येशूले भविष्यवाणी गर्नुभएको काम आज यहोवाका साक्षीहरूले २३५ मुलुकमा गरिरहेका छन्‌: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.

१८, १९. (क) यहोवाका साक्षीहरू विरोध आइपर्दासमेत प्रचारकार्यबाट पछि हट्‌ने किन कुनै कारण छैन? (ख) साक्षीहरूले परमेश्‍वरको समर्थन पाएका छन्‌ भनी भजन ४१:११ ले कसरी प्रमाणित गर्छ?

१८ जस्तोसुकै सतावट वा विरोध आइपरे तापनि यहोवाका साक्षीहरूले यो काम गर्न छाड्‌ने छैनन्‌। यहोवाको काम गरिनैपर्छ र गरिने पनि छ। बितेका शताब्दीहरूमा साक्षीहरूलाई परमेश्‍वरको कार्य गर्नदेखि रोक्न गरिएका हरेक प्रयास आखिरमा विफल भए किनभने यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ, औ मामिलामा तेरो विरुद्धमा उठ्‌ने जोसुकैलाई पनि तैंले हराउनेछस्‌। यो चाहिं परमप्रभुका दासहरूको अधिकार हो, र मद्वारानै तिनीहरूको न्याय स्थापित हुनेछ, परमप्रभु भन्‍नुहुन्छ।”—यशैया ५४:१७.

१९ संसारभरिबाट आइरहेको सतावटको बावजूद यहोवाका साक्षीहरू आज पहिलेभन्दा झनै बलियो र सक्रिय भएका छन्‌। यो नै पमेश्‍वरको अनुमोदनको प्रमाण हो। राजा दाऊदले यसो भनेका थिए: “मेरा शत्रुहरू ममाथि विजयी हुन नपाएकोले म थाह पाउँछु, कि तपाईं मसँग प्रसन्‍न हुनुहुन्छ।” (भजन ४१:११; ५६:९, ११) परमेश्‍वरका शत्रुहरू यहोवाका जनहरूमाथि विजयी भएर कहिल्यै हर्ष मनाउन पाउने छैनन्‌ किनभने तिनीहरूको नेता येशू ख्रीष्ट अन्तिम विजयतर्फ अघि बढ्‌दै हुनुहुन्छ!

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• पुरातन समयमा परमेश्‍वरको समर्थन पाउने व्यक्‍तिहरूका केही उदाहरणहरू के हुन्‌?

• साँचो धर्मका केही चिनारीहरू के हुन्‌?

• यहोवाका साक्षीहरूले परमेश्‍वरको समर्थन पाएका छन्‌ भनी तपाईं व्यक्‍तिगत रूपमा किन विश्‍वस्त हुनुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

परमेश्‍वरको समर्थन पाउन इच्छा गर्नेहरूले आफ्नो शिक्षा पूर्णतया परमेश्‍वरको वचनमा आधारित गर्नुपर्छ

[पृष्ठ १५-मा भएको चित्र]

मसीही प्राचीनहरू बगालको निम्ति उदाहरण हुन्छन्‌