सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍न

पाठकहरूका प्रश्‍न

पाठकहरूका प्रश्‍न

छुडौतीको बलिदानको आधारमा यहोवा पापहरू क्षमा गर्न इच्छुक हुनुहुन्छ भने मसीहीहरूले मण्डलीका प्राचीनहरूसामु आफ्नो पाप स्वीकार्नु किन आवश्‍यक पऱ्‍यो ?

यो कुरा दाऊद र बेतशेबाको घटनाबाट बुझ्न सकिन्छ। दाऊदको पाप गम्भीर भए तापनि साँचो हृदयले पश्‍चात्ताप गरेको कारण यहोवाले तिनलाई क्षमा दिनुभयो। नातान अगमवक्‍ता तिनलाई भेट्‌न आउँदा दाऊदले सीधै आफ्नो पाप स्वीकारे: “मैले परमप्रभुको विरुद्धमा पाप गरें।”—२ शमूएल १२:१३.

तथापि, यहोवा, पाप गर्ने व्यक्‍तिले साँचो मनले पाप स्वीकारेको मात्र चाहनुहुन्‍न तर गल्ती गर्ने व्यक्‍तिको आध्यात्मिक प्रगतिको निम्ति मायालु प्रबन्ध पनि मिलाउनुहुन्छ। दाऊदको सन्दर्भमा अगमवक्‍ता नातानले त्यस्तो मदत दियो। आज, मसीही मण्डलीमा आध्यात्मिक तवरमा पाको पुरुषहरू अर्थात्‌ प्राचीनहरू छन्‌। चेला याकूबले यसो भने: “के तिमीहरूमध्ये कोही [आध्यात्मिक तवरमा] बिरामी छ? त्यसले मण्डलीको धर्म-गुरुहरूलाई बोलाओस्‌, र तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेल घसेर त्यसको विषयमा प्रार्थना गरून्‌। औ विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई उठाउनुहुनेछ, र यदि त्यसले पापै गरेको भए पनि त्यसलाई क्षमा हुनेछ।”—याकूब ५:१४, १५.

अनुभवी प्राचीनहरूले पश्‍चात्तापी पापीहरूले महसुस गरिरहेको वेदना कम गर्न धेरै हदसम्म मदत गर्नसक्छन्‌। पापीहरूसँग व्यवहार गर्दा तिनीहरू यहोवाको अनुकरण गर्ने प्रयास गर्छन्‌। कडा अनुशासन आवश्‍यक भए तापनि तिनीहरू कहिल्यै कठोर हुँदैनन्‌। बरु, तिनीहरू अनुकम्पापूर्ण ढंगमा त्यस व्यक्‍तिलाई तुरुन्तै चाहिने कुराहरूबारे विचार गर्छन्‌। परमेश्‍वरको वचन चलाउँदै धीरजका साथ तिनीहरू गल्ती गर्नेको सोचाइ सच्याउने प्रयास गर्छन्‌। (गलाती ६:१) नातानले दाऊदसँग कुरा गरेपछि तिनले आफ्नो पाप स्वीकारेझैं कोहीकोही व्यक्‍ति प्राचीनहरूले गरेको कुराले गर्दा आफ्नो पाप स्वीकारेर पश्‍चात्ताप गर्न प्रेरित हुनसक्छन्‌। अतः प्राचीनले दिएको समर्थनले गल्ती गर्ने व्यक्‍तिलाई आफ्नो पाप पुनः नदोहऱ्‍याउन र बारम्बार पापमा फस्ने खतराबाट जोगिन मदत गर्नसक्छ।—हिब्रू १०:२६-३१.

निश्‍चय पनि आफूलाई शर्म लागेको काम स्वीकारेर माफी माग्नु सजिलो कुरा होइन। यसको लागि आन्तरिक बल चाहिन्छ। तर एकछिनको निम्ति विकल्पलाई विचार गर्नुहोस्‌। मण्डलीका प्राचीनहरूलाई आफ्नो पाप नस्वीकार्ने एक जना मानिसले यसो भने: “मलाई सधैं अशान्ति भइरहन्थ्यो। जत्ति नै धेरै प्रचारकार्यमा भाग लिए तापनि पछुतोको भावना भने मभित्र अझै थियो।” तिनले प्रार्थनाद्वारा परमेश्‍वरसामु आफ्नो पाप स्वीकार्नु मात्र पर्याप्त छ र प्राचीनहरूसामु स्वीकार्नु पर्दैन भन्ठाने। किनभने तिनले पनि राजा दाऊदले जस्तै अशान्ति महसुस गरिरहे। (भजन ५१:८, ११) यहोवाले प्राचीनहरूमार्फत उपलब्ध गर्नुहुने मायालु मदत स्वीकार्नु कत्ति बेस हो!