सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाप स्वीकार्दा आध्यात्मिक निवारण पाइन्छ

पाप स्वीकार्दा आध्यात्मिक निवारण पाइन्छ

पाप स्वीकार्दा आध्यात्मिक निवारण पाइन्छ

“जब म चूप लागें, तब मेरा हड्डीहरू दिनभरिको मेरो कङ्‌कलाशब्दले गर्दा मक्किए। किनकि दिन-रात तपाईंको बाहुलीको भार ममाथि रह्‍यो। मेरो शरीरको पानी ता ग्रीष्मको खड़ेरीमा परिवर्त्तन भयो।” (भजन ३२:३, ४) यी मर्मस्पर्शी शब्दहरूले पुरातन इस्राएलका राजाले महसुस गरेको गहिरो भावनात्मक चोटलाई बुझाउनसक्छ। आफूले गरेको गम्भीर पाप स्वीकार्नुको सट्टा लुकाएको कारण तिनले यो चोट खप्नुपरेको थियो।

दाऊद असाधारण योग्यताहरू भएका व्यक्‍ति थिए। तिनी साहसी योद्धा, निपुण राजनीतिज्ञ, कवि र संगीतकार थिए। यद्यपि तिनी आफ्नो योग्यतामा होइन तर परमेश्‍वरमा भर पर्थे। (१ शमूएल १७:४५, ४६) तिनी “आफ्ना परमेश्‍वरका सम्पूर्ण रीतिले भक्‍त” थिए भनी वर्णन गरिएको छ। (१ राजा ११:४) तर तिनले गरेको एउटा पाप विशेष गरी निन्दनीय थियो र तिनले सो कुरा भजन ३२ मा संकेत गरिरहेका हुनसक्छन्‌। तिनी के-कस्तो परिस्थितिले गर्दा पाप गर्न पुगे भनी बुझ्दा हामीले धेरै कुरा सिक्नसक्छौं। हामीले पासोहरू चिन्‍नुका साथै परमेश्‍वरसँगको सम्बन्ध पुनर्स्थापित गर्न हाम्रो पाप स्वीकार्नुपर्ने आवश्‍यकतालाई बुझ्नेछौं।

वफादार राजा पापमा फसे

इस्राएल राष्ट्र अम्मोनीहरूसित युद्ध गरिरहेको थियो तर दाऊद भने यरूशलेममै थिए। एक साँझ आफ्नो दरबारको कौसीमा टहलिरहेको बेला नजिकैको घरमा एक सुन्दर स्त्री नुहाइरहेको तिनले देखे। दाऊदले आफ्नो यौन इच्छालाई काबूमा राख्न सकेनन्‌ र उनको उत्कट चाहना गर्न थाले। उनी आफ्नै सिपाही उरियाहकी पत्नी बेतशेबा रहेछ भन्‍ने थाह पाएपछि दाऊदले उनलाई बोलाएर उनीसँग व्यभिचार गरे। केही समयपछि बेतशेबाले आफू गर्भवती भएको समाचार दाऊदलाई पठाए।—२ शमूएल ११:१-५.

दाऊद पासोमा परे। तिनीहरूको पाप उदांग भएको खण्डमा दुवै जनाले मृत्युदण्ड पाउने थिए। (लेवी २०:१०) त्यसैले, तिनले एउटा योजना बनाए। दाऊदले बेतशेबाको पति उरियाहलाई रणभूमिबाट बोलाए। युद्धबारे धेरै सोधपूछ गरेपछि दाऊदले उरियाहलाई घर फर्कन आज्ञा गरे। यसो गर्दा बेतशेबाको बच्चाको पिता उरियाह नै हो भन्ठानिनेछ भनी तिनले आशा गरेका थिए।—२ शमूएल ११:६-९.

तर उरियाह आफ्नी पत्नीकहाँ नजाँदा दाऊदलाई आपत्‌ पऱ्‍यो। सेनाहरूले घमासान युद्ध गरिरहेको बेला आफूचाहिं घर जानु असोचनीय कुरा हो भनी उरियाहले भने। इस्राएली सेना युद्धमा मुछिएको बेला पुरुषहरू आ-आफ्नो पत्नीसँग समेत यौनसम्बन्ध राख्दैनन्‌ थिए। तिनीहरू चोखो रहनुपर्थ्यो। (१ शमूएल २१:५) त्यसपछि दाऊदले उरियाहलाई खाना खान बोलाए र तिनलाई मताए तर तिनी अझै आफ्नो पत्नीकहाँ गएन। उरियाहको विश्‍वासी आचरणले दाऊदको गम्भीर पापलाई निन्दनीय तुल्यायो।—२ शमूएल ११:१०-१३.

आफ्नै पापले थापेको पासोमा दाऊद झन्‌ झनै फस्दै गइरहेका थिए। यस्तो विपत्तिको बेला तिनले एउटै मात्र समाधान देखे। दाऊदले सेनापति योआबलाई एउटा चिट्ठी लेखेर उरियाहको हातमा पठाए। त्यस छोटो चिठीमा तिनको मनसाय स्पष्ट थियो: “शत्रुकै मुखमा, जहाँ लड़ाइँ खूब मच्चिएको छ त्यहाँ, उरियाहलाई पठाएर तिमीहरू चाहिं पछि हट, र त्यो मरोस्‌।” त्यस छोटो चिठीको भरमा शक्‍तिशाली राजाले उरियाहलाई मर्न पठाएर आफ्नो पापलाई लुकाए सफल भएजस्तो देखिन्थ्यो।—२ शमूएल ११:१४-१७.

आफ्नो पतिको निम्ति शोक गर्ने समय सिद्धिने बित्तिकै दाऊदले बेतशेबालाई विवाह गरे। समय बित्दै गयो र तिनीहरूको बच्चा जन्मियो। यी सबै घटनाहरूको दौडान दाऊदले आफ्नो पापबारे केही बोलेनन्‌। सायद तिनले आफ्नो कार्यको सफाइ दिन खोजिरहेका थिए। के अरूजस्तै उरियाह पनि सम्मानीय ढंगमा युद्धमा मरेनन्‌ र? यसबाहेक, आफ्नी पत्नीकहाँ जाने राजाको आज्ञा तिनले नमानेको होइनन्‌ र? पापको सफाइ दिन ‘छली हृदयले’ हर प्रकारका तर्कहरू गर्छ।—यर्मिया १७:९; २ शमूएल ११:२५.

पापतर्फ डोऱ्‍याउने गलत कारणहरू

धार्मिकताका प्रेमी दाऊद व्यभिचार र हत्या गर्ने हदसम्म कसरी पुगे? स्पष्टतः तिनको पापको बीउ समयको अन्तरालमा झन्‌ झन्‌ छरिंदै गयो। दाऊद आफ्ना मानिसहरूसँगसँगै यहोवाका शत्रुहरूसित किन लड्‌न गएनन्‌ भन्‍ने प्रश्‍न हाम्रो मनमा आउनसक्छ। त्यसको विपरीत दाऊद दरबारमा आरामसँग बसिरहेका थिए। रणभूमिमा युद्ध गरिरहेका आफ्ना सेनाहरूको चिन्ता राख्नु त कहाँ हो कहाँ, उल्टो आफ्नै वफादार सेनाकी पत्नीप्रति मनमा कुइच्छा पालिरहेका थिए। आज, आ-आफ्नो मण्डलीको आध्यात्मिक गतिविधिमा सक्रियतासाथ भाग लिनु र सुसमाचार प्रचारकार्यमा नियमित तवरमा भाग लिनु साँचो मसीहीहरूको निम्ति सुरक्षा हो।—१ तिमोथी ६:१२.

इस्राएली राजालाई व्यवस्थाको प्रति बनाउन र त्यसलाई दिनहुँ पढ्‌न आज्ञा दिइएको थियो। बाइबलले यस्तो आज्ञा दिनुको कारण पनि बताउँछ: “त्यस व्यवस्थाका सबै कुरा र यी विधिहरू पालन गर्नलाई . . . औ उसले आफ्नो जीवनभरि . . . परमप्रभु आफ्ना परमेश्‍वरको डर मान्‍न सिकोस्‌। त्यो आफ्ना दाज्यु-भाइहरूका बीचमा घमण्डले नफूलोस्‌, र व्यवस्थाको मार्ग त्यागेर दाहिने वा देब्रे नलागोस्‌।” (व्यवस्था १७:१८-२०) दाऊदले गम्भीर पाप गर्दा तिनले यो निर्देशन पालन गरिरहेका थिएनन्‌ भनेर स्पष्ट हुन्छ। परमेश्‍वरको वचनको नियमित अध्ययन तथा मननले निश्‍चय पनि यस आखिरी समयमा हामीलाई गलत कार्य गर्नदेखि जोगाउनेछ।—हितोपदेश २:१०-१२.

यसबाहेक, दस आज्ञाको अन्तिम आज्ञाले स्पष्ट गरी यसो भन्छ: “तैंले आफ्नो छिमेकीकी स्वास्नीका लालच नगर्नू।” (प्रस्थान २०:१७) यतिबेलासम्म दाऊदका थुप्रै श्रीमती र रखौटीहरू भइसकेका थिए। (२ शमूएल ३:२-५) तैपनि त्यसले तिनलाई अन्य आकर्षक स्त्रीको चाहना गर्नदेखि रोकेन। यस विवरणले हामीलाई येशूका शब्दहरूको गम्भीरता सम्झाउँछ: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” (मत्ती ५:२८) त्यस्ता अनुचित इच्छालाई मनमा खेलाइरहनुको सट्टा हामी आफ्नो मन अनि हृदयबाट त्यस्तो कुरा निकालिहालौं।

पश्‍चात्ताप र कृपा

दाऊदको पापबारे बाइबलले दिने स्पष्ट विवरण निश्‍चय पनि कसैको यौन इच्छा तृप्त गर्नको निम्ति होइन। यस विवरणमा हामी यहोवाको उल्लेखनीय गुण अर्थात्‌ दयाको शक्‍तिशाली तथा उत्प्रेरणादायी प्रमाण पाउँछौं।—प्रस्थान ३४:६, ७.

बेतशेबाले छोरा जन्माइसकेपछि यहोवाले नातान अगमवक्‍तालाई दाऊदकहाँ पठाउनुभयो। यो यहोवाको दयाको चिह्न थियो। दाऊदलाई नभेटी चुपचाप लागेर बसेको भए तिनी समयमा कठोर पापकर्मी हुनसक्थे। (हिब्रू ३:१३) खुसीको कुरा दाऊदले परमेश्‍वरको दयालाई तिरस्कार गरेनन्‌। नातानको चलाखीपूर्ण तर स्पष्ट शब्दहरूले दाऊदको अन्तस्करणलाई झक्‌झकायो र तिनले नम्रतापूर्वक परमेश्‍वर विरुद्ध आफूले गरेको पाप स्वीकारे। वास्तवमा भन्‍ने हो भने, भजन ५१ मा उल्लिखित दाऊदका पापहरू दाऊदले बेतशेबासँग गरेको गम्भीर पाप स्वीकारेर पश्‍चात्ताप गरिसकेपछिको हो। हामीले कथङ्‌कदाचित्‌ केही गम्भीर पाप गऱ्‍यौं भने हाम्रो हृदयलाई कहिल्यै कठोर हुन नदेऔं।—२ शमूएल १२:१-१३.

दाऊदले माफी पाए तर तिनी अनुशासन वा पापका नतिजाहरूबाट बचेनन्‌। (हितोपदेश ६:२७) बच्न पनि कसरी सक्थे र? यदि परमेश्‍वरले तिनको गल्तीलाई बेवास्ता गर्नुभएको भए उहाँका स्तरहरूको सम्झौता हुने थियो। उहाँ प्रधान पूजाहारी एलीजस्तै प्रभावहीन हुनुहुने थियो। एलीले आफ्ना दुष्ट छोराहरूलाई हल्कासँग हप्काउनु त हप्काए तर खराब काम गर्नदेखि रोकेनन्‌। (१ शमूएल २:२२-२५) यद्यपि, पश्‍चात्तापी व्यक्‍तिलाई यहोवा दया देखाउन छोड्‌नुहुन्‍न। स्फूर्तिदायी, चिसो पानीले जस्तै उहाँको दयाले गल्ती गर्नेलाई पापका नतिजाहरू सहन मदत गर्नेछ। ईश्‍वरीय माफीको न्यानोपन र सँगी उपासकहरूसँगको प्रोत्साहनजनक संगतिले गल्ती गर्ने व्यक्‍तिको आध्यात्मिकता पुनर्स्थापित गर्नसक्छ। हो, ख्रीष्टको छुडौतीको बलिदानको आधारमा पश्‍चात्तापीहरूले “[परमेश्‍वरको] अनुग्रहको धन” चाख्नसक्छ।—एफिसी १:७.

“शुद्ध हृदय” र ‘पुनर्जीवित आत्मा’

दाऊदले पाप स्वीकारेपछि आफू बेकार छु भन्‍नेजस्ता नकारात्मक भावनाहरू व्यक्‍त गरेनन्‌। आफ्नो पाप स्वीकारेपछि लेखेको उक्‍त भजनमा तिनले हलका महसुस गरेको र यहोवाको वफादारीसाथ सेवा गर्ने संकल्प गरेको देखिन्छ। उदाहरणका लागि, भजन ३२ मा हेर्नुहोस्‌। पद १ मा यसो भनिएको छ: “त्यो धन्यको हो, जसको अपराध क्षमा भएको छ, र जसको पाप ढाकिएको छ।” पाप जत्ति नै गम्भीर भए तापनि गल्ती गर्नेले साँचो हृदयले पश्‍चात्ताप गऱ्‍यो भने नतिजा राम्रो हुनसक्छ। आफ्नो निष्कपटता देखाउने एउटा तरिका दाऊदले जस्तै आफ्नो कार्यको पूरा जिम्मेवारी लिनु हो। (२ शमूएल १२:१३) तिनले यहोवासमक्ष सफाइ दिने वा अरूलाई दोष लाउने प्रयास गरेनन्‌। पद ५ मा यसो भनिएको छ: “मैले आफ्नो पाप तपाईंमा प्रकट गरें, र मेरो अधर्म मैले लुकाएको छैनँ। मैले भनें, ‘म आफ्ना अपराध परमप्रभुको सामने स्वीकार गर्नेछु। र तपाईंले मेरो पापको अधर्म क्षमा गर्नुभयो।’ ” साँचो मनले पाप स्वीकार्दा मन हल्का हुन्छ र अन्तस्करणले पनि घोचिरहँदैन।

यहोवासित क्षमाको निम्ति बिन्ती गरेपछि दाऊदले यस्तो आग्रह गरे: “हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌। र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्‌।” (भजन ५१:१०) “शुद्ध हृदय” र ‘पुनर्जीवित आत्माको’ निम्ति बिन्ती गर्दा दाऊदलाई आफ्नो पापी झुकाउ थाह थियो भन्‍ने कुरा प्रस्ट हुन्छ र तिनलाई आफ्नो हृदय सफा गर्न अनि नयाँ थालनी गर्न परमेश्‍वरको मदतको आवश्‍यकता थियो। आफ्नो गल्तीलाई मात्र सम्झिरहनुको सट्टा तिनले परमेश्‍वरको सेवामा अघि बढ्‌ने बलियो निर्णय गरे। तिनले यस्तो प्रार्थना गरे: “हे परमप्रभु, मेरा ओठ खोलिदिनुहोस्‌। र मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ।”—भजन ५१:१५.

दाऊदको निष्कपट पश्‍चात्ताप र सेवा गर्ने तिनको अटल संकल्प देख्नुभएपछि यहोवाले के गर्नुभयो? उहाँले दाऊदलाई यस्तो हृदयस्पर्शी आश्‍वासन दिनुभयो: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” (भजन ३२:८) यहाँ हामी पश्‍चात्तापीहरूको भावना र आवश्‍यकतामाथि व्यक्‍तिगत चासो दिने यहोवाको आश्‍वासन पाउँछौं। यहोवाले दाऊदलाई थप अन्तरदृष्टि अर्थात्‌ सतहमुनि गहिरिएर हेर्ने योग्यता दिनुभयो। भविष्यमा त्यस्तै प्रलोभनहरूको सामना गर्नुपर्दा तिनले आफ्नो कार्यको नतिजा कस्तो हुनेछ भनेर बुझ्ने थिए र विवेकी भई चल्न सक्ने थिए।

दाऊदको जीवनको यो घटना गम्भीर पापमा फस्नेजति सबैको निम्ति प्रोत्साहनको स्रोत हुनसक्छ। आफ्नो पाप स्वीकारेर निष्कपटतासाथ पश्‍चात्ताप गरेर हामी आफ्नो सबैभन्दा अनमोल सम्पत्ति अर्थात्‌ यहोवा परमेश्‍वरसँगको सम्बन्ध पुनर्स्थापित गर्नसक्छौं। चुपचाप बसेर वेदना सहनु र कठोर मनको भएर विद्रोही हुनुभन्दा त केही समयको निम्ति पीडा र लाज सहनु नै धेरै बेस हो। (भजन ३२:९) त्यसो गऱ्‍यौं भने बरु, हामीले दयालु, “कृपाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर[ले]” दिनुहुने हार्दिक माफीको अनुभव गर्नसक्नेछौं।—२ कोरिन्थी १:३.

[पृष्ठ ३१-मा भएको चित्र]

उरियाहलाई मर्न पठाएर दाऊदले आफ्नो पापका नतिजाहरूबाट बच्ने आशा गरेका थिए