सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवामाथिको तपाईंको भरोसालाई बलियो बनाउनुहोस्‌

यहोवामाथिको तपाईंको भरोसालाई बलियो बनाउनुहोस्‌

यहोवामाथिको तपाईंको भरोसालाई बलियो बनाउनुहोस्‌

हत्या गर्ने षड्यन्त्र रचिंदैछ। देशका उच्च अख्तियारवालाहरू सँगै भेला भएर सरसल्लाह गरिसकेका छन्‌ र तिनीहरूले नयाँ नियम पारित गर्ने प्रस्ताव राख्ने योजना बनाउँदैछन्‌। कोहीकोही भने राज्यद्वारा प्रतिबन्धित उपासनामा भाग लिएमा मृत्युदण्डको योग्य हुने नियम बनाउन चाहन्छन्‌।

के तपाईंलाई यो कुरा कताकता सुनेजस्तो लाग्यो? नियमद्वारा अधर्म रच्ने मानिसहरूको उदाहरण इतिहासमा प्रशस्त छ। माथि उल्लिखित घटना फारसी साम्राज्यको बेला अगमवक्‍ता दानियलको समयमा भएको थियो। राजा दाराले लागू गर्ने आदेश दिएको नियममा यस्तो लेखिएको थियो: “तीस दिनभित्र हजूरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई बिन्ती–प्रार्थना गर्ने मानिस सिंहको खोरमा हालियोस्‌।”—दानियल ६:७-९.

ज्यानै खतरामा पर्दा दानियलले के गर्ने थिए? के तिनले आफ्ना परमेश्‍वर यहोवामै भरोसा गरिरहने थिए वा परमेश्‍वरको नियमसित सम्झौता गरेर राजाको उर्दीअनुसार गर्ने थिए? यस विषयमा यसो भनिएको छ: “दानियलले राजाद्वारा यो ऐनको उर्दी निकालिएको थाह पाए, तब तिनी आफ्नो घरमा गए। त्यहाँ तिनले कौसीको कोठामा झ्यालहरू यरूशलेमतिर फर्केका बनाएका थिए। त्यहाँ आफ्नो आदतअनुसार तिनी घुँड़ा टेकेर दिनमा तीनपल्ट प्रार्थना गर्थे, र आफ्ना परमेश्‍वरलाई धन्यवाद चढ़ाउँथे।” (दानियल ६:१०) त्यसपछि के भयो, त्यो त सबैलाई थाहै छ। दानियललाई सिंहको खोरमा फ्याँकियो तर यहोवाले ‘सिंहका मुखहरू थुनिदिनुभयो’ र आफ्नो वफादार सेवकको उद्धार गर्नुभयो।—हिब्रू ११:३३; दानियल ६:१६-२२.

आत्म-परीक्षणको समय

आज यहोवाका सेवकहरू वैरी संसारमा बाँचिरहेका छन्‌। तिनीहरूको शारीरिक र आध्यात्मिक हितलाई खतरामा पार्नसक्ने धेरै कुरा छन्‌। उदाहरणका लागि, कुनै कुनै देशमा जातीय घृणाले उग्र रूप लिंदा थुप्रै साक्षी मारिए। अन्य ठाउँमा यहोवाका सेवकहरूले खाद्यान्‍न अभाव, आर्थिक कठिनाइ, प्राकृतिक प्रकोप, गम्भीर बिमारी र जीवनलाई खतरामा पार्ने अन्य अवस्थाहरूको सामना गरेका छन्‌। यसको अतिरिक्‍त तिनीहरूले सतावट, जागिरमा दबाउ तथा गलत काम गर्न विभिन्‍न प्रलोभनहरूको सामना गर्नुपर्छ र यी सबैले तिनीहरूको आध्यात्मिकतालाई खतरामा पार्नसक्छ। साँच्चै, परमशत्रु शैतान, जसरी भए पनि परमेश्‍वरका जनहरूलाई नाश गर्न तल्लीन छ।—१ पत्रुस ५:८.

त्यस्ता परिस्थितिहरू आइपर्दा हामी के गर्नसक्छौं? ज्यानै जोखिममा पर्दा डर लाग्नु स्वाभाविक भए तापनि हामीले प्रेरित पावलका आश्‍वासनदायी कुरा मनमा राख्नसक्छौं: “[यहोवा] आफैले भन्‍नुभएको छ, ‘म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।’ यसकारण निर्भयसँग हामी यसो भन्‍नसक्छौं, ‘[यहोवा] मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ?’ ” (हिब्रू १३:५, ६) यहोवा आफ्ना सेवकहरूबारे आज पनि त्यस्तै सोच्नुहुन्छ भनी हामी विश्‍वस्त हुनसक्छौं। तथापि, यहोवाको प्रतिज्ञा थाह पाउनु एउटा कुरा हो भने उहाँले हाम्रो खातिर कदम चाल्नुहुनेछ भनी विश्‍वस्त हुनु अर्कै कुरा हो। अतः यहोवामाथिको हाम्रो भरोसा कुन कुरामा आधारित छ भनेर केलाउनु र यसलाई ढलपल हुन नदिन सक्दो कोसिस गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। हामीले त्यसो गऱ्‍यौं भने, “परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, [हाम्रा] हृदय र [हाम्रा] विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:७) अनि परीक्षाहरू आइपर्दा हामीले राम्ररी सोच्न सक्नेछौं र बुद्धिमानीपूर्वक त्यसको सामना गर्नसक्ने छौं।

यहोवामाथि भरोसा गर्ने आधार

हाम्रो सृष्टिकर्ता यहोवामाथि भरोसा गर्ने हामीसँग निश्‍चय पनि थुप्रै कारण छन्‌। थुप्रै कारणमध्ये पहिलो, यहोवा मायालु परमेश्‍वर हुनुहुन्छ र उहाँ आफ्ना सेवकहरूको साँच्चै ख्याल गर्नुहुन्छ। यहोवाले आफ्ना सेवकहरूको मायालु हेरचाह गर्नुभएका थुप्रै उदाहरण बाइबलमा रेकर्ड गरिएका छन्‌। यहोवाले आफ्नो चुनिएको जाति इस्राएलसँग गर्नुभएको व्यवहारबारे वर्णन गर्दै मोशाले यस्तो लेखे: “उहाँले तिनलाई निर्जन स्थानमा पाउनुभयो, औ उराठलग्दो आवाजले भरिएको उजाड़ ठाउँमा उहाँले तिनलाई चारैतिरबाट हेरचाह गर्नुभयो, उहाँले तिनलाई आफ्नो आँखाको नानी झैं रक्षा गर्नुभयो।” (व्यवस्था ३२:१०) आज पनि यहोवाले आफ्ना सेवकहरूको समूहगत र व्यक्‍तिगत दुवै तवरमा राम्रो ख्याल राख्नुभएको छ। उदाहरणका लागि, बोस्नियामा गृहयुद्धको दौडान केही साक्षीहरूले खाद्यान्‍न अभावको सामना गर्नुपर्दा क्रोएसिया र अस्ट्रियाका साहसी भाइहरूमार्फत तिनीहरूले अत्यन्तै जरुरी चीजहरू पाउन सकून्‌ भनेर यहोवाले सुनिश्‍चित गर्नुभयो। ती क्रोएसिया र अस्ट्रियाका भाइहरूले आफ्ना सँगी भाइहरूलाई राहत साम्रगीहरू पुऱ्‍याउन आफ्नो ज्यान नै जोखिममा हालेर अत्यन्तै खतरनाक इलाकाहरू हुँदो यात्रा गर्नुपरेको थियो। a

यहोवा परमेश्‍वर सर्वोच्च हुनुभएकोले उहाँ निश्‍चय आफ्ना सेवकहरूलाई जस्तोसुकै परिस्थितिमा पनि सुरक्षित राख्न सक्षम हुनुहुन्छ। (यशैया ३३:२२; प्रकाश ४:८) तर उहाँले आफ्ना कोहीकोही सेवकलाई मृत्युसम्मै विश्‍वासी रहन अनुमति दिनुहुँदासमेत उहाँले तिनीहरूलाई सँभाल्न र निष्ठा कायम राख्न मदत दिनुहुन्छ। फलतः तिनीहरू अन्तसम्मै वफादार, आनन्दित र शान्त रहनसक्छन्‌। त्यसैले, हामी पनि भजनरचयिता जस्तै विश्‍वस्त हुनसक्छौं: “परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, संकष्टमा अति सजिलैसँग पाइने सहायक। यसकारण पृथ्वीनै बद्‌लिए, र पर्वतहरू समुद्रको गर्भमा पुऱ्‍याइए भने पनि हामी डराउनेछैनौं।”—भजन ४६:१, २.

यहोवा सत्य परमेश्‍वर हुनुहुन्छ भनी बाइबलले प्रकाश पार्छ। यसको अर्थ, उहाँले आफ्ना प्रतिज्ञाहरू सधैं पूरा गर्नुहुन्छ। वास्तवमा, बाइबलले परमेश्‍वर “कहिल्यै झूट नबोल्नुहुने” परमेश्‍वर हुनुहुन्छ भनी वर्णन गर्छ। (तीतस १:२) यहोवाले आफ्ना सेवकहरूलाई बचाउने इच्छा बारम्बार व्यक्‍त गर्नुभएकोले हामी उहाँ आफ्ना प्रतिज्ञाहरू पूरा गर्न सक्षम मात्र होइन तर पूरा गर्न इच्छुक पनि हुनुहुन्छ भनी पूर्णतया विश्‍वस्त हुनसक्छौं।—अय्यूब ४२:२.

हाम्रो भरोसालाई बलियो बनाउने तरिकाहरू

यहोवामाथि भरोसा गर्ने हामीसित प्रशस्त कारण भए तापनि हामीले यसलाई हल्कासित लिनुहुँदैन। किनभने संसारले परमेश्‍वरमाथि त्यति विश्‍वास राख्दैन र त्यस्तो मनोभावले यहोवामाथिको हाम्रो विश्‍वासलाई सजिलै कमजोर बनाउनसक्छ। अतः विश्‍वासलाई बलियो बनाउन र त्यसलाई कायम राख्न हामीले कडा प्रयास गर्नु आवश्‍यक छ। यहोवा यसबारे सजग हुनुहुन्छ र उहाँले यसको निम्ति माध्यम पनि उपलब्ध गर्नुभएको छ।

प्रथमतः उहाँले हामीलाई आफ्नो लिखित वचन बाइबल दिनुभएको छ जसमा उहाँले आफ्ना सेवकहरूको खातिर गर्नुभएका अनगिन्ती शक्‍तिशाली कामहरू रेकर्ड गरिएको छ। कल्पना गर्नुहोस्‌, तपाईंलाई कुनै व्यक्‍तिको नाउँ मात्र थाह छ भने तिनीमाथि तपाईं कत्तिको भरोसा गर्न सक्नुहुन्छ? सायद, अत्यन्तै कम। तिनीमाथि भरोसा गर्न तपाईंले तिनको तौरतरिका र कामहरू थाह पाउनुपर्छ, होइन र? बाइबल विवरणहरू पढेर त्यसलाई मनन गर्दा यहोवा अनि उहाँका अद्‌भुत कार्यहरूबारे हाम्रो ज्ञान गहिरिंदै जान्छ र उहाँ कत्तिको भरोसायोग्य हुनुहुन्छ भनी हामी उहाँको मूल्यांकन गर्नेछौं। फलतः उहाँमाथिको हाम्रो भरोसा बलियो हुन्छ। भजनरचयिताले परमेश्‍वरलाई गरेको व्यग्र प्रार्थनामा यसो भनेर उत्कृष्ठ उदाहरण बसाले: “परमप्रभुका कार्यहरूको म चर्चा गर्नेछु, किनकि म तपाईंका तादिका आश्‍चर्यकामहरू सम्झनेछु। म तपाईंका सबै कामहरूमा पनि ध्यान गर्नेछु, र तपाईंका कार्यहरूमा घोरिन्छु।”—भजन ७७:११, १२.

बाइबलबाहेक यहोवाको संगठनले प्रकाशन गरेका बाइबल साहित्यहरूबाट पनि हामी प्रचुर मात्रामा आध्यात्मिक आहार पाउनसक्छौं। अन्य कुराहरूका साथसाथै यी प्रकाशनहरूमा अक्सर आधुनिक समयका परमेश्‍वरका सेवकहरूको उत्प्रेरणादायी जीवनीहरू पनि दिइएका हुन्छन्‌। अत्यन्तै कठिन परिस्थिति आइपर्दा यहोवाले कसरी तिनीहरूलाई मदत दिनुका साथै उद्धार गर्नुभयो भनी त्यसले हामीलाई बताउँछ। उदाहरणका लागि, मार्टिन पोइटजिंगर, जो पछि यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्य पनि भए, घरबाट टाढा युरोपको एउटा भागमा अग्रगामीको काम गर्दागर्दै सिकिस्त बिरामी भए। तिनीसँग एक पैसा थिएन र कोही डाक्टर पनि तिनलाई जाँच्न मानेन। तर यहोवाले तिनलाई त्याग्नुभएन। अन्ततः स्थानीय अस्पतालको वरिष्ठ डाक्टरसँग सम्पर्क भयो। बाइबलका कट्टर विश्‍वासी भएको कारण यस दयालु मानिसले भाइ पोइटजिंगरलाई आफ्नै छोरासरह निश्‍शुल्क देखभाल गरे। त्यस्ता जीवनीहरू पढ्‌दा त्यसले निश्‍चय पनि हाम्रो स्वर्गमा हुनुहुने पितामाथिको हाम्रो भरोसालाई बलियो बनाउनसक्छ।

यहोवामाथिको हाम्रो भरोसालाई बलियो बनाउन उहाँले दिनुहुने अर्को अनमोल मदत प्रार्थना गर्ने विशेषाधिकार हो। प्रेरित पावल मायालु ढंगमा हामीलाई यस्तो सल्लाह दिन्छन्‌: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌।” (फिलिप्पी ४:६) “सबै कुरामा” हाम्रो भावना, आवश्‍यकता, डर र फिक्री समावेश हुनसक्छ। हामी जति धेरै अनि मनदेखि प्रार्थना गर्छौं त्यति नै यहोवामाथिको हाम्रो भरोसा बलियो हुनेछ।

येशू ख्रीष्ट यस पृथ्वीमा हुनुहुँदा उहाँ कहिलेकाहीं एक्लै एकान्तमा प्रार्थना गर्न जानुहुन्थ्यो। (मत्ती १४:२३; मर्कूस १:३५) महत्त्वपूर्ण निर्णयहरू गर्नुअघि उहाँ पूरै रात आफ्नो पितालाई प्रार्थना गरेर बिताउनुहुन्थ्यो। (लूका ६:१२, १३) यहोवा परमेश्‍वरमाथि अत्यन्तै भरोसा राख्ने व्यक्‍तिविशेषमाथि अहिलेसम्म आइपरेको सबैभन्दा क्रूर परीक्षा पनि उहाँले सहनसक्नु भयो। शूलीमा झुन्ड्याइएपछि उहाँका अन्तिम शब्दहरू यसप्रकार थिए: “हे पिता, म मेरो आत्मा तपाईंको हातमा जिम्मा दिन्छु।” उक्‍त अभिव्यक्‍तिले यहोवाले उहाँलाई बचाउन हस्तक्षेप नगर्नुभए तापनि अन्तसम्मै पितामाथिको उहाँको भरोसा अटल थियो भनी प्रमाणित गर्छ।—लूका २३:४६.

यहोवामाथिको हाम्रो भरोसालाई बढाउँदै लैजाने अर्को तरिका पूर्ण हृदयले उहाँमाथि भरोसा गर्नेहरूसँग नियमित तवरमा संगत गर्नु हो। यहोवाले आफ्ना जनहरूलाई उहाँबारे अझ बढी सिक्न र एकअर्कालाई प्रोत्साहन दिन नियमित तवरमा भेला हुने आज्ञा दिनुभयो। (व्यवस्था ३१:१२; हिब्रू १०:२४, २५) त्यस्तो संगतिले यहोवामाथिको तिनीहरूको भरोसालाई बलियो बनाउनुका साथै विश्‍वासको निर्णायक परीक्षा आइपर्दासमेत त्यसलाई सहन मदत दिन्थ्यो। प्रचारकार्यमाथि प्रतिबन्ध लगाइएको एउटा अफ्रिकी देशमा यहोवाका साक्षीहरूले प्रहरी सुरक्षा, यात्रा गर्न आवश्‍यक कागजात, विवाहको प्रमाणपत्र, अस्पतालमा स्वास्थ्योपचार र जागिर केही पनि पाएनन्‌। त्यहाँको एउटा इलाकामा गृहयुद्ध सुरु हुँदा नजिकै मण्डलीका ३९ जना सदस्यलगायत केटाकेटीहरू चार महिनासम्म बम वर्षाबाट बच्न मरुभूमिमा पुलमुनि बसे। त्यस्तो कठिन परिस्थितिको बेला दैनिक पदको छलफल र अन्य सभाहरूले तिनीहरूलाई बल दियो। यसप्रकार तिनीहरूले आफ्नो आध्यात्मिकतालाई खतरामा नपारी त्यस्तो कठिन परीक्षा सहन सके। यस अनुभवले यहोवाका जनहरूसँग नियमित तवरमा भेला हुनु कत्तिको महत्त्वपूर्ण रहेछ भनेर छर्लंगै देखाउँछ।

अन्तमा, यहोवामाथिको हाम्रो भरोसालाई बलियो बनाउन हामी सधैं अरूलाई सुसमाचार सुनाउन तयार भएर राज्य प्रचारकार्यमा सक्रिय हुनुपर्छ। ल्युकेमिया भन्‍ने प्राणघातक रोगबाट पीडित क्यानाडाका एक जोसिलो जवान प्रकाशकको हृदयविदारक अनुभवबाट यो कुरा प्रदर्शित हुन्छ। गम्भीर बिमारीको बावजूद तिनी नियमित अग्रगामी अर्थात्‌ पूर्ण-समय सेवक हुन चाहन्थिन्‌। केही समयको लागि अलि सन्चो महसुस हुँदा तिनले एक महिना सहायक अग्रगामीको रूपमा सेवा गरिन्‌। तर त्यसपछि तिनको स्वास्थ्य बिग्रियो र केही महिनापछि तिनको मृत्यु भयो। यद्यपि, तिनी अन्तसम्मै आध्यात्मिक तवरमा बलियो रहिन्‌, यहोवामाथिको तिनको भरोसा अलिकति पनि ढलपल भएन। तिनकी आमा तिनलाई सम्झँदै यसो भन्छिन्‌: “जीवनको अन्तिम घडीसम्म पनि तिनी आफ्नोभन्दा अरूकै बढी चिन्ता गर्थिन्‌। ‘हामी प्रमोदवनमा सँगै हुनेछौं’ भनी बताउँदै अरूलाई बाइबल अध्ययन गर्न सल्लाह दिन्थिन्‌।”

यहोवामाथिको हाम्रो भरोसाको प्रमाण दिने

“जसरी शरीर आत्माविना मरेको हुन्छ, त्यस्तैगरी विश्‍वास पनि कामविना मरेको हुन्छ।” (याकूब २:२६) याकूबले यहोवामाथिको विश्‍वासबारे भनेको कुरा हाम्रो उहाँमाथिको भरोसामा पनि लागू हुनसक्छ। उहाँमाथिको हाम्रो भरोसा कामद्वारा प्रदर्शित गर्दैनौं भने उहाँमाथि हाम्रो भरोसा यति छ उत्ति छ, जेसुकै भने तापनि बेकारको हुनेछ। अब्राहाम यहोवामाथि पूर्ण भरोसा राख्थे र कुनै प्रश्‍न नगरी उहाँको आज्ञा पालन गरेर तिनले आफ्नो भरोसाको प्रमाण दिए। तिनी आफ्नो छोरा इसहाकलाई बलिदान चढाउनसमेत तयार थिए। त्यस्तो उल्लेखनीय भरोसा र आज्ञाकारिताको कारण अब्राहाम यहोवाको मित्र कहलिए।—हिब्रू ११:८-१०, १७-१९; याकूब २:२३.

यहोवामाथिको हाम्रो भरोसाको प्रमाण दिन कठिन परीक्षा नै आउनुपर्छ भन्‍ने छैन। येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “जो थोरै कुरामा विश्‍वासी हुन्छ, त्यो धेरैमा पनि विश्‍वासी हुन्छ, औ जो सानो कुरोमा अविश्‍वासी हुन्छ, त्यो धेरैमा पनि अविश्‍वासी हुन्छ।” (लूका १६:१०) सानोभन्दा सानो कुरामा पनि उहाँको आज्ञा पालन गरेर हामीले आफ्नो दैनिक गतिविधिमा यहोवामाथि भरोसा गर्न सिक्नुपर्छ। आज्ञाकारी हुँदा हुने फाइदाहरू देखेपछि स्वर्गमा हुनुहुने पितामाथिको हाम्रो भरोसा बलियो हुनेछ र कठिन परीक्षाहरू भोग्न पनि तयार हुनेछौं।

जसै संसार विपत्तिजनक अन्तको नजिक नजिक हुँदै जान्छ यहोवाका जनहरूले उत्तिनै बढी परीक्षा र खतराहरूको सामना गर्नुपर्छ। (प्रेरित १४:२२; २ तिमोथी ३:१२) यहोवामाथि अहिल्यै बलियो र पूर्ण भरोसा विकास गरेर हामी महासंकष्ट जीवितै पार गरेर वा पुनरुत्थान प्राप्त गरेर उहाँले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा बाँच्ने प्रतीक्षा गर्नसक्छौं। (२ पत्रुस ३:१३) भरोसाको कमी हुन दिएर यहोवासँगको हाम्रो अनमोल सम्बन्धलाई कहिल्यै खतरामा नपारौं। तब सिंहको खोरबाट निकालिएपछि दानियलबारे भनिएको कुरा हाम्रो विषयमा पनि भन्‍न सकिनेछ: “तिनमा कुनै किसिमको हानि भएको पाइएन, किनभने तिनले आफ्ना परमेश्‍वरमाथि भरोसा राखेका थिए।”—दानियल ६:२३.

[फुटनोट]

a थप विवरणको निम्ति नोभेम्बर १, १९९४ द वाचटावर-को पृष्ठ २३-७ हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको चित्र]

मार्टिन पोइटजिंगर जस्ता यहोवाका वफादार सेवकहरूको जीवनी पढ्‌दा हाम्रो भरोसा बलियो हुन्छ