सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्तरहरू बदलिए, विश्‍वासघातले ठाउँ पायो

स्तरहरू बदलिए, विश्‍वासघातले ठाउँ पायो

स्तरहरू बदलिए, विश्‍वासघातले ठाउँ पायो

इंग्ल्याण्डको राजा हेनरी प्रथमको पालामा (११००-११३५) एक गज भनेको “राजाको नाकको टुप्पोदेखि हात फैलाउँदा बूढी औंलाको टुप्पाको दूरी” बराबर मानिन्थ्यो। के राजा हेनरीका प्रजाहरूको लागि पनि एक गजको दूरी नाप्न यही स्तर सही थियो ? राजाको दर्शन पाएपछि मात्र यो पक्का गर्न सकिन्थ्यो।

आजकल यस्तो नापलाई एउटा तोकिएको स्तरले परिभाषित गर्छ। त्यसकारण, मिटर भनेको प्रति सेकेन्डलाई २९,९७,९२,४५८ ले भाग गर्दा जति हुन्छ, त्यो नै प्रकाशको किरणले यात्रा गर्ने दूरीको नाप हो। अझ तोकेरै भन्‍ने हो भने, यो प्रकाशको किरणको निश्‍चित तरंग-दूरी हुन्छ र विशेष प्रकारको लेजरबाट प्रवाहित हुन्छ। यस्तो स्तर निकाल्ने उपकरण छ भने, सबैले एकै प्रकारको लम्बाइको नाप पत्ता लगाउनसक्छन्‌।

तथापि, नापको स्तरमा हुने हेरफेर एकदमै न्युन भए तापनि त्यसले अन्योल सृजना गर्नसक्छ र यो स्तर जोगाउन निकै प्रयास गरिन्छ। उदाहरणका लागि, बेलाइतमा कुनै पनि वस्तुको वजन निर्धारण गर्ने स्तरलाई प्लाटिनम र इरिडियमको एक किलोग्राम बराबरको सम्मिश्रणबाट बनेको ढिक्कासित तुलना गरिन्छ। यो ढिक्का राष्ट्रिय भौतिक प्रयोगशालामा राखिएको छ। वायु प्रदूषण र हवाईजहाजहरूको आवतजावतले गर्दा दिनप्रतिदिन यस किलोग्राम तौल स्तरको वजन बढिरहेको छ। तथापि, यो धातुको ढिक्का वा बेलना फ्रान्सको सिभरस्थित नापतौल अन्तरराष्ट्रिय केन्द्रको भूमिगत सन्दुकमा तीनवटा घण्टा आकारको भाँडोमुनि राखिएको स्तरको हुबहु नक्कल हो। तर नांगो आँखाले नदेख्ने अति सूक्ष्म किसिमको प्रदूषणले गर्दा यसको वजन पनि थपघट हुने गर्छ। त्यसैकारण, अहिलेसम्म संसारका नापविद्‌हरूले अचल स्तरको आविष्कार गर्न सकेका छैनन्‌।

साधारणतया त्यस्तो सानोतिनो परिवर्तन त्यति ठूलो कुरा जस्तो लाग्दैन तर आमूल परिवर्तन भयो भने त्यसले गोलमाल सृजना गर्नसक्छ। बेलाइतकै प्रणालीअनुसार प्रयोग गरिंदै आएको नापलाई (पाउण्ड र औंन्स) बद्‌लेर मेट्रिक (किलोग्राम र ग्राम) प्रणालीअनुसार गर्दा धेरैको मनमा अविश्‍वास पैदा भयो भने यसो हुनुको जायज कारण पनि थियो। कोहीकोही ठगाहा पसलेहरूले यो नयाँ प्रणालीबारे अनभिज्ञ ग्राहकहरूलाई ठगेर नाजायज फाइदा उठाए।

परिवार तथा नैतिक स्तर

परिवार तथा नैतिक स्तरमा हुने परिवर्तन नि? यस्तो परिवर्तनको असर एकदमै हानिकारक हुनसक्छ। टुक्रिएको परिवार, छाडा यौन व्यवहार र व्याप्त बाल दुर्व्यवहारबारे हालसालैका रिपोर्टहरूले थुप्रैलाई स्तब्ध बनाएको छ अनि त्यसले हामी खस्कँदो स्तरहरूको युगमा बाँचिरहेका छौं भनी पक्का गर्छ। आमा वा बाबु मात्र भएको परिवार, समलिंगी “आमाबाबु”-ले हुर्काएको छोराछोरी र स्थानीय अधिकारीहरूले आफ्नो देखभालमा भएका केटाकेटीसित गरेको भयंकर यौन दुर्व्यवहार आदि सबै, मानिसहरूले स्वीकार्य स्तरहरू इन्कार गरेको नतिजा हो। झन्डै दुई हजार वर्षअघि बाइबलले भविष्यवाणी गरेझैं धेरैभन्दा धेरै मानिसहरू “स्वार्थी, . . . स्वाभाविक प्रेम रहितका, . . . असल नरुचाउने, . . . परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने” भएका छन्‌।—२ तिमोथी ३:१-४.

नैतिक स्तरहरूको ह्रास र भावशून्यतासाथ गरिने विश्‍वासघातको नजिकको सम्बन्ध छ। हालै, इंग्ल्याण्डको उत्तरमा पर्ने शहर हाइडमा चिकित्सा पेसाको उच्च नीतिगत्‌ स्तरमा भएको निर्लज्ज विकार उदांग पारियो। त्यहाँका बासिन्दाहरूले आफ्नो डाक्टरहरूको “आदर र भरोसा” गर्थे र आफ्ना समस्याहरू बताउने गर्थे। तर दुःखको कुरा तिनीहरूको विश्‍वासघात गरियो। कसरी? पुर्पक्षको रिपोर्टमा एक जना चिकित्सकले वास्तवमा आफ्ना कम्तीमा पनि १५ महिला बिरामीहरूलाई मारेको बताइएको थियो। पछि उक्‍त डाक्टर संलग्न भएको अन्य १३० भन्दा बढी मृतकहरूको छानबिन गर्नुपऱ्‍यो। त्यस डाक्टरले कत्तिको विश्‍वासघात गरेका थिए भन्‍ने कुरा तिनलाई अपराधी ठहऱ्‍याएर कैद सजाय दिएपछि स्पष्ट भयो। दुई जेल अधिकारीहरू जसका आमाहरूलाई पनि सोही डाक्टरले मारेको हुनसक्ने भएकोले तिनीहरूलाई त्यस कुख्यात कैदीको देखभाल गर्नु नपरोस्‌ भनेर अन्तै खटाइयो। अतः द डेलि टेलिग्राफ-मा दिइएको त्यस मुद्दाको रिपोर्टमा त्यस दोषी चिकित्सकलाई “ ‘शैतान’ डाक्टर” भन्‍ने संज्ञा दिइनु कुनै छक्कलाग्दो कुरा होइन।

जीवनका थुप्रै क्षेत्रमा भइरहेको परिवर्तनशील र खस्कँदो स्तरलाई ध्यानमा राख्दा हामी कसमाथि निश्‍चिन्त भएर भरोसा राख्नसक्छौं? तपाईं कहाँ अख्तियारवालाहरूद्वारा समर्थित अपरिवर्तनीय स्तरहरू भेट्टाउन सक्नुहुन्छ, जससित त्यसलाई कायम राखिरहने शक्‍ति छ? यसपछिको लेखले यी प्रश्‍नहरूको उत्तर दिनेछ।