सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अनाथ र विधवाहरूलाई तिनीहरूको संकष्टमा हेरचाह गर्नुहोस्‌

अनाथ र विधवाहरूलाई तिनीहरूको संकष्टमा हेरचाह गर्नुहोस्‌

अनाथ र विधवाहरूलाई तिनीहरूको संकष्टमा हेरचाह गर्नुहोस्‌

हामी निष्ठुर संसारमा बाँचिरहेका छौं भनेर सबैलाई राम्ररी थाह छ। “आखिरी दिनमा” कस्ता मानिसहरू देखा पर्नेछन्‌ भन्‍नेबारे संकेत गर्दै पावलले “डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, . . . स्वाभाविक प्रेम रहितका” हुनेछन्‌ भनी लेखे। (२ तिमोथी ३:१-३) यी शब्दहरू दुरुस्त पूरा भएका छन्‌!

चारैतिर व्याप्त नैतिक अवस्थाले गर्दा थुप्रैको मन कठोर भएको छ। मानिसहरू दिनपर दिन स्वार्थी हुँदैछन्‌ र कतिपय अवस्थामा त परिवारकै सदस्यहरूमा पनि यस्तो झुकाउ देखिएको छ।

विभिन्‍न परिस्थितिले गर्दा निराश्रय भएकाहरूमाथि यसले नराम्रो असर पारेको छ। युद्ध, प्राकृतिक प्रकोप अनि शरण खोज्ने क्रममा विस्थापित भएका विधवा र अनाथहरूको संख्या लगातार बढेको छ। (उपदेशक ३:१९) “युद्धले गर्दा १० लाखभन्दा बढी [केटाकेटीहरू] अनाथ भएका छन्‌ वा परिवारबाट बिछोडिएका छन्‌” भनी संयुक्‍त राष्ट्र बालकोषको एउटा प्रतिवेदनले बताउँछ। निकै दुःख गरी छोराछोरी हुर्काइरहेका र संघर्ष गरिरहेका एक्ला, त्यागिएका वा छुटानाम भएका थुप्रै आमाहरू त तपाईंले पनि चिन्‍नुभएको होला। केही मुलुकले भोग्नु परिरहेको आर्थिक अस्थिरताको कारण अवस्था झनै नाजुक भएको छ र यसले गर्दा थुप्रै मानिस अत्यन्तै दरिद्र जीवन बिताउन बाध्य भएका छन्‌।

यी सबलाई विचार गर्दा, यसरी संकष्टमा परेकाहरूको निम्ति के कुनै आशा छ भन्‍ने प्रश्‍न उठ्‌छ। विधवा र अनाथको दुःख कसरी कम गर्न सकिन्छ? के यो समस्या कहिल्यै समाधान होला?

बाइबलकालीन मायालु हेरचाह

विधवा र टुहुराटुहुरीको भौतिक तथा आध्यात्मिक आवश्‍यकता पूरा गर्नु परमेश्‍वरको उपासनाको महत्त्वपूर्ण भाग रहिआएको छ। फसल कटनी गर्दा होस्‌ वा फलफूल टिप्दा, इस्राएलीहरूले सबै सोरसार गरेर बटुल्नु हुँदैन थियो। “परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्ति” सिलाबाला छोड्‌नुपर्थ्यो। (व्यवस्था २४:१९-२१) मोशालाई दिइएको व्यवस्थामा यो सुस्पष्ट निर्देशन थियो: “विधवा अथवा टुहुरालाई दुःख नदेओ।” (प्रस्थान २२:२२, २३) बाइबलमा चर्चा गरिएका विधवा र टुहुराटुहुरीले अत्यन्तै गरिब मानिसहरूको प्रतिनिधित्व गर्थ्यो किनकि घरको मूली अर्थात्‌ लोग्ने र बुबाको मृत्यु वा आमाबाबु दुवैको मृत्यु हुँदा बाँकी परिवार एक्लो अनि निराश्रित हुनसक्छ। कुलपिता अय्यूबले यसो भने: “सहायताको लागि पुकारा गर्दा गरीब मानिसलाई र रक्षाहीन टुहुरा–टुहुरीलाई मैले बचाएँ।”—अय्यूब २९:१२.

मसीही मण्डलीका प्रारम्भिक दिनहरूमा आमाबाबु वा लोग्ने गुमाएको कारण दुःखकष्टको मारमा र साँच्चै खाँचोमा परेकाहरूको ख्याल राख्नु साँचो उपासनाको उल्लेखनीय पक्ष थियो। यस्तो अवस्था भोगिरहेका व्यक्‍तिहरूको हितलाई ध्यानमा राख्दै चेला याकूबले यसरी लेखे: “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह गर। आफूलाई दुनियाँबाट निष्कलंक राख्नुनै पवित्र र हाम्रा परमेश्‍वर र पिताको सामने शुद्ध धर्म हो।”—याकूब १:२७.

अनाथ र विधवाहरूबारे उल्लेख गर्नुको अतिरिक्‍त याकूबले गरिब र दरिद्रहरूप्रति पनि गहिरो चासो प्रकट गरे। (याकूब २:५, ६, १५, १६) प्रेरित पावलले पनि यस्तै चिन्ता व्यक्‍त गरे। तिनी र वार्णाबासले प्रचारकार्यको अभिभारा पाउँदा ‘गरिबमाथि सम्झना रहोस्‌’ भन्‍ने निर्देशन पनि पाएका थिए। सफा अन्तस्करणसहित पावलले “त्यही गर्न म पनि उत्सुक थिएँ” भन्‍न सके। (गलाती २:९, १०) मसीही मण्डली स्थापित भएको केही समयमै भएका यस्ता गतिविधिहरूको कारण “तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो पर्दैन थियो, . . . जस जसलाई जे जे कुराको खाँचो पर्थ्यो, सो हरेकलाई बाँड़िदिन्थे” भनियो। (प्रेरित ४:३४, ३५) हो, पुरातन इस्राएलमा टुहुराटुहुरी, विधवाहरू अनि दरिद्रहरूको ख्याल राख्ने गरिन्थ्यो, यही प्रबन्ध मसीही मण्डलीमा पनि कायमै रह्‍यो।

हुन त उपलब्ध सहयोग प्रत्येक मण्डलीको औकातअनुसार अनि सीमित थियो। फजुल खर्च गरिंदैन थियो र मदत पाउनेहरू साँच्चै खाँचोमा परेका मानिसहरू थिए। कुनै पनि मसीहीले यस प्रबन्धको अनुचित फाइदा उठाउनु हुँदैनथ्यो र कसैले मण्डलीमाथि अनावश्‍यक बोझ पनि दिनु हुँदैनथ्यो। यो १ तिमोथी ५:३-१६ मा पावलले दिएको निर्देशनमा स्पष्टै देखिन्छ। यहाँ बताएअनुसार खाँचोमा परेकाहरूका आफन्तहरू सघाउन सक्ने अवस्थामा छन्‌ भने तिनीहरूले नै त्यो जिम्मेवारी वहन गर्नुपर्थ्यो। खाँचोमा परेका विधवाहरूले पनि मदत पाउने योग्यको हुन केही खास आवश्‍यकताहरू पूरा गरेको हुनुपर्थ्यो। यी सबले खाँचोमा परेकाहरूको हेरचाह गर्न यहोवाले गर्नुभएका बुद्धिमानी प्रबन्धको प्रमाण दिन्छ। यद्यपि, कसैले यस दयालु प्रबन्धको नाजायज फाइदा नउठाऊन्‌ भनेर सन्तुलित हुनैपर्ने आश्‍यकतालाई पनि यसले औंल्याउँछ।—२ थिस्सलोनिकी ३:१०-१२.

आज अनाथ र विधवाहरूको हेरचाह गर्नु

संकष्टमा परेकाहरूको ख्याल गर्ने र तिनीहरूलाई मदत गर्ने सम्बन्धमा विगतमा परमेश्‍वरका सेवकहरूले पालन गरेको सिद्धान्त आज यहोवाका साक्षीहरूको मण्डलीमा पनि उत्तिकै लागू हुन्छ। येशूले भन्‍नुभएझैं भ्रातृप्रेम नै यी सब गर्ने प्रेरणा हो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यो भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) यदि कसैलाई केही कुराको खाँचो परेको छ अथवा प्राकृतिक प्रकोपको शिकार भएका अथवा युद्ध वा गृहयुद्धको चपेटामा परेका छन्‌ भने अन्तरराष्ट्रिय भ्रातृत्व तिनीहरूलाई आध्यात्मिक र भौतिक तवरमा मदत दिने तरिकाहरू खोज्न उत्सुक हुन्छन्‌। यस सम्बन्धमा अहिले के गरिएको छ, त्यो थाह पाउन आउनुहोस्‌ केही अनुभवहरू हेरौं।

पेद्रोलाई आफ्नी आमाबारे त्यति याद छैन किनकि तिनी डेढ वर्षको छँदा आमाको मृत्यु भएको थियो। पेद्रो पाँच वर्षको छँदा तिनको बुबाको पनि मृत्यु भयो। त्यसपछि त पेद्रो र तिनका दाइहरू टुहुरा भए। तर यहोवाका साक्षीहरूले तिनीहरूका बुबालाई भेट्‌न आइरहने भएकोले पेद्रो र तिनका दाइहरूसित पनि बाइबल अध्ययन थालियो।

पेद्रो त्यसबेलाको घटना सम्झँदै बताउँछन्‌: “लगत्तै अर्को हप्तादेखि हामी सभाहरू जान थाल्यौं। भाइहरूसित संगत गर्न थालेपछि हामीलाई देखाइएको माया हामीले महसुस गर्न थाल्यौं। मण्डली मेरोनिम्ति शरणस्थान साबित भयो किनकि भाइबहिनीहरू मानौं मेरो साक्खै आमाबाबु हुन्‌ कि जस्तो गरी मलाई माया ममता देखाउँथे।” एक मसीही प्राचीनले तिनलाई आफ्नो घरमा निम्त्याउने गरेको पनि पेद्रोलाई याद छ। त्यहाँ पेद्रो परिवारसित कुराकानी गरेर रमाइलो गर्थे। पेद्रो भन्छन्‌, “म ती दिनहरू कहिल्यै बिर्सन्‍नँ।” तिनले ११ वर्षको छँदा आफ्नो विश्‍वासबारे प्रचार गर्न थाले र १५ वर्षमा बप्तिस्मा लिए। मण्डलीमा भएकाहरूको मदत पाएर तिनका दाइहरूले पनि आध्यात्मिक तवरमा यस्तै उन्‍नति गरे।

अब डेविडलाई लिनुहोस्‌। आमाबाबु छुट्टिंदा डेविड र तिनकी जुम्ल्याहा दिदी अलपत्र परे। तिनीहरूलाई तिनका बाजेबज्यै र ठूलीआमाले हुर्काए। “अलि हुर्केपछि हामीले आफ्नो अवस्थाबारे थाह पायौं। हामीलाई असुरक्षित महसुस हुन थाल्यो, हामी दुःखी हुन थाल्यौं। हामीलाई कसैको सहारा चाहिएको थियो। मेरी ठूलीआमा यहोवाको साक्षी हुनुभयो। त्यसैकारण हामीले बाइबल सच्चाइ पायौं। भाइहरूले माया दिनुभयो र उहाँहरू हाम्रो साथी हुनुभयो। उहाँहरूलाई हामी साह्रै मन पर्थ्यो भने हामीलाई आफ्नो लक्ष्य प्राप्त गर्न र यहोवाको निम्ति काम गरिरहने प्रोत्साहन दिनुहुन्थ्यो। म लगभग दस वर्षको जति हुँदा एक जना सेवकाई सेवक क्षेत्र सेवकाईमा जान मलाई लिन आउने गर्थे। सम्मेलनहरूमा जान एक जना अर्को भाइले मेरो खर्च बेहोर्नुहुन्थ्यो। त्यसै गरी अर्को एक जना भाइले त मैले राज्यभवनमा चन्दा खसाल्न सकोस्‌ भनेर मलाई सघाउनुहुन्थ्यो।”

सत्र वर्षको उमेरमा डेविडले बप्तिस्मा लिए र पछि तिनले मेक्सिकोस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्न थाले। अहिले पनि तिनी यो कुरा मानिलिन्छन्‌: “मलाई मेरो पढाइ लेखाइमा निकै सहयोग गर्नुहुने र मदतकारी सल्लाह सुझाउ दिनुहुने थुप्रै प्राचीन हुनुहुन्थ्यो। यसप्रकार मैले असुरक्षा र एकाकीपनको भावनालाई जित्न सकें।”

मेक्सिकोमा मदत चाहिने थुप्रै विधवा भएको एउटा मण्डलीका प्राचीन, आबेल भन्छन्‌: “विधवाहरूलाई चाहिने अत्यावश्‍यक मदत त भावनात्मक समर्थन हो भन्‍ने कुरामा म पूर्णतः विश्‍वस्त छु। कहिलकाहीं तिनीहरू निराश हुन्छन्‌, एक्लो महसुस गर्छन्‌। त्यसकारण, तिनीहरूलाई आड दिनु र कुरा सुनिदिनु धेरै महत्त्वपूर्ण छ। हामी [मण्डलीका प्राचीनहरू] तिनीहरूलाई नियमित तवरमा भेट्‌न जान्छौं। समय निकालेर तिनीहरूको समस्या ध्यानसित सुन्‍नु जरुरी छ। यसो गर्दा तिनीहरूले आध्यात्मिक तवरमा सान्त्वना पाउँछन्‌।” तथापि, कहिलेकाहीं भौतिक मदत पनि आवश्‍यक पर्नसक्छ। “हामी अहिले विधवा बहिनीको निम्ति घर बनाइदिंदैछौं” भनी आबेलले केही समयअघि बताए। “हामी हप्तामा कहिले शनिबार त कहिले अन्य दिनको दिउँसोतिर उहाँको घर बनाइदिन जाने गर्छौं।”

अनाथ र विधवालाई मदत गर्ने सम्बन्धमा अर्को मण्डलीका एक जना प्राचीन आफ्नो अनुभव सुनाउँछन्‌: “मलाई लाग्छ, विधवाहरूको तुलनामा टुहुराटुहुरीलाई मसीही प्रेमको अझै खाँचो पर्छ। आमाबाबु दुवै भएका बच्चाहरू र किशोरकिशोरीको तुलनामा तिनीहरूले आफू त्यागिएको बढी महसुस गरेको मैले पाएको छु। तिनीहरूलाई प्रशस्त भ्रातृप्रेम चाहिन्छ। सभापछि तिनीहरूलाई कस्तो छ, सोध्ने गर्नु बेस हुन्छ। हाम्रो मण्डलीमा एक जना विवाहित भाइ हुनुहुन्छ र उहाँ सानैमा अनाथ हुनुभएको थियो। म सभामा सधैं तिनलाई अभिवादन गर्छु र तिनी मलाई देख्ने बित्तिकै अँगालो हाल्छन्‌। यसले साँचो भ्रातृप्रेमको बन्धनलाई बलियो पारेको छ।”

दरिद्रहरूको पुकारा सुनेर” यहोवाले ‘छुटकारा दिनुहुनेछ’

विधवा र अनाथको परिस्थितिको सामना गर्न यहोवामाथि भर पर्नु अत्यावश्‍यक छ। उहाँबारे यसो भनिएको छ: “धर्मात्माहरूलाई परमप्रभुले जोगाउनुहुन्छ। टुहुराहरूलाई र विधवाहरूलाई उहाँले सह्‍माल्नुहुन्छ।” (भजन १४६:९) यस्ता समस्याहरूको पूर्ण समाधान परमेश्‍वरको राज्यमा येशू ख्रीष्टको शासनले मात्र गर्नेछ। मसीहले गर्ने शासनबारे भविष्यसूचक वर्णन गर्दै भजनरचयिताले लेखे: “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ।”—भजन ७२:१२, १३.

वर्तमान्‌ रीतिरिवाजको अन्त नजिकिंदै जाँदा सामान्यतः मसीहीहरूले भोग्ने दबाउहरू अवश्‍य बढ्‌नेछन्‌। (मत्ती २४:९-१३) मसीहीहरूले दिनपर दिन एकअर्काप्रति झन्‌ बढी चासो देखाउनुपर्ने र “आपसमा प्रगाढ़ प्रेम” राख्नुपर्ने आवश्‍यकता छ। (१ पत्रुस ४:७-१०) मसीही पुरुषहरू र विशेष गरी प्राचीनहरूले अनाथहरूप्रति चासो र दया देखाउनु आवश्‍यक पर्छ। अनि मण्डलीका परिपक्व स्त्रीहरूले विधवाहरूलाई झन्‌ धेरै सघाउन सक्छन्‌ र तिनीहरूको निम्ति सान्त्वनाको स्रोत हुन सक्छन्‌। (तीतस २:३-५) वास्तवमा, संकष्टमा परेका जोसुकैलाई सक्रिय चासो दिएर सबैले नै सहयोग गर्नसक्छन्‌।

साँचो मसीहीहरू “भाइलाई खाँचो परेको देखेर त्यसमाथि आफ्नो दया” नदेखाउने गर्दैनन्‌। तिनीहरू चनाखो भई प्रेरित यूहन्‍नाको यो सल्लाह पालन गर्छन्‌: “हे मेरा साना केटा-केटी हो, वचन र मुखले मात्र हामी प्रेम नगरौं, तर कामले साँचो प्रेम गरौं।” (१ यूहन्‍ना ३:१७, १८) त्यसकारण, “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह” गरौं।—याकूब १:२७.

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

“वचन र मुखले मात्र हामी प्रेम नगरौं, तर कामले साँचो प्रेम गरौं।”—१ यूहन्‍ना ३:१८

[पृष्ठ १०-मा भएका चित्रहरू]

साँचो मसीहीहरू अनाथ र विधवाहरूको भौतिक, आध्यात्मिक अनि भावनात्मक तवरमा हेरचाह गर्छन्‌