सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सुनेर बिर्सने नहुनुहोस्‌

सुनेर बिर्सने नहुनुहोस्‌

सुनेर बिर्सने नहुनुहोस्‌

“वचन पालन गर्ने होओ। आफैलाई धोका दिएर सुन्‍ने मात्र होइन।”–याकूब १:२२.

१. पुरातन इस्राएलका मानिसहरूले कस्ता चमत्कारहरू साक्षात्‌ देख्ने सुअवसर पाए?

 यहोवाले पुरातन मिश्रमा गर्नुभएका चमत्कारहरू वर्णन गर्न “अविस्मरणीय” शब्द निकै उपयुक्‍त छ। दसैवटा विपत्ति साँच्चै विस्मयकारी थिए। यी विपत्तिपछि लाल समुद्रलाई दुई फ्याक पारेर इस्राएलीहरूलाई अचम्मलाग्दो तरिकामा छुटकारा दिइएको थियो। (व्यवस्था ३४:१०-१२) तपाईंले ती घटनाहरू साक्षात्‌ देख्नुभएको भए, सायद तपाईं ती घटनाहरू गराउनुहुनेलाई कहिल्यै बिर्सनुहुने थिएन। यद्यपि, भजनरचयिताले यसप्रकार गाए: “[इस्राएलीहरूले] आफ्ना उद्धारकर्त्ता परमेश्‍वरलाई बिर्से। जसले मिश्र देशमा महान्‌ कार्यहरू गर्नुभएको थियो। उहाँले हामको देशमा आश्‍चर्यकामहरू र लाल समुद्रको किनारमा भयंकर कामहरू गर्नुभएको थियो।”—भजन १०६:२१, २२.

२. परमेश्‍वरले गर्नुभएका शक्‍तिशाली कामहरूप्रति इस्राएलीहरूको मूल्यांकन धेरै समयसम्म टिकेन भनेर कुन घटनाहरूले देखाउँछ?

लाल समुद्र पार गरिसकेपछि इस्राएलीहरूले “परमप्रभुको भय माने। औ मानिसहरूले परमप्रभु . . . माथि विश्‍वास गरे।” (प्रस्थान १४:३१) इस्राएली पुरुषहरूले मोशासँगसँगै यहोवाको निम्ति विजयीगान गाए भने मरियम र अन्य स्त्रीहरूचाहिं खैंजडी बजाउँदै नाच्न थाले। (प्रस्थान १५:१, २०) हो, यहोवाले गर्नुभएका शक्‍तिशाली कामहरू देखेर उहाँका जनहरू प्रभावित भए। तर यी कामहरू गर्नुहुनेप्रति तिनीहरूको मूल्यांकन धेरै समयसम्म टिकेन। केही समयभित्रै तिनीहरूमध्ये थुप्रैले मानौं, बिर्सने रोग लागेकोले हो कि जस्तो भान पर्ने काम गरे। तिनीहरूले यहोवाको विरुद्धमा गनगन गर्न र फतफताउन थाले। कोहीकोही त मूर्तिपूजा र यौन अनैतिकतामा समेत लागे।—गन्ती १४:२७; २५:१-९.

हामीलाई केले बिर्सने बनाउन सक्छ ?

३. हाम्रो असिद्ध प्रकृतिका कारण हामी के बिर्सन सक्छौं?

इस्राएलीहरूसित मूल्यांकनको कमी हुनु साँच्चै बुझ्न नसकिने कुरा हो। त्यही हाल हाम्रो पनि हुन सक्छ। हो, हामीले परमेश्‍वरले गर्नुभएका चमत्कारहरू साक्षात्‌ देखेका छैनौं। तर परमेश्‍वरसितको हाम्रो सम्बन्धले गर्दा अनुभव गर्न पाएका अविस्मरणीय क्षणहरू पक्कै थुप्रै हुनुपर्छ। हामीमध्ये कसैकसैलाई आफूले बाइबल सच्चाइ स्वीकारेको समय याद आउला। हामीलाई रमाइलो लाग्ने अन्य अवसरहरूमा यहोवालाई आफ्नो जीवन समर्पण गर्दा गरेको प्रार्थना र साँचो मसीहीको रूपमा लिएको पानीको बप्तिस्मा आदि पर्न सक्छन्‌। हामीमध्ये थुप्रैले जीवनका अरू थुप्रै मोडमा यहोवाले गर्नुभएको मदत महसुस गरेका छौं। (भजन ११८:१५) अझ सबैभन्दा ठूलो कुरा त, परमेश्‍वरको आफ्नै पुत्र येशू ख्रीष्टको बलिदानरूपी मृत्युबाट हामीले मुक्‍तिको आशा पाएका छौं। (यूहन्‍ना ३:१६) तथापि, हाम्रो असिद्ध प्रकृतिको कारण जब हामी गलत इच्छाहरू र जीवनका फिक्रीहरू सामना गर्छौं तब हामी सायद यहोवाले हाम्रोनिम्ति गर्नुभएका असल कुराहरू सजिलै बिर्सन्छौं होला।

४, ५. (क) सुनेर बिर्सने व्यक्‍तिहरू हुनुको खतराबारे याकूब कसरी सतर्क गराउँछन्‌? (ख) मानिस र ऐनाबारे याकूबले दिएको उदाहरणलाई हामी कसरी प्रयोगमा ल्याउन सक्छौं?

सँगी मसीहीहरूलाई चिठी लेख्दा येशूका सौतेनी भाइ याकूबले सुनेर बिर्सने व्यक्‍तिहरू हुनुको खतराबारे सतर्क गराए। तिनले यस्तो लेखे: “वचन पालन गर्ने होओ। आफैलाई धोका दिएर सुन्‍ने मात्र होइन। किनभने यदि कसैले वचन सुनेर त्यसबमोजिम गरेन भनेता त्यो आफ्नो स्वाभाविक मुख ऐनामा हेर्ने मानिस जस्तो मात्र हुनेछ। किनकि त्यसले आफूले आफूलाई देख्तछ र आफ्नो बाटो लाग्छ, तर कस्तो किसिमको मानिस थिएँ भनी तुरुन्तै बिर्सिहाल्छ।” (याकूब १:२२-२४) याकूबले के भन्‍न खोजिरहेका थिए?

बिहान उठेपछि हामी अक्सर ऐनामा आफ्नो अनुहार, कपाल आदि ठीक छन्‌ कि छैनन्‌, हेर्छौं। तर अन्य कामकुरामा व्यस्त हुन थालेपछि हाम्रो ध्यान पनि त्यतैतिर खिचिन्छ। फलतः ऐनामा के देखेका थियौं, त्यसबारे सोच्न छोडिसकेका हुन्छौं। आध्यात्मिक अर्थमा पनि यस्तै हुन सक्छ। परमेश्‍वरको वचनमा हेर्दा यहोवाले हामीबाट आशा गर्नुहुने कुराहरू र हामी आफू कस्ता छौं, प्रत्यक्ष रूपमा देख्छौं। यसले हामीलाई हाम्रो व्यक्‍तित्वमा काँटछाँट गर्न उत्प्रेरित गर्नुपर्ने हो। तर दैनिक कामकुरामा व्यस्त हुन थालेपछि र हाम्रा समस्याहरूसित जुझ्न थालेपछि हामी सजिलै आध्यात्मिक कुराहरूबारे सोच्न छोडिसकेका हुनेछौं। (मत्ती ५:३; लूका २१:३४) यसो गऱ्‍यौं भने, यो यहोवाले हाम्रोनिम्ति गर्नुभएका सबै मायालु कामकुरा बिर्सेसरह हुन्छ। यसो भयो भने हामी सजिलै पापी झुकाउहरूको वशमा पर्छौं।

६. कुन धर्मशास्त्रीय कुरा विचार गऱ्‍यौं भने यहोवाको वचन नबिर्सनेहरू हुन मदत पाउन सक्छौं?

कोरिन्थीहरूलाई प्रेरणाद्वारा लेखेको आफ्नो पहिलो पत्रमा, प्रेरित पावलले उजाडस्थानमा आफूले सुनेका कुरा बिर्सने इस्राएलीहरूलाई औंल्याए। प्रथम शताब्दीका मसीहीहरूले पावलका शब्दहरूबाट फाइदा उठाएजस्तै हामीले पनि तिनका शब्दहरूलाई पुनरावलोकन गर्दा यहोवाको वचन नबिर्सनेहरू हुने मदत पाउन सक्छौं। त्यसकारण आउनुहोस्‌, हामी १ कोरिन्थी १०:१-१२ माथि विचार गरौं।

सांसारिक इच्छाहरूलाई इन्कार गर्नुहोस्‌

७. इस्राएलीहरूले यहोवाले तिनीहरूलाई माया गर्नुहुन्छ भन्‍ने कस्तो अकाट्य प्रमाण पाइसकेका थिए?

इस्राएलीहरूको सम्बन्धमा पावलले भनेको कुरा मसीहीहरूका लागि चेताउनी भएको छ। जस्तै कि, पावल लेख्छन्‌: “ए भाइ हो, हाम्रा पिता-पुर्खाहरू सबै बादलमनि थिए, र सबै समुद्र पार गरेर तरे भन्‍ने कुरामा तिमीहरू अजान रहो भन्‍ने मेरो इच्छा छैन। सबैले बादल र समुद्रमा मोशाको बप्तिस्मा लिए।” (१ कोरिन्थी १०:१-४) मोशाको समयमा इस्राएलका मानिसहरूले परमेश्‍वरको शक्‍तिको ठूलो प्रदर्शन देखेका थिए। उदाहरणका लागि, दिनमा चमत्कारपूर्ण बादलको खामोले तिनीहरूलाई डोऱ्‍याएको र त्यसैले तिनीहरूलाई लाल समुद्र पार गर्न मदत गरेको इत्यादि। (प्रस्थान १३:२१; १४:२१, २२) हो, ती इस्राएलीहरूले यहोवाले तिनीहरूलाई माया गर्नुहुन्छ भन्‍ने कुराको अकाट्य प्रमाण पाए।

८. इस्राएलीहरू आध्यात्मिक तवरमा सुनेर बिर्सनेहरू हुँदा परिणाम कस्तो भयो?

“तापनि,” पावल यसो भन्छन्‌, “तिनीहरूमध्ये धेरैसँग परमेश्‍वर प्रसन्‍न हुनुभएको थिएन, किनकि तिनीहरू वनमा परास्त भए।” (१ कोरिन्थी १०:५) कस्तो दुःखलाग्दो कुरा! मिश्र छोड्‌ने अधिकांश इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न अयोग्य भए। तिनीहरूसित विश्‍वास नभएकोले परमेश्‍वरले तिनीहरूलाई अनुमोदन दिन छाड्‌नुभयो र तिनीहरू उजाडस्थानमै मरे। (हिब्रू ३:१६-१९) यसबाट हामी के शिक्षा सिक्न सक्छौं? पावल भन्छन्‌: “तिनीहरूले लालसा गरेझैं हामीले खराब कुराको लालसा गर्नुहुन्‍न भन्‍ने मनसायले यी कुरा हाम्रा निम्ति उदाहरण भएका हुन्‌।”—१ कोरिन्थी १०:६.

९. आफ्ना जनहरूका लागि यहोवाले कसरी प्रबन्ध मिलाउनुभएको थियो र इस्राएलीहरूले कस्तो प्रतिक्रिया देखाए?

उजाडस्थानमा छँदा इस्राएलीहरूले आध्यात्मिक कामकुरामा मन लगाउने थुप्रै कारण पाएका थिए। तिनीहरूले यहोवासित करार बाँधेका थिए र तिनीहरू उहाँमा समर्पित जाति भएका थिए। यसबाहेक, तिनीहरूका लागि पूजाहारीगिरी, उपासनाको केन्द्रको रूपमा बासस्थान र यहोवाको निम्ति बलि चढाउने प्रबन्ध पनि मिलाइएको थियो। यी आध्यात्मिक उपहारहरू पाएर रमाउनुको साटो तिनीहरू परमेश्‍वरले गर्नुभएका भौतिक प्रबन्धहरूसित असन्तुष्ट भए।—गन्ती ११:४-६.

१०. हामीले किन सधैं परमेश्‍वरलाई सम्झिरहनुपर्छ?

१० आज परमेश्‍वरका जनहरू उजाडस्थानका ती इस्राएलीहरूजस्ता छैनन्‌। त्यसैले, तिनीहरू परमेश्‍वरको अनुमोदनको आनन्द उठाउँछन्‌। तैपनि, व्यक्‍तिगत तवरमा हामी सबैले परमेश्‍वरलाई सम्झिरहनु अत्यावश्‍यक छ। यसो गर्दा हाम्रो आध्यात्मिक दृष्टिलाई धमिल्याउन सक्ने स्वार्थी लालसाहरूलाई इन्कार गर्न मदत मिल्नेछ। “नास्तिकपना र संसारको तृष्णालाई इन्कार गरेर हामीले यस वर्त्तमान युगमा आत्मसंयम, धार्मिक र भक्‍तिको जीवनमा रह[ने]” संकल्प गर्नैपर्छ। (तीतस २:१२) शैशवकालदेखि मसीही मण्डलीसित संगत गर्नेहरूले जीवनका थुप्रै आनन्द उठाउनै पाइएन भन्‍ने सोचाइ कहिल्यै राख्नु हुँदैन। कथंकदाचित्‌ यस्तो विचार हाम्रो मनमा आयो भने, यहोवालाई र उहाँले हाम्रो निम्ति तयार पार्नुभएका आशिष्‌हरूलाई सम्झ्यौं भने बेस हुन्छ।—हिब्रू १२:२, ३.

यहोवाको मात्र उपासना गर्ने

११, १२. साँच्चै नै मूर्तिपूजा नगरीकन पनि कुनै व्यक्‍ति कसरी मूर्तिपूजक हुन सक्छ?

११ पावल निम्न शब्दहरूद्वारा हामीलाई अर्को चेताउनी पनि दिन्छन्‌: “तिनीहरूमध्ये कोही कोही भएझैं तिमीहरू मूर्तिपूजक नहोओ, जसरी लेखिएको छ, ‘मानिसहरू खान र पिउनालाई बसे, अनि लीला गर्न उठे।’ ” (१ कोरिन्थी १०:७) यहाँ पावलले, इस्राएलीहरू हारूनलाई मनाएर सुनको बाछा बनाउन सफल भएको घटनाबारे संकेत गरिरहेका छन्‌। (प्रस्थान ३२:१-४) हामी पूर्णतया मूर्तिपूजामा त नलागौंला तर पूरा प्राणले यहोवाको उपासना गर्नदेखि तर्काउनसक्ने आफ्ना स्वार्थी इच्छाहरूको वशमा पऱ्‍यौं भने हामी मूर्तिपूजक हुनसक्छौं।—कलस्सी ३:५.

१२ अर्को ठाउँमा पावलले आध्यात्मिक कुराहरूमा भन्दा पनि विशेष गरी भौतिक कुराहरूमा बढी चासो राख्ने केही व्यक्‍तिहरूबारे लेखे। “ख्रीष्टको क्रूसका शत्रुहरू[बारे]” तिनले लेखे: “जसको अन्त विनाशै हो, जसको ईश्‍वर पेटै हो।” (फिलिप्पी ३:१८, १९) तिनीहरूले खोपेर बनाएको मूर्तिको पूजा गरिरहेका थिएनन्‌। तिनीहरूको मूर्तिपूजा त भौतिक साधनहरूको लालसा थियो। हुन त सबै किसिमका इच्छाहरू गलत हुँदैनन्‌। यहोवाले हामीलाई मानव आवश्‍यकतासहित र विभिन्‍न कुराहरूको आनन्द उठाउनसक्ने क्षमतासहित सृष्टि गर्नुभएको थियो। तर परमेश्‍वरसितको सम्बन्धलाई भन्दा बढी रमझमलाई प्राथमिकता दिनेहरू वास्तवमा मूर्तिपूजकहरू हुन्‌।—२ तिमोथी ३:१-५.

१३. सुनको बाछाको विवरणबाट हामी के पाठ सिक्न सक्छौं?

१३ मिश्र छाडिसकेपछि इस्राएलीहरूले सुनको बाछा बनाएर उपासना गरे। मूर्तिपूजामा नलाग्नू भन्‍ने चेताउनीको अलावा यस घटनामा अर्को महत्त्वपूर्ण शिक्षा पनि पाइन्छ। इस्राएलीहरूले परमेश्‍वरको सुस्पष्ट निर्देशन मान्‍न इन्कार गरे। (प्रस्थान २०:४-६) यद्यपि, यहोवालाई आफ्नो परमेश्‍वर मान्‍न इन्कार गर्ने तिनीहरूको विचार थिएन। तिनीहरूले बाछाको मूर्तिलाई बलि चढाए र त्यस अवसरलाई “परमप्रभुको निम्ति एउटा चाड़” भने। यहोवाले तिनीहरूको अनाज्ञाकारीतालाई बेवास्ता गर्नुहुन्छ भन्ठान्दै तिनीहरूले आफैलाई धोका दिए। यो यहोवाको निम्ति ठूलो अपमान थियो र उहाँ असाध्यै रिसाउनुभयो।—प्रस्थान ३२:५, ७-१०; भजन १०६:१९, २०.

१४, १५. (क) इस्राएलीहरूसित सुनेर बिर्सनेहरू हुने किन कुनै कारणै थिएन? (ख) सुनेर नबिर्सनेहरू हुने पक्का निर्णय गरेका छौं भने यहोवाले दिनुभएका आज्ञाहरूलाई हामीले के गर्नुपर्ने हो?

१४ यहोवाका साक्षीहरू झूटो धर्ममा लाग्नु अत्यन्तै अनौठो कुरा हुनेछ। तर कसैकसैले मण्डलीमै रहेर यहोवाको निर्देशनलाई अरू नै तरिकामा तिरस्कार गरिरहेको हुन सक्छ। सुनेर बिर्सनहरू हुने इस्राएलीहरूसित कुनै किसिमको बहाना थिएन। तिनीहरूले दस आज्ञा सुनेका थिए र मोशाले तिनीहरूलाई परमेश्‍वरको आज्ञा सुनाउँदा तिनीहरू त्यहाँ उपस्थित थिए: “म सँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। चाँदीका देवताहरू, सुनका देवताहरू आफ्नो निम्ति तिमीहरूले नबनाउनू।” (प्रस्थान २०:१८, १९, २२, २३) तैपनि, इस्राएलीहरूले सुनको बाछाको पूजा गरे।

१५ हामीसित पनि सुनेर बिर्सनेहरू हुने कुनै कारणै छैन। धर्मशास्त्रमा जीवनका थुप्रै पक्षबारे परमेश्‍वरले दिनुभएको निर्देशन हामीसित छ। उदाहरणका लागि, यहोवाको वचनले सापटी लिने तर पछि नफर्काउने बानीको प्रस्टै भर्त्सना गरेको छ। (भजन ३७:२१) छोराछोरीलाई आमाबाबुको आज्ञा पालन गर्न अह्राइएको छ र बुबाहरूले आफ्ना छोराछोरीलाई ‘यहोवाको शिक्षा’ सिकाउँदै हुर्काउनुपर्छ। (एफिसी ६:१-४) अविवाहित मसीहीहरूलाई “प्रभुमा मात्र” बिहे गर्ने निर्देशन दिइएको छ भने परमेश्‍वरका विवाहित सेवकहरूलाई यसो भनिएको छ: “सबै विवाह चाहिं आदरणीय होस्‌, ओछ्यान नबिटुलिओस्‌, किनकि व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्‍वरले इन्साफ गर्नुहुनेछ।” (१ कोरिन्थी ७:३९; हिब्रू १३:४) यदि हामीले सुनेर नबिर्सनेहरू हुने निर्णय गरेका छौं भने हामी यीलगायत अन्य निर्देशनहरूलाई गम्भीरतासाथ लिनेछौं।

१६. सुनको बाछाको उपासना गर्दा नतिजा के भयो?

१६ इस्राएलीहरूले आफूखुसी गरेको उपासना यहोवाले ग्रहण गर्नुभएन। बरु, सुनको बाछाको उपासना गरेर विद्रोह गर्ने मुख्य मुख्य ३,००० जना इस्राएली नाश भए। गल्ती गर्ने अन्य व्यक्‍तिहरूले चाहिं यहोवाले ल्याउनुभएको विपत्ति भोगे। (प्रस्थान ३२:२८, ३५) परमेश्‍वरको वचन पढ्‌न त पढ्‌ने तर आफूलाई मन लागेअनुसार पालन गर्नेहरूका लागि कस्तो सशक्‍त पाठ!

“व्यभिचारदेखि अलग रहो”

१७. पहिलो कोरिन्थी १०:८ ले कुन घटनालाई संकेत गरिरहेको थियो?

१७ आध्यात्मिक तवरमा बिर्सने व्यक्‍ति बनाउन सक्ने शारीरिक लालसाहरूमध्ये एउटाको विषयमा पावल यसो भन्छन्‌: “हामी व्यभिचार नगरौं, जसरी तिनीहरूमध्ये कुनै कुनैले व्यभिचार गरेथे, र एकै दिनमा तेइस हजार मरेथे।” (१ कोरिन्थी १०:८) यहाँ पावलले ४० वर्षसम्म उजाडस्थानमा भौंतारिसकेपछि अन्तमा मोआबको बेंसीमा पुगेपछि भएको घटनालाई संकेत गर्दै छन्‌। हालै यहोवाको मदतद्वारा इस्राएलीहरूले यर्दनको पूर्वतिरका इलाकाहरू जितेका थिए। तर थुप्रैले त्यसलाई बिर्से र त्यसको मूल्यांकन गरेनन्‌। प्रतिज्ञा गरिएको देशको सिमानामा तिनीहरू यौन अनैतिकतामा फसे र पोरको बालको अशुद्ध उपासना गर्न बहकिए। त्यतिखेर करिब २४,००० नाश भए र यिनीहरूमध्ये १,००० जति गलत काम गर्न सुऱ्‍याउने नाइकेहरू थिए।—गन्ती २५:९.

१८. कस्तो प्रकारको आचरणले यौन अनैतिकतातर्फ धकेल्छ?

१८ आज यहोवाका जनहरू तिनीहरूको उच्च नैतिकताका कारण चिरपरिचित छन्‌। तर यौन अनैतिकतामा फस्न लोभिंदा केही मसीहीहरूले परमेश्‍वर र उहाँका स्तरहरूबारे सोच्न छोडिदिएका छन्‌। तिनीहरू सुनेर बिर्सनेहरू भएका छन्‌। सुरुमा, व्यभिचारै गर्ने लालसा त जागेको थिएन होला। खाली अश्‍लील साहित्य वा चलचित्र हेर्न सकसक लागेको, विपरीत लिंगको व्यक्‍तिसित अनुचित ठट्टा गरेको वा मन पराएको जस्तो गरी व्यवहार गर्ने गरेको अथवा नैतिक तवरमा कमजोर व्यक्‍तिसित घनिष्ठ हुन खोजेको मात्र हुन सक्छ। यी सबले मसीहीहरूलाई पापकर्मतिर धकेलेको छ।—१ कोरिन्थी १५:३३; याकूब ४:४.

१९. ‘व्यभिचारदेखि अलग रहन’ कुन धर्मशास्त्रीय सल्लाहले हामीलाई मदत गर्छ?

१९ अनैतिक आचरणमा फस्ने इच्छा जाग्यो भने हामीले यहोवाबारे सोच्न पटक्कै बन्द गर्नुहुँदैन। बरु, हामीले उहाँको वचनमा पाइने सम्झौटाहरू पालन गर्नैपर्छ। (भजन ११९:१, २) मसीहीको हैसियतमा हामीमध्ये प्रायजसो सबै नैतिक तवरमा सफा रहन सकभर प्रयास गर्छौं तर यहोवाको नजरमा जे ठीक छ, त्यसै गर्न निरन्तर प्रयास गर्नुपर्ने हुन्छ। (१ कोरिन्थी ९:२७) रोमका मसीहीहरूलाई पावलले यस्तो लेखे: “तिमीहरूको आज्ञाकारिताको विषयको खबर सबै मानिसमा फैलिएको छ। यसकारण म तिमीहरूको विषयमा आनन्द गर्दछु। तर म चाहन्छु, कि तिमीहरू भलाइको निम्ति बुद्धिमान र खराबीको निम्ति निर्दोष रहो।” (रोमी १६:१९) चौबीस हजार इस्राएलीहरू तिनीहरूका पापले गर्दा मारिएझैं, व्यभिचारी र अन्य गलत काम गर्नेहरूले अब चाँडै यहोवाको प्रतिकूल न्याय भोग्नेछन्‌। (एफिसी ५:३-६) त्यसकारण, सुनेर बिर्सने हुनुको साटो ‘व्यभिचारदेखि अलग रहने’ निरन्तर प्रयास गरौं।—१ कोरिन्थी ६:१८.

यहोवाले गर्नुभएको प्रबन्धको सधैं मूल्यांकन गर्नुहोस्‌

२०. इस्राएलीहरूले कसरी यहोवाको परीक्षा गरे र नतिजा के भयो?

२० अधिकांश मसीहीहरू यौन अनैतिकताको पासोमा पर्दैनन्‌। यद्यपि, लगातार गनगन गरेर अन्तमा ईश्‍वरीय अनुमोदन नै गुमाउनदेखि हामी होसियार हुनु आवश्‍यक छ। पावल हामीलाई यस्तो सल्लाह दिन्छन्‌: “हामी प्रभुको परीक्षा नगरौं, जसरी [इस्राएलीहरूमध्ये] कुनै कुनैले गरेथे, र सर्पहरूबाट नष्ट भएथे तिमीहरू गनगन नगर, जसरी तिनीहरूमध्ये कुनै कुनैले गनगन गरेथे, र नष्ट पार्नेबाट नष्ट भएथे।” (१ कोरिन्थी १०:९, १०) इस्राएलीहरूले मोशा र हारून—हो, परमेश्‍वरकै विरुद्धमा अर्थात्‌ चमत्कारी ढंगमा प्रबन्ध गरिएको मन्‍नलाई लिएर तिनीहरूले गनगन गरे। (गन्ती १६:४१; २१:५) तिनीहरूले यसरी गनगन गर्दा के यहोवा तिनीहरूले व्यभिचार गर्दाभन्दा कम रिसाउनुभयो? ती गनगनेहरू सर्पद्वारा नाश भए भनी बाइबल विवरण बताउँछ। (गन्ती २१:६) यसै गरी गनगन गर्ने १४,७०० भन्दा बढी विद्रोहीहरू पहिले पनि नाश भइसकेका थिए। (गन्ती १६:४९) त्यसकारण, यहोवाले गर्नुभएका प्रबन्धहरूको अनादर गर्दै उहाँको धीरजको जाँच कहिल्यै नगरौं।

२१. (क) पावल कस्तो सल्लाह दिन उत्प्रेरित भए? (ख) याकूब १:२५ अनुसार हामी कसरी साँच्चै आनन्दित हुन सक्छौं?

२१ सँगी मसीहीहरूलाई लेखेको पत्रमा, पावल चेताउनीहरूको सूचीलाई यस उपदेशसहित टुंग्याउछन्‌: “यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे, र हाम्रो चेताउनीको निम्ति लेखिएका हुन्‌, जसमाथि पुस्ताहरूको अन्त हुनलागेको छ। यसकारण म खड़ा छु भन्‍ने जसले विचार गर्दछ, त्यो होशियार रहोस, नत्रता त्यो लड़छ।” (१ कोरिन्थी १०:११, १२) इस्राएलीहरूले जस्तै हामीले पनि यहोवाबाट थुप्रै आशिष्‌ पाएका छौं। तथापि, हामी इस्राएलीहरूजस्तो नहोऔं। यहोवाले हाम्रोनिम्ति गर्नुभएका असल कामहरू कहिल्यै नबिर्सौं र त्यसको मूल्यांकन गर्न नछोडौं। जीवनका फिक्रीहरूले हामीलाई निरुत्साहित पार्दा उहाँको वचनमा पाइने प्रोत्साहनजनक प्रतिज्ञाहरूलाई सम्झिरहौं। यहोवासितको हाम्रो अनमोल सम्बन्धलाई हामी सम्झौं र हामीलाई सुम्पिएको राज्य प्रचारकार्यमा निरन्तर लागिरहौं। (मत्ती २४:१४; २८:१९, २०) यसले पक्कै पनि हामीलाई साँचो आनन्द दिन्छ। किनकि धर्मशास्त्र यस्तो प्रतिज्ञा गर्छ: “जसले स्वतंत्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ, र सुनेर नबिर्सने भई काम गर्नेसमेत भएर त्यसैमा लागिरहन्छ, त्यही मानिसले उसको काममा श्‍याबासी पाउनेछ।”—याकूब १:२५.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• हामीलाई केले सुनेर बिर्सनहरू बनाउन सक्छ?

• परमेश्‍वरको मात्र उपासना गर्नु किन अत्यावश्‍यक छ?

• हामी कसरी ‘व्यभिचारदेखि अलग रहन सक्छौं?’

• यहोवाले गर्नुभएका प्रबन्धहरूप्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

इस्राएलीहरूले यहोवाले तिनीहरूका खातिर गर्नुभएका शक्‍तिशाली कामहरू बिर्से

[पृष्ठ १६-मा भएको चित्र]

यहोवाका जनहरू उच्च नैतिक स्तर कायम राख्न चाहन्छन्‌