सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अरूलाई दिंदा प्राप्त हुने आनन्दमा भाग लिनुहोस्‌!

अरूलाई दिंदा प्राप्त हुने आनन्दमा भाग लिनुहोस्‌!

अरूलाई दिंदा प्राप्त हुने आनन्दमा भाग लिनुहोस्‌!

“लिनुभन्दा दिनु अझ असल हो।”–प्रेरित २०:३५.

१. अरूलाई दिंदा प्राप्त हुने आनन्द यहोवा कसरी प्रदर्शित गर्नुहुन्छ?

 सत्य थाह पाउनु र सत्य थाह पाएपछि आशिष्‌ पाउनु परमेश्‍वरले दिनुभएको अनमोल वरदान हो। यहोवालाई चिन्‍न थालेका मानिसहरूसँग आनन्दित हुने थुप्रै कारण छन्‌। तर उपहार प्राप्त गर्दा जति आनन्द लाग्छ त्यति नै उपहार दिंदा पनि आनन्द महसुस हुन्छ। यहोवा “हरेक असल दान र हरेक उत्तम वरदान[को]” दाता हुनुहुन्छ र उहाँ “आनन्दित परमेश्‍वर” हुनुहुन्छ। (याकूब १:१७; १ तिमोथी १:११, NW) उहाँको कुरा सुन्‍ने सबैलाई उहाँ लाभदायी शिक्षा दिनुहुन्छ र छोराछोरीले आफ्नो मायालु निर्देशन पालन गर्दा आमाबाबु आनन्दित भएझैं उहाँ पनि आफूले सिकाएकाहरूको आज्ञाकारिता देखेर आनन्दित हुनुहुन्छ।—हितोपदेश २७:११.

२. (क) अरूलाई दिने सन्दर्भमा येशूले के भन्‍नुभयो? (ख) अरूलाई बाइबल सत्य सिकाउँदा हामीले कस्तो आनन्द प्राप्त गर्छौं?

त्यसै गरी, येशू पृथ्वीमा हुनुहुँदा मानिसहरूले उहाँको शिक्षाप्रति सकारात्मक प्रतिक्रिया देखाएको देखेर उहाँ खुसी हुनुभयो। प्रेरित पावलले येशूको भनाइ यसरी उद्धृत गरे: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) अरूलाई बाइबल सत्य सिकाउँदा हामीले प्राप्त गर्ने आनन्द, कोही मानिस हाम्रो धार्मिक विश्‍वाससँग सहमत हुँदा प्राप्त हुने सन्तुष्टिमा मात्र सीमित छैन। त्यति मात्र कहाँ हो र, हामीले अरूलाई साँचो र अनन्त मूल्यको केही कुरा दिनसक्छौं भनी थाह पाउँदा आनन्दित हुन्छौं। आध्यात्मिक महत्त्व भएको केही कुरा दिएर, हामीले मानिसहरूलाई अहिले र सदाको लागि लाभ हुने कुरा हासिल गर्न मदत गरिरहेका हुनेछौं।—१ तिमोथी ४:८.

दिंदा आनन्द प्राप्त हुन्छ

३. (क) प्रेरित पावल र यूहन्‍नाले अरूलाई आध्यात्मिक तवरमा मदत गर्दा महसुस गरेको आनन्द कसरी व्यक्‍त गरे? (ख) आफ्ना छोराछोरीलाई बाइबल सत्य सिकाउनु किन प्रेमको अभिव्यक्‍ति हो?

हो, जसरी यहोवा अनि येशू आध्यात्मिक वरदानहरू दिंदा आनन्दित हुनुहुन्छ त्यसरी नै मसीहीहरूले पनि आनन्द महसुस गर्छन्‌। आफूले अरूलाई परमेश्‍वरको वचनको सत्य कुरा सिक्न मदत गरेको कुरा थाह पाउँदा प्रेरित पावल आनन्दित भए। थिस्सलोनिकीका मण्डलीलाई तिनले यस्तो लेखे: “हाम्रो आशा, वा आनन्द, अथवा घमण्डको मुकुट के हो? हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा तिमीहरूनै होइनौ र? किनकि हाम्रो घमण्ड र आनन्द तिमीहरूनै हौ।” (१ थिस्सलोनिकी २:१९, २०) त्यस्तै गरी प्रेरित यूहन्‍नाले आफ्ना आध्यात्मिक छोराछोरीलाई संकेत गर्दै यस्तो लेखे: “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्‍नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।” (३ यूहन्‍ना ४) हाम्रो आफ्नै छोराछोरीलाई आध्यात्मिक छोराछोरी हुन मदत गर्दा महसुस हुने आनन्दबारे पनि विचार गर्नुहोस्‌! छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्नु आमाबाबुको प्रेमको अभिव्यक्‍ति हो। (एफिसी ६:४) यसरी आमाबाबुले, तिनीहरू आफ्ना छोराछोरीको अनन्त हितबारे चिन्तित छन्‌ भनेर देखाउँछन्‌। छोराछोरीले आफ्नो कुरा सुनिदिंदा आमाबाबु एकदमै आनन्दित हुनुका साथै सन्तुष्ट महसुस गर्छन्‌।

४. आध्यात्मिक तवरमा दिंदा प्राप्त हुने आनन्द कुन अनुभवले प्रदर्शित गर्छ?

पूर्ण-समय अग्रगामी सेविका डेल पाँच छोराछोरीकी आमा हुन्‌। तिनी भन्छिन्‌: “प्रेरित यूहन्‍नाले यसो भन्‍नुपछाडिको कारण म राम्ररी बुझ्नसक्छु किनभने मेरा चार छोराछोरी ‘सत्यमा चलेको’ कारण म अत्यन्तै कृतज्ञ छु। परिवारहरू साँचो उपासनामा एकताबद्ध हुँदा यहोवाको आदर र महिमा हुन्छ भनेर मलाई थाह छ। त्यसैले, छोराछोरीलाई सत्य सिकाउने मेरो प्रयासमा उहाँले दिनुभएको आशिष्‌ देखेर म गहिरो सन्तुष्टि महसुस गर्छु। परिवारसित प्रमोदवनमा सधैंभरि बाँच्ने प्रत्याशाले मलाई आशा दिनुका साथै कठिनाइ र अवरोधहरू सहन मदत गरेको छ।” दुःखको कुरा, डेलको एक जना छोरी गैरमसीही मार्गमा लागेको कारण मण्डलीबाट बहिष्कृत भइन्‌। तैपनि, डेल सकारात्मक मनोवृत्ति राख्ने कडा प्रयास गर्छिन्‌। तिनी भन्छिन्‌: “एक दिन मेरी छोरी नम्रतासाथ साँचो हृदयले यहोवाकहाँ फर्कने छ भन्‍ने म आशा गर्छु। तर मेरा बाँकी छोराछोरीले विश्‍वासीपूर्वक उहाँको सेवा गरिरहेकोमा म परमेश्‍वरलाई धन्यवाद दिन्छु। मैले महसुस गरिरहेको आनन्द मेरोनिम्ति साँच्चै बलको स्रोत भएको छ।”—नहेम्याह ८:१०.

चिरस्थायी मित्रता गाँस्ने

५. चेला बनाउने काममा लाग्दा कस्तो ज्ञानले हामीलाई सन्तुष्टि प्रदान गर्छ?

येशूले आफ्ना अनुयायीहरूलाई मसीही चेलाहरू बनाउने र तिनीहरूलाई यहोवा अनि उहाँले हामीबाट चाहनुहुने कुराहरू सिकाउने निर्देशन दिनुभयो। (मत्ती २८:१९, २०) यहोवा अनि येशू दुवैले मानिसहरूलाई सत्यको मार्ग सिक्न निःस्वार्थसाथ मदत गर्नुभएको छ। त्यसैले, चेला बनाउने काममा लाग्दा हामी पनि प्रारम्भिक मसीहीहरूले झैं यहोवा अनि येशूको उदाहरण अनुकरण गरिरहेका छौं भनी सन्तुष्ट हुनसक्छौं। (१ कोरिन्थी ११:१) यसप्रकार, सर्वोच्च परमेश्‍वर र उहाँको प्रिय पुत्रसँग काम गर्दा हाम्रो जीवन साँच्चै अर्थपूर्ण हुन्छ। परमेश्‍वरका “सहकर्मी[हरूमध्येका]” हुन पाउनु साँच्चै ठूलो आशिष्‌को कुरा हो! (१ कोरिन्थी ३:९) अनि सुसमाचार प्रचार गर्ने काममा स्वर्गदूतहरूसमेत सहभागी हुनु के रोमाञ्चकारी छैन र?—प्रकाश १४:६, ७.

६. आध्यात्मिक कुरा अरूलाई दिने काममा भाग लिंदा हामी कसको मित्र हुन्छौं?

वास्तवमा, आध्यात्मिक तवरमा केही कुरा अरूलाई दिने काममा भाग लिंदा हामी परमेश्‍वरको सहकर्मी मात्र हुँदैनौं तर उहाँसँग चिरस्थायी मित्रता पनि गाँसिरहेका हुन्छौं। अब्राहाम तिनको विश्‍वासको कारण परमेश्‍वरको मित्र कहलिए। (याकूब २:२३) परमेश्‍वरको इच्छाअनुसार गर्न यथासक्दो प्रयास गर्दा हामी पनि परमेश्‍वरको मित्र हुनसक्छौं। हामीले त्यसो गऱ्‍यौं भने, हामी येशूको पनि मित्र हुन्छौं। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले तिमीहरूलाई सबै थाह दिएको छु।” (यूहन्‍ना १५:१५) कुनै प्रभावशाली व्यक्‍ति वा उच्च अधिकारीहरूलाई आफ्नो मित्र भन्‍न पाउँदा थुप्रै मानिस खुसी हुन्छन्‌ तर हामी यस ब्रह्‍माण्डका दुई सबैभन्दा महान्‌ व्यक्‍तित्वको मित्र कहलिन सक्छौं!

७. (क) एउटी स्त्रीले कसरी असल मित्र बनाइन्‌? (ख) के तपाईंको पनि त्यस्तै केही अनुभव छ?

यसबाहेक, मानिसहरूलाई परमेश्‍वर चिन्‍न मदत गर्दा तिनीहरू पनि हाम्रो मित्र हुन्छन्‌ र यसबाट हामी विशेष आनन्द प्राप्त गर्छौं। संयुक्‍त राज्यमा बसोबास गर्ने जोनले थेल्मा नाउँ गरेकी स्त्रीसित बाइबल अध्ययन गर्न थालिन्‌। थेल्माले अध्ययन गर्ने क्रममा परिवारबाट सतावट भोग्नुपरे तापनि तिनले धैर्य धारण गरिन्‌ र अर्को वर्ष बप्तिस्मा लिइन्‌। जोन लेख्छिन्‌: “हाम्रो संगति त्यहीं टुंगिएन बरु, हाम्रो मित्रता बलियो भयो र हामीले मित्रता गाँसेको झन्डै ३५ वर्ष भइसक्यो। हामी सेवकाई र अधिवेशन अक्सर सँगै जाने गर्थ्यौं। पछि, म झन्डै ८०० किलोमिटर टाढा नयाँ घरमा सरें। तर थेल्माले मलाई अझै अत्यन्तै मायालु, हृदयस्पर्शी पत्रहरू पठाउने गर्छिन्‌। तिनी अझै मेरो मीठो सम्झना गर्छिन्‌ र तिनको मित्र अनि उदाहरण भएकोमा र तिनलाई सच्चाइ सिकाएकोमा धन्यवाद दिन्छिन्‌। यहोवाबारे तिनलाई सिकाउन मैले गरेको प्रयासको कारण यस्तो प्रिय मित्र पाएँ। यो मेरोलागि साँच्चै ठूलो इनाम हो।”

८. सेवकाईमा लागिरहन कस्तो सकारात्मक मनोवृत्तिले हामीलाई मदत गर्छ?

सच्चाइ सिक्न चाहने व्यक्‍ति भेट्‌न सकिन्छ भन्‍ने प्रत्याशाले हामीलाई यहोवाको वचनप्रति त्यति वा पटक्कै चासो नदेखाउने मानिसहरू भेटे तापनि धैर्य धारण गर्न मदत गर्छ। त्यस्तो भावशून्यता हाम्रो विश्‍वास र सहनशीलताको निम्ति चुनौती हुनसक्छ। तथापि, सकारात्मक मनोवृत्तिले हामीलाई मदत गर्छ। ग्वाटेमालाका फाउस्टोले यसो भने: “अरूलाई साक्षी दिंदा, मैले कुरा गरिरहेको व्यक्‍ति आध्यात्मिक भाइ वा बहिनी भयो भने कत्ति राम्रो हुनेछ भनेर म विचार गर्छु। मैले कुरा गरेका व्यक्‍तिहरूमध्ये एक न एक जनाले परमेश्‍वरको वचनको सत्य अँगाल्ने छ भनी म तर्क गर्छु। त्यस्तो सोचाइले मलाई साक्षी कार्यमा लागिरहन र साँचो आनन्द महसुस गर्न मदत गर्छ।”

स्वर्गमा धन थुपार्ने

९. स्वर्गमा धन थुपार्ने सन्दर्भमा येशूले के भन्‍नुभयो र हामी यसबाट के सिक्नसक्छौं?

आफ्नो छोराछोरी होस्‌ वा अन्य व्यक्‍तिविशेष, चेला बनाउने काम सधैं सजिलो हुँदैन। यसको लागि, समय, धैर्य र लगनशीलता चाहिन्छ। तथापि, प्रशस्त भौतिक धनसम्पत्ति थुपार्न दौडधूप गर्न तयार मानिसहरू थुप्रै छन्‌ तर ती भौतिक चीजबीजले अक्सर आनन्द दिंदैन र त्यो अनन्तसम्म रहँदा पनि रहँदैन। येशूले आफ्ना श्रोताहरूलाई आध्यात्मिक धनसम्पत्तिको निम्ति मेहनत गर्नु उत्तम हो भन्‍नुभयो। उहाँले यसो भन्‍नुभयो: “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्छ, र जहाँ चोरहरूले फोरेर चोर्छन्‌। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, औ चोरले पनि चोर्दैन।” (मत्ती ६:१९, २०) चेला बनाउने महत्त्वपूर्ण काम पनि हाम्रो आध्यात्मिक लक्ष्यहरूमा समावेश गऱ्‍यौं भने हामीले परमेश्‍वरको इच्छाअनुसार गरिरहेका छौं र उहाँले हामीलाई इनाम पनि दिनुहुनेछ भनी सन्तुष्टि प्राप्त गर्नसक्छौं। प्रेरित पावलले यस्तो लेखे: “त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।”—हिब्रू ६:१०.

१०. (क) येशूले किन आध्यात्मिक धनसम्पत्ति थुपार्नुभयो? (ख) येशूले कसरी आफूलाई अर्पण गर्नुभयो र यसबाट अरूहरू कसरी लाभान्वित भए?

१० लगनशील भई चेला बनाउने काम गऱ्‍यौं भने हामी येशूले भन्‍नुभएझैं आफ्नोनिम्ति “स्वर्गमा धन-सम्पत्ति” थुपारिरहेका हुन्छौं। फलतः कुनै चीज प्राप्त गर्दा महसुस हुने आनन्द अनुभव गर्छौं। निःस्वार्थ भई दियौं भने प्रशस्त गरी पाउनेछौं। स्वयम्‌ येशूले युगानुयुग विश्‍वासीपूर्वक यहोवाको सेवा गर्नुभयो। उहाँले स्वर्गमा कत्ति धेरै धन थुपार्नुभयो होला, कल्पना गर्नुहोस्‌ त! यद्यपि, येशूले आफ्ना इच्छाहरूलाई प्राथमिकता दिनुभएन। प्रेरित पावलले यस्तो लेखे: “परमेश्‍वर र हाम्रा पिताको इच्छाअनुसार यस वर्त्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्ति [येशूले] आफैलाई समर्पण गर्नुभयो।” (गलाती १:४) येशूले आफूलाई सेवकाईमा मात्र पूर्णतया समर्पण गर्नुभएन तर अरूले पनि स्वर्गमा धन थुपार्न पाऊन्‌ भनेर आफ्नो जीवन नै छुडौतीको बलिदानको रूपमा अर्पण गर्नुभयो।

११. आध्यात्मिक उपहार किन भौतिक उपहारहरूभन्दा उत्तम हो?

११ अरू मानिसलाई परमेश्‍वरबारे सिकाएर हामी तिनीहरूलाई कहिल्यै नाश नहुने आध्यात्मिक धन थुपार्न मदत गर्छौं। के हामीले दिनसक्ने योभन्दा ठूलो उपहार अरू केही हुनसक्छ र? यदि तपाईंले आफ्नो मित्रलाई महँगो घडी, गाडी वा घर नै दिनुभयो भने तपाईंको मित्र सम्भवतः कृतज्ञ र खुसी हुनेछन्‌ र तपाईं पनि तिनलाई ती कुरा दिन पाएकोमा आनन्दित हुनुहुनेछ। तर २० वा २०० वा २,००० वर्षपछि त्यो उपहारको अवस्था कस्तो होला? अर्कोतर्फ, यदि तपाईंले कोही व्यक्‍तिलाई यहोवाको सेवा गर्न मदत गर्नुभयो भने तिनले त्यस उपहारबाट सधैंभरि लाभ उठाउनसक्छन्‌।

सच्चाइ सिक्न चाहनेहरूको खोजी गर्ने

१२. अरूलाई आध्यात्मिक तवरमा मदत गर्न कसैकसैले के गरेका छन्‌?

१२ आध्यात्मिक कुराहरू दिंदा प्राप्त हुने आनन्दमा भाग लिन यहोवाका जनहरू पृथ्वीको कुनाकुनासम्म पुगेका छन्‌। हजारौंले अन्य देशमा मिसनरी सेवा गर्न आफ्नो घरपरिवार छाडेका छन्‌ र त्यस नयाँ देशको भाषा तथा संस्कृति सिकेका छन्‌। अरूचाहिं आफ्नै देशभित्र राज्य उद्‌घोषकहरूको बढी आवश्‍यक भएका इलाकाहरूमा सरेका छन्‌। अझ अरू कतिपयले चाहिं नयाँ भाषा सिकेर आफ्नै इलाकामा आप्रवासीहरूलाई प्रचार गर्ने अवसर पाएका छन्‌। उदाहरणका लागि, हाल यहोवाका साक्षीहरूको मुख्यालयमा सेवा गरिरहेका दुई छोराहरूलाई हुर्काइसकेपछि एक दम्पतीले सं.रा.अ.-को न्यु जर्सीमा अग्रगामी गर्न थाले र चिनियाँ भाषा सिके। तीन वर्षभित्र तिनीहरूले नजिकैको कलेज जाने ७४ जना चिनियाँभाषी मानिसहरूसँग अध्ययन गरे। चेला बनाउने काममा अझ बढी आनन्द प्राप्त गर्न के तपाईं कुनै तरिकामा आफ्नो सेवकाई विस्तार गर्न सक्नुहुन्छ?

१३. आफ्नो सेवकाई अझ फलदायी भएको चाहनुहुन्छ भने तपाईं के गर्न सक्नुहुन्छ?

१३ सायद तपाईं बाइबल अध्ययन सञ्चालन गर्न चाहनुहुन्छ होला तर गर्न भने नसकिरहेको हुनसक्छ। कुनैकुनै देशमा जिज्ञासु व्यक्‍तिहरू भेट्टाउनै गाह्रो छ। तपाईंले बल्लतल्ल भेट्‌नुभएका मानिसहरूले पनि बाइबलमा पटक्कै चासो नदेखाउन सक्छन्‌। त्यसो हो भने, यहोवा र येशू ख्रीष्ट दुवैले हाम्रो काममा गहिरो चासो लिनुहुन्छ अनि उहाँहरूले तपाईंलाई भेडाखाले मानिसहरूकहाँ डोऱ्‍याउन सक्नुहुन्छ भन्‍ने कुरालाई मनमा राख्दै तपाईं आफ्नो इच्छा प्रार्थनामा बारम्बार व्यक्‍त गर्न सक्नुहुन्छ। आफ्नो मण्डलीका अनुभवी वा सेवकाईमा फलदायी व्यक्‍तिहरूको सुझाउ लिनुहोस्‌। मसीही सभाहरूमा दिइने प्रशिक्षण र सुझाउहरूको पूरा फाइदा उठाउनुहोस्‌। परिभ्रमण निरीक्षकहरू र तिनीहरूको पत्नीको सल्लाहबाट लाभ उठाउनुहोस्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा त, कहिल्यै हरेस नखानुहोस्‌। एक जना बुद्धिमान्‌ मानिसले यस्तो लेखे: “बिहान समयमानै बिउ छर्‌, र बेलुकी साँझसम्म आफ्नो काम गर्न न छोड़, किनभने अहिले छरेको अथवा भरै छरेको कुन चाहिं सफल हुन्छ, अथवा दुवैनै राम्रो हुन्छन्‌ होला भनी तँ जान्दैनस्‌।” (उपदेशक ११:६) अनि नूह र यर्मियाजस्ता विश्‍वासी पुरुषहरूलाई पनि सम्झनुहोस्‌। तिनीहरूले प्रचार गर्दा थोरैले मात्र सुने तापनि तिनीहरूको सेवकाई सफल थियो। सबैभन्दा मुख्य कुरा त, यसले यहोवालाई खुसी तुल्यायो।

यथासक्दो गर्ने

१४. उहाँको सेवा गर्दागर्दै वृद्ध भएका जनहरूप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ?

१४ परिस्थितिले तपाईंलाई आफूले चाहेजस्तो सेवकाईमा सक्दो गर्न नदेला। उदाहरणका लागि, बुढ्यौलीको कारण तपाईं यहोवाको सेवामा आफूले चाहेभन्दा कम मात्र गर्न सक्नुहुन्छ होला। तर, बुद्धिमान्‌ पुरुषले लेखेको यो कुरा सम्झनुहोस्‌ त: “फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।” (हितोपदेश १६:३१) यहोवाको नजरमा उहाँको सेवामा बिताइएको जीवन सुन्दर छ। यसबाहेक, धर्मशास्त्र यसो भन्छ: “तिमीहरूको बूढ़ेसकालसम्म पनि म [यहोवा] उही हुनेछु। औ तिमीहरूका कपाल फुलेको अवस्थासम्म पनि म तिमीहरूलाई बोक्नेछु। मैले बनाएको हुँ, र म बोक्नेछु। म बोकेर हिंड़नेछु र बचाउनेछु।” (यशैया ४६:४) स्वर्गमा हुनुहुने हाम्रो मायालु पिताले आफ्ना वफादार जनहरूलाई सम्हाल्ने र समर्थन गर्ने प्रतिज्ञा गर्नुभएको छ।

१५. यहोवाले तपाईंको परिस्थिति बुझ्नुहुन्छ भनेर के तपाईं विश्‍वास गर्नुहुन्छ? किन?

१५ सायद तपाईंले रोगबिमार, अर्कै धर्म मान्‍ने पति वा पत्नीको विरोध, गम्भीर पारिवारिक जिम्मेवारी वा अन्य केही कठिन समस्याहरू भोगिरहनुभएको होला। यहोवा हाम्रो सीमितता र परिस्थिति जान्‍नुहुन्छ र उहाँको सेवा गर्न हामीले गरेको निष्कपट प्रयासको कारण उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। चाहे त्यो प्रयास अरूले गरेको प्रयासभन्दा कम नै किन नहोस्‌। (गलाती ६:४) यहोवा हामी असिद्ध प्राणी हौं भनी जान्‍नुहुन्छ र हामीबाट आशा गर्नुहुने कुरामा उहाँ व्यावहारिक हुनुहुन्छ। (भजन १४७:११) यदि हामीले यथासक्दो गऱ्‍यौं भने, हामी परमेश्‍वरको नजरमा मूल्यावन्‌ हुनेछौं र उहाँले हाम्रो विश्‍वासका कामहरू बिर्सनुहुन्‍न भनेर विश्‍वस्त हुनसक्छौं।—लूका २१:१-४.

१६. चेला बनाउने काममा कसरी सम्पूर्ण मण्डली सहभागी हुन्छ?

१६ चेला बनाउने काम सामूहिक काम हो भनेर पनि नबिर्सनुहोस्‌। जसरी एक थोपा पानीले बिरुवालाई पोषण दिन सक्दैन त्यसरी नै एक जनाको प्रयासमा चेला बनाउन सकिंदैन। हो, एक साक्षीले इच्छुक व्यक्‍ति भेट्टाएर बाइबल अध्ययन सुरु गर्ला। तर नयाँ व्यक्‍ति राज्यभवन आएपछि सम्पूर्ण मण्डलीले तिनलाई सत्य चिन्‍न मदत गर्छ। भाइहरूबीचको स्नेहले परमेश्‍वरको आत्माको प्रभाव प्रदर्शित गर्छ। (१ कोरिन्थी १४:२४, २५) केटाकेटी तथा किशोरकिशोरीहरूले उत्थानदायी टिप्पणीहरू दिन्छन्‌ र यसबाट नयाँ व्यक्‍तिले हाम्रा जवानहरू संसारका जवानहरूभन्दा भिन्‍न छन्‌ भनेर देख्छन्‌। मण्डलीका बिरामी, अशक्‍त र वृद्ध व्यक्‍तिहरूले धैर्य धारण गर्नुमा के के समावेश छन्‌ भनेर नयाँहरूलाई सिकाउँछन्‌। हाम्रो उमेर वा सीमितताको बावजूद नयाँ व्यक्‍तिलाई बाइबल सच्चाइप्रतिको प्रेम बढाउँदै लैजान अनि बप्तिस्मातर्फ उन्‍नति गर्न मदत गर्ने काममा हामी सबैले महत्त्वपूर्ण भूमिका खेल्छौं। हामीले सेवकाईमा बिताउने प्रत्येक घण्टा, प्रत्येक पुनःभेट, इच्छुक व्यक्‍तिसित राज्यभवनमा गरेको प्रत्येक कुराकानी त्यत्ति महत्त्वपूर्ण नभएजस्तो लाग्ला तर यो यहोवाले गरिरहनुभएको विशाल कार्यको भाग हो।

१७, १८. (क) चेला बनाउने काममा भाग लिनुको अलावा अरूलाई दिंदा प्राप्त हुने आनन्दमा हामी कसरी भाग लिनसक्छौं? (ख) अरूलाई दिने काममा भाग लिंदा हामीले कसको अनुकरण गरिरहेका हुनेछौं?

१७ निस्सन्देह, चेला बनाउने महत्त्वपूर्ण कामको अलावा, दिंदा प्राप्त हुने आनन्दमा हामी मसीहीको हैसियतमा अन्य तरिकामा पनि भाग लिन्छौं। शुद्ध उपासनाको प्रवर्धन र खाँचोमा परेकाहरूलाई मदत गर्न हामी केही पैसा छुट्‌याउनसक्छौं। (लूका १६:९; १ कोरिन्थी १६:१, २) अरूलाई अतिथि सत्कार देखाउने मौकाहरूको फाइदा उठाउनसक्छौं। (रोमी १२:१३) हामी “सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम” गर्ने प्रयास गर्नसक्छौं। (गलाती ६:१०) अनि चिठी लेखेर, टेलिफोन गरेर, उपहार दिएर, सघाएर वा प्रोत्साहनको दुई शब्द बोलेर सरल तर महत्त्वपूर्ण तरिकामा हामी अरूलाई दिनसक्छौं।

१८ अरूलाई दिएर, हामी हाम्रो स्वर्गमा हुनुहुने पिताको अनुकरण गर्छौं भनी देखाउनसक्छौं। यसो गर्दा हामीले हाम्रो भ्रातृत्व प्रेम पनि प्रदर्शित गरिरहेका हुनेछौं, जुन साँचो मसीहीहरूको चिनारी हो। (यूहन्‍ना १३:३५) यी कुराहरू सम्झँदा यसले अरूलाई दिंदा प्राप्त हुने आनन्दमा भाग लिन हामीलाई मदत गर्नसक्छ।

के तपाईं बुझाउन सक्नुहुन्छ ?

• आध्यात्मिक तवरमा दिने सन्दर्भमा यहोवा अनि येशूले कसरी नमुना बसाल्नुभयो?

• चिरस्थायी मित्रता कसरी गाँस्नसक्छौं?

• हाम्रो सेवकाईलाई अझ सफल बनाउन हामी कस्ता कदमहरू चाल्नसक्छौं?

• दिंदा प्राप्त हुने आनन्दमा मण्डलीका सबैले कसरी भाग लिनसक्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएका चित्रहरू]

आफूले सिकाएजस्तो छोराछोरीले गरिदिंदा आमाबाबुले ठूलो आनन्द र सन्तुष्ट महसुस गर्छन्‌

[पृष्ठ १५-मा भएको चित्र]

चेला बनाउँदा हामी साँचो मित्र पनि बनाउनसक्छौं

[पृष्ठ १६-मा भएको चित्र]

यहोवाले बुढेसकालमा हामीलाई सम्हाल्नुहुन्छ

[पृष्ठ १७-मा भएका चित्रहरू]

सरल तर महत्त्वपूर्ण तरिकामा हामी दिंदाको आनन्द महसुस गर्छौं