सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको विश्‍वास शंकाले नडगमगाओस्‌

तपाईंको विश्‍वास शंकाले नडगमगाओस्‌

तपाईंको विश्‍वास शंकाले नडगमगाओस्‌

सायद तपाईंले आफू सन्चै छु जस्तो लागेको भोलिपल्ट नै बिसन्चो महसुस गर्नु भएको होला। अकस्मात्‌ तपाईं कमजोर र अस्वस्थ हुनुहुन्छ। तपाईंको टाउको र पूरै जीउ कटकटी दुख्छ। के भएको यस्तो ? तपाईंको रोग प्रतिरोध क्षमतालाई खतरनाक जीवाणुहरूले कमजोर पारेर महत्त्वपूर्ण अंगहरूमा आक्रमण गरेका छन्‌। उपचार नगरेमा यी आक्रमणकारी जीवाणुहरूले तपाईंको स्वास्थ्यमा नराम्रो हानि पुऱ्‍याउनसक्छन्‌ वा तपाईंको ज्यानसमेत लिनसक्छन्‌।

निस्सन्देह, स्वास्थ्य कमजोर भएको बेला संक्रमण भयो भने रोगले समात्ने सम्भावना बढी हुन्छ। उदाहरणका लागि, तपाईंको शरीर कुपोषणको कारण कमजोर भएको छ भने, तपाईंको प्रतिरोधात्मक शक्‍ति यति कमजोर हुन्छ कि साधारण संक्रमणसमेत घातक साबित हुनसक्छ भनी चिकित्सासम्बन्धी लेखक पिटर विनगेट भन्छन्‌।

यदि त्यस्तो हो भने त, अनिकाल कसलाई मन पर्ला र? तपाईं सन्तुलित भोजन खाएर स्वस्थ रहन भएभरको प्रयास गर्नुहुन्छ। जीवाणु संक्रमणबाट बच्न पनि तपाईं यथासक्दो गर्नुहुन्छ। तथापि, के तपाईं “विश्‍वासमा पक्का” रहन पनि त्यतिकै होसियार हुनुहुन्छ? (तीतस २:२, नयाँ संशोधित संस्करण) उदाहरणका लागि, के तपाईं छली शंकाहरूले पैदा गर्ने खतराबारे सजग हुनुहुन्छ? यी कुराहरूले हृदयमा शंका उपशंका सृजना गर्नुका साथै तपाईंको विश्‍वास र यहोवासँगको सम्बन्धलाई बिगार्नसक्छ। कोहीकोही मानिसलाई यस्ता खतराबारे थाहै नभएको जस्तो देखिन्छ। आध्यात्मिक तवरमा भोका रहेर तिनीहरू यस्ता शंकाहरूको निस्साहय सिकार हुन्छन्‌। कतै तपाईं पनि त्यस्तै अवस्थामा त हुनुहुन्‍न?

शंका–के यो सधैं हानिकारक हुन्छ?

निस्सन्देह, सबै प्रकारका शंकाहरू खराब हुँदैनन्‌। कहिलेकाहीं कुनै कुरा स्वीकार्नुअघि तथ्यहरू पक्का गर्नुपर्छ। अतः तपाईंले सबै कुरा विश्‍वास गर्नुपर्छ र शंका गर्नुहुँदैन भन्‍ने कतिपय धर्महरूको सल्लाह खतरनाक र छलीपूर्ण छ। हो, बाइबलले प्रेमले “सबै कुराको पत्यार गर्छ” भन्छ। (१ कोरिन्थी १३:७) विगतमा आफूलाई भरोसायोग्य प्रमाणित गरिसकेकाहरूमाथि विश्‍वास गर्न मायालु मसीहीलाई कुनै अप्ठ्यारो हुँदैन। तर परमेश्‍वरको वचनले ‘सुनेको एक एक कुरा पत्याउनदेखि’ सतर्क गराउँछ। (हितोपदेश १४:१५) कहिलेकाहीं व्यक्‍तिविशेषको पुरानो रेकर्डले शंका गर्ने ठोस कारण दिन्छ। बाइबलले यस्तो चेताउनी दिन्छ: “[छली कुरा गर्ने व्यक्‍तिको] वचन मीठा छन्‌ भने त्यसलाई विश्‍वास नगर्‌।”—हितोपदेश २६:२४, २५.

प्रेरित यूहन्‍नाले पनि अन्धाधुन्ध विश्‍वास नगर्न चेताउनी दिन्छन्‌। तिनी लेख्छन्‌, “जुनसुकै आत्माको पत्यार नगर, तर परमेश्‍वरबाटका आत्माहरू हो कि होइन भनी जाँच गर।” (१ यूहन्‍ना ४:१) “जुनसुकै आत्मा” अर्थात्‌ शिक्षा वा विचार परमेश्‍वरबाटको हो जस्तो देखिन सक्छ। तर के ती साँच्चै उहाँबाटै आएको हो त? शंका गर्नु वा तुरुन्तै विश्‍वास गरी नहाल्नु कुनै कुनै अवस्थामा साँचो सुरक्षा हुनसक्छ किनभने प्रेरित यूहन्‍नाले भनेझैं “धेरै जना भ्रममा पार्नेहरू संसारमा आएका छन्‌।”—२ यूहन्‍ना ७.

निराधार शंकाहरू

हो, सत्य पत्ता लगाउन इमानदार तथा नम्र भई तथ्यहरू केलाउनु आवश्‍यक हुन्छ। तथापि, यसो गर्नुको अर्थ हाम्रो मन अनि हृदयमा निराधार, हानिकारक शंकाहरू पलाउनु दिनु भनेको होइन किनभने त्यसले हाम्रो बलियो विश्‍वास र आपसी सम्बन्धलाई ध्वस्त गर्नसक्छ। शंकालाई “विश्‍वासमा पक्का नभएको वा निर्णयहरूमा बाधा पुऱ्‍याउने विरोधाभासपूर्ण विचार” भनी परिभाषित गरिएको छ। शैतानले कसरी हव्वाको मनमा यहोवाबारे शंका उत्पन्‍न गरायो, के तपाईंले सम्झनुभएको छ? त्यसले यसप्रकार सोध्यो: “के परमेश्‍वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्‍नुभएको छ?” (उत्पत्ति ३:१) मनमा कुनै छलकपट नराखी सोधिएको जस्तो सुनिने उक्‍त प्रश्‍नले निश्‍चय पनि तिनको निर्णय गर्ने क्षमतामा बाधा पुऱ्‍यायो। यो शैतानको विशेष खूबी हो। गलत आरोपहरू लगाएर अरूको बदनाम गर्न पत्र लेख्ने मानिसजस्तै शैतान, छेडपेच गर्न, अस्पष्ट र असत्य कुराहरू फैलाउन खप्पीस छ। त्यसरी शैतानले छली शंकाहरूको बीउ रोपेर थुप्रै मानिसको आत्मीय, भरोसायोग्य सम्बन्धहरू भताभुंग पारिदिएको छ।—गलाती ५:७-९.

चेला याकूबले यस्तो प्रकारको शंकाले पार्ने नकारात्मक असर राम्ररी बुझेका थिए। परीक्षाको बेला मदतको लागि परमेश्‍वरसँग सीधै कुरा गर्नसक्ने अद्‌भुत सुअवसरबारे तिनी लेख्छन्‌। तर परमेश्‍वरलाई प्रार्थना गर्दा “केही पनि सन्देह नगरी विश्‍वाससाथ मागोस्‌” भनी याकूब चेताउनी दिन्छन्‌। यहोवासँगको सम्बन्धमा शंका गऱ्‍यौं भने हामी “बतासले हुत्तिएर उचाल्दै पछार्दै गरेका समुद्रका लहरीसमान” हुनेछौं। हामी ‘सबै चाल-चलनमा चञ्चल दोहोरो मन भएको मानिस’ जस्तो हुनेछौं। (याकूब १:६, ८) आफूले विश्‍वास गरेको कुरामा शंका गर्न थाल्नुका साथै त्यसले गर्दा दोहोरो मनको हुनसक्छौं। अनि हव्वाजस्तै हामी सबै प्रकारका प्रेतवादी शिक्षा र दर्शनहरूसामु कमजोर हुन्छौं।

आध्यात्मिक सुस्वास्थ्य कायम राख्ने

त्यसोभए, हानिकारक शंकाहरूबाट हामी आफूलाई कसरी सुरक्षित राख्नसक्छौं? जवाफ अत्यन्तै सरल छ: शैतानी विचारधारालाई इन्कार गर्न दृढ भएर अनि हामीलाई “विश्‍वासमा दह्रो” हुन परमेश्‍वरले प्रबन्ध गर्नुभएका प्रबन्धको पूरापूर फाइदा उठाएर।—१ पत्रुस ५:८-१०.

यसको निम्ति अत्यावश्‍यक कुरा आध्यात्मिक भोजन लिने राम्रो बानी बसाल्नु हो। यसअघि पनि उल्लेख गरिएको लेखक विनगेट यसो भन्छन्‌: “आराम गरिरहेको अवस्थामा पनि मानिसको अंगहरूमा हुने रासायनिक प्रक्रिया र अन्य कामहरूको लागि शक्‍ति चाहिन्छ र थुप्रै तन्तु पनि निरन्तर परिवर्तन भइरहनुपर्छ।” हाम्रो आध्यात्मिक सुस्वास्थ्यको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। नियमित तवरमा आध्यात्मिक भोजन लिएनौं भने खाना नपुगेको शरीरजस्तै हाम्रो विश्‍वास पनि बिस्तारै कमजोर हुँदै जान्छ र आखिरमा मर्छ। येशूले यस कुरालाई जोड दिनुहुँदै यसो भन्‍नुभयो: “मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।”—मत्ती ४:४.

यसबारे सोच्नुहोस्‌। सुरुमा हामीले कसरी बलियो विश्‍वास विकास गऱ्‍यौं? प्रेरित पावलले यस्तो लेखे: “विश्‍वास सुनाइबाट” हुन्छ। (रोमी १०:१७) तिनको भनाइको अर्थ, हामीले परमेश्‍वरको वचनबाट आध्यात्मिक भोजन लिएर यहोवा, उहाँका प्रतिज्ञाहरू र उहाँको संगठनमाथि विश्‍वास अनि भरोसा बढाउन सक्यौं। निस्सन्देह, हामीले सबै कुरा सुन्‍ने बित्तिकै विश्‍वास गरेनौं। बरु, बिरियाका मानिसहरूले जस्तै गऱ्‍यौं। हामीले ‘ती कुराहरू ठीक हुन्‌ कि होइनन्‌ भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गऱ्‍यौं।’ (प्रेरित १७:११) हामीले ‘परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी जाँचेर पत्ता लगायौं’ र आफूले सुनेका कुरा सही हुन्‌ या होइनन्‌ भनी पक्का गऱ्‍यौं। (रोमी १२:२; १ थिस्सलोनिकी ५:२१) हुनसक्छ, त्यतिबेलादेखि हामीले आफ्नो विश्‍वासलाई अझ बलियो बनाउँदै लग्यौं किनभने हामीले परमेश्‍वरको वचन र उहाँका प्रतिज्ञाहरू कहिल्यै फरक पर्दैन भनेर स्पष्टसँग बुझेका छौं।—यहोशू २३:१४; यशैया ५५:१०, ११.

आध्यात्मिक तवरमा भोको नबस्नुहोस्‌

अब अर्को चुनौती हो, भरोसालाई कायम राख्नु र विश्‍वासको अनिश्‍चितताबाट अलग रहनु हो। किनकि यसले यहोवा र उहाँको संगठनमाथिको हाम्रो भरोसालाई कमजोर तुल्याउनसक्छ। यसको लागि हामीले दिनहुँ धर्मशास्त्र जाँच्नुपर्छ। “पछि आउने समयमा बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही कोही विश्‍वासबाट पतित हुनेछन्‌” भनी प्रेरित पावल चेताउनी दिन्छन्‌। (१ तिमोथी ४:१) यी बहकाउने सिद्धान्तहरूले कसैकसैको मनमा शंका उत्पन्‍न गर्नुका साथै परमेश्‍वरबाट तर्काएर लैजानसक्छन्‌। यसबाट कसरी बच्ने? ‘अहिलेसम्म मानीआएको उत्तम सिद्धान्त र विश्‍वासका वचनहरूमा पुष्ट’ भइरह्‍यौं भने बच्नसक्छौं।—१ तिमोथी ४:६.

तर दुःखको कुरा, आज त्यस्तो पोषण निश्‍शुल्क उपलब्ध भए तापनि कसैकसैले ‘विश्‍वासका वचनहरूमा पुष्ट’ नहुने छनौट गर्छन्‌। हितोपदेशका पुस्तकको एक जना लेखकले बताएझैं स्वास्थ्यवर्धक आध्यात्मिक भोजन लिने अर्थात्‌ आध्यात्मिक भोजमा उपस्थित हुने गरे तापनि केही खाना नखाने र खाएको कुरा पनि नपचाउने गरेको हुनसक्छ।—हितोपदेश १९:२४; २६:१५.

यो खतरनाक छ। लेखक विनगेट लेख्छन्‌: “शरीरले आफूसँग भएको प्रोटिन चलाउन थालेपछि शरीरको अवस्था राम्रो हुँदैन।” तपाईं भोको बस्न थाल्नुभयो भने तपाईंको शरीरले बचाएर राखिएको इन्धन चलाउन थाल्छ। यी पनि सकेपछि र तन्तुहरूको मर्मतको निम्ति साँचिएको आवश्‍यक प्रोटिन चलाउन थाल्छ। शरीरका अत्यावश्‍यक अंगहरू बिग्रन थाल्छन्‌। त्यसपछि त तपाईंको स्वास्थ्यस्थिति खस्कन थाल्छ।

प्रारम्भिक मसीही मण्डलीका कसैकसैलाई आध्यात्मिक अर्थमा त्यस्तै भयो। तिनीहरू पहिल्यै पाएको आध्यात्मिक पोषणमा मात्र भर पर्न खोजे। सम्भवतः तिनीहरूले आफ्नो व्यक्‍तिगत अध्ययनको बेवास्ता गरे र आध्यात्मिक तवरमा कमजोर भए। (हिब्रू ५:१२) प्रेरित पावलले हिब्रू मसीहीहरूलाई यसो गर्दा हुने खतराहरूबारे यसप्रकार बताए: “हामीले सुनेका कुराहरूलाई हामीले झन्‌ बढ़ी उत्कट ध्यान दिनुपर्दछ, नत्रता हामी तिनीहरूबाट तर्केर जानेछौं।” “यति ठूलो मुक्‍तिको वास्ता नराखे[को]” खण्डमा नराम्रो बानीबेहोरामा हामी सजिलै फस्नसक्छौं भनी तिनलाई राम्ररी थाह थियो।—हिब्रू २:१, ३.

चाखलाग्दो कुरा के छ भने, कुपोषण भएको मानिस बिरामी वा दुब्लो नदेखिन पनि सक्छ। त्यसै गरी, कोही मानिस आध्यात्मिक भोकबाट पीडित छ भनी तुरुन्तै स्पष्ट नहुनसक्छ। तपाईंलाई वास्तवमा सन्तुलित आहारको कमी भए तापनि बाहिरबाट आध्यात्मिक तवरमा स्वस्थ नै देखिन सक्नुहुन्छ तर त्यो क्षणिक हुन्छ! तपाईं निश्‍चय पनि आध्यात्मिक तवरमा कमजोर हुनुहुनेछ र निराधार शंकाहरू गर्न थाल्नुहुनेछ अनि विश्‍वासको निम्ति उत्कटसाथ लड्‌न सक्नुहुने छैन। (यहूदा ३) तपाईंले कत्तिको आध्यात्मिक भोजन लिइरहनुभएको छ, त्यो कुरा अरू कसैलाई थाह नभए तापनि तपाईंलाई भने अवश्‍य थाह हुन्छ।

तसर्थ, व्यक्‍तिगत अध्ययन गर्ने राम्रो बानी बसाल्नुहोस्‌। शंकाहरू हटाउने दृढ प्रयास गर्नुहोस्‌। सानो तिनो संक्रमण त हो भनेर वास्ता नगर्दा वा शंकाको कारण उत्पन्‍न भएको चिन्तालाई वास्ता नगर्दा नतिजा भयावह हुनसक्छ। (२ कोरिन्थी ११:३) ‘के हामी साँच्चै आखिरी दिनमा बाँचिरहेका छौं? के बाइबलमा बताइएका सबै कुरा विश्‍वास गर्न सकिन्छ? के यो साँच्चै यहोवाको संगठन हो?’ शैतान हाम्रो मनमा यस्ता शंकाहरू रोप्न पाए दंग पर्छ। आध्यात्मिक भोजन लिने सन्दर्भमा लापरवाही भएर त्यसका छलिपूर्ण शिक्षाहरूको सिकार नबन्‍नुहोस्‌। (कलस्सी २:४-७) तिमोथीलाई दिएको सल्लाह पालन गर्नुहोस्‌। “पवित्र लेखोटहरू[को]” असल विद्यार्थी हुनुहोस्‌ र ‘आफूले सिकेका र निश्‍चय भएका कुराहरूमा लागिरहनुहोस्‌।’—२ तिमोथी ३:१३-१५.

यसको लागि तपाईंलाई मदत चाहिनसक्छ। माथि उल्लिखित लेखक अझ यसो भन्छन्‌: “लामो समयसम्म भोकै बस्यो भने पाचन अंगहरू भिटामिन तथा अन्य महत्त्वपूर्ण तत्त्वहरूको कमीले गर्दा यति शिथिल हुन्छन्‌ कि, साधारण खानसमेत पचाउन नसक्ने हुन्छन्‌। यस्तो अवस्थामा पुगेका मानिसहरूले केही समयको लागि पचाउन सजिलो खाना मात्र खानुपर्छ।” शरीरमा भोजनको कमीले गर्दा भएका असरहरू हटाउन विशेष ध्यान दिनुपर्छ। त्यसै गरी, व्यक्‍तिगत बाइबल अध्ययनलाई अत्यन्तै बेवास्ता गर्ने मानिसलाई पुनः आध्यात्मिक भोक विकास गर्न मदत र प्रोत्साहनको खाँचो पर्नसक्छ। यदि तपाईंको पनि अवस्था त्यस्तै छ भने, मदत खोज्नुहोस्‌ र तपाईंको आध्यात्मिक स्वास्थ्य र पुनः बल प्राप्त गर्न दिइएको सबै मदत स्वीकार्नुहोस्‌।—याकूब ५:१४, १५.

‘अविश्‍वासले गर्दा नडग्मगाउनुहोस्‌’

कुलपिता अब्राहामको अवस्था थाह हुने कसैकसैले अब्राहामले शंका गर्ने जायज ठाउँ थियो भन्‍ने विचार गर्लान्‌। परमेश्‍वरका प्रतिज्ञाहरूको बावजूद तिनी ‘धेरै जातिहरूको पिता हुनु’ असम्भव छ जस्तो लाग्नु व्यावहारिक देखिनसक्छ। किन? मानिसकै दृष्टिकोणबाट मात्र हेर्ने हो भने परिस्थिति त्यति सकारात्मक देखिंदैनथ्यो। बाइबल रेकर्ड यसो भन्छ, ‘तिनले आफ्नो शरीर मुर्दासरी र सारहको कोखको अवस्था पनि मुर्दासरी ठान्थे।’ यद्यपि, तिनले दृढतासाथ आफ्नो मन अनि हृदयमा परमेश्‍वर अनि उहाँका प्रतिज्ञाहरूबारे शंकाहरू पलाउन दिएनन्‌। प्रेरित पावल यस्तो लेख्छन्‌: तिनी “विश्‍वासमा कत्ति पनि कमजोर भएनन्‌” वा “अविश्‍वासले डग्मगाएनन्‌।” ‘परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभएको छ, त्यो पूरा पनि गर्नसक्नुहुन्छ भन्‍ने कुरामा’ अब्राहाम “बिलकुल निश्‍चय भए।” (रोमी ४:१८-२१) तिनले वर्षौंको दौडान यहोवासँग बलियो, व्यक्‍तिगत, भरपर्दो सम्बन्ध गाँसिसकेका थिए। यस सम्बन्धलाई कमजोर बनाउनसक्ने कुनै पनि शंकालाई तिनले तिरस्कार गरे।

यदि तपाईंले “पक्का कुराहरूको नमूना पक्री[राख्नुभयो]” वा राम्ररी आध्यात्मिक भोजन लिनुभयो भने तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ। (२ तिमोथी १:१३) शंकाले उत्पन्‍न गर्ने खतरालाई गम्भीरतासाथ लिनुहोस्‌। शैतानले आध्यात्मिक जैविक युद्ध भन्‍न मिल्ने गतिविधि पनि प्रयोग गर्छ। तपाईंले व्यक्‍तिगत अध्ययन गर्न र मसीही सभाहरूमा उपस्थिति भएर असल आध्यात्मिक भोजन लिन बेवास्ता गर्नुभयो भने त्यस्ता आक्रमणहरूको सिकार हुनु धेरै बेर लाग्दैन। “विश्‍वासी र बुद्धिमान दास[ले]” प्रबन्ध गरेको प्रचुर र सामयिक आध्यात्मिक भोजनको सदुपयोग गर्नुहोस्‌। (मत्ती २४:४५) “पक्का वचनहरू” निरन्तर लिइरहनुहोस्‌ र “विश्‍वासमा पक्का” रहनुहोस्‌। (१ तिमोथी ६:३; तीतस २:२, नयाँ संशोधित संस्करण) शंकाले गर्दा तपाईंको विश्‍वास नडगमगाओस्‌।

[पृष्ठ २१-मा भएका चित्रहरू]

तपाईंले कत्तिको राम्ररी आध्यात्मिक भोजन लिइरहनुभएको छ ?