सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल अध्ययन किन गर्ने?

बाइबल अध्ययन किन गर्ने?

बाइबल अध्ययन किन गर्ने?

बिल जवान, तन्दुरुस्त, शिक्षित र आर्थिक तवरमा पनि सम्पन्‍न थिए। तैपनि, तिनी सन्तुष्ट थिएनन्‌। तिनको जीवन उद्देश्‍यविहीन थियो र यस कुराले तिनलाई अत्यन्तै चिन्तित बनाइरहेको थियो। जीवनको उद्देश्‍य पत्ता लगाउन तिनले थुप्रै धर्म जाँचे तर आफूले खोजिरहेको कुरा भेट्टाएनन्‌। सन्‌ १९९१ मा यहोवाको एक साक्षीसित तिनको भेट भयो र तिनलाई जीवनको उद्देश्‍यबारे बाइबलले के भन्छ भनी छलफल गरिएको पुस्तक दिइयो। यो अनि अन्य प्रश्‍नहरूको चित्तबुझ्दो जवाफको लागि बिलसित बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाइयो।

बिल ती दिनहरू सम्झँदै भन्छन्‌: “हामीले पहिलो चोटि अध्ययन गर्दा निकै चोटि बाइबलबाटै शास्त्रपद पढिएको कारण म आफूले खोजिरहेको कुरा यही हो भनेर पक्का भएँ। बाइबलका जवाफहरू अत्यन्तै रोमाञ्कारी थिए। त्यस अध्ययनपछि म आफ्नो गाडी लिएर पहाडतिर गएँ। खुसीले गदगद्‌ भएको कारण गाडीबाट निस्केर ठूलो स्वरले कराएँ। बल्लतल्ल आफ्नो प्रश्‍नका जवाफहरू पाएकोले गर्दा म अत्यन्तै खुसी भएँ।”

निस्सन्देह, बाइबल सत्य पाउने सबै जना त्यसरी नै आनन्दले कराउने गर्दैनन्‌। तैपनि, जीवनका महत्त्वपूर्ण प्रश्‍नका जवाफ पाउनु थुप्रैको निम्ति आनन्ददायी हुन्छ। तिनीहरूले येशूको उखानमा वर्णन गरिएको मानिसले जस्तै महसुस गर्छन्‌, जसले गाडधन फेला पारे। येशूले यसो भन्‍नुभयो: “आनन्दित भएर उसले आफूसँग भएको सबै बेच्यो, र त्यो खेत किन्यो।”—मत्ती १३:४४.

अर्थपूर्ण जीवनको लागि अपरिहार्य कुरा

बिलले सोचिरहेको मूलभूत प्रश्‍न थियो, जीवनको उद्देश्‍य के हो? दार्शनिक, धर्मविद्‌ र वैज्ञानिकहरूले यस प्रश्‍नको जवाफ पत्ता लगाउने प्रयास गरेको शताब्दीयौं भइसक्यो। यस प्रश्‍नको जवाफ दिने प्रयासमा कैयौं पुस्तकहरू लेखिएका छन्‌। तर तिनीहरूको प्रयास बेकार भएको छ र कतिचाहिं यस प्रश्‍नको जवाफ पाउन सकिंदैन भन्‍ने निष्कर्षमा पुगेका छन्‌। तर, यसको जवाफ अवश्‍य छ। जवाफ गहिरो भए तापनि जटिल भने छैन। यसको जवाफ बाइबलमा पाइन्छ। आनन्ददायी, अर्थपूर्ण जीवनको निम्ति अपरिहार्य कुरा हो: हाम्रो सृष्टिकर्ता तथा स्वर्गमा हुनुहुने पिता यहोवासँग उचित सम्बन्ध राख्नुपर्छ। हामी त्यो कसरी प्राप्त गर्नसक्छौं?

परमेश्‍वरसित नजिक हुने सन्दर्भमा दुइटा कुरा एकअर्कासित नमिलेको जस्तो देखिन्छ। उहाँसँग नजिक हुनेहरूले उहाँको भय राख्नुका साथै उहाँलाई प्रेम गर्छन्‌। आउनुहोस्‌, हामी यस कुरालाई समर्थन गर्ने दुइटा शास्त्रपद हेरौं। धेरै समयअघि बुद्धिमान्‌ राजा सुलेमानले मानवजातिबारे गहिरो अध्ययन गरे र आफूले पत्ता लगाएका कुराहरू बाइबलको पुस्तक उपदेशकमा लिपिबद्ध गरे। आफूले देखेको कुराको निचोड निकाल्दै तिनले यस्तो लेखे: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्‌। परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।” (उपदेशक १२:१३) अनि, मोशालाई दिइएको व्यवस्थामा सबैभन्दा ठूलो आज्ञा कुन हो भनी शताब्दीयौंपछि येशूलाई प्रश्‍न गर्दा उहाँले यस्तो जवाफ दिनुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।” (मत्ती २२:३७) परमेश्‍वरको भय राख्नुका साथै उहाँलाई प्रेम पनि गर्नुपर्छ भन्दा के तपाईंलाई केही नमिलेजस्तो लाग्छ? हामी अब भय र प्रेमको महत्त्वलाई केलाऔं र परमेश्‍वरसित सन्तोषजनक सम्बन्ध गाँस्न यी दुवैले कस्तो योगदान पुऱ्‍याउँछ, हेरौं।

परमेश्‍वरको भय राख्नुको अर्थ के हो

परमेश्‍वरलाई स्वीकार्य उपासना चढाउन चाहन्छौं भने उहाँको श्रद्धेय भय हुनु अत्यावश्‍यक छ। बाइबल यसो भन्छ: “परमप्रभुको भयनै ज्ञानको शुरू हो।” (भजन १११:१०) प्रेरित पावलले यस्तो लेखे: “हामीलाई अनुग्रह होस्‌, जसबाट परमेश्‍वरलाई मनपर्ने सेवा भक्‍ति र डरले चढ़ाउनसकौं।” (हिब्रू १२:२८) त्यस्तै गरी, प्रेरित यूहन्‍नाले देखेको दर्शनमा स्वर्गको बीचमा उडिरहेको स्वर्गदूतले यसरी सुसमाचारको उद्‌घोषणा गरे: “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ।”—प्रकाश १४:६, ७.

अर्थपूर्ण जीवनको निम्ति अत्यावश्‍यक परमेश्‍वरको यो भय भनेको डरले थरथर काँप्ने भय होइन। निष्ठूर र खतरनाक अपराधीले धम्की दियो भने हामी डरले थुरथुर हुन्छौं। तर परमेश्‍वरको भय अथवा ईश्‍वरीय भय भनेको सृष्टिकर्ताप्रति गहिरो श्रद्धा र आदर हो। यसमा परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउनदेखि डराउने उचित भय पनि समावेश छ किनभने उहाँ सर्वोच्च न्यायकर्ता तथा सर्वशक्‍तिमान्‌ हुनुहुन्छ र उहाँसँग अनाज्ञाकारीहरूलाई सजाय दिने शक्‍ति र अधिकार दुवै छ।

प्रेम र भय एकअर्काका पूरक हुन्‌

यद्यपि, उहाँसँग डर भएको कारण मात्र उहाँको सेवा गरेको यहोवा चाहनुहुन्‍न। यहोवा अपार प्रेमको परमेश्‍वर हुनुहुन्छ। यसबारे प्रेरित यूहन्‍ना यस्तो लेख्न प्रेरित भए: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८) यहोवा परमेश्‍वरले एकदमै मायालु ढंगमा मानिसजातिसित व्यवहार गर्नुभएको छ। यसकारण, मानिसजातिले पनि उहाँलाई प्रेम गरेको चाहनुहुन्छ। तर त्यस्तो प्रेम ईश्‍वरीय भयसित कसरी मेल खान्छ? वास्तवमा, यी दुईबीच एकदमै नजिकको सम्बन्ध छ। भजनरचयिताले यस्तो लेखे: “उहाँसँग डराउनेहरूसँगनै परमप्रभुको घनिष्ठता रहन्छ।”—भजन २५:१४.

बलियो र बुद्धिमानी बुबाप्रति एक जना बच्चाले राख्ने आदर र श्रद्धालाई विचार गर्नुहोस्‌। यस्तो आदर र श्रद्धासँगसँगै बुबाले देखाउने प्रेमलाई बच्चाले मूल्यवान्‌ ठान्‍नेछ। त्यस बच्चाले बुबामाथि भरोसा गर्नेछ र डोऱ्‍याइको निम्ति बुबाकहाँ जानेछ किनभने त्यस्तो डोऱ्‍याइले आफ्नै फाइदा हुनेछ भनी तिनी विश्‍वस्त हुन्छन्‌। त्यसै गरी, हामी पनि यहोवाको भय मान्छौं र उहाँलाई प्रेम गर्छौं भने, हामीले उहाँको निर्देशन पालन गर्नेछौं अनि यसले हाम्रै फाइदा हुन्छ। इस्राएलीहरूको सन्दर्भमा यहोवाले के भन्‍नुभयो विचार गर्नुहोस्‌: “मेरो डर मान्‍ने र मेरा सबै कुरा पालन गर्ने तिमीहरूका हृदय भएता हुनेथियो! तिनीहरू र तिनीहरूका सन्तानको भलो हुनेथियो!”—व्यवस्था ५:२९.

हो, ईश्‍वरीय भयले हामीलाई बन्धनमा होइन तर स्वतन्त्रतातर्फ र दुःखमा होइन तर आनन्दतर्फ डोऱ्‍याउँछ। यशैयाले येशूबारे यस्तो भविष्यवाणी गरे: “परमप्रभुको भयमानै उहाँको आनन्द हुनेछ।” (यशैया ११:३) अनि भजनरचयिताले यस्तो लेखे: “परमप्रभुको प्रशंसा गर। त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ, र उहाँका आज्ञाहरूमा प्रसन्‍न हुन्छ।”—भजन ११२:१.

स्पष्टतः हामीले उहाँलाई चिनेकै छैनौं भने हामीले न त उहाँको भय राख्नसक्छौं न उहाँलाई प्रेम नै गर्नसक्छौं। त्यसकारण, बाइबल अध्ययन गर्नु महत्त्वपूर्ण छ। त्यस्तो अध्ययनले हामीलाई परमेश्‍वरको व्यक्‍तित्व बुझ्न र उहाँको निर्देशन पालन गर्दा हुने लाभको मूल्यांकन गर्न मदत गर्छ। यहोवासँग घनिष्ठ हुँदै जाँदा हामी उहाँको इच्छाअनुसार गर्न चाहन्छौं र यसबाट हाम्रै लाभ हुन्छ भनी थाह पाएर उहाँको आज्ञा पालन गर्न उत्प्रेरित भएका छौं।—१ यूहन्‍ना ५:३.

आफू सही मार्गमा हिंडिरहेको छु भनेर थाह पाउनु आनन्दको कुरा हो। सुरुमा उल्लेख गरिएको बिललाई पनि त्यस्तै लाग्यो। तिनले हालै यसो भने: “मैले बाइबल अध्ययन गरेको नौ वर्ष भइसक्यो र यहोवासँगको सम्बन्ध अझ घनिष्ठ भएको छ। मैले सुरुमा अनुभव गरेको आनन्द साँच्चै आनन्ददायी जीवनको मार्गमा परिणत भएको छ। म जीवनबारे सधैं सकारात्मक विचारधारा राख्ने गर्छु। मेरो दिनचर्या अर्थपूर्ण गतिविधिले भरिएका छन्‌, विना उद्देश्‍यको मोजमस्तीले होइन। मलाई अब यहोवा वास्तविक लाग्छ र उहाँ मेरो भलो चाहनुहुन्छ भनेर म ढुक्क छु।”

यसपछिको लेखमा हामी यहोवाको ज्ञान आफ्नो जीवनमा लागू गर्नेहरूले कसरी आनन्द र लाभहरू पाउँछन्‌, त्यो छलफल गर्नेछौं।

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वरसँग घनिष्ठ हुनुको अर्थ हामीले उहाँलाई प्रेम गर्नु र उहाँको भय मान्‍नु दुवै हो

[पृष्ठ ६-मा भएको चित्र]

येशूले खुसीसाथ यहोवाको भय राख्नुहुन्थ्यो