सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको ज्ञानमा आनन्दित हुनुहोस्‌

यहोवाको ज्ञानमा आनन्दित हुनुहोस्‌

यहोवाको ज्ञानमा आनन्दित हुनुहोस्‌

“धन्य हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌।”–लूका ११:२८.

१. यहोवाले मानिसजातिलाई कहिलेदेखि जानकारी प्रदान गर्न थाल्नुभयो?

 यहोवा मानिसजातिलाई प्रेम गर्नुहुन्छ र तिनीहरूको हितमा गहिरो चासो लिनुहुन्छ। अतः उहाँले तिनीहरूलाई जानकारी प्रदान गर्नु कुनै अचम्मको कुरा होइन। यस्तो जानकारी दिने प्रक्रिया अदनको बगैंचामा सुरु भयो। उत्पत्ति ३:८ अनुसार (नयाँ संशोधित संस्करण) एक चोटि आदम र हव्वाले “साँझपख . . . [यहोवाको] सोर सुने।” सायद यहोवाले दिनहुँ यतिबेला आदमसँग कुरा गर्नुहुन्थ्यो होला भनी कसैकसैले सुझाउ दिएका छन्‌। कुरा जेसुकै होस्‌, परमेश्‍वरले प्रथम मानवलाई निर्देशन दिन मात्र होइन तर तिनका जिम्मेवारीहरू राम्ररी वहन गर्न के गर्नुपर्छ, त्यसबारे सिकाउन पनि समय निकाल्नुभएको थियो भनी बाइबलले स्पष्ट पार्छ।—उत्पत्ति १:२८-३०.

२. प्रथम मानव दम्पतीले कसरी आफूलाई यहोवाको डोऱ्‍याइबाट अलग गरे र नतिजा कस्तो भयो?

यहोवाले आदम र हव्वालाई जीवन दिनुका साथै पशुहरू र सारा पृथ्वीमाथि अधिकार गर्ने आदेश दिनुभयो। तर एउटा कुरा भने निषेध गर्नुभएको थियो। त्यो हो, असल र खराबको ज्ञान दिने रूखको फल खानु हुँदैनथ्यो। शैतानको कुरा सुनेर आदम र हव्वाले परमेश्‍वरको आज्ञा उल्लंघन गरे। (उत्पत्ति २:१६, १७; ३:१-६) तिनीहरूले आफ्नो लागि सही र गलत के हो त्यो आफै निर्णय गर्ने स्वतन्त्रता रोजे। त्यसो गरेर तिनीहरूले मायालु सृष्टिकर्ताबाट पाउने डोऱ्‍याइबाट आफूलाई अलग्याउने मूर्ख कदम चाले। तिनीहरू र तिनीहरूका भावी सन्तानको निम्ति यसको नतिजा पीडादायी साबित भयो। आदम र हव्वा बूढाबूढी भएर अन्ततः मरे तर पुनरुत्थानको आशा पाएनन्‌। तिनीहरूको सन्तान पापी भए र फलतः तिनीहरू मर्नुपऱ्‍यो।—रोमी ५:१२.

३. किन यहोवाले कयिनलाई जानकारी दिन छोड्‌नुभएन र कयिनले कस्तो प्रतिक्रिया देखाए?

अदनमा भएको विद्रोहको बावजूद यहोवाले मानिसजातिलाई जानकारी प्रदान गर्न छोड्‌नुभएन। आदम र हव्वाको जेठो छोरा कयिनले पापको सामु हार स्वीकार्ने खतरा थियो। तिनले दुःख आइपर्ने बाटो अपनाइरहेका छन्‌ भनी यहोवाले चेताउनी दिनुका साथै “असल” गर्न सल्लाह दिनुभयो। कयिनले यो मायालु सल्लाह सुन्‍न इन्कार गरे र आफ्नो भाइको हत्या गरे। (उत्पत्ति ४:३-८) यसप्रकार, प्रथम तीन मानवले तिनीहरूलाई जीवन दिनुहुने परमेश्‍वरको स्पष्ट निर्देशन स्वीकारेनन्‌, जसले आफ्ना जनहरूको लाभ होस्‌ भन्‍ने हेतुले नै निर्देशन दिनुहुन्छ। (यशैया ४८:१७) यो घटना यहोवाको लागि कत्ति निराशाजनक भयो होला!

यहोवाले पुरातन समयका विश्‍वासी पुरुषहरूसामु आफूलाई प्रकट गर्नुहुन्छ

४. आदमको सन्तानको सन्दर्भमा यहोवा कुन कुराबारे विश्‍वस्त हुनुहुन्थ्यो र त्यस कुरालाई मनमा राख्दै उहाँले कस्तो आशाको सन्देश घोषणा गर्नुभयो?

मानिसहरूलाई जानकारी दिन बन्द गर्ने उहाँसित पूर्ण अधिकार भए तापनि यहोवाले त्यसो गर्नु भएन। आदमको कोही न कोही सन्तानले बुद्धिमानीपूर्वक उहाँको निर्देशन पालन गर्नेछ भनी उहाँ विश्‍वस्त हुनुहुन्थ्यो। उदाहरणका लागि, आदम र हव्वालाई सजाय सुनाउनुहुँदा यहोवाले एउटा “सन्तान[बारे]” भविष्यवाणी गर्नुभयो र सर्प अर्थात्‌ शैतान तथा दियाबलले उक्‍त सन्तानको विरोध गर्ने थियो। समयमा शैतानको शिर कुच्याइने थियो। (उत्पत्ति ३:१५) यो भविष्यवाणी ‘परमेश्‍वरको वचन सुन्‍ने र पालन गर्ने’ सबैको निम्ति आनन्ददायी सन्देश थियो।—लूका ११:२८.

५, ६. सा.यु. प्रथम शताब्दीभन्दा अघि यहोवाले आफ्ना जनहरूलाई कसरी जानकारी प्रदान गर्नुभयो र यसले तिनीहरूलाई कसरी लाभ पुऱ्‍यायो?

यहोवाले पुरातन समयका विश्‍वासी कुलपिताहरू जस्तै, नूह, अब्राहाम, इसहाक, याकूब र अय्यूबलाई पनि आफ्नो इच्छाबारे जानकारी दिनुभयो। (उत्पत्ति ६:१३; प्रस्थान ३३:१; अय्यूब ३८:१-३) पछि, उहाँले मोशामार्फत इस्राएल राष्ट्रलाई व्यवस्थाको सम्पूर्ण संग्रह दिनुभयो। मोशालाई दिइएको व्यवस्थाबाट तिनीहरू थुप्रै तरिकामा लाभान्वित भए। यो व्यवस्था पालन गर्दा इस्राएल राष्ट्र, अरू राष्ट्रहरूबाट अलग्गै छुट्याइएको परमेश्‍वरको विशेष जाति भयो। व्यवस्था पालन गरेको खण्डमा परमेश्‍वरले तिनीहरूलाई भौतिक तवरमा मात्र होइन तर आध्यात्मिक तवरमा पनि आशिष्‌ दिने आश्‍वासन दिनुभयो। यसरी तिनीहरू पूजाहारीहरूको राज्य अर्थात्‌ पवित्र जाति हुने थिए। त्यस व्यवस्थामा भोजन र सरसफाइबारे समेत नियम थियो जसले स्वस्थ रहन मदत गर्थ्यो। तथापि, अनाज्ञाकारी भएको खण्डमा हुनसक्ने दुःखलाग्दो नतिजाबारे पनि यहोवाले चेताउनी दिनुभयो।—प्रस्थान १९:५, ६; व्यवस्था २८:१-६८.

समयको अन्तरालमा, बाइबलमा अन्य प्रेरित पुस्तकहरू पनि थपिए। यहोवाले राष्ट्र तथा मानिसहरूसित कस्तो व्यवहार गर्नुभयो भन्‍ने कुरा ऐतिहासिक विवरणहरूले बताए। कवितात्मक शैलीमा लेखिएका पुस्तकहरूले अति सुन्दर ढंगमा उहाँका गुणहरू वर्णन गरे। भविष्यसूचक पुस्तकहरूले भविष्यमा परमेश्‍वरको इच्छा कसरी पूरा हुनेछ भनी भविष्यवाणी गरे। पुरातन समयका विश्‍वासी पुरुषहरूले होसियारीसाथ प्रेरित लेखोटहरू अध्ययन गर्नुका साथै त्यसलाई व्यवहारमा पनि उतारे। तिनीहरूमध्ये एक जनाले यस्तो लेखे: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।” (भजन ११९:१०५) सुन्‍न इच्छुकहरूको निम्ति यहोवाले शिक्षा र ज्योतिको प्रबन्ध गर्नुभयो।

ज्योति चम्कँदै जान्छ

७. येशूले चमत्कारहरू गर्नुभए तापनि उहाँ मुख्यतया केको लागि चिनिनुहुन्थ्यो र किन?

प्रथम शताब्दीतिर आइपुग्दा यहूदी धार्मिक समूहहरूले व्यवस्थामा मानव परम्पराहरू थपथाप गरिसकेका थिए। व्यवस्थाको गलत प्रयोग गरियो र यो ज्योतिको स्रोत हुनुको सट्टा ती रीतिथितिको कारण बोझ भयो। (मत्ती २३:२-४) तथापि, सा.यु. २९ मा, मसीहको रूपमा येशू देखा पर्नुभयो। उहाँ आउनुको उद्देश्‍य मानिसजातिको खातिर आफ्नो जीवन अर्पण गर्नु मात्र थिएन तर ‘सत्यको गवाही’ दिनु पनि थियो। उहाँले चमत्कारहरू गर्नुभए तापनि उहाँ मुख्यतया “गुरुज्यू[को]” रूपमा चिनिनुहुन्थ्यो। आध्यात्मिक अन्धकारमा परेका मानिसहरूको मनमा उहाँको शिक्षा ज्योतिझैं चम्किन्थ्यो। येशूले यसो भन्‍नु उपयुक्‍त थियो: “म संसारको ज्योति हुँ।”—यूहन्‍ना ८:१२; ११:२८; १८:३७.

८. सा.यु. प्रथम शताब्दीमा कुन प्रेरित पुस्तकहरू लेखिए र यसबाट प्रारम्भिक मसीहीहरू कसरी लाभान्वित भए?

पछि येशूको जीवनीबारे सुसमाचारको चारवटा पुस्तक अनि येशूको मृत्युपछि मसीहीधर्म कसरी फैलियो भन्‍ने इतिहास बताउन प्रेरितको पुस्तक थपियो। त्यसका साथै येशूका चेलाहरूले लेखेका प्रेरित पत्रहरूका साथै भविष्यसूचक प्रकाशको पुस्तक पनि थियो। यी लेखोटहरू तथा हिब्रू धर्मशास्त्र मिलेर सिंगो बाइबल बन्यो। यस प्रेरित पुस्तकालयको मदतद्वारा मसीहीहरू “सबै पवित्र जनहरूसँग” सत्यको ‘चौड़ाइ, लमाइ, उँचाइ र गहराइ के रहेछ सो बुझेर बलिया हुनसक्ने भए।’ (एफिसी ३:१४-१८) तिनीहरूले “ख्रीष्टको मन” हासिल गर्नसक्थे। (१ कोरिन्थी २:१६) यद्यपि, ती प्रारम्भिक मसीहीहरूले यहोवाको उद्देश्‍यका सबै पक्षहरू पूर्णतया बुझेनन्‌। प्रेरित पावलले सँगी विश्‍वासीहरूलाई यस्तो लेखे: “अहिले हामी ऐनामा धमिलोसँग देख्छौं।” (१ कोरिन्थी १३:१२) त्यस्तो ऐनामा धमिलो छायाँ मात्र देखिनसक्छ तर सबै कुरा सफा देखिंदैन। त्यसै गरी, परमेश्‍वरको वचन पनि अझ स्पष्ट बुझ्न सकिएको थिएन।

९. “आखिरी दिनमा” कस्तो ज्योति चम्किएको छ?

आज हामी “आखिरी दिन” भनिने “डरलाग्दो समयमा” बाँचिरहेका छौं। (२ तिमोथी ३:१) यतिबेला “साँचो ज्ञान प्रशस्त हुनेछ” भनी अगमवक्‍ता दानियलले भविष्यवाणी गरे। (दानियल १२:४, NW) तसर्थ, मानिसहरूलाई जानकारी प्रदान गर्नुहुने महान्‌ परमेश्‍वर यहोवाले निष्कपट हृदय भएकाहरूलाई आफ्नो वचनको अर्थ बुझ्न मदत गर्नुभएको छ। लाखौं मानिसहरूले येशू ख्रीष्ट सन्‌ १९१४ मा अदृश्‍य स्वर्गमा विराजमान हुनुभयो भनी बुझेका छन्‌। अब चाँडै उहाँले यस पृथ्वीमा भएका सबै दुष्टता हटाउनुभएर विश्‍वव्यापी प्रमोदवन बनाउनुहुनेछ भनेर पनि तिनीहरूले बुझेका छन्‌। राज्य सुसमाचारको यो महत्त्वपूर्ण पक्ष अहिले संसारभरि प्रचार भइरहेको छ।—मत्ती २४:१४.

१०. शताब्दीयौंको दौडान मानिसहरूले यहोवाको सल्लाहप्रति कस्तो प्रतिक्रिया देखाएका छन्‌?

१० हो, इतिहासभरि यहोवाले यस पृथ्वीका मानिसहरूलाई आफ्नो इच्छा र उद्देश्‍यबारे जानकारी दिनुभएको छ। ईश्‍वरीय बुद्धि सुनेर त्यसलाई जीवनमा लागू गर्ने अनि त्यसो गर्दा आशिष्‌ पाउने थुप्रै मानिसबारे बाइबलमा रेकर्ड गरिएको छ। परमेश्‍वरको मायालु सल्लाह इन्कार गरेर आदम र हव्वाको दुःखदायी मार्गमा चल्ने व्यक्‍तिहरूबारे पनि बाइबलले बताउँछ। येशूले दुइटा लाक्षणिक बाटोबारे बताउनुहुँदा यस अवस्थालाई प्रस्ट पार्नुभयो। तीमध्ये एउटा बाटोले विनाशतर्फ डोऱ्‍याउँछ। परमेश्‍वरको वचन तिरस्कार गरेर चौडा र फराकिलो बाटोमा हिंड्‌नेहरू थुप्रै छन्‌। अर्को बाटोले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। यो बाटो साँघुरो भए तापनि थोरै मानिसहरूले मात्र बाइबललाई परमेश्‍वरको वचनको रूपमा स्वीकारेर यसैअनुरूप जीवन बिताइरहेका छन्‌।—मत्ती ७:१३, १४.

आफूसँग जे छ, त्यसको लागि कृतज्ञ

११. बाइबलबारे हाम्रो ज्ञान र विश्‍वास कुन कुराको प्रमाण हो?

११ के तपाईं जीवनको बाटो रोज्नेहरूमध्ये हुनुहुन्छ? यदि हुनुहुन्छ भने, निस्सन्देह तपाईं यही बाटोमै हिंड्‌न चाहनुहुन्छ। तपाईंले यसो कसरी गर्न सक्नुहुन्छ? बाइबलका सत्य कुराहरू थाह पाएर जीवनमा प्राप्त गर्नुभएका आशिष्‌हरूबारे कृतज्ञतासाथ नियमित तवरमा मनन गर्नुहोस्‌। तपाईंले सुसमाचार सुन्‍नु नै परमेश्‍वरको आशिष्‌ प्राप्त गर्नुभएको प्रमाण हो। यो कुरा येशूले आफ्नो पितालाई प्रार्थना गर्नुहुँदा संकेत गर्नुभयो: “हे पिता स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान र समझदारबाट छिपाउनुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो।” (मत्ती ११:२५) जालहारी र महसुल उठाउनेहरूले येशूको शिक्षा बुझे तर उच्च शिक्षा हासिल गरेका धर्मगुरुहरूले बुझ्न सकेनन्‌। येशूले अझै यसो भन्‍नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।” (यूहन्‍ना ६:४४) यदि तपाईंले बाइबल बुझ्न थाल्नुभएको छ र यसका शिक्षाहरूमा विश्‍वास गर्नुका साथै ती पालन गर्नुहुन्छ भने, यहोवाले तपाईंलाई आफूतिर खिच्नुभएको प्रमाण हो। यसो गर्नुभएकोमा हामी आनन्दित हुनसक्छौं।

१२. कुन तरिकामा बाइबलले हामीलाई ज्योति दिन्छ?

१२ परमेश्‍वरको वचनमा पाइने सच्चाइले स्वतन्त्र तुल्याउँछ र ज्योति प्रदान गर्छ। बाइबलको ज्ञानअनुसार जीवन बिताउनेहरू अन्धविश्‍वास, झूटा शिक्षा र लाखौं मानिसहरूको जीवनलाई प्रभाव पारिरहेको अज्ञानताबाट स्वतन्त्र हुन्छन्‌। उदाहरणका लागि, मरिसकेका मानिसहरूको अवस्थाबारे सत्य कुरा थाह पाएपछि मरिसकेकाहरूले हामीलाई हानि पुऱ्‍याउला वा हाम्रा प्रिय मृत जनहरूले दुःख भोगिरहेका छन्‌ कि भन्‍ने डरबाट मुक्‍त हुन्छौं। दुष्ट स्वर्गदूतहरूबारे सत्य कुरा थाह पाएपछि प्रेतवादका खतराहरूबाट बच्ने मदत पाउँछौं। मृत्युको कारण आफ्नो प्रिय जन गुमाउनु परेकाहरूको लागि पुनरुत्थानको शिक्षा एकदमै सान्त्वनादायी छ। (यूहन्‍ना ११:२५) बाइबल भविष्यवाणीहरूले हामी समयको रफ्तारमा कहाँ छौं भनेर देखाउँछ र भविष्यबारे परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरूमा हामीलाई विश्‍वस्त गराउँछ। सधैंभरि बाँच्ने हाम्रो आशालाई पनि त्यसले अझ बलियो बनाउँछ।

१३. परमेश्‍वरको वचन पालन गर्दा हामी कसरी शारीरिक तवरमा लाभ उठाउँछौं?

१३ बाइबलका ईश्‍वरीय सिद्धान्तहरूले हामीलाई शारीरिक तवरमा फाइदा हुने तरिकामा बाँच्न पनि सिकाउँछ। उदाहरणका लागि, हामी आफ्नो शरीरलाई दूषित बनाउने बानीहरू जस्तै, धूम्रपान वा अन्य लागूपदार्थहरूको दुर्व्यसनबाट अलग रहन सिक्छौं। हामी मद्यपानको दुर्व्यसनबाट पनि अलग रहन्छौं। (२ कोरिन्थी ७:१) परमेश्‍वरका नैतिक नियमहरू पालन गर्दा यौनजन्य रोगहरूबाट सुरक्षित रहन्छौं। (१ कोरिन्थी ६:१८) रूपैयाँपैसालाई प्रेम नगर्ने परमेश्‍वरको सल्लाह पालन गर्दा हामी आफ्नो मनोशान्ति गुमाउँदैनौं किनभने थुप्रै मानिसले रूपैयाँपैसाको दौडधूपमा आफ्नो मनोशान्ति गुमाएका छन्‌। (१ तिमोथी ६:१०) तपाईंले कसरी आफ्नो जीवनमा परमेश्‍वरको वचन लागू गरेर शारीरिक तवरमा लाभ उठाउनुभएको छ?

१४. पवित्र आत्माले हाम्रो जीवनमा कस्तो प्रभाव पार्छ?

१४ परमेश्‍वरको वचनअनुरूप जीवन बितायौं भने, हामीले यहोवाको पवित्र आत्मा पाउँछौं। हामी कृपा र अनुकम्पा जस्ता आकर्षक गुणहरू झल्काउने ख्रीष्टको जस्तो व्यक्‍तित्व विकास गर्छौं। (एफिसी ४:२४, ३२) परमेश्‍वरको आत्माले हामीमा प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयमजस्ता गुणहरू विकास गर्न पनि मदत गर्छ। (गलाती ५:२२, २३) यी गुणहरूले परिवारका सदस्यहरूलगायत अरूसँग आनन्दमय अनि अर्थपूर्ण सम्बन्ध विकास गर्न मदत गर्छ। साहसका साथ कठिन परिस्थितिहरूको सामना गर्न भित्री बल प्राप्त गर्छौं। पवित्र आत्माले तपाईंको जीवनमा कस्तो सकारात्मक असर पारेको छ, के तपाईंले अनुभव गर्नुभएको छ?

१५. परमेश्‍वरको इच्छाअनुरूप जीवन बिताउँदै जाँदा हामी कसरी लाभ उठाउँछौं?

१५ परमेश्‍वरको इच्छाअनुरूप जीवन बिताएर हामी यहोवासँग आफ्नो सम्बन्ध बलियो बनाउँछौं। उहाँले हाम्रो कुरा बुझ्नुका साथै प्रेम गर्नुहुन्छ भनी हामी विश्‍वस्त हुनेछौं। कठिन परिस्थितिको दौडान उहाँले हामीलाई सम्हाल्नुहुन्छ भनी हामी अनुभवबाट सिक्छौं। (भजन १८:१८) उहाँले हाम्रो प्रार्थना साँच्चै सुन्‍नुहुन्छ भनी हामीले महसुस गरेका छौं। (भजन ६५:२) हामी उहाँको डोऱ्‍याइमा भरपर्न सिक्छौं र यसले हाम्रै भलाइ गर्नेछ भनी विश्‍वस्त हुन्छौं। अनि परमेश्‍वरले तोकिएको समयमा आफ्ना विश्‍वासी जनहरूलाई सिद्ध बनाउनुका साथै अनन्त जीवनको आशिष्‌ दिनुहुनेछ भन्‍ने अद्‌भुत आशा पाएका छौं। (रोमी ६:२३) चेला याकूबले यस्तो लेखे: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” (याकूब ४:८) उहाँको नजिक हुँदा यहोवासँगको आफ्नो सम्बन्ध बलियो हुँदै गएको के तपाईंले अनुभव गर्नुभएको छ?

अतुलनीय धन

१६. प्रथम शताब्दीका केही मसीहीहरूले कस्ता परिवर्तनहरू गरे?

१६ पावलले प्रथम शताब्दीका आत्म-अभिषिक्‍त मसीहीहरूलाई तिनीहरू कुनै समय करनी गर्ने, व्यभिचारी, समलिंगी, चोर, लोभी, मतवाला, गाली गर्ने र लुटाहाहरू थिए भनी सम्झाए। (१ कोरिन्थी ६:९-११) बाइबलको सत्य सिकेपछि तिनीहरूमा आमूल परिवर्तन आयो र तिनीहरू “पखालिए।” स्वतन्त्र तुल्याउने बाइबलको सत्य नसिक्नुभएको भए तपाईंको जीवन कस्तो हुने थियो होला, कल्पना गर्नुहोस्‌ त। साँच्चै सत्यलाई अतुलनीय धन भन्‍नसक्छौं। यहोवाले हामीलाई जानकारी प्रदान गर्नुभएकोमा हामी साह्रै खुसी छौं!

१७. यहोवाका साक्षीहरूले कसरी मसीही सभाहरूमा आध्यात्मिक भोजन प्राप्त गरेका छन्‌?

१७ यसको अतिरिक्‍त, बहुजातीय भ्रातृत्वको कारण अनुभव गरेको आनन्दलाई विचार गर्नुहोस्‌! “विश्‍वासी र बुद्धिमान दास[ले]” ठीकठीक समयमा आध्यात्मिक भोजन दिन्छ। यसमा विभिन्‍न भाषाका बाइबल, पत्रपत्रिका र अन्य साहित्यहरू समावेश छन्‌। (मत्ती २४:४५-४७) प्रायजसो मुलुकमा सन्‌ २००० को दौडान, मण्डलीका सभाहरूमा यहोवाका साक्षीहरूले हिब्रू धर्मशास्त्रका आठवटा पुस्तकका मुख्य बुँदाहरू पुनरावृत्ति गरे। इन्साइट अन द स्क्रिप्चर्स-मा छलफल गरिएका ४० जना बाइबल पात्रबारे तिनीहरूले मनन गरे। तिनीहरूले आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तकको झन्डै एक चौथाइ र पे अटेन्सन टु डानियल्स प्रोफेसी! पुस्तक पूरै अध्ययन गरे। प्रहरीधरहरा-बाट ५२ वटा अध्ययन लेखहरूका अलावा ३६ वटा अतिरिक्‍त लेखहरू छलफल गरियो। यसबाहेक, यहोवाका जनहरूले हाम्रो राज्य सेवकाई-का १२ वटा अंक र विभिन्‍न बाइबल विषयमा हप्तैपिच्छे हुने जन भाषणबाट पनि पोषण पाए। हाम्रोलागि आध्यात्मिक ज्ञानको कस्तो ठूलो भण्डार प्रबन्ध गरिएको छ!

१८. मसीही मण्डलीबाट हामीले कुन तरिकामा मदत पाउँछौं?

१८ विश्‍वभरि ९१,००० भन्दा बढी मण्डलीले सभा तथा सरसंगतिमार्फत समर्थन र प्रोत्साहन प्रदान गर्छन्‌। साथै, हामीलाई आध्यात्मिक तवरमा मदत गर्न इच्छुक परिपक्व सँगी मसीहीहरूको सहयोगको पनि हामी मूल्यांकन गर्छौं। (एफिसी ४:११-१३) हो, सत्यको ज्ञान प्राप्त गरेर हामीले धेरै लाभ उठाएका छौं। यहोवालाई चिन्‍नु र उहाँको सेवा गर्न पाउनु ठूलो आनन्दको कुरा हो। भजनरचयिताका यी शब्दहरू कत्ति सत्य छन्‌: “ती मानिसहरू सुखी हुन्छन्‌, जसका परमेश्‍वर परमप्रभुनै हुनुहुन्छ।”—भजन १४४:१५.

के तपाईंले सम्झनुभएको छ ?

• मसीहीपूर्व समयमा यहोवाले कसलाई जानकारी प्रदान गर्नुभयो?

• प्रथम शताब्दीमा आध्यात्मिक ज्योति कसरी चम्कियो? अनि अहिले नि?

• यहोवाको ज्ञानअनुसार जीवन बिताउँदा कस्ता आशिष्‌हरू पाउँछौं?

• परमेश्‍वरको ज्ञान पाएकोमा हामी किन आनन्दित छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ८, ९-मा भएका चित्रहरू]

यहोवाले मोशा, नूह र अब्राहामलाई आफ्नो इच्छा बताउनुभयो

[पृष्ठ ९-मा भएको चित्र]

हाम्रो समयमा, यहोवाले आफ्नो वचनमा ज्योति चम्काउनुभएको छ

[पृष्ठ १०-मा भएका चित्रहरू]

हामीले आफ्नो बहुजातीय भ्रातृत्वमा पाएका आशिष्‌हरूबारे विचार गर्नुहोस्‌!