सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अर्जन—तिनको शिक्षाले चर्चलाई कसरी असर गऱ्‍यो?

अर्जन—तिनको शिक्षाले चर्चलाई कसरी असर गऱ्‍यो?

अर्जन—तिनको शिक्षाले चर्चलाई कसरी असर गऱ्‍यो?

“प्रेरितहरू पश्‍चात्‌ चर्चका सबैभन्दा प्रमुख नेता।” यसरी ल्याटिन भल्गेट बाइबलका अनुवादक जेरोमले तेस्रो शताब्दीका धर्मविद्‌ अर्जनको प्रशंसा गरे। तर सबैले अर्जनलाई यस्तो सम्मान दिएनन्‌। कोहीकोही तिनलाई धर्म विरोधको बोट उमार्ने दुष्ट जराको रूपमा लिन्छन्‌। सत्रौं शताब्दीका लेखकअनुसार अर्जनका समालोचकहरूले निर्धक्क हुँदै यसो भने: “सामान्यतया तिनको शिक्षा वाहियात अनि हानिकारक छ, संसारमाथि ओकलेको सर्पको घातक विषजस्तो।” तिनको मृत्यु भएको झन्डै तीन शताब्दीपछि अर्जनलाई आधिकारिक रूपमा धर्म विरोधी घोषित गरियो।

किन अर्जन सराहना र वैमनस्यता दुवैको स्रोत भए? चर्चका शिक्षाहरूको विकासमा तिनले कस्तो प्रभाव पारे?

चर्चका लागि जोसिला

अर्जनको जन्म सा.यु. १८५ मा मिस्रको अलेक्सजान्ड्रिया शहरमा भएको थियो। तिनले युनानी साहित्यमा राम्रो शिक्षादीक्षा पाएका थिए तर तिनका बुबा लीओनीदिसले तिनलाई धर्मशास्त्र पढ्‌न पनि त्यत्तिकै कर गरे। अर्जन १७ वर्षको छँदा, रोमी सम्राटले धर्म परिवर्तन गर्नु अपराध हो भनेर घोषणा गरे। अर्जनका बुबा थुनामा परे किनकि तिनले मसीहीधर्म अपनाएका थिए। जवानीको जोसमा अर्जनले आफ्नो बुबालाई जेलमा साथ दिने र शहीद हुने अठोट गरे। यो कुरा थाह पाएर अर्जनकी आमाले, अर्जनले घर नछोडोस्‌ भनेर तिनका जम्मै लुगाफाटा लुकाइदिए। पत्राचार गरेर अर्जनले आफ्नो बुबालाई यस्तो आग्रह गरे: “हाम्रो चिन्ता गरेर आफ्नो मन नबदल्नुहोस्‌।” लीओनीदिस अटल रहे र तिनी मारिए। फलतः तिनको परिवार बिचल्लीमा पऱ्‍यो। तर अर्जनले युनानी साहित्य पढाएर आफ्नी आमा र छ जना भाइबहिनीलाई पाल्न सक्नेसम्मको शिक्षा हासिल गरिसकेका थिए।

सम्राटको उद्देश्‍य मसीहीधर्मलाई फैलनबाट रोक्नु थियो। तिनको आदेशको तारो चेलाहरू मात्र नभई गुरुहरू पनि भएकोले भएभरका मसीही धार्मिक शिक्षकहरू अलेक्सजान्ड्रिया छोडेर भागे। तर जब धार्मिक निर्देशन खोजिरहेका गैरमसीहीहरूले जवान अर्जनलाई मदतका लागि गुहारे, तिनले पनि यसलाई परमेश्‍वरबाट हुकुम ठानी सहर्ष स्वीकारे। तिनका थुप्रै विद्यार्थी शहीद भए भने तीमध्ये कतिपयले त आफ्नो शिक्षा पूरा गर्नसमेत पाएका थिएनन्‌। आफ्ना विद्यार्थीहरू न्यायकर्तासामु उभिनुपर्दा, थुनामा पर्दा वा मारिनै लागेका बेलामा समेत अर्जनले व्यक्‍तिगत खतरा मोल्दै उनीहरूलाई खुल्लमखुल्ला प्रोत्साहन दिए। चौथो शताब्दीका इतिहासकार युसिबियसको रिपोर्टअनुसार विद्यार्थीहरूलाई मृत्यु दण्ड दिन लगिंदै गर्दा अर्जनले “उनीहरूलाई बडो साहसी हुँदै म्वाइ खाएर सलामी चढाएका थिए।”

अर्जन थुप्रै गैरमसीहीको क्रोधको सिकार बन्‍नुपऱ्‍यो। किनकि उनीहरू तिनलाई आफ्ना मित्रहरूको धर्म परिवर्तन र हत्याका लागि जिम्मेवार ठान्थे। तिनी आफै पनि मुस्किलले मात्र हूलदंगाको सिकार हुन वा हिंस्रक मृत्यु भोग्नबाट बचेका थिए। आफ्ना शत्रुहरूलाई छल्दै ठाउँठाउँमा भाग्न बाध्य भए तापनि अर्जनले मानिसहरूलाई सिकाउन छाडेनन्‌। यस्तो साहस र समर्पणले गर्दा अलेक्सजान्ड्रियाका बिशप दीमीत्रीयस प्रभावित नभई रहन सकेनन्‌। तसर्थ, भर्खरै १८ वर्ष पुगेका अर्जनलाई दीमीत्रीयसले अलेक्सजान्ड्रियामा धार्मिक निर्देशन दिने स्कूलको प्रमुख नियुक्‍त गरे।

अन्ततः अर्जन उल्लेखनीय शास्त्रज्ञ र धुरन्धर लेखक भए। कसैकसैको भनाइअनुसार तिनले ६,००० पुस्तक लेखे, जुन बढाइचढाइ गरेर भनिएको हुनसक्छ। तिनी हिब्रू धर्मशास्त्रका ५० खण्डे विशाल ग्रन्थ हेक्साप्ला-का लेखको रूपमा प्रसिद्ध छन्‌। अर्जनले हेक्साप्ला-लाई छ पंक्‍तिमा विभाजित गरे। तिनले पहिलो पंक्‍तिमा हिब्रू र अरामी पद राखे। त्यसै गरी, दोस्रो पंक्‍तिमा उक्‍त पदको युनानी अनुवाद, तेस्रो पंक्‍तिमा अक्विलाको युनानी अनुवाद, चौथो पंक्‍तिमा सिमकसको युनानी अनुवाद, पाँचौं पक्‍तिमा युनानी सेप्टुआजिन्ट-को अनुवाद, जसलाई अर्जनले हिब्रू पदहरूसित अझ दुरुस्त मिल्ने गरी संशोधन गरेका थिए र छैटौं पंक्‍तिमा थीअडोटनको युनानी अनुवाद राखे। बाइबलविद्‌ जोन हर्टका अनुसार, “यसरी विभिन्‍न पदहरू समाहित गरेर अर्जनले सेप्टुआजिन्ट मात्र पढ्‌न पाएका युनानी पाठकहरूलाई अनौठा वा गलतफहमीको सिकार बनाउन सक्ने युनानी पदहरूको अर्थ स्पष्ट पार्ने कोसिस गरे।”

‘लेखिएका कुराहरूको परिधिबाहिर जाँदै’

तथापि, तेस्रो शताब्दीको गन्जागोल धार्मिक अवस्थाले धर्मशास्त्र सिकाउने अर्जनको तरिकामा गहिरो असर पाऱ्‍यो। मसीहीजगत्‌ शैशवकालमै भए तापनि यो गैरशास्त्रीय विश्‍वासहरूद्वारा प्रदूषित भइसकेको थियो र छरपस्ट भएका चर्चहरूले भिन्‍नाभिन्‍नै शिक्षा सिकाइरहेका थिए।

अर्जनले यस्ता केही गैरशास्त्रीय शिक्षा ग्रहण गरे र त्यसलाई प्रेरितहरूको शिक्षा भने। तिनीले अरू कुराहरूमा आफूखुसी अनुमान पनि लगाए। त्यतिखेर तिनका थुप्रै विद्यार्थीले समकालीन दार्शनिक विवादहरूसित संघर्ष गरिरहेका थिए। तिनीहरूलाई सघाउन अर्जनले विभिन्‍न दार्शनिक शिक्षाहरूको होसियारीसाथ अध्ययन गरे, जसले तिनका जवान विद्यार्थीहरूको मस्तिष्कमा गहिरो छाप पाऱ्‍यो। तिनले आफ्ना विद्यार्थीका दर्शनसम्बन्धी प्रश्‍नहरूको सन्तोषजनक जवाफहरू दिने प्रयत्न गरे।

बाइबललाई दर्शनशास्त्रसित मिलान गर्ने प्रयास गर्दै अर्जनले धर्मशास्त्रलाई लाक्षणिक अर्थहरूमा व्याख्या गर्ने तरिकाको पूरापूर फाइदा उठाए। तिनले धर्मशास्त्रको सधैं आध्यात्मिक अर्थ मात्र हुन्छ, शाब्दिक अर्थ हुनु आवश्‍यक छैन भन्‍ने अनुमान लगाए। एक शास्त्रज्ञको टिप्पणीअनुसार यसले अर्जनको लागि “आफ्नो दार्शनिक प्रणालीसित मेल खाने गैरशास्त्रीय विचारहरूको अर्थ बाइबलबाट खोल्ने बाटो खोल्यो। तथापि, अर्कोतिर तिनी आफूलाई बाइबल व्याख्या गर्ने एकदमै जोसिला र विश्‍वासी व्यक्‍ति भनी दाबी गर्थे (हुन पनि यसरी सोच्नुमा तिनको कुनै कपट लुकेको थिएन)।”

अर्जनले आफ्ना विद्यार्थीहरूमध्ये एक जनालाई लेखेको पत्रले तिनको सोचाइ प्रकाश पार्छ। इस्राएलीहरूले मिस्रबाट ल्याएको सुनले नै यहोवाको मन्दिरका भाँडाकुँडाहरू बनाइएको थियो भनी तिनले उल्लेख गरे। यसको लाक्षणिक अर्थ निकाल्दै यसैको आधारमा मसीहीधर्म सिकाउन युनानी दर्शन प्रयोग गरेको हो भने। तिनले यसप्रकार लेखे: “मिस्रबाट ल्याइएका कुराहरू इस्राएलीहरूका लागि एकदमै लाभकारी भए, जुन कुरा मिस्रीहरूले सही काममा लगाएका थिएनन्‌। तर परमेश्‍वरबाट बुद्धि पाएका हिब्रूहरूले परमेश्‍वरको सेवा गर्न त्यसको प्रयोग गरे।” यसरी अर्जनले आफ्नो विद्यार्थीलाई “मसीहीधर्मको अध्ययन गर्न वा मसीहीधर्मको तयारीका लागि काम लाग्ने जुनसुकै युनानी दर्शनको सार लिनु” भनेर प्रोत्साहन दिए।

यसरी बाइबलको मनपरी अर्थ लगाउँदा मसीही शिक्षा र युनानी दर्शनबीचको भिन्‍नता धमिलिन पुग्यो। उदाहरणका लागि, अन फर्स्ट प्रिन्सिपल (पहिलो सिद्धान्तमा) नामक आफ्नो पुस्तकमा अर्जनले येशू ‘सधैंभरिका लागि पुत्र हुनुहुन्छ र हुनै पनि पर्छ भने। तिनले अझ थप्दै यसो भने: उहाँ समयको मागले मात्र पुत्र हुनुभएको होइन। ख्रीष्ट, परमेश्‍वरको हर गुणले सम्पन्‍न हुनुभएको कारण, उहाँको अस्तित्व पनि चिरकालीन छ।’

हुन त अर्जनले यो कुरा बाइबलमा पाएका होइनन्‌ किनकि धर्मशास्त्रले त यहोवाको एक मात्र पुत्र “सारा सृष्टिको जेठो” र “परमेश्‍वरको सृष्टिको शुद्ध” हुनुहुन्छ भनी सिकाउँछ। (कलस्सी १:१५; प्रकाश ३:१४) धार्मिक इतिहासकार अगस्टस नियान्डरका अनुसार “प्लातोनी दर्शन शिक्षाद्वारा” प्रभावित भई अर्जनले “चिरकालीन पुस्ता[को]” धारणा निकालेका हुन्‌। यसरी, “लेखिएका कुराभन्दा बढ़ता गर्नुहुन्‍न भन्‍ने” धर्मशास्त्रको आधारभूत सिद्धान्तलाई नै अर्जनले उल्लंघन गरे।—१ कोरिन्थी ४:६.

धर्म विरोधको अभियोग

अर्जन शिक्षक नियुक्‍त भएको केही वर्षभित्रै आलेक्सजान्ड्रिन स्यानोडले तिनको पूजाहारी पद खोसे। अर्जनको ख्याति देखेर बिशप दीमीत्रीयस ईर्ष्यालू हुन थालेकाले त्यसो गरिएको हुनसक्छ। अर्जन प्यालेस्टाइनमा बसोबास गर्न थाले। त्यहाँ तिनले मसीही शिक्षाहरूको प्रतिष्ठित रक्षकको रूपमा ख्याति पाइनै रहे र पूजाहारी पदमै रहे। वास्तवमा, पूर्वमा “धर्म विरोध” चर्कंदा गल्ती गर्ने बिशपहरूलाई फेरि सनातन धर्ममा फर्काउन तिनको मदत चाहिएको थियो। सा.यु. २५४ मा तिनको मृत्यु भएपछि अर्जनको एकदमै बदनाम भयो। किन?

मसीहीधर्म भनौंदा प्रमुख धर्मको रूपमा देखा पर्न थालेपछि चर्चले सनातनदेखि मानि आएको शिक्षालाई एक एक गरी वर्णन गर्न थालियो। तसर्थ, धर्मविद्‌हरूका पछिल्ला पुस्ताले अर्जनका काल्पनिक र कहिलेकाहीं थुप्रै गलत दार्शनिक दृष्टिकोणहरू ग्रहण गरेन। यसरी तिनको शिक्षाले चर्चमा चर्को विवाद उत्पन्‍न गऱ्‍यो। ती विवादहरूलाई सुल्झाउन र चर्चको एकतालाई जोगाउन चर्चले आधिकारिक रूपमा अर्जनलाई धर्म विरोधी घोषित गऱ्‍यो।

गल्ती गर्नेहरूमा अर्जन मात्रै थिएनन्‌। वास्तवमा, बाइबलले थुप्रै मानिसहरू ख्रीष्टको शुद्ध शिक्षाहरूबाट तर्कनेछन्‌ भनी पहिल्यै भविष्यवाणी गरिसकेको थियो। यो धर्मत्याग येशूका प्रेरितहरूको मृत्युपछि अर्थात्‌ प्रथम शताब्दीको अन्तपछि मौलाउन सुरु भयो। (२ थिस्सलोनिकी २:६, ७) अन्तमा, केही खास मसीही भनौंदाहरूले आफैलाई “सनातन धर्मको” रूपमा स्थापित गरे र अरूलाई “विधर्मी” भन्‍न थाले। तर वास्तवमा, मसीहीजगत्‌ साँचो मसीहीधर्मबाट धेरै नै तर्किसकेको थियो।

“ ‘ज्ञान’ कहलिएको झूट”

अर्जनका थुप्रै अनुमानको बावजूद, तिनको अनुसन्धानमा केही फाइदाजनक कुराहरू पनि पाइन्छन्‌। उदाहरणका लागि, हेक्साप्ला-मा परमेश्‍वरको नाउँलाई मूल हिब्रू चार शब्दहरूमा जस्ताको तस्तै राखिएका छन्‌। त्यसलाई टेट्राग्रामाटन भनिन्छ। यसले प्रारम्भिक मसीहीहरूलाई परमेश्‍वरको व्यक्‍तिगत नाउँ यहोवा हो भनेर थाह थियो र तिनीहरूले यो नाउँ प्रयोग गर्थे भन्‍ने कुराको महत्त्वपूर्ण प्रमाण दिन्छ। तथापि, पाँचौं शताब्दीका चर्चका कुलपिता थिओफिलसले एक पटक यसरी सतर्क गराए: “अर्जनको काम सबै जातका फूल पाइने घाँसे-मैदानजस्तो छ। त्यहाँ कुनै सुन्दर फूल भेटियो भने म त्यो टिप्छु तर काँडा भएको फूल देखें भने त्यसलाई टिप्दिनँ।”

बाइबलका शिक्षाहरूलाई युनानी दर्शनहरूसित छ्यासमिस गरेकोले अर्जनको धर्मविज्ञान गल्तीहरूको थुप्रो भयो र यसले मसीहीजगत्‌लाई भयंकर असर गऱ्‍यो। उदाहरणका लागि, अर्जनका प्रायजसो आधारहीन तर्कवितर्कहरू पछि अस्वीकृत भए। तरैपनि, ख्रीष्टको “अनन्त पुस्ता[सम्बन्धी]” तिनको धारणाले त्रिएकजस्तो गैरबाइबलीय शिक्षाको जग बसाल्न मदत गऱ्‍यो। चर्च अफ द फर्स्ट थ्री सेन्चुरिज (प्रथम तीन शताब्दीका चर्च) नामक पुस्तकको टिप्पणी यस्तो छ: “धर्ममा दर्शन मिसाउने [अर्जनले सुरु गरेको] चलन त्यति सजिलै विलुप्त हुन लागेको थिएन।” अनि त्यसको नतिजा? “मसीहीधर्मको सरलता भ्रष्ट भयो र चर्चमा अनगिन्ती त्रुटीहरू भित्रिए।”

“अशुद्ध वकवादबाट र ज्ञान कहलिएको झूटा विरोधबाट फ[र्क]” भन्‍ने प्रेरित पावलको सल्लाह पालन गरेर अर्जन यस्तो धर्मत्याग फैलाउनदेखि जोगिनसक्थे। तर आफ्नो अधिकांश शिक्षाको आधार यस्तो “ज्ञान[मा]” राखेकाले अर्जन “विश्‍वासबाट भ्रममा परे।”—१ तिमोथी ६:२०, २१; कलस्सी २:८.

[पृष्ठ ३१-मा भएको चित्र]

अर्जनको “हेक्साप्ला [ले ]” परमेश्‍वरको नाउँ मसीही युनानी धर्मशास्त्रमा प्रयोग गरिन्थ्यो भनी देखाउँछ

[स्रोत]

Published by permission of the Syndics of Cambridge University Library, T-S 12.182

[पृष्ठ २९-मा भएको चित्रको स्रोत]

Culver Pictures