सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आनन्दित खेताला हुनुहोस्‌!

आनन्दित खेताला हुनुहोस्‌!

आनन्दित खेताला हुनुहोस्‌!

“फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।”–मत्ती ९:३७, ३८.

१. परमेश्‍वरको इच्छाअनुसार गरी रहन हामीलाई केले मदत गर्छ?

 यहोवाका सेवकहरूको हैसियतमा हामीले वर्षौंअघि बप्तिस्मा लिएको भए तापनि त्यो दिन सम्झँदा, हिजै मात्र हो कि जस्तो लाग्नसक्छ। यहोवाको प्रशंसा गर्नु हाम्रो समर्पित जीवनको प्रमुख कुरा भयो। अरूलाई परमेश्‍वरको राज्यको सन्देश सुन्‍न र सम्भव भए त्यसलाई ग्रहण गर्न मदत दिन समय निकाल्दा हाम्रो प्रमुख चासो, यहोवाको सेवामा आनन्दित हुनु थियो। (एफिसी ५:१५, १६) अहिलेसम्म “प्रभुको काममा प्रशस्त हुँदै जा[न]” हामी व्यस्त भएको कारण समयले कोल्टे फेरेको हामीलाई थाहै छैन। (१ कोरिन्थी १५:५८) समस्याहरूको सामना गर्नुपरे तापनि यहोवाको इच्छा पूरा गर्दा प्राप्त हुने आनन्दले हामीलाई प्रभुको काममा लागिरहन उत्प्रेरित गर्नेछ।—नहेम्याह ८:१०.

२. हामीलाई लाक्षणिक कटनी कार्यमा आनन्दित हुन केले मदत गर्छ?

मसीहीको हैसियतमा हामी लाक्षणिक कटनी कार्यमा व्यस्त छौं। अनन्त जीवनका लागि मानिसहरू जम्मा गर्ने कामलाई येशू ख्रीष्टले कटनीसित तुलना गर्नुभयो। (यूहन्‍ना ४:३५-३८) हामी कटनी गर्ने यस्तो काममा व्यस्त भएकोले प्रारम्भिक मसीही खेतालाहरूको आनन्दलाई पारख गर्नु प्रोत्साहनदायी हुनेछ। हामी, आजको कटनी कार्यमा आनन्दित रहन मदत गर्ने तीन पक्ष केलाउने छौं। यी हुन्‌: (१) आशाको सन्देश, (२) सफल खोज र (३) खेतालाको रूपमा शान्ति कायम गर्ने मनोवृत्ति।

खेतालाको रूपमा पठाइएका

३. कुन अर्थमा येशूका प्रारम्भिक अनुयायीहरूले आनन्द अनुभव गरे?

सा.यु. ३३ तिरको कुरा हो, एक दिन पुनरुत्थान हुनुभएका येशूलाई गालीलको पहाडमा भेट्‌न जाँदा प्रारम्भिक खेतालाहरूको र त्यसमा पनि विशेष गरी येशूका ११ जना विश्‍वासी सेवकहरूको जीवनले अर्कै मोड लियो! (मत्ती २८:१६) त्यतिबेला “पाँच सयभन्दा बढ़ता भाइहरू” उपस्थित भएको हुनुपर्छ। (१ कोरिन्थी १५:६) येशूले दिनुभएको आज्ञा तिनीहरूका कानमा गुञ्जिरह्‍यो। उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) ठाउँठाउँमा ख्रीष्टका अनुयायीहरूको मण्डली खडा भएको देख्दा आफूले भोगिरहेको क्रूर सतावटको बावजूद तिनीहरूले यस कटनी कार्यमा प्रशस्त आनन्द अनुभव गरे। समयमा ‘सुसमाचार स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो।’—कलस्सी १:२३; प्रेरित १:८; १६:५.

४. कस्तो अवस्थामा ख्रीष्टका चेलाहरू पठाइएका थिए?

गालीलमा आफ्नो सेवकाई सुरु गर्नु हुँदाखेरि येशूले आफ्ना १२ जना प्रेरितहरूलाई बोलाउनुभएर “स्वर्गको राज्य नजीकै आइपुगेको छ” भनेर घोषणा गर्न पठाउनुभयो। (मत्ती १०:१-७) उहाँ आफै पनि “[गालीलका] सब शहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिंदै र राज्यको सुसमाचारको प्रचार गर्दै, र हरेक किसिमका रोग र बिमार निको पार्दै हिंड़नुभयो।” भीड देखेर उहाँको मनमा दया जाग्यो “किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३५, ३६) उहाँको मनै छोएको हुँदा चेलाहरूलाई यसो भन्‍नुभयो: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” (मत्ती ९:३७, ३८) आफ्नो सेवकाईको अन्तिम छ महिनाको दौडान येशूले, पहिले जस्तै यहूदामा अझै खेतालाहरूको खाँचो महसुस गर्नुभयो। (लूका १०:२) यी दुवै अवसरमा उहाँले आफ्ना अनुयायीहरूलाई खेतालाको रूपमा पठाउनुभयो।—मत्ती १०:५; लूका १०:३.

हाम्रो आशाको सन्देश

५. हामी कस्तो प्रकारको सन्देश घोषणा गर्छौं?

यहोवाका वर्तमान्‌ सेवकहरूको हैसियतमा खेताला बन्‍ने निम्तो पाउँदा हामी रमाउँदै त्यसलाई स्वीकार्छौं। हरेस खाएका र हताश भएका मानिसहरूलाई आशाको सन्देश सुनाउन पाउनु हामीलाई आनन्दित तुल्याउने एउटा पक्ष हो। येशूका प्रथम शताब्दीका चेलाहरूले जस्तै “गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका[हरूलाई]” सुसमाचार अर्थात्‌ आशाको साँचो सन्देश सुनाउन पाउनु हाम्रोलागि ठूलो विशेषाधिकार हो!

६. प्रथम शताब्दीका प्रेरितहरू कस्ता कार्यमा व्यस्त थिए?

प्रथम शताब्दीको बीचतिर प्रेरित पावल सुसमाचार प्रचार गर्न व्यस्त थिए। अनि तिनको कटनी कार्य पनि पक्कै प्रभावशाली थियो किनकि सा.यु. ५५ तिर कोरिन्थका मसीही मण्डलीलाई तिनले यस्तो लेखे: “म तिमीहरूलाई त्यही सुसमाचार बताउँछु, जो मैले तिमीहरूलाई प्रचार गरेथें, र तिमीहरूले ग्रहण पनि गरेथ्यौ, जसमा तिमीहरू अड़ेका पनि छौ।” (१ कोरिन्थी १५:१) प्रेरित तथा प्रारम्भिक मसीहीहरू मेहनती खेतालाहरू थिए। सा.यु. ७० मा यरूशलेमको विनाश हुनुअघिका भयानक समयको दौडान कति जना प्रेरितहरू बचे, त्यसबारे बाइबलले केही पनि बताएको छैन। तैपनि, २५ वर्षपछि पनि प्रेरित यूहन्‍नाचाहिं जीवितै थिए भनी हामीलाई थाह छ।—प्रकाश १:९.

७, ८. यहोवाका सेवकहरूले पहिलेभन्दा झन्‌ अविलम्बी भई आशाको कुन सन्देश घोषणा गरिरहेका छन्‌?

त्यसपछि मसीहीजगत्‌का पादरीहरू अर्थात्‌ धर्मत्यागी “पापको मानिस[ले]” हैकम जमाउने शताब्दी सुरु भयो। (२ थिस्सलोनिकी २:३) तथापि, १९ औं शताब्दीको अन्ततिर प्रारम्भिक मसीहीहरूको शिक्षाअनुरूप जीवन बिताउन प्रयास गर्नेहरूले आशाको सन्देश घोषणा गर्न थाले। वास्तवमा, यस पत्रिकाको पहिलो अंकदेखि (जुलाई १८७९) नै यसको नाउँमुनि “हेराल्ड अफ क्राइस्ट्‌स प्रेजेन्स” (“ख्रीष्टको उपस्थितिको उद्‌घोषणा”), “हेराल्ड अफ क्राइस्ट्‌स किङडम” (“ख्रीष्टको राज्यको उद्‌घोषणा”) वा “यहोवाको राज्यको घोषणा गर्छ” भनेर लेखिंदै आएको छ।

सन्‌ १९१४ मा परमेश्‍वरको स्वर्गीय राज्य येशू ख्रीष्टको हातमा सुम्पियो भने अहिले हामी पहिलेभन्दा झन्‌ अविलम्बी भई यो आशाको सन्देश घोषणा गरिरहेका छौं। किन? किनकि परमेश्‍वरको राज्य शासनले पूरा गर्ने असल कुराहरूमध्ये यस वर्तमान दुष्ट रीतिरिवाजको चाँडै हुन लागेको अन्त पनि हो। (दानियल २:४४) यो भन्दा उत्तम सन्देश अरू के होला र? अनि “महा संकष्ट” सुरु हुनुअगावै परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न पाउनुभन्दा ठूलो आनन्द अरू के नै पो हुनसक्छ र?—मत्ती २४:२१; मर्कूस १३:१०.

सफल खोज

९. येशूले आफ्ना चेलाहरूलाई कस्तो निर्देशन दिनुभयो र राज्य सन्देशप्रति मानिसहरूले कस्तो प्रतिक्रिया व्यक्‍त गरे?

हाम्रो आनन्द बढाउने अर्को पक्ष, पछि चेला बनेर हामीसित कटनी कार्यमा भाग लिने मानिसहरूलाई खोज्न सफल हुनु पनि हो। सा.यु. ३१-३२ मा येशूले आफ्ना चेलाहरूलाई यस्तो निर्देशन दिनुभयो: “जुन शहर कि गाउँमा तिमीहरू पसौला, त्यसमा ‘को योग्य छ?’ भनी सोधपूछ गर।” (मत्ती १०:११) राज्य सन्देशप्रति व्यक्‍तिविशेषले देखाएको प्रतिक्रियाले सबै जना योग्यका थिएनन्‌ भन्‍ने कुरा देख्न सकिन्छ। तैपनि, येशूका चेलाहरूले मानिसहरू जहाँजहाँ भेटिन्छन्‌, त्यहींत्यहीं गएर जोसिलो भई सुसमाचार प्रचार गरे।

१०. पावलले योग्य जनहरू कसरी खोजे?

१० येशूको मृत्यु र पुनरुत्थानपछि योग्य व्यक्‍तिहरूलाई खोज्ने काम तीव्र गतिमा अघि बढ्यो। पावलले यहूदीहरूसित तिनीहरूकै सभाघरहरूमा र एथेन्सका मानिसहरूसित बजारमा बहस गरे। तिनले युनानी शहरको अरैयापागसमा साक्षी दिंदा “कुनै कुनै मानिसहरूले तिनका साथ लागेर विश्‍वास गरे। तिनीहरूमध्ये डियनुसियस अरियोपागी पनि थिए, र डामारिस नाउँ भएकी एउटी स्त्री, र उनीहरूसित अरूहरू पनि थिए।” पावल जहाँजहाँ गए, तिनले ती ठाउँहरूमा “घर-घरमा खुल्लमखुल्ला” प्रचार गरेर राम्रो उदाहरण बसाले।—प्रेरित १७:१७, ३४; २०:२०.

११. वर्षौंअघि सेवकाई पूरा गर्न कस्ता तरिकाहरू प्रयोग गरिन्थे?

११ उन्‍नाइसौं शताब्दीको अन्ततिर अभिषिक्‍त मसीहीहरूले साहसी भई योग्य व्यक्‍तिहरू खोज्न थाले। जुलाई/अगस्त १८८१ को जायन्स वाच टावर-को “प्रचार गर्न अभिषिक्‍त” शीर्षक लेखमा यसो भनिएको थियो: “सुसमाचार प्रचार गर्नु भनेको . . . ‘नम्रहरू’ अर्थात्‌ सुन्‍न इच्छुक र सुन्‍न सक्नेहरूकहाँ जानु हो, ताकि तिनीहरूबीचबाट ख्रीष्टको शरीर विकास गर्न वा साझे हकदार बनाउन सकियोस्‌।” मानिसहरू चर्चमा आफ्नो पूजापाठ सिध्याएर निस्कँदा परमेश्‍वरका खेतालाहरूले तिनीहरूलाई भेट्‌थे र योग्य जनहरूलाई झकझकाउने किसिमले तयार पारिएको धर्मशास्त्रीय सन्देश भएको पर्चा दिन्थे। साक्षी दिने यो तरिकाको प्रभावकारितालाई होसियारीसाथ विचार गरिसकेपछि मे १५, १९०३ को वाच टावर-ले खेतालाहरूलाई ती पर्चाहरू “आइतबार मध्याह्नतिर घरघरमै गएर” वितरण गर्न आग्रह गऱ्‍यो।

१२. हामीले आफ्नो प्रचारकार्यको प्रभावकारितालाई कसरी बढाएका छौं? व्याख्या गर्नुहोस्‌।

१२ हालैका वर्षहरूमा हामीले मानिसहरूलाई तिनीहरूको घरैमा मात्र नभई अन्य ठाउँहरूमा पनि भेटेर आफ्नो सेवकाई विस्तार गरेका छौं। हामी अक्सर मानिसहरूलाई घरघरमा भेट्‌न जाने भए तापनि माथि उल्लिखित तरिका आर्थिक अवस्था र मनोरञ्जनले गर्दा विदेशिएकाहरूको मुलुकमा निकै प्रभावकारी साबित भएको छ। आगन्तुकहरू समुद्री तटमा दिन बिताइसकेपछि घर फर्कंदा नियमित तवरले बस चढ्‌ने गरेको बेलाइतका एक साक्षी र तिनकी सहयोगीले याद गरे। त्यसकारण, तिनीहरू साहस बटुलेर बस चढे र यात्रुहरूलाई प्रहरीधरहराब्यूँझनुहोस्‌! वितरण गर्न थाले। महिनादिनमा तिनीहरूले २२९ वटा पत्रिका वितरण गरे। तिनीहरू यस्तो रिपोर्ट दिन्छन्‌: “समुद्री तट, व्यापारिक इलाका वा चुनौतीको सामना गर्नुपर्ने अन्य ठाउँहरूमा नै किन नहोस्‌, साक्षी दिन हामीलाई रतिभर डर लाग्दैन किनकि यहोवा सधैं हामीसित हुनुहुन्छ भनेर हामीलाई थाह छ।” तिनीहरूले पत्रिका रुट स्थापित गरे, बाइबल अध्ययन सुरु गरे र तिनीहरू दुवै सहायक अग्रगामी पनि भए।

१३. कहिलेकाहीं अहिले हाम्रो सेवकाईमा कस्तो काँटछाँट गर्नु परेको छ?

१३ योग्य जनहरू खोज्ने क्रममा कहिलेकाहीं हाम्रो सेवकाईको होसियारीसाथ फेरि मूल्यांकन गर्नुपर्ने हुनसक्छ। यहोवाका थुप्रै साक्षीलाई आइतबार बिहान घरघरको प्रचार कार्यमा व्यस्त रहने बानी परेको भए तापनि केही खास इलाकाहरूमा घरधनी आराम गरिरहने इच्छा गर्ने भएकोले बिहान सबेरै घरघरको प्रचार कार्यमा जानु त्यति प्रभावकारी नभएको उनीहरूले पाएका छन्‌। त्यसकारण, अहिले आफ्नो प्रचार गर्ने तालिकामा काँटछाँट गरेर थुप्रै साक्षीले अलि दिन छिप्पिसकेपछि वा मसीही सभाहरूपछि प्रचारमा जाने गरेका छन्‌। अनि यसरी योग्य जन खोज्ने तरिका फलदायी साबित भएको छ। गत वर्ष विश्‍वभरि राज्य प्रकाशकहरूको संख्या २.३ प्रतिशतले वृद्धि भयो। यसले फसलका प्रभुको सम्मान गर्छ र हाम्रो हृदयलाई आनन्दित तुल्याउँछ।

खेतालाको रूपमा शान्ति कायम गर्नुहोस्‌

१४. कस्तो मनोवृत्तिसहित हामी आफ्नो सन्देश प्रस्तुत गर्छौं र किन?

१४ हामी आनन्दित हुनसक्ने अर्को पक्ष, कटनीको काम गर्दा हामीले प्रकट गर्ने शान्तिप्रिय मनोवृत्ति हो। येशूले यसो भन्‍नुभयो, “घरभित्र पस्ता त्यसलाई अभिवादन गर। औ त्यो घर योग्य रहेछ भने, तिमीहरूको शान्ति त्यसमाथि रहोस्‌।” (मत्ती १०:१२, १३) हिब्रू अभिवादन अनि बाइबल लेख्न प्रयोग गरिएको युनानी भाषाको यससित मिल्ने शब्द दुवैले ‘तपाईंको भलो होस्‌’ भन्‍ने अर्थ दिन्छ। यस्तो मनोवृत्तिसहित सुसमाचार प्रचार गर्दा मानिसहरूसित कसरी कुरा थाल्ने, निर्णय गर्न मदत गर्छ। तिनीहरूले राज्य सन्देशप्रति सकारात्मक प्रतिक्रिया व्यक्‍त गर्नेछन्‌ भन्‍ने आशा हामीले गरेका छौं। ज-जसले त्यस्तो प्रतिक्रिया देखाउँछन्‌, तिनीहरूले आफ्नो पापको पश्‍चात्ताप गरेर, त्यसबाट पर बसेर परमेश्‍वरको इच्छाबमोजिम गर्दा परमेश्‍वरसित मेलमिलापमा आउने सम्भावना हुन्छ। फलतः परमेश्‍वरसितको शान्तिले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ।—यूहन्‍ना १७:३; प्रेरित ३:१९; १३:३८, ४८; २ कोरिन्थी ५:१८-२०.

१५. प्रचार गर्दा मानिसहरूले सकारात्मक प्रतिक्रिया देखाएनन्‌ भने पनि हामी कसरी शान्ति कायम गर्न सक्छौं?

१५ मानिसहरूले सकारात्मक प्रतिक्रिया व्यक्‍त नगर्दा हामी कसरी शान्ति कायम गर्न सक्छौं? येशूले यस्तो निर्देशन दिनुभयो: “त्यो योग्य रहेनछ भने, तिमीहरूको शान्ति तिमीहरूमै फर्की आओस्‌।” (मत्ती १०:१३) येशूले सत्तरी जना चेलाहरूलाई पठाउनु हुँदाखेरिको विवरणमा येशूले भन्‍नुभएको यो कुरा पनि लूकाले समावेश गरेका छन्‌: “यदि त्यहाँ शान्तिको सन्तान रहेछ भने तिमीहरूको शान्ति त्यसमा रहनेछ, तर रहेनछ भने त्यो तिमीहरूकहाँ फर्किआउनेछ।” (लूका १०:६) सुसमाचार प्रचार गर्दा हामी मिजासिलो र शान्तिपूर्ण ढंगमा मानिसहरूसँग कुरा गर्छौं। तर घरधनीले भावशून्य प्रतिक्रिया, गनगन वा नमीठो टिप्पणी गरेमा हाम्रो शान्तिपूर्ण सन्देश ‘हामीकहाँ नै फर्किआउनेछ।’ तर यीमध्ये कुनैले पनि हाम्रो शान्ति अर्थात्‌ परमेश्‍वरको पवित्र आत्माको फल हरण गर्न सक्दैन।—गलाती ५:२२, २३.

खेतालाहरूका लागि राम्रो लक्ष्य

१६, १७. (क) पुनःभेट गर्दा हाम्रो लक्ष्य के हुनुपर्छ? (ख) बाइबलसम्बन्धी प्रश्‍न सोध्नेहरूलाई हामी कसरी मदत गर्नसक्छौं?

१६ अनन्त जीवनका लागि मानिसहरू जम्मा गर्ने यस कटनीको काममा खेताला भएर काम गर्न पाएकोमा हामी हर्षित छौं। अनि हामीले प्रचार गरेको व्यक्‍तिले सकारात्मक प्रतिक्रिया व्यक्‍त गर्दा, अझै सिक्न चाहँदा र आफूलाई “शान्तिको सन्तान” साबित गर्दा हामी झनै कत्ति रमाउँछौं! तिनको मनमा बाइबलसम्बन्धी थुप्रै प्रश्‍न होलान्‌ र एकै भेटमा ती सब प्रश्‍नहरूको जवाफ दिनु हामीलाई असम्भव लाग्ला। यसबाहेक पहिलो भेटमै धेरै बेरसम्म कुरा गरेर बस्नु त्यत्ति उपयुक्‍त हुँदैन। त्यसोभए, हामी के गर्नसक्छौं? आजभन्दा झन्डै ६० वर्षअघि सिफारिस गरिएको यो लक्ष्य राख्न सक्छौं।

१७ “यहोवाका सम्पूर्ण साक्षीहरू बाइबलबाट नमुना अध्ययन सञ्चालन गर्न तयार हुनुपर्छ।” यो वाक्य १९३७ देखि १९४१ सम्म प्रकाशित सानो पुस्तिका मोडेल स्टडिज-को तेस्रो श्रृंखलामा छापिएको थियो। त्यहाँ अझै यसो भनिएको थियो: “राज्य सन्देशप्रति चासो देखाउने परमेश्‍वरद्वारा अनुमोदित मानिसहरूलाई सम्भव भएसम्म हर तरिकामा मदत गर्न सम्पूर्ण [राज्य] प्रकाशकहरू लगनशील हुनुपर्छ। यिनीहरूलाई फेरि गएर भेट्‌नुपर्छ [पुनःभेट] विभिन्‍न प्रश्‍नहरूको जवाफ दिनुपर्छ . . . अनि त्यसपछि . . . सकेसम्म छिटो नमुना अध्ययन थाल्नुपर्छ।” निस्सन्देह, पुनःभेट गर्ने हाम्रो लक्ष्य गृह बाइबल अध्ययन सुरु गर्नु र त्यसलाई कायम राख्नु हो। a जिज्ञासुहरूप्रतिको मित्रैलो मनोवृत्ति र मायालु चासोले हामीलाई राम्रो तयारी गर्न अनि प्रभावकारी तरिकामा अध्ययन सञ्चालन गर्न प्रोत्साहित गर्छ।

१८. हामी कसरी नयाँ मानिसहरूलाई येशू ख्रीष्टका चेलाहरू बन्‍न मदत गर्न सक्छौं?

१८ ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक र परमेश्‍वर हामीबाट के चाहनुहुन्छ जस्तो पुस्तिकाको मदतद्वारा हामी प्रभावकारी गृह बाइबल अध्ययन सञ्चालन गर्न अनि नवजिज्ञासुहरूलाई चेला बन्‍न मदत गर्न सक्छौं। हाम्रो महान्‌ गुरु, येशू ख्रीष्टको अनुकरण गर्न खोज्दा, हाम्रो शान्त र आनन्दित झुकाउ, हाम्रो निष्कपटता र यहोवाका स्तर तथा निर्देशनहरूप्रतिको हाम्रो आदरबाट पनि यी बाइबल विद्यार्थीहरूले सिक्नेछन्‌ होला। यी नयाँ व्यक्‍तिहरूलाई तिनीहरूका प्रश्‍नहरूको जवाफ दिंदा तिनीहरूले पनि कसरी अरूलाई त्यस्तै प्रकारका प्रश्‍नहरूको जवाफ दिन सक्छन्‌, सो सिकाउन हामी यथासक्दो गरौं। (२ तिमोथी २:१, २; १ पत्रुस २:२१) गत सेवा वर्षको दौडान विश्‍वभरि औसत ४७,६६,६३१ वटा गृह बाइबल अध्ययन सञ्चालन भएकोमा हामी लाक्षणिक खेतालाहरू पक्कै आनन्दित हुन सक्छौं। गृह बाइबल अध्ययन सञ्चालन गर्ने ती खेतालाहरूमध्ये हामी पनि थियौं भने हामी झनै आनन्दित हुन्छौं।

कटनी कार्यमा रमाइरहनुहोस्‌

१९. येशूको सेवकाई र त्यसको केही समयपछि आनन्दित हुनुपर्ने जायज कारणहरू किन थिए?

१९ येशूको सेवकाईको दौडान र त्यसको केही समयपछि भएको कटनी कार्यमा आनन्दित हुनुपर्ने राम्रा कारणहरू थिए। त्यतिखेर थुप्रैले सुसमाचार स्वीकारे। विशेष गरी, सा.यु. ३३ पेन्तिकोसको दिनमा रमाउनुपर्ने ठूलो कारण थियो, किनकि त्यतिखेर लगभग ३,००० जनाले पत्रुसको निर्देशन पालन गरे, यहोवाको आत्मा पाए र परमेश्‍वरको आत्मिक इस्राएलको भाग भए। साँच्चै, “उद्धार पाउनेहरूलाई [यहोवा]ले दिनदिनै तिनीहरूमा बढ़ती गराउनु” हुँदा तिनीहरूको संख्या बढ्‌दै गयो र आनन्द पनि प्रशस्त हुँदै गयो।—प्रेरित २:३७-४१, ४६, ४७; गलाती ६:१६; १ पत्रुस २:९.

२०. हाम्रो यस कटनी कार्यमा हामीलाई कुन कुराले असाध्यै आनन्दित तुल्याउँछ?

२० त्यतिखेर, यशैयाको यो भविष्यवाणी सही साबित भयो: “तपाईंले [यहोवाले] त्यस जातिको वृद्धि गराउनुभयो। तपाईंले तिनीहरूका आनन्द बढ़ाउनुभयो। तिनीहरू तपाईंको सामने कटनीको बेलामा रमाएझैं रमाउनेछन्‌, र लूटको माल बाँड़दा खुशी भएझैं रमाहट गर्नेछन्‌।” (यशैया ९:३) अभिषिक्‍त जनहरूको ‘वृद्धि भएको त्यस जातिको’ संख्या लगभग पूरा भइसकेको अहिले हामीले देखिसकेको भए तापनि वर्षेनी अन्य खेतालाहरूको संख्या बढी रहेको देख्न पाउँदा हाम्रो आनन्द प्रशस्त भएको छ।—भजन ४:७; जकरिया ८:२३; यूहन्‍ना १०:१६.

२१. यसपछिको लेखमा हामी के छलफल गर्नेछौं?

२१ अवश्‍य पनि यस कटनी कार्यमा रमाइरहनुपर्ने जायज कारणहरू छन्‌। हाम्रो आशाको सन्देश, योग्य जनहरूको खोज र शान्ति कायम गर्ने हाम्रो मनोवृत्ति आदि सबैले हामीलाई खेताला हुँदाको आनन्द दिन्छ। यद्यपि, हामीले सुसमाचार सुनाउन खोज्दा थुप्रैले नराम्रो प्रतिक्रिया व्यक्‍त गर्छन्‌। प्रेरित यूहन्‍नाले पनि त्यसो प्रतिक्रियाको सामना गरे। “परमेश्‍वरको वचन र येशू ख्रीष्टको साक्षीको निम्ति” तिनी पत्मोसको टापुमा कैदमा परे। (प्रकाश १:९) त्यसोभए, सतावट र विरोध आइपर्दा हामी आफ्नो आनन्द कसरी कायम राख्नसक्छौं? अहिले हामीले प्रचार गरिरहेका थुप्रैको कठोर मनोवृत्तिलाई सहन हामीलाई केले मदत गर्नेछ? हाम्रो अर्को लेखले यी प्रश्‍नहरूको धर्मशास्त्रीय जवाफ दिनेछ।

[फुटनोट]

a सुरुसुरुमा जिज्ञासु व्यक्‍तिहरू भेला हुनसक्ने स्थानमा अध्ययन गर्ने गरिन्थ्यो। तथापि, पछि व्यक्‍तिविशेष र परिवारहरूसित पनि अध्ययन गर्न थालियो।—यहोवाका साक्षीहरूद्वारा प्रकाशित जेहोभाज्‌ विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङडम, पृष्ठ ५७४ हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ ?

• लाक्षणिक कटनी कार्य भनेको के हो?

• हामी कस्तो सन्देश घोषणा गर्छौं?

• चेलाहरू खोज्ने हाम्रो प्रयास किन सफल भएको छ?

• कटनी कार्यमा हामी कसरी शान्ति कायम गर्छौं?

• कटनी कार्यमा हामी किन रमाइरहन्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १२, १३-मा भएका चित्रहरू]

प्रथम अनि २० औं शताब्दीमा प्रचार गर्दै

[पृष्ठ १३-मा भएका चित्रहरू]

प्रेरित पावल जस्तै वर्तमान समयका खेतालाहरू मानिसहरूलाई भेट्टाउन सबै ठाउँ जान्छन्‌

[पृष्ठ १३-मा भएको चित्र]

मिजासिलो भई सुसमाचार उद्‌घोषणा गर्नुहोस्‌