सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कटनी गरिरहनुहोस्‌!

कटनी गरिरहनुहोस्‌!

कटनी गरिरहनुहोस्‌!

“रूँदै छर्नेहरू आनन्दले कराउँदै कटनी गर्नेछन्‌।”–भजन १२६:५.

१. आज “फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती” गर्नु किन आवश्‍यक छ?

 गालीलमा तेस्रो पटक प्रचार गरिसक्नुभएपछि येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌।” (मत्ती ९:३७) यहूदियामा पनि अवस्था त्यस्तै थियो। (लूका १०:२) यो कुरा झन्डै २,००० वर्ष अघिको हो। तर अहिले नि? गत सेवा वर्षको दौडान यहोवाका ६०,००,००० भन्दा धेरै साक्षीहरूले विश्‍वका ६,००,००,००,००० मानिसहरूबीच लाक्षणिक कटनी गरे, जसमध्ये प्रायजसो “गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” त्यसकारण, येशूले “फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर” भनी दिनुभएको सल्लाह शताब्दियौंअघि जत्तिको मनासिब थियो अहिले पनि उत्तिकै मनासिब छ।—मत्ती ९:३६, ३८.

२. कुन कुराले गर्दा मानिसहरूको ध्यान हामीतिर खिचिएको छ?

फसलका प्रभु, यहोवा परमेश्‍वरले थप खेतालाहरू पठाउनु भएर हाम्रो बिन्तीको जवाफ दिनुभएको छ। अनि यस ईश्‍वरनिर्देशित कटनीमा भाग लिन पाउनु साह्रै आनन्दको कुरा हो! राष्ट्रहरूको तुलनामा हाम्रो संख्या थोरै भए तापनि हामीले गरेको परमेश्‍वरको राज्यको प्रचार कार्य र चेला बनाउने कामले हामीतिर विश्‍वको ध्यान खिचेको छ। थुप्रै मुलुकका सञ्चार माध्यममा हामीबारे चर्चा गरिन्छ। टेलिभिजनमा देखाइने नाटकहरूमा ढोकाको घन्टी बज्दा यहोवाका साक्षीहरू आए होलान्‌ भनिएको देखाइएका हुन्छन्‌। हो, लाक्षणिक खेतालाको रूपमा हामीले गरिरहेको मसीही क्रियाकलाप यस २१ औं शताब्दीमा बहुचर्चित भएको छ।

३. (क) प्रथम शताब्दीमा भएको प्रचारकार्यले ध्यान खिचेको थियो भनेर हामी कसरी भन्‍नसक्छौं? (ख) स्वर्गदूतहरूले हाम्रो सेवकाईलाई समर्थन गर्छ भनी हामी कसरी भन्‍न सक्छौं?

संसारले प्रथम शताब्दीमा गरिएको राज्यको प्रचारकार्यका साथै सुसमाचारका उद्‌घोषकहरूलाई सताएको बिर्सेको छैन। त्यसैकारण त प्रेरित पावलले यस्तो लेखे: “म विचार गर्दछु, परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युको निम्ति सजाय पाएकाहरूलाई झैं सबैभन्दा पछि प्रदर्शन गराउनुभएको छ, किनकि हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका निम्ति तमाशा भएका छौं।” (१ कोरिन्थी ४:९) त्यसै गरी, सतावटको बावजूद राज्य उद्‌घोषणा गर्न हामी लगनशील भएकोले त्यसतर्फ संसारको ध्यान खिचिएको छ र यो स्वर्गदूतहरूका लागि चासोको विषय भएको छ। प्रकाश १४:६ यसो भन्छ: “पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गको बीचमा उड़िरहेको [म यूहन्‍नाले] देखें।” हो, हाम्रो सेवकाईमा अर्थात्‌ हाम्रो कटनी कार्यमा हामीसँग स्वर्गदूतको समर्थन छ!—हिब्रू १:१३, १४.

“तिमीहरू घृणित हुनेछौ”

४, ५. (क) येशूले आफ्ना चेलाहरूलाई कस्तो चेताउनी दिनुभयो? (ख) परमेश्‍वरका वर्तमान सेवकहरू कसरी “घृणित” भएका छन्‌?

येशूका प्रेरितहरूलाई खेताला बनाएर पठाइँदा तिनीहरूले “सर्पझैं चनाखो र ढुकुरझैं सोझो” हुनु भन्‍ने उहाँको निर्देशन पालन गरे। येशूले अझै यसो भन्‍नुभयो: “तर मानिसहरूदेखि होशियार होओ। किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिदिनेछन्‌, र तिनीहरूका सभाघरहरूमा कोर्रा लाउनेछन्‌। तिनीहरूलाई र अन्यजातिहरूलाई साक्षीको निम्ति मेरो खातिर हाकिमहरू र राजाहरूका सामुन्‍ने तिमीहरूलाई खड़ा गराउनेछन्‌। . . . मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर आखिरसम्म सहने चाहिंले उद्धार पाउनेछ।”—मत्ती १०:१६-२२.

आज हामी “घृणित” भएका छौं, किनकि “सारा संसार त्यस दुष्टको” अर्थात्‌ परमेश्‍वर अनि उहाँका जनहरूको ठूलो शत्रु शैतान तथा दियाबलको “अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) हाम्रा शत्रुहरूले हाम्रो आध्यात्मिक संवृद्धि देखेका छन्‌ तर तिनीहरू यसको श्रेय यहोवालाई दिन चाहँदैनन्‌। आनन्दित भई कटनी कार्यमा भाग लिंदा विरोधीहरूले हाम्रो अनुहारमा झल्कने आनन्द र मुस्कान देख्छन्‌। तिनीहरू हाम्रो एकता देखेर छक्क पर्छन्‌! वास्तवमा, अन्य मुलुकको यात्रा गर्दा त्यहाँका यहोवाका साक्षीहरूले पनि आफ्नो देशका साक्षीहरूले जस्तै गरिरहेको देखेर तिनीहरू गाह्रो मान्दै हामीबीच एकता छ भनेर मानिलिन्छन्‌। हो, समयमा हाम्रो समर्थक र एकताको स्रोत यहोवाबारे शत्रुहरूले थाह पाउनेछन्‌ भनेर हामीलाई थाह छ।—इजकिएल ३८:१०-१२, २३.

६. कटनी कार्यमा व्यस्त रहँदा हामी कस्तो आश्‍वासन पाउँछौं तर कस्तो प्रश्‍न खडा हुन्छ?

फसलका प्रभुले आफ्नो पुत्र येशू ख्रीष्टलाई “स्वर्ग र पृथ्वीमा सारा अधिकार” दिनुभएको छ। (मत्ती २८:१८) यसरी स्वर्गमा भएका स्वर्गदूतहरू र पृथ्वीमा भएका “विश्‍वासी र बुद्धिमान दास[लाई]” यस कटनी कार्यमा डोऱ्‍याउन यहोवाले येशूलाई चलाउनुहुन्छ। (मत्ती २४:४५-४७; प्रकाश १४:६, ७) तर कसरी हामी शत्रुहरूको विरोधको प्रतिरोध गर्दै अनि आनन्दित हुँदै कटनी कार्यमा लागिरहनसक्छौं?

७. विरोध आइपर्दा वा सताइँदा हामीले कस्तो मनोवृत्ति कायमै राख्ने प्रयास गर्नुपर्छ?

विरोधको सामना गर्नुपर्दा वा प्रत्यक्ष सतावट भोग्नुपर्दासमेत परमेश्‍वरको मदत खोजौं। किनकि त्यसो गऱ्‍यौं भने हामी पावलको जस्तै मनोवृत्ति राख्नसक्छौं। तिनले यसप्रकार लेखे: “गाली पाउँदा हामी आशीर्वाद दिन्छौं, खेदो हुँदा हामी सहन्छौं। बदनाम हुँदा बिन्ती गर्छौं।” (१ कोरिन्थी ४:१२, १३) यस्तो मिजाससहित कौशलतासाथ हाम्रो जन सेवकाईको काम गर्दा कहिलेकाहीं हाम्रो विरोधीहरूको मनोवृत्ति परिवर्तन हुन्छ।

८. मत्ती १०:२८ मा लिखित येशूका शब्दहरूबाट तपाईं कस्तो आश्‍वासन पाउनुहुन्छ?

मृत्युको डरले समेत खेतालाको काम गर्ने हाम्रो जोसलाई सेलाउन दिंदैन। हामी सकेसम्म खुलेआम निर्भयतासाथ राज्य सन्देश घोषणा गर्छौं। अनि हामी येशूका यी शब्दहरूबाट प्रोत्साहनदायी आश्‍वासन पाउँछौं: “शरीर मार्ने तर आत्मालाई चाहिं घात गर्न नसक्नेहरूसँग नडराओ। तर आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्नसक्नेसँग बरु डराओ।” (मत्ती १०:२८) स्वर्गमा हुनुहुने हाम्रो पिता जीवनदाता हुनुहुन्छ भनेर हामीलाई थाह छ। उहाँप्रति निष्ठा कायम राख्ने र यस कटनी कार्यमा विश्‍वासी भई लागिरहनेहरूलाई उहाँ इनाम दिनुहुन्छ।

जीवनदायी सन्देश

९. कसैकसैले इजकिएलका कुरा सुनेर के गरे र आज पनि कसरी त्यस्तै हुँदैछ?

इजकिएल अगमवक्‍ताले “वागी जातिकहाँ” अर्थात्‌ इस्राएल र यहूदा राष्ट्रमा यहोवाको सन्देश साहसी भई घोषणा गर्दा केही व्यक्‍तिविशेष तिनको कुरा सुनेर प्रसन्‍न भएका थिए। (इजकिएल २:३) यहोवाले यसो भन्‍नुभयो, “तँ ता तिनीहरूका निम्ति सुरिलो सोर भएको गायक अथवा निपुण वीणा वादकभन्दा बढ़ी अरू केही हुनेछैनस्‌।” (इजकिएल ३३:३२) तिनीहरूलाई इजकिएलले भनेको कुरा मन परे तापनि तिनीहरूले त्यसैअनुसार गरेनन्‌। आज नि? शेष अभिषिक्‍त जन र तिनीहरूका सहयोगीहरूले साहसी हुँदै यहोवाको सन्देश घोषणा गर्दा कसैकसैलाई परमेश्‍वरको राज्यले दिने आशिष्‌बारे सुन्‍न त मन पर्छ तर तिनीहरू त्यसको मूल्यांकन गर्दैनन्‌, चेला बन्दैनन्‌ र कटनी कार्यमा भाग लिंदैनन्‌।

१०, ११. बीसौं शताब्दीको बीचतिर हामीले सुनाउने जीवनदायी सन्देशको विज्ञापन गर्न के गरियो र यसको नतिजा के भयो?

१० अर्कोतिर, थुप्रैले यस कटनी कार्यप्रति राम्रो प्रतिक्रिया व्यक्‍त गरेका छन्‌ र परमेश्‍वरको राज्य सन्देश घोषणा गर्ने कार्यमा भाग लिइरहेका छन्‌। उदाहरणका लागि, १९२२ देखि १९२८ सम्मका मसीही अधिवेशनहरूमा शैतानको दुष्ट रीतिरिवाजमाथि हुने न्यायबारे स्पष्ट घोषणा गरिएको थियो। यी सम्मेलनहरूमा प्रस्तुत गरिएका भर्त्सनाहरू रेडियो स्टेशनहरूद्वारा प्रसारण गरिएको थियो। त्यसपछि, परमेश्‍वरका जनहरूले यी भर्त्सना गरिएका लाखौं लाख प्रतिहरू वितरण गरे।

११ सन्‌ १९३० दशकको अन्ततिर साक्षी दिने अर्को तरिका, जानकारी पदयात्रा थालियो। सुरुमा यहोवाका जनहरूले जन भाषणबारे घोषणा गर्ने विज्ञापनपत्र जीउमा झुन्ड्याएर हिंड्‌ने गर्थे। पछि, तिनीहरूले “धर्म पासो र फन्दा हो” “परमेश्‍वर र राजा ख्रीष्टको सेवा गर्नुहोस्‌” भन्‍ने नारा लेखिएका संकेत पेटी बोकेर हिंडे। सडकहुँदो निस्कँदा तिनीहरूले बटुवाहरूको ध्यान खिचे। ‘यसले गर्दा यहोवाका साक्षीहरूतिर जनमानसको ध्यान खिचियो र तिनीहरू झनै साहसी भए’ भनी लण्डन, बेलाइतको व्यस्त सडकमा नियमित तवरले यस कार्यमा भाग लिने एक जना भाइले टिप्पणी गरे।

१२. परमेश्‍वरको न्यायको सन्देश सुनाउँदा हामी आफ्नो सेवकाईमा अरू कुन कुरा पनि सुनाउँछौं र अहिले को पनि सँगै मिलेर सुसमाचार प्रचार गर्दैछ?

१२ परमेश्‍वरको न्यायको सन्देश सुनाउँदा हामी राज्य सन्देशका सकारात्मक पक्षहरूतर्फ पनि मानिसहरूको ध्यान खिच्छौं। सारा संसारभरि साहसी भई सुसमाचार सुनाउँदा त्यसले हामीलाई योग्य जनहरू खोज्न मदत गर्छ। (मत्ती १०:११) अभिषिक्‍त वर्गका अधिकांश अन्तिम सदस्यहरूले १९२० र १९३० को दशकतिर कटनी कार्यका लागि गरिएको सुस्पष्ट आह्वानलाई स्वीकारेका थिए। त्यसपछि, सन्‌ १९३५ को अधिवेशनमा, “अरू भेड़ा[को]” “ठूलो भीड़[ले]” भविष्यमा पार्थिव प्रमोदवनमा पाउने आशिष्‌हरूबारे अद्‌भुत समाचार सुनाइयो। (यूहन्‍ना १०:१६; प्रकाश ७:९) तिनीहरूले परमेश्‍वरको न्यायको सन्देश सुनेर त्यसैअनुरूप गरे र अभिषिक्‍त जनहरूसित मिलेर जीवनदायी सुसमाचार प्रचार गरे।

१३, १४. (क) भजन १२६:५, ६ बाट कस्तो सान्त्वना प्राप्त गर्न सकिन्छ? (ख) निरन्तर छरिरह्‍यौं र पानी हालिरह्‍यौं भने के हुनेछ?

१३ परमेश्‍वरका खेतालाहरूका लागि र विशेष गरी सतावट भोग्नेहरूका लागि भजन १२६:५, ६ का यी शब्दहरू ठूलो सान्त्वनाको स्रोत भएको छ: “रूँदै छर्नेहरू आनन्दले कराउँदै कटनी गर्नेछन्‌। छर्नालाई रूँदै बिउ बोकेर लैजानेले आफ्ना बिटा बोकेर आनन्दले कराउँदै फेरि घर आउनेछ।” छर्ने र कटनी गर्ने सम्बन्धमा भजनरचयिताले प्रयोग गरेका शब्दहरूले पुरातन बेबिलोनको कैदबाट छुटकारा पाएका शेष जनहरूलाई यहोवाले गर्नुभएको हेरचाह र तिनीहरूलाई दिनुभएको आशिष्‌लाई चित्रित गर्छ। छुटकारा पाएकोमा तिनीहरू साह्रै खुसी भए। तर ७० वर्ष लामो कैदको बेला निर्जन भएको भूमिमा अन्‍न छर्नुपर्दा तिनीहरू रोए होलान्‌। तथापि, बीउ छर्ने र निर्माण कार्यमा भाग लिनेहरूले आफ्नो मेहनतको मीठो फल चाख्न पाए।

१४ परीक्षामा पर्दा वा हामी अथवा हाम्रा सँगी विश्‍वासीहरू धार्मिकताका कारण सताइँदा हामी सायद रुन्छौं होला। (१ पत्रुस ३:१४) कटनी कार्य सुरु गर्दा आफ्नो प्रयासको कुनै फल नपाइएको जस्तो लागेकोले हामीलाई सुरुसरुमा गाह्रो भएको होला। तर निरन्तर छरिरह्‍यौं र पानी हालिरह्‍यौं भने, परमेश्‍वरले यसलाई बढाउनुहुनेछ र हामीले आशा गरे भन्दा राम्रो फल पाउनेछौं। (१ कोरिन्थी ३:६) हामीले प्रस्तुत गरेका बाइबल र बाइबल आधारित प्रकाशनहरूले पाएको नतिजामा यो स्पष्टै देखिन्छ।

१५. कटनी कार्यमा हामीले चलाउने मसीही साहित्यको लाभबारे एउटा उदाहरण दिनुहोस्‌।

१५ जीम नाउँ गरेको पुरुषलाई विचार गर्नुहोस्‌। जब आफ्नी आमाको मृत्यु भयो त्यतिबेला आमाका सरसम्पत्तिहरूमध्ये तिनले लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? a पुस्तक भेट्टाए। एकदमै चासो दिएर तिनले उक्‍त पुस्तक पढे। बाटोमा भेटेका यहोवाका साक्षीले तिनसित कुरा गरिसकेपछि जीम पुनःभेटको निम्ति राजी भए र पछि बाइबल अध्ययन पनि सुरु भयो। जीमले छिटो-छिटो आध्यात्मिक उन्‍नति गरे। आफ्नो जीवन यहोवालाई समर्पण गरे र बप्तिस्मा लिए। आफूले सिकेको कुरा आफ्नो परिवारका अन्य सदस्यहरूलाई पनि बताए। फलतः तिनकी दिदी र दाइ पनि यहोवाका साक्षीहरू भए र पछि जीमले लण्डनको बेथेलमा पूर्ण-समय स्वयम्‌सेवा गर्ने विशेषाधिकार पाए।

सतावटको बावजूद आनन्दित

१६. (क) कटनी कार्यमा किन सफलता प्राप्त गर्न सकिएको छ? (ख) सुसमाचारले पार्नसक्ने प्रभावबारे येशूले कस्तो चेताउनी दिनुभयो तर हामीले कुन मनोवृत्तिसहित मानिसहरूलाई भेट्‌नुपर्छ?

१६ कटनी कार्यमा यतिविघ्न सफलता किन पाइयो? किनकि अभिषिक्‍त मसीही तथा तिनीहरूका साथीहरूले येशूको यो निर्देशन पालन गरेका छन्‌: “जो म तिमीहरूलाई अन्धकारमा भन्दछु, त्यो तिमीहरूले उज्यालोमा भनिदेओ, र जो तिमीहरूले कानमा सुन्छौ, त्यो घरका धुरीबाट प्रचार गर।” (मत्ती १०:२७) तथापि, दुःख भोग्नु पर्ने हुनसक्छ भनेर पनि हामी आशा गर्नसक्छौं किनकि येशूले यस्तो चेताउनी दिनुभयो: “औ भाइले भाइलाई मृत्युको लागि सुम्पिदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बाबुहरूका विरुद्धमा उठ्‌नेछन्‌, र तिनीहरूलाई मार्न लाउनेछन्‌।” येशूले अझै यसो भन्‍नुभयो: “म पृथ्वीमा मेल गराउन आएको हुँ भनी नसम्झ। मेल गराउनालाई ता होइन, तर तरवार चलाउनालाई म आएको हुँ।” (मत्ती १०:२१, ३४) येशूले जानाजानी परिवारलाई टुक्राउन खोजिरहनुभएको थिएन। तर कहिलेकाहीं सुसमाचारले गर्दा त्यस्तै हुन्छ। आज परमेश्‍वरका जनहरूको सम्बन्धमा पनि त्यसै भन्‍न सकिन्छ। परिवारहरूलाई भेट्‌न जाँदा त्यो परिवार टुक्रोस्‌ भन्‍ने हाम्रो मनसाय हुँदैन। हामी त सबैले सुसमाचार ग्रहण गरोस्‌ भन्‍ने इच्छा गर्छौं। त्यसकारण, “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू जत्ति” सबैलाई यो सन्देश राम्रो लागोस्‌ भनेर हामी परिवारका सम्पूर्ण सदस्यहरूलाई दयालु, सहानुभूतिशील तरिकामा सन्देश सुनाउने प्रयास गर्छौं।—प्रेरित १३:४८.

१७. परमेश्‍वरको सार्वभौमिकतालाई समर्थन गर्नेहरू कसरी अरूभन्दा भिन्‍न देखिन्छन्‌ र यसको एउटा उदाहरण के हो?

१७ राज्य सन्देशले परमेश्‍वरको सार्वभौमिकतालाई समर्थन गर्नेहरूलाई अरूभन्दा भिन्‍न बनाउँछ। उदाहरणका लागि, जर्मनीमा समाजवादी सरकारले शासन गर्दा ‘जे सिजरका हुन्‌ सिजरलाई, र जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई दिंदा’ हाम्रा सँगी उपासकहरू कसरी अरूभन्दा भिन्‍न देखिए विचार गर्नुहोस्‌। (लूका २०:२५) धार्मिक नेताहरू र मसीहीजगत्‌का चर्चहरूका मसीही भनौंदाहरू विपरीत यहोवाका सेवकहरूले अटल भई बाइबलका सिद्धान्तहरू उल्लंघन गर्न इन्कार गरे। (यशैया २:४; मत्ती ४:१०; यूहन्‍ना १७:१६) द नाजी स्टेट एण्ड द न्यु रिलिजन्स पुस्तकका लेखिका प्राध्यापक क्रिस्टिन किङले यसो भनिन्‌: “साक्षीहरूसित मात्र [नाजी] सरकार असफल भए। हजारौंलाई मारे तापनि तिनीहरूको काम जारी रह्‍यो र मे १९४५ मा समाजवादको पतन हुँदा यहोवाका साक्षीहरूको काम भने चलि नै रहेको थियो।”

१८. सतावटको बावजूद यहोवाका जनहरू कस्तो मनोवृत्ति प्रकट गर्छन्‌?

१८ सतावटको सामने यहोवाका जनहरूले प्रकट गरेको मनोवृत्ति पनि साँच्चै उल्लेखनीय छ। सांसारिक सरकारहरू हाम्रो विश्‍वास देखेर पनि प्रभावित त भएका होलान्‌ तर हामीले एक आपसमा द्वेष वा वैमनस्यता नराखेको देख्दा तिनीहरू झनै छक्क पर्छन्‌। उदाहरणका लागि, नाजी नरसंहारबाट बचेका साक्षीहरू विगतमा आफूले भोगेका तीतामीठा अनुभवहरू सम्झेर अक्सर आनन्द तथा सन्तुष्टि व्यक्‍त गर्छन्‌। यहोवाले उनीहरूलाई “असामान्य शक्‍ति” दिनुभयो भनेर तिनीहरूलाई थाह छ। (२ कोरिन्थी ४:७, NW) हामीमाझ भएका अभिषिक्‍त जनहरू तिनीहरूको “नाउँ स्वर्गमा लेखिएका छन्‌” भनेर ढुक्क छन्‌। (लूका १०:२०) तिनीहरूको धीरजले यस्तो आशा उत्पन्‍न गराएको छ, जसले निराश गराउँदैन। पार्थिव आशा भएका विश्‍वासी खेतालाहरूको पनि त्यस्तै आस्था छ।—रोमी ५:४, ५.

कटनी गरिरहनुहोस्‌

१९. मसीही सेवकाईमा कस्ता प्रभावकारी तरिकाहरू प्रयोग गरिएका छन्‌?

१९ यहोवाले हामीलाई यो लाक्षणिक कटनी कार्य कतिञ्जेल गर्न दिनुहुने हो, त्यो हेर्न बाँकी नै छ। तर त्यतिञ्जेल, खेतालाहरूसित आफ्नो काम गर्ने विशेष तरिकाहरू छन्‌ भन्‍ने कुरा हामीले बिर्सनु हुँदैन। त्यसै गरी, जाँचिएका र खारिएका तरिकाहरू अपनाएर वफादार भई प्रचारकार्यमा लागिरह्‍यौं भने पक्कै प्रभावकारी हुनेछौं भनेर हामी पक्का हुन सक्छौं। सँगी मसीहीहरूलाई पावलले यसो भने: “यसकारण म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू मेरो देखासिकी गर्नेहरू होओ।” (१ कोरिन्थी ४:१६) मिलेटसमा एफिससका प्राचीनहरूलाई भेट्‌दा पावलले आफू “घर-घरमा खुल्लमखुल्ला सिकाउन[देखि]” पछि नहटेको कुरा तिनीहरूलाई स्मरण गराए। (प्रेरित २०:२०, २१) पावलका मित्र तिमोथीले प्रेरित पावलका तरिकाहरू के के हुन्‌, सिके र कोरिन्थीकाहरूलाई ती तरिकाहरूसित अभ्यस्त गराए। (१ कोरिन्थी ४:१७) परमेश्‍वरले पावलको सिकाउने तरिकाहरूमाथि आशिष्‌ दिनुभयो। त्यसै गरी घरघरमा, पुनःभेटमा, बाइबल अध्ययनमा र जहाँजहाँ मानिसहरू भेटिन्छन्‌, त्यहींत्यहीं सुसमाचार खुल्लमखुल्ला प्रचार गर्ने हाम्रो लगनशीलतालाई पनि उहाँले आशिष्‌ दिनुहुनेछ।—प्रेरित १७:१७.

२०. प्रशस्त आध्यात्मिक कटनी नजिकै छ भनेर येशूले कसरी संकेत गर्नुभयो र हालैका वर्षहरूमा यो कसरी साँचो साबित भएको छ?

२० सा.यु. ३० मा सुखार नजिकै सामरी स्त्रीलाई प्रचार गरिसक्नु भएपछि, येशूले आध्यात्मिक कटनीबारे चर्चा गर्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “आफ्ना आँखा गाड़ेर खेतबारीहरू हेर, किनभने ती अहिलेनै कटनीको लागि पहेंला भएका छन्‌। जसले बाली काट्‌छ त्यसले ज्याला पाउँछ, औ अनन्त जीवनको लागि फल बटुल्छ, र छर्ने र काट्‌ने एकसाथ रमाउँछन्‌।” (यूहन्‍ना ४:३४-३६) येशूले सामरी स्त्रीसितको आफ्नो भेटको प्रभाव पहिल्यै देखिसक्नुभएको होला। किनकि त्यस स्त्रीले उहाँबारे दिएको साक्षीले गर्दा थुप्रैले उहाँमाथि विश्‍वास गर्न थालिसकेका थिए। (यूहन्‍ना ४:३९) हालैका वर्षहरूमा थुप्रै मुलुकले यहोवाका साक्षीहरूमाथि लगाएको प्रतिबन्ध हटाएका छन्‌ वा तिनीहरूलाई कानुनी मान्यता दिएका छन्‌ र यसरी कटनीका लागि नयाँ खेतहरू देखा परेका छन्‌। फलतः प्रशस्त मात्रामा आध्यात्मिक कटनी भइरहेको छ। वास्तवमा, आनन्दित हुँदै निरन्तर आध्यात्मिक कटनीमा व्यस्त भइरहेकोले नै संसारभरि प्रशस्त आशिष्‌ अनुभव गरिएको छ।

२१. आनन्दित भएर कटनी गरिरहनुपर्ने कारण हामीसित किन छ?

२१ फसल पाकेर कटनीका लागि तयार भइसकेपछि खेतालाहरूले तुरुन्तै काम गरिहाल्नुपर्छ। तिनीहरूले रत्तिभर ढिलो गर्नुहुँदैन। आज हामीले मेहनती भई अविलम्बी भावसहित काम गर्नु आवश्‍यक छ किनकि हामी “अन्तको समय[मा]” बाँचिरहेका छौं। (दानियल १२:४) हो, हामी परीक्षाहरूमा परौंला तर पहिला कहिल्यै नभएको ठूलो कटनीको काम यहोवाका उपासकहरूले गर्नु परेको छ। त्यसकारण, यो रमाउने दिन हो। (यशैया ९:३) त्यसैले आउनुहोस्‌, आनन्दित भई कटनी गरिरहौं!

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित तथा वितरित।

तपाईं कसरी जवाफ दिनुहुन्छ ?

फसलका मालिकले थुप्रै खेताला पठाइदिनुहोस्‌ भनी गरिएको आग्रहको कसरी जवाफ दिनुभएको छ?

“घृणित” भए तापनि हामी कस्तो मनोवृत्ति कायम राख्छौं?

सताइए तापनि हामी किन आनन्दित छौं?

किन हामी अविलम्बी भावसहित कटनी कार्यमा लागिरहनुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६, १७-मा भएका चित्रहरू]

कटनी कार्यमा व्यस्त हुनेहरूसित स्वर्गदूतको समर्थन छ

[पृष्ठ १८-मा भएको चित्र]

जानकारी पदयात्राले राज्य सन्देशतर्फ थुप्रैको ध्यान खिच्यो

[पृष्ठ १८-मा भएको चित्र]

हामी रोप्छौं, पानी हाल्छौं तर बढाउने त परमेश्‍वर नै हुनुहुन्छ