सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंसित अमर आत्मा छ?

के तपाईंसित अमर आत्मा छ?

के तपाईंसित अमर आत्मा छ?

प्रेरित पावलले लेखे, “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) हो, बाइबल तथ्य कुराहरूको सँगालो अनि साँचो परमेश्‍वर यहोवाले दिनुभएको किताब हो।—भजन ८३:१८.

यहोवा, मानिसजातिलगायत सारा थोकका सृष्टिकर्ता हुनुभएकोले उहाँलाई हामी मरेपछि के हुन्छ भनी राम्ररी थाह छ। (हिब्रू ३:४; प्रकाश ४:११) अनि उहाँले आफ्नो प्रेरित वचन बाइबलमा मृत्युपछि के हुन्छ भन्‍नेबारे सत्य अनि सन्तोषजनक जवाफ दिनुभएको छ।

आत्मा भनेको के हो ?

बाइबलमा “आत्मा” भनेर अनुवाद गरिएका शब्दहरूको अर्थ मूलतः “सास” हो। तर यसले सास फेर्नुलाई मात्र संकेत गर्दैन। उदाहरणका लागि, बाइबलका लेखक याकूबले यसो भने: “शरीर आत्माविना मरेको हुन्छ।” (याकूब २:२६) त्यसकारण, आत्मा भनेको शरीरलाई जीवन दिने तत्त्व पनि हो।

यो मानिसलाई सजीव पार्ने शक्‍ति हाम्रो फोक्सोमा भित्र जाने र बाहिर निस्कने सास वा हावा मात्र हुनसक्दैन। किन? किनभने द वर्ल्ड बूक इन्साइक्लोपीडिया-अनुसार सास रोकिसकेपछि पनि शरीरका कोषहरू केही छिन अर्थात्‌ “केही मिनेट” जीवित रहिरहन्छन्‌। त्यसकारण, फेरि जीवित पार्ने प्रयास सफल हुनसक्छ। तर शरीरका कोषहरूबाट जीवनको उज्यालो निभिसकेपछि जीवन जोगाउने कुनै पनि प्रयास सफल हुन सक्दैन। संसारमा भएका सारा सास वा हावाले मरेको एउटा कोषलाई समेत जीवन दिन सक्दैन। त्यसकारण, आत्मा भनेको कोषहरू र मानिसलाई जीवित पार्ने जीवनको उज्यालो अर्थात्‌ जीवनशक्‍ति हो। यो जीवनशक्‍ति सासमा अडेको हुन्छ।—अय्यूब ३४:१४, १५.

के यो आत्मा मानिसमा मात्र हुन्छ? यसबारे सही जवाफ पाउन बाइबलले मदत गर्छ। बुद्धिमान्‌ राजा सुलेमानले मानिस र पशु दुवैको “एउटै सास [“आत्मा,” NW] हुन्छ” भनेर स्वीकारे। अनि तिनले सोधे: “मानिसको आत्माचाहिं उँभोतिर र पशुको तल माटोमा जान्छ भनी कसले जान्दछ र?” (उपदेशक ३:१९-२१) त्यसकारण, पशुपक्षीलगायत मानिससित आत्मा छ भनेर बताइएको छ। यो कसरी हुनसक्छ?

आत्मा वा जीवनशक्‍तिलाई कुनै यन्त्र वा उपकरणमा प्रवाह हुने विद्युत्‌सित तुलना गर्न सकिन्छ। यो अदृश्‍य विद्युतले विभिन्‍न काम गर्नसक्छ। जस्तै, बिजुलीको हिटरले ताप दिन्छ, कम्प्युटरले जानकारी लिने र दिने गर्छ भने टेलिभिजनमा चित्र हेर्न अनि आवाज सुन्‍न सकिन्छ। तथापि, यी यी सबै काम विद्युत्‌ले मात्रै गर्न सक्दैन। त्यो त केवल शक्‍ति हो। त्यसै गरी, जीवनशक्‍तिले पनि आफूले सजीव पार्ने कुनै पनि प्राणीको गुण धारण गर्दैन। यसको व्यक्‍तित्व छैन र यसले सोच्न पनि सक्दैन। मानिसजाति र पशुपक्षी दुवैको “एउटै सास [“आत्मा,” NW] हुन्छ।” (उपदेशक ३:१९) त्यसकारण, मानिस मर्दा उसको आत्मा अन्त कतै अलौकिक संसारमा प्रवेश गर्दैन।

त्यसोभए, मरेको मान्छे कस्तो अवस्थामा हुन्छ त? अनि मानिस मर्दा उसको आत्मालाई के हुन्छ?

“माटैमा फर्किजानेछस्‌”

प्रथम पुरुष आदमले जानाजानी आज्ञा उल्लंघन गर्दा परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌।” (उत्पत्ति ३:१९) यहोवाले आदमलाई माटोबाट बनाउनुअघि तिनी कहाँ थिए? कतै पनि थिएनन्‌! तिनको अस्तित्व नै थिएन। त्यसकारण, यहोवा परमेश्‍वरले आदमलाई “माटोमा नफर्कुञ्जेल” भन्‍नुहुँदा उहाँले आदम मर्ने थिए र तिनी माटोमा मिल्ने थिए भन्‍नुभएको थियो। आदम अलौकिक संसारमा पुग्ने थिएनन्‌। मरेपछि आदम फेरि अस्तित्वविहीन हुने थिए। तिनले मृत्युदण्ड पाएका थिए अर्थात्‌ तिनले जीवन गुमाउने थिए, तिनी अर्को अलौकिक संसारमा लगिने थिएनन्‌।—रोमी ६:२३.

अनि मरिसकेका अरू मानिसहरूबारे के भन्‍न सकिन्छ? मरिसकेको मानिस कुन अवस्थामा हुन्छ, उपदेशक ९:५, १० मा स्पष्ट पारिएको छ: “मरेकाहरूले केही पनि जान्दैनन्‌। . . . किनभने चिहानमा . . . नता केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्छ।” (नयाँ संशोधित संस्करण) त्यसकारण, मृत्यु अस्तित्वविहीन अवस्था हो। भजनरचयिताले मानिस मर्दा “तिनीहरूको आत्मा निस्कन्छ, तिनीहरू माटोमा मिलिहाल्छन्‌। त्यही दिन तिनीहरूका योजनाहरू पनि नष्ट हुन्छन्‌” भनेर लेखे।—भजन १४६:४, नयाँ संशोधित संस्करण।

स्पष्ट छ, मरेपछि अस्तित्व रहँदैन। तिनीहरूलाई केही थाह हुँदैन। तिनीहरूले तपाईंलाई देख्न सक्दैनन्‌, सुन्‍न सक्दैनन्‌ न त तपाईंसित कुरा नै गर्न सक्छन्‌। तिनीहरूले तपाईंलाई न मदत गर्न सक्छन्‌ न त हानि नै पुऱ्‍याउन सक्छन्‌। तपाईं मरिसकेको मानिससित डराउनुपर्दैन। तर मानिस मर्दा उसको “आत्मा” निस्कन्छ भनेको चाहिं के हो त?

आत्मा ‘परमेश्‍वरकहाँ जान्छ’

मानिस मर्दा उसको आत्मा “आत्मा दिने परमेश्‍वरकहाँ जा[न्छ]” भनी बाइबल बताउँछ। (उपदेशक १२:७) के यसको अर्थ आत्मा स्वतन्त्र हुँदै साँच्चै अन्तरिक्ष पार गर्दै परमेश्‍वरकहाँ पुग्छ भनेको हो? पटक्कै होइन! बाइबलले यहाँ ‘जान्छ’ भनेर प्रयोग गरेको शब्दले साँच्चै एक ठाउँबाट अर्को ठाउँमा जाने प्रक्रियालाई बुझाइरहेको नहुन पनि सक्छ। उदाहरणका लागि, अविश्‍वासी इस्राएलीहरूलाई यसो भनिएको थियो: “मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” (मलाकी ३:७) इस्राएल यहोवाकहाँ ‘फर्कनु’ अर्थात्‌ ‘जानुको’ अर्थ आफ्ना गलत मार्ग त्यागेर फेरि परमेश्‍वरको धार्मिक मार्गमा चल्नु थियो। अनि यहोवा इस्राएलतिर ‘फर्कनुको’ अर्थ फेरि आफ्ना जनहरूलाई अनुमोदन देखाउनु थियो। दुवै अवस्थामा ‘फर्कनु’ भन्‍ने अभिव्यक्‍तिमा मनोवृत्ति समावेश थियो, कुनै एक ठाउँबाट अर्को ठाउँमा जाने कुरा समावेश थिएन।

त्यसै गरी, मृत्यु हुँदा आत्मा परमेश्‍वरकहाँ ‘जान्छ’ भन्दा त्यसले साँच्चै पृथ्वीबाट स्वर्ग जान्छ भन्‍न खोजिएको होइन। जीवनशक्‍ति एकपटक गइसकेपछि परमेश्‍वरले मात्र फेरि जीवन दिन सक्नुहुन्छ भन्‍न खोजिएको हो। त्यसकारण, आत्मा, “आत्मा दिने परमेश्‍वरकहाँ जा[नु]” भन्‍नाले उक्‍त व्यक्‍तिको भावी जीवनको आशा पूर्णतया परमेश्‍वरमा निहित छ भन्‍न खोजिएको हो।

उदाहरणका लागि, येशू ख्रीष्टको मृत्युबारे धर्मशास्त्रले के भन्छ, विचार गर्नुहोस्‌। सुसमाचारका लेखक लूका यसो भन्छन्‌: “चर्को सोरले कराएर येशूले भन्‍नुभयो, ‘हे पिता, म मेरो आत्मा तपाईंको हातमा जिम्मा दिन्छु।’ औ यति भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो।” (लूका २३:४६) येशूको आत्मा उहाँबाट निस्केपछि उहाँ स्वर्ग जानु भएन। मृत्यु भएको तीन दिनपछि मात्र येशू ब्यूँताइनुभयो र त्यसको चालीस दिनपछि मात्र उहाँ स्वर्ग उक्लनुभयो। (प्रेरित १:३, ९) तथापि, मृत्यु भए तापनि यहोवाले फेरि जीवन दिन सक्नुहुन्छ भनी निर्धक्क हुँदै येशूले आफ्नो आत्मा पितालाई सुम्पनुभयो।

हो, परमेश्‍वरले मानिसलाई फेरि जीवन दिन सक्नुहुन्छ। (भजन १०४:३०) कस्तो महान्‌ प्रत्याशा!

पक्का आशा

बाइबल भन्छ, “बेला आउँछ, जब [“सम्झनाको,” NW] चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌ . . . [र] . . . निस्किआउनेछन्‌।” (यूहन्‍ना ५:२८, २९) हो, यहोवाको सम्झनामा हुनेजति सबैको पुनरुत्थान हुनेछन्‌ अथवा तिनीहरूले फेरि जीवन पाउनेछन्‌ भनेर येशूले प्रतिज्ञा गर्नुभयो। यिनीहरूमध्ये यहोवाको धार्मिक मार्ग खोज्ने सेवकहरू पनि हुनेछन्‌। तर परमेश्‍वरको धार्मिक स्तरअनुसार गर्ने कि नगर्ने, त्यो निर्णय गर्न नपाईकनै मर्ने लाखौं मानिसहरू छन्‌। कि त तिनीहरूले यहोवाले चाहनुहुने कुराहरू थाह पाएनन्‌ वा तिनीहरूले आवश्‍यक परिवर्तन गर्ने पर्याप्त समय पाएनन्‌। यस्ताहरू पनि परमेश्‍वरको सम्झनामा रहनेछन्‌ र तिनीहरूको पनि पुनरुत्थान हुनेछ, किनकि बाइबल भन्छ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।”—प्रेरित २४:१५.

आज पृथ्वी घृणा र कलह, हिंसा र रक्‍तपात, प्रदूषण र रोगबिमारले भरिएको छ। मरिसकेका मानिसहरूले यस्तो पृथ्वीमा फेरि जीवन पाउने हो भने त तिनीहरूको आनन्द क्षणभरको मात्र हुनेछ। तर सृष्टिकर्ताले अब चाँडै शैतान, दियाबलको अधीनमा परेको यस वर्तमान्‌ रीतिरिवाजलाई नाश गर्ने प्रतिज्ञा गर्नुभएको छ। (हितोपदेश २:२१, २२; दानियल २:४४; १ यूहन्‍ना ५:१९) त्यसपछि, धार्मिक मानव समाज अर्थात्‌ “नयाँ पृथ्वी” बसालिनेछ।—२ पत्रुस ३:१३.

त्यतिखेर “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ” (यशैया ३३:२४) मृत्युको वेदनासमेत हटाइनेछ किनकि परमेश्‍वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:४) “सम्झनाको चिहानमा हुनेहरू[का]” लागि कस्तो प्रत्याशा!

यहोवाले यस पृथ्वीबाट दुष्टता हटाउनुहुँदा दुष्टहरूसँगसँगै धर्मीहरूलाई पनि नाश गर्नुहुने छैन। (भजन ३७:१०, ११; १४५:२०) वास्तवमा, “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़” वर्तमान्‌ दुष्ट संसारलाई नाश गर्ने “महा सङ्‌कष्टबाट” बच्नेछन्‌। (प्रकाश ७:९-१४) अतः मरिसकेका मानिसहरूलाई त्यो ठूलो जमातले स्वागत गर्नेछ।

के आफ्ना प्रिय जनहरूलाई फेरि भेट्‌ने तपाईंको रहर छ? के तपाईं पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्न चाहनुहुन्छ? चाहनुहुन्छ भने, तपाईंले परमेश्‍वरको इच्छा र उद्देश्‍यबारे सही ज्ञान लिनैपर्छ। (यूहन्‍ना १७:३) यहोवा “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने” इच्छा गर्नुहुन्छ।—१ तिमोथी २:३, ४.

[पृष्ठ ४-मा भएको चित्र]

“तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।”

[पृष्ठ ५-मा भएको चित्र]

आत्मालाई बिजुलीसित तुलना गर्न सकिन्छ

[पृष्ठ ७-मा भएको चित्र]

पुनरुत्थानपश्‍चात्‌ चिरकालीन आनन्द प्राप्त हुनेछ