सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं साँच्चै सहनशील हुनुहुन्छ?

के तपाईं साँच्चै सहनशील हुनुहुन्छ?

के तपाईं साँच्चै सहनशील हुनुहुन्छ?

अरूको अभद्र व्यवहार देखेर के तपाईं रुष्ट हुनुभएको छ? आफ्ना घनिष्ठ व्यक्‍तिहरूमाथि भ्रष्ट प्रभाव परेको देख्दा के तपाईं तुरुन्तै कदम चालिहाल्नु हुन्छ?

गम्भीर पापलाई फैलिनदेखि रोक्न कहिलेकाहीं तत्काल ठोस कदम चाल्नु आवश्‍यक पर्नसक्छ। उदाहरणका लागि, सा.यु.पू. १५ औं शताब्दीमा निर्लज्ज कार्यले इस्राएलीहरूलाई दूषित पार्न लागेको बेला हारूनका नाति पीनहासले गलत कुरालाई हटाउन तुरुन्तै निर्णायक कदम चाले। तिनले जे गरे, त्यसप्रति मन्जुरी व्यक्‍त गर्नुहुँदै यहोवाले यसो भन्‍नुभयो: “पीनहासले इस्राएलीहरूका बीचमा म जस्तै राँकिएर इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। यसैले मेरो क्रोधमा मैले तिनीहरूलाई भस्म पारिनँ।”—गन्ती २५:१-११.

पीनहासले दूषित कुरालाई फैलनदेखि रोक्न उचित कदम चालेका थिए। तर मानव कमजोरीको कारण अरूले गल्ती गर्दा अनावश्‍यक रिस पोखाउन थाल्यौं भने नि? बिना सोचविचार काम गऱ्‍यौं अथवा कारणैबिना कदम चाल्यौं भने, हामी धार्मिकताको रक्षक हुनु त कता हो कता, उल्टा सानो चित्त भएको व्यक्‍ति हुनेछौं अर्थात्‌ अरूले असिद्धताको कारण गल्ती गर्दा त्यसलाई पटक्कै क्षमा गर्न नसक्ने व्यक्‍ति हुनेछौं। यस्तो पासोमा नपर्न हामीलाई केले मदत गर्नसक्छ?

‘यहोवाले हाम्रा सबै अधर्म क्षमा गर्नुहुन्छ’

यहोवा “परमेश्‍वर डाह गर्ने (डाही) परमेश्‍वर हुनुहुन्छ; प्रतिद्वन्द्वी नसहने परमेश्‍वर हुनुहुन्छ।” (प्रस्थान २०:५, NW, पादटिप्पणी) सृष्टिकर्ता हुनुभएकोले हाम्रो ऐकान्तिक भक्‍ति माग गर्ने अधिकार उहाँसित छ। (प्रकाश ४:११) यद्यपि, यहोवा मानव कमजोरीहरूलाई सहनुहुन्छ। त्यसैकारण त, उहाँबारे भजनरचयिता दाऊदले यसप्रकार गाए: “परमप्रभु दयासागर र अनुग्रही, रीसमा ढीला र अति करुणामय हुनुहुन्छ। उहाँले सधैं हप्काइरहनुहुन्‍न। . . . उहाँले हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुभएको छैन, नता हाम्रा अधर्मअनुसार हामीलाई बदला दिनुभएको छ।” हो, हामी पश्‍चात्तापी छौं भने परमेश्‍वरले ‘हाम्रा सम्पूर्ण पाप क्षमा गर्नुहुनेछ।’—भजन १०३:३, ८-१०.

मानिसजातिको पापी बनोटलाई बुझ्नुभएको कारण यहोवाले पश्‍चात्तापी पापीहरूलाई “सधैं हप्काइरहनुहुन्‍न।” (भजन ५१:५; रोमी ५:१२) वास्तवमा, पाप र असिद्धता हटाउने उहाँको उद्देश्‍य छ। पूर्णतया यो उद्देश्‍य पूरा नहोउञ्जेलसम्म “हाम्रा अधर्मअनुसार” व्यवहार गर्नुको साटो परमेश्‍वरले कृपा गरी येशू ख्रीष्टको छुटकाराको बलिदानको आधारमा क्षमा दिनुहुन्छ। उपयुक्‍त देख्नुभएको ठाउँमा यहोवाले दया नदेखाउनुभएको भए हामीमध्ये कोही पनि जीवित रहन योग्यका हुने थिएनौं। (भजन १३०:३) हामीबाट ऐकान्तिक भक्‍ति माग गर्नुहुने, हाम्रो स्वर्गमा बास गर्नुहुने पिता सहनशील परमेश्‍वर हुनु भएकोमा हामी साह्रै आभारी हुनसक्छौं!

सन्तुलन आवश्‍यक छ

असिद्ध मानवजातिसित व्यवहार गर्नुहुँदा सर्वशक्‍तिमान्‌ परमेश्‍वर त सहनशील हुनुहुन्छ भने के हामी पनि त्यस्तै हुनुपर्दैन र? सहनशीलतालाई विपत्ति आदिमा धैर्य धारण गर्नसक्ने अनि “अरूको विचार वा कामकुराप्रति धीरजी हुने भाव” भनेर व्याख्या गरिएको छ। एकदमै ठूलो पाप त होइन तर हामीलाई उचित नलागेको कुरा वा काम कसैले गर्दा के हामी पनि यस्तै झुकाउ राख्छौं अर्थात्‌ धीरजी हुन्छौं?

हो, हामी अत्यन्तै सहनशील पनि हुनुहुँदैन। उदाहरणका लागि, निरन्तर केटाकेटीहरूलाई दुर्व्यवहार गर्ने धर्मगुरुहरूको दुराचरणलाई धार्मिक अधिकारीहरूले नै सहँदा अत्यन्तै नोक्सानी भोगिरहनु परेको छ। “बच्चाहरूमाथि जे बित्यो त्यो पापको कारणले गर्दा भएको हो भन्दै चर्चका अधिकारीहरूले दोषी धर्मगुरुलाई [अन्तै] सरुवा मात्र गरेका छन्‌” भनेर आयरल्याण्डका एक जना रिपोटरले उल्लेख गरे।

यस्तो व्यक्‍तिलाई सरुवा गर्दैमा के यो उचित तरिकामा सहनशील भएको ठहर्छ? पटक्कै ठहरिंदैन! मानिलिनुहोस्‌, चिकित्सा संघले बिरामीलाई मार्ने वा अंगभंग पार्ने गैरजिम्मेवार डाक्टरलाई अर्को अस्पतालमा सरुवा गरेर निरन्तर शल्यक्रिया गर्न दिइरह्‍यो। हुनसक्छ, चिकित्सकहरूबीचको सम्बन्धलाई जोगाउन यसरी “सहेको” होला। तर त्यसरी सहनु के ठीक हो अनि लापरवाही अथवा अपराधको सिकार भएर आफ्नो जीवन गुमाउने वा दयनीय अवस्थामा पुग्ने पीडित पक्षहरूबारे के भन्‍न सकिन्छ?

अलिकता पनि सहनशील हुन नसक्नुका खतराहरू पनि छन्‌। येशू यस पृथ्वीमा हुनुहुँदा केही हठधर्मी यहूदीहरूले पीनहासले गरेको कामको गलत अर्थ लगाएर उग्रवादी काम गरेका थिए। यी हठधर्मीहरू “चाड र त्यस्तै अन्य अवसरको बेला यरूशलेममा भेला भएको भीडमा छिरेर आफूलाई मन नपर्ने व्यक्‍तिहरूलाई चुपीले रोप्थे।”

मसीही भएकाले हामी आफूलाई मन नपर्ने मानिसहरूलाई शारीरिक तवरमा हमला गर्ने यी हठधर्मीहरूले जस्तो अचाक्ली त कहिल्यै नगरौंला। तर के हामी आफूलाई मन नपर्ने व्यक्‍तिहरूमाथि अन्य तरिकामा अर्थात्‌ तिनीहरूको निन्दोचर्चो गर्दै तिनीहरूमाथि जाइ लाग्ने गर्छौं? उदाहरणका लागि, के हामी तिनीहरूको कुरा काट्‌छौं? यदि हामी साँच्चै सहनशील छौं भने, चित्त दुख्ने बोली कहिल्यै प्रयोग गर्ने छैनौं।

प्रथम शताब्दीका अर्का असहनशील समूह फरिसीहरू थिए। तिनीहरू निरन्तर अरूको भर्त्सना गर्ने र मानव असिद्धतालाई कुनै ठाउँ नै नदिने खालका थिए। घमण्डी फरिसीहरूले साधारण जनतालाई हेप्थे, उनीहरूलाई “श्रापित भीड” भन्दै छिःछिः दूरदूर गर्थे। (यूहन्‍ना ७:४९) अतः असलै कारणले गर्दा येशूले यस्ता आत्मधर्मी मानिसहरूको यसो भन्दै भर्त्सना गर्नुभयो: “धिक्कार तिमीहरूलाई, ए शास्त्री र फरिसीहरू हो, कपटीहरू! किनकि तिमीहरू पदीना र सूँप र जीराको दशौं भाग दिन्छौ, औ व्यवस्थाका तीभन्दा गहकिला कुराहरू, अर्थात्‌ न्याय, दया र विश्‍वास छोड़दछौं। तर तिमीहरूले यो पनि गरेर ती पनि नछोड़नु पर्थ्यो।”—मत्ती २३:२३.

यहाँ येशूले मोशालाई दिइएको व्यवस्था पालन गर्नुपर्ने आवश्‍यकतालाई हल्का तुल्याइरहनुभएको थिएन। उहाँले त व्यवस्थाले माग गरेका “गहकिला कुराहरू” अथवा बढ्‌ता महत्त्वपूर्ण कुराहरू व्यावहारिक तथा दयालु भएर पूरा गर्नुपर्छ भनी देखाउँदै हुनुहुन्थ्यो। असहनशील फरिसी तथा हठधर्मी समूहभन्दा येशू र उहाँका चेलाहरू कत्ति भिन्‍न थिए!

न त यहोवा परमेश्‍वरले न येशूले नै खराबीप्रति आँखा चिम्लनु हुन्छ। अब चाँडै ‘परमेश्‍वरलाई नचिन्‍नेहरू र सुसमाचार नमान्‍नेहरूलाई बदला’ लिने समय आउँदैछ। (२ थिस्सलोनिकी १:६-१०) तथापि, धार्मिकताप्रतिको जोसले गर्दा येशूले, जे सही हो त्यही गर्न चाहनेहरूप्रति आफ्नो पिताले जस्तै धीरज, दया अनि मायालु चासो प्रकट गर्नुहुन्छ। (यशैया ४२:१-३; मत्ती ११:२८-३०; १२:१८-२१) येशूले हाम्रोनिम्ति साह्रै राम्रो उदाहरण बसाल्नुभयो!

धीरजी भई एकअर्कालाई सहने

जे असल छ, त्यो गर्ने जोस हामीमा निकै होला तैपनि प्रेरित पावलको यो सल्लाह पालन गरौं: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर।” (कलस्सी ३:१३; मत्ती ६:१४, १५) सहनशील हुनुको अर्थ यस असिद्ध संसारमा एकअर्काका कमीकमजोरी र गल्तीहरूलाई क्षमा गर्नु हो। त्यसको साथै अरूबाट आशा गर्ने कुरामा पनि हामी व्यावहारिक हुनु आवश्‍यक छ।—फिलिप्पी ४:५.

सहनशील हुनुको अर्थ गलत काम अथवा भूलहरूलाई आँखा चिम्लेर बेवास्ता गर्नु भनेको होइन। सँगी विश्‍वासीको कुनैकुनै सोचाइ वा आनीबानी यहोवाको स्तरसित मेल नखाने खालका हुनसक्छन्‌। त्यस्तो भिन्‍नता परमेश्‍वरलाई नै तिरस्कार गर्ने गरी एकदमै गम्भीर नभए तापनि यसले केही काँटछाँट गर्नु आवश्‍यक छ भन्‍ने चेताउनीमूलक संकेत दिनसक्छ। (उत्पत्ति ४:६, ७) आध्यात्मिक तवरमा योग्य व्यक्‍तिहरूले गल्ती गर्नेहरूलाई नम्रतासाथ सुधार्न खोज्नु साह्रै मायालु कुरा हो! (गलाती ६:१) यद्यपि, यस क्षेत्रमा सफलता हासिल गर्न आलोचनात्मक भएर होइन तर व्यक्‍तिविशेषमाथि चासो लिएर काम गर्नु आवश्‍यक छ।

“नम्रता र डरसँग”

हाम्रो भन्दा भिन्‍नै धार्मिक विचारधारा भएको व्यक्‍तिप्रति धैर्य धारण गर्ने सम्बन्धमा के भन्‍न सकिन्छ? सन्‌ १८३१ मा आयरल्याण्डका सबै नेसनल स्कूलहरूमा टाँगिएको “साधारण पाठ” यस्तो छ: “येशू ख्रीष्टले मानिसहरूलाई जबरजस्ती आफ्नो धर्म मान्‍न लगाउन हिंसाको बाटो अपनाउनुभएन। . . . हामी सही छौं र तिनीहरू गलत छन्‌ भनेर विश्‍वस्त गराउने तरिका छिमेकीसित बहस गर्नु र तिनीहरूलाई दुर्व्यवहार गर्नु होइन। किनभने त्यसो गर्दा हामीसित मसीही मनोभाव छैन भनेर तिनीहरूलाई झनै विश्‍वस्त गराइरहेका हुनेछौं।”

येशूले परमेश्‍वरको वचनतर्फ आकर्षित हुने गरी मानिसहरूलाई सिकाउनुका साथै व्यवहार गर्नुभयो अनि हामीले पनि त्यसै गर्नुपर्छ। (मर्कूस ६:३४; लूका ४:२२, ३२; १ पत्रुस २:२१) परमेश्‍वरले दिनुभएको विशेष अन्तरदृष्टि अनि सिद्ध पुरुष हुनुभएको कारण उहाँले अरूको हृदयमा के छ जान्‍न सक्नुहुन्थ्यो। तसर्थ, आवश्‍यक परेको बेला येशूले यहोवाका शत्रुहरूको घोर भर्त्सना गर्न सक्नुभयो। (मत्ती २३:१३-३३) उहाँले यसो गर्नु उहाँको असहनशीलता थिएन।

येशूसित जस्तो हामीसित मानिसको हृदय पढ्‌नसक्ने क्षमता छैन। अतः हामीले प्रेरित पत्रुसको यो सल्लाह पालन गर्नुपर्छ: “ख्रीष्टलाई प्रभु जानेर तिम्रा हृदयमा पवित्र मान। तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग, सधैं तयार भइरहो।” (१ पत्रुस ३:१५) यहोवाको सेवकको हैसियतमा हामीले आफ्नो विश्‍वासको रक्षा गर्नुपर्छ किनकि हाम्रो विश्‍वास पूर्णतया परमेश्‍वरको वचनमा आधारित छ। तर त्यसो गर्दा हामीले अरू व्यक्‍तिहरूका साथै तिनीहरूले इमानदारसाथ मान्दै आएको विश्‍वासको आदर गर्नु पनि आवश्‍यक छ। पावलले यस्तो लेखे: “हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्‍नालाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्‌।”—कलस्सी ४:६.

डाँडाको सुप्रसिद्ध उपदेशमा येशूले यसो भन्‍नुभयो: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) त्यसकारण, एउटाले अर्कोलाई सहौं र हामीले सुसमाचार प्रचार गर्ने व्यक्‍तिहरूलाई आदर देखाऔं। बाइबल आधारित सहनशीलताले धार्मिकताप्रतिको हाम्रो जोसलाई सन्तुलित पाऱ्‍यौं भने, हामीले यहोवालाई प्रसन्‍न तुल्याउनुका साथै हामी साँच्चै सहनशील हुनेछौं।

[पृष्ठ २३-मा भएको चित्र]

फरिसीहरूको जस्तो असहनशील मनोवृत्ति त्याग्नुहोस्‌

[पृष्ठ २३-मा भएको चित्र]

येशूले आफ्नो पिताको सहनशील आत्मा प्रतिबिम्बित गर्नुभयो। के तपाईं पनि यसै गर्नुहुन्छ ?