सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘धर्मीहरूका लागि आशिष्‌’

‘धर्मीहरूका लागि आशिष्‌’

‘धर्मीहरूका लागि आशिष्‌’

वृद्धावस्थामा भजनरचयिता दाऊदले यसो भने: “जवान थिएँ, र म अहिले बूढ़ो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” (भजन ३७:२५) यहोवा परमेश्‍वर धर्मीहरूलाई माया गर्नुहुन्छ र तिनीहरूको ख्याल राख्नुहुन्छ। उहाँले आफ्नो वचन बाइबलमा साँचो उपासकहरूलाई धार्मिकता खोज्न आग्रह गर्नुभएको छ।—सपन्याह २:३.

धार्मिकता भनेको परमेश्‍वरको असल र खराबसम्बन्धी स्तरहरूअनुरूप चल्नु हो। त्यसो गर्नेहरूले प्रचुर मात्रामा आध्यात्मिक आशिष्‌हरू पाउनेछन्‌ भनी हितोपदेश अध्याय १० औंल्याउँछ र हामीलाई परमेश्‍वरको इच्छाबमोजिम चल्न प्रोत्साहन दिन्छ। ती आशिष्‌हरूमा प्रशस्त आध्यात्मिक आहार, इनामदायी तथा सन्तोषदायी काम अनि परमेश्‍वर र मानिससितको राम्रो सम्बन्ध पर्छन्‌। त्यसकारण आउनुहोस्‌, हितोपदेश १०:१-१४ विचार गरौं।

सर्वोत्तम प्रेरणा

यस अध्यायका सुरुका शब्दहरूले नै हितोपदेश पुस्तकको यस अर्को खण्डका लेखक को हुन्‌, प्रस्ट पारेका छन्‌। त्यहाँ यसो भनिएको छ: “सुलेमानको हितोपदेश।” सही काम किन गर्ने भन्‍ने सन्दर्भमा राम्रो प्रेरणा दिंदै पुरातन इस्राएलका राजा सुलेमान यसो भन्छन्‌: “बुद्धिमान छोराले बाबुलाई खुशी तुल्याउँछ, मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ।”हितोपदेश १०:१.

आफ्ना छोराछोरीमध्ये कसैले साँचो अनि जीवित परमेश्‍वरको उपासना गर्न छोड्‌दा आमाबाबुको साह्रै चित्त दुख्छ! सायद बुबाको तुलनामा आमा धेरै दुःखी हुने भएकीले यस बुद्धिमान्‌ राजाले आमाको पीडाबारे उल्लेख गरेका हुनसक्छन्‌। यस सम्बन्धमा डोरिसलाई साँच्चै त्यस्तै भएको थियो। a तिनी यसो भन्छिन्‌: “हाम्रो २१ वर्षको छोराले सच्चाइ छोड्‌दा मेरो श्रीमान्‌ फ्रांक र मेरो मनै भाँचियो। फ्रांकको तुलनामा मैले धेरै भावनात्मक पीडा खप्नुपऱ्‍यो। बाह्र वर्ष बितिसक्यो तैपनि यो घाउ पुरिएको छैन।”

छोराछोरीले बुबाको आनन्द बढाउन वा घटाउन सक्छन्‌ भने आमाको चित्त दुखाउन सक्छन्‌। अतः हामी बुद्धिमान्‌ होऔं र आफ्ना आमाबाबुलाई रमाउने केही कारण दिनसकौं। अनि यो भन्दा पनि महत्त्वपूर्ण कुरा, स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवाको हृदयलाई आनन्दित तुल्याऔं।

‘धर्मीको आत्मा सन्तुष्ट हुन्छ’

उक्‍त राजा यसो भन्छन्‌, “अन्यायको धनले केही लाभ हुँदैन। सोझोपनाले मानिसलाई मृत्युबाट रक्षा गर्छ।” (हितोपदेश १०:२) यस आखिरी दिनको पनि अन्तमा बाँचिरहेका साँचो मसीहीहरूका लागि वास्तवमा यी शब्दहरू साँच्चै अनमोल छन्‌। (दानियल १२:४) यस अभक्‍त संसारको विनाश नजिकै छ। मानिसजातिले आफ्नो बचाउको निम्ति बनाएका कुनै पनि कुरा अर्थात्‌ भौतिक, आर्थिक वा सैन्य शक्‍तिले उनीहरूलाई आउँदै गरेको “महा संकष्ट[मा]” सुरक्षा दिनसक्दैन। (प्रकाश ७:९, १०, १३, १४) केवल “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌।” (हितोपदेश २:२१) त्यसकारण, हामी “पहिले [परमेश्‍वरको] राज्य र उहाँको धार्मिकता खोजी” गरिरहौं।—मत्ती ६:३३.

यहोवाको आशिष्‌ पाउन उहाँका सेवकहरूले प्रतिज्ञा गरिएको नयाँ संसार नै पर्खनु पर्दैन। “परमप्रभुले धर्मीलाई भोकै राख्नुहुन्‍न, तर दुष्टको मनको इच्छालाई निराश तुल्याउनुहुन्छ।” (हितोपदेश १०:३) यहोवाले “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” प्रचुर मात्रामा आध्यात्मिक आहारको प्रबन्ध मिलाउनुभएको छ। (मत्ती २४:४५) धर्मीहरू ‘हृदय आनन्द भएकाले’ पक्कै पनि “गाउने” कारणहरू पाउनेछन्‌। (यशैया ६५:१४) त्यस्ता व्यक्‍तिको आत्मालाई ज्ञान आनन्ददायी लाग्छ। आध्यात्मिक सम्पत्तिहरू खोज्नु उसलाई रमाइलो लाग्छ। तर दुष्टलाई यस्ता आनन्दबारे के थाह?

‘परिश्रमी हुँदा धनी होइन्छ’

धर्मीले अर्को तरिकामा पनि आशिष्‌ पाउँछ। “अल्छे हातले मानिसलाई गरीब तुल्याउँछ, परिश्रमी हातले धनी तुल्याउँछ। अग्र-सोची छोराले ग्रीष्म ऋतुमानै जोहो गर्छ। कटनीको समयमा सुत्ने छोराले लाज पार्छ।”—हितोपदेश १०:४, ५.

कटनीको समयमा खेतालाहरूका लागि राजाका यी शब्दहरू विशेष गरी अर्थपूर्ण छन्‌। कटनीको समय लोसे हुने समय होइन। यो त लगनशील हुने अनि धेरै बेरसम्म काम गर्ने समय हो। साँच्चै, यो अविलम्बी हुने समय हो।

अन्‍न बालीको नभई मानिसहरूको कटनीलाई ध्यानमा राख्दै येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌। यसकारण तिमीहरूले फसलका प्रभुलाई [यहोवा परमेश्‍वरलाई] उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” (मत्ती ९:३५-३८) सन्‌ २००० मा एक करोड ४० लाखभन्दा धेरै मानिसहरू येशूको मृत्युको स्मरणार्थमा उपस्थित भए। यो संख्या यहोवाका साक्षीहरूको संख्याभन्दा दुई गुणा बढी छ। त्यसकारण, ‘फसल कटनीको लागि पहेंला भइसकेका छन्‌’ भन्‍ने कुरालाई कसले पो इन्कार गर्न सक्ला र? (यूहन्‍ना ४:३५) साँचो उपासकहरू आफ्नो प्रार्थनाअनुरूप जोडतोडका साथ चेला बनाउने काममा लागेर मालिकलाई थप खेतालाहरू पठाइदिनुहोस्‌ भनी बिन्ती गर्छन्‌। (मत्ती २८:१९, २०) अनि यिनीहरूको प्रयासमा यहोवाले कत्ति धेरै आशिष्‌ दिनुभएको छ! सन्‌ २००० सेवा वर्षको दौडान २,८०,००० भन्दा बढीले बप्तिस्मा लिए। यिनीहरू पनि परमेश्‍वरको वचनको शिक्षक हुने अथक प्रयास गर्छन्‌। चेला बनाउने काममा जोडतोडका साथ भाग लिएर यस कटनीको समयमा हामीले आनन्द र सन्तुष्टि प्राप्त गर्न सकौं।

‘धर्मीमाथि आशिष्‌ वर्षन्छ’

सुलेमान अझै यसो भन्छन्‌, “धर्मीमाथि आशिषको झरी वर्षन्छ। दुष्टहरू आफ्नै अत्याचारले निसासिन्छन्‌।”हितोपदेश १०:६.

शुद्ध अनि धार्मिक हृदय हुनेहरूले आफ्नो धार्मिकताको थुप्रै प्रमाण दिन्छन्‌। उसको बोली नरम र प्रोत्साहनदायी हुन्छ र आफ्नो काममा सकारात्मक र उदार हुन्छ। अरूलाई उसको संगति मन पर्छ। यस्तो मान्छेले अरूको आशिष्‌ पाउँछ अर्थात्‌ अरूले ऊबारे असल कुरा गर्छ।

तर अर्कोतिर दुष्ट मानिस घृणा वा ईखले भरिएको हुन्छ र ऊ अरूको हानि मात्र गर्न खोज्छ। उसको बोली मीठो होला र हृदयभित्र ‘अत्याचारलाई’ लुकाइ राखेको होला तर अन्ततः उसले शारीरिक वा मौखिक दुर्व्यवहार गरिहाल्छ। (मत्ती १२:३४, ३५) अथवा “दुष्टको मुखमा हिंसा छिपेको हुन्छ।” (हितोपदेश १०:६; नयाँ संशोधित संस्करण) दुष्ट व्यक्‍तिले अरूलाई जस्तो व्यवहार गर्छ, अरूले पनि उसलाई ठीक त्यस्तै व्यवहार गर्छ अर्थात्‌ उसले शत्रुता भोग्नुपर्ने हुन्छ भनी यसले संकेत गर्छ। यसप्रकार उसको मुखमा बुजो लाग्छ। के यस्तो मानिसले पनि अरूबाट आशिष्‌ पाउने आशा गर्न सक्ला?

इस्राएलका राजा लेख्छन्‌, “धर्मीहरूको सम्झना आशिष हो, दुष्टको नाउँ चाहिं सड़ेर जान्छ।” (हितोपदेश १०:७) अरूले र विशेष गरी यहोवाले धर्मी व्यक्‍तिको राम्रो कुरा सम्झिरहनु भएको हुन्छ। मृत्युसम्मै विश्‍वासी रहेर येशूले अरू स्वर्गदूतहरूको भन्दा “उत्तम नाउँ अधिकारमा प्राप्त गर्नुभएको छ।” (हिब्रू १:३, ४) आज साँचो मसीहीहरू, मसीहीपूर्व विश्‍वासी पुरुष तथा स्त्रीहरूलाई अनुकरण गर्न योग्य व्यक्‍तिहरूको रूपमा लिन्छन्‌। (हिब्रू १२:१, २) दुष्टहरूको घिनलाग्दो र दुर्गन्धित नाउँभन्दा कत्ति फरक! हो, “धेरै धन-सम्पत्ति भन्दा असल नाउँको इच्छा गर्नु धेरै उत्तम हो, सुन अथवा चाँदीभन्दा मान-इज्जत अझ असल हो।” (हितोपदेश २२:१) यहोवा र सँगी मानवहरूसामु हामी पनि राम्रो नाउँ कमाउन सकौं।

“निर्दोष जीवन बिताउने सुरक्षित हुन्छ”

बुद्धिमान्‌ र मूर्खबीच तुलना गर्दै सुलेमान भन्छन्‌: “बुद्धिमान मानिसले आज्ञालाई मनमा राख्छ, तर मूर्ख कुरा गर्ने दुःखमा पर्छ।” (हितोपदेश १०:८) बुद्धिमान्‌ मानिसलाई “मानिसहरूको मार्ग त्यो आफैमा छैन” भनेर राम्ररी थाह हुन्छ। (यर्मिया १०:२३) उसले यहोवाको निर्देशन खोज्नुपर्ने र परमेश्‍वरका आज्ञाहरू सहर्ष स्वीकार्नुपर्ने आवश्‍यकतालाई बुझेको हुन्छ। तर अर्कोतिर, मूर्खले यो आधारभूत तथ्यसमेत बुझ्न सक्दैन। मूर्खताले भरिएको उसको बकबकले उसको पतन गराउँछ।

धर्मी व्यक्‍तिले दुष्ट व्यक्‍तिले अनुभव नगरेको सुरक्षा पनि अनुभव गर्छ। “निर्दोष जीवन बिताउने सुरक्षित हुन्छ, कुचाल चल्ने मानिसको पतन हुन्छ। दोषप्रति आँखा चिम्लनाले विपद्‌ ल्याउँछ, साँचो हप्काइले शान्ति ल्याउँछ।”हितोपदेश १०:९, १०.

निर्दोष मानिस आफ्नो हर कामकुरामा इमानदार हुन्छ। उसले अरूको आदर र भरोसा कमाउँछ। इमानदार व्यक्‍ति उपयोगी कामदार हुन्छ र उसलाई प्रायः ठूलठूला जिम्मेवारी पनि दिइन्छ। इमानदार भएकोले उसले आफ्नो जागिर गुमाउँदैन वा सजिलै जागिर पाउनेछ। यसबाहेक, इमानदार भएकोले उसको घरमा पनि रमाइलो अनि शान्त वातावरण छाएको हुन्छ। (भजन ३४:१३, १४) परिवारका अन्य सदस्यहरूसित उसको सम्बन्ध राम्रो हुन्छ। सुरक्षा साँच्चै इमानदारीको फल हो।

तर स्वार्थी इच्छा पूरा गर्न बेइमान हुनेको अवस्था योभन्दा फरक हुन्छ। ठगाहा व्यक्‍तिले कुटिल कुरा गरेर वा शारीरिक हावभावद्वारा आफ्नो झूटलाई ढाकछोप गर्न खोज्छ। (हितोपदेश ६:१२-१४) अरूको बिगार गर्न वा अरूलाई छल्न उसले आँखा झिम्क्याउँदा त्यसको सिकार हुने व्यक्‍तिले निकै मानसिक क्लेश भोग्नुपर्ने हुन सक्छ। तर ढिलो होस्‌ वा चाँडो, यस्तो व्यक्‍तिको त्यस्तो कुटिल बोली सबैले थाह पाइहाल्छन्‌। प्रेरित पावलले लेखे: “कुनै कुनै मानिसका पाप प्रत्यक्ष छ, अदालतसम्म पुग्ने, औ कुनै कुनै मानिसको ता पछि मात्र थाह हुन्छ। सोहीबमोजिम प्रत्यक्ष भएका असल कामहरू पनि छन्‌, र प्रत्यक्ष नभएकाहरू पनि लुक्नसक्‍तैनन्‌।” (१ तिमोथी ५:२४, २५) बेइमानी काममा आमा होस्‌ वा बुबा, साथी होस्‌ वा लोग्ने वा स्वास्नी अथवा परिचित व्यक्‍ति, जोसुकै बिथोलित भएको होस्‌, आखिरमा त्यसको बेइमानी काम प्रकट भइहाल्छ। बेइमान भनेर चिनिएको व्यक्‍तिलाई कसले पो भरोसा गर्न सक्ला र?

‘उसको वचन जीवनको फोहोरा हो’

“भला मानिसहरूका वचन जीवनको फोहोरा हो, दुष्टहरू आफ्नै अत्याचारले निसासिन्छन्‌।” (हितोपदेश १०:११) मुखबाट निस्केको वचनले या त चोट पार्छ या निको पार्छ। बोलीले व्यक्‍तिविशेषलाई कि स्फूर्ति वा उत्साहित पार्न सक्छ अथवा उसलाई निरुत्साहित पार्न सक्छ।

बोलिएका शब्दहरूपछाडिको मनसाय प्रकट गर्दै इस्राएलका राजा यसो भन्छन्‌: “घृणाले सधैं झगड़ा उत्पन्‍न गराउँछ, तर परमप्रभुले चाहिं कुनै दोषलाई हेर्नुहुन्‍न।” (हितोपदेश १०:१२) घृणाले मानव समाजमा अमेल अनि झगडा उत्पन्‍न गर्छ। यहोवालाई माया गर्नेहरूले आफ्नो जीवनबाट घृणा हटाउनैपर्छ। कसरी? घृणाको साटो प्रेम गरेर। “प्रेमलेनै असंख्य पापहरू ढाक्‍तछ।” (१ पत्रुस ४:८) प्रेमले “सबै कुरा सहन्छ” अर्थात्‌ “सबै कुरालाई ढाक्छ।” (१ कोरिन्थी १३:७; किङडम इन्टरलिनियर) ईश्‍वरीय प्रेमले असिद्ध मानिसहरूबाट सिद्धताको आशा गर्दैन। अरूको गल्ती सबैलाई भन्दै हिंड्‌नुको साटो गम्भीर पाप भएको छैन भने प्रेमले त्यस्ता गल्तीलाई बेवास्ता गर्न मदत गर्छ। प्रेमले क्षेत्र सेवकाईमा, काम गर्ने ठाउँमा वा स्कूलमा भोग्नु परेका नराम्रो व्यवहारलाई समेत सहन्छ।

बुद्धिमान्‌ राजा अझै यसो भन्छन्‌: “समझ-शक्‍ति भएको मानिसको मुखमा बुद्धिको कुरा पाइन्छ, तर मूर्खको पीठको लागि कोर्रा तयारी हुन्छ।” (हितोपदेश १०:१३) समझ भएको मानिसको बुद्धिले उसलाई डोऱ्‍याउँछ। उसको उत्थानदायी बोलीले अरूलाई धार्मिकताको मार्गमा हिंड्‌न मदत गर्छ। न त उसलाई न उसको कुरा सुन्‍नेहरूलाई सही मार्गमा हिंडाउन बलजफती गर्नुपर्छ अर्थात्‌ सुधार्न दण्ड दिनुपर्छ।

‘ज्ञान सञ्चय गर्नुहोस्‌’

कुन कुराले हाम्रा शब्दहरूलाई सुक्खा खोल्साको पानी बनाउनुको साटो ‘बुद्धिको कुवाको गहिरो पानीजस्तो’ बनाउन मदत गर्छ? (हितोपदेश १८:४) सुलेमान यस्तो जवाफ दिन्छन्‌: “बुद्धिमान मानिसले ज्ञान सञ्चय गर्छ, मूर्ख बोल्दा नाश नजीक आउँछ।”—हितोपदेश १०:१४.

पहिलो आवश्‍यकता हाम्रो मन परमेश्‍वरको उत्थानदायी ज्ञानले भर्नु पर्छ। यस्तो ज्ञानको एउटै मात्र स्रोत छ। प्रेरित पावलले लेखे: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।” (२ तिमोथी ३:१६, १७) हामीले ज्ञान सञ्चय गर्नैपर्छ र त्यसलाई गाडधन खोजेझैं परमेश्‍वरको वचनमा खोज्नैपर्छ। यस्तो खोज एकदमै रोचक अनि इनामदायी हुन्छ!

हाम्रो बोलीमा बुद्धि झल्काउने हो भने धर्मशास्त्रको ज्ञान हाम्रो हृदयमा गडेको हुनैपर्छ। येशूले आफ्ना श्रोताहरूलाई यसो भन्‍नुभयो: “असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्टै थोक निकाल्दछ। किनकि हृदयमा जे प्रशस्त हुन्छ त्यही त्यसको मुखले बोल्दछ।” (लूका ६:४५) त्यसकारण, सिकिरहेको कुरामा मनन गर्ने बानी हुनैपर्छ। हो, अध्ययन गर्न र मनन गर्न प्रयास गर्नुपर्छ तर यस्तो अध्ययनले आध्यात्मिक तवरमा हामीलाई एकदमै धनी बनाउँछ! बेसमझका बकबके कुराहरू गरेर पतनको मार्ग पछ्याउने कुनै कारण छैन।

हो, बुद्धिमान्‌ मानिसले परमेश्‍वरको नजरमा जे ठीक छ, त्यही गर्छ र उसले अरूमाथि राम्रो प्रभाव पार्छ। उसले प्रशस्त आध्यात्मिक आहारको आनन्द उठाउँछ भने प्रभुको इनामदायी काममा पनि उसले गर्नसक्ने काम प्रशस्तै हुन्छ। (१ कोरिन्थी १५:५८) इमानदार भएकोले ऊ सुरक्षित रहन्छ र परमेश्‍वरको अनुमोदन प्राप्त गर्छ। साँच्चै धर्मीका लागि कत्ति धेरै आशिष्‌हरू छन्‌! सही र गलतसम्बन्धी परमेश्‍वरको स्तरअनुरूप जीवन बिताउँदै हामी धार्मिकता खोज्न सकौं।

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

[पृष्ठ २५-मा भएको चित्र]

इमानदार हुँदा पारिवारिक जीवन आनन्ददायी हुन्छ

[पृष्ठ २६-मा भएको चित्र]

‘बुद्धिमान्‌ले ज्ञान सञ्चय गर्छ’