सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं “खराब र असल छुट्याउन” सक्नुहुन्छ?

के तपाईं “खराब र असल छुट्याउन” सक्नुहुन्छ?

के तपाईं “खराब र असल छुट्याउन” सक्नुहुन्छ?

“प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोशिश गर।”–एफिसी ५:१०, नयाँ संशोधित संस्करण।

१. आज जीवन कुन अर्थमा जटिल हुनसक्छ र किन?

 “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) यर्मियाले महसुस गरेको यो महत्त्वपूर्ण तथ्य आज हाम्रो समयमा झनै लागू हुन्छ। किन? किनभने बाइबलमा भविष्यवाणी गरिएअनुसार हामी “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं। (२ तिमोथी ३:१) दिनहुँ हामी आफूले निर्णय गर्नुपर्ने जटिल परिस्थितिहरूको सामना गर्छौं। ती निर्णयहरू चाहे सानो होस्‌ या ठूलो, यसले हाम्रो शारीरिक, भावनात्मक र आध्यात्मिक हितमा गहिरो असर पार्नसक्छ।

२. कस्ता छनौटहरू प्रायः महत्त्वहीन मान्‍न सकिन्छ तर समर्पित मसीहीहरूले त्यस्ता कुराहरूप्रति कस्तो विचारधारा राख्छन्‌?

हामीले दैनिक जीवनमा गर्ने थुप्रै छनौट सामान्य वा नगण्य मान्‍न सकिन्छ। उदाहरणका लागि, हामीले दिनहुँ जसो आफूले लगाउने लुगा, खाने खाना, भेट्‌ने मानिसहरू आदिबारे छनौट गर्नुपर्छ। हामीले यी छनौटहरू त्यति सोचविचारै नगरी गर्छौं। तर के ती सोचविचारै गर्नु नपर्ने मामुली कुराहरू हुन्‌? समर्पित मसीहीहरूको निम्ति यो गहिरो चासोको विषय हो किनभने हाम्रो पहिरन र कोरीबाटी, खानेपिउने बानी तथा बोलीवचन अनि आचरणले हामीलाई सधैं सर्वोच्च परमेश्‍वर यहोवाको सेवकको रूपमा चिनाउँछ। प्रेरित पावलका यी शब्दहरू हामी सम्झन्छौं: “चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरकै महिमाको निम्ति गर।”—१ कोरिन्थी १०:३१; कलस्सी ४:६; १ तिमोथी २:९, १०.

३. कस्ता छनौटहरू साँच्चै गम्भीर चिन्ताका विषय हुन्‌?

अनि यस्ता छनौटहरू पनि छन्‌ जुन अझ गम्भीर प्रकारका हुन्छन्‌। उदाहरणका लागि, विवाह गर्ने हो या अविवाहित नै रहने भन्‍ने निर्णय गर्नु निश्‍चय पनि गम्भीर हुनुका साथै जीवनमा चिरकालीन असर गर्ने कुराहरू हुन्‌। विवाह गर्न सही व्यक्‍ति रोज्नु वा जिन्दगीभरको निम्ति जीवनसाथी छनौट गर्ने कुरा निश्‍चय पनि साधारण कुरा होइन। a (हितोपदेश १८:२२) यसबाहेक, मित्रहरू, शिक्षा, जागिर र मनोरञ्जन छनौट गर्ने कुराले हाम्रो आध्यात्मिकतामा महत्त्वपूर्ण वा निर्णायक भूमिका समेत खेल्छ अर्थात्‌ यसले हाम्रो अनन्त हितमा असर गर्छ।—रोमी १३:१३, १४; एफिसी ५:३, ४.

४. (क) कुन योग्यता हुनु अत्यन्तै लाभकारी हुन्छ? (ख) कस्ता प्रश्‍नहरूमाथि विचार गर्नुपर्छ?

यस्ता छनौटहरू गर्नुपर्दा निश्‍चय पनि हामीमा खराब र असल छुट्याउने वा असल जस्तो देखिने र साँच्चै असलबीच भिन्‍नता छुट्याउने योग्यता हुनु लाभकारी हुनेछ। “कुनै बाटो मानिसलाई सीधा देखिए तापनि आखिरमा त्यसले मृत्युमानै पुऱ्‍याउने हुन्छ” भनी बाइबलले चेताउनी दिन्छ। (हितोपदेश १४:१२) अतः हामी यस्तो प्रश्‍न गर्नसक्छौं: ‘असल र खराबबीच भिन्‍नता छुट्‌याउने योग्यता हामी कसरी विकास गर्नसक्छौं? निर्णयहरू गर्नुपर्दा हामी आवश्‍यक डोऱ्‍याइ कहाँ खोज्नसक्छौं? यस विषयमा विगत र वर्तमानमा मानिसहरूले के गरेका छन्‌ र त्यसको नतिजा कस्तो भएको छ?’

संसारको “तत्त्वज्ञान, र फोस्रो छल”

५. प्रारम्भिक मसीहीहरू कस्तो संसारमा बाँचिरहेका थिए?

प्रथम शताब्दीका मसीहीहरूको समयमा युनानी-रोमी मूल्यमान्यता तथा आदर्शहरू छ्यासछ्यास्ती फैलिएको थियो। एकातिर, थुप्रैले लालसा गर्ने सुविधाजनक र विलासी रोमी जीवनशैली थियो। अर्कोतिर, त्यतिबेलाको बौद्धिक वर्गमा प्लातो र अरस्तुको दार्शनिक विचारधारा मात्र नभई इपिक्युरी र स्टोइकजस्ता नयाँ विचारधारा पनि व्याप्त थियो। आफ्नो दोस्रो मिसनरी यात्राको दौडान एथेन्स आइपुग्दा प्रेरित पावलको इपिक्युरी र स्टोइक दार्शनिकहरूसित भेट भयो र तिनीहरू आफूलाई “यस बकबके” पावलभन्दा श्रेष्ठ ठान्थे।—प्रेरित १७:१८.

६. (क) केही प्रारम्भिक मसीहीहरू के गर्न प्रलोभित भए? (ख) पावलले कस्तो चेताउनी दिए?

त्यसैकारण, कोहीकोही प्रारम्भिक मसीहीहरू वरपरका मानिसहरूको रवाफिलो मिजास र जीवनशैलीप्रति आकर्षित हुनुको कारण बुझ्नसक्छौं। (२ तिमोथी ४:१०) त्यस्तो समाजका अभिन्‍न अंग बनिसकेका मानिसहरूले थुप्रै सुविधा तथा फाइदा उठाएजस्तो देखिन्थ्यो र तिनीहरूले गरेका छनौटहरू पनि एकदमै ठीक जस्तो देखिन्थ्यो। समर्पित मसीही जीवनशैलीले दिन नसक्ने मूल्यवान्‌ कुरा संसारले दिइरहेको छ जस्तो देखिन्थ्यो। तथापि, प्रेरित पावलले यस्तो चेताउनी दिए: “होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।” (कलस्सी २:८) पावलले त्यसो भन्‍नुको कारण के थियो?

७. संसारको बुद्धि वास्तवमा कत्तिको उपयोगी हुन्छ?

पावलले उक्‍त चेताउनी दिए किनभने तिनले संसारद्वारा प्रलोभित भएकाहरूको सोचाइमा खतराको संकेत पाए। तिनले चलाएका अभिव्यक्‍ति “तत्त्वज्ञान, र फोस्रो छल” विशेष गरी उल्लेखनीय छन्‌। “तत्त्वज्ञान[को]” शाब्दिक अर्थ “बुद्धिलाई प्रेम गर्नु र त्यसको खोजी गर्नु” हो। यो लाभकारी हुनसक्छ। वास्तवमा भन्‍ने हो भने, बाइबलमा र अझ विशेष गरी हितोपदेशको पुस्तकमा सही ज्ञान अनि बुद्धि खोज्न प्रोत्साहन दिइएको छ। (हितोपदेश १:१-७; ३:१३-१८) तथापि, पावलले “तत्त्वज्ञान[लाई]” “फोस्रो छल[सित]” जोडे। अर्को शब्दमा भन्‍ने हो भने, संसारले दिने बुद्धि खोक्रो र छलि हुन्छ भन्‍ने पावलको धारणा थियो। हावा टन्‍न भरिएको बेलुनजस्तै यो बाहिरबाट हेर्दा खँदिलो त देखिन्थ्यो तर वास्तवमा खोक्रो थियो। निस्सन्देह, संसारको “तत्त्वज्ञान र फोस्रो छल” जस्ता कुरालाई आधार मानेर असल अनि खराबको निर्णय गर्नु व्यर्थ वा विपत्तिजनक समेत हुने थियो।

“खराबलाई असल र असललाई खराब” भन्‍नेहरू

८. (क) मानिसहरू कोसित सल्लाह लिन्छन्‌? (ख) कस्तो प्रकारको सल्लाह दिइन्छ?

आज संसारको अवस्था पनि त्यति फरक छैन। मानिसले हात हालेको प्रायजसो सबै क्षेत्रमा विशेषज्ञहरू छ्यासछ्यास्ती छन्‌। विवाह र परिवारसम्बन्धी सल्लाहकार, स्तम्भकार, स्वघोषित उपचारक, ज्योतिषी, टुनामुना गर्नेहरू तथा अन्य विशेषज्ञहरू सबै सल्लाह दिन तयार छन्‌ तर पैसा लिएर। तिनीहरूले सल्लाह त दिन्छन्‌ तर कस्तो प्रकारको? अक्सर, नैतिकताबारे बाइबलको स्तरलाई पन्छाएर तथाकथित नयाँ नैतिकतालाई महत्त्व दिइन्छन्‌। उदाहरणका लागि, “समलिंगीहरूको विवाह” दर्ता गर्न सरकारले अस्वीकार गर्दा क्यानाडाको लोकप्रिय अखबार द ग्लोब एण्ड मेल-को सम्पादकीयमा यस्तो लेखिएको थियो: “सन्‌ २००० मा, मायालु र समर्पित दम्पतीको विवाह गर्ने चाहना केवल तिनीहरू एउटै लिंगको भएकाले इन्कार गरिनु अत्यन्तै अनौठो कुरा हो।” आजकलको लहर नै आलोचनात्मक नहुनु हो। सबै कुरा सापेक्षिक ठानिन्छ। कुनै कुरा पनि पूर्णतया असल र खराब छैन भन्‍ने धारणा व्याप्त छ।—भजन १०:३, ४.

९. समाजमा आदरणीय ठानिने मानिसहरू अक्सर के गर्छन्‌?

अरू कति जनाले चाहिं निर्णय गर्ने सन्दर्भमा आफ्नो आदर्शको रूपमा सामाजिक र आर्थिक तवरमा सफल अर्थात्‌ धनी अनि प्रख्यात व्यक्‍तिहरूलाई लिन्छन्‌। आजको समाजमा धनी र प्रख्यात मानिसहरूलाई आदरणीय ठानिए तापनि तिनीहरू इमानदारी र भरोसा जस्ता सद्‌गुणको गुणगान त गर्छन्‌ तर व्यवहारमा चाहिं उतार्दैनन्‌। शक्‍ति र आर्थिक लाभको भागदौडमा तिनीहरू नियम कानुन तथा नैतिक सिद्धान्तहरू बेवास्ता गर्न अलिकति पनि अप्ठ्यारो मान्दैनन्‌। नाउँ र लोकप्रियता कमाउने धुनमा स्थापित मूल्यमान्यता तथा स्तरहरूको वास्तै नगरी सन्काहा अनि आपत्तिजनक आचरण देखाउँछन्‌। यसको नतिजा जुनै पनि कुरामा फाइदा हेर्ने अनि “जे गरे पनि हुन्छ” भन्‍ने छाडा समाज हो। त्यसैकारण, मानिसहरू असल र खराब छुट्याउनुपर्दा अलमल्लमा पर्नु के कुनै छक्कलाग्दो कुरा हो र?—लूका ६:३९.

१०. असल र खराबबारे यशैयाका शब्दहरू कसरी साँचो साबित भएका छन्‌?

१० त्रुटिपूर्ण डोऱ्‍याइको आधारमा गरिएका मूर्ख निर्णयहरूको दुःखलाग्दो नतिजा आज हामी जताततै देख्नसक्छौं। जस्तै, असफल विवाह र परिवारहरू, लागू पदार्थ र मद्यको दुर्व्यसन, हिंस्रक युवा समूहहरू, छाडापन, यौनजन्य रोगहरू आदि त केही उदाहरण मात्र हुन्‌। साँच्चै, मानिसहरूले असल र खराब छुट्याउने सन्दर्भमा सबै स्तर वा मदत इन्कार गरिसकेपछि हामी यी कुराबाहेक अरू के नै पो आशा गर्नसक्छौं र? (रोमी १:२८-३२) यो अगमवक्‍ता यशैयाले घोषणा गरेझैं छ: “धिक्कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई अँध्यारोको निम्ति, तीतोलाई मीठो र मीठोलाई तीतोको निम्ति लिन्छन्‌! धिक्कार तिनीहरूलाई, जो आफ्नै दृष्टिमा ज्ञानी, र आफ्नै हिसाबमा बुद्धिमानी छन्‌!”—यशैया ५:२०, २१.

११. असल र खराब छुट्याउने कुरामा आफैमा भर पर्नु किन मूर्खता हो?

११ “आफैलाई बुद्धिमान” सम्झने पुरातन यहूदीहरूलाई परमेश्‍वरले जवाफदेही ठहऱ्‍याउनु भएकोले, असल र खराब छुट्याउने कुरामा आफैमा भर नपर्न हामी झनै सजग हुनुपर्छ। आज थुप्रै मानिस “आफ्नो मनको कुरा मात्र सुन्‍ने” वा “आफूलाई जे ठीक लाग्छ त्यही गर्ने” भन्‍ने धारणासित सहमत छन्‌। के त्यस्तो विचार सही हो? बाइबलअनुसार यस्तो विचार सही होइन किनभने बाइबलले स्पष्टसित यसो भन्छ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्‍नसक्छ र?” (यर्मिया १७:९) कुनै निर्णय गर्नुपर्दा के तपाईं छली र भ्रष्ट मानिसको डोऱ्‍याइमा भर पर्नुहुन्छ? अवश्‍य पर्नुहुन्‍न। वास्तवमा भनौं भने, तपाईंले त्यस्तो मानिसले भनेको भन्दा ठीक उल्टो गर्नुहुन्छ होला। त्यसैकारण, बाइबलले हामीलाई यसरी सम्झाउँछ: “आफ्नै बुद्धिमा मात्र भरोसा गर्नु सरासर मूर्खता हो तर बुद्धिको मार्गमा हिंड़ने सुरक्षित रहनेछ।”—हितोपदेश ३:५-७; २८:२६.

परमेश्‍वरलाई के स्वीकार्य छ, त्यो सिकौं

१२. ‘परमेश्‍वरको इच्छा’ जाँचेर पत्ता लगाउनु किन महत्त्वपूर्ण छ?

१२ हामी संसारको बुद्धि वा आफैमा भर पर्न नहुने भएकोले असल र खराब छुट्याउनुपर्दा के गर्ने त? प्रेरित पावलले दिएका यस स्पष्ट सल्लाहलाई विचार गर्नुहोस्‌: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) परमेश्‍वरको इच्छा के हो, सो हामी आफैले किन जाँचेर पत्ता लगाउनुपर्छ? बाइबलमा यहोवाले यसको सीधा तर जोडदार कारण दिनुभएको छ: “जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरीनै मेरो चाल तिमीहरूको चालभन्दा र मेरो विचार तिमीहरूका विचारभन्दा अल्गो छ।” (यशैया ५५:९) अतः आफ्नै सुद्धीबुद्धि वा विवेकमा भर पर्नुको सट्टा हामीलाई यस्तो सल्लाह दिइएको छ: “प्रभुलाई मन पर्ने के हो, सो सिक्ने कोशिश गर।”—एफिसी ५:१०, नयाँ संशोधित संस्करण।

१३. यूहन्‍ना १७:३ मा लिपिबद्ध येशूका शब्दहरूले कसरी परमेश्‍वरलाई स्वीकार्य कुराहरू थाह पाउनुको आवश्‍यकतालाई जोड दिन्छ?

१३ येशू ख्रीष्टले यस आवश्‍यकतालाई जोड दिंदै यसो भन्‍नुभयो: “अनन्त जीवन यही यो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) “चिनून्‌” भनी अनुवाद गरिएको मूल युनानी शब्दको एकदमै गहिरो अर्थ छ। भाइन्स एक्पोजिटरी डिक्सनरी-ले बताएअनुसार यसले “चिनिएको चीज र चिन्‍ने व्यक्‍तिबीचको सम्बन्धलाई देखाउँछ। जुन कुरा चिनिन्छ, त्यो चीज चिन्‍ने व्यक्‍तिको लागि महत्त्वपूर्ण हुन्छ भने उनीहरूबीच आपसी सम्बन्ध पनि राम्रो हुन्छ।” कसैसँग सम्बन्ध गाँस्नुको अर्थ त्यो व्यक्‍ति को हो वा तिनको नाउँ के हो, सो थाह पाउनु मात्रै होइन। तर यसमा, त्यस व्यक्‍तिलाई मन पर्ने र मन नपर्ने कुराहरू थाह पाउनु, तिनका मूल्यमान्यता तथा स्तरहरू थाह पाउनु अनि त्यसको आदर गर्नु पनि समावेश छ।—१ यूहन्‍ना २:३; ४:८.

हाम्रो ज्ञानेन्द्रिय शक्‍तिलाई प्रशिक्षण देऔं

१४. पावलले आध्यात्मिक तवरमा बालक र परिपक्व व्यक्‍तिहरूबीच मुख्य भिन्‍नता के हो भने?

१४ त्यसोभए, हामी कसरी असल र खराब छुट्याउने क्षमता हासिल गर्नसक्छौं? पावलले प्रथम शताब्दीका हिब्रू मसीहीहरूलाई लेखेको पत्रमा यसको जवाफ पाउनसक्छौं। तिनले यस्तो लेखे: “दूधको सह-भागी हुने हरेक मानिस धार्मिकताको वचनको अनुभव गर्न नसक्नेहुन्छ, किनकि त्यो बालकै हो। तर खँदिलो खानेकुराचाहिं पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्‌।” अघिल्लो पदमा “परमेश्‍वरका वचनको शुरूका शिक्षाहरू” भनी व्याख्या गरिएको “दूध[को]” तुलना यहाँ पावलले “खँदिलो खानेकुरा[सँग]” गरेका छन्‌, जुन “पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्‌।”—हिब्रू ५:१२-१४.

१५. परमेश्‍वरको सही ज्ञान हासिल गर्नको निम्ति प्रयास गर्नु किन आवश्‍यक छ?

१५ यसको अर्थ, सबैभन्दा पहिला हामीले परमेश्‍वरको वचन बाइबलमा बताइएका उहाँका स्तरहरूबारे सही ज्ञान हासिल गर्ने कोसिस गर्नुपर्छ। हामीले यहाँ के गर्नुहुन्छ र के गर्नुहुँदैन भन्‍ने नियमहरूको सूची बनाउन खोजेका होइनौं। बाइबल त्यस्तो पुस्तक होइन। बरु, पावलले यसो भने: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।” (२ तिमोथी ३:१६, १७) त्यस्तो शिक्षा, अर्ती र अनुशासनबाट लाभ उठाउन हामीले आफ्नो मन अनि सोच्ने क्षमतालाई काममा लगाउनुपर्छ। यसको लागि प्रयास गर्नुपर्छ तर यसबाट प्राप्त हुने नतिजा अर्थात्‌ “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध” हुन गरेको प्रयास व्यर्थमा जाँदैन।—हितोपदेश २:३-६.

१६. ज्ञानेन्द्रिय शक्‍तिलाई प्रशिक्षण दिनुको अर्थ के हो?

१६ अनि पावलले संकेत गरेझैं परिपक्व व्यक्‍तिहरू “खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्‌।” अब भने हामी यस विषयको मूल बुँदामा पुगेका छौं। “ज्ञानेन्द्रियको अभ्यास” भन्‍ने अभिव्यक्‍तिको अक्षरस अर्थ “प्रशिक्षित इन्द्रियहरू (जिम्नास्टिक गर्ने व्यक्‍तिले जस्तै)” हुन्‌। (किङडम इन्टरलिनियर ट्रान्सलेसन) जिम्नास्टिक गर्न अनुभवी व्यक्‍तिले रिङ वा ब्यालेन्स बीममा एक सेकेन्डभित्र तुरुन्तातुरुन्तै यस्तो कुशलतासँग खेल्छ कि गुरुत्वाकर्षण वा अन्य प्राकृतिक नियमहरूलाई नै चुनौती दिएजस्तो देखिन्छ। तिनले आफ्नो शरीरलाई पूर्ण नियन्त्रणमा राखेको हुन्छ र आफ्नो खेल सफलतासाथ पूरा गर्न तिनलाई के पछि के गर्नुपर्छ भनी सोच्नै पर्दैन। यो सबै कडा प्रशिक्षण र अनवरत अभ्यासको नतिजा हो।

१७. हामी कुन अर्थमा जिम्नास्टिक खेल्ने व्यक्‍ति हुनसक्छौं?

१७ हामीले गर्ने निर्णय तथा छनौटहरू सधैं सही हुन्छन्‌ भनी पक्का गर्न चाहन्छौं भने, आध्यात्मिक अर्थमा हामी पनि जिम्नास्टिक गर्ने व्यक्‍तिजस्तै प्रशिक्षित हुनुपर्छ। हामीले हरबखत आफ्नो इन्द्रिय र शरीरका अंगहरूलाई पूर्ण नियन्त्रणमा राख्नुपर्छ। (मत्ती ५:२९, ३०; कलस्सी ३:५-१०) उदाहरणका लागि, के तपाईंले अनैतिक विषयवस्तु नहेर्न वा पतित संगीत वा बोली नसुन्‍न आफ्नो आँखा र कानलाई अनुशासनमा राख्नुभएको छ? हो, त्यस्ता हानिकारक विषयवस्तुहरू हामी वरपर प्रशस्त छन्‌। तथापि, यस्ता कुराहरूलाई हाम्रो मन अनि हृदयमा जरा गाड्‌न दिने या नदिने भनी छनौट गर्ने हाम्रो व्यक्‍तिगत निर्णयको कुरा हो। हामी भजनरचयिताको अनुकरण गर्नसक्छौं जसले यसो भने: “मेरो आँखाको सामने कुनै नीच कुरा म राख्नेछैनँ। कुमार्गतर्फ लाग्नेहरूको कामलाई म घृणा गर्छु। यस्तो काम मसँग लिप्त हुनेछैन। . . . झूट बोल्ने पनि मेरो नजरको सामने अड़न पाउनेछैन।”—भजन १०१:३, ७.

प्रयोगबाट आफ्नो ज्ञानेन्द्रिय शक्‍तिलाई प्रशिक्षण देऔं

१८. आफ्नो ज्ञानेन्द्रिय शक्‍तिलाई प्रशिक्षण दिने सन्दर्भमा पावलको व्याख्यामा उल्लिखित “प्रयोगबाट” भन्‍ने अभिव्यक्‍तिले के बुझाउँछ?

१८ हामी “प्रयोगबाट” आफ्नो ज्ञानेन्द्रिय शक्‍तिलाई असल र खराब छुट्याउने प्रशिक्षण दिनसक्छौं भनी नबिर्सनुहोस्‌। अर्को शब्दमा भन्‍ने हो भने, हामीले कुनै पनि निर्णय गर्नुपर्दा कस्ता बाइबल सिद्धान्तहरू समावेश छन्‌ र ती कसरी लागू हुन्छन्‌ भनी बुझ्न हामीले आफ्नो बौद्धिक क्षमता प्रयोग गर्न सिक्नुपर्छ। “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” प्रबन्ध गरिएका बाइबल साहित्यहरूमा अनुसन्धान गर्ने बानी बसाल्नुहोस्‌। (मत्ती २४:४५) हामी परिपक्व मसीहीहरूको मदत पनि अवश्‍य लिनसक्छौं। तथापि, हामीले परमेश्‍वरको वचन अध्ययन गर्न व्यक्‍तिगत तवरमा प्रयास गऱ्‍यौं र उहाँको डोऱ्‍याइ अनि आत्माको निम्ति यहोवासँग प्रार्थना गऱ्‍यौं भने पछि प्रशस्त मात्रामा लाभ उठाउनेछौं।—एफिसी ३:१४-१९.

१९. हामीले बिस्तारै आफ्नो ज्ञानेन्द्रिय शक्‍तिलाई प्रशिक्षण दियौं भने कस्तो आशिष्‌ प्राप्त गर्न सक्नेछौं?

१९ हामीले बिस्तारै आफ्नो ज्ञानेन्द्रिय शक्‍तिलाई प्रशिक्षण दिंदै जाँदा हाम्रो मूल उद्देश्‍य “भ्रमको धूर्त कारवाईहरूअनुसार छलमा मानिसहरूको धूर्तताले सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिएर यताउता हुर्रिने बालकहरू अब नहोऔं” भन्‍ने हुनुपर्छ। (एफिसी ४:१४) बरु, परमेश्‍वरलाई स्वीकार्य कुरामा आफ्नो ज्ञान र समझ आधारित गरेको खण्डमा हामीले चाहे सानो होस्‌ या ठूलो, सबै कुरामा बुद्धिमान्‌ निर्णय गर्न सक्नेछौं र यो हाम्रोलागि लाभकारी, हाम्रो सँगी उपासकहरूको निम्ति उत्थानदायी हुनेछ अनि त्योभन्दा पनि सबैभन्दा महत्त्वपूर्ण कुरा त, हाम्रो स्वर्गमा हुनुहुने पिता खुसी हुनुहुनेछ। (हितोपदेश २७:११) यस डरलाग्दो समयमा त्यो कस्तो आशिष्‌ र सुरक्षा हुनेछ!

[फुटनोट]

a डाक्टर द्वय थमस होल्मस्‌ र रिचर्ड रा-ले मानिसको जीवनमा झन्डै ४० वटा सबैभन्दा तनाउपूर्ण क्षण संकलन गरे, जसमा जीवनसाथीको मृत्यु, सम्बन्धविच्छेद र पतिपत्नी दुवैको सहमतिमा अलग अलग बस्नुले प्रथम तीन स्थान ओगट्‌छ। विवाह गर्नु सातौं स्थानमा पर्छ।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• सही निर्णयहरू गर्न कस्तो क्षमता चाहिन्छ?

• असल र खराबको निर्णय गर्नुपर्दा प्रतिष्ठित व्यक्‍तिहरूको मुख ताक्नु वा आफ्नै विवेकमा भर पर्नु किन बुद्धिमानी कुरा होइन?

• निर्णयहरू गर्दा परमेश्‍वरलाई स्वीकार्य कुराहरू किन निश्‍चित गर्नुपर्छ र यो हामी कसरी गर्नसक्छौं?

• ‘हाम्रो ज्ञानेन्द्रियको अभ्यास’ गर्नुको अर्थ के हो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र

डोऱ्‍याइको निम्ति धनी र प्रख्यात व्यक्‍तिहरूको मुख ताक्नु बेकार छ

[पृष्ठ १०-मा भएको चित्र

जिम्नास्टिक गर्ने व्यक्‍तिले जस्तै हामीले पनि आफ्नो इन्द्रिय र शरीरका अंगहरूलाई पूर्ण नियन्त्रणमा राख्नुपर्छ