सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको प्रगति प्रकट होस्‌

तपाईंको प्रगति प्रकट होस्‌

तपाईंको प्रगति प्रकट होस्‌

“यी कुरामा परिश्रम गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्‌।”–१ तिमोथी ४:१५.

१. फल पाकेको र खान ठिक्क भएको छ भनी तपाईं कसरी भन्‍न सक्नुहुन्छ?

 तपाईं आफूलाई असाध्यै मन पर्ने फल जस्तै, स्याउ, सुन्तला, आँप वा अरू कुनै फल कल्पना गर्नुहोस्‌। त्यो फल पाकेको हो कि होइन अनि खान ठिक भयो कि भएन भनेर के तपाईं भन्‍न सक्नुहुन्छ? अवश्‍य सक्नुहुन्छ। यसको बास्ना, रङ अनि छोएर हेरेर तपाईं फल कत्तिको स्वादिष्ट होला भन्‍न सक्नुहुन्छ। त्यो फल चाख्ने बित्तिकै तपाईंको मुखबाट केही शब्द अवश्‍य निस्कनेछ। वाह! कस्तो रसिलो! कस्तो गुलियो! यसले तपाईंलाई निकै आनन्द र सन्तुष्टि दिन्छ।

२. परिपक्वता कसरी प्रकट हुन्छ र यसले व्यक्‍तिगत सम्बन्धहरूमा कस्तो प्रभाव पार्छ?

जीवनका अन्य क्षेत्रमा पनि यस्तै प्रकारका सरल तर आनन्ददायी अनुभवहरू हुने गर्छन्‌। एउटा कुरा त, पाकेको फलजस्तै आध्यात्मिक परिपक्वता पनि मानिसमा विभिन्‍न तरिकामा प्रकट हुन्छ। मानिसको परिपक्वता तिनले प्रकट गर्ने विवेक, अन्तरदृष्टि, बुद्धि इत्यादिबाट थाह पाउनसक्छौं। (अय्यूब ३२:७-९) त्यस्ता गुणहरू आफ्नो मनोभाव र कार्यमा प्रदर्शित गर्ने मानिसहरूसित संगत र काम गर्न पाउनु निश्‍चय पनि आनन्दको कुरा हो।—हितोपदेश १३:२०.

३. आफ्नो समयका मानिसहरूबारे येशूले भन्‍नुभएको कुराबाट परिपक्वताबारे के प्रकाश हुन्छ?

अर्कोतर्फ, कुनै व्यक्‍ति शारीरिक तवरमा हलक्क बढेको होला तर तिनको बोलीवचन र आचरणले तिनी भावनात्मक र आध्यात्मिक तवरमा परिपक्व भएको छैन भनी देखाउनसक्छ। उदाहरणका लागि, पथभ्रष्ट आफ्नो पुस्ताबारे येशू ख्रीष्टले यसो भन्‍नुभयो: “यूहन्‍ना खाँदै पिउँदै आएनन्‌, र तिमीहरू उसलाई भूत लागेको छ भनी भन्दछौ। मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्दछन्‌, ‘हेर, एउटा घिचुवा र जँड्याहा।’ ” ती मानिसहरू शारीरिक तवरमा हुर्किसकेका भए तापनि “ससाना केटाकेटीहरू” जस्तो व्यवहार गर्छन्‌ भनी येशूले भन्‍नुभयो। यसकारण उहाँले अझ यसो भन्‍नुभयो: “बुद्धि चाहिं उसका कामहरूबाट योग्य ठहरिन्छ।”—मत्ती ११:१६-१९.

४. कुन तरिकामा प्रगति र परिपक्वता प्रकट हुन्छन्‌?

मानिससँग परिपक्वताको विशेष चिह्न अर्थात्‌ साँचो बुद्धि छ या छैन भन्‍ने कुरा तिनको कार्य र त्यसको नतिजाबाट थाह पाउनसक्छौं भनी येशूको शब्दबाट स्पष्ट हुन्छ। यस सन्दर्भमा प्रेरित पावलले तिमोथीलाई दिएको सल्लाह याद गर्नुहोस्‌। तिमोथीले पालन गर्नुपर्ने कुराहरू उल्लेख गरिसकेपछि पावलले यसो भने: “यी कुरामा परिश्रम गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्‌।” (१ तिमोथी ४:१५) हो, मसीहीले परिपक्व हुन गरेको प्रगति “प्रकट” हुन्छ वा स्पष्टै देखिन्छ। मसीही परिपक्वता चम्किलो ज्योति जस्तै हो। यो अदृश्‍य वा भित्री गुण होइन। (मत्ती ५:१४-१६) अतः हामी प्रगति र परिपक्वता प्रकट हुनसक्ने दुई मुख्य तरिकाहरू छलफल गर्नेछौं। ती हुन्‌: (१) ज्ञान, समझ र बुद्धिमा बढ्‌ने; (२) आत्माको फल प्रकट गर्ने।

विश्‍वास र ज्ञानमा एकता

५. परिपक्वतालाई कसरी व्याख्या गर्न सकिन्छ?

अधिकांश शब्दकोशहरूले परिपक्वतालाई पूरा विकसित, बढेको र परिपक्व भएको अवस्था र स्थिति भनी व्याख्या गर्छ। सुरुमा उल्लेख गरिएझैं कुनै फल तब मात्र पाक्छ जब यसले सम्पूर्ण प्राकृतिक चक्र पूरा गरिसकेको हुन्छ र यसको रूप, रङ, बासना र स्वाद मनमोहक हुन्छ। अतः परिपक्वता शब्दका पर्यावाचीहरू उत्कृष्ट, पूर्णता र सिद्धता हुन्‌।—यशैया १८:५; मत्ती ५:४५-४८; याकूब १:४.

६, ७. (क) यहोवा परमेश्‍वर आफ्ना सबै उपासकहरू आध्यात्मिक परिपक्वतातर्फ प्रगति गरेको हेर्न चाहनुहुन्छ भनी कुन कुराले देखाउँछ? (ख) आध्यात्मिक परिपक्वताको केसँग नजिकको सम्बन्ध छ?

यहोवा परमेश्‍वर आफ्ना सबै उपासकहरू आध्यात्मिक परिपक्वतातर्फ अघि बढोस्‌ भन्‍ने उत्कट चाहना गर्नुहुन्छ। यसका लागि उहाँले मसीही मण्डलीभित्र अद्‌भुत प्रबन्धहरू गर्नुभएको छ। एफिससका मसीहीहरूलाई प्रेरित पावलले यस्तो लेखे: “उहाँलेनै कुनैलाई प्रेरित, कुनैलाई अगमवक्‍ता, कुनैलाई प्रचारक र कुनैलाई मण्डलीको गोठालो र शिक्षक हुनालाई, सेवाको काममा र ख्रीष्टको शरीरको स्थापन्‍नमा पवित्र जनहरूको सिद्धता हुनाको निम्ति नियुक्‍त गर्नुभयो, जबसम्म हामी सबै जना विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, अर्थात्‌ ख्रीष्टको पूर्णताको कदको नापसम्मको पूरा पाको मानिस हुँदैनौं, कि हामी भ्रमको धूर्त कारवाईहरूअनुसार छलमा मानिसहरूको धूर्तताले सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्‌याङ-पल्ट्‌याङ पारिएर यताउता हुर्रिने बालकहरू अब नहोऔं।”—एफिसी ४:११-१४.

यी पदहरूमा परमेश्‍वरले मण्डलीमा प्रशस्त आध्यात्मिक प्रबन्धहरू गर्नुका थुप्रै कारणमध्ये केही सबैले ‘विश्‍वास र सही ज्ञानमा एकता कायम’ गर्न, “पूरा पाको मानिस” हुन र “ख्रीष्टको पूर्णताको कदको नापसम्म” पुग्न हो भनी पावलले बताए। अनि मात्र हामी झूटा विचार र शिक्षाहरूले यताउता हुर्रिने आध्यात्मिक तवरमा बच्चाहरू जस्तो हुनेछैनौं। यसप्रकार हामी मसीही परिपक्वता अनि “विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता[बीच]” नजिकको सम्बन्ध भएको देख्नसक्छौं। हामीले पालन गर्नुपर्ने थुप्रै कुरा हामी पावलको सल्लाहमा पाउँछौं।

८. विश्‍वास र सही ज्ञानमा “एकता” कायम गर्न के गर्नुपर्छ?

प्रथमतः “एकता” कायम राख्नुपर्ने भएकोले परिपक्व मसीही विश्‍वास र ज्ञानको सन्दर्भमा आफ्ना सँगी विश्‍वासीहरूसँग पूर्ण एकता र मेलमिलापमा बस्नुपर्छ। बाइबलको कुरामा चाहिं तिनले आफ्नै व्यक्‍तिगत विचारमा जिद्दी गर्नेछैनन्‌ वा व्यक्‍तिगत धारणा राख्नेछैनन्‌। बरु, तिनी यहोवा परमेश्‍वरले आफ्नो पुत्र, येशू ख्रीष्ट अनि “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” प्रकाश पार्नुभएको सत्य कुरामा पूर्ण भरोसा राख्छन्‌। मसीही साहित्य, सभा, सम्मेलन तथा अधिवेशनहरूद्वारा नियमित तवरमा प्रबन्ध गरिएको आध्यात्मिक भोजन “ठीक ठीक समयमा” लिंदा हामीले सँगी मसीहीहरूसँग विश्‍वास र ज्ञानमा “एकता” कायम गरिरहेका हुनेछौं भनी हामी पक्का हुनसक्छौं।—मत्ती २४:४५.

९. पावलले एफिसीका मसीहीहरूलाई लेखेको पत्रमा उल्लिखित “विश्‍वास” शब्दको अर्थ व्याख्या गर्नुहोस्‌।

दोस्रो, “विश्‍वास” भन्‍ने अभिव्यक्‍तिले मसीही व्यक्‍तिविशेषको व्यक्‍तिगत धारणालाई नभई हाम्रो विश्‍वासको पूर्णता अर्थात्‌ त्यसको “चौड़ाइ, लमाइ, उँचाइ र गहराइ[लाई]” बुझाउँछ। (एफिसी ३:१८; ४:५; कलस्सी १:२३; २:७) कुनै मसीहीले “विश्‍वासको” कुनै एउटा भाग मात्र विश्‍वास गर्छ वा स्वीकार्छ भने, तिनी कसरी सँगी विश्‍वासीहरूसित एकतामा रहनसक्छन्‌ होला र? भनाइको मतलब, हामी बाइबलको आधारभूत शिक्षामै मात्र सन्तुष्ट हुनुहुँदैन वा सच्चाइको अलिकति वा सतही ज्ञान भएर मात्र पुग्दैन। बरु, यहोवाको वचनको गहिरो अनुसन्धान गर्न उहाँले आफ्नो संगठनमार्फत प्रबन्ध गर्नुभएको सबै कुराको सदुपयोग गर्न हामी इच्छुक हुनुपर्छ। हामीले सकेसम्म परमेश्‍वरको इच्छा अनि उद्देश्‍यको सही र पूरा ज्ञान हासिल गर्ने प्रयास गर्नुपर्छ। यसमा बाइबल र बाइबल आधारित साहित्यहरू पढ्‌नु अनि अध्ययन गर्न समय निकाल्नु, परमेश्‍वरलाई मदत र डोऱ्‍याइको निम्ति प्रार्थना गर्नु, नियमित तवरमा मसीही सभाहरूमा उपस्थित हुनु र राज्य प्रचारकार्य अनि चेला बनाउने काममा पूर्णतया भाग लिनु समावेश छन्‌।—हितोपदेश २:१-५.

१०. एफिसी ४:१३ मा प्रयोग गरिएको “जबसम्म हामी सबै जना[ले] . . . प्राप्त गर्दैनौं” भन्‍ने अभिव्यक्‍तिको महत्त्व के हो?

१० तेस्रो, “जबसम्म हामी सबै जना[ले] . . . प्राप्त गर्दैनौं” भन्‍ने वाक्यांशद्वारा पावलले त्रीपक्षीय लक्ष्यको व्याख्या सुरु गरे। “हामी सबै” भन्‍ने अभिव्यक्‍तिको सन्दर्भमा बाइबलसम्बन्धी एउटा पुस्तकअनुसार यसले “एउटा एउटा गरी सबै होइन तर सबै सँगै” भन्‍ने अर्थ बुझाउँछ। अर्को शब्दमा भन्‍ने हो भने, हामी प्रत्येकले सम्पूर्ण भ्रातृत्वसँगसँगै मसीही परिपक्वतातर्फ अघि बढ्‌न सकेसम्म प्रयास गर्नुपर्छ। द इन्टरप्रिटर्स बाइबल यस्तो टिप्पणी गर्छ: “जसरी शरीरको समष्टिगत विकास भएन भने एउटा अंग मात्र पूर्णतया बढ्‌न सक्दैन त्यसरी नै पूर्ण आध्यात्मिक प्रगति पनि एक्लैले गर्न सकिंदैन।” पावलले एफिसीका मसीहीहरूलाई तिनीहरूले “सबै पवित्र जनहरूसँग” विश्‍वासको पूर्णता बुझ्ने प्रयास गर्नुपर्छ भनी सम्झाए।—एफिसी ३:१८क.

११. (क) आध्यात्मिक प्रगति गर्नुको अर्थ के होइन? (ख) प्रगति गर्न हामीले के गर्नुपर्छ?

११ आध्यात्मिक प्रगति गर्नुको अर्थ हाम्रो दिमाग र मनलाई ज्ञानगुणका कुराहरूले भर्नु मात्र होइन भन्‍ने कुरा पावलका शब्दहरूबाट स्पष्ट हुन्छ। परिपक्व मसीहीले आफ्नो बुद्धिको प्रदर्शन गरेर अरूलाई प्रभावित गर्ने प्रयास गर्दैन। बरु, बाइबल यसो भन्छ: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन्‌ चहकिलो हुँदैजान्छ।” (हितोपदेश ४:१८) हो, “झन्‌ चहकिलो हुँदै” जाने कुरा व्यक्‍ति नभई उसको “चाल” हो। हामीले झन्‌ झनै चहकिलो हुँदै गइरहेको परमेश्‍वरको वचनको समझमा हिंड्‌ने प्रयास गऱ्‍यौं भने हामीले आध्यात्मिक प्रगति गरिरहेका हुनेछौं। यस सन्दर्भमा, त्यो चालमा चल्नुको अर्थ अघि बढ्‌नु हो र यो हामी सबैले गर्नसक्ने काम हो।—भजन ९७:११; ११९:१०५.

“आत्माको फल” प्रकट गर्नुहोस्‌

१२. आध्यात्मिक प्रगति गर्न आत्माको फल प्रकट गर्नु किन महत्त्वपूर्ण छ?

१२ “विश्‍वासको र . . . ज्ञानको एकता” प्राप्त गर्नु जति महत्त्वपूर्ण छ त्यति नै हाम्रो जीवनको हरेक पक्षमा परमेश्‍वरको आत्माको फल प्रकट गर्नु महत्त्वपूर्ण छ। किन? किनभने हामीले थाह पाएअनुसार परिपक्वता भनेको कुनै गोप्य वा आन्तरिक गुण होइन तर यो प्रस्टै देखिन सक्ने गुण हो, जसले अरूलाई प्रोत्साहित गर्नुका साथै हित गर्छ। निस्सन्देह, आध्यात्मिक परिपक्वता हासिल गर्न खोज्नु भनेको अरूलाई धाक लगाउन गरिने बाहिरी आडम्बर होइन। बरु, परमेश्‍वरको आत्माको डोऱ्‍याइअनुसार आध्यात्मिक तवरमा अघि बढ्‌दै जाँदा हाम्रो मनोवृत्ति र कार्यमा राम्रा परिवर्तनहरू हुन्छन्‌। “आत्माको भरमा हिंड़, र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नु पर्नेछैन” भनी प्रेरित पावलले भने।—गलाती ५:१६.

१३. कस्तो परिवर्तन प्रगतिको सुस्पष्ट प्रमाण हो?

१३ अनि पावलले “शरीरका कामहरू” उल्लेख गरे, जुन थुप्रै हुनुका साथै “प्रत्यक्ष छन्‌।” परमेश्‍वरले चाहनुहुने कुराहरूको महत्त्व बुझ्नुअघि कुनै व्यक्‍तिको जीवनपद्धति संसारको चालढालअनुसार हुन्छ र तिनको जीवनमा पावलले उल्लेख गरेका निम्न कुराहरूमध्ये केही हुनसक्छन्‌: “व्यभिचार, अपवित्रता, लुच्च्याइँ, मूर्ति-पूजा, मन्त्र-तन्त्र, दुश्‍मनी, झैंझगड़ा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग, डाह, मत्वालीपन, भोजको मोज-मजा र यस्तै अरू।” (गलाती ५:१९-२१) तर आध्यात्मिक प्रगति गर्दै गएपछि तिनले बिस्तारै उक्‍त “शरीरका कामहरू[माथि]” विजय हासिल गर्छ र त्यसको बदलामा “आत्माको फल” फलाउन थाल्छ। यस्तो प्रत्यक्ष परिवर्तन मसीही परिपक्वतातर्फ प्रगति गरिरहेको सुस्पष्ट प्रमाण हो।—गलाती ५:२२.

१४. “शरीरका कामहरू” र “आत्माको फल” भन्‍ने दुइटा अभिव्यक्‍तिबारे व्याख्या गर्नुहोस्‌।

१४ “शरीरका कामहरू” र “आत्माको फल” भन्‍ने दुइटा अभिव्यक्‍तिलाई हामीले याद गर्नुपर्छ। “कामहरू” भनेको कसैले गरेको केही कुराका नतिजा हुन्‌। अर्को शब्दमा भन्‍ने हो भने, शरीरका कामहरू भनी पावलले छलफल गरेका कुराहरू कसैले जानाजानी गरेको छनौटका नतिजा वा पतित मानव स्वभावका प्रभाव हुन्‌। (रोमी १:२४, २८; ७:२१-२५) अर्कोतर्फ, “आत्माका फल” भन्‍ने अभिव्यक्‍तिले सूचीबद्ध गुणहरू, तथाकथित चरित्र वा व्यक्‍तित्व विकास गर्ने प्रयासको नतिजालाई होइन तर परमेश्‍वरको आत्मा प्राप्त भएको नतिजालाई बुझाउँछ। रूखको राम्रो हेरचाह गरेपछि त्यसले असल फल फलाएझैं मानिसले पनि पवित्र आत्मा पाएपछि आत्माको फल प्रकट गर्नेछ।—भजन १:१-३.

१५. “आत्माका फल[को]” सबै पक्षमा ध्यान दिनु किन महत्त्वपूर्ण छ?

१५ विचार गर्नुपर्ने अर्को बुँदा हो, आवश्‍यक सबै गुण समेट्‌न पावलले प्रयोग गरेका “फल” शब्द। आत्माले हामीलाई इच्छा लागेअनुसार टिप्न मिल्ने गरी थरीथरीका फल फलाउने गर्दैन। पावलले उल्लेख गरेका गुणहरू अर्थात्‌ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम सबै उत्तिकै महत्त्वपूर्ण छन्‌ र यी सबै मिलेर नयाँ मसीही व्यक्‍तित्व बन्छ। (एफिसी ४:२४; कलस्सी ३:१०) अतः यीमध्ये केही गुण हाम्रो आफ्नै व्यक्‍तित्व र झुकाउको कारण बढी प्रत्यक्ष होलान्‌ तर पावलले उल्लेख गरेका सबै गुणमा ध्यान दिनु एकदमै महत्त्वपूर्ण छ। त्यसो गर्दा हामी आफ्नो जीवनमा अझ बढी ख्रीष्टको व्यक्‍तित्व प्रदर्शित गर्नसक्छौं।—१ पत्रुस २:१२, २१.

१६. हामी मसीही परिपक्वतातर्फ अघि बढ्‌नुको कारण के हो र हामी यो कसरी हासिल गर्नसक्छौं?

१६ पावलको छलफलबाट हामीले सिक्नसक्ने महत्त्वपूर्ण पाठ के हो भने, मसीही परिपक्वतातर्फ अघि बढ्‌दा हाम्रो उद्देश्‍य न महान्‌ ज्ञान हासिल गर्ने र अध्ययन गर्ने हो न त परिष्कृत गुणहरू खेती गर्ने नै हो। हाम्रो जीवनमा परमेश्‍वरको आत्मा प्रशस्त मात्रामा विकास हुन दिनुपर्छ। हामी परमेश्‍वरको आत्माको निर्देशनअनुसार जति धेरै विचार वा काम गर्छौं त्यति नै आध्यात्मिक तवरमा परिपक्व हुन्छौं। हामी कसरी यो लक्ष्य हासिल गर्नसक्छौं? हामीले आफ्नो मन अनि हृदयलाई परमेश्‍वरको आत्माद्वारा प्रभावित हुन दिनुपर्छ। यसो गर्नुमा नियमित तवरमा मसीही सभाहरू धाउनु र त्यसमा भाग लिनु समावेश छ। हामीले नियमित तवरमा परमेश्‍वरको वचन पनि अध्ययन गर्नुपर्छ र पढेको कुरालाई मनन गर्नुका साथै हामीले अरूसित गर्ने व्यवहार, हामीले गर्ने छनौट र निर्णयहरू बाइबल सिद्धान्तअनुरूप हुनैपर्छ। तब भने हाम्रो प्रगति निश्‍चय प्रकट हुनेछ।

परमेश्‍वरको महिमाको निम्ति प्रगति गर्नुहोस्‌

१७. प्रगति गर्ने कुरा स्वर्गमा हुनुहुने हाम्रो पिताको महिमा गर्नुसित कसरी सम्बन्धित छ?

१७ आखिर, हामीले प्रगति प्रकट गर्दा हाम्रो होइन तर स्वर्गमा हुनुहुने पिता यहोवाको महिमा र प्रशंसा हुन्छ, जसले हामीलाई आध्यात्मिक परिपक्वता प्राप्त गर्न मदत गर्नुहुन्छ। आफू मारिनुअघिको रात येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले धेरै फल फलायौ भने, त्यसैमा मेरा पिताको महिमा हुनेछ, र तिमीहरू मेरा चेला हुनेछौ।” (यूहन्‍ना १५:८) आत्माको फल र सेवकाईमा फलाएको राज्य फल दुवैद्वारा चेलाहरूले यहोवाको महिमा गरे।—प्रेरित ११:४, १८; १३:४८.

१८. (क) आज कस्तो आनन्ददायी कटनी कार्य भइरहेको छ? (ख) यो कटनी कार्यमा कस्तो चुनौती आइपर्छ?

१८ आज, यहोवाका जनहरूले विश्‍वव्यापी आध्यात्मिक कटनीमा भाग लिंदा उहाँको आशिष्‌ महसुस गर्छन्‌। लगभग ३,००,००० नयाँ व्यक्‍तिहरूले यहोवालाई आफ्नो जीवन समर्पण गरेर पानीको बप्तिस्माद्वारा प्रकट गर्न थालेको वर्षौं भइसक्यो। यसले हामीलाई खुसी बनाउँछ र निस्सन्देह परमेश्‍वरको हृदयलाई पनि आनन्दित तुल्याउँछ। (हितोपदेश २७:११) तथापि, यो यहोवाको प्रशंसा अनि हाम्रो निम्ति निरन्तर आनन्दको स्रोत हुन्‌, ती सबै नयाँ व्यक्‍तिहरू “सिकाएबमोजिम . . . विश्‍वासमा दृढ़ भएर, धन्यवादसाथ यसमा प्रशस्त हुँदै उहाँकै चालमा” चल्नुपर्छ। (कलस्सी २:६, ७) यसले परमेश्‍वरका जनहरूसामु द्विपक्षीय चुनौती खडा गर्छ। एकातिर, तपाईं भर्खरै बप्तिस्माप्राप्त व्यक्‍ति हुनुहुन्छ भने, ‘तपाईंको प्रगति सबैमा प्रकट होस्‌’ भन्‍ने चुनौती के तपाईं स्वीकार्नुहुन्छ? अर्कोतर्फ, तपाईं सच्चाइमा आउनुभएको धेरै भइसकेको छ भने, के तपाईं नयाँ व्यक्‍तिहरूको आध्यात्मिक हितको हेरचाह गर्ने जिम्मेवारी वहन गर्दा आइपर्ने चुनौती स्वीकार्न तयार हुनुहुन्छ? दुवै अवस्थामा परिपक्वतातर्फ बढ्‌नुपर्ने आवश्‍यकता स्पष्ट छ।—फिलिप्पी ३:१६; हिब्रू ६:१.

१९. आफ्नो प्रगति प्रकट गर्नुभयो भने तपाईंले कस्ता सुअवसर र आशिष्‌हरू पाउन सक्नुहुन्छ?

१९ आफ्नो प्रगति प्रकट गर्न परिश्रम गर्ने मानिसहरूले अद्‌भुत आशिष्‌हरूको आशा गर्नसक्छन्‌। पावलले तिमोथीलाई प्रगति गर्न आह्वान गर्दै भनेका यी प्रोत्साहनदायी शब्दहरू सम्झनुहोस्‌: “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रह। यी कुरामा लागिबस। किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्‍नेलाई समेत उद्धार गर्नेछौ।” (१ तिमोथी ४:१६) लगनशील भई आफ्नो प्रगति प्रकट गर्नुभयो भने, तपाईंले पनि परमेश्‍वरको नाउँ महिमा गर्ने र उहाँका आशिष्‌हरूमा आनन्दित हुने सुअवसरमा भाग लिन सक्नुहुनेछ।

के तपाईंले सम्झनुभएको छ?

• कुन तरिकामा आध्यात्मिक परिपक्वता प्रकट गर्न सकिन्छ?

• कस्तो प्रकारको ज्ञान र समझले परिपक्वता झल्काउँछ?

• “आत्माको फल” प्रकट गर्दा कसरी आध्यात्मिक प्रगति भएको संकेत मिल्छ?

• परिपक्वतातर्फ अघि बढ्‌दै जाँदा हामीले कस्तो चुनौती स्वीकार्नुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

पाकेको वा परिपक्वता स्पष्टै छुट्याउन सकिन्छ

[पृष्ठ १५-मा भएको चित्र]

प्रकट भएको सत्यअनुरूप हिंडेर हामी आध्यात्मिक प्रगति गर्छौं

[पृष्ठ १७-मा भएको चित्र]

प्रार्थनाले हामीलाई “आत्माका फलहरू” प्रकट गर्न मदत गर्छ