सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको विश्‍वासको आधार के हो?

तपाईंको विश्‍वासको आधार के हो?

तपाईंको विश्‍वासको आधार के हो?

विश्‍वास गर्नु भनेको “कुनै कुरा सत्य, साँचो वा वास्तविक” हो भनी स्वीकार्नु भनेर परिभाषित गरिएको छ। संयुक्‍त राष्ट्र संघको युनिभर्सल डेक्लरेशन अफ ह्‍युमन राइट्‌स घोषणापत्रमा बताएअनुसार प्रत्येक व्यक्‍तिले आफ्नो “विचार, अन्तस्करण र धार्मिक स्वतन्त्रताको अधिकार” पाउनुपर्छ। यस अधिकारमा कसैले चाहेको खण्डमा “आफ्नो धर्म वा विश्‍वास परिवर्तन” गर्न पाउनुपर्ने स्वतन्त्रता पनि समावेश छ।

तर मानिसले किन आफ्नो धर्म वा विश्‍वास परिवर्तन गर्न चाहन्छ होला र? मानिसहरू प्रायजसो यसो भन्‍ने गर्छन्‌, “मेरो आफ्नै विश्‍वास छ र त्यसैमा म सन्तुष्ट छु।” आफ्नो विश्‍वास गलतै भए तापनि त्यसले कसैको हानि गर्दैन भन्‍ने धेरैको सोचाइ हुनसक्छ। उदाहरणका लागि, पृथ्वी चेप्टो छ भनेर विश्‍वास गर्ने व्यक्‍तिले अरू कसैलाई वा आफूलाई पनि त्यसले कुनै घात पुऱ्‍याउँदैन भन्‍ने सोचाइ राख्नसक्छ। कसैकसैले चाहिं यसो भन्छन्‌, “सबैको धारणा मिल्नैपर्छ भन्‍ने छैन।” के त्यो कुरा सधैं ठीक हुन्छ त? यदि कुनै चिकत्सकले मुर्दालाई छोएर सीधै बिरामीलाई जाँच्न मिल्छ भनेर विश्‍वास गर्छ भने, सबैको धारणा मिल्नैपर्छ भन्‍ने सोचेर अरू चिकित्सकहरूले त्यसलाई हल्कासित लिन मिल्ला?

धर्मको सन्दर्भमा कुरा गर्ने हो भने, गलत धारणाहरूले गर्दा विगतमा भयानक क्षतिहरू भएका छन्‌। धार्मिक नेताहरूले “मसीही हठधर्मीहरूलाई उक्साएर निरंकुश हिंसा” गर्न लगाउँदा मध्ययुगको कथित पवित्र युद्धमा कस्तो अत्याचार भयो, विचार गर्नुहोस्‌ त। अथवा वर्तमान समयका “मसीही” बन्दुकधारीहरूलाई सम्झनुहोस्‌ जो “मध्यकालीन योद्धाहरूले तरवारको बींडमा सन्तहरूको नाउँ लेखेझैं” हालैका गृहयुद्धहरूमा “बन्दुकको कुन्दामा कुमारी मरियमको चित्र टाँसेर” युद्ध गर्न अघि सर्छन्‌। यी हठधर्मीहरूलाई आफूले जे गरिरहेका थिए त्यो ठिकै छ जस्तो लागेको थियो। यद्यपि, यी तथा अन्य धार्मिक संघर्ष र युद्धहरूमा एउटा कुरा भने एकदमै गलत थियो।

वर्तमान संसारमा किन यतिविघ्न गोलमाल र कचिंगल भइरहेको? बाइबलअनुसार शैतान अर्थात्‌ दियाबलले ‘सारा संसारलाई ठगेको’ कारण यस्तो भएको हो। (प्रकाश १२:९; २ कोरिन्थी ४:४; ११:३) दुःखको कुरा, प्रेरित पावलले चेताउनी दिएअनुसार थुप्रै धार्मिक आस्था भएका व्यक्‍तिहरू “नष्ट हुनेछन्‌” किनभने तिनीहरू “सबै शक्‍ति, झूटा चिह्नहरू, र आश्‍चर्यकामहरू” गर्ने शैतानद्वारा ठगिएका छन्‌। पावलले भनेझैं त्यस्ता व्यक्‍तिहरूले “आफ्नो उद्धारको निम्ति सत्यको प्रेम ग्रहण” नगर्ने हुँदा ‘झूट विश्‍वास गरून्‌ भनेर भर्माइन्छन्‌।’ (२ थिस्सलोनिकी २:९-१२) तपाईं कसरी झूटको पासोमा पर्नदेखि जोगिन सक्नुहुन्छ? तपाईंको विश्‍वासको आधार के हो?

सानैदेखि त्यसैलाई विश्‍वास गर्न सिकाइएको ?

सायद तपाईं आफ्नो परिवारले जे विश्‍वास गर्छ, त्यही विश्‍वास गर्नुहुन्छ होला। त्यो राम्रै हुनसक्छ। परमेश्‍वर, आमाबाबुले छोराछोरीलाई सिकाएको चाहनुहुन्छ। (व्यवस्था ६:४-९; ११:१८-२१) उदाहरणका लागि, जवान तिमोथीले आफ्ना आमा र हजुरआमाको कुरा सुनेर निकै लाभ उठाए। (२ तिमोथी १:५; ३:१४, १५) आमाबाबुले जे विश्‍वास गर्छन्‌, त्यसको आदर गर्न धर्मशास्त्रले प्रोत्साहन दिन्छ। (हितोपदेश १:८; एफिसी ६:१) तर आमाबाबुले विश्‍वास गर्छन्‌ भन्दैमा तपाईंले पनि त्यही विश्‍वास गरोस्‌ भन्‍ने के तपाईंको सृष्टिकर्ता चाहनुहुन्छ? वास्तवमा, आफ्ना पुर्खाहरूले जे विश्‍वास गरे, त्यो सोचविचारै नगरी विश्‍वास गर्नु खतरनाक हुनसक्छ।—भजन ७८:८; आमोस २:४.

येशू ख्रीष्टलाई भेट्‌ने सामरी स्त्रीलाई, तिनको सामरी धर्ममा विश्‍वास गर्न सिकाइएको थियो। (यूहन्‍ना ४:२०) तिनी जे विश्‍वास गर्छे, त्यो तिनको अधिकार भएकोले येशूले आदर गर्नुभयो तर यो कुरा भने औंल्याउनुभयो: “तिमीहरू जे जान्दैनौ, त्यो पुज्दछौ।” तिनले विश्‍वास गर्ने प्रायजसो धार्मिक विश्‍वासहरू गलत थिए र परमेश्‍वरलाई स्वीकार्य ढंगमा “आत्मा र सत्यतामा” उपासना गर्ने हो भने, थुप्रै परिवर्तन गर्नुपर्नेछ भनी उहाँले तिनलाई बताउनुभयो। आफूले अत्यन्तै अनमोल ठानेका विश्‍वासहरू पक्रिराख्नुको साटो, तिनी र तिनीजस्तै अरू थुप्रैले समयको दौडान येशू ख्रीष्टद्वारा प्रकट गरिएको विश्‍वास ‘मान्‍नुपर्ने थियो।’—यूहन्‍ना ४:२१-२४, ३९-४१; प्रेरित ६:७.

विश्‍वास गर्न सिकाइएका ?

विभिन्‍न क्षेत्रमा विशिष्ट ज्ञान हासिल गरेका थुप्रै शिक्षक तथा विशेषज्ञहरू उच्च आदरका योग्य छन्‌। यद्यपि, इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने, ख्यातिप्राप्त शिक्षकहरूका शिक्षाहरू पनि बिलकुलै गलत भएका उदाहरणहरू प्रशस्त पाइन्छन्‌। उदाहरणका लागि, ग्रीक दार्शनिक अरस्तुले वैज्ञानिक विषयमा लेखेका दुइटा पुस्तकबारे इतिहासकार बट्रान्ड रसलले यसो भने, “ती दुवै पुस्तकको एउटा वाक्य पनि आधुनिक विज्ञानसित मेल खाँदैन।” वर्तमान समयका विशेषज्ञहरूले पनि भयंकर गल्तीहरू गर्छन्‌। बेलाइती वैज्ञानिक लर्ड क्यालभिनले १८९५ मा विश्‍वस्ततासाथ यसो भनेका थिए, “आकाशमा हावाभन्दा गह्रौं उपकरणहरू उडाउन असम्भव छ।” त्यसकारण त, बुद्धिमान्‌ मानिसले कुनै विशेषज्ञले यसो भन्यो भन्दैमा अन्धाधुन्ध त्यही विश्‍वास गर्दैन।—भजन १४६:३.

धार्मिक शिक्षाको सन्दर्भमा पनि त्यस्तै सतर्कता अपनाउनुपर्छ। प्रेरित पावलले आफ्नो समयका धार्मिक नेताहरूबाट राम्रो शिक्षादीक्षा पाएका थिए र “[आफ्ना] पिता-पुर्खाका प्रथामा असाध्यै जोशिला” थिए। तथापि, आफ्ना पिता-पुर्खाहरूको परम्परागत विश्‍वासप्रति देखाएको जोसले वास्तवमा समस्या खडा गऱ्‍यो। त्यस्तो जोसको कारण तिनले “परमेश्‍वरको मण्डलीलाई खेदो गरी त्यसको संहार” गरे। (गलाती १:१३, १४; यूहन्‍ना १६:२, ३) त्यो भन्दा अझ नराम्रो कुरा त के भयो भने, पावलले ‘सुइरोमा लात हानिरहेर’ येशू ख्रीष्टतर्फ डोऱ्‍याउने मार्गको विरोध गरिरहे। पावलको विश्‍वास परिवर्तन गर्न स्वयम्‌ येशूले नाटकीय ढंगमा हस्तक्षेप गर्नुपऱ्‍यो।—प्रेरित ९:१-६; २६:१४.

सञ्चारमाध्यमद्वारा प्रभावित ?

सञ्चारमाध्यमले तपाईंको विश्‍वासलाई निकै प्रभाव पारेको हुनसक्छ। धेरैजसो मानिसहरू सञ्चारमाध्यममा वाक्‌ स्वतन्त्रता भएकोमा खुसी छन्‌ किनभने यसमार्फत तिनीहरू उपयोगी जानकारी प्राप्त गर्नसक्छन्‌। तथापि, सञ्चारमाध्यमलाई बहकाउन सक्ने र प्रायजसो बहकाउने शक्‍तिशाली तत्त्वहरू व्याप्त छन्‌। सञ्चारमाध्यममा प्रस्तुत गरिने प्रायजसो जानकारी निष्पक्ष हुँदैन र यसले तपाईंको सोचाइमा नकारात्मक प्रभाव पार्नसक्छ।

साथै, अधिकांश जनसाधारणलाई आकर्षित गर्न सञ्चारमाध्यमले सनसनीपूर्ण र असामान्य समाचारको निकै प्रचारप्रसार गर्ने गर्छन्‌। केही वर्षअघिसम्म जनसाधारणको लागि पटक्कै नछापिने कुराहरू अहिले सामान्य भइसकेका छन्‌। कुनै समय स्वीकार्य मूल्यमान्यताहरू बिस्तारै हराउँदै गइरहेका छन्‌। मानिसहरूको सोचाइ दिनप्रतिदिन भ्रष्ट हुँदै गइरहेको छ। तिनीहरूले “खराबलाई असल र असललाई खराब” भन्‍न थालेका छन्‌।—यशैया ५:२०; १ कोरिन्थी ६:९, १०.

विश्‍वास गर्ने ठोस आधार भेट्टाउने

मानिसहरूको धारणा र दर्शनमा भरोसा गर्नु भनेको बालुवामा घर बनाउनुसरह हो। (मत्ती ७:२६; १ कोरिन्थी १:१९, २०) त्यसोभए, आफ्नो विश्‍वासको आधार तपाईं केलाई बनाउन सक्नुहुन्छ? परमेश्‍वरले तपाईंलाई आफू वरपर भइरहेका कुराहरू जाँच्ने अनि आध्यात्मिक कुराहरूसम्बन्धी प्रश्‍न गर्ने बौद्धिक क्षमता दिनुभएको हुँदा, के उहाँले ती प्रश्‍नहरूको सही जवाफ पाउने तरिका पनि प्रदान गर्नुभएको हुनुपर्छ? (१ यूहन्‍ना ५:२०) हो, उहाँले अवश्‍य प्रदान गर्नुहुन्छ! तर उपासनाको सन्दर्भमा तपाईं कसरी सत्य, साँचो वा वास्तविक कुरा तय गर्न सक्नुहुन्छ? हामी निसंकोच भन्‍नसक्छौं, यसको एक मात्र आधार परमेश्‍वरको वचन, बाइबल हो।—यूहन्‍ना १७:१७; २ तिमोथी ३:१६, १७.

कसैले यसो भन्ला, “तर संसारको गतिविधिमा अन्योल र विवाद सृजना गर्ने व्यक्‍तिहरू के बाइबल च्यापेर हिंड्‌नेहरू नै होइनन्‌ र?” हुन त हो, बाइबलअनुसार हिंड्‌छौं भनी दाबी गर्ने धार्मिक नेताहरूले नै अन्योल र विवाद सृजना गर्ने धारणाहरू प्रतिपादन गरेका छन्‌। वास्तवमा यसो हुनुको कारण, तिनीहरूको विश्‍वास बाइबलमा आधारित नहुन हो। प्रेरित पत्रुसले तिनीहरूलाई “विधर्म ल्याउने” “झूटा अगमवक्‍ताहरू” र “झूटा शिक्षकहरू” भनेका छन्‌। पत्रुसले भनेझैं तिनीहरूको कामले “सत्यको मार्गको बदनाम” भएको छ। (२ पत्रुस २:१, २) तैपनि, पत्रुस अझै यस्तो लेख्छन्‌, “बढ़ता पुष्टि गराउने हामीसँग अगमवाणीको वचन छ। . . . अन्धकारमा बलिरहेको दियोलाईझैं गरी तिमीहरूले त्यसलाई ध्यान दियौ भने असल गर्नेछौ।”—२ पत्रुस १:१९; भजन ११९:१०५.

बाइबलले हामीलाई आफ्नो विश्‍वास यसले सिकाउने कुराहरूसँग दाँजेर हेर्न प्रोत्साहन दिन्छ। (१ यूहन्‍ना ४:१) यस पत्रिकाका लाखौं पाठकहरूले यसो गरेर आफ्नो जीवन उद्देश्‍यपूर्ण र अझ मजबुत भएको पुष्टि दिनसक्छन्‌। त्यसकारण, बिरियाका बासिन्दाहरू जस्तो हुनुहोस्‌। विश्‍वास गर्नुअघि “दिनहुँ धर्मशास्त्रमा खोजी” गर्नुहोस्‌। (प्रेरित १७:११) तपाईंलाई मदत गर्न यहोवाका साक्षीहरू खुसी हुनेछन्‌। निस्सन्देह, तपाईं केमा विश्‍वास गर्न चाहनुहुन्छ, त्यो तपाईंको व्यक्‍तिगत निर्णय हो। तथापि, तपाईंको विश्‍वास मानिसहरूको बुद्धि र इच्छाअनुरूप नभई परमेश्‍वरले प्रकट गर्नुभएको सत्यअनुरूप हुनु बुद्धिमानी हो।—१ थिस्सलोनिकी २:१३; ५:२१.

[पृष्ठ ६-मा भएका चित्रहरू]

तपाईं निर्धक्क भई बाइबललाई आफ्नो विश्‍वासको आधार बनाउन सक्नुहुन्छ