परमेश्वरले तिनको आँसु पुछिदिनुभएको छ
राज्य उद्घोषकहरूको रिपोर्ट
परमेश्वरले तिनको आँसु पुछिदिनुभएको छ
यहोवाका व्यवस्था र सिद्धान्तहरूअनुरूप आफ्नो जीवन ढाल्ने मानिसहरूले प्रचुर मात्रामा आशिष् पाउँछन्। आवश्यक परिवर्तनहरू गर्नु सधैं सजिलो नभए तापनि मदत र प्रोत्साहन उपलब्ध छन्। (भजन ८४:११) दक्षिणपूर्व एसियाको निम्न अनुभवले यसको पुष्टि दिन्छ।
बिदा मनाउन गएका फ्रान्सका एक जना साक्षीले किम a नाउँ गरेकी पसलको साहूनीलाई पृथ्वीको लागि यहोवाको उद्देश्यबारे बताइन्। तिनले किमलाई पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक पनि दिइन्। त्यो पुस्तक सरसरती हेर्दै जाँदा किमले यी शब्दहरू देखिन्: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रकाश २१:४) किम सम्झन्छिन्, “यो पदले मेरो हृदय छोयो। पसलमा दिनभरि हाँस्दै कुरा गर्ने साहूनी घर पुगेपछि रुँदारुँदै सुत्छिन् भनेर कसलाई के थाह?” आफ्नो दुःखको कारण बताउँदै तिनले यसो भनिन्: “म एक जना मान्छेसँग बसेको १८ वर्ष भइसक्यो तरैपनि तिनले मलाई विवाह गर्न नमानेको कारण म अत्यन्तै दुःखित थिएँ। म मर्न चाहन्थें तर तिनीसँग लामो समयसम्म बसिसकेकोले त्यसो गर्ने आँट पनि थिएन।”
केही समयपछि लिन नाउँ गरेकी यहोवाका साक्षीसित बाइबल अध्ययन गर्न किम राजी भइन्। किम भन्छिन्: “बाइबलका शिक्षाहरू व्यवहारमा उतार्न म उत्सुक थिएँ। उदाहरणका लागि, परिवारबाट सतावट आए तापनि मैले पुर्खाहरूको पूजाआजा गर्न छोडें। यसको साथै, मैले हाम्रो सम्बन्धलाई कानुनी रूप दिन खोजें तर तिनी मानेनन्। यस्तो कठिन समयमा मैले सुरुमा भेटेको फ्रान्सबाट आएकी साक्षीले बाइबल साहित्यहरू पठाइरहिन् र लिनले पनि मलाई प्रोत्साहन दिइरहिन्। यी बहिनीहरूको धैर्य र मायालु समर्थनले मलाई सहने बल दियो र आखिरमा मैले उक्त पुरुषको असली रूप थाह पाएँ। तिनका ५ ‘पत्नीहरू’ र २५ जना छोराछोरी भइसकेका रहेछन्! यो थाह पाएपछि मैले तिनलाई छोड्ने आँट गर्न सकें।
“ठूलो सुविधा सम्पन्न घर छोडेर सानो कोठामा बस्न मलाई सुविधा त अवश्यै भएन। यसबाहेक, पहिले सँगै बसेको उक्त व्यक्तिले फेरि मलाई तिनीसँग बस्न दबाउ दिन थाले र मैले इन्कार गरेको खण्डमा तेजाब छ्यापेर मलाई कुरूप बनाउने धम्कीसमेत दिए। तथापि, यहोवाको मदत पाएर मैले सही कुरा गर्नसकें।” किमले प्रगति गरिरहिन् र अप्रिल १९९८ मा बप्तिस्मा लिइन्। यसबाहेक, तिनका दिदी र बहिनी तथा किशोरावस्थामा पुगेको तिनको छोराले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले।
किम भन्छिन्, “मैले सधैं मेरो जीवन आशाविहीन हुन्छ होला भन्ठानेकी थिएँ। तथापि, आज म खुसी छु र रात पनि रोएर काट्नु पर्दैन। यहोवाले मेरो आँखाबाट आँसु पुछिदिनुभएको छ।”
[फुटनोट]
a नाउँहरू परिवर्तन गरिएका छन्।