मेरा अनमोल सम्झनाहरूको लागि कृतज्ञ!
जीवनी
मेरा अनमोल सम्झनाहरूको लागि कृतज्ञ!
ड्रुसिल्ला केनको वृत्तान्तमा आधारित
त्यो वर्ष थियो, १९३३। मैले भर्खरै मात्र जानोआ केनसँग विवाह गरेकी थिएँ र उहाँ मजस्तै कल्पोर्टर अर्थात् पूर्ण-समय सुसमाचारक हुनुहुन्थ्यो। असाध्यै उत्सुक हुँदै मैले आफ्नो पतिसँगसँगै काम गर्ने योजना बनाएँ तर त्यसको लागि मलाई साइकल चाहिन्थ्यो। महामन्दीको बेला साइकल निकै महँगो पर्थ्यो र मसँग किन्ने औकात थिएन। अब के गर्ने?
मेरो अवस्था थाह पाएपछि मेरा देवरहरूले मेरोलागि साइकल बनाउन, नचाहिने पाटपूर्जाहरू फाल्ने ठाउँमा गएर साइकलका पाटपूर्जा खोज्न थाल्नुभयो। उहाँहरूले साइकलका पाटपूर्जा भेट्टाउनुभयो र मेरोलागि साइकल बनाइदिनुभयो! साइकल चढ्न सिक्ने बित्तिकै जानोआ र म आफ्नो बाटो लाग्यौं। रमाउँदै हामी बेलाइतको वरचेस्टर र हेर्फोर्ड क्षेत्रमा साइकल चढ्दै भेटे जति सबैलाई साक्षी दियौं।
आफ्नो विश्वासको कारण चालेको यो सानो कदमले अनमोल सम्झनाहरूले भरिएको जीवनतर्फ डोऱ्याउनेछ भनी मलाई त्यतिबेला के थाह। तथापि, मेरो जीवनमा आध्यात्मिक जग मेरा प्रिय आमाबाबुले बसाल्नुभएको थियो।
विश्वयुद्धको दौडान कष्टदायी समय
मेरो जन्म डिसेम्बर १९०९ मा भएको थियो। त्यसको केही समयपछि आमाले द डिभाइन प्लान अफ द एजेज नामक पुस्तक प्राप्त गर्नुभयो र १९१४ मा मेरा आमाबाबुले मलाई ओल्डहाम, लान्काशायरमा “फोटो ड्रामा अफ क्रिएसन” देखाउन लैजानुभयो। (ती दुवै अहिले यहोवाका साक्षीहरू भनेर चिनिने व्यक्तिहरूद्वारा प्रकाशित हुन्।) म सानै भए तापनि ती ड्रामा हेरेपछि खुसीले उफ्रेको मलाई अझै याद छ! त्यसपछि हामी बस्ने ठाउँ रकडेलमा फ्रान्क
हिलीले बाइबल अध्ययन समूह स्थापित गरे। त्यहाँ उपस्थित हुँदा हाम्रो परिवारलाई धर्मशास्त्र अझ राम्ररी बुझ्न मदत मिल्यो।शान्तसित बितिरहेको हाम्रो जीवन त्यही वर्ष सुरु भएको प्रथम विश्वयुद्धले सबै भताभुंग पाऱ्यो। मेरो बुबालाई सेनामा उहाँको सहमतिविना सेनामा भर्ती गराइयो तर उहाँ तटस्थ रहनुभयो। अदालतमा पनि बयान दिने क्रममा उहाँ “नीतिवान् व्यक्ति” हुनुभएको कारण उहाँले “हतियार उठाउन इन्कार गर्नुमा उहाँको कुनै दोष छैन भनी उल्लेख गर्दै भद्र पुरुषहरूले” थुप्रै पत्र लेखे भनी स्थानीय अखबारले रिपोर्ट गऱ्यो।
तथापि, बुबा सैन्य सेवाबाट पूर्णतया निर्वृत्त हुनुको सट्टा “रणभूमिमा मात्र जान नपर्ने” भनी उहाँको नाउँ दर्ता गरिएको थियो। त्यसपछि त उहाँलगायत आमा र म पनि गिल्लाको पात्र भयौं। पछि बल्लतल्ल उहाँको नाउँ यसरी दर्ता गरिनुको कारण पुनरावलोकन गरियो र त्यसपछि उहाँलाई खेतीपाती गर्न खटाइयो तर केही कृषकहरूले उहाँको परिस्थितिको नाजायज फाइदा उठाउँदै उहाँलाई साह्रै कम ज्याला दिने वा दिंदै नदिने गरे। परिवार पाल्ने काममा मदत पुऱ्याउन आमाले लुगा धुने निजी कम्पनीमा काम गर्नुभयो, तर पैसा भने असाध्यै कम पाउनुहुन्थ्यो। यद्यपि, म हुर्कंदै गरेका वर्षहरूमा मैले कठिन परिस्थितिहरूको सामना गर्नुपरे तापनि त्यसले मलाई कसरी बलियो हुन मदत गऱ्यो भनेर अहिले बुझेकी छु। यसले मलाई महत्त्वपूर्ण आध्यात्मिक कुराहरूको मूल्यांकन गर्न मदत गऱ्यो।
सानो सुरुआत
धेरै समय नबित्दै डानिएल ह्युग नाउँ गरेको उत्सुक बाइबल विद्यार्थीसँग हाम्रो चिनजान बढ्यो। उहाँ हामी बसाइँ सरेको ओस्वट्रीभन्दा २० किलोमिटर टाढा रुबेन गाउँको (कोइला) खानीमा काम गर्नुहुन्थ्यो। म उहाँलाई ड्यान अंकल भनेर बोलाउने गर्थें र उहाँको हाम्रो परिवारमा आवतजावत भइरहन्थ्यो। उहाँ हामीलाई भेट्न आउनुहुँदा सधैं धर्मशास्त्रीय विषयहरूमा कुरा गर्नु हुन्थ्यो। उहाँ कहिल्यै नानाथरिको कुरा गर्नुहुन्नथ्यो। सन् १९२० मा ओस्वट्रीमा बाइबल अध्ययन समूह स्थापित भयो र ड्यान अंकलले मलाई १९२१ मा द हार्प अफ गड नामक पुस्तक दिनुभयो। मेरोलागि यो अनमोल थियो किनभने यसले गर्दा बाइबल शिक्षाहरू बुझ्न असाध्यै सजिलो भयो।
अनि प्राइस ह्युग पनि हुनुहुन्थ्यो। a पछि उहाँ यहोवाका साक्षीहरूको लण्डनस्थित शाखा कार्यालयमा निरीक्षक पनि हुनुभयो। उहाँ आफ्नो परिवारसँग वेल्सको सीमामा पर्ने ब्रोनगार्थमा बस्नुहुन्थ्यो। रहँदाबस्दा मेरी आमा र उहाँकी दिदी सीसी घनिष्ठ मित्र हुनुभयो।
सन् १९२२ मा ‘राजा र उहाँको राज्यको विज्ञापन गर्न’ आह्वान गरिंदा कत्ति खुसी भएका थियौं मलाई अझै याद छ। त्यसपछिका वर्षहरूमा म स्कूलमै भए तापनि मैले उत्सुकतासाथ विशेष पर्चाहरू, विशेष गरी एक्लिज्यास्टिकल इन्डाइटेड वितरणमा भाग लिएँ। त्यस दशकमा मोड क्लार्क b र तिनको साथी मेरी ग्रान्ट#, एड्गार क्ले#, रबर्ट ह्याडलिङटन, केट रबर्टस्, एड्विन स्किनरका# साथै पर्सी च्यापम्यान अनि क्यानाडामा मदत गर्न गएका ज्याक नेथनजस्ता विश्वासी भाइबहिनीहरूसित संगत गर्न पाउनु साह्रै ठूलो सुअवसर थियो।
“अहिले बाँचिरहेका लाखौं व्यक्तिहरू कहिल्यै मर्ने छैनन्” शीर्षकअन्तर्गत बाइबल भाषण हाम्रो टाढ-टाढासम्म फैलिएको विस्तृत इलाकाको लागि समय सुहाउँदो साबित भयो। मे १४, १९२२ मा प्रिस ह्युगका नातेदार स्ट्यान्ले रजर्स हाम्रो गाउँदेखि उत्तरमा पर्ने चर्क गाउँमा भाषण दिन लिभरपुलबाट आउनुभयो र पछि साँझमा त्यही भाषण ओस्वट्रीको द पिक्चर प्लेहाउसमा दिइयो। त्यस अवसरको निम्ति छापिएका हातेपर्चीको एउटा प्रति मसँग अझै छ। यस अवधिभरि हाम्रो सानो समूह तीन जना परिभ्रमण निरीक्षकहरू, हबर्ट सिनियर, अल्बर्ट लोइड र जोन ब्लेनीको भ्रमणले सुदृढ भइरह्यो। त्यतिबेला परिभ्रमण निरीक्षकलाई पिलग्रीम्स भनिन्थ्यो।
निर्णय गर्ने समय
सन् १९२९ मा मैले बप्तिस्मा लिने निर्णय गरें। म १९ वर्षकी थिएँ र त्यतिबेला मैले पहिलो परीक्षा सामना गर्नुपऱ्यो। मेरो एक जना केटासँग भेट भयो र तिनको बुबा राजनीतिज्ञ थिए। हामी दुवै एकअर्काप्रति आकर्षित भयौं व्यवस्था ७:३; २ कोरिन्थी ६:१४.
र तिनले बिहेको प्रस्ताव राखे। त्यसको अघिल्लो वर्ष मात्रै गभरमेन्ट नामक पुस्तक विमोचन गरिएको थियो र मैले तिनलाई त्यो पुस्तक दिएँ। तर त्यस पुस्तकमा चर्चा गरिएको स्वर्गीय सरकारमा तिनको कुनै चासो नभएको कुरा चाँडै स्पष्ट भयो। अध्ययनबाट पुरातन समयमा इस्राएलीहरूलाई अविश्वासीहरूसँग विवाह नगर्न आज्ञा दिइएको थियो र यो सिद्धान्त मसीहीहरूलाई पनि लागू हुन्छ भनी मैले थाह पाइसकेकी थिएँ। अतः गाह्रो भए तापनि मैले तिनको विवाह प्रस्तावलाई अस्वीकार गरें।—मैले प्रेरित पावलका शब्दहरूबाट बल प्राप्त गरें: “भलाइ गर्नामा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।” (गलाती ६:९) प्रिय ड्यान अंकलले पनि यस्तो लेख्नुभएर मलाई मदत गर्नुभयो: “चाहे सानो होस् या ठूलो, सबै परीक्षामा रोमी ८ को पद २८ सम्झनु” जहाँ यसो भनिएको छ: “हामी जान्दछौं, परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका इच्छाअनुसार बोलावट भएकाहरूका निम्ति पनि सब कुरा मिलेरनै तिनीहरूका भलाइको निम्ति काम गर्दछन्।” अतः तिनीसँग सम्बन्ध तोड्न सजिलो त थिएन तर मैले गरेको निर्णय सही हो भनेर मलाई थाह थियो। त्यस वर्ष कल्पोर्टरको रूपमा म भर्ना भएँ।
चुनौती सामना गर्दै
सन् १९३१ मा हामीले यहोवाका साक्षीहरू भन्ने नयाँ नाउँ पायौं र त्यस वर्ष हामी जोडतोडका साथ द किङडम, द होप अफ द वर्ल्ड पुस्तिका वितरण अभियानमा लाग्यौं। सबै राजनीतिज्ञ, पादरी र व्यापारीलाई यो पुस्तिका दिइयो। मेरो इलाका, ओस्वट्रीदेखि उत्तरी दिशामा २४ किलोमिटर पर रेक्सह्यामसम्म फैलिएको थियो। यो सबै इलाकामा प्रचार गर्नु चुनौतीपूर्ण थियो।
त्यसपछिको साल, बर्मिङह्याममा आयोजित अधिवेशनमा २४ जना स्वय्मसेवक चाहियो भनी घोषणा गरियो। चौबीस जना केको लागि हो त्यो पनि थाह थिएन तैपनि उत्सुकतासाथ हामीले सेवाको नयाँ पक्षको निम्ति आ-आफ्नो नाउँ दियौं। घाँटीमा गह्रौं विज्ञापन पाटी झुन्डाएर द किङडम, द होप अफ द वर्ल्ड पुस्तिका वितरण गर्न हामीलाई दुई/दुई जना गरी खटाइँदा हामी कत्ति छक्क पऱ्यौं होला कल्पना गर्नुहोस्।
चर्च नजिकैको इलाकामा काम गर्दा मलाई साह्रै अप्ठ्यारो लाग्यो तर त्यस शहरमा मलाई कसैले चिन्दैन भनेर आफूले आफैलाई ढाडस दिएँ। यद्यपि, मैले सबैभन्दा पहिला भेटेको मान्छे मेरै स्कूलको पुरानो साथी थिइन्। तिनी मलाई देखेर वाल्ल परिन् र यसो भनिन्: “यस्तो लुगा लगाएर तिमी यहाँ के गरिरहेकी?” त्यो अनुभवपछि मानिसको डर मेरो मनबाट पूरै हटेर गयो!
घरदेखि टाढा इलाकातर्फ
सन् १९३३ मा मैले जानोआसँग बिहे गरें। उहाँ विधुर हुनुका साथै मभन्दा २५ वर्ष जेठो हुनुहुन्थ्यो। उहाँको पहिलो पत्नी पनि जोसिलो बाइबल स्टुडेन्ट हुनुहुन्थ्यो र तिनको मृत्युपछि पनि उहाँले आफूलाई दिइएको जिम्मेवारी पूरा गरिरहनुभएको थियो। हामी इंगल्याण्डबाट झन्डै ५० किलोमिटर टाढा हाम्रो नयाँ इलाका नर्थ वेल्समा सऱ्यौं। किताबहरूको बाकस, सुटकेस र अन्य बहुमूल्य सामानहरू हाम्रो साइकलको ह्यान्डलमा बल्लतल्ल झुन्ड्यायौं र अन्ततः हामी आफ्नो गन्तव्यस्थानमा सकुशल आइपुग्यौं! त्यस असाइनमेन्टमा साइकल नितान्त आवश्यक थियो। साइकलमै हामी सबै ठाउँ पुग्थ्यौं। भनौं भने, साइकलै चढेर लगभग ९०० मिटर अग्लो वेल्स पहाड केडर इड्रिसको टुप्पामा समेत पुग्यौं। “राज्यको यो सुसमाचार” सुन्न मत्ती २४:१४.
इच्छुक मानिसहरू भेट्नु साह्रै इनामदायी हुन्थ्यो।—हामी त्यहाँ पुगेको केही समय नबित्दै मानिसहरूले टम प्राइस नाउँ गरेका मान्छेले पनि हामीले जस्तै तिनीहरूलाई प्रचार गरेको कुरा बताए। हामीले बल्लतल्ल वेल्सपुलसँगै लंग माउन्टेनमा बस्ने टमलाई भेटायौं अनि उक्त व्यक्ति को रहेछ भनेर थाह पाउँदा हामी तीन छक पऱ्यौं! मैले प्रचार कार्यमा भाग लिन थालेको सुरुसुरुतिर मैले बाइबल अध्ययन सहायक रिकनसिलेसन तिनलाई दिएकी रहेछु। उहाँले त्यो सबै पढ्नु भएर पनि लण्डनमा थप साहित्यको निम्ति पत्र लेख्नुभएछ अनि त्यतिबेलादेखि जोसका साथ आफ्नो नयाँ विश्वासबारे अरूलाई बताउन थाल्नुभएको रहेछ। हामीले सुखदुःखको कुरा गर्दै निकै समय बितायौं र प्रायजसो एकअर्कालाई प्रोत्साहन दिन हामी तीन जना एकसाथ अध्ययन गर्थ्यौं।
विपत्तिले ल्याएका आशिष्हरू
सन् १९३४ मा नर्थ वेल्स नजिकै भएका सबै अग्रगामीहरूलाई राइचेस रुलर पुस्तिका वितरणमा मदत गर्न रेक्सह्याम शहर जान आमन्त्रित गरियो। यो विशेष अभियान सुरु गर्नुभन्दा एक दिनअघि त्यहाँ ठूलो दुर्घटना भएको थियो। रेक्सह्यामदेखि तीन किलोमिटर टाढा उत्तर ग्रेसफोर्ड खानीमा विस्फोटन हुँदा खानीका २६६ जना मजदुरहरूको मृत्यु भएछ। त्यस दुर्घटनामा झन्डै २०० जना बच्चाहरूका बुबाको मृत्यु हुनुका साथै १६० जना महिला विधवा भए।
हामीले ती शोकाकुल व्यक्तिहरूको सूची बनाएर उनीहरूलाई व्यक्तिगत रूपमा भेटी त्यो पुस्तिका दिनुपर्थ्यो। मलाई दिइएको एउटा नाउँ श्रीमती च्याडविक थियो। तिनले १९ वर्षीय छोरा गुमाएकी थिइन्। म तिनलाई भेट्न जाँदा तिनको जेठो छोरा ज्याक पनि सान्त्वना दिन आइरहेका रहेछन्। यस जवान मानिसले मलाई चिनेको रहेछ तर त्यति नै बेला केही भनेनन्। तिनले त्यो पुस्तिका पढे र त्यसपछि केही वर्षअघि मैले तिनलाई दिएको द फाइनल वर पुस्तिका पनि खोज्न थालेछ।
ज्याक र तिनकी पत्नी मे, म बसिरहेको ठाउँ पत्ता लगाएर अरू साहित्यहरू लिन आए। सन् १९३६ मा तिनीहरूको घर रेक्सह्याममा सभा गर्न दिन तिनीहरू राजी भए। अल्बर्ट लोयडले भ्रमण गरेको छ महिनापछि मण्डली स्थापना गरियो र मण्डलीको अध्यक्ष ज्याक च्याडविक भए। अहिले रेक्सह्याममा तीनवटा मण्डली छ।
जीप्सी क्याराभानमा जीवन
यतिबेलासम्म हामी ठाउँठाउँमा सर्दा जहाँ हुन्छ, त्यहीं बस्थ्यौं तर जानोआले अबचाहिं यताउता लान मिल्ने घर बनाउने निर्णय गर्नुभयो। जीप्सी पुर्ख्यौली भएकोले गर्दा मेरो श्रीमान् सिकर्मीको कामममा पोख्त हुनुहुन्थ्यो र उहाँले हाम्रोनिम्ति जीप्सी क्याराभान बनाउनुभयो। हामीले यसलाई बाइबल नाउँ इलिजाबेथ दियौं जसको अर्थ हो, “फलिफापको परमेश्वर।”
हामी बसेका धेरै ठाउँहरूमध्ये विशेष गरी एउटा ठाउँ मलाई याद छ। यो नदीसँगैको फलफूल बारी थियो। मेरोलागि यो प्रमोदवनजस्तै थियो! हाम्रो क्याराभानमा ठाउँ सीमित भए तापनि हामीले यसमा निकै आनन्ददायी वर्षहरू बितायौं। कठांग्रिने जाडोको मौसममा तन्ना जमेर क्याराभानको भित्तामा टाँसिन्थ्यो र छतबाट पनि त्यत्तिकै
पानी चुहिन्थ्यो। कहिलेकाहीं धेरै टाढाबाट पानी बोकेर ल्याउनुपर्थ्यो तर हामी दुवै मिलेर यी कठिनाइहरू पार लायौं।एउटा जाडो याममा म बिरामी परें। हामीसँग खानेकुरा अलिकता मात्र थियो र पैसा पनि थिएन। जानोआ म सुतिरहेको पलङमा बस्नुभयो र मेरो हात समाउँदै भजन ३७:२५ मलाई पढेर सुनाउनुभयो: “जवान थिएँ, र म अहिले बूढ़ो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” अनि मलाई हेर्दै यसो भन्नुभयो: “अब चाँडै केही भएन भने त हामीले मागेर खानुपर्नेछ र यहोवाले त्यस्तो हुन दिनुहुन्न!” त्यसपछि उहाँ हाम्रा छिमेकीहरूलाई प्रचार गर्न निस्कनुभयो।
जानोआ दिउँसो मलाई केही खुवाउनको लागि घर फर्कनुहुँदा उहाँको निम्ति एउटा चिट्ठी थियो। त्यसमा उहाँको बुबाले पठाउनुभएको ५० पाउन्ड रहेछ। केही वर्षअघि जानोआलाई पैसा हिनामिना गऱ्यो भनेर गलत आरोप लगाइएको थियो तर उहाँ निर्दोष हुनुहुन्छ भनी साबित भएपछि यो उपहार त्यसको क्षतिपूर्तिस्वरूप थियो। हामीलाई चाहिएकै बेला ठ्याक्क पायौं!
लाभदायी पाठ
हामी कहिलेकाहीं कुनै कुरा भएको वर्षौंपछि मात्र पाठ सिक्छौं। उदाहरणका लागि, सन् १९२७ मा स्कूल छोड्नुअघि मैले आफ्ना सबै सहपाठी र लभिनिया फेरक्लो नाउँकी शिक्षिकाबाहेक सबै शिक्षकहरूलाई प्रचार गरें। मेरो जीवनको लक्ष्यबारे कसैलाई चासो नभएको र फेरक्लो नाउँकी उक्त शिक्षिकासित मेरो त्यति कुरा नमिल्ने भएकोले उहाँलाई प्रचार नगर्ने विचार गरेको थिएँ। तर झन्डै २० वर्षपछि मेरी आमाले यो शिक्षिका आफ्ना सबै पुराना साथी तथा विद्यार्थीहरूलाई आफू यहोवाको साक्षी भएको कुरा बताउन आएकी थिइन् भन्दा म कत्ति छक्क र खुसी भए होला कल्पना गर्नुहोस् त!
पछि हाम्रो भेट हुँदा मैले उहाँलाई आफ्नो विश्वास र उद्देश्यबारे नबताउनुको कारण बताएँ। उहाँले चुपो लागेर मेरो कुरा सुन्नुभयो र भन्नुभयो: “म पहिलेदेखि नै सच्चाइको खोजीमा थिएँ। त्यो मेरो जीवनकै प्रमुख खोज थियो।” यो अनुभवबाट मैले ठूलो पाठ सिकें। त्यो हो, भेटेको जति सबैलाई कुनै पूर्वाग्रह नराखी साक्षी दिनुपर्ने।
अर्को युद्ध र त्यसपछिका घटनाहरू
सन् १९३० को दशकमा पाइला टेक्दा फेरि युद्धका काला बादलहरू मडारिन थाले। मभन्दा दस वर्षले कान्छो मेरो भाइ डेनिसलाई सरकारी जागिरमै रहिरहेको खण्डमा सेनामा जान नपर्ने छुट दिइयो। तिनले सच्चाइप्रति कहिल्यै त्यति चासो देखाएका थिएनन्। त्यसैकारण, म र मेरो श्रीमान् मिलेर रुपर्ट ब्य्राडबेरी अनि तिनका भाइ डेविडलाई, तिनीलाई भेट्न गइदिन आग्रह गऱ्यौं। तिनीहरू गए र भाइसँग बाइबल अध्ययन गर्न पनि थाले। डेनिसले १९४२ मा बप्तिस्मा लिए र पछि अग्रगामी सेवा गर्न थाले। सन् १९५७ मा तिनी परिभ्रमण निरीक्षकको रूपमा नियुक्त भए।
सन् १९३८ मा हाम्री छोरी एलिजाबेथको जन्म भयो र परिवारका आवश्यकताहरू पूरा गर्न जानोआले हाम्रो क्याराभान अलि ठूलो बनाउनुभयो। सन् १९४२ मा हाम्री कान्छी छोरी युनिसको जन्म हुँदा स्थायी घर खोज्नु नै बेस देखियो। यही कारणले गर्दा जानोआले केही वर्षको निम्ति अग्रगामीको कार्य छोड्नुभयो र हामी रेक्सह्याम नजिकै सानो घरमा सऱ्यौं। पछि हामी नजिकैको शहर, चेशायर प्रान्तको मिडलवीचमा बसोबास गर्न थाल्यौं। यहीं सन् १९५६ मा मेरो प्यारो पतिको निधन भयो।
हाम्रा दुइटै छोरी पूर्ण-समय सुसमाचारक भए र दुवैको वैवाहिक जीवन आनन्दमय छ। युनिस र तिनको पति जो प्राचीन हुन्, लण्डनमा अझै विशेष अग्रगामीको रूपमा सेवा गर्दैछन्। एलिजाबेथको पति पनि मण्डलीको प्राचीन हुन् र मेरोनिम्ति छोरी ज्वाइँ, नातिपनातिहरू सबै प्रेस्टन लानसायरमा सँगसँगै हुनु आशिष्को कुरा हो।
मेरो घरको ठ्याक्क अगाडि राज्यभवन छ र म त्यहाँसम्म हिंडेरै जान सकेकोमा खुसी छु। हालै म गुजरातीभाषी समूहमा जान थालेको छु, यो समूह पनि त्यहीं भेला हुन्छ। नयाँ भाषा सिक्नु सजिलो भएको छैन किनभने अहिले म त्यति राम्ररोसित सुन्न सक्दिनँ। जवानहरूले जस्तै सबै शब्दहरू सजिलै उच्चारण गर्न सक्दिनँ। तर यो निक्कै रोचक चुनौती भएको छ।
म अझै घरघरको प्रचारकार्यमा जान्छु र घरमै गृह बाइबल अध्ययन सञ्चालन गर्छु। साथीहरू मलाई भेट्न आउँदा मेरो पहिलाका केही अनुभवहरू बताउन पाउँदा खुसी लाग्छ। यहोवाका जनहरूसँग झन्डै ९० वर्षजति संगत गरेर बटुलेका अनमोल सम्झनाहरूको निम्ति म साह्रै कृतज्ञ छु।
[फुटनोटहरू]
a अप्रिल १, १९६३ को द वाचटावर-मा “विश्वासी संगठनसँगसँगै” शीर्षकअन्तर्गत प्रिस ह्युगको जीवनी प्रकाशित भएको थियो।
b यी यहोवाका विश्वासी सेवकहरूको जीवनी प्रहरीधरहरा-का पुराना अंकहरूमा प्रकाशित भएका छन्।
[पृष्ठ २५-मा भएको चित्र]
मे १४, १९२२ मा मैले सुनेको बाइबल भाषण, “अहिले बाँचिरहेका लाखौं व्यक्तिहरू कहिल्यै मर्ने छैनन्” नामक हातेपर्ची
[पृष्ठ २६-मा भएको चित्र]
सन् १९३३ मा हाम्रो विवाह भएको केही समयपछि जानोआसँग
[पृष्ठ २६-मा भएको चित्र]
मेरो श्रीमान्ले बनाउनुभएको “इलिजाबेथ” क्याराभानसँगै उभिरहेकी