सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वास गर्ने तपाईंको अधिकार

विश्‍वास गर्ने तपाईंको अधिकार

विश्‍वास गर्ने तपाईंको अधिकार

सायद तपाईं आफूलाई इच्छा लागेको कुरामा विश्‍वास गर्न पाउनुपर्ने अधिकारको कदर गर्नुहुन्छ होला। तपाईंले जस्तै प्रायः सबैले यस्तो अधिकारको कदर गर्छन्‌। यो अधिकारको अभ्यास गर्दै पृथ्वीका छ अरब बासिन्दाले आ-आफ्नै अचम्म अचम्मका अवधारणाहरू प्रतिपादन गरेका छन्‌। रङ, आकार, बनोट, स्वाद, गन्ध र आवाजजस्ता कुरामा पाइने विविधताले जस्तै विभिन्‍न विचारधाराहरूले अक्सर जीवनमा उत्साह, रोमाञ्च र आनन्द बढाउँछ। यस्तो विविधताले जीवन साँच्चै आनन्ददायी तथा रमाइलो बनाउनसक्छ।—भजन १०४:२४.

तर सावधानी अपनाउनु जरुरी छ। कुनैकुनै विचारधारा बेग्लै मात्र होइन खतरनाक पनि छन्‌। उदाहरणका लागि, २० औं शताब्दीको सुरुतिर “मसीही सभ्यतालाई गोलमाल गरेर” यहूदी तथा फ्रिमेसोनहरूले “आफ्नो संयुक्‍त शासनअन्तर्गत विश्‍व सरकार स्थापना गर्ने” योजना बनाएका थिए भनी कसैकसैले विश्‍वास गर्थे। यस्तो विश्‍वास गर्नुको एउटा आधार प्रोटोकल्स्‌ अफ द लर्न्ड एल्डर्स अफ जायन शीर्षक भएको यहूदी विरोधी पर्चा थियो। त्यस योजनाअनुसार अत्यधिक कर, शस्त्र उत्पादनमा वृद्धि, ‘अन्यजातिहरूको धनसम्पत्ति सबै स्वाहा पारेर’ एकाधिकार जमाउने जस्ता कुराहरू थिए। त्यसका साथै ‘अन्यजातिलाई सोच्ने क्षमता नभएको पशुसरह बनाउन’ शैक्षिक प्रणालीमा हेरफेर गर्ने र मुख्य शहरहरूलाई जोड्‌न जमिनमुनि रेल बाटो समेत बनाउने ताकि यहूदी प्राचीनहरूले ‘विरोधीहरूको सर्वनाश गर्न सकोस्‌’ इत्यादि कुराहरू छन्‌ भनी पर्चामा दाबी गरिएको थियो।

निस्सन्देह, ती सबै कुरा गलत थियो। त्यो पर्चा यहूदी विरोधी भावना उक्साउने हेतुले लेखिएका थिए। बेलाइती संग्रहालयका मार्क जोन्स यसो भन्छन्‌, ‘यस्तो निराधार हल्ला रूसबाट सुरु भएको हो’ र यो सबैभन्दा पहिला १९०३ मा एउटा अखबारमा छापिएको थियो। मे ८, १९२० मा लण्डनको द टाइम्स अखबारमा यो कुरा छापियो। त्यसको एक वर्षपछि द टाइम्स-ले त्यो कागजात झूटो भएको साबित गऱ्‍यो। तर त्यतिञ्जेल त्यस्तो झूटले क्षति पुऱ्‍याइसकेको थियो। जोन्स भन्छन्‌, ‘यस्ता झूटहरूलाई दबाएर राख्न गाह्रो हुन्छ।’ मानिसहरूले एक चोटि त्यस्ता कुराहरू पत्याइसकेपछि तिनीहरूको मनमा भ्रष्ट, विषालु र खतरनाक विचारहरू आउँछन्‌ र यसको नतिजा अक्सर विपत्तिजनक हुन्छ, जसको पुष्टि २० औं शताब्दीले दिएको छ।—हितोपदेश ६:१६-१९.

विश्‍वास र सत्य कुरा

निस्सन्देह, कसैले जानाजानी झूटा कुराहरू नफैलाउँदा पनि गलत विश्‍वास विकास हुनसक्छन्‌। कहिलेकाहीं त हामी आफै पनि गलत अर्थ लगाउँछौं। आफूलाई सही लागेको कुरा गर्दा कति जनाको अकालमै मृत्यु भएको छ? साथै, आफूलाई विश्‍वास गर्न मन लागेकोले मात्र पनि हामी कुनैकुनै कुरामा विश्‍वास गरिहाल्छौं। एक जना प्राध्यापकका अनुसार, वैज्ञानिकहरूलाई समेत “आफ्नै सिद्धान्तहरूसित मोह लागेको हुन्छ।” तिनीहरूलाई आफ्नै सिद्धान्त सही लाग्ने भएकोले निष्पक्ष भई जाँच्न सक्दैनन्‌। फलतः तिनीहरू आफ्नो गलत विश्‍वास सही साबित गर्ने दौडधूपमा पूरै जिन्दगी बिताउँछन्‌।—यर्मिया १७:९.

धार्मिक विश्‍वासहरूको सन्दर्भमा पनि त्यस्तै भएको छ, जहाँ थुप्रै विरोधाभासपूर्ण कुराहरू व्याप्त छन्‌। (१ तिमोथी ४:१; २ तिमोथी ४:३, ४) एक जना मानिस परमेश्‍वरमा गहिरो विश्‍वास राख्छन्‌। अर्कोले चाहिं परमेश्‍वरमा विश्‍वास गर्नु बेकार छ भन्छन्‌। कतिले चाहिं मृत्युपछि आत्मा अमर रहन्छ भन्छन्‌। अरू कतिपयले चाहिं मृत्युपछि मानिस पूर्णतया अस्तित्वविहीन हुन्छ भन्छन्‌। निस्सन्देह, यी विरोधाभासपूर्ण विश्‍वासहरू सबै सत्य हुन सक्दैनन्‌। त्यसैले, तपाईं जे विश्‍वास गर्नुहुन्छ वास्तवमा त्यो साँच्चै सत्य हो या होइन भनी पक्का गर्नु के बुद्धिमानी होइन र? (हितोपदेश १:५) तपाईं यो कसरी गर्न सक्नुहुन्छ? यसपछिको लेखले यस विषयमा छलफल गर्नेछ।

[पृष्ठ ३-मा भएको चित्र]

सन्‌ १९२१ मा “प्रोटोकल्स्‌ अफ द लर्न्ड एल्डर्स अफ जायन” पर्चा पर्दाफास गरिएको लेख